सभामुखमा उम्मेदवारी दिनबाट पछि हट्यो कांग्रेस

सभामुखमा उम्मेदवारी दिनबाट पछि हट्यो कांग्रेस


paudel-koirala-deuba combo
paudel-koirala-deuba combo
काठमाडौं । प्रधानमन्त्री पदमा उम्मेदवारी दिएर शाख गिराएको नेपाली कांग्रेसले आज शुक्रबार हुने सभामुख र उपसभामुख पदको निर्वाचनमा पार्टीको तर्फबाट उम्मेदवारी नदिने निर्णय गरेको छ । पार्टी सभापति सुशील कोइरालाको निवास महाराजगन्जमा बसेको कांग्रेस पदाधिकारीको बैठकले ती दुई पदमा पार्टीको तर्फबाट आधिकारिक उम्मेदवार नबनाउने निर्णय गरेको हो । राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनमा भने प्रधानमन्त्री निर्वाचनको क्रममा आफूलाई सहयोग गर्ने दलहरुसँगको आवश्यक परामर्श र सल्लाहका आधारमा अगाडि बढ्ने निष्कर्ष निकालेको छ ।
‘‘प्रधानमन्त्रीको निर्वाचनमा सहयोग गरेको दलसँग आवश्यक परामर्श र छलफलपछि राष्ट्रपति र उपराष्ट्रपति पदमा उम्मेदवारी दिने निर्णय गरेको कांग्रेसले जनाएको छ । प्रधानमन्त्री निर्वाचनको क्रममा काँग्रेसलाई मधेसकेन्द्रित दलले सहयोग गरेका थिए । व्यवस्थापिका–संसद्को आज दिउँसो ३ बजे बस्ने बैठकमा सभामुखको निर्वाचन हुनेछ । बताइएअनुसार राष्ट्रपति र उपराष्ट्रपतिको चुनावमा भने कांग्रेसले उम्मेदवारी दिनेछ । शुक्रबार बिहान ११ देखि २ बजेसम्म सभामुख र उपसभामुखको उम्मेदवारी दर्ता गराउने कार्यक्रम रहेको छ ।
सभामुखमा एकीकृत नेकपा (माओवादी)ले रोल्पा क्षेत्र नं २ बाट निर्वाचित सांसद ओनसरी घर्तीलाई उम्मेदवार बनाएको छ । प्रमुख सत्तारुढ दल नेकपा (एमाले), एमाओवादी र सरकारलाई सहयोग गरेका अन्य दलको सहयोगमा घर्ती सहजै निर्वाचित हुने बाटो खुलेको छ । दोस्रो संविधानसभा निर्वाचनमा रोल्पाबाट विजयी हुनुभएकी घर्ती एमाओवादीको तर्फबाट प्रत्यक्ष निर्वाचित हुने २६ जना सांसदमध्ये एक मात्र निर्वाचित महिला सांसद हुनुहुन्छ । उपसभामुखको जिम्मेवारीसमेत सम्हालिसक्नुभएकी घर्ती सत्तारुढ दलको साझा उम्मेदवारको रुपमा देखिनुभएको छ । व्यवस्थापिका–संसद् सचिवालयले बिहीबार दिउँसो ३ बजेसम्म सहमतिका आधारमा सभामुख चयन गर्ने निर्वाचन तालिका प्रकाशित गरेको थियो । सो समयसम्म सहमतिका आधारमा सभामुख चयन नभएपछि आज बहुमतीय प्रक्रियामा प्रवेश गरेको हो । यस्तै सचिवालयले आज साँझ ५ बजेका लागि उपसभामुखको निर्वाचन हुने कार्यक्रम तय गरेको छ ।