नक्कली प्रहरी खडा गरी लाखौँ ठगी

नक्कली प्रहरी खडा गरी लाखौँ ठगी


राष्ट्रिय अनुसन्धान विभागमा अनुसन्धान महाउपरीक्षक तथा सहायक निरीक्षक गरी ४० जनाको दरबन्दी पूर्ति गर्नुपर्ने भन्दै विभिन्न व्यक्तिलाई ठगेर लाखौँ असुल गर्ने सतल महतरा प्रहरी हिरासतमा पुगेका छन् । कालीकोट घर भई भक्तपुर बस्दै आएका महतराले नेपाल सरकार गृह मन्त्रालय प्रहरी हेडक्वार्टर नक्सालको च.नं. २०८ पत्र सं. १५३ बाट उल्लेखित अनुसन्धान अधिकृतहरू आवश्यक परेको सूचना देखाई गोरखाका वीरबहादुर गुरुङसमेत ११ जनालाई सम्पर्कमा ल्याई सिंहदरबारस्थित राष्ट्रिय अनुसन्धानको अफिसको बाहिर गेटमा बसी विभिन्न कागजातसहित रकम बुझेका थिए । ठगीमा संलग्न महतराले अनुसन्धान निरीक्षकका लागि सात लाख र सहायक निरीक्षकका लागि पाँच लाख लाग्ने भन्दै उनीहरूलाई सीधै नियुक्ति दिलाइदिने आश्वासन दिएका थिए । यसरी विश्वासमा पारेर महतराले ११ जनाबाट ३४ लाख ४० हजार रकम असुलेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।
mahatara
प्रहरीका अनुसार कथित अनुसन्धान अधिकृत छनोट प्रक्रियामा नेत्रबहादुर शाही भन्ने महतराका सहयोगीले आफूलाई डीआईजी कमलसिंह बम भनी चिनाएका थिए । यस्तै अर्का अभियुक्त विकाश गुरुङले चाहिँ बेरोजगार युवा खोजी गरी सम्पर्कमा ल्याउने र सम्पूर्ण व्यवस्थापन छनोट प्रक्रिया, कागजात सङ्कलन गर्ने कार्यमा महतरालाई सघाउँथे भने युवाहरूबाट ठगेर सङ्कलन गरिएको रकम गंगाप्रसाद न्यौपानेको ग्लोबल आईएमई बैंकको खाता नं. ०८०७०१०००८९३८मा जम्मा गर्न लगाइएको थियो । यसरी गैरकानुनी तवरले सङ्गठित रूपबाट ठगी गर्दै गरेको सूचना प्राप्त हुनेबित्तिकै प्रहरीको अपराध अनुसन्धान महाशाखा सक्रिय भएको थियो । महाशाखाबाट खटिएको विशेष प्रहरी टोलीले ठगी कार्यमा संलग्न व्यक्ति सतल महतरा, विकास गुरुङ र नेत्रबहादुर शाहीलाई तत्काल पक्राउ गरेको थियो । मुख्य अभियुक्त महतराको कोठाबाट प्रहरी हेडक्वार्टरबाट प्रकाशित भएको सूचना र छनोट भएका देशभक्त जवान ४६ जनाको नामवली रहेको फर्जी कागजातसमेत फेला परेको थियो । यस घटनामा अन्य व्यक्तिको पनि संलग्नता रहेको आशङ्कामा प्रहरीले अनुसन्धान जारी राखेको बुझिएको छ ।

चेली बेच्ने गिरोह प्रहरी नियन्त्रणमा
kadel daya
प्रहरी प्रशासनको विशेष निगरानी र सक्रियताका बाबजुद युवती तथा महिला बेचबिखन धन्दामा संलग्न व्यक्तिको चलखेलमा कमी आएको पाइएको छैन । मुलुकका विभिन्न स्थानबाट महिला बेच्ने गिरोहका सदस्यहरू पक्राउ परेका समाचार लगातार सार्वजनिक भएबाट यस्तो अपराधले दह्रैसँग जरो गाडेको अनुमान लगाउन सकिन्छ । यसै परिप्ेरक्ष्यमा प्रहरीको सक्रियताका कारण चार महिला बेचिनबाट जोगिएका छन् । महिला बेच्ने धन्दामा संलग्न गिरोहले बेच्न लैजाँदै गर्दा उनीहरूलाई चितवनबाट उद्धार गरिएको र बेचबिखनमा संलग्न चारजनालाई चितवन र काठमाडौंबाट पक्राउ गरेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार ललाइफकाई काठमाडौंबाट चितवन हुँदै महेन्द्रनगरतर्फ लैजाने क्रममा भरतपुरमा उनीहरूको उद्धार गरी अभियुक्तहरूलाई पक्राउ गरिएको हो । उद्धार गरिएका महिलामा १९ देखि ३१ वर्षका रहेका छन् भने उनीहरूको घर रामेछाप भएको जनाइएको छ । ती चार महिलालाई रोजगारीका लागि किर्गिस्तान पठाइदिने भनी ललाइफकाई प्रलोभनमा पारी काठमाडौंमा भेला गरेर नारायणगढसम्म बसमा लगिएको पीडित महिलालाई उद्धृत गर्दै प्रहरीले जनाएको छ । चितवनबाट महेन्द्रनगरको बाटो हुँदै भारतका विभिन्न सहरमा पुर्‍याई बेचबिखन गर्ने उद्देश्यले भरतपुरस्थित होटेल अशोकामा राखेको अवस्थामा उनीहरूको उद्धार गरिएको दाबी प्रहरीको छ । पक्राउ परेका चारजनालाई कानुनी कारबाही सुरु गरिएको छ । उनीहरूमध्ये तीनजनालाई गत बुधबार भरतपुरको होटेल अशोकाबाट र कँडेललाई काठमाडौंबाट नियन्त्रणमा लिइएको प्रहरीले जानकारी दिएको छ । फक्राउ पर्नेमा चितवन मंगलपुर–७ का ३७ वर्षीय सञ्जय तामाङ, तनहुँ केशवटार–२ का ३७ वर्षीय टोलाराम थापा, धादिङ गजुरी–२ का ४२ वर्षीय दयाराज कँडेल र स्याङ्जा पञ्चमूल–९ का ४४ वर्षीय राजु गुरुङ रहेका छन् ।

यसरी चेली बेचविखनका घटना सार्वजनिक भइरहेकै बेला पहाडी जिल्ला म्याग्दीबाट ०७२ साल वैशाखदेखि पुस महिनासम्मको नौ महिना अवधिमा २६ जना महिला हराएका छन् । प्रहरी कार्यालय म्याग्दीमा सम्पर्कविहीन भएका महिलाका आफन्तले खोजी गरिदिन अनुरोध गर्दै दिएको लिखित निवेदनका आधारमा २६ महिला सम्पर्कविहीन भएको जानकारीमा आएको हो । जिल्ला प्रहरी कार्यालय म्याग्दीका अनुसार हराउनेमा अविवाहित युवती र बालबच्चा भएका महिलासमेत रहेका छन् । सुरुका तीन महिना वैशाख, जेठ र असार महिनामा मात्रै १० जना महिला घर परिवारदेखि सम्पर्कविहीन भएका र अहिलेसम्म पनि फेला नपरेका जिल्ला प्रहरी कार्यालय म्याग्दीबाट जानकारी मिलेको छ बताइएअनुसार परिवारदेखि सम्पर्कविहीन भएको केही दिनपछि परिवारका सदस्यले आफन्त हराएका सूचनासहित खोजी कार्य गरिदिन अनुरोध गर्दै निवेदन लिएर आउने गरेका छन् । बहुविवाह, वैदेशिक रोजगारमा गएका श्रीमान्सँगको असन्तुष्टि, आर्थिक समस्यालगायतका कारण परिवारबाट सम्पर्कविहीन भएको देखिएको प्रहरी कथन छ ।

पछिल्ला दिन पारिवारिक सम्बन्धका बारेमा दैनिकजसो निवेदन आउन थालेका र बहुविवाह गर्नेको सङ्ख्या बढिरहेका एक प्रहरीले जानकारी दिएका छन् । निवेदनबाहेक मौखिम उजुरीसमेत करिब दुई दर्जनभन्दा धेरै परेको बताइन्छ । बहुविवाह मुद्दामा जेल पर्ने, सामाजिक बहिष्कारमा पर्ने जस्ता समस्या आई पर्नसक्ने डरले गुपचुप भाग्ने गरेको प्रहरी अनुसन्धानबाट देखिएको छ ।

उता प्रहरीको सुदूरपश्चिम क्षेत्रीय अनुसन्धान ब्युरोले वन्यजन्तु चोरी सिकारीमा संलग्न भई फरार रहेका नौजना फरार अभियुक्तलाई पक्राउ गरेको छ । केन्द्रीयस्तरको निर्देशनअनुसार अभियुक्त खोज्न थालेको अनुसन्धान ब्युरोले नौ अभियुक्तलाई पक्राउ गरेको हो । कञ्चनपुरस्थित शुक्लाफाँटा वन्यजन्तु आरक्ष र बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृतको इजलासले कैद सजाय सुनाइएका फरार अभियुक्तलाई पक्राउ गरी सम्बन्धित निकायमा बुझाएको सुदूरपश्चिम क्षेत्रीय अनुसन्धान ब्युरोका महाकाली अञ्चल प्रमुख प्रहरी नायब निरीक्षक वीरेन्द्र जोहारीले जनाएका छन् । पक्राउ पर्नेहरूमा कैलाली मनुवा–९ का गुलराम थारू, कञ्चनपुर रामपुर विलासपुर–९ घर ठेगाना भएका रामदास बडायक, दोधारा–३ घर ठेगाना भएका जगतबहादुर थापा, दोधारा–३ घर भएका भोजे तामाङ र दोधारा चाँदनीकै गजेन्द्रबहादुर सिंह रहेका छन् । यसैगरी शुक्लाफाँटा वन्यजन्तु आरक्षबाट १३ वर्ष कैद र एक लाख जरिवाना सजाय सुनाइएका कञ्चनपुरको रामपुरविलासीपुरका श्यामलाल राना, १० वर्ष कैद सजाय सुनाइएका शिवचरन राना, दोधारा चाँदनीका अमरसिंह गुरुङ र भोके पार्कीसमेत पक्राउ परेको बताइएको छ ।

नक्कली नोट कारोबारी पक्राउ
Rautahat-nakkali note karobar
यसैबीच जिल्ला प्रहरी कार्यालय रौतहटको विशेष टोलीले नक्कली नेपाली नोट छाप्ने एक गिरोहलाई मेसिनसहित पक्राउ गरी सार्वजनिक गरेको छ । प्रहरीले जाली नोटको करोबारमा संलग्न रहेको आरोपमा गौर नगरपालिका–९ का २४ वर्षीय रामप्रवेश यादव, धनुषा देउपुरा–७ घर भई हाल गौर नगरपालिका–५ मा ग्रिल बनाउने तथा बेल्डिङको काम गर्ने २८ वर्षीय मनोजकुमार महतो, गौर नगरपालिका–७ गढवानिवासी जुगलकिशोर कुशवाहा, गाविस धमौरा–३ निवासी ३६ वर्षीय दीपेन्द्र भन्ने नारायण चौधरी, चन्द्रपुर नगरपालिका–१४ निवासी ओसी महमद र बारा जिल्लाको जितौनानिवासी अभय कुमारलाई पक्राउ परेका हुन् । उनीहरूबाट हजार र पाँच सयका गरी ४९ हजार पाँच सय नक्कली रुपैयाँ बरामद भएको बताइएको छ ।

यस घटनापछि जिल्ला प्रहरी कार्यालय रौतहटले नेपाली नोटको कारोबार गर्दा विशेष सतर्कता अपनाउन अपिल गरेको छ । प्रहरीले नक्कली नोटको कारोबार गर्ने सङ्गठित गिरोहले जिल्लाका विभिन्न भागमा नेपाली नक्कली नोट पुर्‍याएको भन्दै सर्वसाधारण, व्यापारीसहितलाई विशेष सावधानी अपनाउन अनुरोध गरेको हो । नक्कली नोटको कारोबार गर्ने समूह पक्राउ परेपछि बजारमा नक्कली रुपैयाँ वितरण गरिएको अनुसन्धानबाट खुल्न आएको छ । प्रहरीले यसअघि नक्कली नोटको कारोबार गर्ने ६ जनाको सङ्गठित गिरोहलाई पक्राउ गरेको थियो । त्यस्ता नक्कली नोटको प्रयोग गर्दा नोटको आकार, साइज, गाढापन, होलोग्राम, सुरक्षा धागो राम्ररी हेर्न वा नजिकैको बैंकमा सम्पर्क गर्न पनि प्रहरीले अनुरोध गरेको छ ।