बहुरुपी ‘तक्मेबूढा’

बहुरुपी ‘तक्मेबूढा’


हुन त यिनको उमेर मात्र २३ वर्षको हो । तर, विल्सनविक्रम राईले चर्चित हास्य टेलिशृङ्खला ‘मेरी बास्सैमा निभाएको ‘तक्मे बूढा’को भूमिका हेर्दा कसैले पनि यो कुराको विश्वास गर्दैनन् । ‘म मेरी बास्सैमा असी वर्षको बूढाको भूमिकामा देखिएको छु । यो मेरा लागि चुनौती पनि थियो,’ उनले घटना र विचारसँग भने ।
कलाकारिता क्षेत्रमा लाग्दा विल्सनले कम दुःख गरेका छैनन् । झापाबाट कलाकारिता क्षेत्रमा नै लाग्ने उद्देश्य बोकेर काठमाडौं आउँदा यिनले केही सिनेमामा काम त गरे तर सिनेमा रिलिज नभइदिँदा फेरि झापा फर्किए । ‘अब कलाकारिता क्षेत्रमा लाग्दिनँ भनेर कसम खाएर फर्किएको थिएँ । पछि मैले काम गरेका सिनेमाहरू क्रमशः रिलिज हुन थालेपछि त्यसको प्रतिक्रिया राम्रो आयो । पछि फेरि मलाई काठमाडौंले बोलायो,’ विल्सनले विगतबारे भने ।
अहिले विल्सनको चर्चा देशदेखि विदेशसम्म चुलिएको छ । मेरी बास्सैमा उनले निभाएको भूमिका ‘तक्मे बूढो’को क्रेज दिन दुईगुना रात चौगुनाको रफ्तारमा बढ्दै छ । ‘मलाई लाग्न थालेको छ कि कतै मेरो वास्तविक नाम हराउने त होइन,’ उनी भन्छन्, ‘तर पनि मलाई चिन्ता छैन । किनकि म दर्शकहरूको कलाकार हुँ । उहाँहरूले जुन नामले चिन्नुहुन्छ म त्यही नाममा सन्तुष्ट छु ।’
विल्सनलाई यतिबेला दुवै हातमा लड्डु भनेजस्तै भएको छ । उनको चर्चा मेरी बास्सैबाट आकाशिएको छ भने ठूलो पर्दाको चलचित्र सायदमा विल्सनले निभाएको प्लस टु विद्यार्थीको भूमिकाले पनि वाहवाही कमाएको छ । ‘मेरी बास्सैमा मेलै असी वर्षको उमेरको वृद्धको भूमिका निभाएको छु भने चलचित्र सायदमा २० वर्षको विद्यार्थीको भूमिका निभाएको छु । म यो कुरामा आफूलाई भाग्यमानी ठान्दछु कि मैले फरक–फरक भूमिकामा काम गर्ने अवसर पाएको छु,’ उनले भने ।
मेरी बास्सैमा तक्मे बूढाको भूमिकाको सोच भने विल्सनकै रहेछ । उनको यो सोचमा साथ दिए मेरी बास्सैका निर्देशक अर्थात् माग्ने बूढा केदार घिमिरेले । यसरी जम्दै अगाडि बढेको विल्सनको यो भूमिकाप्रति अहिले चासो बढ्न थालेको छ । बाहिर हिँड्दा दर्शकहरूले आफूलाई नचिनेको र म नै हुँ तक्मे बूढो भनेर स्पष्टीकरण दिँदा विश्वास नगरेको अनुभव पनि उनले संगालेका छन् । ‘धेरैले त तक्मे बूढाको नातिचाहिँ होला भनेर भन्ने पनि गर्नुभएको छ,’ विल्सन हाँसे ।
विल्सनले चलचित्र सम्झनामा तेस्रोलिङ्गीको भूमिका निभाएका छन् भने यिनै विल्सन चलचित्र सायदमा प्लस टुको विद्यार्थीको चरित्रमा देखापरेका छन् र मेरी बास्सैमा ८० वर्षको वृद्धको भूमिका निभाएका छन् यिनले । २३ वर्षको उमेरमा आफ्नो अभिनयमा विविधता प्रस्तुत गर्न सक्ने विल्सन लामो समयदेखि काठमाडौंमा एक्लै बस्दै आएका छन् । यसैबीच उनलाई सोधियो, ‘पे्रमिका छन् कि छैनन् त ?’ जवाफमा उनले ठट्यौली शैलीमा भने, ‘म धेरैको व्याइपे्रmण्ड हुँ तर मेरी गर्लपे्रmण्ड भने कोही छैन ।’
राम्रोसँग नाच्ने, गीत गाउन सक्ने र स्टेज कार्यक्रम प्रस्तुत गर्न सक्ने बहुप्रतिभाशाली विल्सनको खानेकुरामा कुनै बानी छैन । उनी सुपारीसम्म खाँदैनन् भने मदिरा र चुरोटको त कुनै छाडौँ । ‘पहिलेदेखि नै खाइएन, अब त झनै खाइन्न,’ विल्सनले स्पष्ट पारे ।

सिनेमाका लागि श्रीमान्लाई बाई
प्रियंका कार्कीलाई यतिबेला सिनेमाको नशा बढी नै लागेकोजस्तो छ । अब उनले सिनेमा क्षेत्र छाड्न नसक्ने निश्चित भएको छ । त्यसैले त लामो समयदेखि अमेरिका बस्दै आएकी र उतै बस्ने नेपालीसँग वैवाहिक
बन्धनमा बाँधिएकी प्रियंका श्रीमान्लाई नै सदाका लागि छाडेर नेपाल फर्किएकी छिन् ।
कहिले पनि अमेरिका नफर्कने र सदाका लागि नेपाली चलचित्रमा नै लाग्ने उद्देश्य बोकेर प्रियंका दुई साताअगाडि नेपाल फर्किएकी हुन् । सँगै बाँच्ने सँगै मर्ने कसम खाएको जीवनसाथीलाई त्यागेर नेपाली सिनेमामै समर्पित हुने उनको भावनाको यतिबेला वाहवाही हुन थालेको छ । तर, यता भने श्रीमान्सँग उनको सम्बन्ध त्यति सुमधुर नरहेको चर्चा पनि नचलेको होइन । एक समयकी मिस टिन प्रियंका कार्कीको म्युजिक भिडियोमा रामै्र बजारमा छ भने यताको ग्ल्यामर्स दुनियाँ र रमाइलो माहोलले प्रियंकालाई तानेको हुनुपर्ने जिकिर सिनेकर्मीहरूले गरेका छन् ।

‘सेक्सी नायिका’ जे गर्न पनि तयार
सिनेमाको पर्दामा अनुहार देखाउन पाइन्छ भने पर्दामा जसरी पनि प्रस्तुत हुन पछि नहट्ने सविना कार्की यतिबेला आफ्नो चर्चा भएकोमा निकै दङ्ग छिन् । तर, आफ्नो चर्चा नकारात्मक भएको र आफूलाई हेर्ने सोच गलत हुन थालेकोमा भने उनलाई चिन्ता छैन । उनी आजभोलि भन्न थालेकी छिन्, ‘नाम होस् बदनाम होस् तर गुमनाम नहोस् ।’
लामो समयदेखि फाट्टफुट रूपमा पर्दामा अनुहार देखाउँदै आएकी सविनाले चर्चा पाइन्छ भने जस्तो सिन पनि दिन तयार भएको जानकारी गराएपछि नै उनी चलचित्र ‘एटीएम’मा अनुबन्धित भएकी थिइन् । ल हेर्नुस् यो तस्बिरमा सविनाले दिएको पोज । सिनेमाको पोस्टरमा आफ्नो तस्बिर आउने भएपछि उनी यसरी प्रस्तुत हुन राजी भएकी छिन् । सिनेमाको मुहूर्तमा ‘सेक्सी नायिका’ भनेर सम्बोधन गरिदिएमा दङ्ग पर्ने सविना ग्ल्यामर्सको नाममा भल्गर भएर प्रस्तुत भएकी छिन् ।
तर यस्ता सिनेमा र यस्ता सिनहरू दिने कलाकारहरूको क्रियाकलापप्रति चलचित्र विकास बोर्डले निगरानी बढाउने भएको छ । सिनेमा निर्माणको नाममा गलत संस्कारको विकास हुन थालेपछि बोर्ड कडा रूपमा प्रस्तुत हुन लागेको हो ।

भल्गारिटी बढेपछि तात्यो बोर्ड
चलचित्र निर्माणको नाममा अश्लीलता प्रस्तुत गर्ने केही सिनेकर्मीको गलत सोचमाथि अब चलचित्र विकास बोर्डले कंैची चलाउने भएको छ । एक–दुईवटा सिनेमाले व्यावसायिक रूपमा सफलता हात पारेपछि त्यस्तै विषय र प्रस्तुतिमाथि सिनेमा निर्माणमा बाढी आउन थालेपछि चलचित्र विकास बोर्डले छानबिन गर्ने भएको छ । ‘यहाँ छुट र स्वतन्त्रताको गलत फाइदा उठाउनेहरूको सङ्ख्या बढायो । परिवार एकसाथ गएर सिनेमा हेर्न सक्ने अवस्था नभएपछि दर्शकहरूकै सुझावअनुसार विकास बोर्ड सचेत भएको हो,’ चलचित्र विकास बोर्डका अध्यक्ष गणेश भण्डारीले भने ।
थोरै लगानीमा सस्ता कथा, परिवेश र ग्ल्यामर्सको नाममा भल्गर सिनेमा निर्माणमा सङ्ख्यात्मक रूपमा वृद्धि हुन थालेपछि अब चलचित्र विकास बोर्डले निर्माण सुरु हुनुअगाडि चलचित्रको सम्पूर्ण कथा बोर्डबाट पास गर्नुपर्ने नियमलाई कडाइका साथ लागू गर्नुपर्ने नियमलाई कडाइका साथ लागू गर्ने भएको छ । ‘नेपाली सिनेमा निर्माणको वहानामा सी गे्रडका चलचित्रहरू बन्न थालेपछि यस्तो गर्न हामी बाध्य भएका हौँ,’ बोर्ड अध्यक्ष भण्डारीको भनाइ छ । चलचित्रको निर्माणमार्फत आफ्नो कला, संस्कृति र पहिचान प्रस्तुत गर्नुपर्ने समयमा पुरानै चलचिकर्मीहरूले गलत उद्देश्यका साथ सिनेमा निर्माण गर्न थालेपछि चलचित्र विकास बोर्ड अश्लील चलचित्र निर्माण गर्ने व्यक्ति वा कम्पनीलाई सजग गर्न बाध्य भएको कुरा बताइएको छ । पहिले चलचित्र बनाउँदा कथाको एक अंश मात्र बुझाए पुग्थ्यो भने अबदेखि पूरै कथा बुझाउनुपर्ने भएको छ ।