चलचित्र एटीएम प्रतिबन्धित

चलचित्र एटीएम प्रतिबन्धित


अन्ततः घटना र विचार साप्ताहिकले गत अङ्कमा प्रकाशित गरेको ‘लचित्र एटीएमका कलाकार तथा प्राविधिकहरू बहिस्कृत’ शीर्षकको लेखले मूर्तरूप पाएको छ । चलचित्र निर्माणको बहानामा अश्लीलताको व्यापार गर्ने यस्ता सिनेमाका निर्माता तथा निर्देशक एवम् कलाकारलाई साथ दिनु भनेको समाजमा विकृति फैलाउनु हो भन्ने हाम्रो लेखको उद्देश्यमा आइतबार चलचित्र क्षेत्रसँग आबद्ध विभिन्न सङ्घसंस्थाले पनि सहमति जनाएपछि यी संस्थाले संयुक्त रूपमा प्रेस विज्ञप्ति नै जारी गरेका छन् । यसरी विज्ञप्ति जारी गर्नेमा नेपाल चलचित्र निर्माता सङ्घका अध्यक्ष राजकुमार राई, नेपाल चलचित्र निर्देशक समाजका अध्यक्ष विमल पौडेल र नेपाल चलचित्र कलाकार सङ्घका अध्यक्ष रमेश बुढाथोकी रहेका छन् ।
निर्माता सङ्घले त एटीएमका निर्माता दिनेश थापालाई साधारण सदस्यसमेत नरहने गरेर निलम्बन गरेको छ भने यसका निर्देशक यादव सिलवाललाई निर्देशक समाजले साधारण सदस्यबाट पनि निकालिदिएको छ । त्यस्तै, चलचित्र कलाकार सङ्घले एटीएममा अभिनयको नाममा अश्लील दृश्यहरू प्रस्तुत गर्ने जिया केसी, सविना कार्की र सोनिया शर्मालाई जीवनभर सङ्घको सदस्य नरहने गरेर बर्खास्त गरेको छ । चलचित्र क्षेत्रसँग आबद्ध र लामो समयदेखि नेपाली चलचित्र क्षेत्रलाई मर्यादित बनाउनुपर्छ अनि यसैको विकास, विस्तार र प्रबद्र्धनका लागि गठित यी संस्थाहरूको यो साहसिक कार्यको यतिबेला चौतर्फी रूपमा प्रशंसा गर्न थालिएको छ । ँमिडियाकै कारण हामीलाई आँट आएको हो । सबैको उद्देश्य स्वच्छ नेपाली चलचित्र भएपछि फिल्मको नाममा विकृति फैलाउनेविरुद्ध हामी किन नलाग्ने ?’ यी संस्थाका अध्यक्षहरूको भनाइ छ । उनीहरू यो निलम्बन र बर्खास्ती व्यक्तिगत नभएर समग्र चलचित्र उद्योगको भलाइका लागि गरिएको हो । बिस्तारै मुलुकबाट मुलुकबाहिर बजार विकसित भइरहेको नेपाली चलचित्रको अवस्थामा यस्ता विकृतिजन्य सिनेमाले धराशायी बनाउने विचार उनीहरूको छ । कलाकारिताको मर्म अनि भेउ पनि नपाउने गलत प्रवृत्तिका व्यक्तिलाई यो क्षेत्रमा प्रवेश निषेध होस् भन्ने उद्देश्यले नै निलम्बन र बर्खास्त गरिएको कुरा उनीहरूको छ ।
आफ्नो चलचित्र ँसी ग्रेड’को भन्यो भनेर साह्रै चित्त दुखाउने एटीएमका निर्माता तथा नायक दिनेश थापाको यो चलचित्रले त्यो ग्रेड पनि पाएन अनि यस्ता यौनजन्य दृश्य दिएर रातारात हिट हुन खोज्ने जिया केसी, सविना कार्की र सोनिया शर्मासँग अब गाउँतिर फर्कनेबाहेक अन्य उपाय रहेको छैन । किनकि सिनेमा हल सञ्चालकहरूले पनि यी कलाकारद्वारा अभिनीत अन्य सिनेमा पनि प्रदर्शन नगर्ने प्रतिबद्धता जनाएका छन् भने अब अन्य सिनेमाहरूमा यी कलाकारलाई लिन नपाइने उर्दी पनि चलचित्र क्षेत्रसँग आबद्ध सङ्घसंस्थाहरूले जारी गरिसकेका छन् ।
सेक्सका कुरा गर्दा निकै उदार भएजस्तो गरेर अन्तर्वार्ता दिने जिया, सोनिया र सविनाको कलाकारिता यात्रा फुल्न नपाउँदै झर्न पुगेको छ । अहिले त यिनीहरू उल्टै एटीएमका निर्माता दिनेश थापा र निर्देशक यादव सिलवाललाई ‘मीलाई फसायो’ भन्दै गाली गर्दै हिँड्न थालेका छन् । पहिले फिल्म पाउनुअगाडि दिनेश र यादव नै सर्वेसर्वा भए यिनीहरूका लागि । तर, अहिले विवादमा आएपछि यिनीहरूले पनि मरेको मान्छेलाई जुम्राले पनि छाड्छ भनेजस्तो व्यवहार देखाउन थालेका छन् ।
यसैबीच सिनेमा निर्माणको बहानामा गलतगलत सिनेमा निर्माण हुन थालेपछि अबदेखि चलचित्र विकास बोर्डले छायाङ्कनमा पुग्नुअगाडि छायाङ्कनमा जान लागेको चलचित्रको सम्पूर्ण ँस्क्रिप्ट’को अध्ययन गर्ने भएको छ । ँहाम्रोबाट स्वीकृति पाएपछि मात्र सो सिनेमाले सुटिङ गर्न पाउनेछ,’ चलचित्र विकास बोर्डको भनाइ हो यो । यस्तो नियम बनाउँदा पनि निर्देशकले सुटिङमा गलत दृश्य राख्न सक्ने भएका कारण चलचित्रको सेन्सर हुँदा विकास बोर्डले स्वीकृति दिएको कथा र छायाङ्कन भइसकेको चलचित्रबीच मेल खान्छ कि खाँदैन भन्ने कुराको अवलोकन पनि गर्ने भएको छ । विकास बोर्डले निर्माणका लागि इजाजत लिन आउने चलचित्रको कथा अवलोकनका निम्ति चलचित्रकर्मी लक्ष्मीनाथ शर्मा, शैलेश आचार्य र चलचित्र निर्देशक तथा निर्माता सङ्घका सचिव सुरेशदर्पण पोखरेललाई जिम्मा दिएको छ ।
यौन व्यवसायी मौसमी
एक समयकी स्थापित अभिनेत्री हुन् मौसमी मल्ल । केही समय उनी विदेशतिर पलायन पनि भइन् । विदेशबाट कमाएर ल्याएको रकमबाट निर्मात्रीसमेत बनेकी मौसमीले बनाएको पहिलो चलचित्र ँगिरफ्तार’ले राम्रै व्यापार गर्‍यो । यो व्यापारबाट निकै हौसिएकी मौसमीले फेरि अर्को चलचित्र बनाइन्– समय । समयको पनि यतिबेला छायाङ्कन सकिसकेको छ भने यसलाई दयाराम दाहालले निर्देशन गरेका हुन् ।
विभिन्न चलचित्रहरूमा विभिन्न भूमिकामा बेजोड अभिनय गरेकी मौसमी आर्थिक रूपमा पनि सक्षम नै छिन् । त्यसैले त उनले दुईवटा चलचित्र बनाइन् । नाम र दाम दुवैबाट हाइहाइ पाएकी मौसमीलाई कुन्नि के भो खै ? उनी यौन व्यवसायी बनिन् । कसैले पनि सोचेका थिएनन् कि उनी यौन व्यवसाय गर्लिन् भनेर । तर भएको यही छ ।
पाठकवृन्द † नझुक्किनुहोला । किनकि नायिका मौसमी मल्लले वास्तविक जीवनमा भने यौन व्यवसाय गरेकी होइनन्, उनले नयाँ चलचित्र ‘याँ नेपाल एक्सप्रेस’का लागि यौन व्यवसाय गरेकी हुन् । ‘ कलाकार हुँ । त्यसैले अफर आएको भूमिकामा मैले अभिनय गर्नुपर्छ,’ यसै भनिन् मौसमीले ।
असारदेखि बजारमा आउन लागेको चलचित्र ँनयाँ नेपाल एक्सप्रेस’ले विशेषतः मुलुकको राजनीतिक अवस्थालाई देखाउन खोजेको छ । जातीय कुरा उठाउनुका साथै राजनीतिमा पहिले र अहिलेका पुस्ताबीचको अन्तरलाई पनि यो चलचित्रले देखाएको छ । निर्देशक अशोक बम मल्लले भने, ँगजबको भूमिका छ मौसमजीको । आफू बाध्यतामा यौन व्यवसायी भए तापनि कोठीमा बेचिन आएका युवतीको उद्धार गर्छिन् उनले ।’ चलचित्रमा निर्देशक मल्लले मौसमीको अलावा शर्मिला मल्ल, गणेश न्यौपाने, राज तिमल्सिना, भुपेन चन्द, नीता ढुङ्गाना, सुष्मा कार्कीलगायतका कलाकारको अभिनय रहेको छ ।
माधवीले जितिन् नृत्यप्रेमीको मन
भारतीय सांस्कृतिक केन्द्रको आयोजनामा ख्यातिप्राप्त भारतीय नृत्याङ्गना तथा कोरियोग्राफर माधवी मुद्गलले काठमाडौंमा चित्ताकर्षक नृत्यकला प्रस्तुत गरिन् । गत शुक्रबार जाउलाखेलको ँमोक्ष’ र शनिबार आर्मी अफिसर्स क्लबमा आफ्ना सहयोगी कलाकारका साथ माधवीले साङ्गीतिक र कलात्मकताले भरपूर भारतीय शास्त्रीय नृत्य ओडीसी प्रस्तुत गर्दा नृत्यप्रेमी तथा पारखीहरू आनन्दले झुमेका थिए । भारतको उडिसा राज्यबाट सुरु भएको मानिने सो नृत्य विभिन्न चाडपर्वमा भगवान्को प्रार्थना गर्दै नाचिन्छ । माधवीको नृत्य–प्रस्तुतिसँगै करिब डेढ घन्टासम्म अन्य चारजना कलाकारले पनि विभिन्न आकर्षक नृत्य प्रस्तुत गरेका थिए ।

कलाधरको ँसिड्नीको सेरोफेरो’ विमोचित
कवि तथा लेखकका रूपमा नेपाली साहित्याकाशमा पहिचान बनाएका सर्जक कलाधर काफ्लेको नयाँ निबन्धसङ्ग्रह ँसिड्नीको सेरोफेरो’ गत शुक्रबार लोकार्पण गरिएको छ । विभिन्न विधामा आधा दर्जनभन्दा बढी पुस्तक एवम् अनगिन्ती अन्य फुटकर रचना गरिसक्नुभएका कलाधरले आफ्नो पारिवारिक अस्ट्रेलिया भ्रमणलाई निबन्धका रूपमा प्रस्तुत गर्नुभएको सो कृतिको विमोचन राष्ट्रकवि माधवप्रसाद घिमिरेले गर्नुभयो । वाङ्मय प्रतिष्ठानको आयोजनामा सम्पन्न कृति विमोचन कार्यक्रममा समालोचक रजनी ढकालले कृतिमार्फत यात्रा–निबन्धकारले राष्ट्रलाई कसरी सुसंस्कृत बनाउने भन्ने सवालमा चिन्ता गरेको उल्लेख गर्दै वातावरणीय, आर्थिक, सांस्कृतिकलगायतका विविध पक्षबाट समाजलाई कसरी सुधार्न सकिन्छ भन्नेमा आफ्नो लेखनीलाई ढालेको उल्लेख गर्नुभयो भने विशिष्ट अतिथिहरू प्रा.डा. वासुदेव त्रिपाठी, कार्यवाहक प्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेती, डा. निर्मोही व्यास, प्रा. रामप्रसाद दाहाल, प्रा.डा. वासुदेव काफ्ले र समारोहका सभापति साहित्यकार रामप्रसाद पन्तले पाठक वर्गले राम्रो पाठ्सामग्री पाएकामा कृतिकार कलाधर काफ्लेलाई बधाई दिनुभयो । साहित्यकार यादव भट्टराईको उद्घोषणमा सञ्चालित सो कार्यक्रममा प्रभा भट्टराई, भुवनहरि सिग्देल, रामबहादुर पहाडी र लक्ष्मण गाम्नागेले सुन्दर कविता वाचन गर्नुभएको थियो । कार्यक्रममा निबन्धकार कलाधर काफ्लेले अस्ट्रेलिया भ्रमण गर्दा आफूले प्राप्त गरेको अनुभव र अनुभूतिलाई जस्ताकोतस्तै उतार्ने प्रयास गरेको कुरा पनि उल्लेख गर्नुभएको थियो ।
सिड्नी यात्राका क्रममा खिचिएका विभिन्न आकर्षक दृश्ययुक्त रङ्गीन तस्बिरहरू समेत समेटिएको ँसिड्नीको सेरोफेरो’ पठनीय तथा सङ्ग्रहणीय पुस्तक रहेको चर्चा कार्यक्रमस्थलमा उपस्थित साहित्यप्रेमीहरूले गरेका थिए ।