गायिका सुनिता दुलाल यूके आउँदै

गायिका सुनिता दुलाल यूके आउँदै


10614338_10152642874719530_6254462499441700481_nलन्डन, ब्रिटिश गोर्खा नेपाली परिषदले बेलायतका विभिन्न स्थानमा आयोजना गर्न लागेको गोर्खा सांस्कृतिक सांझमा भाग लिन गायिका सुनिता दुलाल यही जनवरी २०१६ को पहिलो साता यूके आउने भएकी छन् । केही समययता सुनिता दुलाल देश विदेशका विभिन्न कार्यक्रमहरुमा निकै व्यस्त रहँदै आएकीछन् । विशेषगरी तीजका गीतहरुमार्फत आफ्नो छुट्टै छबि बनाउन सफल रहेकी सुनिता दुलालको स्टेज कार्यक्रम पनि त्यत्तिकै सफल रहँदै आएकोछ । सोही कार्यक्रमको लागि भनेर आउने तयारी गरेकी ज्योति मगरको भीसा ब्रिटिश दूतावासबाट अस्वीकृत भएपछि ज्योतिको बेलायत भ्रमण स्थगित हुन पुगेको थियो ।
उक्त कार्यक्रममा पहिला नै सुनिता दुलाललाई बोलाउने तय भएको तर विशेष कारणले गर्दा उनी आउन असमर्थ भएकोले ज्योति मगरलाई बोलाउने तयारी गरिएको थियो तर ज्योतिको भीसा अस्वीकृत भएपछि पुन: सुनिता दुलाललाई नै कार्यक्रममा झिकाउन आयोजकहरु सफल भएका हुन् । बेलायतको लागि सुनिताको भीसा लागिसकेको भएपनि आयोजकहरुद्वारा टिकटको तयारी भइरहेको र सम्भवत जनवरीको पहिलो सप्ताहभित्र उनी लन्डन आउने पक्का भइसकेकोछ । कार्यक्रममा नेपालका अन्य चर्चित कलाकारहरु इन्दिरा जोशी र गोबिन्द र्राइलगायत स्थानीय कलाकारहरुको पनि प्रस्तुति रहनेछ । गायिका इन्दिरा जोशी पनि जनवरी १ मा लन्डन आउँदैछिन् । इन्दिरा जोशी पनि शारीरिक हाउभाउकै कारण निकै चर्चामा रहँदै आएकी छन् । जनवरी २ मा फार्नबरो कम्यूनिटी हलमा हुने कार्यक्रममा उनी सहभागी हुनेछिन् तर सुनिता दुलाल भने पछिल्ला कार्यक्रममा मात्र सहभागी हुनेछिन् । हालसम्म तय भएका कार्यक्रमहरुमा जनवरी २ तारिख फार्नबरो ९ तारिख रेडिंग, १० तारिख ग्रेज, १६ तारिख योर्क, १७ तारेख कोलचेष्टर, २३ तारिख स्वीन्डन, २४ तारिख आसफोर्ड, ३० तारिख बेजिंगस्टोक, ३१ तारिख वेल्स र फेब्रुअरी ६ मा ननिटनमा कार्यक्रम हुने तय भएको कुरा आयोजक ब्रिटिश गोर्खा नेपाली परिषदले आफ्नो फेसबुक पेजमा उल्लेख गरेकोछ ।
-नरेन्द्र बस्नेत