गैर आवासीय नेपालीहरुप्रति नेपाल सरकार र नेपाली जनताको अपेक्षा छ: लामिछाने

गैर आवासीय नेपालीहरुप्रति नेपाल सरकार र नेपाली जनताको अपेक्षा छ: लामिछाने


लण्डन । गैर आवासीय नेपाली अन्तर्राष्ट्रिय समन्वय परिषद्का पूर्व अध्यक्ष जीवा लामिछानेले मुलुकको विकासका लागि गैर आवासीय नेपालीहरुको जिम्मेवारी थप बढेको बताएका छन् । विहीबार एनआरएनए यूकेले लण्डनस्थित ब्लू आर्किड रेष्टुरेण्टमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले भुकम्पबाट क्षतिग्रस्त मुलुकको पुननिर्माण गर्न सक्दो सहयोग गर्नुपर्नेमा जोड दिए । भूकम्प गएपछि गैर आवासीय नेपाली संघले आव्हान गरेको तत्काल राहत संकलनमा संसारभरका गैर आवासीय नेपालीहरुको उत्साह जनक साथ, समर्थन र सहयोग पाएको लामिछानेले बताए । उनले बर्तमान कार्यसमिति र विशेष गरी अध्यक्ष शेष घलेको काम अत्यन्तै सह्रानीय रहेको औंल्याएका थिए । पारिवारिक भ्रमणको शिलशिलामा बेलायत आइपुगेका लामिछानेले नेपाल सरकार र नेपाली जनताको अपेक्षा पनि गैर आवासीय नेपालीहरुप्रति रहेको दोहो-याउंदै अहिले मुलुकका लागि केही गरेर देखाउने बेला भएको उल्लेख गरे ।
कार्यक्रममा देशान्तर साप्ताहिकका प्रधान सम्पादक एवं वरिष्ठ पत्रकार कवीर राणाले संविधानको मस्यौदामा एनआरएनले उठाएको माग पूर्ण रपमा नसमेटिइएको जिकिर गरे । उनले विश्वका अधिकांश मुलुकको संविधानमा व्यवस्था भएअनुरुप नेपालले पनि गैर आवासीय नेपालीहरुलाई राजनीतिक अधिकारहीन नागरिकता दिएको हुन सक्ने औंल्याए । प्रतिस्पर्धाको जमानामा आफ्नो लगानी सुरक्षित गर्न पनि राजनीतिक अधिकार सहितको नागरिकता आवश्यक रहेको बताउँदै उनले अझै पनि सरकारलाई दबाब दिन सुझाए ।
एनआरएनए यूकेका अध्यक्ष महेन्द्र कंडेलको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा गैर आवासीय नेपाली संघका संरक्षकहरु महन्त बहादुर श्रेष्ठ, मे.रि. डमर घले, सूर्य गुरुङ र कुल आचार्य सहभागी थिए ।
कार्यक्रममा उपाध्यक्ष सूर्य नेम्वाङले धन्यवाद दिएभने आर्इसीसीका सल्लाहकारसमेत रहेका नेपाली कांग्रेसका युवा नेता विश्व आदर्श पण्डितले धन्यवाद ज्ञापन गरेका थिए । एनआरएनए यूकेका महासचिव राजकुमार त्रीपाठीद्धारा सञ्चालित उक्त कार्यक्रममा आर्इसीसी सदस्यहरु पशुपति भण्डारी, विजन भट्ट, सुरेन्द्र श्रेष्ठ, थर्क सेन, उपाध्यक्षहरु कृष्ण तिमिल्सीना, सूर्य नेम्वाङ र शान्ति थापा कुंबर, सचिव डासुराम पाण्डे, सदस्य फडिन्द्र भट्टाई, सल्लहकारहरु सुवाससिंह गुरुङ, चित्र बहादुर गुरुङ, सोलिसिटर राजु थापा, बीबीसी नेपाली सेवाका लण्डन प्रमुख सुमन खरेललगायत सहभागी थिए ।
कार्यक्रममा अध्यक्ष कंडेलले प्रमुख अतिथि लामिछाने, विशेष अतिथि राणालगायत नेपाली जनसम्पर्क समिति जर्मनका अध्यक्ष शरण के.सी., लामिछाने पत्नी विनिता लामिछाने लगायतलाई खादा लगाई सम्मान गरेका थिए ।
विगत केही समयदेखि समस्या झेल्दै आएको एनआरएनए यूकेको यस कार्यक्रममा निवर्तमान अध्यक्ष योगेन बहादुर क्षेत्री, महासचिव योग कुमार फगामी र सचिव संगिता मरहठ्ठालगायत भने सहभागी थिएनन् । नजिकै आउँदै गरेको चुनावी सरगर्मीलाई मध्यनजर गर्दै एनआरएन भेटेरानहरु भने सहभागी थिए ।