प्रधानमन्त्री ढुक्क

प्रधानमन्त्री ढुक्क


साताव्यापी विदेश भ्रमण सकेर गत सोमबार स्वदेश फर्केका प्रधानमन्त्री डा. बाबुराम भट्टराईले पार्टी अध्यक्षको पछिल्लो भूमिकाप्रति असन्तुष्ट जनाउँदै पार्टी नेतृत्व सरकारलाई ढलाउने अभियानमा लागे त्यो पार्टीका लागि सबैभन्दा घातक हुने चेतावनी दिएका छन् । उनले आफ्नो सरकारी निवास बालुवाटारमा आफूनिकटस्त केही नेताहरूसँग यस्तो बताएका हुन् । प्रधानमन्त्री भट्टराईनिकट एक नेताले दिएको जानकारीअनुसार छलफलमा प्रधानमन्त्री भट्टराईले आफूलाई विदेशीको राम्रो समर्थन रहेकाले तत्काल आफ्नो नेतृत्वको सरकार नढल्ने बताएका थिए । उनको भनाइ थियो, ‘यही सरकार रहिरहनेबारेमा मलाई मित्रराष्ट्रहरूबाट राम्रो विश्वास प्राप्त भएको छ, तपाईंहरू ढुक्क हुनुस् र त्यसैअनुसार लाग्नुस् ।’
प्रधानमन्त्रीले पार्टी अध्यक्ष घुमाउरो तरिकाले आफ्नो नेतृत्वको सरकार ढलाउन लागेको आफूले जानकारी पाएको र त्यो सम्भव नहुने तर्क गरेका थिए । उनले तर्क थियो, ‘नयाँ सरकार बनाउनेबारे अध्यक्षले छलफल पनि चलाउनुभएको जानकारी पाएको छु, तर त्यो सम्भव हुँदैन ।’ उनले अध्यक्ष प्रचण्डको सुरुदेखि नै आफूहरूप्रति नकारात्मक भूमिका रहेको तर्क गर्दै निकटस्थहरूसँगको छलफलमा आफ्नो ब्राजिल भ्रमणले सरकारको आयु थप लम्ब्याएको दाबी गरेका थिए । उनको भनाइ थियो, ‘छिमेकी राष्ट्रहरू वर्तमान सरकारको पक्ष्ँमा रहेकाले नेपालको कुनै पनि राजनीतिक दलहरूले चाहँदैमा सरकार ढल्नेवाला छैन ।’
सरकारको स्थायित्वका लागि आफूले पार्टीको निर्णयलाई भद्रअवज्ञा गर्नुपरेको जिकिर गरेका थिए । उनको भनाइ थियो, ‘म विदेश नभएको भए यहाँको माहोल नै अर्कै भइसक्ने थियो र हामी यतिबेला सत्ताबाहिर हुन्थ्यौँ ।’ स्रोतका अनुसार प्रधानमन्त्री भट्टराईले आफ्नो भ्रमणको उपलब्धिबारे अध्यक्ष प्रचण्डलाई पनि सोमबार साँझ नै टेलिफोनबाट जानकारी गराएका थिए । बालुवाटार स्रोतका अनुसार प्रधानमन्त्रीले प्रचण्डलाई आफ्नो भ्रमण पूर्णरूपमा सफल रहेको र भ्रमणले सरकारको आयु थप लम्ब्याएको बताएका थिए । उनले आफूले अधिकांश राष्ट्रका राष्ट्रप्रमुहरूसँग भेट गरी सरकारको समर्थनमा बोल्न लगाएको तर्क गरेका थिए । उनले घुमाउरो पारामा पार्टी अध्यक्षको नाम जोडेर सरकार परिवर्तन गर्ने भन्ने विषयमा भएको चर्चाबारे पनि जिज्ञासा राखेका थिए । उनको भनाइ थियो, ‘हामी सरकार परिवर्तनतिरभन्दा पनि छिटोभन्दा छिटो चुनाव गरेर दुईतिहाइ ल्याउने अभियानमा लाग्नुपर्ने तर्क गरेका थिए । उनले प्रचण्डसँग वैद्यको फुटले पनि असर नगर्ने बताएका थिए ।
यता, वरिष्ठ उपाध्यक्ष मोहन वैद्यले नेतृत्व गरेको माओवादीले राष्ट्रपति डा. रामवरण यादवसँग भेट गरी प्रधानमन्त्री बाबुराम भट्टराईलाई हटाई राष्ट्रिय सहमतिको सरकार निर्माणका लागि आह्वान गर्न आग्रह गरेको छ । वैद्यको टोलीले राजनीतिक सङ्कटको निकासका लागि वर्तमान प्रधानमन्त्री हटाई राष्ट्रिय सहमतिको सरकारका लागि राष्ट्रपतिले आह्वान गर्नुपर्नेमा जोड दिएका थिए । अहिलेको राजनीतिक र संवैधानिक सङ्कटको निकासका लागि दुईवटा विकल्प प्रस्तुत गर्दै उनीहरूले वर्तमान सरकार हटाएर राष्ट्रिय सहमतिको अन्तरिम सरकार बनाउने र संवैधानिक सङ्कटको निकासका लागि राष्ट्रपतिकै अग्रसरतामा गोलमेच सम्मेलनको आयोजना गर्ने, त्यस्तै सरकार परिवर्तनबारे माओवादी अध्यक्ष प्रचण्डले पनि अन्य दलका नेताहरूसँग परामर्श गरेका छन् । उनले भट्टराई नेतृत्वको सरकार हटाएमा पार्टी एकता हुन सक्ने भन्दै सरकार परिवर्तनबारे अन्य दलका नेताहरूसँग परामर्श थालेको स्रोतको भनाइ छ ।

आँबुखैरेनी क्याम्पसको नयाँ भवनका लागि मित्रराष्ट्रद्वारा चार करोड सहयोग
तनहुँको आँबुखैरेनी क्याम्पसको नयाँ भवन निर्माणका लागि मित्रराष्ट्र भारतले चार करोड ६ लाख अनुदान सहयोग प्रदान गर्ने भएको छ । भारत–नेपाल आर्थिक सहयोग कार्यक्रमअन्तर्गत प्रदान गरिने उक्त सहयोगसम्बन्धी सम्झौतामा गत ७ गते बिहीबार भारतीय राजदूतावास, तनहुँ जिविस र आँबुखैरेनी क्याम्पसबीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ । साना विकास परियोजनाअन्तर्गत भारत सरकारको अनुदान सहयोगमा तनहुँ जिल्लामा सञ्चालित यो चौथो विकास परियोजना भएको जनाइएको छ । भारत सरकारबाट उपलब्ध हुने उल्लेखित आर्थिक सहयोगबाट आँबुखैरेनी क्याम्पसका लागि दुईतले भवन निर्माण गरिनेछ ।
तनहुँ जिल्ला आँबुखैरेनी गाविस–६ स्थित आँबुखैरेनी क्याम्पस करिब सात वर्षअघि अर्थात् सन् २००५ मा स्थापित भएको हो । त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त उक्त क्याम्पसमा मानविकी, शिक्षा र व्यवस्थापनमा स्नातक तहसम्म अध्यापन गराइन्छ । क्याम्पसमा हाल उपलब्ध पूर्वाधार जीर्ण तथा अध्ययनरत छात्रछात्राका लागि अपर्याप्त भएकोमा क्याम्पस व्यवस्थापन समिति एवम् स्थानीय अभिभावकको गुनासो रहँदै आएको थियो । भारत सरकारको अनुदान सहयोगमा निर्माण गरिने भवनबाट क्याम्पसमा अत्यावश्यक कक्षाकोठाहरू उपलब्ध भई करिब ६५ प्रतिशत छात्रासहित सात सयभन्दा बढी सङ्ख्यामा रहेका विद्यार्थीलाई सहज शैक्षिक वातावरण सिर्जना हुनुको साथै जिल्लाको शैक्षिक विकासमा योगदान पुग्ने विश्वास गरिएको छ ।
उक्त परियोजना तनहुँ जिविसद्वारा नेपाल सरकारको नीति–नियमअनुसार कार्यान्वयन गरिने र परियोजनाको गुणस्तरीयता तथा समयमै सम्पन्न गराउनका लागि समेत सोही निकाय जिम्मेवार रहने सम्झौतामा उल्लेख गरिएको छ । परियोजना प्रभावकारी ढङ्गले समयमै समापन भए÷नभएको निरीक्षण गरी सामुदायिक सहभागिता सुनिश्चित गर्नका लागि जिविस तथा अन्य सरोकारवाला प्रतिनिधिहरू सम्मिलित एक अनुगमन समितिसमेत गठन गर्ने सम्झौता गरिएको छ ।
आँबुखैरेनी क्याम्पसलाई प्रदान गरिन लागिएको यस आर्थिक सहयोगका अतिरिक्त भारत सरकारको पाँच करोड ७५ लाख सहयोगमा तनहुँमा अन्य तीन परियोजनाहरूको निर्माण कार्य जारी छ भने जिल्लाको स्वास्थ्य सेवाका लागि चारवटा एम्बुलेन्ससमेत भारतले उपहार प्रदान गरेको छ ।

विमानस्थल खाए रतिस र सुवासले
सोझा व्यक्ति मन्त्री रहेको मौका छोपेर महाप्रबन्धक रतिस चन्द्रलाल सुमनले विमानस्थलमा मनपरी निर्णय गर्दै नगद असुल्ने काम जारी राखेका छन् । स्टेरायल हलमा पसल सञ्चालन गरिरहेका सुवास श्रेष्ठ नामक व्यापारीलाई बिनाटेण्डर पुन: सोही ठाउँमा पसल राख्ने अनुमति दिनका लागि प्रक्रिया अघि बढाएका सुमनले निज सुवासलाई अर्को एक पसल सञ्चालन गर्न गुपचुप ठाउँ उपलब्ध गराएका छन् । पहिले नेसनल टे«डिङ लिमिटेडद्वारा ‘ड्युटी फ्रि’ पसल राखिएको र बाबुराम भट्टराई अर्थमन्त्री भएपछि बन्द गरिएको ठाउँमा कन्फेक्सनरी सप राख्न सुमनले अनुमति दिएका हुन् । त्यसरी पसल उपलब्ध गराउँदा सुमनले सुवासबाट ५८ लाख रुपैयाँ घुस लिएको जानकारीमा आएको छ । त्यति मात्र होइन, विमानस्थलमा यात्रीहरू उत्रनेबित्तिकै तिनको स्वागत गर्ने ठाउँमा काँसबाट बनाउने गरी गरुडको मूर्ति राख्ने ठेक्का पनि सुमनले सुवासलाई नै गुपचुप दिएको बुझिएको छ । गरुडले नमस्कार गरेको अवस्थाको उक्त मूर्ति अहिले त्यहाँ सजाइसकिएको छ, तर श्रेष्ठले काँसबाट नबनाई ढलोटबाट उक्त मूर्ति तयार गरेका छन् । ज्ञातव्य छ, ढलोटभन्दा काँसको मूल्य बीस गुणा महँगो पर्दछ । यस प्रकरणमा बीस लाख रुपैयाँभन्दा बढीको घोटाला भएको अनुमान प्रहरी सूत्रको छ । शरतसिंह भण्डारीका खास मानिस रतिसचन्द्रलाल सुमन पछिल्लो समयमा पूर्वपर्यटनमन्त्री लोकेन्द्र विष्टमगरका विश्वासप्राप्त बनेका छन् । विष्टकै आडमा सुमनले विमानस्थलमा मनपरीतन्त्र गरिरहेको बताइन्छ । सुमनले गरेको भ्रष्टाचारका विरुद्ध तथ्य प्रमाणसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दिने तयारी भइरहेको प्रहरीनिकट सूत्रले जनाएको छ । यसरी आफूमातहतको एक कर्मचारीले मनपरी गर्दा पनि पर्यटनमन्त्री पोष्टबहादुर बोगटी मौनतापूर्वक बस्नुले अर्को रहस्य थपेको छ ।

किसानको चिन्ता गर्दागर्दै रामचन्द्र आईसीयूमा
किसानका समस्यालाई पार्टीले महत्ववका साथ नउठाएकोमा चिन्ता लिँदालिँदै नेपाली काङ्गे्रसका उपसभापति रामचन्द्र पौडेल गत आइतबार सिकिस्त बिरामी भई अस्पताल भर्ना हुनुपर्‍यो । केही दिनदेखि नै बिरामी पर्नुभएका नेता पौडेल उपचार गर्नतिर नलागी गत साता गृहजिल्ला तनहुँमा आयोजित एक कार्यक्रममा भाग लिन जानुभयो । जिल्लाबाट फर्किएलगत्तै शनिबारदेखि नै उहाँ विभिन्न नेताहरूलाई भेटी किसानका समस्यालाई काङ्गे्रसले जोडदार रूपमा उठाउन आग्रह गर्दै हुनुहुन्थ्यो । आइतबार बिहान पनि उहाँले सभापति सुशील कोइरालालाई भेटी किसानका समस्याबारे पार्टीले केही गर्नुपर्‍यो भन्दै हुनुहुन्थ्यो । कोइरालासँगको भेटवार्तापछि कोइरालाको निवासस्थानबाट बाहिरिनुभएका पौडेललाई व्यथाले झनै च्यायो र उहाँ त्यहाँबाट घर नगई सोझै शिक्षण अस्पताल जानुभयो । चिकित्सकहरूले जाँच गर्दा उहाँ निमोनियाबाट ग्रसित हुनुभएको देखियो र तत्कालै उहाँलाई अस्पतालको सघन उपचार कक्षमा भर्ना गरियो । रोगले च्यापेका नेता पौडेलले राजनीतिक परिस्थितिसमेत आफ्नो प्रतिकूल भएको बुझेपछि उहाँ थप चिन्तित र दु:खी बन्नुभएको बुझिएको छ । पराजित होइन्छ भन्ने जान्दाजान्दै पनि पार्टी र प्रजातन्त्रका निमित सत्रपटकसम्म उम्मेदवारी दिएर पराजित हुनुभएका उहाँलाई प्रजातान्त्रिक कित्ताबाट नै साथ र समर्थन प्राप्त नभएको महसुस भएको बताइन्छ । पौडेलले आफूलाई पार्टीभित्रबाटै नै अपमानित गरिएको ठान्न थाल्नुभएको छ । शारीरिक र मानसिक रूपमा समेत कमजोर देखिनुभएका पौडेललाई भेट्न अस्पताल पुगेको घटना र विचार प्रतिनिधिसँग उहाँले भावुक हुँदै भन्नुभयो, ‘काङ्गे्रसजस्तो जिम्मेवार पार्टीले पनि किसानको समस्या नउठाए कसले उठाउने ? सभापति सुशील कोइराला वचनको पक्का हुनुहुन्छ भन्ने मेरो विश्वास छ । उहाँ किसानका समस्यालाई महत्ववका साथ उठाउन तयार हुनुहुन्छ र हाम्राबीच पहिलेदेखि नै बन्दै आएको समझदारीअनुरूप काम गर्न सुशीलजीले कुनै कञ्जुस्याइँ गर्नुहुनेछ छैन भन्ने विश्वास मैले लिएको छु ।’ पौडेलले अगाडि भन्नुभयो, ‘देशमा धोखाधडीको राजनीति चलिरहेको बेला हाम्रा सभापति सुशीलजी त्यसबाट मुक्त हुनुहुन्छ । सधैं सत्य, इमान र निष्ठाको राजनीति गर्दै आउनुभएका सुशीलजीबाट कसैलाई पनि धोखाधडी हुने छैन भन्ने मेरो ठम्याइ छ ।’

महानिरीक्षकमा त्रिपक्षीय प्रतिस्पर्धा
प्रहरी महानिरीक्षक रवीन्द्रप्रताप शाहले सेवा अवधिका कारण अवकाश पाउने दिन नजिकिँदै गर्दा भावी आईजीपीका लागि विभिन्न नामहरूमा चर्चा सुरु भएको छ । आईजीपी शाह आगामी भदौ २९ देखि सेवानिवृत्त हुँदै छन्, उनीसँगै मदन खड्का, किरण गौतम र अर्जुनजंग शाहीलगायतका अतिरिक्त महानिरीक्षकहरूले पनि अवकाश पाउँदै छन् । एआईजीहरू कुवेरसिंह राना, भीष्म प्रसाईं र नवराज ढकालमध्ये एकले महानिरीक्षकको जिम्मेवारी पाउने निश्चित छ । बरियाताक्रममा कुवेरसिंह राना अगाडि रहेको र अहिलेसम्म कुनै विवादमा नपरेका कारण राना नै आईजीपी हुनसक्ने विश्वास धेरैको छ । तर, व्यावसायिक कारणले अन्य विवादमा नपरेका भए पनि रानामाथि मानवअधिकार उल्लङ्घनको व्यर्थ आरोप छ । यसअघि डीआईजीबाट एआईजीमा बढुवाको क्रममा पनि सोही आरोप लगाएर रानाको बढुवा रद्द गर्ने प्रयास भएको थियो । उनलाई आईजीपी बनाउने क्रममा मानवअधिकार उल्लङ्घनको मुद्दा पुन: उठ्न सक्ने सम्भावना छ । यदि रानालाई आईजीपी नबनाउने हो भने उक्त आरोप नबनाउनका लागि पर्याप्त छ, बनाइने हो भने त्यस्तो आरोपले कुनै व्यवधान पैदा गर्न नसक्ने ठानिन्छ । कदाचित सोही आरोपमा रानालाई आईजीपी बनाइएनछ भने नवराज ढकाल र भीष्म प्रसाईंमध्ये एकले उक्त जिम्मेवारी प्राप्त गर्ने निश्चित छ । ढकाल र प्रसाईं दुवैलाई नेपाल प्रहरीभित्र सक्षम अधिकृतका रूपमा लिइन्छ । प्रसाईं र ढकालमध्ये जो प्रहरी प्रमुख भए पनि सङ्गठनलाई रामै्र हुन्छ भन्ने ठानिन्छ । कार्यक्षमता र योग्यताका दृष्टिले प्रसाईं र ढकाल दुवैलाई योग्य मानिए पनि भद्रपन र सन्तुलित व्यवहारमा प्रसाईंलाई अगाडि मान्नेहरू धेरै देखिन्छन् । ढकालको भने ‘एक्सन ओरिएन्टेड’ छवि बनेको छ । प्रसाईं र ढकाल दुवै झापा निवासी हुन् । दुईमध्ये को प्रमुख बन्न सक्छन् भन्ने कुरा ‘त्यसबेला’ को गृहमन्त्री बन्छ भन्ने कुरामा पनि निर्भर रहन्छ । विजय गच्छदार नै गृहमन्त्री रहिरहे भने उनको दृष्टिमा ढकाल र प्रसार्इं दुबै अयोग्य मानिने ठानिन्छ । गच्छदारको दृष्टिमा नगद प्राथमिकतामा पर्ने हुनाले तीन एआईजीमध्ये जसले बढी चढाउँछ उसैलाई आईजीपी बनाइने सम्भावना बढी छ । गच्छदारलाई नजिकबाट चिन्नेहरूको भनाइ छ उनले तीनैजना एआईजीहरूबाट नगद असुल्नेछन् र सबभन्दा बढी रकम दिनसक्नेलाई नियुक्तिका निम्ति मन्त्रिमण्डलको बैठकमा प्रस्तुत गर्नेछन् । त्यस्तो अवस्थामा बाँकी दुईबाट लिइएको रकम सम्बन्धित व्यक्तिलाई फिर्ता गर्ने अनुमान सजिलै गर्न सकिन्छ, तर विजय गच्छदारको हकमा त्यस्तो अनुमान पनि गलत हुनसक्छ, किनभने एकपटक हात परिसकेको नगद फिर्ता गर्ने उनको चलन छैन । बरु भन्ने गर्छन्, ‘म अझै बीस वर्ष पावरमा रहन्छु, यो काम नभए अर्को काम गरौँला नि, म क्षतिपूर्ति गरिहाल्छु । यसपटक पनि मैले तपाईंका लागि कम्ती कोसिस गरेको होइन, अब अर्कोपटक जसरी भए पनि तपाईंको काम गराइछाड्नेछु । पार्टी चलाउन निकै गाह्रो भइरहेको छ, अहिले अरू कुरा छोडिदिनस् ।’ पैसा लिएर पनि काम नगरेपछि पैसा फिर्ता गर्नुको सट्टा यसप्रकारको ‘रेडिमेड’ जवाफ दिने गर्छन् विजय गच्छदार । केही दिनअघि उन्नाइस उच्च प्रहरी अधिकृतको सरुवा गर्ने क्रममा आईजीपीको सिफारिस लत्याउँदै गच्छदारले कमाइदार मानिने ठाउँहरूमा नगद लिएर ‘आफ्ना’ मान्छेलाई पठाएका थिए । पूर्वाञ्चलमा परशुराम खत्री र मध्यक्षेत्रमा यादव अधिकारीलाई गच्छदारले लैजानुको कारण नगदबाहेक केही नभएको बताइन्छ । यसअघि रामै्र प्रहरी अधिकृतमा गनिने यादव अधिकारी गच्छदारको ‘छनोटमा’ परेपछि उनको छविमा समेत यसपटक धक्का लागेको छ । आईजीपीले उक्त स्थानमा स्वच्छ छविका मानिने विज्ञानराज शर्माको नाम सिफारिस गरेका थिए । तर, गच्छदारले आईजीपीसँग परामर्श नै नगरी शर्माको नाम काटेर यादवको नाम राखेका थिए । अब उक्त सरुवा कार्यान्वयन हुन मुस्किल छ । निर्वाचन आयोगले आपत्ति जनाएका कारण प्रहरी प्रधान कार्यालयले कसैलाई पनि सरुवापत्र दिन सकेको छैन र अब दिइने सम्भावना पनि कम छ । यस्तो अवस्थामा सबभन्दा ठूलो क्षति यादव अधिकारीलाई भएको मानिन्छ । एकातिर छविमा धक्का अर्कोतिर विजयबाट नगद फिर्ता पनि नहुने भएपछि अधिकारीलाई सबभन्दा ठूलो क्षति पुग्ने स्थिति बनेको हो ।
विजय गच्छदारले आईजीपी बनाउने मौका पाए भने उनले ‘नगद’लाई मुख्य ‘योग्यता’ ठान्ने जति निश्चित छ, आफ्नो हातमा आएको रकम कामै नभए पनि उनले फिर्ता नगर्ने पनि त्यति नै पक्का छ । यस्तो अवस्थामा जसले माया मारेरै मोटो रकम उपलब्ध गराउन सक्छ उसैलाई गच्छदारले आईजीपी बनाउन सिफारिस गर्न सक्ने सम्भावना बढी छ । तर, गच्छदार मन्त्री रहेनन् भने कुवेरसिंह राना नभएको अवस्थामा रकम नै नबुझाए पनि भीष्म प्रसाईं र नवराज ढकालमध्ये एक आईजीपी बन्नेछन् ।
यसअघि अवकाश हुनुभन्दा ठीक एक महिनाअघि आईजीपीले बिदा बस्ने प्रचलन रहेकोमा यसपटक रवीन्द्रप्रताप शाहलाई त्यसो गर्न प्राविधिक कठिनाइ पर्ने देखिएको छ । शाह बिदा बस्दा वरिष्ठतम्मध्येका एआईजीलाई कार्यभार जिम्मा लगाएर जानुपर्ने हुन्छ । जब कि वरिष्ठतम् एआइजी मदन खड्का पनि शाहसँगै अवकाश पाउँदै छन् । आफूसँगै अवकाश पाउने व्यक्तिलाई ‘चार्ज’ बुझाएर जानु उपयुक्त नहुने भएकोले या त सरकारले एक महिनाअघि नै आईजीपीको नियुक्ति गर्नुपर्ने हुन्छ या रवीन्द्रप्रताप शाहले एक महिनाअघि बिदा बस्ने पुरानो परम्परालाई तोड्नुपर्ने हुन्छ ।

सरुवा बदर नभए आयुक्तको राजीनामा
निर्वाचन आचारसंहिता लागू भइसकेपछि गृह मन्त्रालयले प्रहरीका उच्चाधिकारीहरूको मनोमानी किसिमबाट सरुवा गरेको घटनालाई निर्वाचन आयोगले गम्भीरतापूर्वक लिएको छ । यस सम्बन्धमा पत्र लेखी आयोगले सरुवा बदर गर्न सरकारलाई निर्देश गरेको छ, तर आयोगको निर्देशलाई गृहमन्त्री विजय गच्छदारले अहिलेसम्म उपेक्षा गरेका छन् । यदि तत्कालै उक्त सरुवा बदर नगरिए निर्वाचन आयोगका आयुक्तहरूले राजीनामा गर्ने मानसिकता बनाएका छन् । आयुक्तहरूले सम्बद्ध अधिकारीहरूसँगको अनौपचारिक भेटमा सरकारले सरुवा बदर नगरे आफूहरूले राजीनामा गर्ने जानकारी दिएका छन् ।

सर्वोच्च बारमा प्रजातन्त्रवादी अगाडि
सर्वोच्च अदालत बार एसोसिएसनको नयाँ नेतृत्व चयनका निम्ति असार २३ गते शनिबार निर्वाचन हुने भएको छ । निर्वाचनमा यसअघिझैं वामपन्थी र प्रजातन्त्रवादी समूहबीच प्रतिस्पर्धा हुने देखिएको छ । बौद्धिक र पेसागत समुदायमा बलियो प्रभाव रहेको मानिने प्रजातन्त्रवादी समूहको कानुन र न्यायका क्षेत्रमा पनि पकड रहेको देखिन्छ । निर्वाचनका लागि प्रजातन्त्रवादी कानुन व्यवसायीहरूले आफ्ना उम्मेदवारहरूको नाम गत साता नै निर्धारण गरिसकेका छन् । प्रजातन्त्रवादी समूहका तर्फबाट अधिवक्ता रामप्रसाद गौडेललाई अध्यक्षको उम्मेदवार बनाइएको छ । त्यसैगरी उपाध्यक्ष अरविन्दकुमार सिंह, सचिवमा एगराज पोखरेल, कोषाध्यक्षमा राजकुमार थापा र सदस्यहरूमा डा. विजयसिंह सिजापति, श्रीमती सुभद्रा सिटौला उपे्रती, महेन्द्रबहादुर श्रेष्ठ, रामबन्धु शर्मा, कमलमणि निरौला, धर्मराज रेग्मी, गणेशबहादुर खत्री (गणेश केसी), नारायणहरि अधिकारी तथा ऋषिराम घिमिरेलाई उम्मेदवारका रूपमा प्रजातन्त्रवादी खेमाले अघि सारेको छ ।

पचास लाख बुझेपछि अनुमतिको तयारी
चितवन राष्ट्रिय निकुञ्जभित्रका विभिन्न सातवटा होटलले म्याद थप गर्न प्रधानमन्त्री डा. बाबुराम भट्टराईपत्नी हिसिला यमी र वनमन्त्री यदुवंश झा हात धोएर लागिपरेका छन् । सरकारले मनाइरहेको ‘लुम्बिनी भ्रमण वर्ष २०१२’ लाई बहाना बनाई उनीहरू होटलको म्याद थप गर्न लागिपरेको हुन् । स्रोतका अनुसार होटलको म्याद थप गरिदिने भन्दै प्रधानमन्त्रीपत्नीले निकुञ्जका व्यवसायीहरूसँग पचास लाख बैनास्वरूप हात पारिसकेकी छिन् । उनलाई होटलको म्याद थप भएपछि थप पचास लाख दिने वचन व्यवसायीहरूले संयुक्त रूपमा दिएका छन् ।
वन मन्त्रालय स्रोतका अनुसार चितवनभित्र होटल सञ्चालन गरेका व्यवसायीले प्रधानमन्त्रीपत्नी यमीसँग होटलको म्याद थप गर्ने विषयमा तीनपटक छलफल गरेका छन् । छलफलमा यमीले आफूहरूले ब्राजिल भ्रमण सकेर आएपछि सरकारलाई होटलहरूको म्याद थप गर्न लगाउने वचन दिएकी छिन् । व्यवसायीहरू होटलको म्याद कम्तीमा पनि दुईदेखि चार वर्षसम्म थप गराउने पक्षमा छन् । होटलको म्याद चार वर्षसम्म थप भए दुई करोडसम्म सजिलै खर्च गर्न सक्ने व्यवसायीहरूले बताउँदै आएको वन मन्त्रालयका एक अधिकृतले बताए । स्रोतका अनुसार उनीहरूले वनमन्त्री यदुवंश झाको मात्र भर पर्दा होटलको म्याद थप हुन नसक्ने भन्दै चितवनस्थित शक्तिखोरका लडाकु कमाण्डरमार्फत प्रधानमन्त्रीपत्नी यमीसमक्ष पुगी होटलको म्याद थप गराउन पुगेका हुन् ।
होटलमा म्याद थपबारे आवश्यक प्रक्रिया पूरा गर्न वन मन्त्रालयमा आएका निकुञ्जका एक व्यवसायीले म्याद थपका लागि विभागीयमन्त्री राजी भएकाले होटलको म्याद थप हुनेबारेमा आफूहरू ढुक्क रहेको बताए । ती व्यवसायीले भने, ‘म्याद थप हुनेमा विश्वस्त रहेकाले निकुञ्जभित्रको होटलहरूले आगामी कात्तिकसम्मका लागि होटलका कोठाहरू बुक गराइसकेका छौँ । ‘होटलका कोठाहरू धेरै अघिदेखि नै बुकिङ हुने भएकाले सबैजसो होटलमा आगामी कात्तिक मङ्सिरसम्मका लागि कोठा बुक भइसकेको छ,’ उनले थपे । स्रोतका अनुसार म्याद सकिन लागेको होटलहरूको जानकारी वनमन्त्रीले पनि लिइसकेका छन् भने उनी म्याद थपकै पक्षमा छन् ।
२०६७ मा ‘पर्यटन वर्ष २०११’ का लागि भन्दै तत्कालीन वनमन्त्री दीपक बोहोराले दुई वर्षका लागि म्याद थप गर्ने मन्त्रिपरिषद् बैठकमा प्रस्ताव पेस गरेका थिए । स्रोतका अनुसार त्यतिबेला होटलको म्याद थप्नका लागि निकुञ्जभित्र रहेका विभिन्न ६ वटा होटलले मन्त्री बोहोरालाई एक करोडभन्दा बढी रकम घुस खुवाएका थिए । सरकार र होटल सञ्चालकबीच होटल सञ्चालनसम्बन्धी १६ मङ्सिर २०३८ मा गरिएको करारनामा संशोधन गरी २२ मङ्सिर २०५० देखि २०६६ असार मसान्तसम्म मात्रै होटल सञ्चालनको अनुमति दिइएको थियो । त्यस्तै टाइगर टप्स प्रालिलाई १ साउन २०४६ मा २० वर्षसम्म मात्रै होटल सञ्चालनको अनुमति दिइएको थियो । जसअनुसार सबै होटलको म्याद दुई वर्षअघि २०६६ को असार मसान्तमा सकिएको थियो ।
वनसचिव नवीनकुमार घिमिरे भने होटलको म्याद थप गर्नु नहुने पक्षमा उभिएका छन् । उनले भने, ‘ती होटलको म्याद थप्नुहुँदैन प्रतिस्पर्धाको आधारमा अघि बढ्नुपर्छ ।’ उनले निकुञ्जभित्र होटल नै नराख्ने सरकारको सोचाइ रहेको पनि बताए । उनकै पहलमा निकुञ्जभित्रका होटल हटाउन होटलको म्याद सकिन सात महिना बाँकी छँदै होटलको लगत सङ्कलन सुरु गरेको थियो । तर, अझै सङ्कलन गरिसकेको छैन । होटलको म्याद असार मसान्तमा सकिँदै छ । सरकारले गत चैतमै लगत सङ्कलन गरिसक्ने भने पनि व्यवसायीहरूको अवरोधका कारण लगत सङ्कलन गर्ने म्याद लम्ब्याइएको थियो । लगत सङ्कलनका लागि सरकारले चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत झमक कार्कीको संयोजकत्वमा वन मन्त्रालय, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग, क्षेत्रीय वन निर्देशनालय, राष्ट्रिय प्रकृति संरक्षण कोष र होटल व्यवसायीको प्रतिनिधि सम्मिलित एक समिति गठन गरेको थियो ।
एकसिङ्गे गैंडा र बाघका लागि प्रसिद्ध मानिने निकुञ्जमा आइल्यान्ड जङ्गल होटेल, टेम्पल टाइगर्स प्रा.लि., टाइगर टप्स, सफारी नारायणी होटल, चितवन जङ्गल लज प्रा.लि., मचान वाइल्ड लाइफ रिसोर्ट र गैंडा वाइल्ड लाइफ क्याम्प नेपाल गरी सात होटल छन् । त्यहाँ सञ्चालित होटलका कारण वन्यजन्तु घट्दै गइरहेको, जनावरको वासस्थानमा नकारात्मक असर परेको विभिन्न अध्ययनले देखाएका छन् । वन्यजन्तु संरक्षण ऐन २०२९ को दफा ६ मा सरकारले स्वयम् वा तोकेबमोजिमको कार्यनीति अपनाई निकुञ्ज तथा आरक्षमा कसैसित करार गरी होटल, लज, सार्वजनिक यातायात वा अन्य सेवा सुविधा व्यवस्था गर्न सक्नेछ भन्ने कानुनी व्यवस्था छ भने नियमावली २०३० को नियम ३ मा सरकारले कुनै सेवासुविधा कसैबाट सञ्चालन गराउन चाहेमा टेण्डरमार्फत दिन सक्ने कानुनी व्यवस्था रहेको उल्लेख छ ।

भट्टराईको अगाडि दुई मात्र विकल्प
एक समय अत्यन्त लोकप्रिय मानिएका डा. बाबुराम भट्टराई सत्तामा पुगेपछि क्रमश: अलोकप्रिय हुँदै गएका छन् । उनको दशमहिने कार्यकाल पेट्रोल र डिजलको मूल्य सबैभन्दा धेरैपटक बढाइएको समयका रूपमा मात्र इतिहासमा अङ्कित हुने देखिएको छैन, हिंसा, अपराध र अराजकताको उत्कर्षका रूपमा पनि यही कालखण्ड लिपिबद्ध हुने ठानिएको छ । देशको सार्वभौमसत्ता कमजोर तुल्याउने, राष्ट्रियता र राष्ट्रिय एकतामा गम्भीर आँच पुर्‍याउने तथा जनताको दैनिक जनजीवन सर्वाधिक कष्टकर बनाउने प्रधानमन्त्रीका रूपमा बाबुराम भट्टराईको नाम ‘अमर’ हुने स्थिति बनेको छ । संविधानसभाको स्वाभाविक मृत्युपश्चात् सम्पूर्ण नैतिक मूल्य–मान्यता बिर्सिएर सत्तामा बसिरहन उनले दर्शाएको ढिठले भट्टराईमा सत्तालिप्सा र अधिनायकवादी चरित्र पनि प्रबल रूपमा रहेको तथ्य उजागर गरेको छ । देशभित्र दुर्बल र कमजोर बन्दै गरेका भट्टराईले विदेशीको आडभरोसामा जुन फुर्ती देखाउन थालेका छन् यसले उनको लोकप्रियतामा मात्र थप क्षति पुर्‍याएको छैन, देशमा गम्भीर दुर्घटना निम्त्याउने सङ्केतहरू पनि देखिन थालेका छन् । भट्टराईको हठ कायम रह्यो भने उनले बेइज्जतीपूर्वक सत्ताबाट हट्नुपर्ने अवस्था आउन टाढा देखिँदैन । लोकतन्त्र पक्षधर राजनीतिक दलहरूको संयुक्त सङ्घर्षबाट या राष्ट्रपतिबाट चालिने कदमबाट हट्नुपर्ने अवस्था जुन देखिँदै छ, त्यस्तो अवस्थामा भट्टराईको पूर्वलोकप्रियता र बचेखुचेको प्रतिष्ठा माटोमा मिल्ने निश्चित छ । त्यसैले अहिले नै राजीनामा दिएर राष्ट्रिय सहमतिको सरकार निर्माणको मार्ग प्रशस्त गर्ने या बेइज्जतीपूर्वक सत्ताबाट हटाइने दिनको प्रतीक्षा गर्ने, बाबुरामका अघिल्तिर दुईवटा मात्र विकल्प रहेका छन् । सत्तामा पुगेपछि जो पनि बिगँ्रदो रहेछ र जतिसुकै बुद्धिमान भए पनि अन्धो बन्दोरहेछ भन्ने कुराको सजीव दृष्टान्ट बन्दै गरेका डा. बाबुराम भट्टराईले आफ्नै नेतृत्वमा सहमतिको सरकार गठन गरी निर्वाचन सम्पन्न गराउन सके भने यो देशको सबैभन्दा सफल र लोकप्रिय नेताको स्थान बनाउने कुरामा भने शङ्का गर्नुपर्ने छैन ।

कुट्दै गए थुन्दै फर्किए
सर्वसाधारण जनतालाई कुटेर विदेश हुइँकिएका सर्वाधिक ‘चर्चित’ प्रधानमन्त्री डा. बाबुराम भट्टराईले स्वदेश फर्कंदा तिनै सर्वसाधारण जनतालाई थुनेका छन् । प्रधानमन्त्री भएदेखि सामान्यदेखि ठूला कार्यक्रमहरूमा सहभागी हुन जाँदा जताजतै कालोझण्डाको ‘सम्मान’ पाएका प्रधानमन्त्री भट्टराईले ब्राजिलको रियोमा भएको कार्यक्रमबाट फर्कंदा पनि पुन: कालोझण्डाकै ‘सम्मान’ पाउने त्रासले जनतालाई थुन्न लगाएका हुन् ।
प्रधानमन्त्रीकै निर्देशनमा प्रहरीले प्रधानमन्त्रीको सुरक्षाको कारण देखाउँदै विमानस्थलदेखि प्रधानमन्त्रीनिवास बालुवाटारसम्म सडक खाली गराइएको थियो भने सडकको दुवै किनारका पसल बन्द गराइएको थियो । प्रहरीले प्रधानमन्त्रीको सवारी हुने सडकको दुवै किनारबाट सर्वसाधारणलाई हिँड्नसमेत दिएको थिएन । यतिसम्म कि त्रिभुवन विमानस्थलको मूलढोकाअगाडिका खाली भागमा उभिएका सर्वसाधारणलाई खल्तीमा हात हाल्नसमेत दिइएको थिएन ।
प्रहरीका अनुसार विमानस्थलदेखि प्रधानमन्त्रीनिवाससम्म दुई हजार पोसाकमा तथा पाँच सयभन्दा बढी साधा पोसाकमा प्रहरी परिचालन गरिएको थियो । प्रधानमन्त्री विदेश जाने बेलामा विद्यार्थी सङ्गठनहरूको चर्को विरोध भएकाले फर्कने बेलाको सुरक्षा व्यवस्था कडा पारिएको हो । प्रधानमन्त्री ब्राजिल उड्ने बेलामा प्रदर्शनकारीले विमानस्थलको मूलढोकामा कालोझन्डा देखाउनुका साथै सवारीमा ढुङ्गा हानेका थिए ।
कडा सुरक्षा–व्यवस्थाका बाबजुद प्रधानमन्त्रीको विरोध गर्न पुगेको नेपाल विद्यार्थी सङ्घका तीन दर्जनभन्दा बढी कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको थियो । उनीहरूलाई प्रहरीले प्रधानमन्त्रीको सवारीमा अवरोध गर्न खोजेको भन्दै विमानस्थलको मूलगेटबाट नियन्त्रणमा लिएको हो । प्रहरीले प्रदर्शनकारीहरूलाई लछारपछार पार्दै नियन्त्रणमा लिएको थियो । आफ्नो सवारीबाट सर्वसाधारणले कुनैखाले अवरोध व्यहोर्नु नपरोस् भनेर गाडीको साइरनसमेत नबजाउने गरेका प्रधानमन्त्री भट्टराईले राजाहरूको सवारीभन्दा चर्को सुरक्षा–व्यवस्था गरेका थिए । उनको कडा सुरक्षा–व्यवस्थाका कारण राजधानीवासीहरूले निकै सास्ती व्यहोर्नुपरेको थियो ।

आक्रमणकारी पक्रन प्रहरी असफल
त्रिभुवन विश्वविद्यालय प्राध्यापक सङ्घका सभपाति योगेन्द्रनारायण बडबरियामाथि भएको साङ्घातिक हमलाको गुत्थी सुल्झाउन प्रहरीले अहिलेसम्म सकेको छैन । एक प्रतिष्ठित शिक्षकमाथि भएको रहस्यमयी आक्रमणका योजनाकारहरूलाई पक्राउ गरी कानुनी दायरमा ल्याउन नसक्दा मुलुकमा थप सन्त्रास पैदा भएको छ ।
योगेन्द्र बडबरिया गत ७ गते ना.४ख६०३४ नम्बरको बस चढी सिरहातर्फ जानुभएको थियो । भोलिपल्ट बिहान पाँच बजे बस सिरहाको मटिहर्वा पुग्दा ज.३प २३४७ नम्बरको कालो पल्सर मोटरसाइकलले बसको बाटो छेक्यो । बस रोकिनेबित्तिकै ओम साह नामक व्यक्तिको अगुवाइमा निजको काकाको छोरा सरोज साह, हेमन्त साह र विकरी साहलगायतले योगेन्द्र बडबरियामाथि बसभित्रै गएर हमला गरेका थिए । योगेन्द्र आफ्ना भतिजासँगै बसको सिट नम्बर पाँच र ६ मा बसेका थिए । त्यसको ठीक पछाडि सिट नम्बर सात र आठमा सुवास यादव नामक टिकट लिने कुनै व्यक्ति बसेका थिए । ती व्यक्ति आफ्नो एक साथीसँगै बडबरियालाई पछ्याएर काठमाडौंबाट बस चढी गएको अनुमान गरिएको छ । निजले ९८१५७६९१०० नम्बरको मोबाइल प्रयोग गरेका थिए । यस दु:खद् घटनामा तिनै व्यक्तिको मुख्य संलग्नता रहेको अनुमान गरिएको छ । हाल बडबरियाको काठमाडौं महाराजगन्जस्थित शिक्षण अस्पतालमा उपचार भइरहेको छ । आक्रमणको रहस्य खुलाउन प्रहरीले अहिलेसम्म सकेको छैन र आक्रमणकारीहरूलाई नियन्त्रणमा लिन पनि प्रहरी असफल भएको छ । घटनालगत्तै सिरहा काङ्गे्रस सभापति सीतादेवी यादवले एक विज्ञप्ति जारी गरी आक्रमणको निन्दा र भत्र्सना गर्दै आक्रमणकारीहरूलाई कारबाही गर्न माग गर्नुभएको छ । यस आक्रमण र प्रहरी निष्क्रियताको विरोध गर्दै गत सोमबार त्रिविअन्तर्गतका सम्पूर्ण कक्षाहरू प्राध्यापकहरूले बहिष्कार गरेका थिए ।

कता जाँदै छ नेपाली सिनेमा ?
केही समययता नेपाली सिनेमामा देखिएको अश्लीलता तथा अन्य विविध पक्षलाई लिएर बहस प्रारम्भ भएको छ । मिडिया एड्भोकेसी गु्रप (म्याग) र महिला, कानुन तथा विकास मञ्चको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा चलचित्रकर्मीहरूले नेपाली सिनेमामा देखिएका कमीकमजोरी तथा तिनमा सुधार गर्नुपर्ने कुरालाई लिएर फरक धारबाट छलफल भएको छ । कार्यक्रममा बोल्दै वरिष्ठ चलचित्रकर्मी नीर शाहले अब सिनेमाको वर्गीकरण हुनुपर्ने र नाङ्गोपन पस्किने सिनेमा र अन्य सिनेमाको टिकटदर फरक हुनुपर्ने बताउनुभयो । साथै त्यस्ता चलचित्रमा कर लाग्नुपर्ने र हेर्ने हल नै छुट्टै हुनुपर्ने उहाँको धारणा थियो । कानुनविद् तथा अधिकारकर्मी सपना मल्लले आफूले व्यक्तिको व्यवसायको अधिकार, पेसा छनोटको अधिकार र दर्शकको मनोरञ्जनको अधिकारको सम्मान गर्ने उल्लेख गर्दै तर यी सबै अधिकार प्रयोग गर्दा सीमितता र उत्तरदायित्वलाई बिर्सन नहुने बताउनुभयो ।
सूचना तथा सञ्चार मन्त्रालयका सहसचिव तथा सेन्सर बोर्डका अध्यक्ष सुशील ओझाले सरकारले केही समययता सिनेमाका दृश्यहरूमा बढी नै ध्यान दिनुपर्ने अवस्था सिर्जना भएको बताउनुभयो । उहाँले चलचित्र क्षेत्रका लागि आचारसंहिता निर्माण भइरहेको जानकारी पनि दिनुभयो । मिडिया एड्भोकेसी गु्रप (म्याग) की अध्यक्ष बबिता बस्नेतले आफ्नो करियरका क्रममा विभिन्न दृश्य दिने वातावरण निर्माता–निर्देशकहरूले बनाए पनि त्यसको सामाजिक मूल्य भने महिलाले मात्रै चुकाउनुपर्ने देखिएको बताउनुभयो ।
महिला, कानुन तथा विकास मञ्चका निर्देशक सविन श्रेष्ठले सिनेक्षेत्रलाई आफूहरूले मनोरञ्जनभित्रकै समतावादी दृष्टिकोणले हेर्न चाहेको बताउनुभयो । कार्यक्रममा निर्देशक राजेन्द्र शलभ, नारायण पुरी, अर्जुन कुमार, सुचित्रा श्रेष्ठ, आकाश अधिकारी, नरेश पौडेल, नवराज ढकाल, निर्माता राजकुमार राई र पर्यटन बोर्डका निर्देशक सुवास निरौलाले बोल्नुभएको थियो । यसैगरी नायिकाहरू करिश्मा मानन्धर, रेखा थापा तथा बिनिता बरालले नेपाली सिनेमाको वर्तमान अवस्थाको बारेमा धारणा राख्नुभएको थियो ।

कहाँ छ वास्तविक सुन्दरता ?
भनिन्छ सुन्दरता हेर्नेको आँखामा हुन्छ । सुन्दरतालाई परिभाषित र वर्गीकरण गर्न पनि कठिन हुन्छ । किनभने, एउटालाई सुन्दर लागेको वस्तु अर्कालाई सुन्दर नलाग्न पनि सक्छ । तर पनि संसार सुन्दरतामै लोभिन्छ र पग्लिन्छ । पछिल्ला वर्षहरूमा सुन्दर बन्नका लागि लाखौँ खर्चिनेको कमी छैन यस काठमाडौं नगरीमा । सुन्दरताको खोजीमा संसार चहार्नेको कमी छंन यस धर्तीमा । किनकि, मानिसलाई सुन्दर विचारभन्दा सुन्दर आँखा नै बढी प्यारा लाग्छन्, सुसंस्कृत व्यवहारभन्दा सुन्दर अनुहार नै बढी मन पर्छन् ।
मानवीय स्वभाव नै हो आवरणमा सुन्दर बन्ने चाहना कसलाई हुँदैन र ? काठमाडौं रेडन कलेजमा बीबीएस प्रथम वर्षमा अध्ययनरत छात्रा मनीषा पण्डितलाई पनि आफ््नो घुम्रिएको कपाल देखेर साह्रै रिस उठ्छ । त्यसैले उनले कपाल स्टेट गरेर आफ्नो सुन्दर बन्ने चाहना पूरा गरेकी छिन् । सुन्दरता के हो भन्ने प्रश्नमा उनी भन्छिन्, ‘जसलाई देख्दा, सुन्दा अथवा महसुस गर्दा मन आनन्दित हुन्छ त्यो नै सुन्दरता हो ।’ त्यसैगरी पब्लिक युथ कलेजमा बीबीएस प्रथम वर्षमा अध्ययनरत छात्र आशिष अधिकारीले पनि सुन्दर बन्नका लागि आफ्नो कपाल रङ्ग्याएका छन् । उनी भन्छन्, ‘संसारै सुन्दरतामा झुम्मिन्छ भने आफू पनि किन कम बन्ने ?’ सुन्दर बन्ने चाहना बोकेर उनी कपाल काट्न सधैं निल डेबिडको सैलुनमा पुग्छन् । केही वर्षअगाडिसम्म सुन्दर बन्ने रहर केवल केटीहरूलाई मात्र हुन्छ भन्ने मान्यता अहिले फेरिएको छ । यस सवालमा केटीहरूकै लाइनमा केटाहरूसमेत आइपुगेका छन् । केटीहरूजस्तै केटाहरू पनि हेयरस्टाइल, ड्रेसअपमा बढी नै संवेदनशील बन्न थालेका छन् । केही वर्षअगाडिसम्म आफूले लगाउने पोसाकमा केही ध्यान नदिने प्रेम केसी अचेल त्यसमा विशेष ध्यान दिन थालेका छन् । उनी भन्छन्, ‘जमाना नै फेयर एन्ड लभ्लीको छ, हेर्दा जो सुन्दर उसको दुवै हातमा लड्डु ।’ उनको भनाइसँग त्रिचन्द्र कलेजमा अध्यनरत छात्र निर्मल अधिकारी पनि सहमत छन् । त्यसैले उनी आफूलाई सुन्दर बनाउन ब्रान्डेड जिन्स र टिसर्ट लगाउँछन् ।
सुन्दरता मापन गर्न वा जोख्न नसके पनि केही वर्षयता सुन्दरतासम्बन्धी धेरै प्रतियोगिता आयोजना हुन थालेका छन् । मिस नेपाल, मिस टिन, मिस नेवा: जस्ता थुप्रै प्रतियोगिता वर्षेनी सम्पन्न भइरहेका छन् । हालै मिस नेवा: प्रतियोगितामा भाग लिएकी काठमाडौं मोडल कलेजकी छात्रा लुनिभा श्रेष्ठका विचारमा यस्ता प्रतियोगिताले कुनै पनि व्यक्तिको व्यक्तित्व विकासमा सहयोग पुर्‍याउँछ । उनको भनाइमा यस्ता प्रतियोगिताले भित्री र बाहिरी दुवै सौन्दर्यलाई मापन गर्छ ।
सौन्दर्यताका कडी व्यक्तिपिच्छे फरक हुन्छन् । कसैलाई कालो छाला मनपर्छ त कसैलाई गोरो, कसैलाई लामो नाक मनपर्छ त कसैलाई थेप्चो । मानवीय स्वभावअनुसार प्रत्येक व्यक्तिले आफूलाई भने राम्रो नै ठान्छ । ऐना हेर्दा सबैभन्दा सुन्दर व्यक्ति आफूलाई नै ठान्छ । बागमती मोडर्न कलेजका प्राचार्य दीपक सापकोटालाई पनि ऐना हेर्दा सबैभन्दा सुन्दर व्यक्ति आफैं लाग्दोरहेछ । तर पनि कोभन्दा को सुन्दर भन्ने होडबाजी सधैं चलिरहन्छ । त्यही सुन्दर बन्ने होडबाजीकै लागि त विश्वसुन्दरी, ब्रह्माण्ड सुन्दरीजस्ता प्रतियोगिता आयोजना हुन्छन् ।
तथापि, सुन्दरता केवल सुन्दर शरीर मात्र होइन । यसो विचार गर्दा सुन्दर अनुहार चाहुरी पर्ला, गुलाफी ओठहरू काला होलान् तर मानवमा हुने सुन्दर विचार–व्यवहारहरू कहिल्यै नास हुँदैनन् । भित्री सौन्दर्यलाई रोगरूपी किटाणुले नास गर्न सक्दैन । सायद त्यसैमा पो वास्तविक सुन्दरता लुकेको छ कि ?
– निर्जला अधिकारी (प्रशिक्षार्थी)

बङ्गलादेश बैंकको २०औं एटीएम
नेपाल बङ्गलादेश बैंकले नुवाकोट बट्टारबजारस्थित शाखामा बैंकको २०औं एटीएम सेवा सुरु गरेको छ । सो बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुंगानाले गत सोमबार नयाँ एटीएम सेवाको उद्घाटन गर्नुभयो । ग्राहकको मागबमोजिम छिटो–छरितो सेवा दिने उद्देश्यले बैंकले हालै मोबाइल बैंकिङ सेवा पनि सुरु गरिएको जनाएको छ । सो सुविधाअन्तर्गत ग्राहकले खाताको जानकारी, मिनी स्टेटमेन्ट, रकम स्थानान्तरण, नेपाल टेलिकमको पोष्टपेड तथा प्रिपेड र सीडीएमएका पीन रिचार्ज एवम् नेपाल टेलिकमकै पोष्टपेड, प्रिपेड, सीडीएमए, एडीएसएल र एनसेल–प्रोको बिल पेमेन्ट सुविधा पनि रहेको छ ।

कविता महोत्सवमा बेल्बासे प्रथम
बिहानी सँगसँगै उदाएका हजारौँ सूर्यहरू
कहाँ हराइरहेछन् ?
कहाँ हराइरहेछन्–
सपनाका लाखौँ ताराहरू,
किन आकाश यसरी रित्तो बन्दै छ ।
…संसारमा सत्यदीप निभेको बेला
तिमी मसँगै उभिदेऊ
म दु:खको थाप्लो फोडेर
तेजिलो सूर्य निकालिदिन्छु ।
अर्घाखाँचीका ठाकुर बेल्बासेले यो कविता वाचन गरिरहँदा नेपाल प्रज्ञा–प्रतिष्ठानको हलमा उपस्थित दर्शक–श्रोताले परर्र ताली पड्काए । अन्तत: बेल्बासेको यही ‘समयसँग युद्ध’ शीर्षकको कविता ‘राष्ट्रिय कविता महोत्सव–२०६९’ को प्रथम कविता घोषित भयो । आफ्नो ५५औँ वार्षिकोत्सवको अवसरमा प्रतिष्ठानले गएको शनिबार आयोजना गरेको महोत्सवमा झन्डै तीन सय कवितालाई पछि पार्दै बेल्बासे प्रथम भए । प्राप्त भएकामध्ये ३४ वटा कविता वाचनका लागि छनोट गरिएको थियो । महोत्सवमा हाल बेलायत बस्दै आएका जगत नवोदितको ‘मुनालाई मनपत्र’ शीर्षकको कविताले दोस्रो स्थान हासिल गर्‍यो भने खोटाङका अर्जुनकुमार ढकालको ‘नानीहरूका चित्र’, झापाका ताराकुमार सुवेदीको ‘युद्ध लडिरहेको युगीन बुद्ध म’ र सिन्धुपाल्चोककी कमला रिसालको ‘आमासित म’ शीर्षकको कविताले संयुक्त रूपमा तेस्रो स्थान प्राप्त गरे । प्रतिष्ठानकी प्राज्ञ डा. बेञ्जु शर्माले प्रतिवेदन प्रस्तुत गर्दै पठनीय र श्रवणीय दुवैमा कविताको शक्ति हुने भएकाले कविता महोत्सव गरिँदै आएको उल्लेख गरिन् । महोत्सवमा आएका प्रतियोगी कविताको छनोट गर्दा कविको नाम, फोटो र ठेगाना गोप्य राखी निष्पक्ष छनोट गरिएको उनले दाबी गरिन् ।
कवि श्यामदास वैष्णवले ‘ऊ कविता लेख्दैन’ शीर्षको कविता वाचन गरी महोत्सवको आरम्भ गरेका थिए । प्रतिष्ठानका उपकुलपति गंगाप्रसाद उप्रेतीले साहित्य, कला, संस्कृति, भाषा, जातिको संरक्षण र सम्बद्र्धनमा प्रतिष्ठान प्रतिबद्ध रहँदै आएको बताए । असारे झरीमा रुझ्दै महोत्सवमा सहभागी हुन पुगेका इलामका गंगा थापाले कविताको शक्ति र आकर्षणले आफूलाई मात लगाएको प्रतिक्रिया दिए । प्रतिष्ठानले ०२२ सालदेखि नियमित राष्ट्रिय कविता महोत्सवको आयोजना गर्दै आएको छ ।
– फणीन्द्र संगम

सुधार समिति गठन
काठमाडौं कपन– ३ स्थित शिवशक्ति नगर सुधार समितिको गत असार ९ गते सम्पन्न साधारणसभाले सुष्मा केसी (भण्डारी) को अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । समितिको उपाध्यक्षमा भगीमान गुरुङ, सचिवमा दुर्गादत्त सुवेदी, सहसचिवमा राजेश दाहाल र कोषाध्यक्षमा हरिप्रसाद पनेरू चयन भएका हुन् ।
समितिका सदस्यहरूमा श्याम राई, मुकुन्दप्रसाद अधिकारी, कमल खत्री, कृष्ण चौलागाईं, मञ्जु दाहाल, अनिशा थापा, जानुका पौडेल, मदनलाल श्रेष्ठ, अमृत सुवेदी र कृष्ण अधिकारी रहेका छन् । वरिष्ठ पत्रकार पुरुषोत्तम दाहालको प्रमुख आतिथ्यमा सम्पन्न उक्त साधारणसभामा पूर्वगाविस अध्यक्ष मीठाराम अधिकारी र एमालेका क्षेत्रीय उपाध्यक्ष लक्ष्मी सङ्ग्रौला अतिथिका रूपमा उपस्थित थिए ।

कारागारमा सीसीटीभी
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले विभित्र कसुरमा अदालतबाट अभियोग प्रमाणित भई सजाय भुक्तान तथा पुर्पक्षको क्रममा काठमाडौं उपत्यकाका कारागारमा रहेका कैदी–बन्दीहरूको क्रियाकलाप, बानीव्यहोरा तथा निजहरूलाई भेटघाट गर्न आउने व्यक्तिको लगत एवं निगरानी गर्ने कार्य सुरु गरको छ ।
जेल भुक्तानपश्चात् पनि सामाजिकीरणतर्फ नलागी पुन: विभिन्न संगठित अपराधमा संलग्न रहेका, बन्दीबाट कारागारभित्रै आपराधिक योजना बनाउने तथा आपराधिक क्रियाकलापमा संलग्न रहेका घटनासमेतलाई दृष्टिगत गरी त्यस्ता क्रियाकलापको प्रभावकारी अनुगमन तथा व्यवस्थित सूचना संयन्त्रको स्थापना गर्ने उद्देश्यले उपत्यकाभित्रका तीनवटै कारागारमा सूचनाप्रविधिको सहयोगबाट अनुगमन कार्यको सुरुवात गरिएको नेपाल प्रहरीले जनएको छ ।