एमालेले धोखादियो भन्दिनँ : पौडेल

एमालेले धोखादियो भन्दिनँ : पौडेल


काङ्ग्रेस संसदीय दलका नेता रामचन्द्र पौडेल सकेसम्म राष्ट्रिय सहमतिको नसके बहुमतीय प्रधानमन्त्री बन्न सक्रिय रूपमा लाग्नुभएको छ । नेपाली काङ्ग्रेसभित्र सर्वसम्मत प्रधानमन्त्रीको उम्मेदवार बन्न सफल पौडेल त्यागी, सङ्घर्षशील, इमानदार र सिद्धान्तनिष्ठ नेताका रूपमा चिनिनुहुन्छ । लोकतान्त्रिक मूल्य र मान्यताका निम्ति कसैसँग कहिल्यै सम्झौता नगर्ने पौडेलको उम्मेदवारीले आमलोकतन्त्रवादीमा समेत रक्तसञ्चार भएको छ । उहाँसँग घटना र विचारका लागि ऋषि धमलाले गर्नुभएको कुराकानी :
० प्रधानमन्त्रीमा तपाईंको उम्मेदवारी किन ?
– अहिले मुलुकका प्रमुख एजेन्डा शान्ति र संविधान हुन् । त्यसका निम्ति राष्ट्रिय सहमति जुटाउनु आवश्यक छ । काङ्ग्रेसले १२ बुँददेखि संविधानसभा चुनावसम्म मुलुकको नेतृत्व गर्‍यो । माओवादी र एमालेका सरकार शान्ति र संविधान निर्माणमा असफल भइसकेकाले त्यसको सुनिश्चितताका लागि फेरि एकपटक काङ्ग्रेसको नेतृत्व चाहिएको हो ।
० तपाईंले जित्ने आधारचाहिँ के-के छन् त ?
– काङ्ग्रेस लोकतन्त्रको संस्थागत विकास गर्न चाहन्छ । शान्ति र संविधान सुनिश्चित गर्न चाहन्छ । मुलुकलाई राष्ट्रिय सहमति गरेर अघि बढाउन चाहन्छ । मुलुकको राजनीतिलाई सहज रूपमा अघि बढाउन पनि मैले जित्नुपर्छ । नेपाली जनताको शान्तिको चाहनालाई पूरा गर्नु छ । लोकतान्त्रिक संविधान निर्माण गरेर मुलुकलाई आर्थिक रूपमा सम्पन्न बनाउनु छ । त्यसैले मलाई विश्वास छ, सबै लोकतन्त्रमा विश्वास गर्ने शक्तिले मलाई मत दिएर जिताउनेछ । त्यसले नै मुलुकले राजनीतिक निकास पाउने छ ?
० तपाईंहरूको लोकतान्त्रिक गठबन्धनको प्रमुख घटक एमालेले आफैं उम्मेदवारी दिएको छ नि ?
– एमालेले उम्मेदवारी किन दियो भन्नेतिर म जान चाहन्नँ । उम्मेदवारी दिन पाउनु उसको अधिकार हो । तर पनि एमालेले छलफल गरेर अघि बढ्नुपथ्र्यो । मलाई विश्वास छ, अझैपनि एमालेले अहिलेको गठबन्धनलाई सहयोग गर्न आफ्नो निर्णयमा पुनरि्वचार गर्नेछ । अहिलेको गठबन्धनको मुख्य गन्तव्य लिएर बनेको हो । यसको आवश्यकता मुलुकमा अझै छ ।
० एमालेले काङ्ग्रेसलाई धोखा दिएको होइन त ?
– एमालेले धोखा दियो भनेर भन्दिनँ । अहिले पनि दलहरूबीच सहमति गरेर अघि बढ्ने समय छ । अब माओवादी, एमाले, मधेसवादीलगायत साना दल सबैले मलाई सहयोग गर्ने विश्वास मलाई छ ।
० एमालेको सहयोग पाउनेमा विश्वस्त हुनुहुन्छ ?
– मैले एमाले मात्र भनेको छैन । माओवादी, एमाले, मधेसवादीलगायत साना दलले मलाई सहयोग गर्नुपर्छ । त्यसबाट मुलुकमा फेरि सहमतिको राजनीति अघि बढ्छ । म सहमतिको संस्कृति अघि बढाउन तयार छु ।
० काङ्ग्रेसले सरकारको नेतृत्व नलिँदा के फरक पर्छ ?
– काङ्ग्रेसले नेतृत्व नलिँदा के हुन्छ भन्ने कुरा त देखिइसकियो नि । समयमै शान्ति र संविधान बनेन । त्यसैले मुलुकमा सबैखाले खतराबाट मुक्ति दिन र जनचाहना पूरा गर्न काङ्ग्रेसको नेतृत्व चाहिएको हो । राष्ट्रिय र अन्तर्रर्ााट्रय सबै शक्तिलाई काङ्ग्रेसले मात्र नेतृत्व दिने विश्वास छ ।
० तपाईंलाई मधेसवादी दलले समर्थन गर्लान् ?
– एकदमै समर्थन गर्छन् । हाम्रा एजेन्डाहरू मिल्छन् । उहाँहरूका मुद्दालाई सम्बोधन गरेर जान काङ्ग्रेस तयार पनि छ ।
० तपाईं बुधबार नै मुलुकको प्रधानमन्त्री हुनुहोला ?
– मतदानबाट सबै कुरा टुङ्गो लाग्छ भन्ने मलाई विश्वास छ ।
० माओवादीसँग तपाईंको कुरा मिल्ला ?
– माओवादीलाई १२ बुँदे समझदारीदेखि यहाँसम्म आइपुग्न काङ्ग्रेसले सहयोग गरेको हो । माओवादीसँग कतिपय सैद्धान्तिक कुरामा हाम्रा मतभेद होला । तर, हामी त्यसलाई अन्त्य गरेर सहमतिमा जान चाहन्छौँ । माओवादीले काङ्ग्रेसलाई समर्थन गर्दा राम्रै हुन्छ र त्यसले सहमतिको नयाँ अध्याय सुरु गर्छ ।