दलबीच सहमति नजुट्दा विद्यालाई ‘चिट्ठा’

दलबीच सहमति नजुट्दा विद्यालाई ‘चिट्ठा’


Bidhya Bhandari 9 jpg
काठमाडौं । राजनीतिक दलहरूबीच सहमति जुट्न नसकेपछि नेकपा (एमाले) ले पार्टीका उपाध्यक्ष विद्या भण्डारीलाई राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको छ । यसअघि एमालेले कांग्रेस सरकारमा आएर ओली सरकारलाई दुई वर्ष टिकाउन सघाए नेपाली कांग्रेसलाई राष्ट्रपतिमा समर्थन गर्ने अनौपचाररिक सर्त तेस्र्याउँदै आएको सन्दर्भ चर्चामा आएको थियो । तर, नेपाली कांग्रेसले सरकारमा नजाने प्रस्ट्याइसकेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बिहान बसेको एमाले स्थायी कमिटी बैठकले उपाध्यक्ष भण्डारीलाई राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको हो । बैठकमा पूर्व पार्टीअध्यक्ष एवम् पूर्वप्रधानमन्त्री झलनाथ खनाल र पूर्वसभामुख सुवासचन्द्र नेम्वाङको नाममा पनि छलफल चलेको थियो । तर, प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओलीले विद्या भण्डारीको नाम अघिसारेपछि सबैले समर्थन गरेका थिए । राष्ट्रपति बन्न इच्छुक देखिएका झलनाथ खनालले पनि विद्याको नाम अघि आएपछि विरोध गर्न नसकेको एमाले सुत्र बताउँछ । पहिलो महिला राष्ट्रपति बनाउने अवसर आएको र महिलामैत्री एवम् समावेसीता पनि देखिने भन्दै ओलीले विद्याको नाम राष्ट्रपतिको उम्मेद्वारको रुपमा प्रस्ताव गरेका थिए । पार्टीको तर्फबाट राष्ट्रपतिका उम्मेदवार भण्डारीलाई विजयी गराउन प्रयत्न गर्ने र त्यसका लागि अन्य दलहरुसँग लिखित पत्राचार गर्ने एमाले नेताहरूले जनाएका छन् ।

राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन नेपालको संविधानअनुसार ११ गतेको व्यवस्थापिका–संसद् बैठकमा मतदान हुनेछ । एमाले उपाध्यक्ष भण्डारी राष्ट्रपति निर्वाचनमा विजयी बन्ने करिव निश्चित मानिएको छ । यदि उनी विजयी भएमा नेपालको पहिलो महिला राष्ट्रपति बन्नेछिन् ।

यसैबीच नेपाली कांग्रेसले राष्ट्रपति र उपराष्ट्रपति पदको निर्वाचनमा अन्य दलसँग छलफल गरी निर्णय लिने भएको छ । व्यवस्थापिका–संसद्मा सबैभन्दा ठूलो दलका रुपमा रहेको नेकाले ती पदमा पार्टीका तर्फबाट आधिकारिक उम्मेदवार छनोट गरिसकेको छैन । पार्टी सभापति सुशील कोइरालाको निवास महाराजगन्जमा सोमबार बसेको पार्टी पदाधिकारी बैठकले संसद्मा रहेका दलसँग छलफल गरी ती पदमा पार्टीका तर्फबाट उम्मेदवारी दिने निर्णय गरेको हो ।