रमेश बुढाथोकीको दृष्टिमा

रमेश बुढाथोकीको दृष्टिमा


लामो समयदेखि कलाकारिता क्षेत्रमा सक्रिय रहँदै आउनुभएको कुशल कलाकर्मी हुनुहुन्छ रमेश बुढाथोकी । उहाँले रंगमञ्चबाट कलायात्रा सुरु गर्नुभएको हो भने टेलिफिल्म हुँदै ठूलो पर्दाको चलचित्रहरूमा पनि उहाँले आफ्नो कौशलता प्रस्तुत गरिसक्नुभएको छ । विशेष गरेर अभिनय क्षेत्रमार्फत दर्शकहरूमाझ परिचित बुढाथोकीले निर्देशन गर्नुभएका टेलिचलचित्रहरूले दर्शकमाझ राम्रो छाप छोड्न सफल भएका छन् । उहाँले करिब एक दर्जन ठूलो पर्दाको चलचित्रहरूको पनि निर्देशन गरिसक्नुभएको छ । हाल नेपाली कलाकारहरूको छाता सङ्गठन नेपाल कलाकार सङ्घको अध्यक्ष रहनुभएका बुढाथोकीको भोगाइमा जीवन र जगत् के हो त ? घटना र विचार साप्ताहिकको स्तम्भ तपाईंको दृष्टिका लागि राजन घिमिरेले उहाँसँग गरेको कुराकानी ।

० जीवन के हो ?
– फूल र काँढा भरिएको मार्ग, अनवरत यात्रा
० प्रेम के हो ?
– सुखद अनुभूति
० सुन्दरता के हो ?
– आकर्षण
० मन के हो ?
– कहिले स्पातझैं बलियो त कहिले फूलझैं कोमल
० भावना के हो ?
– मन पग्लनु
० विवाह के हो ?
– मनले मनलाई बाँध्ने एक पवित्र बन्धन
० बन्धन के हो ?
– स्वतन्त्रता नियन्त्रणमा पर्नु
० अपमान के हो ?
– लघुताभासको आभास दिलाउने तत्व
० इज्जत के हो ?
– कमाउन मुस्किल, जोगाउन झनै मुस्किल
० बेइज्जती के हो ?
– अरूसँग आँखा जुधाउन नसक्ने अवस्था
० मिलन के हो ?
– आनन्द
० विछोड के हो ?
– पीडा
० जवानी के हो ?
– बिन्दास
० बालापन के हो ?
– निश्छलता
० तृष्णा के हो ?
– आफ्नो होइन तर प्राप्तिको चाहना
० रिस के हो ?
– आफूले पालेको खराब कुकुर जसले आफैंलाई टोक्छ
० जोस के हो ?
– शक्ति
० नसा के हो ?
– रमाउने एक उपाय
० यौन के हो ?
– ओइलाएर झर्ने एक अत्यन्त सुन्दर फूल
० सन्तुष्टि के हो ?
– चैनको निद्रा
० कर्तव्य के हो ?
– गर्नैपर्ने कर्म
० विश्वास के हो ?
– जसमा संसार अडेको छ
० असल के हो ?
– आफूभित्र राख्न मन लाग्ने वस्तु
० खराब के हो ?
– प्रगतिको बाधक
० सबैभन्दा ठूलो धोका के हो ?
– विश्वासघात
० दुःख के हो ?
– देखेको सपना पूरा नहुनु
० सुख के हो ?
– मीठो मुस्कान
० खुसी के हो ?
– कहिलेकाहीँ आउने पाहुना
० आनन्द केमा छ ?
– आफ्नो जे छ त्यसैमा रमाउन सक्नुमा
० मित्र को हो ?
– महत्वपूर्ण घडीमा जसले दिन्छ साथ
० शत्रु को हो ?
– स्वार्थी
० सङ्घर्ष के हो ?
– सुन्दर गन्तव्यका लागि गरिने कठोर यात्रा
० प्राप्ति के हो ?
– सक्रियता
० आस्था के हो ?
– जसमा आँखा चिम्लेर विश्वास गर्न सकिन्छ
० धर्म के हो ?
– आत्मसन्तुष्टि
० नैतिकता के हो ?
– उच्च मनोबल प्राप्तिको मुहान
० चरित्र के हो ?
– सामाजिक पहिचान
० ज्ञान के हो ?
– प्रकाश छर्दै, अँध्यारोलाई चिर्दै, अघि बढ्न सिकाउने मन्त्र
० बुद्धि के हो ?
– शक्तिशाली हतियार
० सम्झौता के हो ?
– झिनो विश्वास
० सृष्टि के हो ?
– आमा, जसले हामीलाई यो धर्तीमा जन्म दिइन्
० गुरु को हो ?
– पथ प्रदर्शक
० राजनीति के हो ?
– असल नेता भए विकास, होइन भने विनास
० देश के हो ?
– गर्व
० समाज के हो ?
– संयुक्त परिवार
० पद के हो ?
– अनेक चाहनामध्येको एक विशेष चाहना
० विकास के हो ?
– परिवर्तन
० व्यापार के हो ?
– नाफा–नोक्सानको हिसाबमा अल्झेको जीवन
० अनुशासन के हो ?
– जीवन सरल बनाउने कला
-राजन घिमिरे