ओलीका पक्षमा किन अडिग रहे प्रचण्ड ?

ओलीका पक्षमा किन अडिग रहे प्रचण्ड ?


prachandaसंविधानसभाको दोस्रो निर्वाचन परिणामले प्रचण्डलाई विचलित तुल्याएको थियो र त्यसबेला आफ्ना निकटस्थ शुभचिन्तकहरूसँग उनी भन्ने गर्दथे, ‘भारतका इच्छालाई सम्बोधन गर्दै जाँदा म ‘यस्तो’ अवस्थामा पुगेँ, सकिएँ । अबका दिनमा भारतसँगको मेरो सम्बन्ध–सम्पर्क समय र विषयसापेक्ष हुनेछ । जे भन्दै जान्छ त्यो मान्दै जाने स्थिति अब रहेन । कुनै समय हामी भारतसँग लड्न पनि तयार भएका थियौँ, त्यसले एउटा परिणाम दियो । त्यसपछि भारतसँग मिलेर जाने नीति हामीले लियौँ, भारतले भनेको मान्दै जाँदा हामी धेरै अप्ठ्यारो स्थितिमा पुग्यौँ । उसले जे भन्यो त्यो मान्ने अध्याय सकिएको छ । अब हामी मुलुक र हाम्रो आफ्नै पनि हितलाई केन्द्रमा राखेर भारतसँग व्यवहार गर्नेछौँ । होसियारी साथ पाइला चाल्नेछौँ ।’ २०७० मङ्सिरमा सम्पन्न संविधानसभा निर्वाचन (दोस्रो) मा नराम्रो पराजय व्यहोर्नुको मूल कारण प्रचण्डले भारतलाई ठानेका थिए, आफ्ना कमी–कमजोरीलाई होइन । त्यसबेलादेखि नै प्रचण्ड भारतप्रति ‘रिजर्भ’ थिए र आफ्नो भूमिकाले भारतलाई ‘सक’ दिने स्थिति निर्माण गर्न चाहन्थे । संविधान निर्माण घोषणा र सरकार गठनका क्रममा आफूले निर्वाह गरेको भूमिकाले भारत स्तब्ध भएको विश्वास उनले गरेका छन् ।
संविधान निर्माणको चरणमा प्रचण्डले गणतन्त्र, सङ्घीयता र धर्मनिरपेक्षतालाई संस्थागत गर्ने सोच बनाएका थिए । केही नलागे गणतन्त्र मात्र संस्थागत गरेर भए पनि संविधान जारी गर्नुपर्ने सोच प्रचण्डको थियो । सङ्घीयता र धर्मनिरपेक्षतासमेत संविधानमा लिपिबद्ध हुँदा प्रचण्ड खुसीले गद्गद भएका छन् । भारतीय पक्षले केही दिन पर्खिएर सबैलाई समेट्दै संविधान जारी गर्न दिएको सुझावलाई पनि उनले सकारात्मक रूपमा लिएनन् । त्यसैबीच डा. बाबुराम भट्टराईले पार्टी परित्याग गर्नुमा पनि प्रचण्डले भारतकै हात देखे र यस प्रकरणपछि उनी भारतका प्रति झन् कठोर बने । केपीलाई प्रधानमन्त्री बनाउँदा भारतलाई झट्का लाग्छ भन्ने विश्वासमा रहेका प्रचण्डले अन्ततः सबै प्रकारका दबाबका बाबजुद केपी ओलीलाई प्रधानमन्त्री बनाउन मुख्य भूमिका निर्वाह गरेरै छाडे । प्रचण्ड नअडिएका भए ओली प्रधानमन्त्री बन्ने ढोका खुल्न मुस्किल थियो । एमाओवादी बक्री भइदिएको भए अन्य साना दल सबैले समर्थन गरे पनि ओली प्रधानमन्त्री बन्न सम्भव थिएन ।
यसरी प्रचण्ड केपी ओलीका पक्षमा दृढतापूर्वक उभिनुको कारण ‘भारतलाई देखाउन’का लागि मात्र थियो वा त्यसका अन्य कारण पनि छन्, यो सबैको जिज्ञाशाको विषय बनेको छ । दिन प्रतिदिन कमजोर र रक्षात्मक बन्दै गएको एमाओवादी पार्टी तथा आफ्नो हैसियत जोगाउनु प्रचण्डको बाध्यता बनेको छ । चीन या भारत जो जसको आड लिए पनि देशभित्र आफ्नो हैसियत स्थापित भएन भने त्यसको कुनै अर्थ नहुने तथ्यबारे प्रचण्ड अवगत छन् । काङ्गे्रससँग गठबन्धनमा जाँदा आफ्नो वैचारिक धरातल कमजोर हुनसक्ने र सैद्धान्तिक एवम् वैचारिक रूपमा काङ्गे्रसभन्दा एमाले नै निकटको मित्र हुने ठहर भएकोले पनि प्रचण्डको रोजाइमा एमाले परेको हो । फेरि बन्दुक बोक्न असमर्थ भइसकेको र जनाधार एवम् सङ्गठन पनि कमजोर हुँदै गएको परिपे्रक्ष्यमा प्रचण्ड आफ्नो राजनीतिक भविष्यलाई लिएर थप चिन्तित छन् भने त्यो अस्वाभाविक होइन । सुरक्षित अवतरणका लागि आफू राष्ट्रपति बन्ने र पार्टीलाई एमालेसँग एकीकृत गराउने दीर्घकालिक योजनाअनुसार नै प्रचण्ड अघि बढेको विश्लेषण अहिले गर्न थालिएको छ । त्यसैले प्रचण्ड केवल भारतलाई देखाउनका लागि मात्र नभई आफ्नै राजनीतिक भविष्य रक्षाका लागि पनि केपी ओलीलाई प्रधानमन्त्री बनाउन कस्सिएका हुन् भन्न सकिन्छ । अहिले प्रचण्डलाई एमाले पङ्क्तिले सकारात्मक रूपमा लिने परिस्थिति निर्माण गरिदिएको छ । एमालेको चुस्त, व्यापक र सक्रिय साङ्गठनिक सञ्जालको नेतृत्व लिने आकाङ्क्षा प्रचण्डभित्र पलाएको छ भने त्यो पनि आश्चर्यको विषय होइन । महत्वाकाङ्क्षी मानिस या त आफैँले केही गर्छन् या बनिबनाउन अवस्थालाई आफ्नो पक्षमा प्रयोग–उपयोग गर्ने सामथ्र्य राख्दछन् । एमाओवादी पार्टी बोकेर मात्र ‘उद्देश्य’ पूरा नहुने प्रचण्डको निष्कर्ष हो भने त्यसलाई अस्वाभाविक मान्न सकिँदैन । केपी ओलीलाई प्रधानमन्त्री बनाउने अवसरको पूर्ण सदुपयोग गरेर प्रचण्डले भारतलाई जेसुकै सन्देश दिन खोजेका भए पनि एमालेभित्र आफू स्वीकार्य हुनसक्ने स्थिति निर्माण गर्ने सफलतासमेत उनलाई प्राप्त भएको छ ।