कोसी ‘कहर’पछि अर्को विपत

कोसी ‘कहर’पछि अर्को विपत


केही वर्षको अन्तरालमा पूर्वीमधेसमा फेरि प्राकृतिक विपत्ले त्राहिमाम मच्चायो । गएको जेठ २ गते सिरहाको औरही गाविसमा भीषण आगलागीबाट करिब पन्ध्र सय घरपरिवार बिचल्लीमा परेको छ । सरकारी तथ्याङ्कमा भने यो सङ्ख्या अति न्यूनीकरण गरिएको छ जो आठ सयको हाराहारीमा छ । घटनापछि प्रधानमन्त्री बाबुराम भट्टराई उपप्रधानमन्त्रीद्वय ईश्वर पोखरेल र विजय गच्छदारलाई साथ लिएर उक्त ठाउँमा पुगेका थिए । घटनास्थल पुगेर बुझ्दा न कुनै राजनीतिक दल चिन्तित भएको पाइयो न त कुनै सञ्चारजगत्ले नै उनीहरूको दुर्भाग्यप्रति आवश्यक मात्रामा संवेदनशीलता दर्शाउन सके । मजाकको पराकाष्ठा त तब महसुस गरियो जब त्यहाँ कोही पनि मधेसी नेता वा तिनका दलीय प्रतिनिधि उपस्थित भई संवेदना जनाएको र एउटा शोक विज्ञप्तिसम्म पनि जारी गरेको पाइएन । बरु यतिबेला सिरहावासीलाई स्थानीयस्तरकै नागरिक समाजले सहयोग पुर्‍याएको पाइयो, त्यसमा बरु भारतीय मित्रहरू सरिक भई मित्रवत् व्यवहार अनुभूति गराइरहेका थिए ।
विराटनगरस्थित मैथिली सेवा समितिका तर्फबाट महासचिव प्रवीणनारायण चौधरीले सकेजति अन्य सङ्घसंस्थाको सहयोगमा काम गरिरहेका छन् जसमा दर्ताको प्रक्रियामा रहेका मधेसी सिभिल सोसाइटीका अनिल मल्लिकको सक्रिय सहयोग रहेको छ । समिति र सोसाइटीका कार्यकर्ता विराटनगरलगायत नेपाल तथा भारतका अन्य सुहृदयी संस्थाद्वारा उक्त विपत्बाट प्रभावित भएकाको घाउमा मल्हम लगाउने काम गरिरहेका छन्, जसले ‘बुद्धिष्ट लेजेन्ड द बे्रभ लिटिल प्यारोट’को कथा स्मरण गराउँछ । यी दुइटा स्थानीय संस्थाले भारत दरभंगाका मिथिला मैथिली संस्था तथा विभिन्न अन्य कार्यालय, व्यक्तिगत तथा अन्य तवरले सहयोग जुटाइरहेका छन् । कोही पनि संवेदनशील नदेखिएको ठाउँमा त सानै प्रयास भए पनि आशा जगाउँदो रहेछ ।
सहयोगमा नगद, कपडालगायत अन्य र जिन्सी सामान स्पटमा पारदर्शी ढङ्गले वितरण गरिने र यो कार्यक्रम निरन्तर चलिरहने मधेसी सिभिल सोसाइटीका अनिल मल्लिकको कथन छ । उनका अनुसार मैथिली सेवा समितिका नाममा रहेका कृषि विकास बैंक, महेन्द्र चोक, विरानगरमा खाता नं. ०१८७३९ र नेपाल एसबीआईमा खाता नं. १८५२५२४०२००१७७ मेनरोड, विराटनगरमा इच्छुक महानुभावले सहयोग गरीकन [email protected] जानकारी गराइरहेका छन् ।
– मनोजकुमार कर्ण
पाटन संयुक्त क्याम्पस

कर्म पूरा गर्न क्षमता चाहिन्छ
मानिसले मानिसको क्षमता हेरेर कामको जिम्मा दिनुपर्छ । खाना वितरण गर्न अक्षम मानिसलाई दियो भने उसले एकजनालाई पनि बाँड्न सक्तैन र लुटपाट हुन गई खाना पनि छरिन्छ । र, वितरक पनि भीडको किचाइमा परेर उत्तानो परेर मर्न पनि सक्तछ । तर, सक्षम मानिस पर्‍यो भने त्यसले दशौँ हजार मानिस भए पनि मिहिनेतले गाँसेको बोता वा टपरीमा राखेर एक चिम्टी पनि खेर नजाने गरी सबैलाई राम्ररी वितरण गरेर पुष्ट भएको मनबाट बधाई पाएर आनन्द लिन सक्तछ ।
त्यस्तै, अर्काको नासो सुरक्षासाथ राख्न सक्ने क्षमता नभएकाले अर्काको आपत्विपत्मा त्यो नासो लगाई दिवा पार पाएको ठान्दछ । सहयोगको मतलब नबुझ्नेले त्यो सहयोग पूर्णरूपले खाइदिएर नासो लिने अक्षम व्यक्तिलाई आफ्नो परिवारको साथै सम्पूर्णबाट नैतिक रूपले गिराउने काम गरेर आफ्नो द्रव्यपिचासी इच्छा पूर्णरूपले पूर्ति गरिरहेको हुन्छ । नासोको संरक्षण क्षमता र सेवाको कदरको कर्मशून्य ।
०२० सालमा स्युचाटारमा प्रधानमन्त्रीले भन्नुभएको थियो– दर्ता चलानीमा आठ कक्षा पढेको बहिदारलाई राखेको कारणले उसको क्षमताको कारण पानीको धारा पाउनको निवेदन धारा काटी पाउनमा र बत्ती जोडिदिनु भन्ने पत्र बत्ती काटिदिनु भन्ने ठाउँमा पठाएर पनि कार्यक्षेत्रमा बाधा पारेको छ । त्यसैले दर्ता–चलानीमा शाखा अधिकृत राख्ने उहाँको भनाइ ०५०÷५२ सालसम्ममा उहाँ कैयौँपटक प्रधानमन्त्री हुँदा पनि दर्ता–चलानीमा शाखा अधिकृतसुहाउँदो क्षमताका क्षेत्र तयार हुन सकेको पाइँदैन ।
राष्ट्रको कोषमा यथेष्ट सम्पत्ति हुँदाहुँदै पनि सकियो या अब सात दिनलाई भन्दा बढीलाई छैन भनेर सरकारको पक्षबाट सर्वसाधारणमा हाहाकार मच्चाएर सम्पूर्ण कुराको सञ्चय गर्ने स्थिति तयार गरी राष्ट्र बैंकले नोट दिन नसक्ने र व्यवसायले आवश्यकताभन्दा १० खण्ड बढी सामान हुँदाहुँदै पनि आफूसँग नभएको अवस्थाको स्थितिमा बाध्यताबस पुग्नुपरेको कुरा क्षमताकै खेल हो । अर्काको सम्पत्ति देख्न नसक्नेलाई कुनै कारण वा अवस्थाबाट धनसम्पत्ति देखायो भने त्यो देखेर सहनशील हुन नसक्ने व्यक्तिले आफ्नो क्षमताअनुसार जसरी पनि अर्काको सम्पत्ति जे–जस्तो हालतबाट पनि आफ्नो गराएर आनन्द लिने र अर्काको सम्पत्ति जसरी पनि आफ्नो तुल्याएर धनीमानी र क्षमतावान भएको महसुस गरेको हुन्छ । तर, त्यस्ता अक्षम व्यक्तिले कुनै हालतमा पनि वास्तविक आनन्द लिन सकेको हुँदैन ।
अक्षम मानिसले आफ्नो दोष औंल्याउने मानिसलाई गोमनले आफ्नो मनमा रिस थुपारेझैँ थुपारेर राखी जुनसुकै हालतबाट पनि मार्ने वा कुटपिट गरेर अङ्गभङ्ग तुल्याउने काम गरेको हुन्छ । त्यसैले मानिसले अनि आफूलाई मत दिएर आफ्नो अधिकार दिएर प्रतिनिधि तुल्याउँदा आफूलाई र आफ्नो क्षमतालाई के–कस्तो असर पर्छ भन्नका लागि हामीलाई विविध पक्ष र विविध व्यक्तिले दिएको शिक्षाअनुसार व्यवहारमा उतार्न नसकेमा हाम्रो धर्म, संस्कृति र पनलाई कुनै हालतमा पनि टिकाउन सकिँदैन । ब्रह्माण्ड ढाक्ने किसिमको शब्द र भावलाई संशोधन गरे कुवाको परिधिमा पुर्‍याउने कार्य भएको संरक्षकले अवश्य पनि अनुगमन र चिन्तनमनन गर्नैपर्छ ।
– लक्ष्मीप्रसाद रिजाल
डिल्लीबजार, काठमाडौं