ई–रिक्सा चालकलाई पनि लाइसेन्स !

ई–रिक्सा चालकलाई पनि लाइसेन्स !


e reka tiral at butwal
रुपन्देही/ बुटवलमा पहिलो पटक विद्युतीय सवारी साधन (ई–रिक्सा)को सवारीचालक अनुमति पत्र (लाइसेन्स)को परीक्षा सुरु भएको छ । नेपालमै पहिलोपटक ई–रिक्सा चालकहरूले यसरी लाइसेन्स परीक्षा दिएका हुन् । यातायात व्यवस्था कार्यालय, सवारी चालक अनुमति पत्र र पश्चिम क्षेत्रिय ट्राफिक प्रहरी कार्यालयले बुटवलको देविनगरमा रहेको ट्रायल सेन्टरमा ई–रिक्सा चालकहरूलाई (ग) वर्गको लाइसेन्स परीक्षा दिइएको हो । पश्चिम क्षेत्रिय ट्राफिक प्रहरी कार्यालय बुटवलका प्रमुख प्रकाश अधिकारीले अब ई–रिक्सा चालकहरूले लाइसेन्सविना रिक्सा चलाउन नपाइने बताए । उनले ई–रिक्सा व्यवस्थापनका लागि लाइसेन्स अनिवार्य रहेकाले लाइसेन्सको परीक्षा सञ्चालन गरेको बताए । उनले यस क्षेत्रमा रहेका नगरपालिकाहरूले अस्थायी रुट पर्मिट दिएर भएपनि ई–रिक्सालाई व्यवस्थित बनाउन आग्रह गरे । उनले बुटवल उपमहानगर पालिका, सैनामैना नगरपालिका, देवदह नगरपालिका र तिलोत्तमा नगरपालिकाले रुट प्रमिट दिई आवश्यक संख्या समेत तोक्न आग्रह गरे ।

यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमति पत्र (लाइसेन्स) कार्यलयका प्रमुख वेदप्रसाद अर्यालले ७ सय ९२ जना चालकहरुले ई–रिक्सा चालक अनुमति पत्र (लाइसेन्स)को आवेदन दिएकोमा ५ सय २५ जना लिखित परीक्षामा उत्तीर्ण भएको बताए । उनले मागअनुसार फेरि पनि ई–रिक्साको लाइसेन्स परीक्षा खुल्ला गर्ने बताए । लाइसेन्स परीक्षामा, बुटवल, चितवन, दाङ, नवलपरासी, कपिलवस्तु लगाएतका जिल्लाबाट चालक आएको बताइएको छ । ई–रिक्साको परीक्षा दिनेमा महिलासमेत रहेका छन् ।

– चन्द्रकान्त खनाल