राज्य संरचना १४ वा १० गरिनु विडम्बना

राज्य संरचना १४ वा १० गरिनु विडम्बना


१४, १० हुँदै अहिले बिनानामको ११ राज्य संरचनाको कुरा आएको छ । सानो देश तर राज्य संरचना ११, कति ठूलो विडम्बना एवम् अविवेकी कार्य । बढीमा आठ संरचना र तराई–मधेसमा तराई मधेस १ तथा तराई मधेस–२, दुई मात्र संरचना । यसरी दुई मात्र गर्दा उदयपुरबाहेक झापादेखि पर्सासम्म–१ तथा नवलपरासीदेखि बर्दियासम्म २ गर्न सकिनेछ । नामकरणको कुरामा तराई मधेस–१ तथा तराई मधेस–२ भन्न मन लाग्दैन भने झापा–पर्सा प्रदेश तथा नवलपरासी–बर्दिया प्रदेश वा यसलाई सजिलोका लागि बर्दिया–नवलपरासी प्रदेश भने भइहाल्यो । प्रत्येक भाषा विकासका लागि संवैधानिक प्रतिबद्धता एवम् सबै दलको सक्रियता, मूल कुरो यति हो, जो गर्न वास्तवमा गाह्रो छैन । तराईमा यसो भने पहाड–हिमालमा सर्वप्रथम छ मात्र प्रदेश तय गर्ने र नामको कुरामा सगरमाथा प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, रोल्पा पाल्पा प्रदेश, कर्णाली प्रदेश तथा सेती–महाकाली प्रदेश यसरी नामकरण गर्ने ।
यो नामलाई तपाईंको जस्तै एक रूपता गर्ने हो भने बागमतीको हकमा चितवन सिन्धुपाल्चोक प्रदेश हुन सक्नेछ । एउटा रोल्पा पाल्पा भइहाल्यो जहाँ राप्ती पाँच तथा गुल्मी, अर्घखाँची तथा पाल्पा गरी आठ जिल्ला हुनेछन् । बागमती (क चितवन सिन्धुपाल्चोक) प्रदेशमा मकवानपुरसमेत दश जिल्ला हुनेछन् । पहाड, हिमालमा यसरी जिल्ला कम्तीमा ८, १०, १२ हुने भएकोले ती चल्न पनि कठिन हुने छैनन् । यी प्रदेशमा भाषालाई सम्पूर्ण रूपमा सम्बोधन गर्ने र जातको कुरामा पिछडिएको एवम् पछि परेको जातविशेषलाई शिक्षामा बम्पर सहयोग राष्ट्रले नगर्ने कसैले भन्ने कुरै आउँदैन । मूल कुरो भाषा विकास र शिक्षा हो । तर, त्यहाँ त जातको कुरा ल्याएर सोझै जातीय संरचना एवम् सोझै भाषिक संरचना भनिँदै छ । वास्तवमै यो विडम्बना हो, नेपाललाई यसले कहाँ पुर्‍याउँछ, चीन तथा भारतको स्टेट बनाउँछ वा के गर्नेछ भविष्यले बनाउनेछ ।
यस मानेमा तराई मधेसको कुरा गर्दा तराई मधेसमा बढीमा दुई मात्र संरचना भनेर जो–जो लागिरहनुभएको छ उहाँहरू नै ठीक देखिनुहुन्छ । एउटा मात्र पनि हुँदैन किनकि विगतमा राजधानी काठमाडौंजस्तै स्टेट सदरमुकाम केन्द्रीकृत ढाँचामा चल्ने डर हुनेछ एउटा मात्र गर्दा । तसर्थ तराई मधेसमा दुई संरचना गर्ने र यसको विकासको प्रतिफल सबैतिर छर्ने, सहयोग गर्ने यसरी तराई मधेस हुँदैन पहाड हिमाल तथा सिङ्गो नेपाललाई बलियो बनाउने चाहना प्रत्येक नेपालीको हो जस्तो लाग्छ, वा पनि हामी भयङ्कर रूपमा चुकिरहेका छौँ अहिले सुरुमै ११ संरचना कायम गर्ने सोच बचाएर । पाँच वर्षपछि यो ११ बढेर १६ मा पुग्नेछ । जवाफदेही कुन दलले लिने ? के नेपाल संरक्षक कोही पनि नभएको लावारिस देश हो ? विगतमा तत्कालीन नेता गिरिजाबाबु संरक्षकको रूपमा हुनुहुन्थ्यो तर अब हुनुहुन्न । तसर्थ अझ नेताहरू सर्वश्री सुशील कोइराला, शेरबहादुर देउवा, रामचन्द्र पौडेल, रामवरण यादव, प्रचण्ड, बाबुराम भट्टराई, झलनाथ खनाल, रामबहादुर थापा बादल, मोहन वैद्य, उपेन्द्र यादव, महन्त ठाकुर, शशांक कोइराला, भीमार्जुन आचार्य, नरहरि आचार्य तथा गगन थापामध्ये को अब संरक्षकको भूमिकामा देखापर्ने, निर्णायक समय आएको छ, जवाफ दिनुपर्‍यो नेताहरूले हामी जनता तथा कार्यकर्तालाई । साथै नेताहरूकै दिलदिमागमा हामी सोझासाझा जनता÷कार्यकर्ताको माग÷कुरा छिर्छ भने बढीमा आठ प्रदेश मात्र कायम गर्न र सम्पूर्ण रूपमा मिलेर जान म सबै दललाई अनुरोध गर्दछु ।
– प्रसन्नकुमार कोइराला
(सक्रिय सदस्य, नेपाली काङ्ग्रेस)
नेवार वन्धुले यो किन बुझेनन् ?
माओवादीका प्रचण्ड र प्रधानमन्त्री बाबुराम भट्टराईबाट काठमाडौंका नेवार बन्धुहरूलाई छुट्टै राज्य दिइने आश्वासन प्राप्त भएको गाइँगुइँ सुनिदै आएको हो । भारतजस्तो मुलुक क्याप्चर गर्ने अङ्ग्रेजलाईसमेत ‘वार डिक्लियर’ गरेर घुँडा टेकाउने राजा पृथ्वीनारायण शाहको स्ट्याच्यु हनुमानढोकाबाट उखेलेर नुवाकोट पुर्‍याउन सफल भएका नेवार (पूजापाठबाट सम्मानित जात)को राज्य काठमाडौंमा कायम भएको यसै पनि मान्नैपर्छ । तथापि, शाहवंशीय राज्यमा नेवार समुदायको सहयोग रहेकोले शान्तिसुरक्षा कायम गर्न सफलता मिलेको अवस्था थियो । साथै यो पनि यथार्थ हो कि आजको ‘काठमाडौं’ असुरक्षा, लुटपाट, डकैती, चन्दा आतङ्क, अराजकता आदि विकृतिबाट ग्रस्त छ । कतै नभएको दण्डहीनता यहाँ देखिनथालेको छ । यो नेवारबन्धुहरूले पनि स्वीकार गर्नुहुन्छ नै होला । आखिर नेवार राज्यमा यस्तो किन–कसरी भएको होला ? यस विचारणीय प्रश्न छ ।
बुढापाका एवम् इतिहासविद्हरूको कुरा सुन्दा नेवारे जात नेमुनिका सन्तान, समर्थक थिए । उनीहरू पाठपूजा तथा ध्यानादिमा पनि विशिष्ठ हुन् । त्यसैले वैधिकतर्फ गोरखाली (क्षेत्री–बाहुन)ले नेवारको पछि लाग्नै पर्छ । तर, राजनीतिमा भने नेवार दाजुभाइहरूले गोरखाली (सिपाही)को पछि लाग्नैपर्ने अवस्था अझै छ । यो कुराको चुरो नबुझेर नेवारे बन्धुहरूले धन–बुद्धि भएर पनि सफलता प्राप्त गर्न नसकेका हुन् । किन यसो भनिएको होला भनेर आश्चर्य नमाने हुन्छ, बरु घोत्लिएर रहश्य खोज्नतिर लागे हुन्छ । इतिहास खोतलेर बुझ्दा हुन्छ । इतिहासले भविष्यतर्फ डोहोरिन पनि मार्गदर्शन गर्दछ । पुरानो थितिरिति सबै पल्टाउँछौ भनेर मात्र हुँदैन, सफलताका लागि त समय–परिस्थिति पनि बुझ्नुपर्छ । अर्काले राज्य दिन्छु भनेर कुन स्वार्थले उचालेको पो हो कि भनी चनाखो हुनु पनि पर्छ कि ?
– लगन न्यौपाने (ओखलढुङ्गा), रमाकान्त झा
(सप्तरी), जानकी थापा (काठमाडौं)