युद्ध अग्रसरता लिने, बहुमत वैद्यतिर

युद्ध अग्रसरता लिने, बहुमत वैद्यतिर


०५२ सालमा सशस्त्र सङ्घर्षको अग्रसरता लिने माओवादीका उन्नाइस नेताहरूमध्ये बहुमत सदस्यहरू नवगठित माओवादीको पक्षमा उभिएका छन् । त्यसबेला माओवादी केन्द्रीय समिति उन्नाइसजनाको थियो । प्रचण्ड महासचिव रहेको सो समितिका सदस्यहरूमध्ये पोष्टबहादुर बोगटी, हरिबोल गजुरेल, अग्नि सापकोटा र लोकेन्द्र मगर मात्र प्रचण्डको पक्षमा छन् । मोहन वैद्य किरण, सीपी गजुरेल, रामबहादुर थापा बादल, देव गुरुङ, पम्फा भुसाल, हरिभक्त कँडेल, नारायण शर्मा र दिनेश शर्मा नवगठित माओवादीमा छन् भने प्रधानमन्त्री डा. बाबुराम भट्टराईको पक्षमा उनीसहित अर्का एक टोपबहादुर रायमाझी रहेका छन् । त्यसबेलाका केन्द्रीय सदस्यहरूमध्ये मातृका यादव मूल पार्टीबाट पहिले नै अलग्गिएका छन् भने फणीन्द्र आचार्य आन्दोलनबाट नै पलायन भइसकेको बताइन्छ । दण्डपाणि न्यौपाने युद्धकालमै बेपत्ता पारिएका थिए र यानप्रसाद गौतम पार्टीले दिएको सजाय भोग्ने क्रममा मारिएका थिए । सशस्त्र युद्धको सुरुवात गर्न ०५२ सालमा अग्रसरता लिने उल्लिखित उन्नाइसमध्ये बहुसङ्ख्यक अर्थात् आठजना नेताहरू नवगठित माओवादीमा एकजुट रहनुलाई सामान्य रूपमा लिन सकिने अवस्था छैन । वैद्य नेतृत्वको माओवादीमा सङ्गठित नेता–कार्यकर्ताहरू ज्यादा आक्रामक र आत्मविश्वासपूर्ण देखिएका छन् भने प्रचण्डको कित्ता रक्षात्मक मानसिकतामा छन् । यसैबीच अध्यक्ष मोहन वैद्य किरणलाई चीनले भ्रमणका लागि औपचारिक निमन्त्रणा दिएपछि नवगठित माओवादीका समर्थकहरूमा उत्साह थपिएको छ ।
टोली फर्केपछि प्रधानमन्त्री हिस्स
केही दिनअघि मात्र ब्राजिलको रिओ दि जेनेरियोमा भारतलगायतका देशका प्रमुखहरूसँग भेट गरी आफ्नो समर्थन जुटाएर आएका प्रधानमन्त्री बाबुराम भट्टराईलाई चीन सरकारले लोप्पा खुवाएको छ । नेपालको कम्युनिस्ट नेतृत्वको सरकारप्रति सधंै लचिलो बन्दै आएको चीन सरकार एकाएक माओवादी उपाध्यक्षसमेत रहेका प्रधानमन्त्री भट्टराईप्रति कठोर बनेको छ ।
गत शुक्रबार साँझ नेपाल भ्रमणमा आएको चिनियॉ विदेश विभागका दक्षिण एसिया प्रमुख आई पिङ नेतृत्वको उच्चस्तरीय टोली प्रधानमन्त्री बाबुराम भट्टराईलाई चित पार्दै फर्कियो । प्रधानमन्त्री भट्टराईनिकट उच्च स्रोतका अनुसार नेपाल भ्रमणमा रहेको चिनियाँ टोलीनेता आई पिङसँगको भेटमा नेपाल सरकारका तर्फबाट उठाइने मुद्दाहरूको टिपोट प्रधानमन्त्री भट्टराईले शुक्रबार दिउँसो नै तयार गरेका थिए । उनले नेपालमा चीनले गर्न सक्ने विकास तथा तिब्बती शरणार्थीका विषयमा नेपाल सरकारबाट भएको प्रगतिका विवरण सम्बन्धित विभागबाट मगाएका थिए । स्रोतका अनुसार प्रधानमन्त्रीको टिपोटमा आफ्नो नेतृत्वको सरकारलाई स्थायित्व दिने विषयलाई पनि प्रमुखताका साथ राखेका थिए ।
शुक्रबार बेलुकी नेपाल आएको टोलीलाई प्रधानमन्त्रीले शनिबार साँझ भेट गर्ने कार्यतालिका मिलाएका थिए । स्रोतका अनुसार टोलीसँग भेटका लागि उनले तीनखाले कार्यतालिका बनाएका थिए । उनको कार्यतालिकामा शनिबार बिहान वा बेलुका र आइतबार बिहान । आफ्नो कार्यतालिका बनाएर उनी चिनियाँ दूतावासको फोनको प्रतीक्षामा थिए । तर, टोलीले प्रधानमन्त्रीको कुनै वास्ता नै नगरी आइतबार मध्याह्न स्वदेश फर्कियो ।
स्रोतका अनुसार आफूसँग चिनियॉ टोलीले आइतबार बिहानसम्म भेट गर्न सक्ने विश्वासमा प्रधानमन्त्री भट्टराई थिए । प्रधानमन्त्री भट्टराईको स्वकीय सचिवालयका सचिव फणीन्द्र देवकोटाले शनिबार साँझ भने, ‘आज प्रधानमन्त्रीको चिनियाँ टोलीसँग भेट हुन सकेन, भोलि (आइतबार) बिहान हुन्छ होला ।’ तर, टोलीले आइतबार प्रधानमन्त्रीलाई आफू आएको औपचारिक जानकारीसमेत नगराई विदेश उडेपछि प्रधानमन्त्री भट्टराईले चीन सरकार आफ्नो समर्थनमा कति रहेछ भन्ने बुझे । आफूलाई भेट नै नगरी चिनियाँ टोली स्वदेश फर्केपछि भट्टराईले सचिवालयका अधिकारीहरूमाफर्त चिनियॉ दूतावासमा फोन सम्पर्क गरी आफूसँग भेट नगर्नुको कारणबारे जानकारी मागेका थिए । चिनियाँ दूतावासले भने यो भ्रमणमा सरकारी अधिकारीहरूसँगको नभई राजनीतिक दलहरूसँग मात्र भएकोले सरकारका कुनै पनि अधिकारीलाई भेट नगरेको जानकारी दिएका थिए । नेपालका लागि चिनियाँ राजदूत याङ होउलानको भनाइ थियो, ‘नेपाली राजनीतिको पछिल्लो स्थिति बुझ्नका लागि चिनियाँ उच्चस्तरीय टोली आएकोले टोलीनेता आई पिङले यहाँका दलीय नेताहरूसँग भेटघाट गरेको हो ।’ प्रधानमन्त्रीसँग भेट नगर्ने भएपछि टोलीले राष्ट्रपति डा. रामवरण यादवसँग पनि भेट गरेन । ‘राष्ट्रपतिसँग भेट गर्ने प्रधानमन्त्रीसँग नगर्ने गरेको अर्थ अर्को लाग्ने भन्दै टोलीले चाहेर पनि राष्ट्रपतिसँग भेट गरेन,’ स्रोतले भन्यो ।
कुनै पनि देशबाट उच्च अधिकारी आउँदा त्यसको सम्पूर्ण प्रबन्ध परराष्ट्र मन्त्रालयमार्फत आउनुपर्ने हुन्छ । तर, चिनियाँ अधिकारीहरूको भ्रमण सीधै चिनियाँ दूतावासले मिलाएको थियो । नेपाल सरकारको विश्वास नरहेको भन्दै चीनले आफ्नो देशको उच्च अधिकारीको भ्रमण नेपालको परराष्ट्र मन्त्रालयमार्फत नभई सीधै नेपालका लागि चिनियाँ दूतावासमार्फत मिलाएको स्रँेतले बतायो । स्रँेतले भन्यो, ‘सरकारप्रति विश्वास नरहेका कारणले नेपाल सरकारलाई जानकारी नै नदिईकन चिनियाँ टोली आयो र उनीहरूको सुरक्षामा पनि चिनियाँ प्रहरीहरूको प्रयोग गरियो ।’
नेपाल बसाइका क्रममा टोलीले एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल, काङ्ग्रेसका सभापति सुशील कोइराला, एमालेका अध्यक्ष झलनाथ खनाल, नेकपा–माओवादीका अध्यक्ष मोहन वैद्य किरण, महासचिव रामबहादुर थापा बादल, मधेसी जनअधिकार फोरमका अध्यक्ष एवम् उपप्रधानमन्त्री विजयकुमार गच्छदारलगायतका प्रमुख राजनीतिक दलका नेताहरूसँग भेट गरेको थियो । भेटमा टोलीले नेपालमा उत्पन्न पछिल्लो राजनीतिक अवस्था, शान्तिप्रक्रिया, संविधान निर्माण र राष्ट्रिय सहमति निर्माणलगायतका विÈयलाई छलफलका एजेण्डा बनाएको थियो । सो भेटका क्रममा चिनियाँ नेता आईले नेपाली नेतालाई सङ्क्रमणकालीन राजनीतिको निकासका लागि आग्रह गर्दै चाँडोभन्दा चाँडो राजनीतिक दलबीच सहमति भई शान्ति र संविधान निर्माणले पूणर््ँता पाओस् भन्ने चाहना रहेको बताएका थिए । चिनियाँ टोलीले केही दिनअघि मात्र एमाओवादीबाट फुटेको मोहन वैद्य किरणलाई चीन भ्रमणको निम्तो दिएको छ ।

भीड देखेर पूर्वराजा चकित
स्थानीय बासिन्दाको आग्रहलाई स्वीकार गर्दै पश्चिमाञ्चलको लुम्बिनी क्षेत्रको धार्मिक भ्रमणमा जानुभएका पूर्वराजा ज्ञानेन्द्र जनताको भीड देखेर आफैं चकित पर्नुभएको छ । त्यस क्षेत्रका केही मन्दिरमा पूजाआजा तथा दर्शन गर्ने कार्यक्रम बनाएर जानुभएका उहाँको भ्रमणमा हजारौँ जनताले स्वस्फूर्त रूपमा सहभागिता जनाएका छन् । जनतासमक्ष कुनै अभिव्यक्ति नदिनुभएका पूर्वराजाले मंगलबार बेलुका पत्रकारहरूलाई एक रात्रिभोज दिनुभयो । त्यस अवसरमा उहाँले देशको विद्यमान अवस्थाप्रति गम्भीर चिन्ता प्रकट गर्दै सबै नेपालीले देशको बारेमा सोच्नुपर्ने अवस्था आएको बताउनुभयो । देशको विद्यमान अवस्थाप्रति के तपाईंहरू सन्तुष्ट हुनुहुन्छ भन्ने जिज्ञाशा राख्दै पूर्वराजाले अब आफू चुपचाप हेरेर मात्र बस्न नसक्ने अवस्थामा रहेको सङ्केत गर्नुभएको थियो ।
पूर्वराजाको भ्रमणमा यसपटक उर्लिएको जनसमूहलाई हेरेर उहाँमा उत्साहको सञ्चार भएको बताइएको छ । भ्रमणमा उहाँ राजा हुँदाका बखतभन्दा अहिले मानिसहरूको भीड बढी लागेको दाबी भ्रमण दलका सदस्यहरूले गरेका छन् । कतिपय मानिसले ०६२/०६३ मा आफू आन्दोलनमा लागेकोमा पूर्वराजासमक्ष पश्चात्ताप गर्दै आफूबाट गल्ती भएकोमा क्षमा दिनसमेत उहाँसँग आग्रह गरेको पनि उनीहरूले बताएका छन् । पाँच दिनको भ्रमणमा पूर्वराजाले कृष्णनगरको राधाकृष्ण मन्दिर, तौलिहवाको कौलेश्वर महादेव, बुटवलको गणेश मन्दिर र मुक्तिनाथघामलगायतमा गई पूजाअर्चना गर्नुभएको थियो । उहाँ बिहीबार भैरहवाको दुर्गा मन्दिरमा पूजाआजा गरेपछि राजधानी फर्कनुहुने भएको छ । उहाँ लुम्बिनी, मर्चबार र परासी पनि जानुभएको समाचारमा जनाइएको छ ।

धारापानीमा मोटर पुगेपछि सेनाको तारिफ
१९ वर्षको मिहिनेतपछि हिमालपारिको जिल्ला मनाङमा पहिलोपटक मोटर पुगेको छ । मनाङ जोड्ने बेसीसहर–चामे सडकको निर्माणकार्यको ट्रयाक खोल्ने काम सकिएकाले मनाङको धारापानी गाविसमा पहिलोपटक मोटर पुगेको हो ।
लमजुङको सदरमुकाम बेसीसहरदेखि मनाङको सदरमुकाम चामेसम्म कुल ६५ किलोमिटर रहेकोमा ३७ किलोमिटरको दूरीमा रहेको मनाङ धारापानी गाविसको खोत्रे निगालाघारी भन्ने स्थानसम्म मोटर पुगेको सडक निर्माणको जिम्मा पाएको नेपाली सेनाको कार्यदल गणका मेजर इन्दिवर गुरुङले जानकारी दिएका छन् । यसअघि मनाङको सदरमुकाम चामेदेखि बेसीसहरतर्फ धारापानीसम्म करिब २४ किलोमिटर बाटोको ट्रयाक खन्ने काम भइरहँदा बेसीसहरदेखि जगतडाँडासम्मको करिब २९ किलोमिटरमा मोटर चलेको थियो ।
नेपाली सेनाको ग.१च २५३ नम्बरको जिप पहिलोपटक मनाङको निगालोघारीसम्म पुगेको हो । अबको केही दिनमा मनाङको सदरमुकाम चामेसम्म नै मोटर पुग्ने सेनाले जनाएको छ । १९ वर्षअघि ०५१ सालमा सडक विभागले सुरु गरेको यो सडक ०५७ सालबाट नेपाली सेनाले निर्माण गर्दै आएको छ । लमजुङ र मनाङ जोड्ने सिमानामा निकै ठूला एवम् कहालीलाग्दा चट्टान तथा पहाडहरू रहेकाले सडक निर्माण हुन लामो समय लागेको कार्यदल गणले जनाएको छ । सडक विभागले १७ वर्षअघि गरेको प्रारम्भिक सर्भेमा मनाङलाई सडक सञ्जालले जोड्न एक अर्ब ३७ करोड रुपैयाँ लाग्ने अनुमान गरेकोमा हालसम्म ७६ करोड रुपैयाँ मात्र खर्च भएको सेनाले जनाएको छ ।
मनाङ तालगाउँका आशबहादुर गुरुङले बेसीसहर–चामे सडक निर्माण सुरु भएको झन्डै १९ वर्षपछि मनाङवासीहरूको मोटर चढ्ने सपना पूरा गरिदिएकोमा नेपालका राजनीतिक दलका नेताहरूलाई सेनासँग विकासको पाठ सिक्न अनुरोध गरेका छन् । सरकारले चार वर्षअघिदेखि प्रत्येक आर्थिक वर्ष सुरु हुँदा यसै वर्षभित्र मनाङमा मोटर पुर्‍याउने भन्ने गरिए पनि त्यो यस आर्थिक वर्षमा नेपाली सेनाले पूरा गरिदिएको मनाङका अर्का समाजसेवी मानबहादुर गुरुङ बताउँछन् । दशवर्षे द्वन्द्व, पटकपटक स्थानीयवासीको आन्दोलन तथा विविध कारणले सडक निर्माणले गति लिन सकेको थिएन । विगतको द्वन्द्वको समयमा मात्र होइन लोकतन्त्रपछिका चार वर्षमा सडक कताबाट लैजाने भन्ने विषयमा स्थानीयवासीको आन्दोलनको कारण डेढ वर्षभन्दा बढी समय सडक निर्माणकार्य बन्द भएपछि नेपाली सेनाले स्थानीयहरूसँग सहकार्य गरी सडकको काम अघि बढाएको थियो । सेनाले च्याम्चे, ङ्यादी खोला, ताल, म्यार्दी, धारापानी खोत्रो, तिमाङलगायतका चट्टाने भीरहरू फोरेर मनाङसम्म मोटर बाटोको ट्रयाक खोलेपछि मनाङवासीमा खुसियाली भित्रिएको छ । –छविलाल बगाले

प्रचण्डको बाटोमा कट्टेलको काँडेतार
नवगठित नेकपा–माओवादीले पार्टी केन्द्रीय समितिमा मनोनीत गरी कसैलाई पनि थप नगर्ने भएको छ । पहिले नै केन्द्रीय समितिमा रहिआएका पैंतालीसजनालाई यथावत् राखी महाधिवेशनमा जाने र भावी नेतृत्व महाधिवेशनबाट नै तय गर्ने सोच उक्त पार्टीले बनाएको छ । पार्टीको महाधिवेशन आगामी पुसको पहिलो साता काठमाडौं या चितवनमा गरिने भएको छ । राज्य समितिका बैठकहरू साउन १५ गतेसम्ममा सम्पन्न गरिसक्ने र साउन १५ देखि असोज मसान्तसम्म सदस्यता वितरणलाई एउटा अभियानको रूपमा सञ्चालन गर्ने योजना उक्त पार्टीले बनाएको छ । सदस्यता वितरणसँगै साउन १५ गतेपछि सङ्घर्षको कार्यक्रमलाई पनि क्रमिक रूपमा अघि बढाउने तयारी सो पार्टीले गरेको छ ।
यसैबीच प्राप्त अर्को एक जानकारीअनुसार नेकपा–माओवादीले पार्टी सम्पत्तिको विषयमा देशैभर खोजबिन गर्ने भएको छ । पहिलो चरणमा पार्टी कार्यालयहरूलाई आफ्नो स्वामित्वमा ल्याउने कार्यलाई पार्टीले उच्च प्राथमिकता दिन लागेको छ ।
त्यसपछि पुरानो नेतृत्वसँग पहिलेदेखिको हिसाबकिताब मागिने बुझिएको छ । पार्टीको केन्द्रीय कार्यालय रहेको पेरिसडाँडालाई यथावत् प्रयोग गर्न प्रचण्ड पक्षले करिब तीन करोड रुपैयाँ वैद्य पक्षलाई बुझाउनुपर्ने बताइएको छ । कार्यालयको मूल हिस्सामा प्रचण्ड पक्षको स्वामित्व कायम रहेको भए पनि त्यहाँ प्रयोग भइआएको मूल बाटो र क्यान्टिन शिव कट्टेलको स्वामित्वमा छ । कट्टेल नवगठित माओवादीको राज्य समितिका सदस्य हुन् । आफ्नो स्वामित्वमा रहेको बाह्र आना जग्गाको रकम तत्काल उपलब्ध गराउन कट्टेलले माग गर्दै आएका छन् । प्रचण्डले रकम नबुझाए सो जग्गामा काँडेतार लगाउने या कोटेश्वर क्षेत्रमा सडक जाम गरेर सङ्घर्ष सुरु गर्ने भन्ने विषयमा विचार–विमर्श भइरहेको छ । पार्टीको अन्य धनसम्पत्तिबारे खोजबिन तथा छानबिन गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगजस्ता निकायहरूको समेत सहयोग लिनेबारेमा आन्तरिक छलफल चलिरहेको बुझिएको छ ।

हरिबोल गजुरेल किन प्रचण्डतिर ?
एमाओवादी अध्यक्ष प्रचण्डले आफ्ना निकटवर्तीहरूसँग घरपरिवारको झगडाका कारण कसैसँग बदला लिने उद्देश्यले पनि कतिपय व्यक्ति आफूसँग नजिकिएको बताएका छन् । माओवादीमा भद्र नेताका रूपमा चिनिने कृष्णबहादुर महरालाई महासचिव बनाउन चाहने प्रचण्डले हरिबोल गजुरेल उर्फ शीतल कुमारको बारेमा महरासँग त्यसरी टिप्पणी गरेको समाचार सूत्रले जनाएको छ । स्मरणीय छ, करिब चालीस वर्षअघि काठमाडौंमा अध्ययनका निम्ति आएका हरिबोल गजुरेलको हातमा माओवादी नेता सीपी गजुरेलकी पत्नीले काठमाडौंमा घडेरी खरिद गर्न भनी केही रकम पठाएकी थिइन् । तर, हरिबोलले उक्त रकम खाइदिएपछि सीपीपत्नीले गाउँमा सार्वजनिक रूपमै हरिबोलको बेइज्जत गरिदिएकी थिइन् । यस प्रकरणमा आफ्नो बचाउ नगरिदिएको भन्दै हरिबोल सीपी गजुरेलसँग रिसाएका थिए जुन रिस अझै साम्य नभइसकेको बताइन्छ । प्रचण्डको बुझाइमा त्यही रिस पोख्न हरिबोल सीपीविरुद्ध आफ्नो पक्षमा लागेका हुन् । महराको विचारमा प्रचण्ड हरिबोल गजुरेललाई मन पराउँदैनन् । शीतलकुमारको प्रचण्डसँगको सम्बन्ध हार्दिकतापूर्ण नभई प्राविधिक मात्र हो ।

यसरी बढ्दै छ लोकतन्त्रमा अपराध
लोकतन्त्र प्राप्तिसँगै नेपालमा राजनीतिक आवरणका अपराधजन्य घटना बढ्दै गएका छन् । नेपाल प्रहरीले तयार गरेको गोप्य प्रतिवेदनमा उल्लिखित तथ्याङ्कअनुसार पहिले सामान्य र फाटफुट मात्रामा हुने अपराधका घटना लोकतान्त्र प्राप्तिपछि एक्कासि बढेर गएको छ । अपहरण, चन्दाआतङ्क, तस्करी, लागूऔषधजस्ता आपराधिक घटनाहरू लोकतन्त्र बहालीपछि बढेका छन् । प्रहरी प्रधान कार्यालय स्रोतका अनुसार यस्ता अपराधमा संलग्न अपराधीहरू राजनीतिक नेतृत्वको दबाबका कारण सजिलै छुट्ने गरेका छन् । गम्भीर प्रकृतिको देखियो र छाड्दा प्रहरी सङ्गठनको बद्नाम हुने भयो भने मात्र प्रहरीले लामो समयसम्म नियन्त्रणमा लिएर कानुनी कारबाही अघि बढाउने गरेको नत्र बीचैबाट छाडिदिने गरेको छ ।
स्रोतका अनुसार आपराधिक क्रियाकलापमा संलग्न व्यक्तिहरूलाई छुटाउनका लागि सबैजसो राजनीतिक दलका नेताहरूले दबाब दिने गरेका छन् । एक वरिष्ठ प्रहरी अधिकृतले भने, ‘चार–पाँच वर्षयता अपराधमा संलग्न व्यक्तिहरूलाई माओवादी नेतृत्वको दबाबमा नियन्त्रणमा लिएको केही समयपछि नै छाड्नुपरेको छ ।’
एकीकृत माओवादी अध्यक्ष प्रचण्ड, एमाले अध्यक्ष झलनाथ खनाल, मधेशवादी मोर्चाका नेतालगायतले फोन गरेर विगतका वर्षहरूमा जस्तो आक्रामक नबनी फलानो मेरो मान्छे हो त्यसलाई छाडिदिनुभए हुन्थ्यो भन्दै प्रहरीका अधिकृतहरूलाई भन्ने गरेका छन् । प्रहरी प्रधान कार्यालय अपराध नियन्त्रण महाशाखा स्रोतका अनुसार राजनीतिक नेतृत्वको दबाबका कारण केही अपराधीलाई त समातेको केही समयमै छोड्नुपर्छ । अपराधी छुटाउनका लागि सबैभन्दा बढी माओवादी अध्यक्ष प्रचण्ड, गृहमन्त्री विजयकुमार गच्छदार, एमाले उपाध्यक्ष वामदेव गौतम, काङ्ग्रेस नेता शेरबहादुर देउवा, एमाले नेता केपी ओलीलगायतले फोन गरेर दबाब दिने गरेका छन् । काङ्ग्रेस सभापति सुशील कोइरालाले भने अपराधीहरूलाई छाड्नुपर्‍यो नभने पनि उनका सहयोगीहरूले बेलाबेलामा भन्ने गरेको एक प्रहरी अधिकृतले बताए । प्रहरी प्रवक्ता विनोद सिंहले पनि राजनीतिक अवरणमा अपराध गर्ने गरेको जानकारी दिए । ‘राजनीतिक पार्टीको सदस्यता लिएका व्यक्तिहरू खुला रूपमा आपराधिक कार्यहरूमा संलग्न रहेको पाइन्छ,’ उनले भने, ‘राजनीतिक नेतृत्वको आडमा अपराध गर्ने र नेताहरूकै शरण पर्ने गरेका छन्, तर, प्रहरीले तिनीहरूलाई पनि बाँकी राखेको छैन ।’ प्रवक्ता सिंहका अनुसार लोकतन्त्रको प्राप्तिअघि अहिलेको जस्तो अपराधका घटना हुँदैनथे । उनले भने, ‘अहिले नियोजित रूपमा पनि अपराधको घटना घटिरहेको देखिन्छ । अहिले अपराध गरेर लुक्नलाई सजिलो भएकोले पनि अपराधीहरू मौलाइरहेका छन् ।’
‘अपराधीहरूलाई छुटाउन पहिले निर्देशनात्मक आदेश आउँथ्यो, अहिले अनुरोध आउँछ,’ प्रवक्ता सिंहले भने, तर दबाबको भरमा कुनै पनि अपराधीलाई छोडिएको छैन । भएका कानुनलाई पनि प्रभावकारी रूपमा कार्यान्वयन गर्न नसक्दा धेरै अपराधीहरू सजिलै उम्किएको पनि उनको भनाइ थियो । विगतका तुलनामा प्रहरी सङ्गठन अपराध नियन्त्रण गर्न सक्षम देखिए पनि अझै धेरै अपराधी बाहिरै रहेका र तिनीहरू पनि केही समयपछि नियन्त्रणमा आउने प्रवक्ता सिंहको भनाइ थियो । केही अपराधका घटनामा प्रहरी अधिकारीहरूकै संलग्नता देखिएको जानकारी गराउँदै सिंहले भने, ‘तर, हामीले त्यस्ता प्रहरी अधिकारीलाई पनि कानुनी कारबाही गरेका छौँ ।’
अपराध महाशाखाका अनुसार चन्दाआतङ्क, ठगी, तस्करी, लागूऔषध, कर्तव्यजँन, डाँका, सार्वजनिक अपराध, जबर्जस्ती करणी, मानव बेचविखनजस्ता घटना लोकतन्त्र प्राप्तिपछि राम्रैसँग मौलाएको तथ्याङ्कमा उल्लेख छ । तर, धेरैजसो केसमा मुद्दा नै नलगाई छोड्नुपरेकोले त्यस्ताको विवरण राख्ने गरिएको छ । तथ्याङ्कअनुसार ठगी, लागूऔषध, अपहरणजस्ता मुद्दाहरू ०६४ सालयता दुईदेखि तीन सयको हाराहारीमा वृद्धि हुँदै गएको छ । तथ्याङ्कअनुसार गत आर्थिक वर्षमा एघार सय ७३ वटा मात्र लागूऔषधका मुद्दा थिए तर चालू आर्थिक वर्षको जेठ महिनामै यो सङ्ख्या बढेर १५ सय ६५ पुगेको छ । तर, चोरीका घटनामा भने एकाएक कमी आएको छ । सामान्य चोरीका घटनाबाहेक अरू देखिँदैन । जबर्जस्ती करणी उद्योगमा गत वर्षभन्दा २० प्रतिशतको दरले वृद्धि भएको छ । सार्वजनिक अपराध तथा चन्दा सङ्कलनका घटना पनि ह्वातै बढेका छन् । त्यस्तै कर्तव्यज्यान, ज्यान मार्ने उद्योग, हातहतियार खरखजानाजस्ता अपराधमा पनि विगतका तुलनामा निकै वृद्धि भएको छ । प्रहरीका एक अधिकारीले भने, ‘अपराधका धेरै घटनाहरू प्रहरीले तथ्याङ्कमा नै समावेश गर्ने गरेको छैन ।
२०६४ साल यताको वार्षिक अपराध तथ्याङ्क
०६३/०६४ ०६४/०६५ ०६५/०६६ ०६६/०६७ ०६७/०६८ ०६८/०६९ (जेठसम्मको)
सुनडाँका २८ २४ १४ १८ ५ ६
कर्तव्य ज्यान ७१० ७५८ ८६९ ८७५ ८७६ ७१०
ज्यान मार्ने उद्योग २९४ २७४ ४४० ५८८ ५५४
झुन्डिएर १४९० १६३७ १७२४ १८३६ २१०४ २२१२
डुबेर ३१ ४२ ३२ ६८ ६५ १७
डाँका ११० २३३ २४६ १६० १६८ १४७ ११०
चोरी ५८५ ५२७ २३ ७३० १२ ६
ठगी ११७ १२७ १२१ १५६ २६३ २३५
जुवा ४ ० ११ ३६ १०४ ११३
लागूऔषध ३१५ ४८३ ५५१ ८७१ ११७३ १५६५
चन्दा सङ्कलन ९ ५ २१ ४६ २३ १६
केही सार्वजनिक अपराध २२०३ २५९१ ३३५० ४१६९ ४१६९ ५५९४ ५६६३
मानव बेचबिखन १०९ १२३ ३३९ १६१ १८३ १०५
जबर्जस्ती करणी ३१७ ३०९ ३९१ ३७९ ४८१ ५०३
जबर्जस्ती करणी उद्योग ७० ७३ ७५ १०३ १५१ १७३
आगलागी ९९ ५७ ५७ ८७ ४५ ७१
हातहतियार खरखजाना २१२ ४८० ४८० ४६३ ४१४ ३६१
बम विस्फोट ० ८ ८ ८ ४ १०
स्रोत ः प्रहरी प्रधान कार्यालय नक्साल

नेपाली समाज युएईद्वारा हिराचन सम्मानित
एनआरएनएका प्रमुख संरक्षक तथा समाजसेवी देवमान हिराचनलाई नेपाली समाज यूएईले दोसल्ला ओढाएर सम्मान गरेको छ । समाजका अध्यक्ष कृष्ण ढकालको सभापतित्वमा दुवईस्थित एभरेष्ट होटलमा गत शुक्रबार आयोजित सम्मान कार्यक्रममा युएइका लागि नेपाली राजदूत धनन्जय झा प्रमुख अतिथि हुनुहुन्थ्यो भने विशेष अथितिका रुपमा आमन्त्रित हिराचनले आफुलाई यूएईमा रहेका एनआरएनहरूले सम्मान गरेकोमा अत्यन्त खुशी लागेको बताउनुभयो । एनआरएन स्थापना भएको १० बर्È सम्म नेपालमा दर्ता हुन नसकेको अवस्थामा अहिले आएर खाडी राष्ट्र तथा मलेशियामा रहेका एनआरएनहरूको भावनाविपरित दर्ता हुने प्रयास गरिएको खुलासा गर्दै प्रमुख संरक्षक हिराचनले यस्तो पूर्वाग्रही कदमविरुद्ध खाडीका एनआरएनहरूले आवाज उठाउन आग्रह गर्नुभयो ।
एनआरएनको विधान विश्व सम्मेलनले मात्र परिवर्तन गर्न सक्ने तर क्षेत्रिय सम्मेलनले परिवर्तन गर्न नसक्ने बताए । एनआरएनको संस्था दर्ता गर्ने नै हो भने १८३ दिन हुनु पर्दछ, नेपाल सरकारले भनेको दुई वर्Èलाई १८३ दिनमा परिवर्तन गरेपछी मात्रै दर्ता गर्नु पर्दछ उनले भने । गैर राजनितीक तथा गैर नाफामुलक संस्था भएको हुनाले एनआरएन संघले नेपालमा सयुक्त लगानी नगर्ने तथा संघमा आवद्ध एनआरएनहरूले मात्र संयुक्त लगानी गर्न सक्ने उनले प्रष्टाए । उहाूले विदेशमा छरिएर रहेका एनआरएनहरूको संयुक्त लगानीले ग्लोवल इन्भेष्टमेन्ट लि. कम्पनी स्थापना गरेको र ५० हजारदेखि १ करोडसम्म कम्पनीमा जो–कोहीले पनि लगानी गर्न सक्ने जानकारी गराउनुभयो ।
दुवईको जेलमा विगत ९ बर्È देखि मृत्युदण्ड सुनाईएका अमरबहादुर बमको बारेमा एनआरएनले पहल गरेको जनाउूदै नेपाली समाजले प्रधानमन्त्रीलाई लेखेको पत्र आफ्नै हातबाट दिएर पहलको लागि एनआरएनले दवाव दिने पनि उनले बताए । यसैगरी प्रमुख अतिथि नेपाली राजदूतावास यूएईका राजदूत धनन्जय झाले दूतावास स्थापना भएदेखि विभिन्न किसिमले मृत्यु भएका नेपालीहरूको इन्सुरेन्समार्फत प्राप्त हुने रकमको लागि कोसिस गरिरहेको जनाउनुभयो । कार्यक्रमका सभापति तथा नेपाली समाजका अध्यक्ष कृष्ण ढकालले नेपाली समाजले समाजसेवी तथा एनआरएनका प्रमुख संरक्षक देवमान हिराचनलाई सम्मान गर्नु नेपाली समाजको लागि गौरवको कुरा भएको अभिव्यक्ति दिनुभयो । – खेमनाथ पौडेल

प्राध्यापक विष्ट सल्लाहकार नियुक्त
त्रिभुवन विश्वविद्यालयको क्रियाकलापलाई बढी प्राकृत र मर्यादित बनाउने उद्देश्यले त्रिविका शिक्षाध्यक्ष प्राध्यापक गुणनिधि न्यौपानेले वरिष्ठ प्रशासनविद् तथा नेपालगञ्ज क्याम्पसका पूर्वक्याम्पसप्रमुख सीताराम विष्टलाई आफ्नो प्रमुख सल्लाहकारको रूपमा नियुक्त गर्नुभएको छ । विष्टको नियुक्तिलाई नेपाली प्राध्यापक, विद्यार्थी, अभिभावक तथा प्राज्ञिक जगत्ले स्वागतयोग्य कदमका रूपमा लिएका छन् ।

कृवि कृष्णभूषण बलप्रति समवेदना
निर्झर दिलचेत वाङ्मय प्रतिष्ठानको हालै बसेको बैठकले आधुनिक नेपाली काव्य साहित्यका दीर्घसाधक कवि कृष्णभूषण बलको असामयिक निधनप्रति गहिरो दुःख र हार्दिक समवेदनना प्रकट गरेको छ । प्रतिष्ठानले कवि बलको असामयिक निधनले नेपाली काव्य फाँटलाई अपूरणीय क्षति भएको उल्लेख गर्दै यस दुःखद् घडीमा उहाँका शोकसन्तप्त परिवारजनहरूप्रति धैर्यधारण गर्ने शक्ति र दिवङ्गत आत्माप्रति चिरशान्तिको कामना गरेको छ । बैठक प्रतिष्ठानका अध्यक्ष एवम् नेपाली लेखक सङ्घका केन्द्रीय सदस्य कवि रामेश्वर राउत मातृदासको अध्यक्षतामा बसेको थियो ।

द्वन्द्वपीडितहरूद्वारा मेलमिलापको माग
‘द्वन्द्वपछिको सामाजिक न्याय तथा मेलमिलाप’ विषयमा लमजुङ सदरमुकाम बेसीसहरमा अन्तरक्रिया सम्पन्न भएको छ । स्थानीय शान्ति समिति लमजुङको आयोजनामा भएका कार्यक्रममा जिल्लाका विभिन्न स्थानबाट आएका द्वन्द्वपीडितले तत्कालीनभन्दा दीर्घकालीन राहतको माग गर्दै सामाजिक न्याय र मेलमिलापको वातावरण मिलाइदिन सरकारसमक्ष माग राखे ।
कार्यक्रममा द्वन्द्वपीडितहरूले जिल्ला प्रशासन कार्यालयमा तथ्याङ्क अपडेट नभएको गुनासो गर्दै सरकारले दिने राहत प्याकेज शान्ति तथा पुनर्निर्माण मन्त्रालयबाट जबर्जस्ती तोकेर आएकोमा दुःख व्यक्त गरे । उनीहरूले आगामी दिनमा राहतका कार्यक्रमहरू द्वन्द्वपीडितकै सल्लाह र मागअनुसार आउनुपर्ने माग गरेका थिए । कार्यक्रममा उपस्थित केही द्वन्द्वपीडितले अहिलेसम्म आफूहरूले द्वन्द्वपीडितको नाउँमा सरकारबाट केही सहयोग नपाएको गुनासोसमेत गरे । इन्सेकको तथ्याङ्कअनुसार लमजुङमा सशस्त्र द्वन्द्वका बेला तत्कालीन विद्रोही माओवादीद्वारा ८४ जना र राज्यद्वारा ७३ गरी एक सय ५७ जना मारिएका थिए । यस्तै, राज्यद्वारा १३ जना र माओवादीद्वारा दुईजना अझै बेपत्ता अवस्थामा रहेकोसमेत कार्यक्रममा बताइएको थियो । कार्यक्रममा शान्ति तथा पुनर्निर्माण मन्त्रालयका उपसचिव देवराज ढकाल, शाखा अधिकृत दुर्गाप्रसाद भुसाल, प्रमुख जिल्ला अधिकारी बाबुराम भण्डारी, शान्ति समितिका संयोजक एवम् एकीकृत नेकपा–माओवादीका इन्चार्ज देवेन्द्र पराजुली, शान्ति समितिका सदस्य एवम् नेपाली काङ्ग्रेसका सभापति कृष्ण कोइराला, समितिका सदस्य एवम् नेकपा एमाले अध्यक्ष जमिन्द्रमान घले, सदस्य तथा राप्रपा अध्यक्ष बालचन्द्र श्रेष्ठ, इन्सेक लमजुङ प्रतिनिधि कृष्णप्रसाद अधिकारी, द्वन्द्वपीडित, लमजुङका सुरक्षा निकायका प्रमुखहरू, कार्यालय प्रमुख, नागरिक समाज, सञ्चारकर्मीलगायतको उपस्थिति रहेको थियो ।

जापानी कम्पनी नेपालमा लगानी गर्न अग्रसर
नेपालमा लगानी गर्नका लागि स्थापना गरिएको जापानिज नमस्ते कम्पनीले नेपालको विभिन्न क्षेत्रमा लगानी गर्ने भएको छ । सो कम्पनीले नेपालमा रहेको ग्लोबल क्यापिटल इन्भेष्टमेन्ट प्रालिसँग मिलेर लगानी गर्ने भएको हो । यससम्बन्धी दुई कम्पनीबीच हालै सम्झौता भएको छ । ग्लोबल क्यापिटलको तर्फबाट कम्पनीका अध्यक्ष देवमान हिराचन र नमस्ते कम्पनीका प्रेसिडेन्ट मुराई जीले सो सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।
नमस्ते कम्पनीले नेपालको शिक्षा, जलविद्युत्, हाउजिङ, अपार्टमेन्ट र फोहोरमैला व्यवस्थानलगायतमा लगानी गर्ने भएको छ । सम्झौता कार्यक्रममा मन्तव्य दिँदै नमस्ते कम्पनीका प्रेसिडेन्ट मुराइ जीले नेपालजस्तो देशमा लगानी गर्न पाउँदा अत्यन्त खुसी लागेको बताए । यसैगरी ग्लोबल कम्पनीका अध्यक्ष एवम् गैरआवासीय नेपाली सङ्घका प्रमुख संरक्षक देवमान हिराचनले नमस्ते कम्पनीसँग काम गर्न पाएकोमा अत्यन्त हर्ष लागेको र यसबाट नेपालले धेरै लाभ उठाउने अभिव्यक्ति दिँदै जापानजस्तो विकसित मुलुकसँग मिलेर काम गर्न पाउनु ठूलो अवसर भएको बताए । नमस्ते कम्पनीको उद्घाटन समारोहबीच जापानका सभासद् ओनोडेरा जीले नेपाल र अन्य मुलुकमा सञ्जाल विस्तार गर्दै लैजाने बताएका थिए ।
सम्झौता कार्यक्रममा जापानका बुद्धिजीवी, गभर्नर, प्रोफेसर, वैज्ञानिक, एनजीओ–आईएनजीओका प्रतिनिधिलगायतका दुई सयभन्दा बढी व्यक्तिको उपस्थिति रहेको थियो । जापानका प्राध्यापक, अनुसन्धानविद् र बुद्धिजीवीहरू सदस्य रहेको सो कम्पनीले नेपालमा पहिलेदेखि नै लगानी गर्न चाहेको बताइन्छ । मियागी प्रोफेसरले गत फेब्रुअरीमा नेपालमा आई जापानमा गएको भूकम्पबाट ज्यान गुमाएका जापानिज नागरिकप्रति नेपाल सरकार र नेपाली जनताले गरेको सद्भाव र सहयोगप्रति धन्यवाद दिएका थिए । उनले नेपालका राष्ट्र«पति डा. रामवरण यादव, प्रधानमन्त्री डा. बाबुराम भट्टराई, सभामुख सुवास नेम्वाङलगायतका उच्चपदस्थ व्यक्तिहरूलाई भेटी नेपालमा लगानी गर्न इच्छा व्यक्त गरेका थिए ।

राउत क्षत्री सेवा समाजको साधारणसभा
काठमाडौं/ भाइबन्धुहरूबीच आपसी भावनात्मक सुसम्बन्ध अभिवृद्धि गरी राष्ट्र र समाजको सेवामा समर्पित हुने उद्देश्य र अभिप्राय राखेर स्थापना भएको राउत क्षत्री सेवा समाजको पाँचौँ साधारणसभा एक समारोहबीच सुसम्पन्न भयो ।
संस्थाका अध्यक्ष समाजसेवी कुवेरबहादुर राउतको अध्यक्षतामा आयोजित उक्त भेलामा देशका विभिन्न जिल्लामा बसोबास गर्दै आएका राउत क्षत्रीहरूको उपस्थिति रहेको थियो । भेलामा क्षत्री समाज राष्ट्रिय महासङ्घका अध्यक्ष केडीबी राउत, गंगालाल हृदयकेन्द्र मुटुरोग विशेषज्ञ डा. रोशन राउत, पित्त पथरीका विशेषज्ञ गणेश राउत, फिफाका पूर्वअध्यक्ष रामेश्वर राउतले आ–आफ्नो मन्तव्य राख्नुभएको थियो । समारोहमा समाजका आजीवन सदस्य कवि रामेश्वर राउत मातृदासले मुलुक निर्माण, प्रजातान्त्रीकरण एवम् परिवर्तनका अन्य महत्वपूर्ण मोडहरूमा आफ्ना यशस्वी पूर्वजहरूले खेलेको भूमिका र दिएको योगदानको गौरवमय इतिहासलाई सम्झेर देशको वर्तमान कठिन घडीमा समाजको घनीभूत सक्रियता अनिवार्य आवश्यकता भएको विचार राख्नुभएको थियो ।
उक्त समारोहमा समाजका उपाध्यक्ष नवराज राउत, महासचिव अभिमन्यु राउत, मीनबहादुर राउत, माथवरसिंह राउत, मेघबहादुर राउत, देवी राउतलगायतले मुलुकको जातीय सद्भावलाई कायम राख्दै समाज सेवामा सक्दो योगदान दिनका लागि सधैं तत्पर रहनुपर्ने विचार राख्नुभएको थियो । कार्यक्रम विश्वनिकेतन उमाविको सभाकक्ष, त्रिपुरेश्वरमा सम्पन्न भएको थियो ।

बाँध मर्मत नभए दुवै देशलाई खतरा
नवलपरासी/ वर्षा याम सुरु भएसँगै नवलपरासीमा नारायणीनदी किनारमा रहेको बी–ग्याप बाँध भत्किने खतरा बढ्दै गएको छ । जसका कारण आसपासका आधा दर्जनभन्दा बढी गाविसमा बाँध फुटेर बाढी आउन सक्ने त्रास बढेर गएको छ । गत वर्षको बाढीले बी–ग्याप १२ नम्बर ठोकर र नेपाल बाँध ३ नम्बर ठोकरमा क्षति पुर्‍याउनुका साथै नेपाल बाँध ठोकर नम्बर ५ नजिक ५० बिघाभन्दा बढी जमिन कटान गरेको भए पनि यस वर्ष बाँध मर्मत–सम्भारको कुनै काम नगरिँदा बाँध फुट्ने खतरा बढेर गएको हो ।
बी–ग्याप बाँधको सबैभन्दा जोखिमको १२ नम्बर ठोकरको अग्रभाग अघिल्लो वर्ष पनि मर्मतकै क्रममा बाढी आएपछि भत्किएको थियो । तीनपटकसम्म भत्किएको उक्त ठोकरमा बाढीका कारण जालीमा ढुङ्गा हालेर सामान्य मर्मत गरी छोडिएको थियो । ब्लक ढलान गरी मर्मतको काम गर्नुपर्ने भए पनि जोखिमपूर्ण अवस्थामा रहेको १२ नम्बर ठोकरको यस वर्ष कुनै काम गरिएको छैन । त्यसैगरी नेपाल बाँध ठोकर नं ३ मा यस वर्ष मर्मत–सम्भार नगरिएको बुझिएको छ । यसैगरी, अघिल्लो वर्ष कटान गरेको क्षेत्रमा तटबन्धको कुनै काम गरिएको छैन । अघिल्लो वर्ष नारायणी नदीले कटान गर्दै बाँधसम्म आइसकेकोले पनि तटबन्ध कटान हुने सम्भावना बढेर गएको हो । हालसम्म पनि ठोकर मर्मत नहुँदा यस वर्ष गण्डक बाँध भत्किने सम्भावना बढेको स्थानीयवासीको भनाइ छ । अघिल्ला वर्षमा पनि बाढी नआउन्जेल काम सुरु नगर्ने र बाढी आएपछि एकाएक मर्मत–सम्भारका काम अगाडि बढाउने गरिएकोले खतराको सम्भावना रहेको स्थानीय समाजसेवी देवकरण कलवारले बताए ।
हरेक वर्ष मे महिनाअगावै सबै काम सम्पन्न गरिसक्नुपर्ने भए पनि बाढीको समयमा थोरै काम गरी धेरै कामबापतको रकम पाउन सक्ने भएकोले कर्मचारी र ठेकेदारको मिलेमतोमा विभिन्न बहाना बनाएर वर्षात् सुरु भएपछि मात्र काम हुने गरेको छ । आधा शताब्दी नाघ्न लागेको यो बाँध क्षतिग्रस्त भएमा नेपालका सीमावर्ती एक दर्जन गाविस बाढीको चपेटामा पर्छन् भने भारतका सयौँ गाउँ पनि बाढीबाट प्रभावित हुने सम्भावना बढेर गएको छ । आठ लाख ५० हजार क्युसेक क्षमता डिजाइन भए पनि हाल यस बाँधको वास्तविक क्षमता चार लाख क्युसेकभन्दा बढी नभएको प्राविधिकहरू बताउँछन् । त्यसैले यसप्रति समयमै सचेत नभए कोसी बाँधको जस्तो दशा यहाँ नहोला भन्न सकिँदैन । तर, तत्काल यो बाँध मर्मत नभएमा बी–ग्यापको १२ नम्बर ठोकर नेपाल बाँधको २ नम्बर ठोकर फुट्ने खतरा बढ्दै गएको छ जसका कारण पक्लिहवा र नर्सहीका जनता निकै जोखिममा रहेको जलअभियानकर्मी कुलदीप आचार्यले बताए । गण्डक सङ्घर्ष समिति र भारतीय प्राविधिकबीच ०६५ सालमा भएको सहमतिअनुसार भारतीय पक्षद्वारा प्रभावकारी रूपमा बाँधको मर्मत र संरक्षण गर्ने काम नहुँदा गण्डक बाँध फुट्ने खतरा देखिएको हो । बाँध मर्मत गर्नेतर्फ तत्काल नेपाल सरकारको ध्यान जानु जरुरी रहेको जलअभियानकर्मी आचार्यको भनाइ रहेको छ । मर्मत–सम्भारको जिम्मेवारी पाएको भारतीय जल संसाधन विभाग उत्तर प्रदेशसँग यस विषयमा जानकारी माग्दा कार्यकारी अभियन्ता आरएस वर्माले अहिले आफूहरूसँग बाँध मर्मतसम्बन्धी कुनै योजना नभएको बताए ।
गण्डक सङ्घर्ष समितिले क्षतिग्रस्त ठोकरको मर्मत सुरु गराउन हालै जल संसाधान विभाग महाराजगञ्जमा प्रतिनिधिमण्डल गएपछि भारतीय अधिकारीहरू तीन दिनभित्र स्थलगत निरीक्षणमा आउने जनाए पनि हालसम्म कुनै पदाधिकारी निरीक्षणमा नआएको सङ्घर्ष समितिका प्रवक्ता रमेशचन्द्र रौनियारले बताए । सङ्घर्ष समितिका सचिव दूधनाथ गुप्ताका अनुसार बाँधमा हुने क्षतिले नेपालमा भन्दा भारतमा बढी प्रभाव पार्ने भएकोले पनि अति जोखिम क्षेत्रहरूको पहिचान गरी काम गर्नुपर्ने अवस्था रहेको छ । अन्यथा कुनै कारणले बाँध क्षति भए यस क्षेत्रका जनता पुनः आन्दोलित हुनसक्ने उनले बताए ।
– आरपी उपाध्याय

माइली भाउजूलाई बहुदली बाजेको श्रद्घासुमन
काल कति कठोर र निर्दयी बनेर आउँदोरहेछ, जसको अगाडि बाँचिरहेका मानिस नतमस्तक बन्न विवश बनाउँदोरहेछ । यस्तै पीडादायी, भावविह्वल र स्तब्ध बनायो एउटा मृत्युको खबरले । नेपालमा अत्यन्तै सीमित डाक्टरहरूमध्येका एक होनाहार अत्यन्त मिलनसार प्रतिभाशाली मेरा बालसखा सुविख्यात वरिष्ठ न्युरोसर्जन (स्नायु सल्यचिकित्सक) डा. बालकृष्ण थापाकी ममतामयी आमा मेरो स्नेही सहृदयी ‘माइली भाउजू’ सरस्वती थापाले आफ्नो डाक्टर छोरालाई समेत छकाई ६६ वर्षको उमेरमा गत जेठ ३१ गते प्राण त्याग गर्नुभयो । उहाँको मृत्युले म व्यक्तिगत रूपमा अत्यन्तै मर्माहत र दुःखी बन्न पुगेँ । मृत्युको खबर पत्याउन र विश्वासै गर्न नसक्ने शब्द सुन्नासाथ स्तब्ध हुन पुगेँ ।
देशैभरि परिवर्तनको लहर चलेको ३० को दशक (२०३५/२०३६) सालदेखि माइली भाउजूको घरमा घनीभूत रूपमा आवतजावत थियो मेरो । राजनीतिक परिवर्तनको दियो जगाउँदै हामीलाई शिक्षित र दीक्षित बनाउन आउनुभएका मेरा गुरुको बसोबास पनि उनै माइली भाउजूको घरमा थियो । हामीलाई पढाउन मात्र आएका होइन रहेछन् राजनीतिक सत्ता परिवर्तनका लागि समेत गाउँ जागरणमा आएका तत्कालीन कुशादेवी माविका अङ्ग्रेजी विषयका शिक्षक नन्दकुमार थापालगायत अन्य गुरुहरूले हामीजस्ता सयौँ विद्यार्थीलाई तत्कालीन राज्यव्यवस्थाका विरुद्घ आ–आफ्नो पक्षमा तानातान गर्ने होडबाजी नै चलाएका थिए ।
पाकिस्तानी प्रधानमन्त्री जुल्फिकर अली भुट्टोलाई दिएको फाँसीको सजायको विरुद्घ विद्यार्थीले चलाएको आन्दोलनमा म पनि सरिक भएको थिएँ । ०३६ सालको आन्दोलनताका म प्रभात माध्यमिक विद्यालय थहिंती नघलमा कक्षा सातमा अध्ययनरत थिएँ, तसर्थ विद्यार्थीकालदेखि नै आन्दोलनको प्रत्यक्ष प्रभाव ममा पनि परेको थियो । त्यसपश्चात् ०३६ देखि कुशादेवी माविमा पढ्न थाल्दा आन्दोलनका पक्षमा वकालत गर्ने विद्यार्थी साथी र गुरुहरूको सामीप्यमा पुगेँ, लहैलहैमा हेलिन पुगेँ अल्लारे उमेरमा अल्लारे बुद्धि त्यतै लगाएँ । १६ वर्षे अल्लारे बुद्धि ०३६ को जनमतसङ्ग्रहताका वालिग नै नभएको उमेरमा बहुदलको पक्षमा प्रचारप्रसारमा लागेँ । गाउँ–टोलमा हल्ला भयो । ‘गोपाल बाजे बहुदलको पर्चा छर्दै हिँड्यो’ भन्ने थाहा पाएर माइली भाउजूले घरछेउको डोलखेतमा रोपाइँ गर्दागर्दै मेरो जम्काभेट भयो र भन्नुभयो कहाँ गएर आएको बहुदली बाजे ? मन अलि खिन्न भयो र भने स्कुलमा गएर आएको भनी उत्तर दिएँ । अलि भिन्न महसुस भयो मेरो मनमा नामको अगाडि बहुदली शब्द जोडेर बोलाउँदा तै पनि जुन कर्ममा लागेँ त्यहीअनुरूपको पदवी पाएँ । एकमन ठीकै गरेँछु भन्ने महसुस भयो, अर्को मनमा मलाई हेपिएको महसुस भयो । ०३६ सालको निर्वाचन सम्पन्न भयो, निर्दलले जित्यो तैपनि बहुदलकै पक्षमा सङ्गठित भएर लाग्दै जाँदा माइली भाउजूले मलाई ठीकै पदावली दिनुभएछ भन्ने महसुस भयो कामअनुसारको नाम बहुदली बाजे ।
तत्कालीन नेकपा चौममा सङ्गठित रूपमा काम गर्दै जाँदा डा. थापाको घर, मेरा प्रिय मित्र प्रकाश थापा र मेरो घर सेल्टरको रूपमा प्रयोग हुन थाल्यो, मिटिङहरू हुन थाले विचारको घनिष्टता झन् बढ्दै कसिलो हँुदै जान थाल्यो र पारिवारिक सम्बन्ध यति घनिष्ट हुँदै गयो कि मैले घरमा खाइनँ भने दोस्रो खाना खाने घर माइली भाउजूकै हातले बनाएको खाना पर्दथ्यो मेरो पेटमा । अत्यन्त माया र ममता दर्शाउनुहुन्थ्यो, हार्दिकताको कुनै कुरै भएन । १० कक्षा पढ्दासम्म मेरो खानापिना, सुत्न, मिटिङ गर्ने रासोबासो नै माइली भाउजूको घर मेरो आफ्नै जन्मघरजस्तो हुन पुग्यो । कहिल्यै नरिसाउने मलाई देख्नासाथ हाँसेर बाबु भनेर अति नै आदर सत्कार गर्नुहुन्थ्यो । उहाँको घरको फलैंचामा बस्न नपाउँदै खाना वा खाजाको समयअनुसार बाबु खाऊ है भन्नुहुन्थ्यो, खानका लागि ढिपी गर्नुहुन्थ्यो । अब त्यसप्रकारको हार्दिकतासहितको मायाममता र स्नेह मैले कहिल्यै नपाउने गरी बिदा हुनुभयो । मप्रति यति विधि ममता र स्नेह दर्शाउने, छिमेकी, आफ्नै छोरासरहको सहपाठी दौंतरी, पुरेतको माइलो छोरो भएर मात्र होइन हामी मेलापात, भारोपर्म र दुःखसुखको बेलाको सहयात्री र एक–अर्काप्रति सम्वेदना जगाउने माइला दाइ (गम्भीरध्वज थापा) भरोसिला अभिभावकीय व्यक्तित्वको कारणले पनि यतिविधि मर्मस्पर्सी अमिट सम्झनाको पात्र बनेर देखापर्नुभयो माइली भाउजू ।
यतिविधि हाम्रो छाती फुटाएर हामीलाई रुवाएर गए पनि तपाईंको होनहार छोरो जसले रोइकराई छटपटाएर दुःख र कष्ट जेलेर बसेका धेरै दुःखीजनको सेवा गर्ने एक होनहार बहादुर छोरो तपाईंको नासो डा. बालकृष्ण थापाले हजारौँलाई हँसाउन सक्ने बहादुर छोरो यस धर्तीलाई छोडेर हामीलाई रुवाएर अलबिदा हुनुभयो । त्यो क्षमतावान बुद्धिमान छोराले तपाईंको दूधको ऋण चुक्ता गर्न अहोरात्र २४सै घन्टा सेवामा तल्लीन भएर लागेको छ । तपाईंलाई हार्दिक प्रणाम हजारौँलाई हँसाउन सक्ने लाखौँलाई सेवा प्रदान गर्न सक्ने महान् कर्मवीर सरस्वतीको कोखबाट साँच्चिकै सरस्वती प्राप्त सपुतलाई यस धर्तीमा जन्म दिएर हामीबीच हामीलाई छोडेर जानुभयो । तपार्इंको निश्चल आत्माले शान्ति पाओस् चिरशान्तिको कामनासहित अन्तिम श्रद्धासुमनका साथ अलबिदा ।
– गोपाल पौडेल (बहुदली बाजे), कुशादेवी गाविस–३ काभ्रे