पूर्वराजा बोल्दा तीनजनामा छटपटी

पूर्वराजा बोल्दा तीनजनामा छटपटी


संविधानसभा मृत्युवरणको करिब डेढ महिनापछि पूर्वराजा ज्ञानेन्द्रले मुख खोल्नुभएपछि मुलुकको राजनीतिमा ठूलो तरङ्ग पैदा भएको छ । गत साता पश्चिम नेपालको रूपन्देही भ्रमणमा जानुभएका पूर्वराजाले त्यहाँ जनसाधारणबाट भव्य स्वागत पाउनुभएपछि उहाँमा उत्साह बढेको महसुस गरिएको छ । सोही क्रममा उहाँले दिनुभएका केही अभिव्यक्तिले खासखास दलका खास नेताहरूलाई चिन्तित र व्याकुल बनाएको छ भने केहीचाहिँ पूर्वराजाको अभिव्यक्तिपछि क्रूद्ध भएका छन् । आफूहरू सम्पूर्ण रूपले असफल भइसकेको सन्दर्भमा पूर्वराजाको अभिव्यक्ति सार्वजनिक भएपछि केही दलका नेताहरूले पूर्वराजा ज्ञानेन्द्रलाई गाली गर्दै आफ्ना अक्षमता र असफलताको ढाकछोप गर्ने अवसरका रूपमा यसलाई प्रयोग गर्न चाहेका छन् । पूर्वराजा ज्ञानेन्द्रको अभिव्यक्तिपछि सबैभन्दा कडा प्रतिक्रिया दिनेहरूमा प्रधानमन्त्री डा. बाबुराम भट्टराई, एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल र काङ्गे्रस महामन्त्रीसमेत रहेका झापाका कृष्ण सिटौला रहेका छन् । राजाको शासनकालमा प्रधानमन्त्री बन्न नारायणहिटी राजदरबारमा निवेदन दिँदा पनि आफूलाई प्रधानमन्त्री नबनाइदिएको घटनाबाट एमाले नेता नेपाल कति दुःखी र क्रूद्ध हुनुभएको रहेछ भन्ने यसपटक देखियो । नेपालले निकै कडा प्रतिक्रिया दिँदै पूर्वराजा ज्ञानेन्द्रलाई बोल्दै नहिँड्न चेतावनी दिनुभयो । प्रधानमन्त्री भट्टराईले पूर्वराजाका रूपमा राज्यले उपलब्ध गराएको सेवा र सुविधा खोसिदिने धम्की दिनुभयो । झापाका कृष्ण सिटौलाले काङ्गे्रस सभापति सुशील कोइरालासमक्ष पूर्वराजाको अभिव्यक्तिको निन्दा र भत्र्सना पार्टीका तर्फबाट गर्न सोमबार बिहान कोइरालानिवास पुगेर प्रस्ताव राखेका थिए । तर, त्यहाँ उपस्थित काङ्गे्रस नेताहरूले यसबारे कुनै प्रतिक्रिया जनाइरहन आवश्यक नपर्ने बताएपछि सिटौला रातो मुख लगाउँदै सुशील कोइरालाको कार्यकक्षबाट बाहिरिएका थिए । काङ्गे्रस नेतृत्वले पूर्वराजाको अभिव्यक्तिलाई लिएर कुनै रडाको नमच्चाउने भएपछि सिटौलाले सोमबार राति प्रधानमन्त्रीनिवास बालुवाटार गई गणतन्त्रको रक्षा कसरी गर्ने भन्नेबारे डा. बाबुराम भट्टराईसँग ‘गम्भीर’ छलफल गरेको बुझिएको छ । पूर्वराजाको अभिव्यक्ति सामान्य भए पनि के कारणले हो कुन्नि झापाका सिटौलाले अति असामान्य रूपमा लिएका छन् र गणतन्त्रको रक्षा गर्नुपर्‍यो भन्दै विभिन्न नेताको घर तथा शक्तिकेन्द्रहरूमा फेरी लगाएर हिँडेका छन् । एक सूत्रबाट प्राप्त जानकारीअनुसार सिटौलालाई गणतन्त्र रक्षा गर्ने कार्यमा भरपर्दो ढङ्गले सघाउने आश्वासन प्रधानमन्त्री भट्टराईले दिनुभएको बुझिएको छ । नेपाली काङ्गे्रस कसैको पनि शान्तिपूर्ण गतिविधि र अभिव्यक्तिप्रति असहिष्णु बन्ने कुराको विरुद्ध छ र पूर्वराजाको अभिव्यक्तिलाई पनि काङ्गे्रसले सामान्य रूपमै लिएको देखिन्छ । तर, सोही पार्टीको समर्थक दाबी गरी महामन्त्रीसम्म बन्न सफल भएका सिटौलाचाहिँ पूर्वराजाको भनाइबाट किन यतिधेरै आतङ्कित भएका हुन् बुझ्न सकिएको छैन ।
पूर्वराजा ज्ञानेन्द्रले सञ्चारमाध्यमहरूसँग नेपाली जनताले राजाका रूपमा आफ्नो पनि अभिभावकीय भूमिका होस् भन्ने चाहेको बताउनुभएको छ । उहाँले ०६३ सालमा सात राजनीतिक दलसँग संसद् पुनस्र्थापना गर्ने र बहुदलीय प्रजातन्त्रसहितको संवैधानिक राजतन्त्र कायम राख्ने विषयमा सहमति भएको तर उक्त सहमतिअनुसार काम नभएको बताउनुभएको छ । देश र जनताको शान्ति र सुव्यवस्थाका लागि आफूले नारायणहिटी छोडेको बताउँदै पूर्वराजाले आफू दरबारबाट बाहिरिएपछि देशको अवस्था झन् सङ्कटग्रस्त बनेकोमा चिन्ता प्रकट गर्नुभएको छ । जनताले चाहेमा राजसंस्था पुनस्र्थापित हुने विश्वास व्यक्त गर्दै पूर्वराजाले भन्नुभएको छ, ‘नेपाली दाजुभाइ, दिदीबहिनीसँग साक्षात्कार हुँदा वर्तमान अवस्थामा राष्ट्रियता, राष्ट्रिय स्वाधीनता, राष्ट्रिय एकता र प्रजातन्त्रलाई सुदृढ बनाई समृद्ध राष्ट्र निर्माणमा मेरो पनि भूमिका रहनुपर्ने भन्नेजस्ता भावना र चाहना दर्शाएको मैले पाएको छु ।’ नारायणहिटी छोड्नुपूर्व पत्रकारहरूसँग आफूले ‘मलाई स्वतन्त्र राष्ट्र नेपालको माया छ र जुनसुकै हैसियतमा पनि म नेपालको अखण्डता, स्वतन्त्रता र प्रजातन्त्रका निम्ति समर्पित रहनेछु, नेपालमा नै रहे–बसेर म मातृभूमि नेपालको बृहत्तर हित र शान्तिका लागि योगदान पुर्‍याउन चाहन्छु’ भनेको स्मरण गर्दै उहाँले भन्नुभएको छ, ‘पाँच वर्षयता आएर हेर्दा, देख्दा र सुन्दा मेरो त्यो राष्ट्रवादी दृष्टिकोण, त्यो सदासय र राष्ट्रियतायुक्त भावना निरन्तर स्खलित भएको तथा त्यसले नेपाली जनतामा घोर कुण्ठा, निराशा र द्वन्द्व खडा गरेको कटु अनुभूति अहिले मलाई भएको छ ।’