उपत्यकामा दुई प्रहरी ‘नायक’को चर्चा

उपत्यकामा दुई प्रहरी ‘नायक’को चर्चा


two-herosनेपाल प्रहरीका धेरै एसएसपी महानगरको ‘केरकार’ र ‘परिसर’मा आए र आफ्नो कार्यकाल पूरा गरेर गए । केरकारको नेतृत्वमा यसअघि रहेका पुष्कर कार्कीबाट सुरु भएको गुण्डा सफाया कार्यलाई यतिबेला नेतृत्व दिइरहेका एसएसपी सर्वेन्द्र खनालले पनि निरन्तरता दिए । ‘चरी’ मारिँदा थपडी बजाउनेहरू घैँटे ढल्दा विरोधमा उत्रेका पनि देखियो । यतिखेर आखिर किन उपत्यकामा सुरक्षाको विषयमा यसरी विशेष चर्चा–परिचर्चाको सन्दर्भ सुरु भयो त भन्ने जिज्ञासा उत्पन्न हुनु स्वाभाविक छ । वास्तवमा एउटै चरित्र र एउटै मिसन बोकेका जगारुक, जुझारु र कर्तव्यपरायण दुई प्रहरी अधिकारीका कारण महानगरीय सुरक्षा–व्यवस्थाबारे खास चर्चा भएको हो । मिडियामा छाउनभन्दा कामप्रति बढी दिलचस्पी दिने तथा जनताको सुख–दुःखसँग प्रत्यक्ष सरोकार राख्ने सर्वेन्द्र खनाल र विक्रमसिंह थापाको जोडीलाई प्रधान कार्यालयले एक साथ मिलेर काम गर्ने अवसर जुराइदिएपछि अपराध कर्म या अवैध धन्दामा संलग्न भएकाको यतिबेला निद हराम हुन थालेको छ भने शान्तिसुरक्षा चाहने जनता खुसीले गद्गद् भएका छन् ।
वास्तवमै सर्वेन्द्र्र खनाल र विक्रमसिंह थापा कहिल्यै पनि नाम र दामलाई केन्द्रबिन्दुमा राखेर काम गर्ने अधिकृतमा परेनन् । बिरालो मार्दा बाघ मारेको हल्ला पिटाउने कतिपय अधिकृतका अघिल्तिर प्रहरी प्रशासनका यी दुई ‘नायक’ मिडियाको नजरमा एकप्रकारले छायामै परे पनि आमजनताको दृष्टिमा बहादुर सिपाहीका रूपमा मूल्याङ्कित भएका छन् । सर्वेन्द्र्र खनालको विषयमा विगत धेरै लामो कहानी भन्नुभन्दा दुई सन्दर्भका बारेमा उल्लेख गर्दा नै काफी हुन्छ । आमजनता र व्यवसायीलाई अवाञ्छित असुली र गुन्डागर्दीबाट आजित तुल्याउने कुमार घैँटेको दबदबाबाट छुटकारा दिलाएको ताजा सन्दर्भप्रति जनता जानिफकार भए पनि खनालले नारायणी अञ्चलको इन्चार्ज हुँदा गरेको कार्य पनि उल्लेख गर्न लायककै छ । सीमापारिका अपराधीको क्रीडास्थलका रूपमा परिचित वीरगन्ज एरियामा एसएसपी खनालले छोटो अवधिमै परिभाषा नै बदलिदिएका थिए । भित्री आत्माबाट पैसालाई भन्दा जनताको सेवालाई केन्द्रबिन्दुमा राख्ने हो भने छिट्टै चामत्कारिक रूपले असुरक्षा र अवैध धन्धा समाप्त हुने रहेछ भन्ने कुरा सर्वेन्द्र्रले नारायणीमा बस्दा प्रमाणित गरेर देखाए । रातदिनको मिहिनेत, प्रहरी संयन्त्रलाई चुस्तदुरुस्त किसिमले परिचालनका साथै निरीक्षण गर्नु र लोभ–लालचलाई पैतलामा च्यापेका कारण खनाल त्यहाँका सच्चा उद्योगी, व्यापारी र सर्वसाधारणका नजरमा वाहीवाहीका पात्र बनेका थिए । अवैध कार्य गर्नेको आँखामा भने उनी त्यहाँबाट बिदाइ हुने दिनसम्म नै कसिङ्गर भएर रहे । तस्करी नियन्त्रण, शान्तिसुरक्षा कायम गर्ने काम मात्र नभई एसएसपी खनाल राजनीतिक आडमा हुने तस्करीको जालो चुँडाउनसमेत सफल भए ।
यही परिवेशमा सर्वेन्द्रको चरित्र र शैलीसँग ठ्याक्कै मेल खाने एसएसपी विक्रमसिंह थापाले काठमाडौंको सुरक्षा सम्हालेका छन् । ललितपुरको इन्चार्ज हुँदा देशभर सञ्जाल फैलाएर एकछत्र ठगी गरेको युनिटीजस्तो ठगीको जालोलाई च्यातेर सम्बन्धित ठगलाई जेलको चिसो हावा खुवाउने विक्रम जहाँ जान्छन् त्यहाँ ‘म बाघको डमरु हुँ, मलाई सिनो खाने कुकुर नसम्झ’ भन्ने बडाकाजी अमरसिंह थापाको महावाणी शिरमाथि टाँग्ने गर्छन् । उनले शान्तिसुरक्षाको सवालमा एकप्रकारले अस्तव्यस्त ललितपुरलाई शान्त जिल्ला बनाइदिएका थिए । त्यहाँबाट नेपालगन्जको इन्चार्ज बनेका थापाका अगाडि थुप्रै चुनौती थिए । दिनदहाडै अपहरण, असुली, हत्या, आतङ्क चल्थ्यो । विक्रमले त्यहाँ पनि चुनौतीलाई अवसरका रूपमा लिएर अघि बढे । नेपालगन्जमा उनी जाँदा भूमिगत समूहका नाइके भगतसिंहको आतङ्कले चरम रूप लिएको थियो । विद्यालय गएको बालक, अफिस गएका श्रीमान्, उद्योग–व्यवसायमा गएको व्यवसायी जीवित फर्कन्छ या फर्कंदैन भन्ने त्रास रहन्थ्यो । विक्रम त्यहाँ पुगेपछि सञ्चारकर्मी, नागरिक समाजका अगुवा र उद्योगी–व्यवसायीका अगाडि आजदेखि कि त भगतसिंह रहन्न कि त विक्रमसिंह भन्ने हुङ्कार दिए । थापाको त्यो चुनौतीलाई तत्कालीन समयमा कतिपयले खिल्ली उडाउन पनि खोजे । तर, जब विक्रमले अप्रेसन अगाडि बढाए, त्यहाँ अपहरणको धन्दा त परै रहोस् छिटफुट घटना पनि घटेन । अन्ततः भगतसिंहजस्ता कुख्यात अपराधी पनि त्यहाँबाट भाग्नुप-यो ।
त्यति मात्र नभएर एसएसपी विक्रमले त्यहाँको सडक चौडा गराउनेदेखि विद्यालयमा पुगेर धुम्रपान, मद्यपान र लागूऔषधबारे जनचेतना जगाउने कार्यमा आफूलाई संलग्न गराए । उनी नेपालगन्ज बस्दासम्म सार्वजनिक ठाउँमा धुम्रपान कसैले गरेन । छोटो अवधिमा त्यहाँको सुरक्षा स्थिति आफ्नो काबुमा लिएपछि भारतीय राष्ट्रिय दैनिक र स्थानीय सञ्चारमाध्यमले समेत सम्पादकीय नै लेखेर स्याबासी दिए भने जनताले हिन्दी सिनेमाको हिरो सिङ्घमको उपाधि दिएका थिए । रूपन्देहीको इन्चार्ज हुँदा पनि विक्रमले राज्यलाई ठूलो फाइदा हुने काम गरे । वर्षौंदेखि आयल निगमका कर्मचारीको मिलेमतोमा तेल तस्करले पेट्रोलियम पदार्थ जमिनमुनि गाडेर चोरी गर्दै आएका थिए । वर्षौंदेखिको पेट्रोलियम पदार्थ चोरी कार्यलाई उनले रोक्ने काम मात्र गरेनन् त्यसका कसुरदारलाई कानुनको दायरामा उभ्याएर कारबाही गराइछाडे । ठूलो आर्थिक प्रलोभन दिँदा पनि उनी त्यहाँको ढुङ्गा, गिटी निकासी गरेर कमाउने खेलमा फसेनन्, जिल्लाको प्रमुख जिल्ला अधिकारी र आफ्नै सङ्गठनको अञ्चल प्रमुखसमेत निकासी गर्ने कुरामा सहमत हुँदा उनले नोट अफ डिसेन्ट लेखेर आफ्नो स्वच्छ छवि देखाएर रोक्न सफल भएका थिए ।
यसरी, वास्तविक रूपले जनताको मन जित्न खोज्ने दुई इमानदार र बहादुर प्रहरी अधिकारी यतिबेला राजधानीको शान्तिसुरक्षा गर्ने जिम्मेवारी बोकी खटिएका छन् । जनताले तिरेको करबाट आफूले रासन र आसन पाएको बताउने यी दुई प्रहरी अधिकृतबाट उपत्यकावासीले धेरै आशा गरेकाले पक्कै आफ्नो परिचित चरित्रअनुरूपको कर्मलाई अघि बढाई यी दुई नायकले जनताको मन थप जित्नेछन् भन्नेमा आशा र विश्वास गर्न सकिन्छ ।
– मोहित अधिकारी