सदस्य बनाउन म त एक पैसा पनि खर्च गर्दिन -मूछेत्र गुरुङ [एनआरएनए यूके(अध्यक्ष पदको प्रत्यासी)]

सदस्य बनाउन म त एक पैसा पनि खर्च गर्दिन -मूछेत्र गुरुङ [एनआरएनए यूके(अध्यक्ष पदको प्रत्यासी)]


mucchetraसन् २०१०को डिसेम्बरमा अत्यधिक मत ल्याएर बेलायतको सबैभन्दा ठूलो जातीय संस्था तमू धीं यूकेमा अध्यक्ष चुनिएका लम्जुङ्गमा जन्मिएका भू.पू. ब्रिटिश आर्मी मूछेत्र गुरुङले यही सेप्टेम्बरमा हुँदै गरेको गैरआवासीय नेपाली संघ, बेलायतको अध्यक्ष पदमा उमेदबारीको घोषणा गरेका छन् । एक सफल व्यापारीका रुपमा गनिएका मूछेत्रका मनि एक्सचेन्ज र ट्राभल्स एजेन्सीहरु छन् । बितेका खासगरी दुई कार्यकालबाट अत्यन्तै नराम्रो स्थितिबाट गुज्रिरहेको संस्थालाई नेतृत्व दिन खोज्ने आफ्नो आकांक्षालाई आफूले च्यालेन्जको रुपमा लिएको बताउने गुरुङलाई सेप्टेम्बरमा लगभग आधा दर्जन व्यक्तित्वहरुसँग प्रतिष्पर्धा गर्नु परे पनि उनलाई अहिलेदेखि नै प्रवल दावेदारको रुपमा लिइएको छ । जातीगत, राजनीतिकलगायतका संघसंस्थाहरु सँगको संलग्नता रहेको व्यक्तिहरुबाट गैरआवासीय नेपाली संघमा उमेदवारी दिन नपाउने केन्द्रबाट सार्वजनिक गरिएको आचार संहितालाई खासगरी बेलायतमा पूर्ण सहमतिको रुपले नहेरिएको भए पनि केन्द्रको हरेक निर्णयलाई पूर्ण सहमति दिने लचकता साथ आएका मूछेत्र सबैलाई एकत्रित गरेर गैरआवासीय नेपाली संघ बेलायतलाई सशक्त बनाउन आफ्नो अठोट रहेको बताउँदछन् ।

०० गैरआवासीय नेपाली संघको बेलायत शाखाको हुन गइरहेको चुनावमा अध्यक्ष पदको लागि उमेदबारी दिँदै हुनुहुँदो रहेछ, सबैभन्दा पहिला तपाईँलाई सफलताको लागि शुभकामना दिन्छु ।
००००० ल, थ्याङ्क्यू भेरी मच ।

०० तपाईँले एनआरएनए यूकेको वर्तमान अवस्थाको बारेमा कस्तो जानकारी राख्नुभएको छ ?
००००० वर्तमान अवस्था सबैलाई थाहा भएको हो, मलाई मात्र होइन । राम्रो छैन क्यारे । आर्थिक अनि सामाजिक पक्ष राम्रो छैन, एक आपसमा मनमुटाउ छ, सबैतिर बिग्रेको छ । प्रशस्तै आर्थिक घोटाला भएको प्रतिवेदनको निष्कर्श आएको छ । एकबाट अर्कोले गरेको कामलाई राम्रो नदेख्ने अवस्था छ । केही समयअघि बडो मुश्किलले मिलेको हो । अझै पनि सबै मिलेका भने छैनन् । सबैको साझा संस्थाको रुपमा रहेको संस्थामा सबैको चासो भएकोले गदा पनि संस्थामा मनमुटावहरु हुनु स्वभाविक नै हो । विभिन्न विचार भएका मानिसहरुको साझा थलोको रुपमा रहेको संस्थाभित्र साझा मतको विस्तार गर्नेतर्फ लाग्नु पर्ने अवस्था देखेको छु ।

०० त्यस्तो नराम्रो अनि अप्ठ्यारो अवस्थामा रहेको संस्थालाई नेतृत्व दिनको लागि तपाईँ तत्पर हुनुमा तपाईँको वास्तविक आडचाहिँ के हो त ?
००००० यस्तो नराम्रो अवस्थामा रहेको संस्थालाई लिड गर्नको लागि मैलेचाहिँ मौकाको रुपमा लिएको छु । एक च्यालेन्जको रुपमा लिएर संस्थालाई फेरि पहिलेको जस्तो बलियो र सम्वृद्ध पार्छु । मेरो अनुभव अनि मेरो रेकर्ड नै मेरो आड हो । म कुनै पार्टी वा जातिलाई प्रतिनिधित्व गरेर आएको होइन । सबैले साथ दिए, विरोध नगरे म संस्थालाई सम्वृद्ध बनाउँछु ।

०० तपाईँलाई किन र कसरी लाग्छ, तपाईँलाई सबैले साथ देलान्, विरोध नगर्लान् भन्ने ? के पहिलेका नेतृत्वकर्ताहरुले पनि त्यस्तो अपेक्षा राखेका थिएनन् होलान् र ?
००००० साथीहरुले के गरे र के गरेनन् भन्नु भन्दा मलाई लाग्छ, म सबलाई राम्ररी सुन्छु, उहाँहरुको विचार सुनेर आफ्नो विचार इमान्दारिताका साथ राख्छु, मलाई लाग्छ, मेरो त्यो प्रयासमा मलाई सबैको साथ प्राप्त हुनेछ । साथीहरुलाई मिलाएर राख्न खासगरी मलाई लाग्छ, मैले जानेको छु ।

०० तपाईँ भन्दै हुनुहुन्छ, सबैलाई मिलाएर लान्छु, र तपार्इँलाई ज्ञान पनि छ कि वर्तमान हालातको एनआरएनए यूके अत्यन्तै बेहालातको छ, लथालिङ्ग हुने अवस्थामा छ । अनि तपाईं, तमू धींको इतिहासमा पहिलोपटक चुनाव जितेर अध्यक्ष भएको व्यक्ति हुनुहुन्छ । तमू धींजस्तो जातीय संस्थामा पनि तपाईँ निर्विरोध चुनिनु भएको थिएन, तमूहरुको पनि तपार्इँलाई पूर्ण सम्मती थिएन । तपाँईको सबै बेलायतबासी नेपालीहरुलाई एकजुट बनाएर वा मिलाएर लान सक्छु भन्ने भरोसाको आधार के हो ?
००००० हो, त्यो दुई वर्षको तमू धीं बेलायतको कार्यकालको अनुभवको आधार हो भन्छु म मुख्यतः, किनकि तपाईँलाई थाहै छ, तमू धीं एक ठूलो संस्था हो जसले गोर्खा कप, नेपाली मेलालगायतको ठूलो सम्पूर्ण बेलायतबासी नेपालीहरुलाई समेट्ने प्रतिष्ठाको इभेन्टहरुको आयोजना गर्दछ । त्यो कार्यहरुको अनुभव नै मेरो मुख्य आधार हो । त्यो क्रममा बेलायती नेपाली समाजका विधिन्न संघसंस्थाहरुसँग गरिएका कार्यगत एकताको, ती संघसंस्थाहरुबाट जितिएको भरोसाको आधार नै सबै बेलायतबासी नेपालीहरुलाई मिलाएर लान सक्छु भन्ने मेरो भरोसाको आधार हो ।

०० केन्द्रले पनि आचार संहिता भनेर राजनीतिक, जातिगतलगायतका संघसंस्थाहरु सँगको संलग्नता रहेकाहरु गैरआवासीय संस्थामा उमेदबारी दिन नपाउने भनेर भर्खरै प्रकाशमा ल्याएको छ, त्यो त संस्थाको स्थापनामा नै भनिएको थियो …..जातिगत, राजनीतिक, क्षेत्रीयता तथा वर्गीयता र जातीयता विहीन संस्था गरआवासीय नेपाली संघ हो । तर तपाईँलाई थाहै हुनुपर्दछ, बेलायतमा त वास्तवमा भन्ने भए, विविध पार्टीगत कोटाहरु नै छुट्टाइन्छ संस्थाको पदपूर्ति गर्ने क्रममा, त्यो पनि खुलम्खुल्ला । के प्रतिक्रिया छ तपार्इँको यस बारेमा ?
००००० थाहा छ, तर मेरो विचारमा यो त्यसरी पार्टीहरुको लागि भनेर कोटा बाँडिएको होइन होला । संस्थालाई राम्रो होस् भनेर सबैबाट सहयोग गर्ने हातहरु जुटाइएको हो । संस्थामा पक्कै नै राजनीतिक, जातिवादी अनि क्षेत्रीय सोँचहरुको स्थान हुँदैन, तर आम व्यक्तिहरुमा यी सबै सोँचहरु अस्तित्वजनक चेतनाको रुपमा रहेको हुन्छ । त्यस्ता चेतनाहरुले नै व्यक्तिको व्यक्तित्वलाई सिँगारेको हुन्छ । हामी त्यो चाहान्छौं कि तिनका त्यस्ता चेतनाहरु, गैरआवासीय नेपाली संघभित्र आएपछि वाहिर रहून् । संस्थालाई चलाउनका लागि समाजमा प्रभाव पार्न सकिने मानिसहरुलाई ठाउँ दिने क्रममा त्यस्ता व्यक्तिहरुले जातीय, पार्टीगत वा क्षेत्रगत संस्थाका प्रतिनिधित्व गरेको लाग्ने भान होला, तर त्यो होइन, उहाँहरुको कार्य दक्षतालाई ठाउँ दिन खोजिएको हो भन्ने लाग्छ मलाई ।

०० बेलायतमा चलेको प्रचलनअनुसार एनआरएनए यूकेको नेतृत्व गर्नेले आफैले सदस्यहरु बटुल्ने गर्दछन् र त्यो क्रममा तिनले नै सदस्यहरुको सदस्यता शुल्क बुझाई फारामहरु संकलन गर्दछन् । तपाईँ आफ्नो उमेदवारीका लागि कतिजति लगानी गर्दै हुनुहुन्छ त ?
००००० (हाँस्दै) म त एक पैसा पनि खर्च गर्दिन । म कमाउनका लागि आएको होइन, जसमा लगानी गरेर मुनाफा खोजिन्छ । मेरो संस्थागत अनुभव र समाजका लागि केही गरुँ भन्ने भावनाले गर्दा नै म संस्थालाई अगुवाइ गर्नको लागि लागीपरेको हुँ । निश्चित समयबाट यहाँ बसोबास गरिरहेका सबै साथीहरु गैरआवासीय नेपालीहरु हुनुहुन्छ । सबै साथीहरुले माने पनि, नमाने पनि यहाँ गैरआवासीय नेपाली संघ छ, जसले प्रत्यक्ष रुपमा सबैको प्रतिनिधित्व गरेको हुन्छ । आफ्नो प्रत्यक्ष सरोकार परेको संस्थामा सदस्यता लिएर त्यहाँ भइरहेको हरेक पक्षसँग जानकार हुनु सबै साथीहरुको अधिकार र कर्तव्य पनि हो । मलाई लाग्दैन, साथीहरुको अधिकारलाई मैले केही पाउण्डको दरले किन्नुपर्दछ र साथीहरु त्यो केही पाउण्डमा आफ्नो आत्मालाई धीतो राखेजस्तो हालातमा बस्न नै चाहानुहुन्छ ।

०० बाहिर सर्वत्र सुनेअनुसार, गैरआवासीय नेपाली संघ पैसावालाहरुको संस्था हो भनिन्छ नी । देखिरहनु भएको छ, गैरआवासीय नेपाली संघका अध्यक्षहरुबाट भइरहेका च्यारिटेबल कार्यहरुलाई नजरमा राखेर भन्दा के भन्नुहुन्छ ?
००००० वास्तवमा म त्यो सोँच्दिन । यो संस्थामा भाग्यवश हामीसँग त्यस्ता अध्यक्षहरु आए र छन् जसका मनका साथ धन पनि छ । धनीहरुको संस्था भनेर ट्याग लगाउन सकिँदैन किनकि हामीले लगानीका साथ प्रविधिहरुको पनि कुरा गर्दछौं । समाजमा रहेका व्यावसायीहरुलाई लगानी गर्ने वातावरण खासगरी नेपालमा मिलाउनेतर्फ काम गर्ने, वौद्धिक व्यक्तित्वहरुका ज्ञानहरुलाई नेपालमुखी गर्ने कामलाई सहज गर्ने वातावरणको निर्माण गर्नका लागि संस्थालाई नेतृत्व गर्ने व्यक्ति वा संस्थामा लाग्ने व्यक्ति पैसावाला हुनुपर्दछ भन्ने छैन, समाजमा प्रभाव पार्न सक्ने चाहिन्छ भन्ने मलाई लाग्दछ । हुन त एक पटक, संस्थाका संस्थापक केन्द्रीय पूर्व अध्यक्ष उपेन्द्र महतोले एक सेमिनारमा भनेका थिए ..तपाईँहरु पहिला सम्पन्न बन्नुहोस् अनि बल्ल संस्थामा आउनुहोस् ।..उहाँको विचारमा हामी संस्थामा दिनका लागि आएका हौं, लिनका लागि होइन भन्ने होला ।

०० गत सालको अगष्टको ३१ तारिखमा भएको संस्थाको तेस्रो काउन्सिलको बैठकमा संस्थालाई बेलायतभरि पकेटवाइज मुभमेन्टको रुपमा चलाउने प्रक्रियाअनुसार संघसंस्थाहरुको सहभागिता गराइएको थियो र त्यो क्रमलाई निरन्तरता दिने भनिएको थियो । के तपाँईलाई लाग्दैन, संस्थाको त्यो प्रयासले संस्थालाई महासँघको अवधारणामा ढाल्न थालेको छ ? संघसंस्थाहरुको प्रत्यक्ष सहभागिता रहने हो भने संस्था महासंघ बन्दछ, जसमा जातीयता, क्षेत्रीयता, वर्गीयतालगायत राजनीतिक पार्टीगत संघसंस्थाहरुको आधिकारिक संलग्नता रहनेछ ।
००००० यो गम्भीर प्रश्न हो । मलाई लाग्दछ, यसमा संस्थाका अग्रजहरुसँग छलफल गर्नुपर्दछ । बेलायती नेपाली समाजमा एक साझा संस्थाको जरुरत छ, निश्चय नै गैरआवासीय नेपाली संघ बेलायतले त्यसको कमी पूरा गर्दछ तर विगतमा संस्थामा भइरहेको गडबडी आदिले गर्दा संस्था अहिले नाजुक हालातमा गुज्रिरहेको छ । त्यसको कडी मिलाउने क्रममा तेस्रो काउन्सिल वैठकमा संघसंस्थाहरुको सहभागितालाई प्रभावकारी बनाउन थालिएको हो । यसमा राम्रो र नराम्रो पक्षहरु अवश्य नै छन् । मलाई अग्रजहरुसँग यसबारे छलफल गर्नुपर्दछ यसबारे राम्रोसँग बुझ्नको लागि ।

०० तपाईँले केन्द्रका काम तथा प्रयासहरुसँग बेलायती एनआरएनहरुको तालमेललाई कसरी मिलाएर लानुहुनेछ ? यो प्रश्न यसैले पनि हो कि, धेरैअगाडि देवमान हिराचन केन्द्रीय अध्यक्ष भई एनआरएन परिचय पत्रको थालनी हुनासाथ आफ्नो नाममा पहिलो परिचय पत्र लिएको सन्दर्थलाई बेलायतबाट स्वीकार गरिएको थिएन । केन्द्रको विरोधको रुपमा तत्कालीन बेलायती कार्यसमिति रहेको थियो ।
००००० हाम्रो गैरआवासीय नेपाली संघको संरचना नै त्यस्तो छ कि हामी केन्द्रसँग अट्याच्ड हुनु नै पर्दछ । हामी बेलायती एनआरएनहरुले केन्द्रको नीति निर्माणलगायतका विविध निर्णयहरुमा उल्लेखनीय भूमिकाका साथ हाम्रो उपस्थिति राख्ने नै छौं तर केन्द्रको विरोधको लागि नभई संस्थाको बेटरमेन्टको लागि हाम्रो पोजिसन रहनेछ । म केन्द्रलाई हेडक्वार्टरको रुपमा लिन्छु ।

०० गैरआवासीय नेपाली संघको मागहरुलाई सम्वोधन गर्ने क्रममा नेपाल सरकारबाट भएको सहमतिस्वरुप आएको गैरआवासीय नेपाली नागरिकताको प्रावधानलाई तपाईँ कसरी हेर्नुहुन्छ ?
००००० म त वास्तवमा भन्ने भए अत्यन्तै सकारात्मक रुपमा हेर्दछु । मेरो व्यक्तिगत विचारमा राजनीतिक अधिकार नदिएको भए तापनि सरकारबाट प्राप्त भएको यो गैरआवासीय नेपाली नागरिकतालाई गैरआवासीय नेपाली संघको मागहरु मध्येको एक प्रमुख माग पूरा भएको मान्दछु ।……….

०० …….तर नागरिक भन्ने शब्दलाई राजनीतिक अधिकारहीन गराइनु या त शब्दहरुको गलत प्रयोग, या गैरआवासीय नेपाली संघको मुखमा बुझो लगाउने काम भएको होइन र ? यसबारे वास्तवमा संस्थाबाट प्रभावपूर्ण खोज गरिनुपर्दछ भन्ने तपाईँलाई लाग्दैन ?
००००० सबैभन्दा पहिला जे र जति हात लाग्दछ, त्यो लिनु पर्दछ भन्ने मेरो व्यक्तिगत विचार हो । गैरआवासीय नेपाली नागरिकताले हामीलाई नेपालमा लगानी गर्न, विभिन्न व्यवसायहरु गर्न, आवतवाजतलगायत विक्री वितरणमा निक्कै नै सहजता प्रदान गर्नेछ, राजनैतिक संलग्नता राखेको खासगरी नहुने भनिएको संस्थाले राजनीतिक अधिकारहीन गैरआवासीय नेपाली नागरिकताको विरोध गर्नु, मेरो विचारमा अर्थपूर्ण हुँदैन ।

०० धन्यवाद, मेरो यूके डट कमको तर्फबाट बेलायतबासी आफ्ना भोटरहरुलाई के सन्देश दिनु चाहानुहुन्छ ?
००००० निपक्ष र निःस्वार्थ किसिममा म गैरआवासीय नेपाली संघको बेलायत शाखालाई सम्वृद्ध र बलियो बनाउनका लागि आफ्नो उमेदवारी दिएको छु । मेरो अनुभवको आधारमा मलाई लाग्दछ, म संस्थालाई फेरि पहिलेको जस्तै विशाल बनाउन सक्छु । आफ्नो अधिकारको प्रयोग गरी कसैले सदस्यता शुल्क बुझायो भन्दैमा आफ्नो अमूल्य मतलाई सस्तो नबनाउन हुन आग्रह गर्दै बेलायतबासी नेपालीहरुमा मलाई एक मौका दिन अनुरोध गर्दछु ।