आमाहरूका नाममा…

आमाहरूका नाममा…


छोरा कामबाट घर फर्केपछिको दृश्य उल्लेख गर्दै कसैले एउटा संवादको सिर्जना गरेको छ । संवाद यस्तो छ–कामबाट फर्किएपछि छोराछोरीले सोध्छन् (संवाद हिन्दीमा छ) क्या ल्याया ? बाप पुछेंगे—कित्ना कमाया ? बिबी पुछेगी कित्ना बचाया ? माँका प्रश्न होगा— बेटा कुछ खाया ? आफूलाई जन्म दिने आमाजस्तो कोही नहुने उल्लेख गर्दै भनिएको छ, माँ ही पुछेगी बेटा कुछ खाया ?? माँको इज्जत करो †† आमाको बारेमा यो संसारमा अनेक साहित्य लेखिएका छन्, धेरै अनुभव लिपिबद्ध गरिएका छन् । कतिका आमाप्रतिका ममता र सम्मानहरू लिपिबद्ध हुनै पाएनन् र मनमै सीमित भए होलान् । केही वर्षअगाडि न्युयोर्क टाइम्समा एउटा व्यक्तिगत अनुभव समेटिएको लेख प्रकाशित भएको थियो । ‘आई लभ यु मम’ शीर्षकको उक्त लेख काठमाण्डु पोष्टले पनि साभार गरेको थियो । अमेरिकानिवासी एक छोराले आफ्नी आमाबारे लेखेको उक्त लेख पढिसक्दा आँखामा आँसु नझार्ने को थियो होला र ?
सङ्क्षेपले त्यो लेख यस्तो थियो– ऊ सानै हुँदा बाबु र आमा छुट्टिएका हुन्छन्, एकल आमाले दु:ख गरेर छोरालाई पढाएकी र बढाएकी हुन्छे । रक्सीको नसाले बेहोस जस्तै हुँदा र कहिलेकाहीँ एक्लोपनाको पीडामा टोलाइरहँदा उसले कहिल्यै आमा तिमीलाई के भयो ? चिन्ता नगर म छु नि भनेको हुँदैन । आमासँगका अनेक गुनासाहरूसँगै ऊ हुर्किन्छ, किशोर भएपछि केटी साथी भेट्छ र अर्कै राज्यमा गएर बस्न थाल्छ । आमाले बेलाबेलामा फोन गर्दा उसले राम्रो रेस्पोन्स पनि गर्दैन । आमाले सधैं सोध्छे, तिमीलाई कस्तो छ ? खाना समयमा खाएका छौ कि छैनौँ ? सम्झाउँछे ड्रिंक नगर, कुलतमा नफस, चुरोट नखाऊ । ‘आफू खाने अरूलाई नखाऊ भन्ने’ आमा एकदम ढोंगी लाग्छ उसलाई । कहिलेकाहीँ फोनमै रुन्छे, यो क्रम वर्षौंसम्म चलिरहन्छ र एक दिन आमा मर्छे । आमा मर्दा उसलाई पीडा त हुन्छ, आफूलाई सम्हाल्दै गर्लफ्रेन्डसँग फर्किन्छ, आज, भोलि, पर्सि सम्झना कम हुँदै जान्छ । आमा मरेको केही वर्षपछि एक दिन केटीसाथीले उसलाई छोडेर हिँड्छे । अकस्मात् एक्लो भएपछि उसले आमालाई सम्झिन्छ, आमा भनेर घन्टौं रुन्छ । विगतका घटनाहरू सिनेमामा जस्तै गरी वरिपरि आउँछन् । आमाको एक्लोपनलाई आत्मसात् गर्न नसकेकोमा उसलाई ग्लानि हुन्छ । कहिलेकाहीँ उदास र निराश आमालाई आफूले मीठो शब्दले बोलिदिएको भए कति फरक पथ्र्यो होला भन्ने सम्झिन्छ । के गरुँ कसो गरुँ भएपछि गाडी लिएर आमालाई भेट्न निस्किन्छ । लामो ड्राइभपछि थाकेको अनुहार लिएर फूलको पसलमा पस्छ र सबैभन्दा राम्रो फूल दिनका लागि भन्छ । पसलेले सोध्छ, गर्लफ्रेन्डलाई हो ? जवाफ दिन्छ– होइन आमालाई । फूलको बुके बोकेर सरासर आमाको चिहानमा जान्छ, चिहानमा फूल राख्दै आँसुसरी भएर भन्छ, ‘आई लभ यु सो मच मम †’
आमाहरूलाई लिएर सिनेमाहरू बनेका छन्, टेलिसिरियल र डकुमेन्ट्री बनेका छन् । नेपालीमै पनि कविता, कथा, भनाइ, नाटक आदि धेरै छन् । एउटा भनाइ यस्तो छ, एक किशोरछोरा पानीमा भिजेर घर फर्किएछ । दाजुले भन्यो– तँलाई पानी परेको छ भनेर जान्दाजान्दै किन हिँड्नुपथ्र्यो, कतै ओत लाग्न सक्दैनथिस् ? बाबुले भन्यो– पख न तँलाई ज्वरो आयो भने अस्पताल लानु त के म तेरो लागि सिटामोलसमेत किन्नेवाला छैन । ती सबै संवाद सुनिरहेकी आमा बाहिर निस्किएर भन्छिन, हरे † यो पानीलाई पनि मेरै छोरो बाहिर निस्किएको बेला आउनुपर्ने…† यस्ता अनेक संवाद, साहित्य, वास्तविकता हुँदाहुँदै पनि आमाहरूले प्राप्त गर्नुपर्ने सम्मान पाएका छैनन् । कैयौँ आमाहरू सन्तानको मीठो बोलीका लागि तड्पिएका छन । कति आमाहरू आफ्नै सन्तानले वृद्धाश्रममा पुर्‍याइदिएकोमा दु:खी छन् । यसपल्टको मातातीर्थ औंसीमा अर्को एक भनाइ पनि चर्चित रह्यो, पहिला आमा सन्तानले खाना खाएन भनेर दु:खी हुन्थिन्, अहिले सन्तानले खान दिएनन् भनेर दु:खी छिन् । हो, अहिले धेरै आमा दु:खी छन्, एक छाक खान पनि आँसु झानुपर्ने अवस्थामा रहेका ती आमाहरूको बुढेसकाल मायाविहीन एक्लोपनले घेरिएको छ । विशेषगरी छोराछोरी आफ्नो सुखद भविष्यका लागि विदेश जाने र बाबुआमा मात्रै घरमा हुने, बाबु बाँचुञ्जेल बोल्न साथीसम्म भए पनि श्रीमान् गुमाएपछि आमाहरू नितान्त एक्लो हुने गरेका छन् । त्यसो त श्रीमती गुमाएका एकल पुरुषहरूको एक्लोपन पनि कम पीडादायी छैन, उनीहरूको झनै फरक प्रकारको अनुभव हुने गरेको छ ।
प्राय: आमाहरूको चाहना हुन्छ, आफ्ना सन्तानले माया गरून्, जीन्दगीभर सम्मान र इज्जतका साथ राखून् । कति सन्तानले यो गरेका पनि छन् नगरेका होइनन् तर समय दिनदिनै यस्तो भइरहेको छ कि वृद्ध अवस्थाका आफ्ना बाबुआमाबारे सबै सन्तानले एकपल्ट सोच्नैपर्छ । हामीले उनीहरूलाई कस्तो व्यवहार गरिरहेका छौँ, कतै हामीले भावनात्मक तनाव त दिइरहेका छैनौँ ? हाम्रा कतिपय परम्परा र संस्कृतिहरू यति राम्रा छन् कि तिनलाई पुस्तौँपुस्ताले पछ्याउन जरुरी छ । आमा र बाबुको मुख हेर्ने दिन त्यस्तै एउटा महान् पर्व हो जसले आफ्ना जन्मदाताहरूप्रतिको कर्तव्यलाई महसुस गर्न बाध्य बनाउँछ । कतिले बाबुआमालाई अंश प्राप्त गर्ने माध्यम ठान्दै आएका छन् र त्यही अंशको नाममा बाबु आमालाई पटकपटक पीडा दिने गरेका छन्, कतिले त आफ्ना बाबुआमामाथि अंश र सम्पत्तिका नाममा अदालतमा मुद्दासमेत हाल्ने गरेका छन् । अहिले समय परिवर्तन हुँदै गएको छ, हिजोका कतिपय सन्तान बाबुआमालाई अंशका लागि महत्व दिने गर्थे भने आजका कतिपय सन्तानहरू बाबुआमालाई एटीएम मेसिन ठान्छन् । एकजना साथीका एक मात्र छोरालाई भारत पढ्न पठाएपछि एउटा बच्चालाई पनि किन बाहिर पठाएको यहीँ पढाउनुपर्ने भन्दा उनले भनेका थिए, अरू खास कारण त केही छैन एटीएमबाट अलि पर पारेको मात्रै हो । समयअनुसार सुविधा मात्र होइन भावना र दृष्टिकोणहरू पनि परिवर्तन हुँदै गएका छन् । आफ्नो देशमा राम्रो अवसर र गरेर खाने वातावरण नभएका कारण छोराछोरीका लागि परदेश स्वाभाविक हो । उनीहरूको खुसी र सुख नै बाबुआमाको खुसी पनि हो, अब सन्तानले पनि आफ्नो खुसीमा बाबुआमाको खुसी खोज्नुपर्छ । उनीहरूकै कारणले आफूले यो धर्ती टेकेको कुरा नबिर्सीकन त्यहीअनुरूपको सम्मान दिन सके संसारमा बाबुआमाहरूले सन्तानको अलिकति माया र आदरका लागि तड्पिनुपर्ने थिएन ।