दक्षिणपूर्व क्षेत्रीय तमुधिं लण्डनको च्यारिटी डिनर

दक्षिणपूर्व क्षेत्रीय तमुधिं लण्डनको च्यारिटी डिनर


IMG_1077
लण्डन ः दिनांक २७ सेप्टेम्बर २०१५को दिन प्लमस्डिड, लण्डन स्थित एसियन कम्यूनिटि सेन्टर हलमा दक्षिणपूर्व क्षेत्रीय तमुधिं लण्डनको च्यारिटी डिनर अत्यन्त भव्यताको साथ सम्पन्न भएको छ । यस वर्ष धेरै संघसंस्थाहरुले दपूक्षे तमुधिं लण्डनको निमन्त्रणालाई स्वीकारेर सहभागिता जनाएका थिए । प्रत्येक वर्ष सम्पन्न गर्दै आएको च्यारिटी डिनर कार्यक्रमबाट नेपालीहरुका लागि दक्षिणपूर्व लण्डन क्षेत्रमा एउटा सामुदायिक भवन खरिद गर्ने उद्धेश्य रहेको छ । नेपालीहरुका लागि आफ्नै सामुदायिक भवनको चाहनालाई पूरा गर्ने उद्धेश्यले विगत पाँच वर्षदेखि आर्थिक संकलन गर्दै आएको छ । यस कार्यक्रमको संयोजक हरी गुरुङ(गोविन्द) तथा वरिष्ठ सल्लाहकार मोहन गुरुङका अनुसार बीस हजार पाउण्डसम्म संकलन गर्ने आपेक्षा राखिएको कार्यक्रमबाट झण्डै अनुमान गरे अनुसारको रकम संकलन गर्न सफल भएको जानकारी प्राप्त भएको छ । दक्षेपु तमुधिं लण्डनका अध्यक्ष श्रीचन्द्र गुरुङका अध्यक्षतामा सम्पन्न कार्यक्रमलाई महासचिव सुमन गुरुङले सञ्चालन गरेका थिए तथा स्वागत मन्तव्य समाजका उपाध्यक्ष हिरा प्रसाद गुरुङले प्रकट गर्दै स्वागत तथा धन्यवाद ज्ञापन गरेका थिए ।
कार्यक्रमका प्रमुख अतिथि रोयल बारो अफ ग्रिनविचका मेयर, काउन्सिलर नरमन एडाम्स थिए तथा अन्य अतिथिहरुमा तमुधिं यूकेका अध्यक्ष तथा उनका कार्यकारी समितिका पदाधिकारीहरु, सदस्यहरु, एनआरएनए यूकेका अध्यक्ष मुक्षेत्र गुरुङ तथा उनका टिम, रोयल ग्रिनविच नेपाली सोसाईटीका अध्यक्ष कुमार श्रेष्ठ तथा उनका सम्पूर्ण टिम, एनसीआई लिमिटेडका अध्यक्ष तथा समाजका वरिष्ठ सल्लाहकार मोहन गुरुङ, एलएन पान्डे, अर्क तिम्सिना, पूर्व एनआरएनए अध्यक्ष महेन्द्र कण्डेल, चार भान्ज्याङ समाज यूकेका अध्यक्ष अनरेरी ले. रिटायर्ड चन्द्र गुरुङ तथा टिम, तमु समाज यूकेका अध्यक्ष अर्जुन गुरुङ तथा टिम, तमुधिं लण्डन ईकाईका अध्यक्ष डेभिड गुरुङ तथा उनका टिम त्यस्तै गुल्मि समाज यूके, ग्रिनविच नेपाली फोरम, थकाली समाज प्लमस्टिड, मगर समाज यूके, नेवा समाज यूके, चार्लटन नेपाली समाज लगायतका धेरै संघसंस्थाहरुको प्रत्तिनिधिहरु रहेका थिए । सबै अतिथिहरुलाई आ–आफ्नो टेबल छुट्याएर राखेको थियो तथा यथास्थानमा खादा पहिरियाएर स्वागत गरेको थियो ।
आ–आफ्नो मन्तव्य प्रकट गर्नेहरुमा तमुधिंका अध्यक्ष, एनआरएनएका अध्यक्ष, समाजसेवी साफाका जेरी आर्मस्ट्रोङ, संयोजक हरी (गोविन्द) गुरुङ, प्रमुख अतिथि तथा अन्तमा समाजका अध्यक्ष श्रीचन्द्र गुरुङले कार्यक्रमको औचित्यलाई प्रकाश पार्दै सबैलाई धन्यवाद ज्ञापन गरेका थिए । औपचारिक कार्यक्रम पछि सांस्कृतिक कार्यक्रम सम्पन्न भएको थियो । यस चरणको कार्यक्रमलाई समाजका सल्लाकार तथा लोकप्रिय उद्घोषक सुर्य गुरुङले सञ्चालन गरेका थिए ।
तमुधिं यूकेले सम्पन्न गरेको नेपाली मेलामा दक्षेपू तमुधिंलाई प्रत्तिनिधित्व गरेर नृत्य प्रत्तियोगितामा भाग लिएर दोश्रो स्थान हासिल गर्न सफल दुईजना युवा नर्तकीहरु क्रमशः किस्मा गुरुङ र विनिता थापालाई समाजको तर्फबाट कदरपत्र तथा खादा ओढाएर सम्मान गरिएको थियो । साथै समाजका अन्य कलाकारहरुलाई पनि प्रसंशा पत्र सहित कदर गरेको थियो। किस्मा गुरुङ र विनिता थापाको नृत्य प्रस्तुतीले हलमा सबैलाई खुशी प्रदान गरेको थियो । समाजका कलाकारहरु क्रमशः सुजी गुरुङ, निर्मला गुरुङ र याम गुरुङले गीतहरु सुनाएका थिए । नेवा समाजबाट लाखे नाच प्रस्तुत गरिएको थियो ।
सांस्कृतिक कार्यक्रमकै दौरान प्रमुख अतिथिलाई सम्मान तथा मायाको चिनो प्रदान गरेको थियो । कार्यक्रमको अन्ततिर नवनिर्वाचित एनआरएनए बेलायतका अध्यक्ष मुक्षेत्र गुरुङ तथा उनका टिम साथै मेजर डम्बर घले लगायतका सबैलाई खादा ओढाएर सम्मान गरिएको थियो । समग्रमा सहभागीहरुका अनुसार कार्यक्रमको उद्धेश्य अनुरुप कार्यक्रम अत्यन्त सफल भएको बताएका छन् ।