चिलीमा को–को परे अलपत्र ?

चिलीमा को–को परे अलपत्र ?


Rai Thagi
राजधानीको नयाँ बानेश्वरमा अहेड इन्टरनेसनल एजुकेसन प्रालि नामक कन्सल्टेन्सी सञ्चालन गर्दै आएका गोलकुमार उर्फ सिजन बस्नेत र नीरज राईहरू बेलाबेला आफूहरूलाई प्रचण्डको खास मानिस भनी चिनाउनुमा गर्व गर्दथे । शक्ति बस्नेत गृहमन्त्री बनेपछि शक्तिको नामसमेत यिनले ‘आफ्नो मान्छे’का रूपमा दुरुपयोग गर्न थालेका थिए । कन्सल्टेन्सीमा आउने विद्यार्थी पहुँचवाल व्यक्तिले सञ्चालन गरेको संस्था भन्दै उनीहरूले दिने आश्वासनप्रति आँखा चिम्लेरै विश्वास गर्थे । तर, प्रचण्डको नाम बेचेर धन्दा चलाउने यिनीहरू भने विश्वास गर्नै गाह्रो हुने किसिमबाट विद्यार्थी तथा युवाहरूलाई ठग्न उद्यत् थिए । हालै पीडित व्यक्तिहरूको उजुरीका आधारमा नीरज पक्राउ परेपछि मात्र ठगी धन्दामा लिप्त रहेका गोलकुमार र नीरजहरूको असलियत छताछुल्ल भएको हो ।

प्रचण्ड र गृहमन्त्रीलाई उनीहरू कति नजिकबाट चिन्दथे या नाम जोडिएका नेताहरू यिनलाई चिन्थे या चिन्दैनथे, अनुसन्धानकै एउटा पाटो हो, तर नेताहरूको नाम दुरुपयोग गर्दै कन्सल्टेन्सीका ४२ विद्यार्थीबाट यिनले करोडौँ रकम ठगी गरेकोचाहिँ उजागर भइसकेको छ । सम्पर्कमा आएका विद्यार्थीलाई आकर्षक तलब हासिल हुने काम दिलाउने वचनसहित अमेरिका पठाउने लालच देखाएर चिली पुर्‍याई अलपत्र पार्ने धन्दा पछिल्लो समय यी पात्रहरूले कन्सल्टेन्सीको आडमा गर्दै आएका थिए । आफू ठगिएको महसुस गरेपछि विद्यार्थीले ‘मानव तस्करले आफूहरूलाई चिली ल्याई अलपत्र पारेको’ भन्दै ब्राजिलमा रहेको नेपाली दूतावासमा उजुरी गरेका थिए । चिलीमा नेपाली दूतावास नरहेकाले उनीहरू ब्राजिलस्थित दूतावासमा पत्राचार गर्न पुगेका थिए । ब्राजिलस्थित नेपाली राजदूतावास समक्ष आफ्नो पीडा पोख्दै संयुक्त रूपमा लिखित निवेदन दिनेहरूमा घनश्याम बराल, गिरिराज पाण्डे, राजु कुमाल, हेमन्त पौडेल, प्रेम गुरुङ, मणिहाङ लिम्बु, संगम जिसी, प्रकाश थापा, सविन केसी, विशाल अधिकारी, राज तामाङ, सुशील केसी, कृष्ण सुवेदी, लक्ष्मण खाण, सोम लामा, सुशान चापागाईं, प्रमोद घिमिरे, रामजी खाण, राम रावल, विश्व गुरुङ, सागर वासकोटी, राजेश हमाल, कपिल घिमिरे, प्रज्ञा न्यौपाने, सुजना बस्नेत, रिना तामाङ, नवीन दाहाल, हरि सेढाईं, टिका लामा, शर्मिला घिमिरे, प्रवेश पौडेल, गुरुदत्त सापकोटा, रोजिना मगर, सिर्जना, मनिष, अशोक, रामचन्द्र, नवीन, विकास, राजन, प्रताप र संजीव थापा रहेका छन् ।

पीडित विद्यार्थीको निवेदन प्राप्तिपछि ब्राजिलस्थित नेपाली दूतावासले परराष्ट्र मन्त्रालयलाई पत्रसमेत लेखेको र सम्बन्धित निकायहरू हर्कतमा आएपछि ठगहरूले ‘आफूहरू गृहमन्त्री शक्ति बस्नेतको मान्छे रहेको, प्रचण्डको समेत निकट रहेको’ हवाला दिँदै उल्टै पीडित विद्यार्थीलाई धम्क्याएको बुझिएको छ । बस्नेत र राईले एक विद्यार्थीबाट १२ देखि १५ लाखका दरले ४२ जनालाई ठगेको जनाइएको छ । उनीहरूलाई ल्याटिन अमेरिकी देशमा प्रतिघन्टा १० डलर कमाइ हुने र त्यहाँबाट संयुक्त राज्य अमेरिका, क्यानडालगायत देश जान मिल्ने भन्दै प्रलोभनमा पारिएको थियो । तर, त्यसरी चिली पुगेकाहरू चरम समस्यामा परेका थिए । कन्सल्टेन्सी सञ्चालक गोलकुमार यतिबेला नेपालबाहिर रहेकाले नीरजलाई मात्र पक्राउ गर्न सकिएको प्रहरी स्रोतले जनाएको छ ।