तपाईको दृष्टिमा– (गीतकार) दिनेश अधिकारी

तपाईको दृष्टिमा– (गीतकार) दिनेश अधिकारी


बहुप्रतिभाशाली व्यक्तित्व हुनुहुन्छ दिनेश अधिकारी । साहित्य र गीत लेखनमार्फत समाजमा आफ्नो विशिष्ट पहिचान बनाउन सफल अधिकारी सरकारी क्षेत्रमा पनि सम्मानित पदमा कार्यरत हुनुहुन्छ । उहाँको सरकारी व्यक्तित्वबारे धेरैलाई थाहा नहुन सक्छ । लामो समयदेखि विभिन्न सरकारी मन्त्रालयमा सचिवजस्तो विशिष्ट पदमा कार्य गर्दै अगाडि बढ्नुभएका अधिकारी यतिबेला भूमिसुधार मन्त्रालयमा सचिव हुनुहुन्छ । विविध क्षेत्रमा दख्खल राख्नुभएका अधिकारीको भोगाइमा जीवन र जगत् के हो ? घटना र विचार साप्ताहिकको स्तम्भ ‘पाईंको दृष्टिमा’का लागि उहाँ राजन घिमिरेसँग यसरी प्रस्तुत हुनुभयो ।
० जीवन के हो ?
– अवसर
० प्रेम के हो ?
– बाँच्ने आधार
० सुन्दरता के हो ?
– दृष्टिकोणमा भर पर्छ
० मन के हो ?
– आगो पनि पानी पनि
० भावना के हो ?
– मनको उडान ।
० विवाद के हो ?
– सृष्टिको सम्मेलन
० बन्धन के हो ?
– प्रश्न अस्पष्ट भयो । सकारात्मक अर्थमा सम्झौता हो, नकारात्मक अर्थमा अवरोध
० अपमान के हो ?
– आरिसको परिणति
० इज्जत के हो ?
– कर्मको मीठो फल
० बेइज्जती के हो ?
– कालो व्यवहारको पर्दाफास
० मिलन के हो ?
– रोजाइ
० विछोड के हो ?
– नचाहेको अवस्था भोग्नु
० जवानी के हो ?
– सपनाहरूको संसार
० बालापन के हो ?
– ढल्किँदो उमेरसँगसँगै प्रिय लाग्दै जाने समय
० तृष्णा के हो ?
– तृप्तिको खोजी
० रिस के हो ?
– संयमता गुमाउनुको परिणति
० जोस के हो ?
– मनभित्रको ऊर्जा– जो कहिलेकाहीँ हानिकारक हुन सक्छ
० नसा के हो ?
– जीवनकै एउटा रंग
० यौन के हो ?
– प्रकृतिप्रदत्त उपहार
० सन्तुष्टि के हो ?
– आफूलाई थुमथुम्याउने प्रक्रिया
० कर्तव्य के हो ?
– जीवनकै एउटा पाटो
० विश्वास के हो ?
– सहाराको खोजी
० असल के हो ?
– अरूको भलो गर्नु
० खराब के हो ?
– अरूको कुभलो चिताउनु
० सबैभन्दा ठूलो धोका के हो ?
– आडम्बर
० दुःख के हो ?
– लुगा नहुँदाको जाडो
० सुख के हो ?
– सन्तोषको छहारी
० खुसी के हो ?
– अनुभूति
० आनन्द केमा छ ?
– अरूहरूको खुसीमा रमाउनुमा
० मित्र को हो ?
– जसले मेरो कुभलो चिताउँदैन
० शत्रु को हो ?
– अनुचित स्वार्थ र ईष्र्या
० सङ्घर्ष के हो ?
– जिन्दगीको अर्को नाम
० प्राप्ति के हो ?
– लगन र मिहिनेतको प्रतिफल
० आस्था के हो ?
– बलियो विश्वास
० धर्म के हो ?
– जीवनशैली निर्माण गर्ने एउटा उपाय
० नैतिकता के हो ?
– आफैंलाई जाँच्ने कसी
० चरित्र के हो ?
– सोचको व्यावहारिक अभिव्यक्ति
० ज्ञान के हो ?
– सत्यतथ्यको जानकारी
० बुद्धि के हो ?
– पानीलाई आगो बनाउन वा आगोलाई पानीमा बदल्न सक्ने शक्ति
० सम्झौता के हो ?
– नकार्न नसकिने आवश्यकता
० सृष्टि के हो ?
– रहस्यैरहस्यको पोको
० गुरु को हो ?
– समय र परिवेश
० राजनीति के हो ?
– सबै नीतिको मूल नीति
० देश के हो ?
– मरेपछि पनि आफू बाँच्ने आधार
० समाज के हो ?
– परस्परको आवश्यकता
० पद के हो ?
– जिम्मेवारी
० विकास के हो ?
– सकारात्मक परिवर्तन
० व्यापार के हो ?
– आर्थिक समृद्धिका लागि अपनाइने पेसा
० अनुशासन के हो ?
– स्वेच्छाको बन्धन