राष्ट्रपतिले घडी देखाए प्रधानमन्त्रीलाई

राष्ट्रपतिले घडी देखाए प्रधानमन्त्रीलाई


संविधान निर्माणमा राजनीतिक दलहरूबीच सहमति बन्न नसकेपछि गत आइतबार मध्यरात नहुँदै प्रधानमन्त्री डा. बाबुराम भट्टराई राष्ट्रपतिनिवास महाराजगञ्ज पुग्नुभयो । उहाँ त्यहाँ पुग्नुहुँदा नेपाली काङ्गे्रस र नेकपा एमालेका केही नेताहरू पनि त्यहीँ पुग्नुभएको थियो । संविधान बन्न नसक्ने देखिएपछि सोको जानकारी गराउन काङ्गे्रस र एमालेका नेताहरू राष्ट्रपतिभवन शीतलनिवास पुगेका थिए । ठूलो भीडका बीच प्रधानमन्त्रीलाई देख्नुभएपछि राष्ट्रपतिले सबै मानिस उहाँसँगै आएका होलान् भन्ने ठान्नुभयो । प्रधानमन्त्री भट्टराईले संविधान नबन्ने भएपछि आफूले चुनावमा जान लागेको मौखिक जानकारी गराउनुभयो । त्यसरी एकलौटी ढङ्गले चुनावमा जाने कुरामा काङ्गे्रस र एमालेका नेताहरूले राष्ट्रपतिसमक्ष असहमति जनाइसकेका थिए । उनीहरूको भनाइ थियो, ‘बाबुराम भट्टराईलाई पदमा बसिरहने नैतिक अधिकार त झन् छँदै छैन ।’ राष्ट्रपतिले प्रधानमन्त्रीलाई अलग्गै राखेर कुरा गर्नुभयो, त्यस अवसरमा एकनाथ ढकालसहितका मन्त्रीहरू पनि त्यहाँ पुगिसकेका थिए । प्रधानमन्त्रीले चुनावमा जान लागेको जनाएपछि राष्ट्रपति डा. रामवरण यादवले भित्तामा टाँगिएको घडीतिर प्रधानमन्त्रीको ध्यानाकर्षित गर्दै ‘अहिले संविधान बन्दै होला’ भन्नुभयो । घडीमा साढे एघार बजिरहेको थियो । राष्ट्रपतिले अझै समय छ भन्न खोज्नुभएको बुझेपछि प्रधानमन्त्रीले आफूहरूले निकै प्रयास गर्दा पनि संविधान बन्न नसकेको र यही संविधानसभाले संविधान
बनाउन अब सम्भव नरहेको व्यहोरा अवगत गराउनुभएको थियो । तर, उहाँले आफूले निर्वाचन गराउन लागेको लिखित जानकारी भने गराउनुभएन । त्यसरी प्रधानमन्त्री चुनावमा जान लागेको जानकारी गराउँदा उहाँकै पछाडि उभिएका मन्त्री एकनाथ ढकालले भने त्यसमा आफ्नो असहमति रहेको बताएका थिए । मन्त्रिमण्डलको बैठकले मङ्सिर ७ गते संविधानसभाको निर्वाचन गराउने निर्णय गरेको विषयमा जानकारी गराउँदै आवश्यक तयारी गर्न भनी मुख्यसचिवले निर्वाचन आयोगका सचिवलाई लेखेको पत्रको बोधार्थ प्रति भने राष्ट्रपति कार्यालयका सचिव वामनप्रसाद न्यौपानेलाई पनि दिइएको थियो । राष्ट्रपतिलाई निर्वाचन गराउन लागेको जानकारी दिएपछि बालुवाटार फर्केर प्रधानमन्त्रीले एक पत्रकार सम्मेलनको आयोजना गर्नुभएको थियो ।

सुवासको पत्रमा बैठकमात्र सकियो
जेठ १४ गते मध्यरातमा संविधानसभाको थपिएको दुई वर्षसमेत चारवर्षे कार्यकाल सकिएपछि निवर्तमान संविधानसभाका अध्यक्ष सुवास नेम्वाङले राष्ट्रपतिलाई एक पत्र लेख्नुभयो । उहाँले पत्रमा संविधानसभाको बैठक समाप्त भएको व्यहोरा लेख्नुभएको छ, तर संविधानसभाको कार्यकाल स्वत: समाप्त भएको कुरा भने पत्रमा कहीँ कतै उल्लेख गरिएको छैन । आइतबार राति एक बजेतिर त्यस किसिमको पत्र हातमा परेपछि राष्ट्रपति यादव छक्क पर्नुभएको बताइन्छ । संविधानसभाको कार्यकाल नै समाप्त भइसकेको जानकारी राष्ट्रपतिले विभिन्न माध्यमहरूबाट पाइसक्नुभएको थियो । तर, नेम्वाङले भने पत्रमा संविधानसभाको बैठक मात्र सकिएको लेखेर किन गुमराह पैदा गर्न खोजेको हो बुझ्न सकिएको छैन ।

सभासद् आउने भएपछि सिंहदरबार बन्द
सभासद्हरूको एउटा ठूलै समूह सिंहदरबारभित्र आउँदै छ भन्ने सूचना पाएपछि गत आइतबार राति सिंहदरबारका ढोकाहरू हतारहतार बन्द गरिए । नेताहरूले कतैबाट संविधानको मस्यौदा प्रस्तुत गर्न ल्याउँछन् र त्यसलाई ताली बजाएर संविधान निर्माणमा महत्र्वपूर्ण योगदान दिँदै पारित गर्न भनी बसेका सभासद्हरू रात पर्दै गएपछि निकै आक्रोशित भए । संविधानसभा भवनमा बिहान ११ बजेदेखि ताली बजाउन प्रतीक्षारत सभासद्हरू नेताहरूबीच कुरा नमिलेको खबर पाएपछि क्रूद्ध र आक्रोशित बनेका थिए । उनीहरूले आफूहरूलाई उपेक्षा र अपमान गरेको ठाने । त्यसक्रममा सभाभवनभित्र सदस्यहरूले केहीबेर नाराबाजीसमेत गरेका थिए । भनिन्छ, त्यतिबेला दलका कुनै पनि नेताहरू त्यहाँ पुगेका भए उनीहरूमाथि सभासद्हरूद्वारा घातक हमला नै हुनसक्थ्यो । सायद त्यही सङ्केत पाएर हुनसक्छ दलका मुख्य नेताहरूले सभाभवनभित्र जेठ १४ गते दिनभरि नै मुख देखाएनन् । कम्तीमा सभाध्यक्ष सुवास नेम्वाङचाहिँ आउनेछन् कि भन्ने आशा सभासद्हरूको थियो, उनी पनि त्यहाँ पुगेनन् । यसबाट असन्तुष्ट बनेका सभासद्हरूमध्ये केहीले सिंहदरबार गई सभामुखलाई उठाएर सभाकक्षमा ल्याउने र सभा सञ्चालन गर्ने योजना बनाए । केही सभासद् बानेश्वरस्थित सभाभवनबाट राति साढे आठ बजेतिर सिंहदरबारतर्फ प्रस्थान भए । सभासद्हरू सभाध्यक्ष सुवास नेम्वाङलाई उठाउन सिंहदरबारतिर आउँदै छन् भन्ने कुराको जानकारी सुरक्षा निकायमार्फत सरकार र सम्बद्ध नेताहरूले प्राप्त गरे । त्यसपछि सरकारले तत्काल सिंहदरबारका सबै ढोका पूर्ण रूपले बन्द गरी कसैलाई पनि प्रवेश गर्न नदिन सम्बन्धित निकायलाई कडा निर्देशन दियो । निर्देशनपश्चात् खुला रहेका सिंहदरबारका ढोका तत्काल बन्द गरिए र कसैलाई पनि भित्र प्रवेश गर्न दिइएन । अरू त अरू तीनपटक प्रधानमन्त्री भइसकेका शेरबहादुर देउवालाई पनि सिंहदरबार प्रवेश गर्न दिइएन । केहीबेर ढोकामै रोकिएका देउवाले ‘माथि’को ‘सोर्स’ लगाएर मात्र भित्र पस्न पाएका थिए । मधेसी जनअधिकार फोरमका नेता उपेन्द्र यादवले पनि सिंहदरबार प्रवेश गर्न नपाएर ढोकाबाहिरै रोकिनुपर्‍यो । राति नौ बजेतिर सभासद्हरूको एक हुल सिंहदरबारको दक्षिण ढोकामा पुग्दा ढोका पूरै बन्द थियो । उनीहरूले अनेक प्रयास गर्दा पनि सुरक्षाकर्मीले ढोका खोल्न मानेनन् । त्यसपछि थप क्रूद्ध हुँदै सभासद्हरू फर्किएका थिए । यदि उनीहरू भित्र प्रवेश गर्न पाएका भए त्यहाँको स्थिति कति तनावमय हुन्थ्यो होला अनुमान गर्न सकिन्छ । नेताहरूमाथि हातपात भएनछ भने पनि सभाध्यक्ष नेम्वाङलाई उनीहरूले संविधानसभा भवनमा जबर्जस्ती लगेर सभा सञ्चालन गर्न लगाउने निश्चित थियो । तर, समयमै सूचना पुगेका कारण सभाध्यक्ष नेम्वाङसहित खास–खास दलका नेताहरूले संविधान बनाउन र संविधानसभा जोगाउन नसके पनि आफ्नो ज्यान भने जोगाउन सफल भएका छन् ।

शान्ति देखेर विदेशीहरू चकित
संविधान नआउँदा मुलुकमा अराजकता र अस्थिरताको भयावह स्थिति उत्पन्न हुन्छ भन्ने अनुमान गर्नेहरू जेठ १४ पछिको स्थिति देखेर चकित परेका छन् । विशेषगरी विभिन्न मुलुकको कूटनीतिक नियोग तथा दातृ संस्थाका प्रतिनिधिले संविधान नआएको अवस्थामा नेपालमा जे पनि हुनसक्ने र कम्तीमा कफ्र्युसम्म लाग्नसक्ने अनुमान गरेका थिए । अघिल्लो रातिसम्म बसेर संविधानसभावरिपरिको वातावरण हेरेका र महिनौँदेखि मुलुकका विभिन्न स्थानमा भएका बन्द र झडपहरू देखेका उनीहरूले संविधान नबनेपछि ठूलै उथलपुथल हुने ठानेका थिए । तर, जेठ १४ गते बिहानैदेखिको शान्त वातावरणले उनीहरूलाई आश्चर्यचकित तुल्यायो ।
सोही दिन गणतन्त्र दिवस परेको र दिउँसो राष्ट्रपतिनिवासमा गणतन्त्र दिवसको अवसरमा चियापानको निम्तो पाएका उनीहरू लौ अब कसरी जाने, कस्तो अप्ठ्यारो परिस्थिति पर्‍यो भन्दै शीतलनिवास पुगेका थिए । प्राप्त जानकारीअनुसार गत सोमबार दिउँसो राष्ट्रपतिनिवासमा आयोजित भोजमा जानुअघि विभिन्न कूटनीतिक नियोगका अधिकारीहरूबीच फोनमा वार्ता भएको थियो । बडो अप्ठ्यारो मान्दै त्यहाँ पुगेका अधिकारीहरू त्यतिबेला छक्क परे जब मुलुकमा केही भएकै छैन झैं गरी हाँसी–खुसी मुडमा राजनीतिज्ञलगायत विभिन्न क्षेत्रका व्यक्तित्वहरू भेटिए । नेपाली काङ्ग्रेस, एमाले, माओवादीलगायत सबै दलका ‘शीर्षस्थ’ नेताहरू सामान्य रूपमै चिया–खाजा खाँदै फोटो खिचाइरहेका देखेपछि एक युरोपेली कूटनीतिज्ञले भनेका थिए–उहाँहरूलाई हेर्नुस् त कस्तो अचम्म † अमेरिकन राजदूतले चाहिँ आजको यो कार्यक्रममा नमज्जा होला भनेको त सामान्य नै भयो भनेका थिए ।
विदेशी कूटनीतिक नियोग र दातृ संस्थाका अधिकारीले मात्र होइन नेपालीहरूबीचमै पनि जेठ १४ मा संविधान नबने के होला भन्ने कुतूहल मात्र थिएन, अब जे पनि हुनसक्छ भनेर धेरैले केही समयका लागि पुग्ने दालचामलको जोहोसमेत गरेका थिए । तर, जेठ १५ नेपालीको घरआँगनमा द्वन्द्व होइन शान्ति लिएर आयो । संविधानसभा विघटन भएपछि ३२ दिनसम्म पूर्ण रूपमा बन्द भएको सुदूरपश्चिम खुल्यो । बन्दका कारण यतिका लामो समयसम्म सुदूरपश्चिममा कुनै पनि प्रकारको गतिविधि हुन सकेको थिएन । विभिन्न मागसहित मधेसका पनि धेरै ठाउँ बन्द थिए । लिम्बुवान, खम्बुवान र प्रान्तीय राजधानी आफ्नो ठाउँमा हुनुपर्नेलगायतका मागसहित पूर्वाञ्चलका धेरै जिल्ला बन्द थिए । संविधान नबन्ने सय प्रतिशत निश्चित भएपछि ती सब एकाएक खुले । अखण्ड सुदूरपश्चिमदेखि विभिन्न जातका नाममा राज्य माग्नेसम्मका सबैका गतिविधि गायव भए । राष्ट्रपतिको चियापानमा केही व्यावसायिक व्यक्तिले भनेको सुनियो– संविधान नआउँदा यस्तो आनन्द हुन्छ भन्ने थाहा पाएको भए त नेपालीले संविधान चाहियो भनेर के माग गर्थे होला र ? राजधानीको बानेश्वर क्षेत्रका सर्वसाधारण धेरै दिनदेखिको प्रदर्शन, धर्ना आदिबाट दिक्क थिए । संविधान नआउने भएपछि छाएको शान्तिले उक्त क्षेत्रका जनता खुसी छन् । संविधानसभा परिसरमा भएका गतिविधिबाट वाक्कदिक्क भएका अब राजनीतिक गतिविधि हुने ठाउँचाहिँ सर्वसाधारण जनताले बसोबास गर्ने क्षेत्रमा हुन नहुने र संविधानसभा या संसद् बानेश्वरभन्दा अन्यत्रै सारिनुपर्ने बताउँछन् । ‘सिंहदरबारमै भएको ठीक, अब हामीले जस्तो अवस्थामा पनि गरिखान पाउनुपर्‍यो,’ बानेश्वरका चिया–खाजा पसलेको भनाइ थियो ।
संविधान नबन्ने परिस्थितिमा मुलुकमा यसप्रकारको शान्ति छाउला भन्ने अपेक्षा गरिएको थिएन । यसबाट संविधानसभा नेपालीमाझ कति ठूलो बोझको रूपमा रहेको रहेछ भन्ने पुष्टि भएको छ ।

सङ्कटमा परे बाबुराम
नेपाली काङ्ग्रेसले माओवादीको सत्ताकब्जाको नियतका कारण संविधान नै नबनाई संविधानसभा भङ्ग हुने स्थितिमा पुगेको निष्कर्ष निकालेको छ । प्रधानमन्त्री बाबुराम भट्टराईद्वारा घोषित चुनाव अवैध भएको ठहर गर्दै राष्ट्रिय सहमतिको सरकार गठन गरेर मात्र निर्वाचनबारे निर्णय लिनुपर्ने पनि काङ्ग्रेसले जनाएको छ । त्यस्तै नेकपा एमालेले पनि प्रधानमन्त्रीको निर्वाचन घोषणालाई गैरसंवैधानिक करार दिएको छ । राष्ट्रिय सहमतिको सरकार गठन गरेर मात्र निर्वाचनमा जान सकिने भन्दै एमालेले निकासका लागि राष्ट्रपतिले ठोस अग्रसरता लिनुपर्ने बताएको छ । यसैबीच निर्वाचन घोषणाविरुद्ध अधिवक्ता सन्तोष बस्नेतले सर्वोच्च अदालतमा मंगलबार रिट दायर गरेका छन् । यसरी कानुनी र राजनीतिक रूपमा सङ्कट व्यहोरिरहेका प्रधानमन्त्री बाबुराम भट्टराईले मंगलबार राष्ट्रपति डा. रामवरण यादवलाई भेटी सहमतिको सरकार गठन गर्न पहल गर्ने बताउनुभएको छ । तर, उहाँको आसय आफ्नै नेतृत्वमा सहमतिको सरकार गठन गर्ने रहेको बुझिन्छ । राष्ट्रपति यादवले वर्तमान सरकारले कुनै महत्र्वपूर्ण निर्णय लिन नसक्ने जानकारी प्रधानमन्त्रीलाई दिनुभएको छ । सरकारमा नियम–कानुन परिमार्जन गर्ने या बदल्ने व्यवस्थापकीय अधिकार नभएको जनाउ पनि राष्ट्रपतिले प्रधानमन्त्रीलाई दिनुभएको छ ।

यसरी बित्यो नेताहरूको त्यो दिन
संविधानसभामा प्रतिनिधित्व गर्ने सबै दलका शीर्ष नेताहरूले संविधानसभाको म्याद सकिने अन्तिम दिन अर्थात् गत १४ गते आइतबार दिनभर बैठक र छलफलमा बिताए । आइतबार बिहान ९ बजेका लागि बैठक बस्ने समय तथा अघिल्लो दिन शनिबार प्रमुख चार दलका शीर्ष नेताहरूको बालुवाटारको बैैठक समय तय गरेका थिए । शनिबार राति अबेरसम्म पनि मुख्य विवादित विषय सङ्घीयतामा सहमति नभएपछि संविधान जारी हुनेमा उनीहरूबीच आशङ्का पैदा भएको थियो । चार दलको शीर्ष बैठक बालुवाटारमा बस्नुअघि प्रधानमन्त्री बाबुराम भट्टराई बिहानै राष्ट्रपतिभवन शीतलनिवास पुगेर राष्ट्रपति डा. रामवरण यादवसँग भेट गरेका थिए । राष्ट्रपतिसँगको भेटलगत्तै उनले पार्टी अध्यक्ष प्रचण्डको लाजिम्पाटस्थित निवास पुगेर आधा घन्टाभन्दा बढी छलफल गरेका थिए । स्रोतका अनुसार उनले सोही समयमा छिमेकी मुलुकका केही अधिकारीहरूसँग पनि छलफल गरेका थिए । त्यसपछि चार दलको बैठकका लागि भन्दै उनी आफ्नो सरकारी निवास बालुवाटार छिरेका थिए ।
बैठकका लागि निर्धारित समयमा काङ्ग्रेस र एमालेका नेताहरू पुगेका थिए । तर, निवासको माथिल्लो कक्षमा पार्टीका नेताहरूसँग रहेका प्रधानमन्त्री काङ्ग्रेस र एमालेका नेताहरू भए ठाउँमा दुई घन्टासम्म आएनन् । दुई घन्टाभन्दा बढी समयपछि मात्र प्रधानमन्त्री आएपछि काङ्ग्रेस–एमालेका नेताहरूले आफूहरूलाई कुराएकोमा माओवादी नेताहरूसँग आपत्ति जनाएका थिए । प्रधानमन्त्रीले दुई दलका नेताहरूलाई कुराएकोप्रति माफी मागेपछि चार दलको बैठक सुरु भएको थियो । केहीबेर बैठकमा विवादित विषयमा छलफल गरे पनि सहमति भएका विषय समेटेर संविधान बनाउने र नमिलेका कुरा रूपान्तरित संसद्ले टुङ्ग्याउने निष्कर्षमा उनीहरू पुगेका थिए । तर, त्यस सहमतिमा मधेसी नेताहरूले सहमति नजनाएकोले बाँकी विषय रूपान्तरित संसद्ले टुंग्याउने प्रक्रियाका विषयमा छलफल गर्न सभामुखकहाँ जाने निष्कर्षमा पुगेका थिए ।
त्यहीबीच जनजाति ककस समूह र बृहत् मधेसी मोर्चासँग छलफल पनि भयो । जनजाति ककसका नेताहरूले एकल जातीय पहिचानको सट्टा मिश्रित नामका प्रदेशमा सहमति जनाउँदै बैठकबाट बाहिरिएका थिए । उनीहरूले जातीय अग्राधिकारको अडान पनि त्यागेका थिए । ‘हाम्रै अडानका कारण संविधान जारी नहुने अवस्था हो भने मिश्रित नामकरण गर्न र राजनीतिक अग्राधिकार नराख्न हामी सहमत भएका छौँ, जनजाति ककसका संयोजक पृथ्वी सुब्बा गुरुङले भनेका थिए । त्यतिबेलासम्म संविधानसभा परिसरमा जम्मा भएका माओवादी, काङ्ग्रेस, एमालेलगायत अन्य दलका सभासद्हरूले संविधानसभालाई अनिर्णयको बन्दी बनाइएको भन्दै नाराबाजी र सभा गरेका थिए । त्यतिबेलै बुद्धनगरमा माओवादीको वैद्य समूहको छुट्टै बैठक बसेको थियो । बैठकले एकल जातीय पहिचानको १४ प्रदेश बनाउने अडान नछाड्ने निर्णय लिएको थियो ।
बाँकी विषय रूपान्तरित संसद्ले टुङ्ग्याउनेगरी बालुवाटार बैठकमा काङ्ग्रेस, एमाले र माओवादी मिश्रित नामका ११ प्रदेशमा सहमतिनजिक पुगेपछि त्यसबारे छलफल गर्न उनीहरू सभामुख सुवास नेम्वाङकहाँ पुगेका थिए ।
सभामुखसँग छलफलमा माओवादी अध्यक्ष दाहालले यस्तो दबाबबीच विवादित मुद्दालाई थाती राखेर संविधान जारी हुन नसक्ने अडान लिए र संविधानसभाको नयाँ चुनाव घोषणा गर्न ठाडो प्रस्ताव गरे । त्यसपछि मात्र काङ्ग्रेस र एमालेका नेताहरूले माओवादीको चाल बुझेका थिए । ‘विवादित विषय बाँकी राखेर संविधान जारी गर्ने प्रक्रियाबारे छलफल गर्न सभासमुखसँग बसेको बैठकमा माओवादी अध्यक्ष प्रचण्ड अब संविधान जारी हुन सक्दैन मधेसी दलहरूले पनि मानेका छैनन् चुनावमा जाऊँ भनेका थिए । बैठकमा सहभागी एक नेताका अनुसार त्यसपछि यसअघिका सबै सकारात्मक वातावरण बिग्रियो । सभामुखसँग चार दलका शीर्ष नेताहरूको छलफल सकिएलगत्तै माओवादीको वैद्य पक्ष र बृहत् मधेसी मोर्चाका नेता उपेन्द्र यादवबीच छलफल चलिरहेको थियो ।
साँझ फेरि सभामुख सुवास नेम्वाङको पहलमा चार दलका शीर्ष नेताहरू र सभामुखबीच पुन: छलफल चल्यो । बैठकमा माओवादी नेताहरूले चुनाव वा सङ्कटकाल लगाएर संविधानसभाको म्याद थपका विषयमा छलफल गर्न प्रस्ताव राखेपछि नेताहरू संविधान बन्ने सम्भावना कम भएको जनाउँदै बाहिरिए, त्यसपछि संविधान नबने पक्का भएको भन्दै चौतर्फी विरोध सुरु भएको थियो ।
संविधान नबन्ने पक्का भएपछि त्यसपछिको विकल्पबारे दलका नेताहरूले छलफल चलाएका थिए । पहिलो विकल्प ताजा जनादेशका लागि नयाँ चुनावमा जाने, दोस्रो विवादित विषय थाती राखेर रूपान्तरित संसद्लाई विवाद टुङ्ग्याउने जिम्मेवारी दिने र तेस्रो विकल्पका रूपमा सङ्कटकाल लगाएर संविधानसभाको म्याद अर्काे ६ महिना थप्ने विषयमा छलफल चलेको थियो । सबै दलका शीर्ष नेताहरू दिनभर छलफलमा जुटेका थिए भने अन्य सभासद्हरू भने त्यस दिन संविधानसभामा चिया–चुरोट पिउदै विभिन्न कुरा काटेर बसिरहेका थिए ।

भारतीय महिला सैनिक अधिकृतहरू सगरमाथाको शिखरमा
‘सर, हामी आरोहणमा सफल भएका छौँ,’ गत १२ गते बिहानै भारतीय सैनिक अधिकृत क्याप्टेन नम्रता राठौरको आवाज कर्णेल अजय कोठियाको फोन सेटमा गुञ्जियो । ११ गते बेलुकी ‘क्याम्प चार’ भनिने दक्षिणी ध्रुवबाट नौ घण्टा ढिला गरी आरोहण गन्तव्यमा पुगेका भारतीय सैनिकको सगरमाथा आरोहण समूहका कोठिया टोलीनेता थिए । सगरमाथाको शिखरमा गर्वका साथ पाइला राखेपछि क्याप्टेन नम्रताले सर्वप्रथम टोलीनेतासँग त्यसरी खुसी साटेकी थिइन् । भारतीय सैनिकका चार महिला अधिकृत र ६ जना पुरुष सिपाहीले गत साता बिहीबार बेलुकी अन्तिम शिविरबाट शिखर यात्रा आरम्भ गरेका थिए ।
क्याप्टेन राठौरका अलावा चुचुरोमा पुग्ने अन्य महिला अधिकृतमा मेजर डा. एन लिन्यू, क्याप्टेन दीपिका राठौर र क्याप्टेन स्मिता छन् । उनीहरूमध्ये मेजर लिन्यू सर्वप्रथम चुचुरोमा पुगेकी थिइन् भने विश्वकै सर्वोच्च शिखर सफलतापूर्वक चुम्ने सफलता पाउने भारतीय सेनाका अन्य पुरुष सदस्यहरूमा सुवेदार राजेन्दर जलाल, हवल्दार शेरव पाल्देन, हवल्दार प्रवीण थापा, हवल्दार चदरबहादुर थापा र एल.एच. सुधीर सिंह रहेका छन् । टोली उपनेताको जिम्मेवारी मेजर आर.एस. जम्बालको काँधमा थियो । सन् २००३ मा सगरमाथासहित आठ हजार मिटरभन्दा अग्ला पाँचवटा हिमाल आरोहण गरिसकेका प्रख्यात पर्वतारोही जलालले अक्सिजनबिना नै विश्वको सबभन्दा अग्लो चुचुरोमा पुग्ने प्रथम भारतीयको गौरव हासिल गरेका बताइएको छ ।
‘चुचुरोमा पुग्ने हाम्रो प्रथम प्रयास जोडसँग हावा–हुरीसहितको खराब मौसमका कारण सफल भएन र यसले हामीलाई अर्को प्रयासका लागि रणनीतिक निर्णय लिन जुटायो,’ टोलीनेता कर्नेल अजय कोठियाल भन्छन्, ‘कठिन परिस्थितिमा सम्पूर्ण टोलीको सफल आरोहणमा योगदान पुर्‍याएकोमा पथप्रदर्शक शेर्पा दाजुभाइहरूलाई विशेष धन्यवाद, उहाँहरू प्रसंशाका पात्र हुनुहुन्छ ।’
सदाभन्दा बढी तापक्रम र ठूलो हावाहुरीसहितको हिमालयको खराब मौसमले बितेको महिनामा धेरै पर्वतारोहीलाई उनीहरूका क्याम्प बन्द गर्न र आरोहण परित्याग गर्न बाध्य बनाएको थियो । गत ५ र ६ गतेका दिन त छजना आरोहीको मृत्युसमेत भएको थियो । सगरमाथा आरोहणका लागि यस ऋतुमा उपलब्ध हुने सीमित केहीमध्ये एक अवसर र यसपूर्वका अन्य मृत्युहरूले यसलाई एक जोखिमपूर्ण ऋतु तुल्याएको सम्बन्धित विज्ञहरूको कथन छ ।
यसैबीच तीन महिला अधिकृत र पाँच पुरुषसहितको ‘भारतीय सैनिक महिला सगरमाथा आरोहण दोस्रो टोली’ले गत आइतबार आरोहणको प्रयास गरेको छ ।

प्रहरी लुट्ने चिनियाँ पक्राउ
जस्तोसुकै अपराधी पनि प्रहरी भनेपछि हच्किन्छन् । सामान्यतया ‘मै हुँ’ भन्ने ‘डन’समेत प्रहरीको अघिल्तिर डराउँछन् । त्यसमाथि अपराध गर्ने कोही विदेशी छ भने त अर्काको देशका प्रहरीसँग यसै पनि खुम्चन पुग्छन् । तर, यस मान्यतालाई गत शुक्रबार केही चिनियाँ नागरिकले गलत सावित गरिदिएका छन् ।
घटना काठमाडौं महानगरपालिका–२९ स्थित खानी विभागअगाडिको हो । प्रहरी नायव निरीक्षक दीपक पुडासैनीलाई पाँचजना चिनियाँ लछारपछार गर्दै थिए । यहाँसम्म कि उल्लेखित चिनियाँले सई पुडासैनीको हातमा रहेको सञ्चार सेटसमेत लुट्ने दुस्साहस गरे ।
प्रहरीले जनाएअनुसार चार–पाँचजना चाइनिज नागरिकले अर्का एक विदेशी नागरिकलाई निर्घात कुटपिट गरिरहेको खबर पाएर आवश्यक कारबाहीका निम्ति प्रहरी घटनास्थल पुगेको थियो । प्रहरी पुगेपछि सजग हुनुको साटो चिनियाँहरू उल्टै प्रहरी अधिकृतमाथि खनिए । यसरी प्रहरीलाई हातपात गरी सञ्चार सेट नै लुट्नेहरूले सोही स्थानमा रहेको बा.१ज ७३१६ नम्बरको ट्याक्सीसमेत तोडफोड गरेका थिए । अपराधमा संलग्न चिनियाँ नागरिकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यसैबीच सप्तरी तरही–९ का वंशीधर यादवले रक्सी सेवन गरी आफ्नी श्रीमती र बाबुसँग झगडा गरेको खबर पाएर घटनास्थलमा पुगेको प्रहरी विष्मयमा परेको बताइएको छ । खबर पाउनेबित्तिकै आवश्यक जाँच तथा कारबाहीको निम्ति पुगेको प्रहरी टोलीले झगडियाको घरनजिकै खेतमा वंशीधरको जलिरहेको लास पो देखे । घटनाको यथार्थ बुझ्न खोज्दा मृतकका बाबु भने फरार भइसकेका थिए ।

जँड्याहा ठीक पार्न फूलमाला
मदिरा सेवन गरी शान्तिसुरक्षामा खलल पुर्‍याउनेलाई के सजाय दिने ? पक्कै पनि त्यस्तालाई समातेर प्रहरीको जिम्मा लगाउनु मनासिव ठहरिएला । तर, लमजुङ भोर्लेटारका बासिन्दाले भने त्यस्तालाई ठीक पार्न रोचक उपाय अवलम्बन गर्ने भएका छन् ।
लमजुङको प्रमुख व्यापारिक केन्द्र भोर्लेटारमा हालै बसेको सर्वदलीय बैठकले मदिरा सेवनगरी मनपरि गर्दै हिँड्नेलाई फूलमाला लगाएर बजार घुमाउने निर्णय गरेको छ । तर, फूलमालामा सजिएर बजार घुम्नुअघिचाहिँ जँड्याहा व्यक्तिले पूरै १२ घन्टा प्रहरी हिरासतमै बिताउनुपर्ने नियम बनाइएको छ ।
मदिरा सेवन गरी होहल्ला मच्चाउने प्रवृत्ति बढेर अचाक्ली हुन थालेपछि स्थानीयले सर्वपक्षीय भेला गरेका थिए । कुनै व्यक्तिले दोहोर्‍याएर सोही गल्ती गरेमा प्रहरी हिरासतका साथै नगद जरिवाना र तेस्रोपटक पक्राउ पर्नेलाई जिल्ला प्रहरी कार्यालयमा ल्याई अन्य कारबाहीसमेत गरिने भेलाले निर्णय गरेको भोर्लेटार इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक दीपक ढुङ्गेलले जानकारी दिएका छन् ।
राजनीतिक दलका प्रतिनिधि, समाजसेवी, बुद्धिजीवी, स्थानीय बासिन्दा र प्रहरीको सहभागितामा भएको बृहत् छलफलले चोरी डकैती रोक्नका लागि बजार क्षेत्रका प्रत्येक घरको अगाडि र पछाडि रातको समयमा बत्ती बाल्ने र मादक पदार्थको बिक्री–वितरण हुने पसलहरू बेलुकी ९ बजेपछि अनिवार्य बन्द गर्ने, अनुमति लिएरमात्र मादक पदार्थको बिक्री–वितरण गर्नुपर्नेलगायतका निर्णय गरेको छ । समाजमा बढ्दै गएको विकृति हटाउन यस्तो निर्णय गरिएको बताइएको छ । बैठकले मदिराजन्य वस्तु बिक्री–वितरण गर्ने तर अनुमति नलिएका पसललाई अनुमति लिने मौका दिएको छ । समयमै आफ्नो पसल सम्बन्धित निकायमा दर्ता गरी प्रमाणपत्र नलिएमा आवश्यक कारबाही प्रक्रिया अघि बढाउने निर्णय बैठकले गरेको छ । सडक किनारामा जथाभावी राखिएका निर्माण तथा बिक्रीका सामग्री हटाउने र औषधि र किराना सामान एकै पसलबाट बिक्री गर्न नपाइने निर्णयसमेत बैठकले गरेको छ । औषधि बिक्रेताले अनिवार्य अनुमति लिनुपर्ने निर्णय पनि गरिएको छ ।
बैठकमा एकीकृत नेकपा माओवादी लमजुङका सहइन्चार्ज मोहनहरि पौडेल, नेपाली काङ्ग्रेस जिल्ला कार्यसमितिका सदस्य वसन्त घिमिरे, नेकपा एमाले जिल्ला कमिटीका सदस्य कृष्णप्रसाद पौडेल, नेपाली काङ्ग्रेस क्षेत्र नं. २ का सचिव मदनकुमार न्यौपाने, लमजुङ उद्योग वाणिज्य सङ्घका द्वितीय उपाध्यक्ष प्रेमलाल श्रेष्ठ, भोर्लेटार इलाका प्रहरी चौकीका प्रमुख प्रहरी निरीक्षक दीपक ढुङ्गेल, लमजुङ उद्योग वाणिज्य सङ्घ भोर्लेटार इकाइका संयोजक ज्ञानप्रसाद अधिकारीलगायतको सहभागिता थियो ।
– छविलाल बगाले

नेपाली सेनाले ‘डक्टर’ जन्माउने
स्वास्थ्यसम्बन्धी उच्चस्तरीय जनशक्ति उत्पादन गरी स्वास्थ्य क्षेत्रमा राष्ट्रको आवश्यकता परिपूर्ति गर्न सहयोग पुर्‍याउने तथा उच्चस्तरीय स्वास्थ्य सेवा प्रदान गरी नेपाली सेनाका बहालवाला र अवकाश प्राप्त व्यक्तिका छोराछोरी एवम् सर्वसाधारणलाई समेत सर्वसुलभ रूपमा गुणस्तरीय स्वास्थ्य शिक्षा प्रदान गर्ने मूल उद्देश्यसहित नेपाली सेनाद्वारा भण्डारखालमा निर्माण गरिएको ‘नेपाली सेना स्वास्थ्य विज्ञान संस्थान’को राष्ट्रपति डा. रामवरण यादवले एक समारोहबीच उद्घाटन गर्नुभएको छ ।
गत बुधबार आयोजित उद्घाटन समारोहलाई प्रमुख अतिथिका रूपमा सम्बोधन गर्दै राष्ट्रपति डा. यादवले नेपाली सेनाले स्वास्थ्य क्षेत्रमा चालेको पाइलाको मुक्तकण्ठले प्रशंसा गर्नुभयो । सेनाको उक्त कदम अनुकरणीय रहेको उल्लेख गर्दै उहाँले यस्तो कार्य सुरुवात मात्र गरेर पर्याप्त नहुने र गुणस्तरीय शिक्षामा जोड दिई दक्ष जनशक्ति उत्पादन गर्न नेपाली सेनाले पहल गर्नुपर्ने सुझावसमेत दिनुभयो । त्रिविका उपकुलपति डा. हीराबहादुर महर्जन र चिकित्साशास्त्र अध्ययन संस्थानका डिन डा. अरुण सायमीले समेत मन्तव्य दिएको सो समारोहमा संस्थानअन्तर्गत चिकित्साशास्त्र महाविद्यालयका कलेज प्राचार्य प्राविधिक सहायक रथी डा. शिवबहादुर बस्नेतले स्वागत मन्तव्य र संस्थानका कार्यकारी निर्देशक प्राविधिक सहायक रथी डा. प्रकाशराज पाण्डेले संस्थानबारे सङ्क्षिप्त परिचय दिनुभएको थियो । प्रधानसेनापति छत्रमानसिंह गुरुङले उक्त संस्थान निर्माणमा प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग पुर्‍याउनुहुने सबैलाई धन्यवाद दिनुभयो ।
संस्थानअन्तर्गत हाल कलेज अफ मेडिसिन तथा कलेज अफ नर्सिङमा कक्षाहरू सुरु भइसकेका छन् भने निकट भविष्यमा नै कलेज अफ मेडिकल पोलिटेक्निक तथा कलेज अफ डेन्टल सर्जरी स्थापना गर्ने योजना रहेको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।

राष्ट्रिय सरकार बन्नुपर्छ : प्रकाश
मुलुकमा बढिरहेको विदेशी चलखेल र हस्तक्षेप रोक्न आमनेपाली जनता सचेत भई राष्ट्रिय एकता सुदृढ तुल्याउनुपर्ने आवश्यकता रहेको नेकपा संयुक्त माक्र्सवादीका महासचिव प्रकाश अधिकारीले बताउनुभएको छ । पार्टीका तर्फबाट मंगलबार एक विज्ञप्तिमा जारी गर्दै उहाँले भन्नुभएको छ, ‘२ वर्षमा नयाँ संविधान बनाउने उद्देश्यसहित ०६४ सालमा निर्वाचन गरेर गठन भएको संविधानसभाको पटक–पटक म्याद थपेर चार वर्ष पुर्‍याउँदा पनि नेपाली जनताले नयाँ संविधान पाउन सकेनन् र जनअपेक्षित देशको संविधान नै नबनाई जेठ १४ गते संविधानसभाको स्वत: विघटन गराइएको छ । संविधान निर्माण नगरीकन संविधानसभा विघटन हुन पुगेकोमा नेपाल कम्युनिस्ट पार्टी (संयुक्त माक्र्सवादी) दु:ख व्यक्त गर्दछ । जनताको बलिदानीपूर्ण आन्दोलनबाट प्राप्त भएको संविधानसभाबाट शान्ति र राजनीतिक स्थायित्व कायम हुने कुराको आमनेपाली चाहनामाथि कुठाराघात भएको छ । यसको मुख्य जिम्मेवार विघटित संविधानसभाको निर्णायक स्थानमा रहेका प्रमुख राजनीतिक दलहरू नै हुन् । उनीहरू संविधान निर्माण गर्नेभन्दा पनि सत्ताकेन्द्रित स्वार्थसिद्धिको राजनीतिमा मात्र लागेकाले आज सर्वत्र अन्योल र अनिश्चितताको स्थिति देखापर्न गएको हो । देशलाई अन्योल र राजनीतिक अस्थिरताको अवस्थामा पुर्‍याउने सत्ताधारी दलहरूको गैरजिम्मेवारीपूर्ण क्रियाकलापको हाम्रो पार्टी घोर विरोध र भत्र्सना गर्दछ ।’ अधिकारीले विज्ञप्तिमा अगाडि भन्नुभएको छ, ‘ताजा जनादेशका लागि आवश्यक संवैधानिक प्रक्रिया र राजनीतिक सहमति कायम नगरी असंवैधानिक किसिमबाट एकतर्फी रूपमा घोषणा गरेर सरकारले निरङ्कुश शैली र चरित्र प्रदर्शन गरेको छ । हाम्रो पार्टी यसको घोर विरोध गर्दछ । साथै संविधानसभा स्वत: विघटन भएर अस्तित्वमा नरहेको अवस्थामा अर्को निर्वाचन गराउनका लागि उही संस्थाको प्रतिनिधित्व हो भन्ने सरकारी मानसिकताको औचित्य पुष्टि हुँदैन । तसर्थ निर्वाचनका लागि जनआन्दोलनकारी सम्पूर्ण शक्तिहरू सम्मिलित राष्ट्रिय सहमतिको अन्तरिम सरकार गठन गरिनुपर्ने कुरामा हाम्रो पार्टी जोड दिन चाहन्छ ।’
एकीकृत माओवादीलगायत पालैपालो सत्तामा रहेका दलहरूले जनआन्दोलनका मर्म र भावनामाथि कुठाराघात गर्दै आइरहेका र फेरि पनि उनीहरूबाट त्यस्तै जनविरोधी क्रियाकलाप हुन सक्ने सम्भावना रहेको बताउँदै उहाँले त्यसको भण्डाफोर गर्नुपर्ने आवश्यकता भएकोले न्यायप्रेमी जनतालाई गोलबन्द गर्दै जनसचेतना जगाउन ‘जागरण आन्दोलन’ गर्नुपर्ने कुरामा जोड दिँदै यसका लागि वाम तथा लोकतान्त्रिक शक्तिहरूबीच एकता कायम गरेर अगाडि बढ्नुपर्ने कुरामा समेत हाम्रो पार्टी जोड दिन चाहन्छ भन्नुभएको छ ।

स्रष्टा कोइरालाको सम्झनामा कार्यक्रम
संस्कृतिविद् एवम् स्रस्टा टीकादत्त बराल कुलचन्द्र स्रष्टा सम्मानबाट सम्मानित भएका छन् । कुलचन्द्र कोइराला स्मृति प्रतिष्ठानद्वारा प्रदान गरिने सो सम्मान गत शुक्रबार काठमाडौंमा आयोजित साहित्यकार कुलचन्द्र कोइरालाको १९औँ स्मृति तथा ८५औँ जन्मजयन्तीका अवसरमा प्रदान गरिएको हो ।
सो कार्यक्रममा प्रा.डा. कुलप्रसाद कोइरालाद्वारा लिखित ‘सिन्धुलीका स्रष्टा’ नामक कृतिको नेपाल प्रज्ञाप्रतिष्ठानका कुलपति वैरागी काइँलाले विमोचन गर्नुभएको थियो, जुन पुस्तकमा सिन्धुली जिल्लासँग नाता जोडिएका सयभन्दा बढी स्रष्टा–सर्जकका बारेमा उल्लेख गरिएको छ । प्रतिष्ठानका उपाध्यक्ष मोहनप्रसाद खनालको सभापतित्वमा सम्पन्न कार्यक्रममा सम्मानित स्र्रष्टा बरालले तीन दर्जनभन्दा बढी कृतिका लेखक स्वर्गीय कोइराला नेपाली साहित्यमा पुर्‍याएको योगदानलगायतका सुकर्मका कारण राष्ट्रकै अमूल्य निधि भएर पनि उहाँको योगदानको उचित कदर हुन नसकेको अभिव्यक्ति दिनुभयो । सोही कार्यक्रममा स्वर्गीय कोइरालाको नाममा स्थापना गरिएको छात्रवृत्ति जनज्योति मावि चन्द्रनिगाहपुरका दुई जेहेनदार छात्रछात्रालाई प्रदान गरिएको थियो । कोइरालाकी नातिनी जिज्ञासा कोइरालाले हजुरबुबाको कविता पाठ गरेर सुनाएकी थिइन् भने प्रतिष्ठानका सदस्यसचिव प्रयागराज भट्टराई, कोषाध्यक्ष जीवनचन्द्र कोइराला, प्रा.डा. ब्रतराज आचार्य, भुवन ढुङ्गाना र विमोचित कृतिका लेखकले स्वर्गीय कोइरालाको व्यक्तित्व र योगदानबारे चर्चा गर्नुभएको थियो । स्मरण रहोस्, स्वर्गीय कोइरालाका सुपुत्र रमेशचन्द्र कोइरालालगायतका व्यक्तित्वहरूको अग्रसरतामा वार्षिक रूपमा सम्मान तथा पुरस्कार कार्यक्रम आयोजना हुँदै आएको छ ।

बाराका कृषक दङ्ग
अधिकांश युवा रोजगारीका लागि खाडी मुलुक लागेपछि गाउँमा कामदारको अभावमा अन्नबाली काटेर भित्र्याउन समस्या परिरहेको अवस्थामा तराईका लागि अन्नको भण्डार भनेर प्रसिद्धि कमाएको बाराका कृषकले आधुनिक प्रविधि प्रयोग गर्न पाएका कारण दङ्ग परेका छन् । सपही कृषक समूहले नेपालमै पहिलो पटक क्रोप टाइगर नामक कम्पाइन अत्याधुनिक मेसिन भित्र्याएपछि कामदार नपाउने समस्याबाट मुक्ति मिलेकोले उनीहरुमा खुशी छाएको हो ।
सपही, कोहल्वी, मनहर्वा, विछनपूर्वा, रौतहटको जङ्गलसैंया लगायतका कृषकहरु अहिले धमाधम मकै भित्र्याउन लागेका छन् । गत वर्षजस्तो कामदारका विषयमा कृषकहरुलाई कुनै समस्या छैन न त उनीहरुले घाममा डढेर हप्तौं खेतमा मकै भाँँनु नै परेको छ । न मकै नङ्ग्याउने चिन्ता न छोडाउने समस्याले नै पिरोलेको छ । सबै समस्याको समाधान एउटै यन्त्रले गरिदिएपछि उनीहरु दङ्ग नहुन् पनि कसरी ?
मानिस लगाएर मकै भित्र्याउन २० दिन लाग्थ्यो भने मेसिनले गर्दा २ घण्टामा नै काम फत्ते भएको विछनपूर्वाका रामचन्द्र कोइरालाले बताए ।
साढे २९ लाख रुपैयाँमा भारतबाट किनेर ल्याएको कम्पाइन मेसिनले नेपालमै पहिलोपटक खेतमा नै मकै छोडाएर कृषकको भकारीमा राखिदिन थालेको छ । मेसिनले मकै खेतमै छोडाउने मात्र नभई धान पाकेको समयमा खेतमै पुगेर पराल र धान छुटाइदिन्छ भने त्यही मेसिनले छ्वाली र गहुँलाई पनि सफासँग अलग अलग पारिदिन्छ । कामदार लगाउनभन्दा केही महङ्गो भएपनि मेसिनले छिटो–छरितो हुने भएकोले उचित लागेको सपहीका देवराज यादवले बताए । कामदार नपाइरहेको अवस्थामा मेसिनले गर्दा काम पनि छिटो भएको छ भने आकासे पानी पर्दा आइपर्ने समस्याबाट पनि मुक्त मिलेको कोल्वीका रामधनेस साहको कथन छ । यसैगरी, मान्छे लगाउँदा धेरै दिन लाग्थ्यो भने अब एकैछिनमा हुने भएकोले समयको बचत गराएर सुविधा समेत पुर्‍याएको नयाँवस्तीकी सीता लामिछानेले बताइन् । धान, मकै, गहुँ काट्ने मेसिनले एक घण्टामा १० कठ्ठामा ४० क्वीण्टल मकै काट्ने सपही कृषक समूहका सदस्य महेन्द्र देवकोटाले दावी गरे । पहिलोपटक मेसिन बारामा भित्र्याएपछि रौतहट, सर्लाही र चितवनका कृषकहरुबाट पनि माग आएको देवकोटाले जानकारी दिए । स्मरण रहोस्, यसअघि बाराका कृषकले मान्छे लगाएर वा थ्रेसर प्रयोग गरेर मकै छोडाउने कार्य गर्दै आएका थिए ।
– वसन्त खतिवडा

संविधानबिना दाह्री खौरनु परेपछि…
संविधान जारी भएपछि मात्र काट्ने भनी ४ वर्ष एक महिना १६ दिन अघिदेखि दाह्री नै नकाटी बसेका बाबुराम देवकोटाको सपना सपनीमै सीमित भएको छ । पटकपटक म्याद थप गरे पनि जेठ १४ गते संविधान नै जारी नभई संविधानसभाको विघटन भएपछि साउने–४, भुच्चोक, गोरखाका उनको सपना पूरा हुन नसकेको हो । आफ्ना साथी र शुभचिन्तकहरूबीच दाह्री कटाउँदै उनले भने, ‘अब संविधानसभा नै विघटन भइसक्यो, चुनावको घोषणा भए पनि त्यो हुने÷नहुने निश्चित छैन, अब मैले संविधान जारी भएपछि मात्र दाह्री काट्छु भन्नु नै बेकार भइसकेको छ । त्यसैले मैले दाह्री काट्ने निर्णय लिएको हुँ ।’ बिनासंविधान दाह्री खौरनु पर्दाको उनको आक्रोश नेताहरूप्रति चर्कै थियो ।

बाबुरामको पुत्ला दहन
ऐतिहासिक बलिदानपूर्ण सङ्घर्षबाट नेपाली जनतालाई हासिल भएको संविधानसभालाई सुनियोजित तवरले हत्या गरी सर्वसत्तावाद लाद्न खोजेको भन्दै नेपाल विद्यार्थी संघले प्रधानमन्त्री बाबुराम भट्टराईको राजिनामा माग गर्दै पुत्ला जलाएको छ । गत सोमबार पीके क्याम्पसअगाडिबाट प्रधामन्त्रीको गैरसंवैधानिक कदमविरुद्व नारा लगाउँदै राष्ट्रिय सभागृहअगाडि चोकमा प्रधानमन्त्रीको पुत्ला दहन गरिएको ने.वि.सङ्घले जनाएको छ ।