बुधबारेमा बाटो ग्राभल कार्य सम्पन्न

बुधबारेमा बाटो ग्राभल कार्य सम्पन्न


hqdefaultबुधबारे, वैशाख ३० । बुधबारे वडा नंं. ९ महानन्द चोक हुँदै ज्योतिबुद्ध चोक, महानन्द स्कुल, जगद्गुरु बालसन्त जन्मस्थल वडा नं. ५, टान्सफर्मर चोक वडा नंं. ७, धाइजन, शनिअर्जुन नगरपालिका वडा नं. ८ हुँदै शहरेडाँगी मेची राजमार्गमा जोडिने बाटो, सडक निर्माण उपभोक्ता समितिले स्तरीय ग्राभल सम्पन्न गरेको छ । सो बाटो झापा क्षेत्र नं. १ बाट संविधानसभाका लागि सभासद रविन कोइरालाले शहरेडँगीमा बुधबार बिहान रिवन काटेर उद्घाटन गरेका छन् ।

सडक रेखाङकन कार्यदेखि ग्राभल सम्पन्न हुँदासम्म रु.३२ लाख २६ हजार २ सय ८० खर्च लागेको छ । उपभोक्ताहरुबाट रु.४ लाख ६६ हजार ५ सय ७९, नागरिक वडा मञ्च वडा नं. ७ बुधबारेबाट ४० हजार, आदर्श नमुना सामुदायिक बनबाट ५० हजार, धाइजन गाविसमार्पmत जिविसबाट १ लाख प्राप्त भएको थियो । निर्वाचन क्षेत्र पूर्वाधार विशेष कार्यक्रम अन्तर्गत जिविससँग सम्झौता भएको ८ लाख, आदर्श नमुना सामुदायिक बन उपभोक्ता समितिबाट थप ५० हजार प्राप्त हुन बाँकी रहेको समितिले जनाएको छ ।

सडक, सडक निर्माण उपभोक्ता समितिले स्थानीय उपभोक्ता (ठेकेदार) झरेन्द्र श्रेष्ठलाई ग्राभल सम्पन्न गर्न जिम्मेवारी दिइ कार्य सम्पन्न भए पनि समितिले श्रेष्ठलाई २४ लाख भुक्तानी गर्न बाँकी रहेको समितिका अध्यक्ष छत्र विष्टले बताए । उपभोक्ता समितिका सदस्य समेत रहेका उर्जाशिल युवा झरेन्द्र श्रेष्ठले ७ किमि लम्वाईको उक्त सडकमा अबस्था अनुसार ५ मिटर चौडाईको १५ सेमी देखि डेढ फिटसम्म ग्राभल गरी रोलरले पेलेर सडक निकै राम्रोसँग मापदण्ड अनुसार स्तरीय ग्राभल गरेको, ट्रयाक्टरहरुबाटै ग्राभल ओसार्न सम्भव पारि खर्चमा किफायत गरेको समेत अध्यक्ष विष्टले बताए । समितिमा तत्काल पैसा मौज्दात नभएकाले ६ महिनासम्ममा रकम भुक्तानी गर्नेगरी काम सम्पन्न गर्न झरेन्द्र श्रेष्ठसँग समितिले सम्झौता गरेको पनि विष्टले बताए । भुक्तानी दिनुपर्ने रकम मध्ये श्रेष्ठलाई करीब दुईलाखमात्र समितिबाट दिइएको विष्टले बताए ।

रेखाङकन देखि ग्राभल सम्पन्न गर्दासम्म खर्च भैसकेको रकम ३२ लाख २६ हजार २ सय ८० मध्येमा समितिले ८ लाखमात्र जोहो गर्न सकेको र १६ लाख जति रकम अपुग रहेको समितिले जनाएको छ । ग्राभल गरेको बाँकी रकम तिर्न सभासद लगायत विभिन्न निकायमा अनुरोध गरिएको र गर्नेक्रम जारी रहेकोमा विभिन्न अवसर तथा भेटघाटमा सभासदहरु सरिता प्रसाईं, प्रेम गिरी, मनकुमार गौतम तथा अम्बिका राजवंशी लगायत दलहरुका विभिन्न तहका नेताहरुले पनि समितिलाई ग्राभल गर्दा लागेको रकम चु्क्ता गर्न सहयोग गर्ने बचन दिएकाले समिति चाँडै ऋणमुक्त हुनेमा आशावादी रहेको समितिले जनाएको छ ।

सडक उद्घाटन पश्चात वडा नंं. ७ स्थित ॐकारेश्वर शिवालय मन्दिरमा आयोजित समारोहमा सभासद रविन कोइरालाले उक्त सडक बैकल्पिक, रणनीतिक तथा आर्थिक गतिविधिका लागि अन्य क्षेत्रका लागि पनि निकै उपयुक्त सडक भएकाले आ.व. ०७२/७३ मा सांसद विकास कोषबाट समितिलाई बाटो ग्राभल गर्दा लागेको रकम फछ्र्यौट गर्न रु. १० लाख सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । सडक निर्माण समिति अध्यक्ष विष्टको अध्यक्षतामा आयोजित समारोहमा नेकपा एमाले पार्टी झापा जिल्ला अध्यक्ष चिन्तन पाठक, बुधबारे गाउँ समिति अध्यक्ष टिका पाठक, सभासद प्रेम गिरीका प्रतिनिधि टंक बराल, एमाओवादी जिल्ला सदस्य सिपि कडरिया, बुधबारे गाविस कार्यालय प्रमुख मोहनलाल पनेरु, उक्त सडक निर्माण कार्यका लागि केन्द्रसम्म निरन्तर पहलकर्ता समाजसेवी लिला ढकाल लगायतले मन्तव्य राखेका थिए । मन्तव्यमा उक्त सडक बुधबारे, शनिअर्जुन तथा धाइजन क्षेत्र लगाय जिल्लाकै लागि पनि महत्वपूर्ण सडक भएको बताउँदै ग्राभल मात्र होइन पिच नै गर्नु पर्ने र सो का लागि बेलैमा पहल थाल्नु पर्ने विचार राखेका थिए । समाजसेवी प्रेम नेम्वाङले स्वागत गरेको उक्त समारोहमा विभिन्न राजनीतिक दलका विभिन्न तहका पदाधिकारी, बुधबारे, धाइजन, शनिअर्जुनका नागरिक वडा मञ्च प्रतिनिधि, संघसंस्था प्रतिनिधि, समाजसेवी लगायत सडक उपभोक्ताहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।

– भुवन तामाङ