डा. इरिनाबाट के सिक्ने ?

डा. इरिनाबाट के सिक्ने ?


एक दिन एकजना विदेशी महिला मलाई भेट्न नार्कोनन नेपाल आउनुभयो । उहाँ रसियामा जन्मिए पनि नेपालीसँग विवाह गरी नेपालमै बस्ने नेपाली हुनुहुँदोरहेछ । अधबैंसे ती महिला पेसाले डा. हुनुहुँदोरहेछ र उहाँले केहीबेर मसँग कुरा गर्दा दुव्र्यसनमा परेका युवाको व्यवस्थापनको चिन्ता र चासो देखाउनुभयो । ती महिला डा. इरिना कार्की पूर्वमै आफ्नो सेवा प्रदान गर्न ख्याति आर्जन गर्नुभएका डा. ज्ञानेन्द्र कार्कीकी जीवनसङ्गिनी हुनुहुँदोरहेछ भन्ने जानकारी पनि पाएँ । कुरा ड्रग्सबारे थुपै्र भए, हामीबीच विराटनगरमा एक संयुक्त कार्यक्रम गर्ने सल्लाह पनि भयो । तर, म यी कुराहरूले भन्दा पनि उनको अर्कै कुराले चाहिँ ज्यादै प्रभावित भएँ ।
डा. इरिना कार्कीलाई आफ्ना पति ज्ञानेन्द्र कार्कीप्रति ज्यादै ठूलो सम्मान र विश्वास मात्र होइन पतिको क्षमताप्रति ज्यादै ठूलो घमण्ड पनि रहेछ । डा. इरिना कुरैकुरामा आफ्ना पति डा. ज्ञानेन्द्रको खुलेर तारिफ गर्ने मात्र होइन ‘द वेस्ट डाक्टर छ’ पनि भन्नुहुन्थ्यो । यसरी पतिको क्षमता उजागर गर्दा उहाँ कत्ति पनि द्विविधामा देखिनुहुन्थेन ।
डा. इरिना फर्कनुभएपछि मलाई डा. ज्ञानेन्द्र कार्कीसँग भेट्ने इच्छा भयो । मैले उहाँलाई कहिल्यै देखेको–भेटेको थिइनँ, यहाँसम्म कि उहाँको बारेमा सुनेको पनि थिइनँ । विराटनगर जाने काम पर्दा उहाँलाई भेटौँला भन्ने मनमा थियो । धेरै महिनापछि हालै असार १७ गते प्रहरी प्रधान कार्यालय र नार्कोनन्को एक संयुक्त कार्यक्रम लिएर विराटनगर जानुपर्ने भयो । म यही मौकामा डा. कार्कीलाई भेट्ने सोचमा पुगेँ र डा. इरिना कार्कीलाई आफू विराटनगर आउन लागेको फोनबाट बताएँ । तर, डा. इरिना काठमाडौंमै हुनुहुँदोरहेछ । त्यसैले मैले सीधै डा. ज्ञानेन्द्र कार्कीसँग कुरा गरेर समय मिलाउने निधो गरी फोन गरेँ । मैले आफ्नो परिचय दिनेबित्तिकै उहाँले चिनेर हो वा नचिनेर चिनेको व्यक्तिले झैं कुरा गर्नुभयो । मैले उहाँसँग भेट्न चाहेको कुरा बताएँ । उहाँले मलाई आफ्नै गेस्टहाउसमा बस्ने अनुमति दिनुभयो । मैले उहाँसँग ड्रग्सविरुद्ध केही कार्यक्रम गर्ने सोच राखेको पनि बताएँ । उहाँ त्यसमा पनि सकारात्मक देखिनुभयो ।
विराटनगरमा प्रहरी प्रधान कार्यालय तथा नार्कोनन् नेपालको औपचारिक कार्यक्रम समाप्त गरी साँझपख म रिक्सा चढेर उहाँको विराट हस्पिटलमा पुगेँ । त्यो अस्पतालले पूर्वका नेपालीलाई त्यति धेरै सेवा दिन्छ होला भन्ने मैले कल्पनै गरेको थिइनँ । चोकमा कोठाबाहिर, कोरिडोरमा, सयौं बिरामी र तिनका आफन्तहरू त्यो अस्पतालप्रति गहिरो आस्था बोेकेर आएका देखिन्थे । पुण्य बस्नेत भन्ने हँसिला र सहयोगी भाइले मलाई स्वागत गरे । त्यसै रात उनको छोरा पनि जन्मिएकाले मैले बधाई दिन पनि पाएँ । म ज्यादै थकित थिएँ र त्यस साँझ डाक्टर साहेव पनि झापातर्फ जानुभएको हुँदा भेट भएन । उहाँको गेस्टहाउस जहाँ व्यायामका सामग्रीहरू पनि भएकाले क्लब पनि भनिँदोरहेछ । त्यस क्लबमा बस्ने एक तामाङ परिवारले मलाई स्वागत गरी कोठामा राखे र राम्रो आतिथ्य दिए । तर, जसको म अतिथि थिएँ उहाँलाई नै भेट्न नपाई अरूको आतिथ्य स्वीकार गर्न मलाई भित्र–भित्र अप्ठ्यारो परिरहेको थियो ।
रातमा तामाङ भाइले मलाई खुवै मिठो विर्यानी खुवाए । उनी सानो तोते बोल्ने छोराका साथ सपरिवार त्यस अतिथिगृहमा बस्दा रहेछन् र पाहुनाहरूको रेखदेख गर्दा रहेछन् । मैले उनैलाई डा. कार्कीका बारेमा सोधेँ । ‘डा. कार्की कस्तो मानिस हुनुहुन्छ ?’, मेरो प्रश्न खस्न नपाउँदै दुबै हातले सोफा समाती ती खाना बनाउने तामाङले भने, ‘उहाँ ज्यादै भद्र र सबैलाई माया गर्ने व्यक्ति हुनुहुन्छ । उहाँले मेरो छोरालाई त्यहीँ सेन्ट जोसेफ बोर्डिङ्मा पढाइदिनुभएको छ, जहाँ उहाँले आफ्नो छोरा पढाउनुहुन्थ्यो । मलाई भगवान्ले यो घरमा फुत्रुक्क झारिदिनुभएको छ र म जीवनभर उहाँको काख छोड्न चाहन्न । मैले भारत तथा नेपालमा थुपै्र दुःख गरेँ, तर यो छानोभित्र म सुखी र खुसी छु ।’ जब ती खाना बनाउने कामदारले पनि आफ्ना घरमालिक डा. कार्कीको तारिफ गरे त्यसपछि मलाई डा. इरिनाको कुरामा थप विश्वास भयो ।
भोलिपल्ट असार १८ गते बिहान अस्पतालमा मेरो भेट डा. कार्कीसँग भयो । आफ्ना डाक्टरहरू र मेडिकल स्टाफहरूबीच डा. कार्कीले मलाई सजिलै चिन्नुभयो । मैले बरु चिन्न ढिलाइ गरेँ । उहाँले दरिलोसँग हात मिलाई मलाई एक क्याबिनमा लैजानुभयो र ड्रग्स रोक्न मेरो संस्थाले गरेको कामको प्रशंसा गर्दै आफ्नो अस्पताल देखाउन लैजानुभयो । हामी कोरिडोर, भर्‍याङ, लिफ्टमा एक–अर्कासँग कुरा गर्दै गयौँ । अस्पतालमा जताततै अनगिन्ती बिरामी देखिन्थे । उहाँले भन्नुभयो, ‘मैले विराटनगरलाई थलो बनाएँ र पूर्वक्षेत्रको सेवा गर्न यो विराट अस्पताल (नर्सिङहोम) स्थापना गरेँ । ०५१ सालमा एक बेडबाट सुरु गरेको यो अस्पतालले अहिले सयौँलाई भर्ना गरेर सेवा दिन्छ । यो अस्पतालमा काठमाडौंलाई सम्झनुनपर्ने सेवा–सुविधाहरू छन् । मैले हेरँे वास्तवमै त्यहाँ ल्याप्रोस्कोपीका आधुनिक सेवा थिए र उहाँ आफैं यस क्षेत्रका पहिलो विशेषज्ञ पनि हुनुहँुदोरहेछ । त्यो अस्पतालको व्यवस्थापनबाहेक डा. कार्कीले विराट हेल्थ कलेज, विराट मेडिकल कलेज, काठमाडौं ग्लोबल हस्पिटल, निम्स्ट हेल्थ कलेज प्रत्यक्ष रूपमा स्थापना गरी रेखदेख गर्नुहुँदोरहेछ भने लुम्बिनी मेडिकल कलेजको पनि प्रमोटर हुनुहुँदोरहेछ । यसबाहेक उहाँले एक एफएम रेडियो सर्भिस र विराटपथ नामक एक पत्रिका पनि प्रकाशन गर्नुहुँदोरहेछ । एक व्यक्तिले यति धेरै सङ्गठन र कामहरूलाई हाँसी–हाँसी हलुकासँग व्यवस्थापन गरेको देख्दा मलाई अचम्म पनि लाग्यो । त्यस दिन दिउँसो उहाँ र म संयुक्त रूपमा बसी एक पे्रस कन्फरेन्स गर्नु थियो । कुरैकुरामा मैले उहाँको यति धेरै उपलब्धिबारे र पारिवारिक जीवनबारे सोधेँ ।
डा. कार्कीलाई सानैदेखि डाक्टर बन्ने रहर रहेछ । उहाँले रसियाबाट डाक्टर पढेर आउँदा पाँचजना साथीमध्ये चारजना विदेश फर्केछन् । उहाँले प्रसूतिगृहमा जम्मा मासिक १,१५० तलब लिनेगरी नेपालको धर्तीमा आफूलाई समर्पित गर्नुभएछ । रसियामै चिनेको साथी डा. ज्ञानेन्द्रसँग विवाह भएको कारण डा. इरिना केही समय नेपाल बसी रुस फर्किएर १९९१ देखि नेपाली बुहारी भएर रहन थाल्नुभएछ । डा. इरिनालाई भाषा र संस्कृतिको समस्या सुरुसुरुमा परे पनि नेपाल बस्ने उहाँको दृढसङ्कल्पले त्यसलाई छेक्न सकेन । डा. ज्ञानेन्द्र कार्कीमा श्रीमती डा. इरिनाको साथ र सहयोगले ज्यादै ठूलो शक्तिको काम गरेको रहेछ । उहाँ आफ्नो शक्ति भनेको परिवार हो भनी स्वीकार गर्नुहुन्छ ।
वास्तवमै डाक्टर कार्कीले गर्नुभएका काम र ती कामबाट झन्डै आठ सय व्यक्तिले प्राप्त गरेका रोजगारीलाई मात्र हेर्ने हो भने पनि उहाँलाई जन्माएर उहाँका आमाबाबुले नेपाललाई ठूलै योगदान दिनुभएको छ भन्ने जोकसैले भन्न सक्छ । यसबाहेक विदेश नगएर उहाँले काठमाडौंमा नबसी क्षेत्रमा बसेर जुन ढङ्गले आमनेपाली जनतालाई आधुनिक मोडिकल सेवा प्रदान गर्नुभएको छ त्यो वास्तवमै प्रशंसायोग्य छ । एक व्यक्तिले पनि समाजमा कतिसम्मको फरक पार्न सक्दोरहेछ भन्ने कुरा मैले डा. कार्कीलाई देखेर बुझेँ । कुनै बेला उहाँकी श्रीमती डा. इरिनाले मेरो कायर्कलयमा आफ्ना पतिको तारिफ गर्दा म त्यति विश्वस्त थिइनँ तर वास्तवमा डा. कार्कीको क्षमता र योगदान श्रीमती इरिनाले मलाई भनेको भन्दा पनि धेरै माथि रहेछ ।
त्यस दिन औपचारिक रूपमा पे्रस कन्फरेन्सपछि हामी छुट्टियौँ । उहाँले आफ्ना सफलतापछाडिको एउटा राज खोल्दै भन्नुभयो– जुन काम गर्छौ त्यसलाई सतप्रतिशत गर । आफूलाई त्यस काममा समर्पण गर । म त्यसै गर्छु । अर्को महत्वपूर्ण कुरा उहाँले भन्नुभयो– प्रत्येक जिल्ला र गाउँ–गाउँकाले पनि स्तरीय मेडिकल सेवा नजिकै पाऊन् । उहाँले अनाथ केटाकेटीलाई शिक्षा पनि प्रदान गर्नुभएको रहेछ । आज दुई सय बेडको अस्पतालसमेत स्वास्थ्य क्षेत्रमा अनेकौँ नयाँ योजनाका साथ विराटनगरमा बसेर सेवा गर्दै आउनुभएका डा. कार्कीको जीवन जो–कसैका लागि पनि पे्ररणाको स्रोत हुन सक्छ । मैले पनि उहाँबाट धेरै सिकेँ । डा. इरिनाको विश्वास सही रहेछ ।