मन्त्री पासवानबाट ठगिएका सञ्चारकर्मीको रामकहानी

मन्त्री पासवानबाट ठगिएका सञ्चारकर्मीको रामकहानी


PB Diyali

आफूकहाँ उजुरी पर्दा सूचना विभागले फेला नपारेको तत्कालीक दलित जनजाति पार्टीका अध्यक्ष एवम् सभासद् तथा हालका मन्त्री विश्वेन्द्र पासवानलाई प्रधानमन्त्री केपी ओलीले मन्त्रीको टिको लगाइदिएपछि यस्ता व्यक्ति पनि मन्त्री बन्न सक्ने कस्तो देशको नागरिक रहेछु भनी मभित्र हुण्डरी पैदा भएको छ । वास्तवमा पासवानजस्ता आवारा प्रवृत्तिका व्यक्ति मन्त्री बन्न लायक कसरी भए, एक सचेत नागरिकको नाताले मभित्र चर्कै जिज्ञासा पैदा भएको छ । हुन त पासवान त एक प्रतिनिधि पात्र मात्र हुन्, नेपाल राज्यको उच्च स्थानमा उनीजस्ता नालायकहरू नै भरिभराउ छन्, नालायकहरूकै बोलवाला छ, इमानदार र सक्षम मानिसहरू पाखा पारिएका या उपेक्षित छन्– यो जगजाहेर कुरा नै हो ।

जहाँसम्म विश्वेन्द्र पासवान मन्त्री बन्दा मनमा हुण्डरी चलेको सन्दर्भ छ, यसबारे आफ्नो अनुभूति सेयर गर्न चाहन्छु । म एक सञ्चारकर्मी हुँ । कुनैबेला काठमाडौं रहेको बेला विश्वेन्द्रको बहुजन आवाज पत्रिकामा सम्पादक भएर काम गरेको थिएँ । पासवानको कतिसम्म घटिया व्यक्ति हुन् भन्ने मैले त्यतिबेलै राम्ररी जान्नेबुझ्ने अवसर पाएँ ।
०६०–६१ तिरको कुरा हो । लोकतान्त्रिक आन्दोलनका क्रममा यी मान्छे मलाई खोज्दै इटहरी आइपुगे । दलितको मुद्दा उठाएर भेदभावविरुद्ध आगो ओकल्ने खालको भाषण गर्ने यी पासवानलाई मैले पनि सुरुमा निकै प्रेरित गरेँ । मेरै घरमै बसे, खाए । पाउना भएर खान पाउँदा यिनले खुब जी–हजुरी गरे । पछि सभासद भएपछि काठमाडौ बोलाए, फकाएर आश्वसन दिँदै पत्रिका दर्ता गर्ने सर्टिफिकेट मागे ।

काठमाडौको सिडिओ अफिसमा मलाई सम्पादकमा नियूक्ति गरेको कागजपत्र बुझाए । पत्रिका मेरो नाममा दर्ता भयो । पिंगलास्थानको उनको डेरामा अफिस थियो ।सहसम्पादकको रूपमा राखिएको सप्तरीतिरका एउटा मण्डल थरको युवकले समाचार लेख्न छोडेर पासवानकी स्कुले छोरी नै लिएर भागेको पनि त्यही बेला हो । तर, दलितको लागि लड्ने उद्देश्य बोकेका पासवान आफुभन्दा तल्लो जातले छोरी लग्यो भन्दै निकै क्रुद्ध भए । ज्वाइँ–छोरीलाई पक्राउ गराउन प्रहरी साथ लिएर पासवान पोखरासम्म पुगे । छोरीले कुनै हालतमा मण्डललाई नछाड्ने बरु बाउ नै त्याग्ने अडान लिएपछि पासवान पागलतुल्य हुन पुगे । ज्वाइँलाई जहाँ भेटयो त्यहीँ मार्छु भन्दै हात धोएर लागिपर्दा हामीले त्यस्तो नगर्न सम्झायौँ, तर यिनको घैँटोमा घाम लागेन । उनले घर–व्वहारको रिस संसदमा पोखेर कुर्सी फाले, आफैले पहिरिएको कपडा च्याते । सभामुख सुभास नेम्वाङमाथि समेत झण्डै हात हाले । पछि दोस्रो संविधानसभा पनि बाबुराम भटराईलाई संविधानको मस्यौदा लेख्ने बेलामा दलितको कुरा छुटाएको भन्दै कागजको बिटाले हानेर यिनी चर्चामा आएका थिए । दलितको नाममा माथि पुगेर निम्नस्तरको हर्कत गर्ने पासवानले थुप्रै आर्थिक हिनामिना गरेका मेरो जानकारीमा छ । अरु त अरु मेरै पसिनासमेत चुसेका छन् यिनले ।

आफ्नै पार्टीमा एकपटक महासचिव रहेका ठाकुर चन्द गहतराजकी पढालेखा बहिनीलाई सभासद बनाउने भन्दै लाखौं खाएको कुरा त्यतिबेलै चर्चामा आएको हो । पछिल्लो संविधानसभामा एक लामा थरकी महिलालाई सभासद बनाएर उनको ब्यक्तिगत पैसा र सभासदको तलब समेत बैंकमै किर्ते गरेर पासवानले खाइदिने गरेको घटना पनि सम्बन्धित पात्रले खुलासा गरिसकेकी छिन् । ती महिलाको काण्डमा पासवानले दलित जनजाती पार्टी नै फुटाए । आफु एक्लै जम्ने अर्कालाई पेल्ने, ठग्ने, हेप्ने उनको चरित्रै हो । आफु तल परेमा तुरुन्त होस गुमेको जस्तो व्यवहार गर्ने र आवश्यकता अनुसार फेरि सद्धे हुन जान्ने पासवानमा खास खुबी छ । के यस्तै खुबी नेपालमा मन्त्री बन्न आवश्यक योग्यता हो त ?

मैले उनको पत्रिकामा सम्पादक भएर काम गर्दा थाहा पाएँ कि पासवान पैसा भनेपछि कतीसम्म लोभ गर्छन् । आफू दलितको नेता भन्छन् तर भाडामा बसेको घरमा आफ्नो दलित पहिचान खुलाउँदैनन् । यिनको पार्टीको संसदीय दलको कार्यालयमा कहिलेकाहीं जाँदा एउटी चौधरी थरकी तत्कालिक माहिला सभासदले निक्कै रवाफ मच्चाउँथिन् जबकि उनी अर्कै पार्टीबाट प्रतिनिधित्व गर्दथिन् । सम्पादकको नाताले विश्वेन्द्रको राजनीतिक कमी–कमजोरी औंल्याउँदा ती चौधरी महिला सभासद प्रतिवाद गर्थिन् । विश्वेन्द्रलाई चिमोट्दा उनलाई दुखे जस्तो हुनुको रहश्य के थियो मैले पत्ता पाइनँ ।

पत्रिकामा काम गर्दा पासवानले ५ महिनामा चार ठाउँ अफिस सारे । कर्मचारी, रिपोर्टर, टाइपिस्ट कसैलाई तलब दिएनन् । अनामनगरको भट्टराई थरको मानिसले सञ्चालन गर्ने छापाखानाले पैसा मागेकोमाग्यै गर्थे पासवान ठगेकोठग्यै गर्थे । चिप्ला कुरा घरीघरी गर्ने पासवान तत्काल मान्छेको चित्त बुझाउने क्षमताका छन् । त्यसैले म उनीसँग केही समय फसेछु । पैसा माग्दामाग्दा हुँदै नभएपछि मैले सूचना विभागमा पासवानविरुद्ध मुद्दा हालेँ । विभागका कोइराला थरका प्रमुख र हुमागाईं थरका अधिकृतले पासवानलाई ताकेता गरेका हुन् । धेरै समय ताकेता गरेपछि दलितको क्षेत्रमा काम गर्ने मोती नेपाली (डि.डब्लु.ओ. नामक संस्थाका अध्यक्ष) को रोहबरमा पासवानले मलाई तिर्नुपर्ने रकम मोलमोलाई भयो । लगभग सतरी हजार थियो । सुचना विभागका अधिकृतहरूले मलाई लचिलो हुन आग्रह गरे, विश्वेन्द्रले पनि माफी मागे । पत्रिका बन्द भएको र आफ्नो हालत तन्नम भएको तर्क पासवानले गरेपछि मैले जम्मा तीस हजार लिएर चित्त बुझाउनु पर्ने भयो । तत्काल आठहजार र बांकी २२ हजार एक महिानामा दिने भाका पासवानले कवोले, मैले स्वीकार गरेँ । आठ हजार त्यतिबेलै दिए र २२ हजारको कागज गरे । सुचना विभागमा अहिले पनि त्यसको प्रमाण हुनुपर्छ । भाका पुगेपछि पैसा माग्दा पासवानले मोती नेपालीलाई हप्काएछन् ।

म काठमाडौं छाडेर सुनसरीको इटहरी आएको छु । सूचना विभागमा सम्पर्क गर्दा पासवानलाई पत्र काटेको तर डेरा नभेटेर त्यत्तिकै भएको छ भन्ने जवाफ आयो । यसबारे पत्रकार महासंघका पूर्वाञ्चल सदस्य गणेश लम्सालमार्फत जानकारी गराएँ । महासंघले चासो राख्दा पनि सूचना विभागले पासवानलाई नभेटेको जवाफ दिएछ । अब त माननीय विश्वेन्द्र पासवान मन्त्री भएका छन् । बिनाविभागीय मन्त्री हुनाले तत्काल अझ नभेटिएलान् † तर विभाग तोकिएपछि त सूचना विभागले पनि पक्कै थाहा पाउँछ होला । त्यसपछि पासवानबाट मेरो तलब दिलाइदेला भन्ने अपेक्षा राखेको छु ।

– पीवी दियाली (सम्पादक, गणराज्य साप्ताहिक, इटहरी)
सम्पर्क : ९८०८७८०४९३, ९८४२०७९०१९