माओवादीमा पाँच चिरा

माओवादीमा पाँच चिरा


नामको एकीकृत माओवादी पार्टीमा पाँचवटा समूह या उपसमूहहरू क्रियाशील भएको देखिएको छ । एउटा समूहको नेतृत्व स्वयम् अध्यक्ष प्रचण्डले लिनुभएको छ भने अर्को ठूलो समूहको नेतृत्व मोहन वैद्य किरणले गर्नुभएको छ । पाँच समूहमध्ये सबैभन्दा ठूलो समूह मोहन वैद्य नेतृत्वको मानिन्छ भने दोस्रो ठूलो समूहको नेता प्रचण्ड हुनुहुन्छ । प्रचण्डको पक्षमा देखिनुभएका डा. बाबुराम भट्टराईको आफ्नै बेग्लै समूह अस्तित्वमा छ भने नारायणकाजी श्रेष्ठ एउटा गुटको नेता हुनुहुन्छ । श्रेष्ठसँग विमति राख्ने अमिक शेरचनको पनि बेग्लै समूह रहेको छ । वैद्यको समूहमा सीपी गजुरेल, रामबहादुर थापा बादल, देव गुरुङ, पम्फा भुसाल, नेत्रविक्रम चन्द, धर्मेन्द्र बास्तोला, हरिभक्त कँडेललगायतका पुराना नेताहरू सामेल हुनुहुन्छ भने प्रचण्ड समूहमा पोष्टबहादुर बोगटी, हरिबोल गजुरेल, कृष्णबहादुर महरा, वर्षमान पुन, नन्दकिशोर पुन, जनार्दन शर्मा प्रभाकरलगायत हुनुहुन्छ । त्यसैगरी नारायणकाजीको समूहमा गिरिराजमणि पोखरेल स्थापित नेतामा पर्नुहुन्छ भने अमिक शेरचनसँग पुराना चर्चित नेता लीलामणि पोखरेल र शशि श्रेष्ठलगायत हुनुहुन्छ । बाबुराम भट्टराईको समूहमा टोपबहादुर रायमाझी, देवेन्द्र पौडेल, हिसिला यमी र रामबहादुर कार्कीलगायत हुनुहुन्छ । पाँच समूहमध्ये पुराना, परिपक्व र विचारले खारिएका नेताहरू वैद्यको पक्षमा देखिएका छन् । सबभन्दा इमानदार, देशभक्त र क्रान्तिकारीहरूको खेमाका रूपमा पनि वैद्य समूहलाई चिनिन्छ । प्रचण्डको पक्षमा नयाँ र चलाख मानिएका नेताहरूको बाहुल्य छ ।
पाँच समूहमध्येको सबैभन्दा ठूलो मोहन वैद्यले माओवादी पार्टीको पुनर्गठन गर्ने अन्तिम तयारी गर्नुभएको छ । वैद्यले आफ्नो बेग्लै पार्टी निर्माण गर्नुभएपछि बाँकी सबै एकातिर भए भने पद विभाजनमा प्रचण्डलाई सङ्कट पर्ने देखिएको छ । प्रचण्ड कृष्णबहादुर महरालाई पार्टीको महासचिव बनाउन चाहनुहुन्छ, तर बाबुराम भट्टराई महराको पक्षमा देखिनुहुन्न । उहाँ वैद्य समूह अलग भएपछि टोपबहादुर रायमाझीलाई उक्त पदमा देख्न चाहनुहुन्छ । उता नारायणकाजी भने गिरिराजमणि पोखरेललाई महासचिव बनाउने पक्षमा रहनुभएको छ । अमिक शेरचनलाई नै महासचिव बनाइनुपर्छ भन्ने अर्को समूहको धारणा छ । यसरी माओवादी पार्टीभित्रको गुट–उपगुटको अध्ययन गर्दा वैद्य समूहले बेग्लै पार्टी निर्माण गरेको अवस्थामा प्रचण्ड समूहमा पुनः अर्को विभाजन आउन सक्ने देखिन्छ । कम्तीमा तीनवटा अलग–अलग पार्टी प्रचण्ड समूहभित्रैबाट जन्मियो भने कुनै आश्चर्य हुने छैन । त्यसैले समयाक्रममा वैद्य समूह अलग्गिएपछि माओवादी पार्टी जम्मा चार पार्टीका रूपमा अस्तित्वमा आउन सक्ने सम्भावना छ ।
पार्टीभित्र देखिएको गुटले यतिबेला सबैभन्दा बढी पिरलो एकीकृत माओवादी अध्यक्ष प्रचण्डलाई परेको छ । पार्टीका नेतापिच्छेको गुट खडा गर्न सक्रिय भएपछि प्रचण्ड रनभुल्लामा परेका छन् । माओवादीमा पछिल्लो समयमा प्रधानमन्त्रीसमेत रहेका उपाध्यक्ष बाबुराम भट्टाराइको गुट देशव्यापी फैलिएको छ । भट्टराईले आफू प्रधानमन्त्री भएको मौकाको फाइदा उठाउँदै आफ्नो गुटलाई सक्रिय बनँएका हुन् । स्रोतका अनुसार बाबुराम पार्टीभित्र राम्रो शक्ति सन्तुलन कायम गर्न सफल भएका छन् । उनले ३० भन्दा बढी केन्द्रीय नेतालाई अफ्नो पकडमा पारेका छन् भने विभिन्न जिल्लामा पनि आफूनिकट नेताहरू उत्पादन गरिसकेका छन् । भट्टराई प्रधानमन्त्री हुनुभन्दा पहिले मुस्किलले १४ जना नेतालाई मात्र आफ्ना पकडमा राख्न सफल भएका थिए ।
त्यस्तै, माओवादीका अर्का उपाध्यक्ष नारायणकाजी श्रेष्ठ प्रकाशले पनि आफ्नो गुटलाई मजबुत बनाएका छन् । उनले पनि आफूनिकट नेताहरूलाई बेग्लै बोलाई बेलाबेलामा आफ्नो धारबारे छलफल गर्ने गरेका छन् । माओवादीमा प्रवेश गरेको अमिक शेरचनले पनि पार्टीभित्र आफ्नो गुट बनाएका छन् । उनले जनमोर्चाबाट माओवादीमा प्रवेश गरेकालाई आन्तरिक रूपमा सङ्गठित गरिरहेका छन् । त्यसमध्ये उपाध्यक्ष वैद्यको समूहरू केही दिनभित्रै पार्टी विभाजनको घोषणा गर्ने तयरीमा रहेको छ । कुनै चामत्कारिक निर्णय भएन भने माओवादी केही दिनभित्र विधिवत् रूपमै फुट्नेछ ।

प्रचण्डसँग बाबुराम सचेत
माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पछिल्लो समय प्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई छाडेर मोहन वैद्यसँग नजिकिन थालेका छन् । उनले बाबुराम भट्टराईको कार्यदिशा असफल भएको भन्दै वैद्यसँग मिलेर नयाँ क्रान्ति गर्नुपर्ने आवश्यकता भएको झाँसा वैद्यका नेताहरूलाई एकएक गरी फकाउन थालेका छन् । वैद्य पक्ष्का नेताहरूसँग भविष्यको ख्याल नै नगरी शान्ति र संविधानको कार्यदिशामा अघि बढ्दा पार्टी विभाजनको सङ्घारमा पुगेको प्रचण्डले निष्कर्षसमेत निकालेका छन् । उनले पार्टीलाई एकढिक्का बनाउन पनि नयाँ क्रान्तिको खाँचो औल्याउँदै अब क्रान्तिकै मार्ग अङ्गाल्नुको विकल्प नभएको बताउँन थालेका छन् । यता, वैद्य पक्षका नेताहरूले पनि पार्टी अध्यक्ष्ँ प्रचण्डले शान्ति र संविधानको कार्यदिशालाई त्यागी क्रान्तिको मार्गमा आए पार्टी एकता हुन सक्ने बताउँदै आएका छन् । तर, उनीहरूले अध्यक्ष प्रचण्डले सार्वजनिक रूपमै पार्टीले लिएको शान्ति र संविधानको कार्यदिशा असफल भएको भनी आत्मालोचना गर्नुपर्ने सर्त अघि सारेका छन् ।
माओवादी स्रँेतका अनुसार अध्यक्ष्ँ प्रचण्डले पार्टीभित्र देखिएका विवादलाई समाधान गरी अघि बढ्नुको विकल्प नभएको भन्दै उपाध्यक्ष मोहन वैद्यसँग पटकपटक फोन संवाद गरिरहेका छन् । उनले अहिलेको स्थिति सिर्जना हुनुमा सबै प्रधानमन्त्री बाबुरामको दोष भएको भन्दै आफू सधैं अग्रगामी क्रान्तिको पक्ष्ँमा रहेको उनले वैद्यसँग भनेका छन् । प्रचण्डनिकट एक केन्द्रीय नेताका अनुसार पार्टीभित्र देखिएको विवादबारे अध्यक्ष प्रचण्ड र वैद्यबीच पछिल्लोपटक विभिन्न चरणमा समेत छलफल भएको छ । स्रँेतका अनुसार उनीहरू पार्टीभित्रको विवाद समाधान गरेर अघि बढ्न तयार छन् । तर, वैद्य पक्षका केही नेताहरूले लिएको अडानका कारण सो वार्ता सफल हुन सकेको छैन ।
यसअघि अध्यक्ष प्रचण्डले पार्टी एकताका लागि आफूले पार्टी अध्यक्ष पद नै त्याग गर्न तयार रहेको जानकारी गराएका थिए । पार्टी एकीकरण गर्नका लागि आफूले कुनै कसर बाँकी नराख्ने भन्दै उनले पार्टीभित्र देखिएको विवाद समाधान गर्न केही साथीहरू बाधक बनेको आरोपसमेत लगाएका थिए ।
पार्टीभित्र देखिएको विवाद समाधान गर्ने भन्दै उपाध्यक्ष वैद्यसँग नजिकिएर पार्टीले लिएको कार्यदिशा असफल भएको निचोडमा पार्टी अध्यक्ष प्रचण्ड पुगेको भन्दै प्रधानमन्त्री बाबुराम भट्टराई अध्यक्ष्सग असन्तुष्ट बनेका छन् । उनले अध्यक्ष्ले दोहोरो चरित्र निर्वाह गरेको भन्दै उनले पनि आफूनिकट नेताहरूलाई सजग भएर पार्टीको काममा लाग्न निर्देशन दिएका छन् । गत शनिबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आफूनिकट केन्द्रीय नेतालाई बोलाई पार्टी अध्यक्षले दोहोरो भूमिका निर्वाह गरेको र यसले आफूहरूलाई कुनै पनि समयमा अप्ठ्यारो पार्न सक्ने भन्दै त्यसतर्फ सजग रहन भनेका छन् । उनले पछिल्लो समयमा सरकार र पार्टी अध्यक्षको धारणा फरकफरक हुने गरेको भन्दै यसले पार्टीभित्र अध्यक्षका लाइनमा केही गडबड छ भन्ने देखाउँछ, तपार्इंहरूले त्यसैअनुसार लिएर अघि बढ्नुहोला भनेका थिए । प्रधानमन्त्रीको निम्तोमा १५ जनाभन्दा बढी केन्द्रीय सदस्यको सहभागिता रहेको थियो ।

वैद्यको प्रतिवेदनमा अर्कै कुरा
एकीकृत माओवादीका उपाध्यक्ष मोहन वैद्यले आफूनिकट पार्टी नेता तथा कार्यकर्ताको तीनदिने राष्ट्रिय भेलामा प्रस्तुत गर्ने कार्यपत्र तयार पारेका छन् । नयाँ पार्टी स्थापना गर्नुको आवश्यकतालाई महत्वका साथ उल्लेख गरिएको कार्यपत्रमा पार्टी स्थापन गर्दादेखि हालसम्म भएका विभिन्न घटना पनि उत्तिकै महत्वका साथ उल्लेख गरिएको छ । वैद्यनिकट एक केन्द्रीय नेताका अनुसार माओवादीले जनआन्दोलन सुरु गर्दा लिएको नीति र अहिले पार्टी नेतृत्व तहबाट भएको निर्णयहरूबारे बुँदागत रूपमा उल्लेख गरिएको छ ।
विगतदेखि वर्तमानसम्म भन्दै पार्टीले विभिन्न चरणमा गरेको निर्णय र त्यसका कमजोरीका कारण पार्टीभित्र समस्या देखिएको भन्दै प्रतिवेदनमा पार्टी संविधासभाको चुनावपछि संसदीय दलदलमा फसेको उल्लेख गरिएको छ । पार्टी अध्यक्ष्ँ र प्रधानमन्त्री बाबुरामका कारण संविधानसभा विघटन भएको भन्दै यी दुई नेताहरूकै कारण संविधानसभाबाट जनचाहनाअनुसारको संविधान बन्न नसकी विघटन गरिएको बताएका छन् । उनले प्रतिवेदनमा माओवादी नेतृत्व पूर्णरूपमा भारतपरस्त भएको र उतैको निर्देशनमा चलेको बताएका छन् । भारतका एजेण्डाबिना कुनै पनि बैठक तथा छलफल नहुने गरेको उल्लेख गर्दै प्रतिवेदनमा जनआन्दोलनको मर्म र स्पिडलाई गंगा नदीमा लगेर बगाउने काम भएकाले नयाँ शक्तिको खाँचो देखिएकाले तपाईंहरूसँग परामर्श गर्नुपरेको उल्लेख गरेका छन् । त्यसैगरी प्रतिवेदनमा संविधानसभा विघटनका दोषी, पार्टीभित्र देखिएको विचलन, अध्यक्ष्ँ प्रचण्ड र बाबुरामको भूमिकाबारे पनि बुँदागत रूपमा उल्लेख गरिएको छ । स्रोतका अनुसार प्रतिवेदनमा पार्टीको नयाँ कार्य दिशा, अबको लाइन सङ्घर्ष र समीक्षा, शान्ति र संविधानको कार्यदिशालाई पनि उल्लेख गरेको छ ।
स्रोतका अनुसार पार्टीको प्रतिवेदनसँगै वैद्यले नयाँ पार्टीको संरचनाबारे पनि आन्तरिक खाका तयार गरिसकेका छन् । उनले आफू नयाँ पार्टीको संरक्षक बसेर महासचिव रामबहादुर थापालाई अध्यक्ष बनाउने प्रस्ताव तयार गरेका छन् । त्यसैगरी सीपी गजुरेल र देव गुरुङलाई उपाध्यक्ष, नेत्रविक्रम चन्दलाई महासचिव र पम्फा भुसाल र खड्गबहादुर विकलाई सचिव बनाउने तयारी गरेको छ । यदि भेलाले यीबाहेक नयाँ नाम प्रस्ताव गरेन भने यही संरचनामा पार्टी विस्तार गर्नेछ । त्यस्तै विभिन्न जिल्ला र राज्य समितिमा पनि बेग्लै संरचना बनाएका छन् । उक्त संरचनालाई पनि वैद्यले भोलाबाट पारित गराउने तयारीमा लागेका छन् ।
राजधानीमा हुने तीनदिने भेलामा बाह्र सयभन्दा बढीको सहभागिता हुने वैद्य पक्षका नेताहरूको अनुमान छ । नेवाः राज्य समितिको आयोजनामा गर्न लागिएको तीनदिने भेलामा आवास तथा बसोबासको व्यवस्था पनि नेवाः राज्य समितिका हितमान शाक्यले गरेका छन् ।

देउवाको माग पूरा भएपछि कुरा मिल्यो
मुलुक, प्रजातन्त्र र काङ्ग्रेस पार्टी गम्भीर सङ्कटमा पर्दा पनि त्यसप्रति उदासीन रही आफ्नै मात्र कुरा गर्ने पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले हठ नछोडेपछि नेपाली काङ्ग्रेस देउवाको माग पूरा गर्दै पार्टीमा एकताको वातावरण कायम गर्ने निष्कर्षमा पुगेको छ । देउवाको भूमिकाको कारण गत वर्षदेखि नै काङ्ग्रेसले असहजताको महसुस गर्दै आएको थियो । देशी, विदेशी शक्तिहरू काङ्ग्रेसलाई सिध्याउन सक्रियतापूर्वक लागिरहेका बेला देउवाले भने आफ्ना मानिसलाई पार्टीमा महत्वपूर्ण स्थान दिनुपर्ने भन्दै पार्टी गतिविधिमा असहयोग गर्दै आएका थिए । मूर्खका अगाडि देवताको पनि केही लाग्दैन भनेझैं अन्ततः सभापति सुशील कोइराला देउवाले भनेअनुसार गर्न बाध्य हुनुभएको छ । पार्टी सभापति र संसदीय दलको नेताका लागि भएको निर्वाचनमा पराजित भएपछि देउवाले जसरी भए पनि काङ्ग्रेस नेतृत्वलाई असफल तुल्याउने गतिविधि गर्दै आएका थिए । देउवाका गतिविधिलाई प्रधानमन्त्री बन्ने इच्छाको उपजका रूपमा लिने गरिएको छ, तर भ्रातृ संस्थाहरूमा आफ्नो पकड बलियो बनाउन उनले दर्शाएको व्यवहारलाई भने शङ्काका दृष्टिले हेरिएको छ । कतै देउवा फेरि पार्टी फुटाउने योजनामा लागेका हुन् कि भन्ने आशङ्का कतिपयले गर्न थालेका छन् । जे भए पनि भ्रातृ संस्थामा ँआफ्नो मान्छे’को पकड बलियो बनाउने देउवाको इच्छा सुशील कोइरालाले पूरा गरिदिनुभएको छ । अब तरुण दल र महिला सङ्घमा देउवाको ँबहुमत’ कायम हुने भएको छ । गत सोमबार सुरु भएको काङ्ग्रेस केन्द्रीय कार्यसमितिको बैठकले देउवाको माग पूरा गरेपछि मंगलबार जारी बैठकमा देउवाले पनि भाग लिए । सोमबारको बैठकमा सहभागीहरूले बाह्रबुँदे सम्झौता र संविधानसभाको निर्वाचन तथा त्यसयताका घटनाक्रमहरूको समीक्षा गर्न सुरु गरेका छन् । काङ्ग्रेस र प्रजातन्त्र रक्षात्मक अवस्थामा पुग्नुको कारणबारे सहभागीहरूले खोजी गर्न थालेका छन् । कतिपयले पार्टीका तीनैजना (सुशील कोइराला, रामचन्द्र पौडेल र शेरबहादुर देउवा) नेताहरू असफल भएकोले उहाँहरूले जिम्मेवारी परित्याग गर्नु उचित हुनेसम्मका राय प्रकट गरेका थिए । नेता नरहरि आचार्यले प्रजातन्त्र र काङ्ग्रेस यसरी अप्ठ्यारोमा पर्नुको कारणबारे चर्चा गर्दै क–कसको कारणले यस किसिमको अवस्था आएको हो तिनले जिम्मेवारी लिनुपर्ने विचार व्यक्त गर्नुभएको थियो । मंगलबारको बैठकमा पनि वक्ताहरूले काङ्ग्रेस र प्रजातन्त्रको भविष्यप्रति गम्भीर चिन्ता प्रकट गरेका थिए । सहभागीहरूले तत्काल महासमितिको बैठक बोलाइनुपर्ने माग गरेका छन् । चालू बैठकले महासमिति बैठकको तिथि तय गर्ने सम्भावना छ । बैठकमा आफ्ना धारणा राख्न अधिकांश केन्द्रीय सदस्यहरू इच्छुक भएकोले बैठक केही दिन अरू चल्ने देखिएको छ ।

अभिनेत्री जेसिकाद्वारा आत्महत्या
नेपाली चलचित्रकी नायिका तथा मोडल जेसिका खड्काले आत्महत्या गरेकी छिन् । जङ्गल क्विन, जङ्गल लभ, मेरो माया तिमीलाई, अचानकलगायतका चलचित्र र अनेकौँ टेलिचलचित्रमा अभिनय गरिसकेकी जेसिका मंगलबार बिहान उनी बस्दै आएकी काठमाडौं झोंछेस्थित डेरामा पासो लगाएर झुन्डिएको अवस्थामा फेला परेकी हुन् । आफ्नै भाइसँग बस्दै आएकी जेसिकाले बिहान अबेरसम्म पनि ढोका नखोलेपछि प्रहरीको उपस्थितिमा कोठाको ढोका खोली हेर्दा आत्महत्या गरेको अवस्थामा भेटिएकी थिइन् ।
इटहरीकी स्थायी बासिन्दा ज्योति केही वर्षअघि गायक प्रकाश ओझासँगको सेक्स भिडियोका कारण विवादमा परेपछि केही वर्ष विदेशिएर फर्कंदा ँजेसिका’ बनेर नेपाली चलचित्र क्षेत्रमा सक्रिय रहँदै आएकी थिइन् । जेसिकाद्वारा अभिनीत लक्की सेभेन र गहिराइ नामक चलचित्र रिलिज हुन बाँकी छन् । उनले आत्महत्या किन गरिन् भन्ने सवाल यतिबेला निकै चासो र चर्चाको विषय बनेको छ । प्रहरीले केही व्यक्तिलाई नियन्त्रणमा लिएर जेसिकाको आत्महत्याबारे सोधपुछ गरिरहेको बुझिएको छ ।

गोरखा मसेलको तनाव चुलिँदै
अनेरास्ववियु क्रान्तिकारी र नेविसङ्घबीच गोरखा मसेलको विन्द्रावती उमाविमा भएको झडपको घटना साम्य हुनुको बदला झन् चर्किंदै गएको छ । गत बिहीबार भएको झडपमा अखिल क्रान्तिकारी र माओवादी कार्यकर्ताको कुटाइबाट नेविसङ्घका शीतल गुभाजू, विशाल बगाले, सञ्जीव भट्ट, सुदीप वस्तीसहितका चार विद्यार्थी घाइते भएका थिए ।
गत २५ गते बिहीबार साँझ बस चढेर घर जाँदै गरेका माओवादीका राज्य समिति सदस्य गोपाल बराइलीमाथि आक्रमण भएपछि घटनाले चर्को रूप लियो । विद्यालय प्रशासनले अनिश्चितकालका लागि भन्दै विद्यालय बन्द गरायो भने २८ गते आइतबार विद्यालय व्यवस्थापन समिति, शिक्षक–अभिभावक सङ्घ, राजनीतिक दलका प्रतिनिधिहरू सम्मिलित बैठकले निकास निकाल्ने भनिए पनि अहिलेसम्म विवाद जारी नै छ । घटनाको विरोधमा माओवादी र नेविसङ्घ दुवैले अलग–अलग विज्ञप्ति जारी गरी दोषीलाई कडा कारबाहीको माग गरेका छन् । माओवादी कार्यकर्ता बुद्धि वस्ती कुटिएको भन्दै रातको समयमा सदरमुकामबाट गएको प्रहरीको टोलीले काङ्ग्रेस कार्यकर्ता भव देवकोटा र नारायण पाण्डेलाई गिरफ्तार गरेको छ ।
शनिबार बिहान माओवादी कार्यकर्ता मसेल र घ्याम्पेसालमा बिहीबार र शुक्रबार भएको घटनाको विरोधमा कोणसभा गर्न सदरमुकामबाट बसमा गएका थिए । पूर्वसभासद् अमर तमु तथा माओवादीका लेखबहादुर थापा सम्मिलित टोली गएको सो बसमा हतियार रहेको भन्ने सुराकीको आधारमा प्रहरीले बस खानतलासी गर्दा ३९ वटा रड भेटिएको थियो । ती सबै प्रहरीले बरामद गरेको छ । सदरमुकामबाट माओवादी टोली गाउँमा आउँदै गरेको छ भन्ने सुनेपछि मसेलका काङ्ग्रेस कार्यकर्ता भागेर अन्यत्र गाउँ पुगेको काङ्ग्रेस स्रोतले जनाएको छ । गाउँमा तनाव हुन सक्ने आशङ्कामा सदरमुकाम र आरुघाट दुवैतिरबाट प्रहरी निरीक्षकले नेतृत्व गरेको टोली त्यसतर्फ गएको थियो । पुनः बिहीबार नेविसङ्घका विद्यार्थी कुटेको आरोपमा प्रहरीले माओवादी कार्यकर्ता नरेन्द्र वस्तीलाई पक्राउ गर्‍यो । आफ्ना कार्यकर्तालाई पक्राउ गरी निर्घात कुटपिट गरेको भन्दै शनिबार साँझ माओवादीले सदरमुकाममा नारा, जुलुस र विरोधसभा गरेपछि घटना चर्किंदै गएको बुझिएको छ । –छविलाल बगाले

हत्याका योजनाकारद्वारा सिंहदरबारमा तगारो
सिंहदरबारमा गोरखा जिल्ला फुजेल गाविस–७ का नूरप्रसाद अधिकारीले आफ्ना भाइ कृष्णप्रसाद अधिकारीको हत्यामा संलग्न व्यक्तिले प्रधानमन्त्री कार्यालयमा संरक्षण पाइरहेको आरोप लगाउँदै तत्काल कारबाही गर्न माग गरेका छन् । भाइको हत्यामा कृष्णप्रसाद अधिकारी, जानुका पौडेल, छविलाल पौडेल, भीमसेन पौडेल, पर्शुराम पौडेल, रामप्रसाद अधिकारी, विष्णु तिवारी र कालीप्रसाद अधिकारी संलग्न रहेको दाबी गर्दै उनीहरूलाई तत्काल कारबाही गरी आफूलाई क्षतिपूर्तिसहित घर फर्कने वातावरण गराइदिन उनले माग गरेका छन् ।
राजधानीमा पत्रकार सम्मेलन गर्दै पीडित अधिकारीले ०६१ जेठ २४ गते कृष्णप्रसाद अधिकारीको हत्या गरेपछि मामाको छोरा प्रकाश लामिछानेलाई अपहरण गरी मार्न खोज्ने जानुका पौडेल हाल प्रधानमन्त्रीको सचिवालयमा कार्यरत रहेको दाबी उनले गरे । ँभाइ मारेको विषयलाई स्थगित नगरे तेरो वंशै नास गरिनेछ’ भन्ने धम्की त्यहीँबाट आफू र आफ्ना बुबाआमालाई दिइरहेको गुनासोसमेत उनले सञ्चारकर्मीसमक्ष गरे ।
भाइका हत्यारा र प्रकाश अपहरणका प्रमुख योजनाकार जानुका पौडेल रहेको र उनैको भनसुनका आधारमा आफूलाई प्रधानमन्त्री सचिवालयले सिंहदरबार जान रोक लगाएको आरोप लगाए । गोरखाका प्रमुख जिल्ला अधिकारी कमलप्रसाद भट्टराईसँग हत्याराहरूलाई कारबाहीका लागि माग गर्दा ँतपाईं नेपाली कुरा त बुझ्नुहुन्छ नि’ भन्दै आफूलाई गोरखा जानसमेत रोक लगाइएको आरोप पनि नूरप्रसादले लगाएका छन् ।

लैङ्गिक हिंसा रोक्न संयुक्त प्रयासको खाँचो
लैङ्गिक हिंसा रोक्न संयुक्त अभियानको खाँचो रहेको कुरा शनिबार आयोजित एक कार्यक्रमका वक्ताले बताएका छन् । महिला सशक्तीकरण विकास केन्द्र नेपालद्वारा राजधानीस्थित राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रममा प्रमुख अतिथि एमाले नेतृ तथा पूर्वऊर्जामन्त्री राधा ज्ञवालीले पुरुष र महिला दुवैको प्रयासबिना एक्लै केही नहुने विचार व्यक्त गर्नुभयो ।
युवा तथा खेलकुद मन्त्रालयको सहयोगमा आयोजित एकदिवसीय लैङ्गिक हिंसाविरोधी कार्यक्रममा मन्त्रालयका सचिव सुशील घिमिरेले पनि लैङ्गिक हिंसा रोक्न युवा परिचालन गर्नुपर्ने आवश्यकता रहेको बताउँदै कानुनले मात्रै कुरीति रोक्न नसकिने जानकारी गराउनुभएको थियो । शान्तिकुमारी कार्कीको अध्यक्षता, सञ्जु थापाको सञ्चालन र मुना कँडेलको स्वागतबाट सुरु भएको उक्त कार्यक्रममा पूर्वसांसद एवम् विषयविद् सपना प्रधान मल्लले लैङ्गिक हिंसाका विभिन्न रूप, कानुनी तथा व्यावहारिक उपचार एवम् विभिन्न सङ्घ–संस्थाले निर्वाह गर्नुपर्ने दायित्वबारे व्यापक प्रकाश पार्नुभएको थियो । कार्यक्रममा पूर्व खेलकुद राज्यमन्त्री गोपी अछामीसहित करिब दुई सय महिलाको सक्रिय सहभागिता रहेको थियो ।

बागमती महोत्सव सुरु
ँहरित काठमाडौं स्वच्छ बागमती’ भन्ने मूल नाराका साथ ‘बागमती नदी महोत्सव २०१२’ सुरु भएको छ । विभिन्न सङ्घसंस्थाहरूको सहकार्यमा गत शनिबारदेखि सुरु भएको महोत्सव ७५ दिनसम्म जारी रहने आयोजकले जानकारी दिएका छन् । महोत्सवका दौडानमा नदीकिनार, घाट तथा टोल सफाइ, वृक्षरोपण, सम्पदा यात्रा, विद्यार्थी चेतना कार्यक्रम, प्लास्टिक विस्थापन अभियान, स्वच्छ ऊर्जा, साइकल यात्रा, बागमती अन्तरक्रिया, चरा अवलोकन, घाटदेखि घरसम्म बागमती यात्रा अभियान, गँड्यौला सम्मेलन, बागमती इको च्यालेन्ज, जलयात्रा, चेतनामूलक, मनोरञ्जनात्मक कार्यक्रम आदि गरिने महोत्सवका संयोजक मेघ आलेले जनाए ।

जन्मोत्सव मनाउन दुई हजारभन्दा बढीको समिति
पूर्वराजा ज्ञानेन्द्रको ६६औँ शुभजन्मोत्सव मनाउन यसपालि भव्य तयारी गरिने भएको छ । सम्बद्ध सूत्रबट प्राप्त जानकारीअनुसार त्यसनिम्ति प्राध्यापक डा. श्यामकिशोर सिंहकोअध्यक्षतामा दुई हजार एक सय छैसठ्ठी (२१६६) सदस्यीय ँश्री ५ महाराजाधिराजको ६६औँ शुभजन्मोत्सव मूल समारोह समिति’ गठन भएको छ । सर्लाहीका मूल बासिन्दा सिंह त्रिभुवन विश्वविद्यालयमा लामो समय सेवा पुर्‍याउनुहुने विद्वान्का रूपमा पनि चिनिनुहुन्छ । समितिको महासचिवमा राधेश्याम थापा र सहअध्यक्षमा श्रीमती गीता राणा तथा नवराज गुरुङ रहनुभएको छ । मूल समितिअन्तर्गत दुई सय एकहत्तर जनाको व्यवस्थापन समिति निर्माण गरिएको छ । समितिले असार २२, २३ र २४ गते विभिन्न कार्यक्रमको आयोजना गरी जन्मोत्सव मनाउने बताइएको छ । स्मरणीय छ, गणतन्त्र घोषणापछि पनि पूर्वराजाको जन्मोत्सव असार २३ गते विभिन्न कार्यक्रम गरी भव्यतापूर्वक मनाउने गरिएको छ ।