गच्छदार ‘आफ्नै’बाट गद्दार घोषित !

गच्छदार ‘आफ्नै’बाट गद्दार घोषित !


Mrigendra Kumar Sing Yadavकाठमाडौं। मधेसको आन्दोलनलाई बेवास्था गर्दै विजयकुमार गच्छेदारले आफूखुशी निर्णय गरी सरकारमा सहभागी भएपछि असन्तुष्ट बनेका मधेसी जनअधिकार फोरम नेपाल (लोकतान्त्रिक)का कैयन नेता तथा कार्यकर्ताले पार्टी परित्याग गर्न थालेका छन् भने थारु समुदायले गरेको आन्दोलनको पक्षमा दह्रो वकालत गर्दै आएका सो पार्टीका महासचिव रामजनम चौधरीसमेत ओली सरकारमा मन्त्री आन पुगेका छन् । यसरी आन्दोलन छोड्दै नेताहरु सत्तामा जान थालेपछि कार्यकर्तामा निराशा र आक्रोश उत्पन्न भएको हो । यसैबीच फोरम लोकतान्त्रिकका पूर्वमहासचिव मृगेन्द्रसिंह यादवसहित करिब दुई सयभन्दा बढी पदाधिकारी तथा नेता एवम् कार्यकर्ताले साधारण सदस्यतासमेत नरहने गरी पार्टी परित्याग गरेका छन् । राजविराजस्थित आफ्नै निवासमा पत्रकार सम्मेलन गरी महासचिव यादवले पार्टी परित्यागको घोषणा गरेका हुन् ।

सीमाङ्कनसहितको सङ्घीय संविधानका लागि सुरु भएको थरुहट–मधेस आन्दोललाई नै समाप्त पार्ने गरी आत्मघाती कदमस्वरुप पार्टी अध्यक्षले केन्द्रीय कार्यसमितिलाई कुनै आधिकारिक जानकारी नदिई एकलौटी ढङ्गले सत्ताको लोभमा सरकारमा सहभागी भएको भन्दै यादवसहित पार्टीका कार्यकर्ताले पार्टी परित्याग गरेको बताइएको छ । यादवले आफ्नै पार्टीका अध्यक्ष मधेस विरोधी भएको भन्दै पार्टीका केन्द्रीय समिति, जिल्ला समिति, निर्वाचन क्षेत्र, राजविराज नगर समिति तथा गाउँ समितिका करिब दुई सयभन्दा बढी कार्यकर्ताले साधारण सदस्यतासमेत नरहने गरी पार्टी परित्यागको घोषणा गरेको बताए ।

नेपालमा सदियौँदेखि शोषित, उपेक्षित, विभेदबाट पीडित दलित, मुसलमान, जनजाति, पिछडावर्गलगायत सम्पूर्ण मधेसी–थारुको जायज मागलाई सरकारले सम्बोधन नगरी एकार्कालाई दोष लगाउने गरेको कार्यप्रति भत्र्सना गर्दै आफ्नै पार्टीबाट विभेदसमेत भएको यादवले आरोप लगाए । गच्छदारलाई उनले मधेसको गद्दार भन्दै तीखो आलोचना गरे । फोरम (लोकतान्त्रिक)का जिल्ला सचिव र कोषाध्यक्ष बाहेक सप्तरी जिल्लाका सबै कार्यकर्ताले पार्टी परित्याग गरेको बताइएको छ भने यसबाट गच्छदारलाई ठूलो राजनीतिक झट्का लागेको विश्लेषण गरिएको छ ।