डर, त्रास र सन्त्रास

डर, त्रास र सन्त्रास


जहाँ रंगशालामा कैदीलाई गोली हानिन्थ्यो
दक्षिण एसियाली मुलुक अफगानिस्तानको नाम उच्चारण गर्दा सर्वप्रथम ‘आतङ्कवाद’को तस्बिर मानसपटलमा झल्किन्छ । त्यहाँ आतङ्कवादले यतिसम्म जरा गाडेको छ कि प्रत्येक दिन त्यहाँका जनताले डर, त्रास र सन्त्रासमा बाँच्नुपर्ने बाध्यता छ । बिहान घरबाट निस्किएको व्यक्ति बेलुकी घर फर्कन्छ वा फर्किंदैन त्यसको कुनै टुङ्गो छैन । यस्तो भयभीतको वातावरणमा बाँच्दै आएका अफगानीहरूले खेलकुदमा गरेको प्रगतिले सारा विश्वलाई नै चकित पारेको छ । एक दशकअघि खेलकुदका भौतिक संरचना आतङ्ककारीले नष्ट पारेपछि अफगानिस्तान उजाड मरुभूमिमा परिणत भएको थियो । त्यहाँ खेल्नका लागि खुला आकाशबाहेक केही थिएन । जमिनभरि गोला, बारुद र ग्रिनेटले भरिएका थिए । यस्तो अवस्थामा अफगानिस्तान विश्ववाट मात्र नभई आफैंबाट पनि टाढिँदै गएको थियो ।
अफगानिस्तान आतङ्कवादको चपेटामा पर्दै गएपछि त्यहाँका सम्पूर्ण गतिविधि ठप्प हुन पुगेका थिए । जसमा खेलकुद पनि एउटा थियो । विश्व खेलकुदमा उदीयमान राष्ट्रको रूपमा आफूलाई चिनाइरहेको अवस्थामा अफगानिस्तानले ठूलो बज्रपातको सामना गर्नुपरेको थियो । भएका खेलकुदका सम्पूर्ण संरचना ध्वस्त भएपछि अफगानिस्तानमा खेलकुद प्रायः ठप्प भएको थियो । अझ त्यसबेला आतङ््््कवादी समूहले आमजनतालाई कैदी बनाएर रंगशालामा ल्याएर गोली ठोक्न थालेपछि त्यहाँको खेलकुदको बचेखुचेको आशामा पनि भोटेताल्चा लागेको थियो ।
खेलकुदका गतिविधि सञ्चालन हुने ठाउँमा रगतको खोलो बग्न थालेपछि त्यहाँको खेलकुद सदाको लागि समाप्त भएको सबैले अड्कल काटेका थिए । कैदीको नाम दिएर रंगशालाभित्रै जो कसैलाई पनि गोली ठोक्न थालेपछि हतासिएका थुप्रै खेलाडी त्यसपछि छिमेकी मुलुक पाकिस्तान, साउदी अरेबिया र संयुक्त अरब इमिरेटतर्फ पलायन भएका थिए । यो अफगानिस्तानको लागि निकै दुःखद् घटनासमेत बन्न पुगेको थियो । युवाशक्ति आत्मसुरक्षाका कारण ज्यान जोगाउन विदेशी शरणार्थी बनेपछि अफगानिस्तानको मेरुडण्ड नै भाँचिएको थियो । आतङ्कवादले अफगानिस्तानलाई नराम्रोसँग गाँजेपछि स्वास फेर्नबाट समेत वञ्चित बनेका अफगानी नागरिकहरूले त्यसबेला आफ्नो ज्यानलाई मात्र पहिलो प्राथमिकतामा राखेका थिए । त्यसबेला उनीहरूले उठाएको यो कदमलाई अफगानिस्तानको सरकारले पनि सकारात्मक रूपमा लिएको थिए ।
अहिले पनि अफगानिस्तानमा आतङ्कवाद निर्मूल भएको छैन । आतङ्कवादका काला बादलहरू अहिले पनि अफगानिस्तानका आकाशमा मडारिइराखेका छन् । हरेक दिन दर्जनौँ व्यक्तिको हत्या भइरहेको छ । अफगानिस्तान अहिले पनि आतङ्कवादसँग जुधिरहेको छ । र पनि पहिलेको भन्दा स्थितिमा केही सहज भने पक्कै भएको छ । त्यहाँका जनताले अलिकति भए पनि राहतको श्वास लिन पाएका छन् । पलायन भएका युवाशक्ति पूर्णरूपमा स्वदेश फिर्ता नभए पनि उनीहरूले आफ्नो राष्ट्रका लागि विदेशमै बसेर भए पनि योगदान दिइरहेका छन् । यसमा खेलाडीहरू प्रमुख रूपमा रहेका छन् । खेलाडीले छिमेकी मुलुकमा प्रशिक्षण लिएर आफ्नो मुलुकको अन्तर्राष्ट्रियस्तरमा प्रतिनिधित्व गरिरहेका छन् ।
विगत तीन–चार वर्षको अवधिमा अफगानिस्तानका खेलाडीले खेलकुदमा गरेको प्रगतिले अहिले विश्वलाई नै चकित पारेको छ । स्वदेशमा प्रशिक्षणका लागि एउटै पनि टे«निङ सेन्टर अथवा कवर्डहल नहुँदासमेत अफगानिस्तानका खेलाडीले खेलकुदमा ठूलो छलाङ मार्न सफल भएका छन् । उनीहरू दक्षिण एसियाली मुलुकमा भारतपछि दोस्रो स्थानमा आउन सफल भएका छन् । बेइजिङ ओलम्पिकमा तेक्वान्दोमा स्वर्ण पदक जितेपछि अफगानिस्तानले आफूलाई चुनौतीको रूपमा प्रस्तुत गर्न सफल भएको छ । खेलकुदमा मार्सल आर्टस् होस् या अन्य अफगानिस्तानले गरेको प्रगति साँच्चिकै इष्र्या गर्नलायक बनेको छ । आतङ्कवादलाई नजरअन्दाज गर्दै माथि उठेको अफगानिस्तानले विश्व खेलकुद जगत्मा अझै तहल्का मच्चाउने खेलविज्ञहरूले ठोकुवा गरेका छन् ।
एउटै पनि कवर्डहल नभएको अफगानिस्तानले अहिले दक्षिण एसियाली खेलकुद प्रतियोगितामा (साग) मा आफ्नो उपस्थिति दरिलो रूपमा प्रस्तुत गरिसकेको छ । आफ्नो प्रभाव क्रमिक रूपमा बढाउँदै गएको अफगानिस्तानले बंगलादेशको राजधानी ढाकामा सम्पन्न भएको एघारौँ सागमा गरेको प्रदर्शनले अन्य दक्षिण एसियाली मुलुकका लागि निकै चुनौतीपूर्ण बनेको छ । उक्त सागमा अफगानिस्तानले आफूले सहभागिता जनाएका प्रायः सबै खेलमा पदक जित्न सफल भएको थियो । एघारौँ सागमा आठवटा स्वर्ण पदक जितेको अफगानिस्तानले आफूले सहभागिता जनाएका प्रायः सबै खेलमा प्रभावशाली प्रदर्शन गरेको थियो । नेपाल, श्रीलंका, बंगलादेश र पाकिस्तानलाई निकै चुनौती दिएर अब भारतपछिको नम्बर आफ्नो हो भन्ने सङ्केत दिइसकेको छ । अन्य दक्षिण एसियाली प्रदर्शन दिनप्रतिदिन खस्किँदै गएको अवस्थामा अफगानिस्तानको बढ्दो प्रभावले भविष्यमा अन्य मुलुकलाई छायामा नपार्ला भन्न सकिँदैन ।
यसरी आतङ्कवादले गाँजेर पनि अफगानिस्तानले खेलकुदमा गरेको प्रगतिले अहिले अन्य राष्ट्रका लागि प्रेरणाको विषय बनेको छ । इच्छा र चाहना भयो भने जे पनि सम्भव हुन्छ भन्ने उखानलाई अफगानिस्तानले चरितार्थ गरेको छ । तर विडम्बना, दक्षिण एसियली खेलकुद प्रतियोगिताको शुभारम्भ गर्ने हाम्रो मुलुक भने खेलकुदमा दिनहुँ अधोगतितर्फ लाग्दै गएको छ । राजनीतिक हस्तक्षेप र सरकारको गैरजिम्मेवारीपनले गर्दा खेलकुदको जहिले पनि मानमर्दन हँुदै आएको छ । खेलकुदलाई जहिले पनि सौताको व्यवहार गर्दै आएको सरकारले जबसम्म खेलकुदलाई प्राथमिकतामा राखेर यसको विकासका लागि दूरदर्शी कदम चाल्दैन तबसम्म नेपाली खेलकुद कुवाको भ्यागुतोजस्तै रहने प्रायः निश्चित छ । मुलुकको मान, सम्मान र प्रतिष्ठालाई अन्तराष्ट्रमा पुर्‍याउन अहम् भूमिका निर्वाह गर्ने खेलकुदलाई समयमै योजनाबद्ध तरिकाले अगाडि नबढाए भोलि नेपालको स्थिति भुटानभन्दा पनि कमजोर नहोला भन्न सकिँदैन । तसर्थ मुलुकको विषम परिस्थितिमा पनि खेलकुदको माध्यमबाट विश्वमानचित्रमा आफ्नो सशक्तता प्रदर्शन गरिरहेको अफगानिस्तानको सिको गर्नु नेपालका लागि अनिवार्य भइसकेको छ । अन्यथा भविष्यमा अरूको सशक्तताको अगाडि नेपालीको उपस्थिति सूर्यको अगाडि दियो सावित नहोला भन्न सकिँदैन ।

ओलम्पिकको विवाद सर्वोच्चदेखि कम्पनीसम्म
अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीबाट मान्यता प्राप्त नेपाल ओलम्पिक कमिटीका पदाधिकारीहरूले एक वर्षअघि डोटी जिल्लामा ‘राष्ट्रिय ओलम्पिक कमिटी’को गोप्य रूपमा दर्ता गरेको हालै खुलासा गरेका छन् । सो कमिटीका अध्यक्ष ध्रुवबहादुर प्रधानले सर्वोच्चको निर्णयलाई सम्मान गर्न आफूहरूले वैकल्पिक बाटो अपनाएको स्वीकार गरेका छन् । एनओसी राजनीतिक चपेटामा परेको र यसले खेलकुदको मर्मलाई समेत प्रहार गरेको हुँदा त्यसबाट मुक्त रहन आफूहरूले सर्वसुलभ बाटो अपनाएको प्रस्ट पारेका छन् । त्यस्तै भविष्यमा सरकारी हस्तक्षेपको अन्त्य गर्न एनओसीलाई कम्पनी रजिष्ट्रार कार्यालयमा दर्ता गराउन प्रयासरत रहेको जानकारी गराएका छन् ।
अध्यक्ष प्रधानले ओलम्पिकको कमिटीको इतिहास स्मरण गराउँदै ओलम्पिक कमिटी निरन्तर रूपमा राजनीतिक हस्तक्षेपको सिकार भएको बताए । सरकारको बारम्बारको हस्तक्षेप र राष्ट्रिय खेलकुद परिषद्को स्वेच्छाकारिताबाट आजित भएर आफूहरूले ओलम्पिकलाई राजनीतिक हस्तक्षेपबाट टाढा राख्न यस्तो कदम उठाएको प्रस्ट पारेका छन् । प्रधानले अहिले आफूहरू दर्ताको प्रक्रियामा भएको र दर्ता भएपछि अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीलाई जानकारी गराउने बताए । त्यसपछि आईओसीले मान्यता दिने÷नदिने उसको कुरा हो ।
खेलकुद मन्त्रालय र राखेपलाई जानकारीबिना कम्पनी ऐनअन्तर्गत दर्ता हुन्छ त भन्ने प्रश्नमा प्रधानले त्यो मुलुकमा ओलम्पिक मुभमेन्टका लागि पनि दर्ता गर्न दिनुपर्छ भने । नेपालको कानुनअनुसार दर्ता गर्ने हो, सरकारले ओलम्पिकको स्थायित्वका लागि पनि दर्ता गरिदिनुपर्छ । नगरे के गर्नुहुन्छ भन्दा सर्वप्रथम सरकारले गर्नुपर्छ भन्ने हाम्रो मान्यता हो, नगर्ला जस्तो मलाई लाग्दैन । एनओसी कम्पनी ऐनअन्तर्गत दर्ता भए पनि ओलम्पिक कमिटीको विधानअनुसार नै चल्ने तर गृह मन्त्रालय र राखेपको पहुँचभन्दा भने टाढा रहने प्रस्ट पारेका थिए । त्यस्तै आईओसीमा विधान पठाउँदा सामान्य रूपमा मोडेलमा फरक पर्ने बताए । यसरी व्यक्तिगत रूपमा एनओसीलाई पेवा बनाउन मिल्छ त भन्दा प्रधानले कुनै पनि संस्था कसैको पेवा बन्न नसक्ने बताए । त्यसरी अघि बढ्दा आईओसीले पनि मान्यता नदिने र आईओसीको मान्यताबेगर एनओसी चल्न पनि नसक्ने जिकिर गरेका थिए ।
एनओसीलाई कम्पनी ऐनअन्तर्गत कदापि दर्ता गर्न नदिने राखेपले बयान दिइरहेको अवस्थामा प्रधानले चाहिँ नेपालको कानुनबमोजिम दर्ता गरिने र कानुनले दर्ता प्रक्रियालाई रोक्न नसक्ने दाबी गरेका छन् । अझ ओलम्पिक चार्टरमा पनि सरकारको तोकेको कार्यालयमा नै एनओसीको दर्ता गरिनुपर्छ भन्ने नभएकोले जहाँ पनि गर्न सकिने बताए । साथै ओलम्पिकलाई गैरनाफामूलक एनजीओको रूपमा दर्ता गर्ने प्रयास भइरहेको पनि बताए । प्रधानले ओलम्पिक कमिटीलाई राजनीतिक हस्तक्षेप र विवादरहित बनाउन आफूले यो कदम उठाएको पनि प्रस्ट पारेका थिए ।
यसैगरी आउँदो साउन १२ देखि २८ गतेसम्म बेलायतको लन्डनमा आयोजना हुन गइरहेको ओलम्पिक खेलकुद प्रतियोगितामा नेपालका तर्फबाट तीन खेलाडीको सहभागिता निश्चित भएको एनओसीले जानकारी गराएको छ । ती खेलाडीमा छोटो दूरीका धावक तिलकराम थारू, प्रमिला रिजाल र पौडीकी श्रेया धिताल रहेका छन् । पौडीको पुरुषतर्फ शैलेश राणा र प्रशिद्धजंग शाहको भारतको हैदरावादमा हुने फेडेरेसन कपपछि टुङ्गो लाग्नेछ । त्यस्तै अन्य पाँच खेलका ११ जना खेलाडीलाई वाइल्ड कार्डमार्फत प्रक्रिया अगाडि बढाएको जनाएको छ । जसमा तेक्वान्दोतर्फ आयशा शाक्य र रोहित तामाङ, बक्सिङतर्फ पूर्णबहादुर लामा, सञ्जु लामा र सरस्वती राना, सुटिङतर्फ स्नेह राज्यलक्ष्मी राणा र अस्मिता राई, जुडोतर्फ दीपकृष्ण श्रेष्ठ र फुपुल्हामु खत्री र साइक्लिङतर्फ अजय पण्डित क्षेत्री निर्जला रहेका छन् । वाइल्ड कार्डको अन्तिम टुङ्गो यसै महिना लाग्ने एनओसीले बताएको छ । साथै ओलम्पिकका लागि छनोट भएका एथलेटिक्स र पौडीका खेलाडीहरूलाई जुनको तेस्रो साता वैदशिक प्रशिक्षण पठाउने जानकारी गराएको छ ।

सोतोकान करातेमा नयाँ व्यवस्थापन समिति
केन्द्रीय सोतोकान कराते सङ्घका संस्थापक अध्यक्ष हेमकुमार श्रेष्ठको अध्यक्षतामा हालै सम्पन्न बैठकले केन्द्रीय सोतोकान कराते व्यवस्थापन समिति गठन गरेको छ । नवगठित व्यवस्थापन समितिका अध्यक्षमा हेमकुमार श्रेष्ठ, उपाध्यक्षद्वयमा लक्ष्मणकुमार कर्माचार्य र रामप्रसाद श्रेष्ठ, सचिवमा शाश्वतप्रसाद श्रेष्ठ, कोषाध्यक्षमा शरण श्रेष्ठ, सहसचिवमा विदुर थापा र सहकोषाध्यक्षमा श्रीजल भैल छानिएका छन् । यसैगरी सदस्यहरूमा फ्रेम लामा र छिरिङ फुन्जो गुरुङ रहेको प्रमुख प्रशिक्षकसमेत रहेका अध्यक्ष हेमकुमारले जानकारी दिए ।

भलिबलको वार्षिक कार्यक्रम सार्वजनिक
नेपाल भलिबल सङ्घले यस वर्षको कार्यक्रम सार्वजनिक गरेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को समीक्षालयमा हालै आयोजित एक कार्यक्रमबीच सङ्घले भौतिक पूर्वाधारलाई दीर्घकालीन तथा प्रतियोगितालाई अल्पकालीन कार्यक्रममा समेटेको सङ्घ महासचिव जितेन्द्रबहादुर चन्दले जानकारी गराएका थिए । सङ्घले यो वर्ष दोस्रो राष्ट्रिय महिला बिच भलिबल (जेठ २७–२९), भदौ तेस्रो साता एनभीए कप महिला तथा पुरुष भलिबल, असोज पहिलो साता तेस्रो राष्ट्रिय पुरुष बिच भलिबल, असोज २० गते पाँचै विकास क्षेत्रमा भलिबल महोत्सव, मङ्सिर पहिलो साता २७औँ पुरुष तथा १७औँ महिला राष्ट्रिय भलिबल, माघ पहिलो साता राष्ट्रिय लिग तथा फागुन पहिलो साता अन्तरकलेज राष्ट्रव्यापी खुला पुरुष तथा महिला भलिबल प्रतियोगिता आयोजना गर्ने भएको छ । त्यस्तै वर्ष खेलाडी घोषणा तथा सम्मान कार्यक्रम पनि सङ्घको कार्यक्रममा समावेश छ । सङ्घले आर्थिक वर्ष ०६९÷७० का लागि राखेपसँग दुई करोड १५ लाखको बजेट पनि माग गरेको छ ।

काठमाडौं र ललितपुरमा र्‍याफ्टिङ सङ्घ गठन
काठमाडौं र ललितपुरमा जिल्ला र्‍याफ्टिङ एन्ड क्यानोइङ सङ्घ गठन भएको छ । लालबहादुर थापाको अध्यक्षतामा गठित नौ सदस्यीय काठमाडौं जिल्ला र्‍याफ्टिङ एन्ड क्यानोइङ सङ्घमा दीपक शर्मा नेपाल र लीलाराम बस्नेत उपाध्यक्ष, राजु कार्की सचिव तथा राजेश भण्डारी कोषाध्यक्ष रहेका छन् । सदस्यहरूमा महेश नेपाली, हितकाजी लामा, जोन खड्का तथा विष्णु घिमिरे छन् । त्यस्तै ललितपुरको अध्यक्षमा चेतराज कँडेल, उपाध्यक्ष ध्रुवलाल ताम्राकार, सचिवमा रवीन्द्र हाडा तथा कोषाध्यक्षमा लक्ष्मी चौलागाईं (विष्ट) रहेका छन् । मीन न्यौपाने, अमिन तामाङ तथा सुजन खतिवडा सदस्यमा चयन भएका छन् ।

गुप्तलाई एसियाकै उच्च अवार्ड
नेपाल भारोत्तोलन सङ्घका महासचिव एवम् भारोत्तोलनका वरिष्ठ प्रशिक्षक पार्थ सारथी सेन गुप्त ‘एसियन गोल्ड अवार्ड’बाट सम्मानित भएका छन् । गुप्तका अनुसार एसियामै भारोत्तोलन खेलको विकासमा योगदान पुर्‍याएबापत एसियाली भारोत्तोलन सङ्घले उनलाई उक्त अवार्डबाट सम्मान गरेको हो । भारोत्तोलनमा प्रदान गरिने उक्त अवार्ड एसियाकै सबैभन्दा ठूलो अवार्डका रूपमा रहेको छ । दक्षिण कोरियाको इन्चियोनमा गत अप्रिलमा भएको सिनियर एसियाली भारोत्तोलन च्याम्पियनसिपका दौरान एसियाली भारोत्तोलन सङ्घका अध्यक्ष मोहम्मद अल्माना तथा महासचिव अलि मुरादीले गुप्तलाई अवार्ड हस्तान्तरण गरेका थिए । सो अवसरमा अन्तर्राष्ट्रिय भारोत्तोलन सङ्घका अध्यक्ष तमास अजामको पनि उपस्थिति रहेको थियो । च्याम्पियनसिपमा गुप्तले जुरी अध्यक्षको भूमिका निर्वाह गरेका थिए ।
‘आफ्नो मिहिनेतको कदर गर्दै अवार्ड प्रदान गरेकोमा एसियाली भारोत्तोलन सङ्घलाई धन्यवाद दिन चाहन्छु । यसले नेपाल कुनै पनि राष्ट्रभन्दा कम छैन भन्ने प्रमाणित गरेको छ,’ एसियाली भारोत्तोलन सङ्घ, प्राविधिक कमिटीका सचिवसमेत रहेका गुप्तले भने, ‘अवार्डबाट म मात्र होइन, सिङ्गो राष्ट्र नै सम्मानित भएको छ ।’ ‘अवार्डका माध्यमबाट सिङ्गो राष्ट्रलाई अन्तर्राष्ट्रिय क्षेत्रमा चिनाउन पाउँदा गर्व महसुस गरेको बताएका छन् ।

भेट्रान्स टेबलटेनिस स्थगित
नेपाल एमेच्योर भेट्रान्स एथलेटिक्स कमिटीको आयोजनामा हुने तेस्रो अनुप स्मृति भेट्रान्स टेबुलटेनिस प्रतियोगिता स्थगित भएको छ । आयोजकका अध्यक्ष जीएन शर्मा (दाइ) ले हालै पत्रकार सम्मेलन आयोजना गरी उक्त प्रतियोगिता स्थगित गरिएको जानकारी गराएका हुन् । ‘हामी पूर्णरूपमा तयार थियौँ । बन्द, हडताल कर्ताको अनुरोधमा हामीले प्रतियोगिता स्थगित गरेका हौँ,’ शर्माले भने, ‘अनुकूल मिलाएर यही जेठभित्रै प्रतियोगिता आयोजना गर्छौं ।’

अन्तर्राष्ट्रिय हाइस्कुल कराते हुने
नेपाल कराते डो महासङ्घअन्तर्गतको सितोरियो कराते डो हाइस्कुल केन्द्रीय कमिटीको आयोजनामा १८औँ अन्तर्राष्ट्रिय हाइस्कुल कराते तथा किकबक्सिङ प्रतियोगिता जेठ १२ गतेदेखि हुने भएको छ । प्रतियोगितामा नेपालसहित भारत, बंगलादेश, श्रीलंका, पाकिस्तान तथा एक आमन्त्रित युरोपियन टोलीका गरी कुल एक हजार चार सय खेलाडीको सहभागिता रहने आयोजकका अध्यक्ष ईश्वर थापा (गजेन्द्र) ले जनाएका छन् । जम्मा ४० स्वर्णका लागि प्रतिस्पर्धा हुने प्रतियोगिताका खेलहरू लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रको हलमा हुने सहसंयोजक रामकुमार थारूले जानकारी गराएका थिए । चारदिने प्रतियोगिता सञ्चालन गर्न करिब चार लाख ६५ हजार रुपैयाँ खर्च हुने आयोजकले जनाएको छ ।

एनएसकेए अन्तर्राष्ट्रिय कराते हुने
नेपाल सोतोकान कराते सङ्घको आयोजनामा छैटौँ एनएसकेए अन्तर्राष्ट्रिय कराते प्रतियोगिता र प्राविधिक तथा रेफ्री सेमिनार जेठ १६ देखि २१ गतेसम्म हुने भएको छ । त्रिपुरेश्वरस्थित सङ्घकै कार्यालयमा हालै आयोजित पत्रकार सम्मेलनमा सङ्घका महासचिव एवम् प्रमुख प्रशिक्षक श्याम शेर्पाले प्रतियोगितामा ४५ स्वर्णका लागि प्रतिस्पर्धा हुने बताए । जसमा १८ स्वर्ण महिलातर्फ रहेका छन् भने बाँकी पुरुषतर्फ । सुरुका दुई दिन सेमिनार हुनेछ भने बाँकी चार दिन प्रतियोगिता सञ्चालन हुनेछ । प्रतियोगिताका खेलहरू त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा हुनेछन् । प्रतियोगितामा नेपालसहित जापान, घाना, यूएई, भारत, बंगलादेश, पाकिस्तान, श्रीलंका र अफ्गानिस्तानका करिब एक हजार खेलाडीको सहभागिता रहने बताइएको छ ।