अब मदनकृष्ण र हरिवंशले विश्वकप खेल्ने

अब मदनकृष्ण र हरिवंशले विश्वकप खेल्ने


-श्रीविक्रम भण्डारी
नेपालको विश्वकप फुटबलसँग कुनै नाता नभए पनि राजधानीमा विश्वकपको रौनकता देख्दा नेपाल पनि विश्वकपमा खेल्दै छ भन्ने भान हुन्छ । के युवा, के बूढा सबै विश्वकपको नसामा चुर्लुम्म डुबेका छन् । उनीहरूलाई नेपाली फुटबल र खेलाडीको बारेमा जानकारी नभए पनि विश्वका खेलाडीलाई भने राम्ररी चिनेका छन् । अहिलेसम्म नेपालले विश्वकप छनोट चरणका खेल कतिपटक खेल्यो र कस्तो परिणाम हात पार्‍यो यो विषयमा उनीहरूलाई कुनै चासो छैन । हो, विश्वकपको फाइनल चरणमा पुग्नका लागि नेपालले पनि सन् १९८६ देखि विश्वकपका छनोट चरणका खेलहरू खेल्न थालेको थियो । सन् २००२ सम्म विश्वकप छनोट चरणका खेलहरू खेलेको नेपालले यी प्रतियोगिताहरूमा ८३ गोल खाएर १५ गोल विपक्षमा गर्न पनि सफल भएको छ । विश्वकप छनोटमा पहिलो गोल गर्ने खेलाडी हरि खड्का हुन् भने सबैभन्दा बढी सात गोल गर्ने खेलाडी नीराजन रायमाझी हुन् । नीराजनले यो प्रतियोगितामा ह्याटि्रकसमेत गरेका थिए । विश्वकपका सबै छनोट प्रतियोगिताहरूमा गोलको भारी बोकेको नेपाल अहिलेसम्म दोस्रो चरणमा पुग्न सकेको छैन । र्समनाक पराजय र गोलको भारी बोक्दा-बोक्दा थकित भएपछि सन् २००६ देखि नेपालले विश्वकप छनोट चरणका खेलहरूमा सहभागिता जनाएको छैन ।
विश्वकपसँग नेपालको नाता सम्बन्ध टुटिसके पनि नेपालीहरूले भने विश्वकपसँग नाता तोडेका छैनन् । यसको उदाहरणको रूपमा देख्न सकिन्छ दक्षिण अफि्रकामा भइरहेको विश्वकपमा नेपालीको सहभागिता । उनीहरू विश्वकपमा नेपालको सहभागिता नभए पनि यसलाई सफल पार्न हरेक तरिका अपनाएर खुला हृदयले लागेका छन् । जसको परिणाम अहिले राजधानीलगायत मुलुकका विभिन्न सहरहरू फुटबलमय बनेका छन् । अहिले विश्वकप फुटबलको चहलपहलले राजधानी चर्ुर्लुम्म डुबेको छ । फुटबल भनेपछि हुने राजधानीवासीहरूले विश्वकपलाई अपनत्व प्रदान गर्न अहिले ज्यान छोडेर लागेका छन् । अन्तर्राष्ट्रिय स्तरमा नेपाली फुटबलको स्तर जस्तो भए पनि फुटबलप्रेमी दर्शकहरूले फुटबललाई माया मार्न गर्न छाडेका छैनन् । हाल सञ्चालन भइरहेको विश्वकपलाई सफलताको मूर्तरूप दिन नेपालका फुटबलप्रेमीहरू आफ्नै किसिमले लागेका छन् । अहिले बाहना जे भए पनि विश्वकप फुटबल प्रमुख बाहना बनेको छ । साथीसँग फुटबल हेर्ने, रमाइलो गर्ने, आफ्नो टिमलाई र्समर्थन गर्ने उनीहरूको दिनचर्या बनेको छ ।
प्रत्येक चार वर्षमा आउने विश्वकप फुटबलको रौनकले अहिले घरघरमा नौलो ऊर्जा थपिदिएको छ । हिजोसम्म फुटबलको फुसमेत नजान्नेहरू अहिले फुटबलको बारेमा विश्लेषण गर्न थालेका छन् । छोराले फुटबलको कुरा गर्दा नाक खुम्च्याउने र गाली गर्ने आमाबुबाहरू अहिले छोरासँगै विश्वकप हेर्न थालेका छन् । छोराले र्समर्थन गरेको टिमभन्दा अर्को टिमलाई र्समर्थन गरेर फुटबलाई अझ रोचक रोमाञ्चक बनाइरहेका छन् । आफ्नो नातिसँगै फुटबलको आनन्द उठाइरहेकी बानेश्वर बत्तीसपुतलीकी ७२ वर्षीया लक्ष्मी रायमाझी निकै प्रसन्न मुद्रामा फुटबल हेरेको देख्दा परिवारका सदस्यहरूसमेत आश्चर्यचकित भएका छन् । लक्ष्मीले पटकपटक उत्तेजित भएर गोल, गोल भनेको सुन्दा उनी २० वर्षीया युवतीजस्तै देखिएकी थिइन् । प्रोजेक्टरको ठूलो पर्दामा विश्वकप फुटबलको आनन्द उठाइरहेकी लक्ष्मी भन्दै थिइन्, ‘भकुन्डो हानेको हेर्दा त रमाइलो हुँदोरहेछ, खुवै राम्रोसँग हान्दा रहेछन् बा, मलाई त नबुझे पनि रमाइलो लाग्छ, कति धेरै मान्छेले हेर्दा रहेछन् भकुन्डो खेलेको, म यो खेल जहिलेसम्म आउँछ त्यहिलेसम्म हेर्छु ।’
राजधानीनिवासीलाई विश्वकपको ज्वरोले गाँजेपछि अहिले टोलटोल, चोकचोकमा सामूहिक रूपमा विश्वकप हेर्नका लागि विशेष व्यवस्था मिलाइएको छ । यही कुरालाई आत्मसात् गर्दै नौलो आँगन रेस्टुरेन्ट पुरानो बानेश्वरले पनि प्रोजेक्टर राखेर ठूलो पर्दामा विश्वकप फुटबल देखाउने व्यवस्था मिलाएको छ । उक्त रेस्टुरेन्टका प्रमुख अनिल पुरीले फुटबलप्रेमीको चाहनालाई ख्याल गरेर आफूले यस्तो व्यवस्था मिलाएको बताए । घरमा एक्लै बसेर फुटबल हेर्दा आनन्द नआउने हुँदा सामूहिक रूपमा विश्वकप हेर्नका लागि यस्तो व्यवस्था मिलाएको पुरीले बताए । आफूले १५ वाई २० फिटको पर्दामा विश्वकप हेर्ने व्यवस्था मिलाएपछि अहिले विभिन्न ठाउँबाट विश्वकप हेर्नका लागि घुइँचो लागेको सुनाए । अहिलेको विश्वकप हेर्न युवा युवती मात्रै नभएर केटाकेटी र बूढाबूढीहरूले पनि उत्तिकै चासो दिएको पुरीको कथन थियो । दर्शकहरू भएनन् भने फुटबल हेर्न मज्जा नआउने भन्दै पुरीले अहिले दर्शकहरूको भीड लागेको देख्दा मनमा आनन्द आइरहेको र आफूले जुन उद्देश्य लिएर विश्वकप हेर्ने व्यवस्था मिलाएको थिए त्यो सफल भएको जानकारी गराए । फुटबल हेर्न नि:शुल्क व्यवस्था मिलाएका पुरीले अहिले विश्वकपका लिग चरण सञ्चालन भइरहेकोले दर्शकहरू सोचेअनुरूप नआएको बताउँदै बिस्तारैबिस्तारै दर्शकहरू आउने विश्वास प्रकट गरे ।
एक महिनासम्म चल्ने विश्वकप फुटबल प्रतियोगितालाई अझ रोमाञ्चक र सनसनीपूर्ण बनाउन यस्ता प्रयासले नयाँ ऊर्जा थपेको छ । ठूलो पर्दामा विश्वकपको आनन्द लिन युवा, युवतीहरूले देखाएको चासोले अहिले आयोजकहरूको यो प्रयास सफल भएको छ । पहिले विश्वकप हेर्न फाइभस्टारका हल चहार्नुपर्ने बाध्यतालाई यसले टारिदिएको छ । महँगो शुल्क तिरेर विश्वकप हेर्न बाध्य हुनेहरू अहिले आफ्नै घरआँगनमा फुटबलको मज्जा लिन थालेका छन् । विगतका वर्षहरूमा यसरी नै फाइभस्टारको हल चहारेर फुटबल हेर्दै आएका हिक्मतजंग थापाले नौलो आँगनले विश्वकपलाई प्रोजेक्टरबाट ठूलो पर्दामा देखाएर आफूलाई ठूलो गुन लगाएको बताए । उनले अहिले आफ्नै घरछिमेकमा सजिलैसँग विश्वकपको आनन्द लिन पाएको बताए । यस्तै, सोही रेस्टुरेन्टमा विश्वकप हेर्न साथीहरूसँग आएकी अञ्जना गुरुङले कोल्डडि्रंक्सको लामो सर्को तान्दै सञ्चालक अनिल पुरीलाई धन्यवाद दिँदै उनको प्रयासको सराहना गरिन् । अञ्जनाले आफू फुटबल भनेपछि हुरुक्कै हुने बताउँदै विश्वकप हेर्न साथीहरूसँग यहाँ आएको बताइन् । उनले आफूहरू दुईवटा खेल हेर्ने पनि खुलासा गरिन् । आफ्नो प्रिय खेलाडी मेसीलाई क्ल्याप गर्न यहाँ आएको र जिताउन पाउँदा खुसी लागेको बताएकी थिइन् ।
जे होस्, नेपाल विश्वकपमा कहिले पुग्ला र र्समर्थन गर्न पाइएला भन्ने कुरालाई सपना बनाएका नेपाली फुटबलप्रेमी त्यो दिन आएमा कति रमाउँथे होला कल्पना गर्न सकिँदैन । फुटबल खेलप्रति नेपालीको लगावले यो खेल नेपालमा कति लोकप्रिय छ त्यसै अड्कल र अनुमान लगाउन सकिन्छ । तर, विडम्बना, सम्बन्धित निकाय अखिल नेपाल फुटबल सङ्घ फुटबलको विकासमा भन्दा आफ्नै विकास र स्वार्थमा लागेको हुँदा सबै सपना पानीका फोकासरि बनिरहेका छन् । विश्वकपको छनोट चरणमा नेपालले नर्मनाक पराजय भोगेपछि अत्तालिएको एन्फाले त्यसपछि विश्वकपबाट आफ्नोे हात झिकिसकेको छ । खेलाडीहरूको खेल्ने चाहना हुँदाहुँदै पनि एन्फाले उनीहरूको मनमा कुठाराघात गरेको छ । खेलाडीहरूले विश्वकप छनोट चरणमा उत्कृष्ट प्रदर्शन नगरे आफ्नो कुर्सी डगमगाउने र आलोचनाको सिकार बन्नुपर्ने सन्त्रासले एन्फाले विगतका दुई विश्वकपका लागि यस्तो आँट गर्न सकेको छैन । छनोट पार नगरी विश्वकपको फाइनल चरणमा पुग्न नसकिने हुँदा नेपालले खेल्दै नखेली त्यो गन्तव्यमा पुग्ने देखिँदैन । यही कुरालाई आत्मसात् गरेर यस पङ्क्तिकारले आजभन्दा अठार वर्ष पहिले सुप्रसिद्ध हास्य जोडी मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यलाई एउटा प्रश्न सोधेको थिए, ‘नेपाल कहिले विश्वकपको फाइनल चरणमा पुग्ला ?’ उहाँहरूले यसको जवाफ अति नै सहज र मार्मिक तरिकाले दिनुभएको थियो, ‘जहिलेसम्म मदनकृष्ण र हरिवंशले फुटबल खेल्दैनन् तबसम्म नेपाल विश्वकपको फाइनल चरणमा पुग्दैन । अहिले यो कुरा सतप्रतिशत सावित भएको छ । अब मदनकृष्ण र हरिवंशले फुटबल नखेले नेपाल विश्वकपमा पुग्ने कल्पनासमेत गर्न सकिँदैन । साधुवाद छ, मह जोडीलाई, नेपाली फुटबलको भविष्यवाणी दुई दशक पहिले नै गरिदिएकोमा ।

विश्वकपमा दक्षिण कोरियाको पहिलो जित
एसियाली महादेशको नम्बर एक टिम दक्षिण कोरिया दक्षिण अफि्रकामा सञ्चालन भइरहेको १९औँ विश्वकप फुटबल प्रतियोगितामा पहिलो विजयी हुने राष्ट्र बनेको छ । समूह ‘बी’मा परेको दक्षिण कोरियाले आफ्नो पहिलो खेलमा पूर्व युरो च्याम्पियन ग्रिसलाई पराजित गरेर यो उपलब्धि हासिल गरेको हो । निकै प्रतिस्पर्धात्मक रहेको यो खेलमा दक्षिण अफि्रकाका खेलाडीहरूले उत्कृष्ट खेलको प्रदर्शन गर्दै ग्रिसलाई दुई-शून्यले पराजित गरेका थिए । दक्षिण कोरियाको तर्फबाट पहिलो गोल पहिलो हापमा ली सुङ सुले र दोस्रो गोल दोस्रो हापमा कप्तान पार्क जी सुङले गरेका थिए । यसपटक निकै गाह्रो समूहमा परेका एसियाका टिमहरूको विजयलाई प्रश्नचिह्नमा राखिएको अवस्थामा दक्षिण कोरियाले आफूभन्दा निकै सशक्त टिमलाई पराजित गरेर यो विश्वकपमा पहिलो विजय हासिल गर्ने राष्ट्र बनेको छ । यो विजयबाट महत्त्वपूर्ण तीन अङ्क हासिल गरेको दक्षिण कोरियाको आगामी भिडन्त आगामी असार ३ गते अर्जेन्टिनासँग हुनेछ । दक्षिण कोरियाको समूहमा अर्जेन्टिना, नाइजेरिया र ग्रिस परेका छन् ।

१९औँ विश्वकपको पहिलो गोल
दक्षिण अफि्रकामा सञ्चालन भइरहेको विश्वकप फुटबलको १९औँ संस्करणमा पहिलो गोल गर्ने सौभाग्य आयोजक राष्ट्र दक्षिण अफि्रकाका खेलाडीलाई प्राप्त भएको छ । मेक्सिकोविरुद्ध भएको उद्घाटन खेलमा आयोजक दक्षिण अफि्रकाका खेलाडी सिफिवी तासाबालालाले पहिलो गोल गरेका थिए । उनले उक्त गोल दोस्रो हापको ५५औँ मिनेटमा गरेका थिए । महत्त्वपूर्ण तीन अङ्कका लागि अगाडि बढिरहेको दक्षिण अफि्रकाको सपना चकनाचुर पार्ने क्रममा मेक्सिकोका राफाइल म्याक्यु खेल सकिनु ११ मिनेटअघि गोल गरेर यो विश्वकपमा दोस्रो गोल गर्ने खेलाडी बनेका थिए । यो बराबरी खेलले दक्षिण अफि्रका दबाबमा परेको छ भने मेक्सिकोले राहतको सास फेरेको छ । अब दक्षिण अफि्रकाको भिडन्त उरुग्वेसँग हुनेछ भने मेक्सिकोको फ्रान्ससँग । यसअघि उरुग्वे र फ्रान्सको खेल गोलरहित बराबरीमा टुंगिएको थियो ।

विश्वकप मण्डेलालाई समर्पित
दक्षिण अफि्रकामा विश्वकप फुटबल भित्र्याउन अहम् भूमिका निर्वाह गर्नुभएको पूर्वराष्ट्रपति नेल्सन मण्डेला उद्घाटन समारोह जान सक्नुभएन । एक साता पहिले मात्रै आफू उद्घाटन र समापन समारोहमा आउने मण्डेलाले बताउनुभएको थियो । विश्वकप उद्घाटनकै दिन आफ्नी नातिनी जेनानीकोे कार दुर्घटनामा मृत्यु भएपछि उहाँले विश्वकपका सबै कार्यक्रमहरू रद्द गर्नुभएको थियो । ४० मिनेट लामो उद्घाटन समारोहमा विश्वकपका र्सवाधिक आकर्षक व्यक्तित्व मण्डेला नआउने भएपछि फिफा अध्यक्ष सेप ब्लाटरले मण्डेला अहिले हाम्रो माझमा नभए पनि उहाँको आत्मा यही छ भनेका थिए । ब्लाटरले भावुक हुँदै ‘आऊँ यो विश्वकप मण्डेलालाई समर्पित गरौँ’ भन्दा सकरसिटी रंगशालामा केही समय मौनता छाएको थियो ।

३२ राष्ट्रको पहिलो प्रतिस्पर्धा र उलटफेर
दक्षिण अफि्रकाका सञ्चालन भइरहेको १९औँ विश्वकपमा ३२ राष्ट्रको पहिलो प्रतिस्पर्धा आज बुधबार सकिँदै छ । समूह चरणको पहिलो खेल खेल्ने क्रममा केही उलटफेर केही सोचेअनुरूपकै परिणाम आएको छ । उलटफेर गर्ने पहिलो राष्ट्रमा दक्षिण कोरिया परेको छ । समूह ‘बी’मा सबैभन्दा कमजोर आँकिएको दक्षिण कोरियाले ग्रिसलाई स्तब्ध पार्दै विजयी नतिजा निकालेको थियो । जुन यो विश्वकपको पहिलो जित पनि थियो । त्यस्तै अर्को उलटफेर जापानले गरेको छ । जापानले विदेशी भूमिमा पहिलो खेल जित्ने क्रममा क्यामरुनलाई सनसनीपूर्ण तरिकाले पराजित गरेको थियो ।अहिलेसम्मका विश्वकपमा उद्घाटन खेल खेलेका अफि्रकी मुलुकहरूले विजयी सुरुवात गरे पनि आयोजक दक्षिण अफि्रकालाई भने त्यस्तो सफलता हात पार्न सकेन । मेक्सिकोसँग बराबरीमै चित्त बुझाउनुपरेको थियो । आयोजक देशले सफलता हासिल गर्न नसके पनि पहिलो गोल गर्न भने सफल भएको थियो । जुन यो विश्वकपको पहिलो गोल भएको छ ।
असार ३ गते बुधबारसम्म आठै समूहका सबै राष्ट्रहरूले आ-आफ्नो पहिलो खेल खेलिसक्नेछन् । विश्वकपको प्रमुख दाबेदारको रूपमा रहेको अर्जेन्टिनाले नाइजेरियालाई पछारे पनि इंग्ल्यान्डले भने सोचेअनुरूपको प्रदर्शन गर्न सकेन । फुटबलमा नयाँ शक्तिका रूपमा उदाइरहेको संयुक्त राज्य अमेरिकाले इंग्ल्यान्डलाई बराबरीमा रोकेको थियो । विजयको नजिकमा पुगेको इंग्ल्यान्डलाई गोलकिपर रोबर्ट ग्रिनको कमजोरीका कारणले गर्दा बराबरीमै चित्त बुभाउनुपरेको थियो । साधारण प्रहारलाई पनि रोक्न नसकेका कारण उनको हातलाई ‘मूर्खको हात’को संज्ञा दिइएको छ । त्यस्तै समूह ‘सी’अन्तर्गत भएको अल्जेरिया र स्लोभानियाबीचको खेलमा स्लोभानियाले जित हासिल गरेको छ ।
यो स्लोभानियाको विश्वकपमा पहिलो जित हो । निकै निरश रहेको यो खेलमा उत्तर्रार्द्धको ७९औँ मिनेटमा स्लोभानियाका कप्तान रोबर्ट कोरेनले गोल गरेका थिए । यसअघि सन् २००२ मा पहिलोपटक सहभागिता जनाएको स्लोभानियाले विश्वकपमा निकै खेल हारेको थियो । यो जितसँगै समूह ‘सी’मा स्लोभानिया अग्रपङ्क्तिमा रहेको छ ।
समूह ‘डी’को पहिलो खेल सरि्वया र घानाबीच भएको थियो । अफि्रकी मुलुकको सशक्त टिम मानिने घानाले आफ्नो नामअनुसारको प्रदर्शन गर्दै सरि्वयालाई निरीह पारेको थियो । पूरै खेलमा घानाको दबदबा रहे पनि घानाले गोल गर्न पेनाल्टीको सहारा लिनुपरेको थियो । घानालाई गोल गर्न ८५औँ मिनेट कुर्नुपरेको थियो । घानालाई जित दिलाउन उक्त गोल असामोह ज्ञानले गरेका थिए । यो विश्वकपमा पेनाल्टीबाट भएको यो पहिलो गोल थियो । त्यस्तै समूह ‘डी’ अन्तर्गत भएको दोस्रो खेलमा पूर्वविश्वच्याम्पियनले अस्ट्रेलियालाई नराम्रोसँग मात ख्वाएको छ । पूरै खेलमाथि पकड बनाएको जर्मनीले अस्ट्रेलियालाई उफसम्म गर्न दिएको थिएन । जर्मनीले पहिलो हाफमा दुई गोल र दोस्रो हाफमा दुई गोल गरी कुल चार गोल गरेको थियो । दक्षिण अफि्रकामा शानदार सुरुवात गरेको जर्मनीका तर्फबाट उक्त चार गोल लुकास, पोडोलस्की, मिरोस्लाभ क्लोज, थोमस मुलर र काकाउले गरेका थिए ।
समूह र्’इ’को पहिलो भिडन्त युरोपियन फुटबलका पावरहाउसको रूपमा चिनिने नेदरल्यान्ड र डेनमार्कबीच भएको थियो । अति नै प्रतिस्पर्धात्मक रहेको उक्त खेलमा बाजी भने नेदरल्यान्डले मारेको ले मारेको थियो । डिफेन्डर सिमोन, पाउलसेनको आत्मघाती गोलबाट अग्रता लिएको नेदरल्यान्डले अन्तिममा अर्को गोल थपेर विश्वकपमा विजयी सुरुवात गरेको छ । उक्त खेलमा नेदरल्यान्ड २-० ले विजयी भएको थियो । त्यस्तै यही समूहको दोस्रो खेल जापान र क्यामरुनबीच भएको थियो । अफि्रकी बाघ र एसियाको उत्कृष्ट टोलीबीच भएको यस भिडन्तमा जापानले उत्कृष्ट खेल प्रदर्शन गर्दै क्यामरुनलाई पराजित गरेको थियो । निकै सनसनीपूर्ण खेललाई उलटफेर गर्ने क्रममा जापानका खेलाडी केइसुकेले पहिलो हाफमा गोल गर्दै जापानलाई अग्रता दिएका थिए । त्यसपछि क्यामरुन खेलमा फर्किन अथक कोसिस गरे पनि असफल भएको थियो ।
असार १ गते मंगलबार समूह ‘एफ’ को पहिलो भिडन्त इटाली र पराग्वेबीच भएको थियो । दुवै सशक्त टोलीबीच भएको यो खेलमा पराग्वेले अग्रता लिए पनि अन्तिम समयमा आएर इटली गोल गर्न सफल भएको थियो । त्यस्तै दोस्रो खेल न्युजिल्यान्ड र स्लोभाकियाबीच भएको थियो । सोही दिन समूह ‘जी’अन्तर्गतको पहिलो खेल आइभोरीकोस्ट र पोर्चुगलबीच भएको थियो । समूह ‘जी’ले यो विश्वकपमा ‘ग्रुप अफ डेथ’को संज्ञा पाएको छ । यो समूहमा अन्य दुई टोली ब्राजिल र उत्तर कोरिया रहेका छन् । असार २ गते बुधबार विश्वकपमा ३२ राष्ट्रको पहिलो प्रतिस्पर्धा सकिनेछ । आज बुधबार ब्राजिल र उत्तर कोरिया, होन्डुरस र चिली र स्पेन र स्विट्जरल्यान्डले एक-आपसमा भिडन्त गर्ने कार्यक्रम रहेको छ ।