चियापानमा कोइरालाले लगाए सहमतिको रट !

चियापानमा कोइरालाले लगाए सहमतिको रट !


काठमाडौं । नेपाली कांग्रेसका सभापति सुशील कोइरालाले वर्तमानमा दलहरूबीच आपसी समझदारी, सहकार्य र एकता उत्तिकै आवश्यक भएको बताएका छन् । कांग्रेसद्वारा सोमबार राजधानीमा आयोजित दशैँको शुभकामना आदानप्रदान एवम् चियापान कार्यक्रममा प्रतिक्रिया दिँदै उनले नेपाली जनताको महत्वपूर्ण उपलब्धिका रुपमा प्राप्त संविधानको कार्यान्वयनका लागि दलबीचको एकता आवश्यक भएकामा जोड दिए । देशको विद्यमान समस्यालाई चाँडो समाधान गर्नुपर्ने बताउँदै उनले तराई–मधेसमा जारी आन्दोलनको वार्ताका माध्यमबाट समाधान खोज्नुुपर्ने धारणा अघि सारे ।

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा सोमबार अपराह्न १ बजेदेखि सुरु भएको चियापान कार्यक्रममा कांग्रेसका सभापति सुशील कोइराला, वरिष्ठ नेता शेरबहादुर देउवा, उपसभापति रामचन्द्र पौडेल, महामन्त्रीद्वय प्रकाशमान सिंह र कृष्णप्रसाद सिटौला तथा केही केन्द्रीय सदस्यहरुले आगन्तुकको स्वागत गरेका थिए भने एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओलीलगायत विभिन्न दलका नेता एवं कार्यकर्ता तथा बुद्धिजीवी, सर्वसाधारणको सहभागिता थियो ।

प्रत्येक वर्ष पार्टी केन्द्रीय कार्यालय बिपी नगर सानेपामा आयोजना गर्दै आएको चियापान कार्यक्रम यस पटक भने सहजताका लागि कांग्रेसले रङ्गशालामा गरेको हो । मुलुकको राष्ट्रियता कमजोर भएका बेला प्रवासमा रहेका कांग्रेसका संस्थापक नेता बिपी कोइराला राष्ट्रिय मेलमिलापको नीति लिएर स्वदेश फर्केपछि शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम आयोजना हुँदै आएको छ । कोइराला २०३३ पुस १६ गते स्वदेश फर्केपछि मेलमिलाप, सहमति र सहकार्यबाटै प्रजातन्त्रको सुदृढीकरण हुन्छ भन्ने मान्यताका साथ २०३५ सालदेखि काँग्रेसले प्रत्येक वर्षको कोजाग्रत पूर्णिमामा शुभकामना आदानप्रदान गर्दै आएको छ ।

यसैबीच प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपतिको निर्वाचनका लागि बहुमतीय प्रक्रिया थालिएपनि सहमतिका साथ अघि बढ्न सकिने बताएका छन् । कांग्रेसले आयोजना गरेको चियापान कार्यक्रममा उनले विगतमा राष्ट्रपति तथा प्रधानमन्त्रीको निर्वाचनमा नेकालाई सघाएको र त्यसपछि पनि सहमतिका साथ एकताबद्ध भएर अघि बढ्ने प्रयास भइआएको उल्लेख गरे ।

हालै भएको प्रधानमन्त्रीको निर्वाचनमा समझदारी र सहमतिमा असहजता र अप्ठ्यारो देखापरेको स्पष्ट पार्दै प्रधानमन्त्री ओलीले अब हुने राष्ट्रपतिको निर्वाचनमा नेकपा (एमाले)ले पूर्व रक्षामन्त्रीसमेत रहनुभएका संविधानसभा सदस्य विद्यादेवी भण्डारीलाई उम्मेदवारका रुपमा प्रस्ताव गरेको र यस प्रस्तावलाई केन्द्रबिन्दुमा राखेर सहमतिका सबै प्रयास अघि बढाउन आग्रह गरेको बताएका हुन् । सहमतिका साथ अघि बढ्न वाञ्छनीय भएकाले नेकालगायत सबै दललाई एमालेको प्रस्तावमा समर्थन जनाउन आग्रहका साथ पत्रसमेत पठाइसकेको उनले जानकारी दिए ।