नाकाबन्दीले कुखुरापालन व्यवसायमा ठूलो धक्का

नाकाबन्दीले कुखुरापालन व्यवसायमा ठूलो धक्का


कुखुराका चल्ला खाल्डोमा पुर्दै
काठमाडौं । भारतको अघोषित नाकाबन्दीका कारण कुखुरापालक किसानले चितवनमा उत्पादित चल्ला पुर्न थालेका छन् । चितवनमा अण्डा उत्पादनमा ठूलो मात्रामा ह्रास आएको छ भने मासु बिक्रीमा ४० प्रतिशतले घटेको छ । नेपाल पोल्ट्री व्यवसायी मञ्चका अध्यक्ष शङ्करप्रसाद कँडेलले चल्ला, अण्डा, मासु र दाना उद्योग धरासायी अवस्थामा पुगेको र चितवन यस क्षेत्रमा भएको ६० अर्बभन्दा बढी लगानी जोखिम अवस्थामा पुगेको गुनासो गरेका छन् ।

किसानले ब्वायलर चल्ला राख्न छाडेपछि ह्याचरी उद्योगीले चल्ला खाल्डोमा पुर्न थालेका हुन् । उत्पादित चल्ला किसानसम्म पु¥याउन इन्धन नहुनु, बुडिङ्का लागि किसानले ग्यास र तेल नपाउनु र दानाको अभावका कारण चल्ला नबिकेपछि दसैँपछि निस्किएको डवल ह्याच चल्ला पुर्न बाध्य भएको ह्याचरी उद्योग सङ्घ चितवनका अध्यक्ष ऋषिराम पौडेलको कथन छ ।

ह्याचरी उद्योगले आइतबार र बुधबार हप्ताको दुई दिन चल्ला निकाल्ने गर्दछन् । बुधबार दसैँ परेकाले आइतबार डबल ह्याच एकै पटक निकालिएको थियो । देशभरका ह्याचरीले आइतबार निकालेको भएको ह्याचरी उद्योग सङ्घका केन्द्रीय सदस्यसमेत रहेका पौडेललाई उद्धृत गर्दै राससले जनाएको छ । यसअघि चल्ला प्रतिगोटा ५५ रुपैयाँमा बिक्री हुँदै आएको थियो । पौडेलका अनुसार यो हिसाबले १२ करोड १० लाख रुपैयाँ बराबरको चल्ला आइतबार मात्र नोक्सान भएको छ ।

नेपालमा १६२ वटा ह्याचरी उद्योग रहेका छन् । ह्याचरी मेसिनलाई चौबिसै घन्टा सञ्चालन गर्नुपर्ने हुन्छ । विद्युत्भार कटौतीको समयमा कालोबजारीमा महँगो मूल्यमा तेल किनेर मेसिन सञ्चालन गर्नुपर्ने र चल्ला गाड्नुपर्ने अवस्थाले व्यवसायलाई धरासायी बनाउँदै लगेको उनीहरुको गुनासो छ । यता इन्धन अभावका कारण कुखुरालाई दाना कम खुवाउन थालेपछि अण्डा उत्पादनमा भारी ¥हास आएको छ । नेपालभर दैनिक पाँच हजार पेटीको हाराहारीमा अण्डा उत्पादन हुने गरेकामा हाल दैनिक तीन हजार २०० पेटीमा झरेको छ । दाना नपाएपछि किसानले कुखुरालाई आधा पेट दाना खुवाएका छन् । कतिपयले कुखुरै बेचेका छन् भने कोहीले कम गुणस्तरको दाना खुवाउन बाध्य भएका छन् । कच्चापदार्थ भारतबाट नआएपछि गुणस्तरीय दाना बन्न सकेको छैन ।

नाकाबन्दीका कारण कुखुराको मासुको बिक्री पनि प्रभावित बनेको छ । दैनिक पाँच लाख किलो बिक्री हुँदै आएकोमा हाल तीन लाख किलोको हाराहारीमा मात्र बिक्री हुन थालेको बताइन्छ ।