आँखा–स्वास्थ्यसम्बन्धी समझदारीमा हस्ताक्षर

आँखा–स्वास्थ्यसम्बन्धी समझदारीमा हस्ताक्षर


ranjeet ray nepal-india-4
नेपालका लागि भारतीय राजदूत रणजित रायले नेपाल–भारतबीचको सम्बन्ध प्राकृतिक रूपमै मजबुत भएकाले बीच–बीचमा आउने उतारचढावले दुई देशबीचको सम्बन्धमा असर नपर्ने बताउनुभएको छ । राजदूत रायले भारतको नेपाल सहयोग–नीतिमा दुर्गम र पिछडिएका क्षेत्र महत्त्वपूर्ण भएको उल्लेख गर्दै क्षणिक रूपमा राजनीतिक समस्या आए पनि सहयोग जारी रहने बताउनुभयो । नेपाल नेत्रज्योति सङ्घले गत साता आयोजना गरेको ‘नेपालको अन्धोपन निवारणमा भारतले गरेको सहयोग’ विषयक संवाद कार्यक्रममा राजदूत रायले सो धारणा व्यक्त गर्नुभएको हो ।

कार्यक्रममा राष्ट्रिय योजना आयोगका सदस्य डा. कृपासिन्धु प्रसादले नेपालको आँखा स्वास्थ्यको क्षेत्रमा भारतले गरेको सहयोग उल्लेखनीय भएको बताउँदै आँखा स्वास्थ्य सेवालाई नेपाल अधिराज्यभर सर्वसुलभ बनाउन भारतीय सहयोग महत्त्वपूर्ण भएको प्रस्ट्याउनुभयो भने स्वास्थ्य मन्त्रालयका सचिव शान्तबहादुर श्रेष्ठले सरकारले आधारभूत स्वास्थ्य सेवामा आँखालाई पनि महत्त्वपूर्ण स्थानमा राखेकाले यस विषयमा अझ बढी व्यापक बनाउन आँखाको स्वास्थ्य नीति ल्याउन लागेको जानकारी दिनुभयो ।

यसैगरी, अर्थविद् प्रा.डा. विश्वम्भर प्याकुरेलले नेपाल–भारतबीचको सम्बन्ध विश्वमै नमुना भएकाले वर्तमान अवस्थामा देखिएको राजनीतिक समस्या सक्दो चाँडो सुल्झाउनुपर्ने सुझाव दिनुभयो भने राजनीतिक विश्लेषक कृष्ण पोखरेलले नेपाल–भारतका सीमा क्षेत्रमा रहेका अस्पतालमा नेपालका मात्र नभएर भारतका नागरिकले पनि उल्लेख्य रूपमा लाभ लिइरहेको बताउनुभयो । त्रिभुवन विश्वविद्यालयका उपकुलपति तीर्थ खनियाँ र सुदूरपश्चिमाञ्चल विश्वविद्यालयका उपकुलपति भुवन श्रेष्ठले पनि कार्यक्रममा मन्तव्य दिएका थिए ।

यसैक्रममा नेपालको आँखा उपचारको क्षेत्रमा सहयोग गर्न नेपाल नेत्रज्योति सङ्घ र भारतबीच समझदारी भएको भएको छ । मित्रराष्ट्र भारतबाट प्रदान गरिने चार करोड ४१ लाख सात हजार दुई सय सहयोगसम्बन्धी सो सम्झौतामा नेपाल नेत्रज्योति सङ्घका अध्यक्ष डा. तीर्थप्रसाद मिश्र र भारतीय राजदूतावासका सचिव ज्ञानवीर सिंहले हस्ताक्षर गर्नुभएको थियो ।