ज्यान लिन खोज्नेको मुद्दा फिर्ता लिइँदै

ज्यान लिन खोज्नेको मुद्दा फिर्ता लिइँदै


प्रधानमन्त्री एवम् एकीकृत माओवादी उपाध्यक्ष डा. बाबुराम भट्टराई हत्यारा तथा अपराधीहरूको प्रिय बन्दै गएका छन् । प्रधानमन्त्री भट्टराईले एकपछि अर्को गर्दै हत्यारा तथा अपराधीहरूको मुद्दा फिर्ता लिने क्रमलाई तीव्रता दिँदै लगेपछि उनी अपराधीहरूको प्रिय नेता बन्न पुगेका हुन् ।
जनआन्दोलनपछि बनेका पाँच सरकारमध्ये सबैभन्दा बढी मुद्दा फिर्ता प्रधानमन्त्री भट्टराईले नै गरेका छन् । उनी अन्यमा जस्तै अपराधीहरूको मुद्दा फिर्ता लिनेमा पनि पहिलो नम्बरमा परेका छन् । उनले मात्र पाँच सयभन्दा बढीको मुद्दा फिर्ता लिइसकेका छन् भने ५६ थान मुद्दा फिर्ताका लागि मन्त्रिपरिषद्मा पेस भइसकेका छ । उनले अझै चार दर्जनभन्दा बढी मुद्दा फिर्ताका लागि कानुनी प्रक्रिया मिलाउन महान्यायाधिवक्ताको कार्यालयसँग परामर्श मागिसकेका छन् ।
आफैंविरुद्ध लागेको बैंक डकैती मुद्दा फिर्ता लिएका प्रधानमन्त्री भट्टराईले पछिल्लोपटक आफू प्रधानमन्त्री पदमा निर्वाचित हुनुभन्दा एक दिनअघि अर्थात् असार १० गते उनीनिकटका मजदुर कार्यकर्ताले अध्यक्ष प्रचण्डनिकटका मजदुर नेता जमकट्टेलको हत्या गर्ने गरी साङ्घातिक आक्रमण गर्ने पाँच अभियुक्तको मुद्दा फिर्ता लिने तयारी गरेका छन् ।
जमकट्टेललाई रडले हानी हत्या गर्न खोजेको आरोपमा मुद्दा खेपिरहेका रमेश उपनामबाट चिनिने तारानिधि पन्त, इन्द्रबहादुर शाही, श्रीराम उपनाम भएका राम पुडासैनी, कमल बुढाथोकी र सुदीप कार्कीका मुद्दा उनले फिर्ता लिन लागेका हुन् । ती पाँच अभियुक्तको मुद्दा प्रधानमन्त्री भट्टराईको ठाडो निर्देशनमा फिर्ता लिन लागिएको हो । यसका लागि गृह मन्त्रालयले मुद्दा फिर्ताको प्रक्रिया मिलाई पठाउन महान्यायाधिवक्ताको कार्यालयमा पत्राचार गरिसकेको छ । महान्यायाधिवक्ता कार्यालयले गृहको पत्रअनुसार मुद्दा फिर्ताको तयारी गरी कानुनी प्रक्रिया पुर्‍याएर केही दिनभित्रै गृह मन्त्रालयमा पठाउने तयारी गरिरहेको छ । ४ मंसिर ०६८ मा उनीहरूविरुद्ध ज्यान मार्ने उद्योगअन्तर्गत काठमाडांै जिल्ला अदालतमा मुद्दा दायर गरिएको थियो । काठमाडांै जिल्ला अदालतमा मुद्दा चलिरहेको छ । घटनालाई राजनीतिक अभियोग प्रमाणित गर्दै मुद्दा फिर्ताको तयारी गरिएको स्रोतले बतायो । यस मुद्दालाई प्राथमिकतामा राखी फिर्ताको प्रक्रिया मिलाउन महान्यायाधिवक्ता मुक्ति प्रधानले अन्य कर्मचारीलाई ताकेता गरिरहेका थिए । कानुन मन्त्रालय आफ्नै मातहतमा राखेका भट्टराईले अन्य कुख्यात उपराधीहरूको समेत मुद्दा फिर्ता लिने तयारी गरेका छन् ।

घरमै कुटिइन् राप्रपा नेतृ
राष्ट्रिय प्रजातन्त्र पार्टीकी केन्द्रीय सदस्य बिन्दु पहाडीले आफ्नै घरमा कुटाइ खाएकी छिन् । उनी दक्षिणपन्थी विचारवाहक भएका कारण कुनै क्रान्तिकारीबाट कुटिएकी नभई आफ्नै श्रीमान्बाट कुटिएकी हुन् । प्राप्त समाचारअनुसार आफ्ना पति नवराज पहाडीले तेस्री पत्नी ल्याएपछि काठमाडौंको स्युचाटारस्थित आफ्नै घरमा बस्दै आएकी बिन्दुले सोही घरको भाडाबाट आफ्नो जीवन गुजारा गर्दै आएकी थिइन् । सोमबार राति अचानक घरमा आएका श्रीमान् नवराज पहाडीले निर्घात कुटेपछि बिन्दुको कलङ्कीस्थित शहिद
मेमोरियल अस्पतालमा उपचार भएको छ । हातपात गर्ने पति नवराजलाई प्रहरीले पक्राउ गरी कालिमाटीस्थित प्रहरी परिसरमा थुनामा राखिएको छ । अलग्गै बसिरहेकी पत्नीलाई त्यसरी मरणासन्न हुनेगरी कुट्नुको कारण सम्पत्तिसम्बन्धी विषय भएको बुझिएको छ ।

मुख्यसचिवमा बाह्र प्रतिस्पर्धी
मुख्यसचिव माधव घिमिरेले अवकाश पाउने दिन नजिकिँदै गएपछि उच्च तहमा मुख्यसचिवको खोजी सुरु भएको छ । हाल सेवामा रहेका बाह्र सचिवमध्येबाट नै मुख्यसचिव बनाइने भए पनि कसलाई उक्त जिम्मेवारी मिल्ने भन्नेबारेमा यकिन भइसकेको छैन । ०६४ साल असोज २४ गतेको मन्त्रिपरिषद् बैठकबाट सचिव बनाइएकाहरूमध्ये अहिले शंकर कोइराला अवनिन्द्रकुमार श्रेष्ठ, वामन न्यौपाने, बालानन्द पौडेल, भगवतीकुमार काफ्ले, ताना गौतम, सुशीलजंग राणा, लीलामणि पौडेल, विन्द्रा हाडा, उमाकान्त झा र त्रिलोचन उपे्रती मात्र सेवामा हुनुहुन्छ । मुख्यसचिव बनाउन वरिष्ठता र कार्यक्षमतालाई आधार बनाउने गरिन्छ । यस आधारमा शंकर कोइराला, बालानन्द पौडेल र भगवती काफ्ले कार्यक्षमतामा अब्बल मानिएका छन् । प्रधानमन्त्री कार्यालयमा रही ज्यादा सक्रियता देखाएका कारण कतिले लीलामणि पौडेललाई पनि क्षमतावान मानेका छन् । तर, लीलामणिको कार्यशैली अलिक हल्का हुने गरेको र छिमेकी राष्ट्रहरू चीन र भारतबीच असन्तुलित विचार र व्यवहार प्रकट गर्ने गर्नुभएको आरोप उहाँमाथि लाग्ने गरेका हुनाले उहाँ मुख्यसचिव बन्ने सम्भावना कम भएको बताइन्छ । कार्यक्षमताका दृष्टिले योग्य मानिए पनि बालानन्द पौडेलका निम्ति वर्तमान प्रतिकूल भएको ठानिन्छ ।
भगवती काफ्ले कार्यक्षमताका दृष्टिले सबल भए पनि उहाँलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट बाहिर लैजाने पक्षमा स्वयम् प्रधानमन्त्री डा. बाबुराम भट्टराई हुनुहुन्न । महिला भएका कारण सहानुभूतिपूर्वक धेरैले हेरिरहेका भए पनि विन्द्रा हाडा बरियता र कार्यक्षमताका दृष्टिले अलिक पछाडि नै रहनुभएको ठानिन्छ । यद्यपि हाडाले विभिन्न राजनीतिक दलका नेताहरूको घरघरमा धाएर आफूलाई मुख्यसचिव बनाइदिन आग्रह गर्न थाल्नुभएको छ । यसक्रममा माओवादी अध्यक्ष प्रचण्डले चाहिँ उहाँलाई मुख्यसचिव बनाइदिने विश्वास पनि दिलाइसक्नुभएको छ । अन्य सचिवहरू मुख्यसचिवको प्रतिस्पर्धामा अलिक पछाडि नै देखिन्छन् । त्यसैले बरियतामा सर्वाधिक अगाडि रहेका र कार्यक्षमतामा पनि अब्बल मानिनुहुने शंकर कोइराला नै मुख्यसचिव बन्नुहुने सम्भावना बलियो भएको छ । नेपाली काङ्गे्रसका डा. प्रकाशशरण महत ऊर्जामन्त्री हुँदा महतको पेलाइमा पर्नुभएका कोइराला अन्ततः त्यहाँबाट सरुवा भएरै जानुपर्ने अवस्था सिर्जना भएको थियो । कोइरालाको सोच अत्यन्त सकारात्मक र निर्णय लिने क्षमता पनि बलियो भएको हुँदा प्रधानमन्त्री भट्टराईको रोजाइमा उहाँ नै पर्नुहुने सम्भावना प्रबल छ ।

यस्तो छ भारतीय स्थलसेनाध्यक्षको भ्रमण कार्यक्रम
भारतीय स्थलसेनाध्यक्ष जनरल विक्रम सिंह पाँचदिवसीय नेपाल भ्रमणका लागि काठमाडौं आइपुग्नुभएको छ । प्रधानसेनापति छत्रमानसिंह गुरुङको निमन्त्रणामा हिजो मंगलबार नेपाल आउनुभएका जनरल सिंहको भ्रमण दल आगामी ३० गतेसम्म नेपाल रहँदा विभिन्न कार्यक्रममा सहभागिता जनाउने सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।
निर्देशनालयका अनुसार हिजो मंगलबार अपराह्न सैनिक मञ्चमा अवस्थित ‘वीर स्मारक’मा माल्यार्पण गरी जङ्गी अड्डा परिसरमा प्रदान गरिएको सम्मान ग्रहण गरेलगत्तै उहाँ प्रधानसेनापति छत्रमानसिंह गुरुङसँग शिष्टाचार भेटघाटमा सरिक हुनुभयो ।
आज बुधबार भारतीय स्थलसेनाध्यक्ष सिंहले काभ्रेपलाञ्चोकको पाँचखालस्थित वीरेन्द्र शान्तिकार्य तालिम केन्द्रको अवलोकन भ्रमण गरीकन अपराह्न सिंहदरबारमा प्रधानमन्त्री तथा रक्षामन्त्रीसँग भेटघाट गर्ने कार्यक्रम रहेको छ भने भोलि नै साँझ राष्ट्रपति भवनमा आयोजना गरिने एक विशेष समारोहबीच राष्ट्रपति डा. रामवरण यादवबाट उहाँलाई नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान गर्ने कार्यक्रम रहेको छ ।
बुधबार साँझ उहाँको सम्मानमा प्रधानसेनापतिद्वारा जङ्गी अड्डा परिसरमा रात्रिभोजको आयोजना गरिएको छ । बताइएअनुसार २८ गते बिहीबार बिहानै मुस्ताङको जोमसोमस्थित सैनिक उच्च शिखर शिक्षालयको भ्रमण गर्नुका साथै जनरल सिंहले पोखरास्थित भारतीय पेन्सन वितरण कार्यालय र नेपाली सेनाको पश्चिम पृतना मुख्यालयको भ्रमण गर्नुहुनेछ । सोही साँझ उहाँले प्रधानसेनापति महारथी छत्रमानसिंह गुरुङको सम्मानमा रिसेप्सनको आयोजना गर्नुहुनेछ ।
यसैगरी आगामी शुक्रबार गौतम बुद्धको जन्मस्थान लुम्बिनीको भ्रमण गर्ने, त्यसपश्चात् सैनिक कमाण्ड तथा स्टाफ कलेज, शिवपुरीको भ्रमण गरी सि.सं. १९ कमाण्ड तथा स्टाफ कोर्सका शिक्षार्थी अधिकृतलाई भारतीय थलसेनाध्यक्ष सिंहले सम्बोधनसमेत गर्ने कार्यक्रम रहेको छ । ३० गते भ्रमण पूरा गरी जनरल सिंहको भ्रमण दल स्वदेश फर्कने कार्यक्रम रहेको छ ।

बाढी नियन्त्रणका लागि नौ करोड ७७ लाख
लालबकैया, बागमती र कमला नदीमा तटबन्ध निर्माणका लागि छिमेकी मित्रराष्ट्र भारतले नौ करोड ७७ लाख एक हजार सहयोग गरेको छ । डुबान र बाढी व्यवस्थापनसम्बन्धी भारत–नेपाल संयुक्त समितिको छैटौँ बैठकको निर्णयबमोजिम हुन लागेको सो कार्यका लागि भारतले गर्ने योगदानका रूपमा उल्लेखित रकमको चेक नेपालका लागि भारतका राजदूत जयन्तप्रसादले सिँचाइमन्त्री महेन्द्रप्रसाद यादवलाई हस्तान्तरण गर्नुभयो । विगतदेखि नै भारतले लालबकैया, बागमती र कमला नदीमा तटबन्ध मजबुत तथा विस्तार गर्न नेपाललाई सहयोग प्रदान गर्दै आएको छ । अहिले प्रदान गरिएको सहयोग रकमसहित हालसम्म नदी तटबन्ध निर्माणकार्यका लागि भारत सरकारले दुई अर्ब ४६ करोड ७७ लाख नौ हजार सहयोग प्रदान गरिसकेको छ । भारतले सन् २००८ मा १६ करोड ५५ लाख, सन् २००९ मा ५३ करोड १५ लाख, सन् २०१० मा ५९ करोड ९७ लाख आठ हजार र सन् २०११ मा ५४ करोड ५३ लाख पाँच हजार तथा २०११ मै थप ३४ करोड ५७ लाख तीन हजार तटबन्ध निर्माण तथा मर्मतका लागि सहयोग प्रदान गरेको थियो ।
स्मरण रहोस्, भारतले नेपालका त्रियुगा, लखनदेई, सुनसरी, कन्काई र कालीगण्डकी नदीमा बाढी नियन्त्रण कार्यका लागि १८ करोड १३ लाख सात हजार तथा गगन नदीका लागि नौ करोड ५२ लाख सहयोग प्रदान गर्ने प्रतिबद्धतासमेत जनाएको छ । त्रियुगा, कन्काई र लखनदेईमा भने बाढी नियन्त्रण कार्य सम्पन्न भइसकेको छ ।

पहाड र तराईको अन्तर्सम्बन्ध बुझाउने पुस्तक
तराईमा मधेसी पार्टीले गरेको आन्दोलनअघि नै ‘नागरिकता मधेसी मुक्तिको आधार ?’ भन्ने लेखमार्फत बहस उठाएर चर्चामा रहेका फणिराज नेपालको पुस्तक ‘एक मधेश प्रदेशको आधार के ?’ प्रकाशित भएको छ । साढे तीन दशकको जागिरे जीवनदेखि नै उनले एक सचेत नागरिकका रूपमा समसामयिक राजनीतिमा चासो राख्दै आएको पुस्तकमा प्रकाशित विचारबाट प्रस्टिन्छ । तराईमा जन्मिएर त्यहाँको जनजीवन, सामाजिक सम्बन्ध र व्यवहारबारे जानकार लेखकले मधेसी पार्टीले आफ्नै समुदायबारे लिएको अडान र देखाएको व्यवहारलाई निकै हदसम्म प्रस्ट पार्ने प्रयत्न पुस्तकमार्फत गरेका छन् ।
भूगोलको रूपमा नेपाल हिमाल, पहाड र तराई रहे पनि मधेसी पार्टीले गरेको आन्दोलनपछि तराईलाई मधेस, मधेसवादी भनी गरेको प्रचार निको नभएको र ऐतिहासिक, प्राचीन लेखोट र शब्दार्थको हिसाबले पनि अनुकूल नभएको कुरालाई लेखकले जोड दिएका छन् । मधेसी आन्दोलन, देशको पुछारको भाग तराई कि मधेस, तराईमा मधेसीहरूको बासोबास, अवस्था, अन्य समुदायको स्थिति, हेपिएको, पछाडि पारिएको आदिबारे तथ्यगत आँकडाद्वारा प्रस्ट्याइएको छ । नेपालको तराई देशका सबै भू–भागमा बस्नेहरूको साझा थलोका रूपमा चित्रण गर्ने प्रयत्नका रूपमा सो पुस्तक लेखिएको अनुभूति हुन्छ ।
कुल जनसङ्ख्याको १८ प्रतिशत र तराईको ३८ प्रतिशत मधेसी जनसङ्ख्या भएकोमा ६२ प्रतिशत तराईवासीलाई बाहेक गरेर माग गरेको एक मधेश प्रदेशको औचित्य प्रमाणित गर्ने आधार कमजोर छ भन्ने लेखकको तर्क छ । एकाङ्की प्रदेशको मागभन्दा उत्तर–दक्षिण सामीप्य भएको नदीनाला, बिजुली, खानेपानी स्रोत, उत्पादन, कलकारखानाको आधार भएको, हावापानीको विभिन्नतामा जडीबुटी, फलफूल र बेमौसमी उत्पादनको सहजता र तलमाथि अर्थात् उकाली–ओरालीको जाँगर र तराईका मिहिनेती हातहरूबीचको सामन्जस्यता नै आजको आवश्यकता हो भनी लेखकले वास्तविक वस्तुस्थिति औंल्याएका छन् । पेचिलो समस्याको रूपमा रहेको नागरिकताको सवाल खुला ओहोरदोहोर र सिमानाको पाटोमा नै अल्झिएको छ । दोहोरो बसोबास, दोहोरो नागरिकता, दाहोरो व्यवसाय, दोहोरो नाता, दोहोरो रासन कार्ड, मानव र हतियारको ओसारपसार आदि दुई छिमेकी भारत र नेपालबीचको टाउकोदुखाइ भएको कुरालाई लेखकले उजागर गरेका छन् । १८ सय किलोमिटर लामो खुला बोर्डरले ‘को देशी को मधेसी’ भन्ने पहिचानमा समस्या देखिएकाले तीन ठूला राष्ट्रिय दलका साथै तराईकेन्द्रित दलले पनि यसबारे गम्भीर हुनु जरुरी रहेको लेखकको विचार छ । सीमा व्यवस्थापन नै सबै पक्षको हितमा हुनेमा पुस्तकमा जोड दिइएको छ ।
विश्वमा क्रिश्चियन, मुस्लिम राष्ट्रहरू भएको सन्दर्भमा एउटा सानो र सुन्दर देश हिन्दूराष्ट्र हुँदा देशले गर्व गर्ने र विश्वले एक मात्र हिन्दू राष्ट्र पाउने भन्ने कुरा पनि लेखकले उठाएका छन् । प्रजातन्त्रको ध्रुवसत्य बहुमत अर्थात् ८० प्रतिशत हिन्दू भएको देश र जनता कसरी आफ्नो धर्मप्रति निरपेक्ष हुन सक्छन् भन्ने प्रश्न उठाउँदै लेखकले जनमत सङ्ग्रह नगरी अरू पक्षको बलमा गरिएको व्यवहार बलियो नहुने कुरा नेताले बुझ्न जरुरी छ भनेका छन् । यस्तै, देशमा विभिन्न प्रान्तका कुरामा राज्यको स्रोत, साधन, हावापानी, उत्पादन आदिको संयोजन, प्रान्तैपिच्छेका मन्त्रालय, कर्मचारी, व्यवस्थापनमा हुने खर्च, राजस्वले कर्मचारी पाल्न धौ–धौ परेको अवस्था, विश्वका एक सय ५० भन्दा बढी राष्ट्रमा लागू नभएको सन्दर्भमा हामीले रहर गरेको सङ्घीयता परीक्षणमा सीमित हुन जाने कुरामा लेखकले सचेष्ट गराएका छन् ।
आरक्षण व्यवस्था भारतमा प्रयोग भएको ५० वर्षभन्दा बढी भइसक्दा पनि सामेली हुन नसकेको सन्दर्भ कोट्याउँदै त्यो जोखिम मोलेर हामीले हुनेखाने र पहुँच पुगेका वर्गलाई उकालो चढाउने माध्यम बनाएका छौँ भन्ने लेखकको तर्क छ । वास्तवमा आरक्षण आर्थिक सर्वेक्षणको आधारमा सीमान्त वर्ग, दलित, उत्पीडित, महिला र पछाडि परेकालाई केन्द्रित गरी लागू गर्न सकेमा नै सार्थक प्रभाव दिने हुन्छ । अन्यथा टाठाबाठा र मानव विकास सूचकाङ्कमा सबैभन्दा बढी भएको मधेसी समुदायको कायस्थ थरीले फाइदा उठाएजस्तो हुनेछ भनी लेखकले सावधान गराएका छन् । राष्ट्रको एक भाषा राष्ट्रभाषा सबै क्षेत्र र जनतामा भिजेको नेपाली भाषा नै हो र देशमा रहेका अन्य भाषाको पनि विकास र विस्तार गर्नु जरुरी छ भन्ने लेखकको ठहर छ । भेष पनि राष्ट्रका नागरिकको पहिचान हुने भएकोले राष्ट्रिय पोसाकको भेषले राष्ट्रमा मात्र नभई अन्तराष्ट्रमा समेत नेपाली पहिचान बढाउँछ भन्ने तर्क लेखकले गरेका छन् । समग्रमा भन्नुपर्दा पुस्तकमा समसामयिक राष्ट्रिय महत्वका कुरा पस्केर छलफलमा ल्याउने प्रयत्न लेखकले गरेका छन् । पहाड र तराईको अन्तरसम्बन्ध बुझ्न चाहनेहरूका लागि पुस्तक उपयोगी हुने देखिन्छ ।

सम्पर्क समितिको अधिवेशन सम्पन्न
नेपाली कांग्रेस महोत्तरी–काठमाडौं सम्पर्क समितिको दोश्रो अधिवेशन गत शनिबार नेपाली कांग्रेस केन्द्रीय कार्यालय भवन सानेपामा सम्पन्न भएको छ । अधिवेशसनको उद्घाटन कांग्रेस सभापति सुशील कोइरालाले गर्नुभएको थियो ।
नेपाली कांग्रेस महोत्तरी–काठमाडौं सम्पर्क समितिको उक्त भेलाले समितिको नयाँ कार्यसमितिको चयन गरेको छ । भेलाले नारायणप्रसाद घिमिरेलाई समितिको सभापतिको जिम्मेवारी सुम्पिएको छ भने देवनारायण महतो, रामविनोद झा, नवलकिशोर यादव, दिनेशकुमार साह, सूर्यबहादुर बुढाथोकी र शोभा चौरसियालाई सदस्य पदमा चयन गरेको छ । हालका लागि छोटो कार्यसमिति बनाई कार्यसम्पादन गर्ने र एक महिनाभित्रै आठ सदस्य थप गरि समितिलाई पूर्णता दिइने सम्पर्क समितिका सदस्य नवलकिशोर यादवले जनाएका छन् ।

पूर्वाञ्चलका सम्पादकहरूलाई विशेष तालिम
पत्रकारद्वारा सञ्चालित पत्रिकाका सम्पादकहरूको निम्ति गत २१ गते धनकुटामा विशेष प्रशिक्षणको आयोजना गरियो । नेपाली छापामाध्यम राष्ट्रिय सञ्जालद्वारा आयोजित कार्यक्रममा पूर्वाञ्चलका साठीभन्दा बढी सम्पादकले भाग लिएका थिए । ‘पत्रकारद्वारा सञ्चालित सञ्चारमाध्यमहरूको स्तरोन्नति’ विषयक प्रशिक्षण कार्यक्रमको उद्घाटन नेपालका निम्ति भारतीय राजदूत जयन्तप्रसादले पानसमा बत्ती बालेर गर्नुभएको थियो । सो अवसरमा उद्घाटन मन्तव्य प्रकट गर्नुहुँदै उहाँले पत्रकारद्वारा सञ्चालित सञ्चारमाध्यमहरूले अनेकौँ चुनौतीको सामना गर्नु परिरहेको धारणा प्रकट गर्नुभयो । पत्रकारहरूमा जिज्ञासा, क्रेडिबिलिटी र साहस (तजचभभ ूऋू० हुनुपर्ने बताउँदै महामहिम राजदूतले विश्व पत्रकारितासँग जोडेर नेपाली पत्रकारिताको सङ्क्षिप्त चर्चा गर्नुभयो । उहाँले नेपाल सङ्क्रमकालीन अवस्थामा रहेकोले पत्रकारिता क्षेत्रको भूमिका लोकतन्त्र संस्थागत गर्न र मुलुकलाई स्थिरतातर्फ लैजान महत्वपूर्ण हुने विचार व्यक्त गर्नुभएको थियो । नेपाली छापामाध्यम राष्ट्रिय सञ्जालका अध्यक्ष देवप्रकाश त्रिपाठीको संयोजकत्वमा भएको सो समारोहमा वरिष्ठ पत्रकार एवम् पूर्वराजदूत कमल कोइराला, सञ्जालका वरिष्ठ उपाध्यक्ष शम्भु श्रेष्ठ, पत्रकार महासङ्घका केन्द्रीय सदस्य सिद्ध राई, क्रान्तिकारी पत्रकार सङ्घका कोषाध्यक्ष खिलाबहादुर भण्डारी, न्यूनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष गोविन्द आचार्य, पे्रस युनियनका सञ्जयसन्तोषी राई र पे्रस चौतारी नेपालका रमेशचन्द्र अधिकारीले आ–आफ्ना धारणा प्रकट गर्नुभएको थियो ।
न्यूनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष गोविन्द आचार्यले पत्रकारद्वारा सञ्चालित समाचार संस्थाहरू सङ्कटमा रहेको बताउँदै स्वरोजगार पत्रकारितालाई प्रोत्साहन दिन त्यस्ता संस्थाहरूमा श्रमजीवी पत्रकार ऐन कार्यान्वयनबारे बेग्लै व्यवस्था गरिएको जानकारी दिनुहुँदा सहभागीहरूले ताली बजाएर स्वागत गरेका थिए । उद्घाटन सत्रमा विशेष अतिथिका रूपमा भारतीय राजदूतावासकी प्रथम सचिव अपूर्वा श्रीवास्तवको उपस्थिति रहेको थियो ।
उद्घाटन कार्यक्रम सकिएलगत्तै सहभागी सम्पादकहरूलाई शरच्चन्द्र वस्ती, हस्त गुरुङ र तीर्थ कोइरालाले प्रशिक्षण दिनुभएको थियो । वरिष्ठ भाषाशास्त्रीसमेत रहनुभएका वस्तीले भाषा र प्रस्तुतिबारे प्रशिक्षण दिनुभएको थियो भने वरिष्ठ पत्रकार एवम् विज्ञ हस्त गुरुङले छापामाध्यमलाई कसरी समयानुकूल परिमार्जन गर्न सकिन्छ भन्ने विषयमा पत्रकारलाई जानकारी गराउनुभएको थियो । त्यस्तै, वरिष्ठ पत्रकार तीर्थ कोइरालाले पत्रिकालाई आकर्षक र पठनीय तुल्याउन के–कस्ता कुरामा ध्यान दिनुपर्छ भन्ने विषयमा केन्द्रित भई प्रशिक्षण दिनुभएको थियो ।

साधनाबाट आउँछ देशमा शान्ति
हाम्रो नेपाल बुद्ध जन्मिएको देश । बुद्धले दिएका ज्ञानका ज्योति फैलाएर बसेको देश । प्राकृतिक सौन्दर्यले भरिपूर्ण र झलल्ल झल्केको हिमाल भएको देश । छङछङ बग्ने नदीनाला÷झरनाले भरिएको र हरियालीयुक्त देश । तर, यस देशमा हजारौँ निर्दोष नेपालीले अमूल्य जीवन व्यर्थ गुमाए, हजारौँका रगतको खोला बगे, करोडौँ–अर्बौं सरकारी सम्पत्ति ध्वस्त भए । अझै पनि देशमा खोजेको शान्ति छैन । नागरिक दुःखी छन् । देशका कर्णधार मानिने युवा पिँढी कैयन् अझै हिंसा–हत्या र आतङ्कमा सरिक छन् । यो सबै ड्रग एडिक्सनबाट भएको छ्र । यो प्रयोग नगरी व्यक्तिले हम्मेसी र सजिलौसँग हत्या, आतङ्क फैलाउन सक्दैन । यो कुरालाई सरकारले ध्यान दिन ढिलो भइसकेको छ । आनन्दको खोजीमा दुव्र्यसनलाई साथ लिएर हिँडेका युवा पिँढीप्रति राज्यको नजर पुग्नुपर्छ, यसमा अब ढिलाइ गर्नुहुँदैन । प्रत्येक नेता पद र कुर्सीको लोभमा भुलेका छन्, देशमा शान्ति दिन्छु भनी प्रत्येक नेता भाषण दिन्छन् तर त्यो फोस्रो सावित भएको छ ।
वास्तवमा देशमा शान्ति ल्याउनु नै छ भने प्रत्येक नेताले आफूले आफूलाई चिन्न्न सक्नुपर्‍यो, आफुमा खुसी ल्याउनुपर्‍यो । यी दुई कुरा गर्न सके भने मात्र नेताहरूले देश र जनतालाई खुसी दिन सक्छन् । यसका लागि अहिले विश्वभरि नै साधनाको आवश्यकता छ्र । त्यो साधनाको माध्यमबाट खुसी दिलाउन सक्ने एक मात्र व्यक्ति स्वामी आनन्द अरुण हुनुहुन्छ । स्वामी आनन्द अरुणले अहिले विश्वभरि नै ओशोले दिनुभएको साधनाबाट प्रत्येक व्यक्तिलाई आफूलाई चिन्ने र खुसियालीपूर्ण जीवन जिउन सिकाइरहनुभएको छ । ६६ वर्षीय स्वामीले ओशोको आकाशको तारा भएर उज्यालो दिइरहनुभएको छ भन्दा उपयुक्त हुन्छ ।
वास्तवमा बुद्ध, राम, कृष्ण सबै व्यक्ति नै हुन् । तर, उहाँहरूले दिएका ज्ञानका अमर कृतिका कारण सबैले भगवान् मानेका हुन् । त्यस्तै हामी ओशोप्रेमीहरू स्वामी आनन्द अरुणज्यूलाई भगवान्कै रूपमा हेर्छौं । उहाँलाई हामी नेपालको मात्र नभएर विश्वकै ओशोको रूपमा हेर्छौं, जसले आज विश्वका धेरै देशमा ओशो कम्युन र सेन्टरहरू खोल्नुभएको छ र विश्वका धेरै व्यक्तिलाई खुसियालीपूर्ण जीवन जिउन सिकाउनुभएको छ, दीक्षा दिनुभएको छ । काठमाडौंको बालाजुमाथि नागार्जुनछेउमा ‘ओशो तपोवन’ साधना कम्युन उहाँकै देन हो । आनन्दको खोजीमा रहेका विश्वभरकै मानिस आएर यहाँ साधना गर्दछन् । नेपालका पनि धेरै व्यक्तिहरू त्यहाँ गई साधना गर्दछन् । नेपालमा उहाँले ६ ओटा कम्युन र ६२ ओटा सेन्टर खोलिसक्नुभएको छ । एक लाखभन्दा धेरैलाई दीक्षा दिइसक्नुभएको छ । यदि नेपालका नेताहरू स्वामी आनन्द अरुणको प्रेरणामा समर्पित भई साधना गर्ने हो भने उहाँहरूले देशका प्रत्येक जनतालाई शान्ति दिन सक्नुहुन्थ्यो होला । नेताहरूले साधनाबारे बुझी स्कुल, जेल, पुनस्र्थापना केन्द्रहरूमा साधनाका कार्यक्रम राखिदिनसक्नुभयो भने प्रत्येक व्यक्तिको जीवन खुसियालीयुक्त हुनेमा शङ्का रहन्नथ्यो ।
विश्वमा प्रत्येक व्यक्तिले आफूलाई चिन्न सक्यो र खुसी हुन सक्यो भने उसले उसको जीवनमा नराम्रो काम गर्नै सक्दैन । उसले सबैलाई खुसी दिन्छ । व्यक्ति खुसी हुनु भनेको देशमा शान्ति आउनु हो । यो कुरालाई सरकारले ध्यान दिएमा साधनाबाटै देशमा शान्ति आउँछ, यसमा शङ्का पाल्नै पर्दैन ।

श्रीमती सङ्घद्वारा राहत र सचेतना प्रदान
मकवानपुर जिल्लाको काँकडा र चितवनको कविलास गाविसमा बसोबास गर्दै आएका विपन्न वर्गका चेपाङ समुदायलाई लक्षित गरी सैनिक श्रीमती सङ्घद्वारा स्वास्थ्य शिविर तथा राहत वितरण कार्यक्रम सम्पन्न गरिएको छ । प्रधानसेनापति छत्रमानसिंह गुरुङको प्रमुख आतिथ्यमा गत १७ र १८ गते भएको उक्त कार्यक्रममा चितवनको कविलासमा एक सय २५ र मकवानपुरको काँकडामा एक सय ३३ जना विपन्न समुदायका नागरिकलाई चामल, चिउरा, चिनी र बिस्कुटलगायतका राहत सामग्री वितरण गर्नुका साथै करिब पाँच सय ८० व्यक्तिलाई स्वास्थ्य उपचार सेवा तथा निःशुल्क औषधि वितरण गरिएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।
सोही कार्यक्रममा जङ्गली खाद्य वा अखाद्य वस्तुको सही पहिचानको अभावले मकवानपुर र चितवनका विभिन्न गाउँमा भएका दुःखदायी घटनालाई आगामी दिनमा दोहोरिनबाट सजग गराउने उद्देश्यले अमलेखगञ्जस्थित सैनिक शिक्षालयबाट जङ्गलमा पाइने कन्दमूल, च्याउ, रिठ्ठा, भ्याकुर आदि वस्तुहरूको अवलोकन गराई सोको उपभोगसम्बन्धी सचेतनामूलक कार्यक्रमसमेत सञ्चालन गरिएको थियो ।

माछापुच्छे« र स्ट्यान्डर्ड गाभिए
राष्ट्रिय वाणिज्य बैंकको रूपमा सञ्चालित माछापुच्छे« बैंक लिमिटेड र ‘ग’ वर्गमा रहेको स्ट्यान्डर्ड फाइनान्स आपसमा गाभिएका छन् । नेपाल राष्ट्र बैंकले माछापुच्छ«े बैंक र स्ट्यान्डर्ड फाइनान्सलाई एक–आपसमा गाभ्न र गाभिने अन्तिम स्वीकृति हालै प्रदान गरेको थियो । राष्ट्र बैंकको स्वीकृतिपश्चात् गत सातादेखि दुवैले संयुक्त कारोबार सञ्चालन गरेका छन् । प्राप्त जानकारीअनुसार अबदेखि यी दुवै संस्थाले माछापुच्छ«े बैंक लिमिटेडको नामबाट कारोबार अगाडि बढाउनेछन् । दुबै संस्था एक–आपसमा गाभिएपछि बैंकको सीईओमा माछापुच्छ«े बैंकका सीईओ भाइकाजी श्रेष्ठ यथावत् रहने भएका छन् ।
दुवै बैंकिङ संस्था आपसमा गाभिएपछि माछापुच्छ«े बैंकका अध्यक्ष सूर्यबहादुर केसीले नेपालको वित्तीय इतिहासमा पुँजी शाखा सञ्जाल, कर्मचारी सङ्ख्या र व्यवस्थापनका दृष्टिले यो पहिलो घटना भएको बताए । दुवै संस्था आपसमा गाभिएपछि कुल चुक्ता पुँजी दुई अर्ब ४७ करोड ८७ लाख ९४ हजार पाँच सय साठी हुनेछ ।

ग्लोबल बन्यो ग्लोबल आईएमई बैंक लि.
ग्लोबल बैंक लि., आईएमई फाइनान्सियल इन्स्टिच्युसन लि. र लर्डबुद्ध फाइनान्स लि. एक–आपसमा गाभिएर ग्लोबल आईएमई बैंक लि. स्थापित भएको छ । गत सोमबार बैंकको कर्पोरेट कार्यालय पानीपोखरीमा आयोजित विशेष कार्यक्रमबीच प्रधानमन्त्री डा. बाबुराम भट्टराईले बैंकको उद्घाटन गर्नुभयो । सो समारोहमा अर्थमन्त्री वर्षमान पुन, नेपाल राष्ट्र बैंकका गभर्नर युवराज खतिवडालगायतका विशिष्ट पदाधिकारीको उपस्थिति थियो ।
बैंकलाई शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री भट्टराईले मर्जरपश्चात् बैंकले प्रदान गर्ने सेवा–सुविधा प्रभावकारी हुने विश्वास व्यक्त गर्दै विदेशबाट प्राप्त भइरहेको रेमिट्यान्सलाई अझ प्रभावकारी बनाउन विदेशमा समेत नेपाली बैंकहरूको सम्पर्क कार्यालय खोल्न सकिने सम्भावनालाई सकारात्मक रूपमा हेरिने बताउनुभयो । प्राप्त रेमिट्यान्सलाई बैंकहरूले उत्पादनशील क्षेत्रमा कर्जा प्रवाह गर्नुपर्ने सुझाव उहाँको थियो ।
निकै छोटो समयमा मर्जरको प्रक्रिया सम्पन्न भएको ग्लोबल आईएमई बैंक देशकै बैंकिङ इतिहासमा हालसम्मको सबैभन्दा ठूलो मर्जर हुन पुगेको छ । ग्लोबल आईएमई बैंकको देशभर ६२ वटा शाखा, दुईवटा एक्सटेन्सन काउन्टर तथा ५७ वटा एटीएमहरूको सञ्जाल रहनेछन् । ग्लोबल आईएमई बैंक नेपालमा भिसा क्रेडिट कार्ड जारी गर्ने सातौँ बैंक हो ।
मर्जरपश्चात् बैंकको कुल चुक्ता पुँजी दुई अर्ब १८ करोड, निक्षेप २६ अर्ब तथा कर्जा २० अर्ब रुपैयाँ पुगेको र ग्राहक सङ्ख्या दुई लाख ५५ हजारभन्दा बढी रहेको बैंकले जनाएको छ । त्यस्तै, बैंकले केन्द्रीय राहदानी कार्यालय, परराष्ट्र मन्त्रालयको कन्सुलर शाखा तथा परीक्षा नियन्त्रण कार्यालय बल्खुबाट राजस्व सङ्कलन कार्य पनि गर्दै आएको छ । नेपाल सरकारको राजस्व सङ्कलन गर्ने बैंकहरूमध्ये ग्लोबल आईएमई बैंक पाँचौँ बैंक हो भने भारतको युनाइटेड बैंक अफ इन्डियासँगको सहकार्यमा बैंकले भारतबाट रेमिट्यान्स पठाउने कार्यमा उल्लेख्य सफलता हासिल गरेको बताइएको छ ।

दलहरूको असफलताबाट पूर्वराजा फर्कने हिसिलाको स्वीकारोक्ति
काठमाडौं÷ एकीकृत नेकपा माओवादीकी पोलिटब्युरो सदस्य हिसिला यमीले पूर्वराजा ज्ञानेन्द्र शाह फर्कन सक्ने बताएकी छिन् । रिपोर्टर्स क्लब नेपाल साक्षात्कारमा बोल्दै दलीय प्रणाली असफलतातिर बढेकाले पूर्वराजा फर्कन सक्ने उनको तर्क थियो ।
बूढी मरीभन्दा काल पल्केला भन्ने डर भइसक्यो भन्दै उनले दलहरू सत्ताको लुछाचुँडी गर्दा पूर्वराजालाई फाइदा पुगिरहेको टिप्पणी गरिन् । नेपाली काङ्ग्रेस र नेकपा एमाले सत्तामा मात्र केन्द्रित भइरहेकोमा आलोचना गर्दै सहमतिका लागि लचिलो नभए ठूलो क्षति भोग्नुपर्ने उनले औंल्याइन् । प्रधानमन्त्रीकी पत्नीसमेत रहेकी यमीले शान्ति र संविधानमा प्याकेज सहमति भए प्रधानमन्त्री डा. बाबुराम भट्टराई राजीनामा दिन तयार भएको बताइन् । ‘बाबुरामले जेठ १४ मै राजीनामा दिन ठिक्क परिसक्नुभएको थियो,’ भट्टराईमाथि पदलोलुप भनी लागेको आरोपको उनले खण्डन गरिन् । प्रधानमन्त्रीले पदमा रहिदिएर देशलाई दुर्गतिमा जानबाट रोक्ने भूमिका निर्वाह गरिरहेको उनको दाबी थियो । राष्ट्रिय सहमति निर्माणका लागि सर्वदलीय बैठक डाक्दा नेपाली काङ्ग्रेस, नेकपा एमालेलगायतका दलहरूले बहिष्कार गरेकोमा उनले दुःख मानिन् । बाबुराम र प्रचण्डबीच अन्तद्र्वन्द्व बढाएर फाइदा लिन काङ्ग्रेस र एमाले सक्रिय रहेको आरोप लगाउँदै उनले भनिन्, ‘उहाँहरू बाबुरामले डाकेको बैठक बहिष्कार गर्नुहुन्छ, हाम्रै पार्टी अध्यक्ष प्रचण्डले डाकेको बैठकमा जानुहुन्छ ।’
पूर्ण बजेट ल्याउन सरकार दृढ रहेको भन्दै यमीले कुनै पनि चुनौतीका सामु नझुक्ने बताइन् । विपक्षी दलहरूलाई आंशिक बजेटको मुद्दा लिएर सडकमा जान र नेकपा–माओवादीलाई जनयुद्धमा गएर देखाउन उनले चुनौतीसमेत दिइन् ।

अन्तरजातीय विवाहले दलितबस्ती विस्थापित
धादिङ जिल्ला पिंडा गाविस–५ मूलखर्कमा दलित र गैरदलितबीचको विवाहलाई लिएर भएको घटनाप्रति नेपाल दलित पार्टीले भत्र्सना गरेको छ । गत असार १७ गते नवराज सुनार र स्थानीय सम्झना सुवेदीबीच राजीखुसी विवाह भएको थियो । पछि केटी पक्षले आफूभन्दा तल्लो जातिले आफ्नी छोरी लगेको भन्दै आक्रमणमा उत्रिएपछि १० घर दलित बस्ती विस्तापित हुन पुगेका छन् । सो आक्रमणबाट दुलाहा नवराज सुनारलगायत आमा कौशिला, भाउजू इन्दिरा विक सख्त घाइते भएका छन् । उनीहरूको धादिङ गजुरी अस्पतालमा उपचार भइरहेको छ । आक्रमणमा हलोको हरिस र लाठी प्रयोग गरी संवेदनशील अङ्गहरूमा चोट लागेको छ । साथै केटोको जेठाबुबा तथा बहिनी कोपिला विक पनि गाउँबाट लखटिएका छन् ।
नेपाल दलित पार्टीका अध्यक्ष मेघबहादुर र महासचिव विशाल विक घटनास्थल गजुरी अस्पताल पुग्दा त्यहाँको अवस्था दर्दनाक भएको बताएका छन् । सो घटनाको घोर विरोध गर्दै गणतान्त्रिक मुलुकमा यस्तो घटना घट्नु गम्भीर विषय भएको पे्रस विज्ञप्तिमा जनाएको छ । यो घटनाबारे सङ्घले गृहमन्त्री विजयकुमार गच्छदारलाई पनि जानकारी गराउँदै दोषीलाई कडा कारबाही गर्न माग गरेको छ ।

मुस्लिम आयोगका अध्यक्ष हटाउन माग गर्दै उजुरी दर्ता
काठमाडौं÷ मुस्लिम आयोगका अध्यक्ष निर्दोष अलीलाई तत्काल पदबाट हटाउन उनकै दलनिकट मुस्लिम समुदायले माग गरेका छन् । एमाओवादीनिकट मुस्लिम मुक्ति मोर्चाका नेवाः राज्य संयोजक नजिबुल्लाह अन्सारीको नेतृत्वमा गएको टोलीले पदबाट हटाउन मागसहित हिजो मंगलबार उजुरी गरेको छ । अलीलाई इस्लाम धर्मविरोधी र मुस्लिमविरोधी भन्दै प्रधानमन्त्री कार्यालय, एनेकपा माओवादी केन्द्रीय कार्यालय, स्थानीय विकास मन्त्रालय र मुस्लिम आयोगको केन्द्रीय कार्यालयमा उजुरी दर्ता गरिएको हो । नेवाः राज्य संयोजक अन्सारीले मुस्लिम समुदायमै आँच आउनेगरी अलीको नियुक्ति हुनु दुर्भाग्यपूर्ण भन्दै तत्काल पदबाट बर्खास्त गर्न माग गरे । तत्काल पदबाट नहटाए सङ्घर्षमा जाने घोषणा गर्दै ३० लाख मुस्लिमको हितमा काम गर्नुपर्ने निकायमा मुस्लिमविरोधी अभिव्यक्ति दिने व्यक्ति आउनुले आफूहरू विरोधमा उत्रिन बाध्य भएको उनले बताए ।

काष्ठमण्डप बैंकले सुरु गर्‍यो सुन कर्जा
ग्राहकहरूको माग तथा सेवामा विविधिकरण ल्याउने नीतिअनुरूप काष्ठमण्डप डेभलपमेन्ट बैंकले सुन कर्जा सेवा आरम्भ गरेको छ । बैंकको शाखा कार्यालय कालिमाटीबाट सेवा आरम्भ गरिएको र यो सेवा सम्भाव्य अन्य शाखा कार्यालयबाट पनि निकट भविष्यमा प्रदान गरिने बैंकले जनाएको छ ।