भित्री लडाइँ जित्न प्रचण्ड सङ्घर्षरत

भित्री लडाइँ जित्न प्रचण्ड सङ्घर्षरत


सहमतीय नयाँ सरकारका लागि प्रधानमन्त्रीका दुई सम्भावित माओवादी उम्मेदवारबीचको आन्तरिक प्रतिस्पर्धामा अध्यक्ष प्रचण्डलाई ‘विजयी’ र उपाध्यक्ष डा. बाबुराम भट्टराईलाई ‘पराजित’ बनाउने कसरत सुरु भएको छ । शान्तिपूर्ण राजनीतिमा प्रवेश गरेयता प्रचण्डको नेतृत्वक्षमतामाथि नै प्रश्न उठिरहेका बेला सम्भावित उम्मेदवारका रूपमा प्रस्तुत गर्न लायक नेता भट्टराईलाई पुन: भारतपरस्त देखाउँदै कमजोर सावित गर्न अध्यक्ष प्रचण्डकै समर्थनमा उहाँका निकटस्थहरूको सक्रियता बढेको छ । हिजो मंगलबारदेखि सुरु भएको पोलिटब्युरो बैठकले त्यसबारे एउटा निष्कर्ष निकाल्ने सम्भावना भए पनि भट्टराईका पक्षमा निर्णय हुने सम्भावना भने न्यून रहेको बताइएको छ ।
पछिल्लोपटक प्रधानमन्त्री पदसँग जोडिएका सैद्धान्तिक र राजनीतिक मुद्दामा माओवादीभित्र प्रचण्ड र भट्टराईबीच विवाद बढ्दै गएपछि त्यसले चुनवाङ बैठकअघिको स्थितिमा माओवादीलाई पुर्‍याएको बताउन थालिएको छ । माओवादीका एक पोलिटब्युरो सदस्य भन्छन्, ‘माओवादी युद्धमै रहेका बेला भट्टराई सुरक्षित हुनुहुन्थेन । अहिले जनमुक्ति सेना, वाईसीएलमा पनि प्रचण्डको पकड कमजोर हुँदै गएको छ र पार्टीबाहिरको अत्यधिक र्समर्थन र सद्भाव भट्टराईमाथि छ ।’ २०६१ को अन्तिमतिर माओवादीमा प्रचण्डलाई दरबारपरस्त र भट्टराईलाई भारतपरस्तको आरोप एक-अर्को पक्षले लगाएको थियो । तत्कालीन राजा ज्ञानेन्द्र र उहाँका सहयोगीहरूसँग निरन्तर सम्पर्क र संवादमा रहेका प्रचण्डले शान्तिपूर्ण राजनीतिमा प्रवेश गरेको केही समयपछि ज्ञानेन्द्रसँग कुरा गर्न खोजिएको पुष्टि गरेर दरबारपरस्त देखाउनुभएको छ । तर, भट्टराईलाई भारतपरस्तको आरोप लागे पनि त्यसको पुष्टि कुनै पनि कोणबाट हुन सकेको छैन र त्यो सम्भव नहुने माओवादी नेताहरूको भनाइ छ । प्रचण्ड सांस्कृतिक र सेरेमोनियल राजा राख्न तयार रहेको अभिव्यक्ति राप्रपा नेपालका अध्यक्ष कमल थापाले दिएपछि माओवादीमा प्रचण्डको हैसियत छर्लङ्ग भएको छ । थापाको भनाइको खण्डन नहुनुले यतिबेला पनि प्रचण्डको राजनीतिक गन्तव्य के हो भन्ने विषयमा माओवादीभित्र बहस नै छेड्न सुरु भएको छ । पोलिटब्युरो बैठकमा बोल्ने नेताहरूले त्यसबारे प्रचण्डमाथि खनिने तयारी गरिरहेका छन् ।
माओवादीले राष्ट्रपतिको कदमविरुद्ध गरेको तेस्रो चरणको आन्दोलनलगत्तै गत पुसमा सरकारमा जानसक्ने सम्भावना न्यून रहेको निष्कर्ष निकाले पनि चौथो चरणको आन्दोलन सुरु नहुँदै प्रचण्डले आफैंलाई प्रधानमन्त्रीका रूपमा प्रस्तुत गरेपछि माओवादीभित्र मनमुटाब उत्पन्न भएको थियो । प्रधानमन्त्री पदबाट राजीनामा दिनेबित्तिकै प्रचण्डले भावी सरकारको नेतृत्वका लागि भट्टराईलाई सङ्केत गर्नुभएको थियो । तर, प्रचण्डले त्यही बेला देखाउनुभएको महत्त्वाकाङ्क्षाका कारण माओवादीभित्र मतभेद बढ्दै गएको छ ।
भट्टराईमार्फत भारतले पार्टीभित्र चलखेल गरेको अभिव्यक्ति गत १८ पुसमा ललितपुरको ग्वार्कोस्थित खन्ना गार्मेन्टमा प्रचण्डले दिएपछि दुवै नेताबीचको सम्बन्ध सुमधुर हुन सकेको छैन । तर, दुई शीर्ष नेताबीच केही मध्यमार्गीहरूको पहलमा पछिल्लोपटक निष्कर्षहीन वार्ताहरू हुन थालेका छन् ।
०४२ सालमा तात्कालिक नेकपा मशालका नेता मोहन वैद्य किरणले पहिर्‍याएको महामन्त्रीको ताज हालसम्म कायम राख्नुभएका प्रचण्डले यतिबेलासम्म पार्टीभित्र अन्तरविरोध सिर्जना गराएर बलियो गुटको साथ लिने र नेता बन्ने परिपाटीको अभ्यास गर्दै आउनुभएकोमा अब त्यसलाई समाप्त पार्ने दृढता भट्टराईले व्यक्त गर्नुभएको छ । जनयुद्धदेखि हालसम्म भट्टराईसँग कहिले यानप्रसाद गौतम आलोक, कहिले मोहन वैद्य किरणलाई भिडाइरहेका प्रचण्डले फुन्टिङदेखि चुनवाङसम्म आफैं भिड्नुपर्‍यो र अन्तत: ‘संसदीय दलहरूसँग सहकार्य गरेर राजतन्त्र फाल्ने’ भट्टराईको लाइनलाई आधिकारिक धारणा बनाउनुपरेको थियो । तर, भट्टराई त्यतिबेला आफ्नै लाइन स्थापित गराएर नेता बन्न सक्नुभएन र हाल पनि उहाँले त्यति हिम्मत गर्ने सम्भावना अत्यन्तै कम छ ।
संविधानसभा चुनावमा भावी राष्ट्रपतिका रूपमा प्रचार गराइएका प्रचण्डले मनगणता सकिएलगत्तै कीर्तिपुर गएर प्रधानमन्त्रीका रूपमा आफैंलाई उद्घोष गरेपछि माओवादीभित्र प्रधानमन्त्रीको विवाद सुरु भएको हो । त्यतिबेला पनि भट्टराई नै मुलुकको प्रधानमन्त्री बन्ने व्यापक चर्चामा हुनुहुन्थ्यो । तर, प्रचण्डलाई जागेको शक्ति-अभ्यासको भोकले भट्टराईलाई यति अप्ठेरो बनायो कि संविधानसभाको उपनेता हुन पनि पापड बेल्नुपर्‍यो । र, आफू उपनेता नभएको झोंकमा वरिष्ठ नेता मोहन वैद्य किरणले संविधानसभा सदस्य पद नै त्याग गरिदिनुभयो । एकताकेन्द्र मसालसँगको एकीकरणपछि माओवादीभित्र भट्टराई कमजोर र उपाध्यक्ष नारायणकाजी श्रेष्ठ प्रकाश हावी हुनुभयो । एकीकरणका बेला अर्थमन्त्री भएका डा. भट्टराईको पार्टीमा कुनै पद र भूमिका रहेन । यतिसम्म कि एकताकेन्द्र मसालसँग एकीकरणपछि संविधानसभा दलको उपनेताको पद प्रचण्डको कृपाले उपाध्यक्ष प्रकाशको हातमा पुग्यो र बाबुराम अध्यक्ष रहेको संयुक्त क्रान्तिकारी जनपरिषद् पनि विघटन गरियो । भट्टराईका लागि तत्कालीन पार्टी कार्यालय बुद्धनगरमा समेत बस्ने ठाउँ रहेन नेताको हैसियतमा । त्यसबीच्ामा भारत, अमेरिका, चीनलगायतसँग कूटनीतिक कुराकानीमा प्रचण्डले अरू बेलाजस्तो भट्टराईको आवश्यकता ठान्नुभएन । त्यसबेला माओवादीभित्र भट्टराई यति निरीह हुनुभयो कि, किरण नेतृत्वको समूहले पार्टीको सामूहिक नेतृत्वको पक्षमा बैठकमा लडाइँ गरिरहेका बेला भट्टराईको भूमिका रमिते मात्रै थियो ।
सरकार छाडेपछि जनआन्दोलन गर्न भट्टराईको नेतृत्वमा संयुक्त राष्ट्रिय जनआन्दोलन गठन भएर आन्दोलन सुरु भएपछि मात्रै उहाँको भूमिका बढेको थियो । तर, जनआन्दोलनको चाबी प्रचण्डले बठ्याइँपूर्वक आफैंले लिएर पुन: द्वन्द्व सुरु गरिदिएपछि मतभेद बढ्दै गएको हो ।
स्रोतका अनुसार आफू प्रधानमन्त्री बन्ने सम्भावना नदेख्नुभएका प्रचण्डले भट्टराईलाई नभएर कृष्णबहादुर महरालाई प्रधानमन्त्रीका रूपमा अघि सार्न किरण पक्षसँग अनुरोध गर्नुभएको छ । यदि किरण पक्षबाट त्यस्तो प्रस्ताव आएमा भट्टराई र महरा दुवैजना प्रधानमन्त्री नबन्ने तथा त्यही कारण देखाएर प्रतिपक्षमा बस्ने सोच प्रचण्डको रहेको बताइन्छ ।

बढ्यो प्रसन्नता
‘राजीनामा’का कारणले निराश, थकित र गलितझैं हुनुभएका प्रधानमन्त्री माधवकुमार नेपालमा गत सोमबार -जेठ ३१) देखि केही प्रसन्नता देखापरेको छ । उक्त दिन प्रधानमन्त्री नेपालसँग मधेसी जनअधिकार फोरमका नेताहरू जयप्रकाश गुप्ता र उपेन्द्र यादवले भेट गरी आफूहरूलाई प्रचण्डको नेतृत्व मान्य नहुने स्पष्ट गर्दै राष्ट्रिय सहमति भइसकेपछि मात्र पद त्याग गर्न आग्रह गर्नुभएको थियो । त्यसैगरी फोरम लोकतान्त्रिक र तमलोपाका नेताहरूको टोलीले पनि बेग्लाबेग्लै भेट गरी वर्तमान स्थितिमा राजीनामा नगर्न सुझावसहित आग्रह गरेका थिए । सोमबार प्रधानमन्त्रीको तत्वावधानमा सम्पन्न साना पन्ध्र राजनीतिक दलहरूको बैठकले पनि प्रधानमन्त्री नेपाललाई शान्तिप्रक्रिया टुङ्गोमा नपुर्‍याईकन राजीनामा नदिन अनुरोध गरेको छ । बैठकमा सहभागी पन्ध्रवटै दलका नेता-प्रतिनिधिहरूले प्रधानमन्त्रीलाई दह्रोसँग खुट्टा टेक्न आग्रह गर्दै राजीनामा दिएर भाग्न नहुने सुझाव दिएका थिए । उनीहरूले असार १५ गते नीति तथा कार्यक्रम प्रस्तुत गर्न र असार २५ गते बजेट पेस गर्न पनि प्रधानमन्त्रीलाई सुझाएका थिए । ज्ञातव्य छ, काङ्गे्रसले माधव नेपालको नेतृत्वलाई जोडदार समर्थन गर्दै आएको छ र उसले पनि शान्तिप्रक्रिया एवम् संविधान निर्माणलाई नै उच्च प्राथमिकता दिनुपर्ने बताइरहेको छ । नारायणमान बिजुक्छेले नेतृत्व गर्नुभएको नेमकिपाले सरकारलाई आफूले दिएको समर्थन फिर्ता लिएको घोषणा त गरेको छ, तर प्रधानमन्त्रीको राजीनामा भने मागेको छैन । बरु नेमकिपाले शान्तिसम्झौता कार्यान्वयन नभई र राष्ट्रिय सहमतिको सरकार गठनबारे दलहरूबीच सुस्पष्ट निर्णय नभई प्रधानमन्त्रीले पद त्याग गर्न नहुने सुझाव प्रधानमन्त्री नेपाल स्वयम्लाई दिएको छ । यसरी दलहरूको र्समर्थन पूर्ववत् रहेको स्पष्ट भएपछि प्रधानमन्त्री नेपालमा केही उत्साह थपिएको र उहाँले लुसुक्क राजीनामा दिएर भाग्नुहुन्न कि भन्ने विश्वास बढाएको छ ।

सरकारको अगाडि बढ्ने तयारी
राष्ट्रिय सहमतिको सरकार गठन तथा लडाकु व्यवस्थापनलगायतका विषयमा ‘माओवादीसँग तत्काल सहमति होला र राजीनामा दिउँला’ भनेर बस्नुभएका प्रधानमन्त्री माधवकुमार नेपाल द्विविधाकै बीचमा सरकारको नीति तथा कार्यक्रम एवम् बजेट पेस गर्ने निर्णयमा पुग्नुभएको छ । प्रधानमन्त्रीले नीति तथा कार्यक्रम तर्जुमा गर्न हिजो मंगलबारदेखि औपचारिक छलफल आरम्भ गरिसक्नुभएको छ । सत्ता साझेदार दलहरूसँगको परामर्श तथा सम्बद्ध निकायहरूसँगको आवश्यक छलफलपश्चात् अन्तिम रूप दिइने नीति एवम् कार्यक्रम असार पन्ध्र गते संसद्मा प्रस्तुत गर्ने तयारी प्रधानमन्त्रीले गर्नुभएको बुझिएको छ । सरकारको नीति र कार्यक्रम पारित भइसकेपछि असार पच्चीस गते बजेट पेस गरिने बुझिएको छ । सत्ता गठबन्धनका सबै दलहरू वर्तमान सत्तासमीकरण र सरकारको पक्षमा दृढतापूर्वक उभिएका हुनाले सरकारी नीति तथा कार्यक्रम सजिलै पारित हुने विश्वास गरिएको छ । माओवादीले सदन नै चल्न दिएनन् भने एउटा भिन्न परिस्थिति सिर्जना हुन सक्ला, होइन भने सरकारको नीति तथा कार्यक्रम सजिलै पारित हुने सम्भावना छ । जहाँसम्म बजेटको कुरा छ, गत वर्ष पनि बजेट पारित हुन नदिन माओवादीले सम्पूर्ण प्रयास गरेका थिए, तर आफ्नै लडाकुहरूले समेत तलब भत्ता पाउन नसक्ने स्थिति भएपछि माओवादी अन्त्यमा बजेट पारित गर्न दिन बाध्य भएको थियो ।

बाबुरामलाई रोक्न बेग्लै कुरा
माओवादी अध्यक्ष प्रचण्डले उपाध्यक्ष डा. बाबुराम भट्टराईलाई प्रधानमन्त्री बन्न नदिने आशयसहितको राजनीतिक प्रतिवेदन मंगलबार सुरु भएको पोलिटब्युरो बैठकमा पेस गर्नुभएको छ । भट्टराईलाई प्रधानमन्त्री बनाउनका लागि भएका दौडधुप र गृहकार्यमाथि ब्रेक लगाउने गरी प्रस्तुत भएको प्रचण्डको प्रतिवेदनपछि भट्टराई पक्षले सशंकित हुँदै दिउँसो निकटस्थहरूको सानातिना बैठकमा छलफल गरेको छ ।
पार्टीभित्रको शक्ति सन्तुलन बिथोलिने गरी उपाध्यक्ष भट्टराईलाई प्रधानमन्त्री नबनाउने स्पष्ट सङ्केतसहित आएको प्रचण्डले प्रतिवेदनमा माओवादीको नेतृत्वमा सहमतीय सरकार गठनको सम्भावना कम हुँदै गएको र अब जनतामै जानुको विकल्प नरहेको बताउनुभएकोे छ । प्रतिवेदनमा उल्लिखित यो भाषा र शैलीलाई भट्टराई पक्षले वैचारिक लडाइँको घोषणाका रूपमा लिएको छ र त्यसको कडा प्रतिवाद गर्ने जनाएको छ । एउटा पक्षले मंगलबार दिउँसो भट्टराईलाई भेटेर प्रचण्डको विकल्पमा फरक दस्तावेज बुधबार वा बिहीबार पेस गरेर प्रचण्डलाई टक्कर दिन आग्रह गरे पनि पदलोलुप देखिनेगरी त्यस्तो कदम आफूले नचाल्ने जवाफ भट्टराईले दिनुभएको बुझिएको छ । तर, अबको सरकारको नेतृत्व माओवादीले गर्ने अवस्था नआएमा त्यतिबेला आफू चुप लागेर नबस्ने आशय पनि भट्टराईले निकटस्थहरूसँग व्यक्त गर्नुभएको बुझिएको छ ।

यस्तो छ आपराधिक सञ्जाल
नेपालमा जाली नोटको कारोबारसहित विभिन्न आपराधिक धन्दा गर्ने केही व्यक्तिहरूको बारेमा जानकारी प्राप्त भएको छ । कारोबारमा संलग्नता भए पनि यिनका बारेमा प्रहरी-प्रशासन भने मौन रहेको बताइन्छ । प्राप्त जानकारीअनुसार कलैया, वीरगन्ज, भवानीपुर -बारा) जितपुर, बिजुलपुरलगायतका क्षेत्रमा रहेर गरिने जाली नोट र अन्य अवैध धन्दाको सञ्जाल राजधानी काठमाडौंदेखि भारतको नयाँदिल्लीलगायत अन्य विभिन्न स्थानसम्म फैलिएको छ । समाचार स्रोतका अनुसार, कलैया घर भएका राजनीतिकर्मी मञ्जुर मियाँ अन्सारी जाली नोटको कारोबार गर्ने यस्ता व्यक्ति हुन् जसको सम्बन्ध र पहुँच उच्च अधिकारीहरूसम्म छ । नेपाली, भारतीय र पाकिस्तानी तिनै पक्षसँग यिनको सम्बन्ध भएको बताइन्छ । सलिम मिया अन्सारीसँग निकट सम्बन्ध रहेका उनी शाहीकालमा उपमेयर थिए । केही धार्मिक संस्थाहरूमा पनि उनको संलग्नता रहेको जनाइएको छ । यस्तै वीरगन्जका लक्की सिंह यस्ता व्यक्ति हुन् जसको भारतीय बैंकहरूमा सीधा सम्पर्क रहेको छ । आपराधिक दुनियाँमा चिरपरिचित नाम पनि हो लक्की सिंह जसले पाँच दिनको अन्तरमा दुई लाख नक्कली भारु भित्र्याएका थिए । एक घटनामा डिएसपीमाथि गोली प्रहार गरेका कारण सिंह प्रहरीद्वारा खोजी गरिएका व्यक्ति हुन् । खोजी गरेको भनिए पनि प्रहरीले यिनलाई अहिलेसम्म पक्राउ गर्न सकेको छैन । नक्कली नोट नपाउँदा अफिम ओसारपसारसम्मको धन्दामा उनको संलग्नता हुने गरेको पनि बताइएको छ ।
यसैगरी वीरगन्जकै उमेश यादव पनि नक्कली नोटको कारोबारसँग सम्बन्धित व्यक्ति हुन् । आपराधिक क्रियाकलापलाई ढाकछोप गर्न उनी नेकपा माओवादीमा लागेको र माओवादीकै रूपमा आफ्नो परिचय दिने गरेको बताइएको छ । दिल्लीको जेलमा आफ्नो श्रीमान् रहेकी एक महिलासँग निकटको सम्बन्ध रहेका उनी एकपल्टमा दुई लाखसम्मको जाली नोटको कारोबारमा संलग्न हुने गरेका छन् । भारतका स-साना सहरहरूदेखि नेपालको पर्ूर्वी क्षेत्रमा नक्कली भारतीय रुपैयाँको कारोबारमा संलग्न इसवर साह यस्ता व्यक्ति हुन् जसको आफ्नै गाउँका मानिस र नातेदारहरूसँग त्यति भेटघाट हुँदैन । पाकिस्तानी तस्करहरूसँग यिनको सीधा सम्पर्क रहेको स्रोतले जनाएको छ । यस्तै, इलताफ अन्सारी पर्सर्ााजतपुरका बासिन्दा हुन् । स्थानीय प्रशासनसँग नजिक रहेका उनी असाध्यै चलाख मात्र मानिँदैनन् साथमा कार्यकर्ताको लर्कोसमेत त्यत्तिकै लगाइरहेका भेटिन्छन् । अन्य गिरोहको झैं भारतीय तस्करहरूसँग भने यिनको सीधा सम्पर्क नरहेको बताइन्छ । बारा जिल्ला विजुलपुरका हफिज अन्सारी पनि जाली नोट कारोबारमा सीधा सम्पर्क भएका व्यक्ति मानिन्छन् । चार महिनाअघि हफिजका भाइलाई भारतको मोतिहारीमा गिरफ्तार गरिएपछि छोडिएको थियो । पाकिस्तानी तस्करहरूसँग १० लाख रुपैयाँ लिएर पनि जाली नोट नदिएको भनी स्रोतले नजाएको छ । जाली नोट कारोबारकै कारण उनको हैसियत रातारात अपत्यारिलो तवरले फेरिएको छ । यसैगरी कलैयाका प्रकाश साह यस्ता व्यक्ति हुन् जसको संलग्नता आपराधिक दुनियाँमा हुँदाहुँदै नेपाल र भारत दुवै देशका प्रहरीसँग पनि त्यत्तिकै राम्रो सम्बन्ध राख्न उनी सफल छन् । भारतीय सीमाका प्रहरी हवल्दार अमिरा साहसँग मात्र नभएर क्राइम शाखाका सबै प्रहरीसँग यिनको सम्बन्ध गाढा छ । हवल्दार साहमार्फत नै प्रकाशको कारोबार अघि बढ्दै रहेको बताइन्छ । यस्तै भारतीय सीमा क्षेत्रको सानो बजार आदापुरमा लालबाबु ठकुराईसँग मिलेर पनि प्रकाशले कारोबार गरिरहेको बताइएको छ ।

महराले भेटे मरिचमान
अबको मुख्य दुश्मन भारत वा घरेलु सामन्तवाद भन्ने विषयसहित कार्यदिशाबारे छलफल भइरहेका बेला माओवादी नेताहरूले ‘राष्ट्रिय स्वाधीनता’को मुद्दामा सहकार्य गर्नेबारे पञ्चायती पृष्ठभूमिका पूर्वप्रधानमन्त्रीसँग छलफल गरेका छन् । पूर्वप्रधानसेनापति रुक्माङ्गद कटवालसँग भेटवार्ता गरेर सहकार्यको प्रस्ताव गरेका माओवादी नेता कृष्णबहादुर महरा र नेत्रविक्रम चन्द विप्लवले यसै साता पूर्वप्रधानमन्त्री मरिचमानसिंह श्रेष्ठसँग उहाँकै निवासमा भेटवार्ता गर्नुभएको छ । माओवादी स्रोतका अनुसार प्रचण्डको प्रतिनिधित्व गर्दै महरा र विप्लवले राष्ट्रियता कमजोर भएको निष्कर्षसहित स्वाधीनताको मुद्दामा साथ दिन पूर्वप्रधानमन्त्री सिंहलाई आग्रह गर्नुभएको थियो । ‘भारतलाई मुख्य शत्रु किटान गरेर जानुपर्छ भन्ने विचार राख्ने साथीहरूले पूर्वप्रधानमन्त्रीहरूसँग भेट गर्नुभएको हो,’ माओवादीका एक स्थायी समिति सदस्यले भन्नुभयो । नेताद्वयले पूर्वप्रधानमन्त्री कीर्तिनिधि विष्टसँग पनि भेटवार्ता गर्नुभएको बुझिएको छ ।

लडाकुहरूको चेतावनी
लडाकुहरूको समायोजन र पुनर्स्थापनका विषयमा सहमति हुन नसकेपछि राजनीतिक गतिरोध समाप्त हुन नसकिरहेका बेला लडाकुहरूले भने माओवादी नेतृत्वलाई ब्यारेक तोडिदिने चेतावनी दिएका छन् । अनिश्चित भविष्य बोकेर चार वर्षदेखि अस्थायी ब्यारेकमा बस्दै आएका लडाकुहरूले व्यक्तिगत रूपमा भए पनि सम्मानजनक समायोजन वा पुनर्स्थापनका लागि सकारात्मक भूमिका निर्वाह गर्न आग्रह गर्दै त्यसो नगरिए क्यान्टोनमेन्ट ब्रेक गरेर हिँड्ने चेतावनी दिएका हुन् ।
माओवादी सेनाको हेडक्वार्टर र क्यान्टोनमेन्टस्थित समाचार स्रोतहरूले घटना र विचारलाई दिएको सूचनाअनुसार सातवटा डिभिजनमा रहेका लडाकुहरूले तत्काल समायोजनबारे अन्तिम निर्णय गर्न दबाब दिएका छन् । ‘हामीलाई पार्टी नेतृत्वप्रति पनि विश्वास लाग्न छाडेको छ, कम्तीमा भविष्य सुरक्षित हुने गरी सम्मानजनक समायोजन वा पुनर्स्थापन गर्न दबाब दिइरहेका छौँ,’ नवलपरासीमा रहेको चौथो डिभिजनमा रहेका एक ब्रिगेड कमाण्डरले घटना र विचारसँग टेलिफोनमा भने, ‘हामी अनिश्चितकालीन क्यान्टोनमेन्टमा बसेर नेताहरूलाई प्रधानमन्त्री, मन्त्री बनाउन सहयोग गर्ने – अब हामी धेरै समय धर्ैय गर्न सक्दैनौँ ।’ चितवन शक्तिखोरका एक बिग्रेड सहायक कमाण्डरका अनुसार क्यान्टोनमेन्टमा डिभिजन कमाण्डरहरू र ‘ठूलाबडा’हरू नियमित रूपमा बसेका छैनन् । र, कमाण्डर नन्दकिशोर पुन पासाङ र डेपुटी कमाण्डर चन्द्र खनाल बलदेव पनि विगत तीन महिनादेखि क्यान्टोनमेन्ट गएका छैनन् । ‘कमाण्डरहरूले समेत हामीलाई उपेक्षा गर्न थालेका छन्, नेतृत्वलाई त हाम्रो मतलब नभएको धेरै भइसकेको छ,’ ती सहायक कमाण्डरले भने, ‘यही हालत हो भने यहाँको हाम्रो ब्यारेक मात्रै तोडिने छैन, काठमाडौंमा पार्टी मुख्यालयको पनि हालत राम्रो हुनेछैन ।’
स्रोतका अनुसार डिभिजन कमाण्डरहरूले शिविरहरूमा बढ्दै गएको आक्रोश र चिन्ताबारे लडाकुहरूको हेडक्वार्टर र जनसैन्य प्रमुख पासाङलाई जानकारी गराइसकेका छन् । ‘हामीले एकपटक क्यान्टोनमेन्टमा आएर समायोजन र पुनर्स्थापनका बारेमा जानकारी दिन भनेका छौँ, तर कमाण्डरहरू आउनुभएको छैन,’ इलाम चुलाचुलीमा रहेको पहिलो डिभिजनका एक ब्रिगेड कमाण्डरले भने ।

वनमा घुस्यो राजनीति निर्वाचन खारेजीको माग
सामुदायिक वन उपभोक्ता महासङ्घको चौथो राष्ट्रिय महाधिवेशनपछि सम्पन्न निर्वाचनमा व्यापक धाँधली गरी एकपक्षीय ढङ्गले अघि बढाएपछि निर्वाचन बदर गरी महासङ्घको नाममा गठित दुईवटै कार्यसमिति खारेजीका निम्ति जिल्ला प्रशासन कार्यालयमा निवेदन दिइएको छ । महासङ्घको महाधिवेशन यही जेठ २५ देखि २७ गतेसम्म राजधानीमा सम्पन्न भएको थियो । निर्वाचनका क्रममा एमाले पक्षधर अप्सरा चापागाईंको समूहले प्रहरीसमेत लगाई एकपक्षीय रूपमा हस्तक्षेप गरेपछि प्रजातान्त्रिक समूहका भोला भट्टराईको समूहले निर्वाचन बहिष्कार गरी अर्को समानान्तर सङ्गठन निर्माण गरेको थियो । यसैबीच निर्वाचन धाँधलीपूर्ण भएको समानान्तर सङ्गठनको निर्माणले महासङ्घको भविष्य ओझेलमा पर्ने ठानी महासङ्घका केही प्रतिनिधिहरूले दुवै समानान्तर सङ्गठन बदर गरी नयाँ निर्वाचन गराउन माग गरेका हुन् । ११ जना महाधिवेशन प्रतिनिधिद्वारा दिइएको उक्त निवेदनमा नयाँ निर्वाचन नहुञ्जेलसम्म दुवै सङ्गठनले कुनै पनि काम-कारबाही अगाडि बढाउन रोक लगाउनुपर्ने उल्लेख गरिएको छ । यसरी निवेदन दिनेहरूमा यादवप्रसाद भण्डारी -कैलाली), तप्त पौडेल -बाँके), प्रेमराज पौडेल -बाँके), द्रौपदी वली -बाँके), तुलसी देवकोटा -कैलाली) चन्द्र बोहोरा -डडेल्धुरा), सीता खतिवडा -धादिङ), धर्मराज कापडी -डडेलधुरा), दीपक भट्टराई -गोरखा), कविता अर्याल -गोरखा) र वसन्त चन्द -बैतडी) रहेका छन् । २०५२ सालमा स्थापना भएको महासङ्घमा करिब १५ हजार सामुदायिक वनहरू सम्बद्ध रहेका छन् । महाधिवेशनमा नेतृत्वले गरेको घृणित खेलले जिल्लाका प्रतिनिधिहरूलाई आश्चर्यचकित बनाएको छ । सामाजिक सङ्घसंस्थाहरूमा राजनीति हावी हुँदा महाधिवेशनस्थलमा प्रहरीको प्रवेश र कुटपिटसमेत भएको थियो । निर्वाचनका क्रममा कतिपय गैरआधिकारिक व्यक्तिहरूले मतदान गर्ने र कतिपय उम्मेदवार तथा प्रतिनिधिहरूले मतदानसमेत गर्न नपाएकाले उक्त मतदान खारेजीको माग गरिएको छ ।

फेरि अर्को सशस्त्र दल
मुलुकका स्थापित राजनीतिक दलहरू सत्ताको लडाइँमा मात्र अल्भिmएकाले देश गहिरो सङ्कटमा परेको र राष्ट्रको अस्तित्व जोगाउने कुनै पनि दल नरहेको वक्तव्यबाजी गर्दै अर्को एक नयाँ दल गठन गरिएको छ । राष्ट्रिय सममुक्ति पार्टीका नाममा नवगठित सो दलले आफूसँग बाईस हजार सेना रहेकोसमेत खुलामञ्चबाटै दाबी गरेको छ । सममुक्ति पार्टीका अध्यक्ष ठाकुरचन्द्र गहतराजका अनुसार पार्टीमा सेना कमाण्डर श्याम तामाङ र सहकमाण्डरको जिम्मेवारी सन्तोष परियारलाई दिइएको छ । दलहरूले दिएका प्रजातान्त्रिक समाजवाद, जनताको बहुदलीय जनवाद र साम्यवादको नारा असफल भइसकेकोले नयाँ दर्शन ‘समवाद’ लिएर जनतामाझ जाने पनि अध्यक्ष ठाकुरचन्द्रले बताएका छन् ।

आनीपानको अभावले लिम्बूभाषी मर्कामा
इलाम । लिम्बू जातिको मातृभाषा आनीपानको पुस्तक अभाव भएपछि यो भाषाको पुस्तक पढ्ने विद्यार्थी समस्यामा परेका छन् । राज्यले मातृभाषा शिक्षाको व्यवस्था गरे पनि यसको आवश्यक व्यवस्थापन गर्न नसक्दा विद्यार्थी मारमा परेका हुन् । इलाममा मात्रै २९ वटा विद्यालयमा लिम्बू मातृभाषा आनीपान पढाइ हुँदै आएको छ । तर, पुस्तक अभावकै कारण अहिले १० वटा विद्यालयमा मात्र नियमित पढाइ हुने गरेको छ । प्राथमिक तहसम्म मातृभाषाको पठनपाठन ऐच्छिक रूपमा गराउन पाउने भनी २०४९ को शिक्षा ऐनमा उल्लेख गरिएको भए पनि राज्य यसप्रति जिम्मेवार बन्न नसकेको किरात याक्थुङ चुम्लुङका इलाम सचिव सन्तोष नेम्बाङले बताए । इलाममा चुम्लुङकै पहलमा आनीपान पठनपाठनको व्यवस्था मिलाइएको छ । मातृभाषाको शिक्षकका लागि दरबन्दी नभएकाले चुम्लुङले स्वयम्सेवकको रूपमा र लिम्बू शिक्षक भएका विद्यालयमा उनीहरूले नै पढाउने व्यवस्था मिलाएको नेम्वाङले जानकारी दिए । इलामको सोयाङ गाविसमा मात्रै तीनवटा विद्यालयमा आनीपान पढाइ हुन्छ । यसअघि एउटा मात्र विद्यालयमा पढाइ हुने गरेकोमा यसै शैक्षिक सत्रदेखि थप दुई विद्यालयमा समेत पठनपाठन सञ्चालनमा ल्याइएको हो । चार वर्षअघिदेखि नै सोयाङ-४ लोक्साङस्थित चन्द्रोदय प्राविमा आनीपान पढाइ हुँदै आएको थियो भने यो वर्षदेखि वडा नम्बर-१ को सिद्धदेवी प्रावि र ३ नम्बर वडाको पूर्णज्योति प्राविमा पनि सो भाषा पुस्तकको पढाइ सुरु भएको किरात याक्थुङ चुम्लुङका सोयाङ सहसचिव विष्णु बेघाले बताए ।
विगत चार वर्षदेखि आनीपान पुस्तक उपलब्ध छैन । पहिले विदेशी संस्था इएसआर्ट- भ्क्ब्च्त् ले सो भाषा पुस्तक छाप्ने व्यवस्था मिलाएको थियो । तर, उसले सहयोग गर्न छाडेपछि चार वर्षदेखि पुस्तक अभाव खड्किएको हो । यो शैक्षिक सत्रका लागि भने विराटनगरको कञ्चन प्रिन्टिङ प्रेसमा आनीपान छापिएको जानकारी दिँदै चुम्लुङका इलाम सचिव सन्तोष नेम्वाङले भने, ‘पहिले नि:शुल्क उपलब्ध हुन्थ्यो तर, यसपालिदेखि शुल्क तिरेर खरिद गर्नुपर्ने रहेछ ।’ यसअघि इएसआर्टले छापेको आनीपान चुम्लुङले ल्याएर सो भाषा पुस्तक पढाइ हुने विद्यालयलाई प्रदान गर्ने गरेको थियो । विराटनगरमा पुस्तक छापिए पनि पुस्तक विक्रेताले बजारमा नल्याउँदा समस्या भएको नेम्वाङको भनाइ छ । भाषा पुस्तक भएर बिक्दैन कि भनेर बजारमा नल्याउने गरेको उनको अनुमान छ । तर पनि चुम्लुङले यसका लागि पहल गरिरहेको उनले बताए ।
आवश्यक पुस्तक अभाव भएपछि शब्दकोश र पत्रपत्रिकाबाट शब्द सङ्कलन गरी पठनपाठन गराउनुपरेको सिद्धदेवी प्राविका शिक्षक रमेश मादेनको गुनासो छ । कतिपय विद्यालयमा पुराना पुस्तकको फोटोकपी गरेर पढाइ हुँदै आए पनि त्यो पर्याप्त छैन । पाठ्यक्रम पुस्तिका उपलब्ध गराउन जिल्ला शिक्षा कार्यालय इलाममा पटक-पटक माग गरे पनि उपलब्ध नहुँदा पठनपाठनमा समस्या भएको पूर्णज्योति प्रावि सोयाङका प्रधानाध्यापक चन्द्रवीर खत्रीले गुनासो गरे । जिल्ला शिक्षा कार्यालयमा पनि जिल्लामा कुन-कुन मातृभाषाको पढाइ कहाँ-कहाँ हुन्छ भन्ने तथ्याङ्क नै नरहेको चम्लुङ सचिव नेम्वाङले बताएका छन् । ‘बरु, आफूहरूबाट नै यसबारे शिक्षाले नै तथ्याङ्क लिने गरेको छ,’ उनले भने । बहुभाषिक शिक्षा प्रणालीलाई मुख्य मुद्दा बनाउँदै आएको किरात याक्थुङ चुम्लुङले उच्च शिक्षा पनि मातृभाषामा हुनुपर्ने माग गर्दै आएको छ ।- -फणीन्द्र संगम

दीनानाथको यस्तो छ दाबी
एमालेले सरकारको नेतृत्व गरेदेखि नै माओवादी नेता/कार्यकर्ताको हत्या गर्ने अभियान तीव्र पारिएको आरोप एनेकपा माओवादीका प्रवक्ता दीनानाथ शर्माले लगाएका छन् । एमालेसम्बद्ध युवा सङ्घका कार्यकर्ताले सर्ुर्खेत जिल्लाको दशरथपुरमा गत जेठ २५ गते माओवादी पार्टीका एसीएम तथा वाईसीएलका जिल्ला समिति सचिवालय सदस्य करबहादुर बुढा ‘कर्ण’को कुटेर हत्या गरेको भन्दै सो सम्बन्धमा प्रकाशित विज्ञप्तिमा उनले एमालेले आफ्ना भ्रातृ सङ्गठनलाई हत्यारा दस्तामा परिणत गरेको दाबीसमेत गरेका छन् । माओवादी पार्टीले उक्त हत्याकाण्डको भत्र्सना गर्दै एमाले कार्यकर्ता जंगबहादुर रानालगायतका व्यक्तिलाई गिरफ्तार गरी कानुनी कारबाहीको दायरामा ल्याउन र पीडित परिवारलाई यथोचित क्षतिपूर्ति उपलब्ध गराउन सरकारसित जोडदार माग गरेको छ ।

अन्तर्राष्ट्रिय श्रम सम्मेलनमा पाण्डे
अन्तर्राष्ट्रिय श्रम सङ्गठन -आईएलओ)द्वारा स्विट्जरल्यान्डको जेनेभामा आयोजित अन्तर्राष्ट्रिय श्रम सम्मेलनको ९९औं अधिवेशनमा नेपालको रोजगारदाता सङ्गठनको तर्फबाट नेपाल उद्योग वाणिज्य महासङ्घका उपाध्यक्ष एवम् रोजगारदाता परिषद्का सभापति प्रदीपजंग पाण्डे सहभागी भएका छन् । नेपाल सरकारको तर्फबाट श्रममन्त्रीको नेतृत्वमा सम्मेलनमा भाग लिइरहेको नेपाली प्रतिनिधिमण्डलमा रोजगारदाताको तर्फबाट महासङ्घका उपाध्यक्ष पाण्डे छानिएका हुन् । अन्तर्राष्ट्रिय श्रम सम्मेलनको उक्त अधिवेशन गत जेठ १९ गतेदेखि जेनेभामा सञ्चालन भइरहेको छ भने पाण्डेले नेपाली रोजगारदाता प्रतिनिधिको हैसियतले भोलि ३ गते बिहीबार उक्त अधिवेशनलाई सम्बोधन गर्ने कार्यक्रम रहेको नेउवा महासङ्घले जनाएको छ ।

सेसन बचतको साधारणसभा
सेसन बचत तथा ऋण सहकारी संस्थाको प्रारम्भिक साधारणसभा गत जेठ २९ गते वातावरण तथा सामाजिक आर्थिक उत्थान समाज नेपालका अध्यक्ष डा. विष्णुप्रसाद गौतमको अध्यक्षतामा सम्पन्न भयो । सभामा काठमाडौं महानगरपालिका, जनस्वास्थ्य महाशाखाका प्रमुख डा. बाबुराम गौतमले प्रमुख अतिथिको आसनबाट संस्थाको हालसम्मको प्रगतिमा सन्तोष व्यक्त गर्दै संस्थाको सफलताको कामना गर्नुभयो । सहकारी संस्थाका अध्यक्ष अनिल हिमाल गौतमले संस्थाको आगामी वर्षको कार्ययोजना पेस गर्नुभयो भने प्रबन्ध सञ्चालक रामहरि गौतमले आर्थिक प्रतिवेदन पेस गर्नुभयो । डिभिजन सहकारी कार्यालय काठमाडौंका प्रतिनिधि गोविन्द आचार्यले सहकारिताको मर्म र भावनाअनुरूप संस्थालाई सञ्चालन गर्न सके संस्थाको थप प्रगति हुने विश्वास व्यक्त गर्नुभयो । अध्यक्षले संस्थाको समग्र प्रतिवेदन पेस गर्दै सहकारी सबैको साझा संस्था भएकोले यसको उन्नति र प्रगति नै सबैको उन्नति र प्रगति हो भन्ने विचार प्रकट गर्नुभयो । सभाले आगामी वर्षको कार्ययोजना स्वीकृत गर्दै अनिल हिमाल गौतमको अध्यक्षतामा सात सदस्यीय सञ्चालक समितिको गठन पनि गरेको छ ।

महिला प्रहरीका दिन फिर्ने
नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रनामनि विज्ञानराज शर्माले समय र परिस्थितिका कारण नेपाल प्रहरीमा महिला प्रहरीको भूमिका बढ्दै गएकाले विभागीय नीतिअनुसार महिला प्रहरीमाथि हुने सबै किसिमका विभेदको अन्त्य गरी महिला प्रहरी कर्मचारीको सर्वत्तोमुखी विकास गर्नुपर्नेे बताउनुभएको छ । प्रहरी महानिरीक्षकको सचिवालयको आयोजनामा प्रहरी प्रधान कार्यालयमा गत आइतबार आयोजित अन्तक्रिर्या कार्यक्रममा प्रमुख अतिथिका आसनबाट उहाँले नेपाल प्रहरीमा ५.३ प्रतिशत अर्थात् करिब तीन हजार एक सय महिला प्रहरी कर्मचारी रहेको जानकारी गराउँदै आगामी दिनमा महिला प्रहरीको व्यवस्थापन कसरी गर्ने भन्ने निर्णय गर्नका लागि अन्तक्रिर्या गरिएको पनि स्पष्ट पार्नुभयो ।
उपत्यकास्थित प्रहरी उपरीक्षकदेखि प्रहरी परिचरसम्मका महिला प्रहरी कर्मचारीहरूको सहभागिता रहेको उक्त कार्यक्रममा विभिन्न प्रहरी युनिटका महिला प्रहरी कर्मचारीले भोग्नुपरेका समस्या, भएका विभेद र अन्य समसामायिक विषयमा आ-आफ्ना धारणा राखेका थिए ।
यसैबीच ललितपुर उपमहानगरपालिका-२२ कुम्भेश्वर गच्छेटोलमा डेरा गरी बस्ने तीन व्यक्तिलाई प्रहरीले नक्कली पेस्तोल तथा धारिलो हतियारसहित पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा प्युठान जिल्लामा घर भएका २३ वर्षीय धनबहादुर पुन, २६ वर्षीय विष्णु पुन र ४२ वर्षीय लालबहादुर राउत रहेका छन् ।

सशस्त्र प्रहरीले भकुरे प्रहरी
रौतहट । रौतहटको बैरिया गाविसका खुर्सेद महमदले भारतबाट चामल खरिद गरी घर ल्याउँदै गर्दा बन्जरहा गाविसस्थित सशस्त्र प्रहरी बेस क्याम्पका प्रहरीले गत जेठ २६ गते निजलाई निर्घा कुटपिट गरे । सो विषयमा बुझ्न गएका नेपाल प्रहरीका दुई जवानलाई पनि सीमा सुरक्षार्थ खटिएका सशस्त्रका जवानले किन यहाँ आएको भन्दै भकुरे । जनताको जीउधनको सुरक्षामा खटिएका प्रहरीहरू नै यसरी अनुशासनहीन काममा लीन हुन्छन् भने तिनबाट सर्वसाधारणले के अपेक्षा गर्ने ? यस्तै सवाल सिर्जना भएको छ यहाँ खटिएका सुरक्षाकर्मीहरूको क्रियाकलापबाट ।
भारतबाट चामल खरिद गरेर ल्याउने खुर्सेदसँग सशस्त्र प्रहरीले घुस मागेको र आफूसँग नरहेको बताएपछि एकाएक कुटपिट गरेको आरोप स्थानीय बासिन्दाले लगाएका छन् । मातहतको बेस क्याम्पमा भएको घटनाको विषयमा सीमा सुरक्षा बल गौरका उपरीक्षक वीरबहादुर श्रेष्ठ र नायव उपरीक्षक सुदर्शन सिलवालले आफूहरूलाई कुनै जानकारी प्राप्त नभएको प्रतिक्रिया दिएका छन् । घटनाका बेला बेसका सशस्त्र प्रहरी निरीक्षकर् इश्वर खनालसँग सम्पर्क गर्दा उनी सम्पर्कमा आउन चाहेनन् ।
सशस्त्र प्रहरीले सामान्य निहुँमा सर्वसाधारणलाई कुटपिट गरेपछि बुझ्न गएका उपेन्द्र यादव र उघो राउत कर्ुर्मी नाम गरेका प्रहरी जवानलाई पनि कुटेर भगाएका थिए । जसका कारण यहाँको जनपथ तथ सशस्त्र प्रहरीका उच्च अधिकृतबीच नै मनमुटाव सुरु भएको छ । सशस्त्र प्रहरीले खुर्सेदको साइकल तोडफोड पनि गरेका छन् । कुटपिटको क्रममा स्थानीय लालबाबु साह पनि घाइते भएको प्रत्यक्षदर्शीले बताएका छन् । तनावलाई सामान्य बनाउने उद्देश्यले कुटपटिमा संलग्न रहेका दोषीलाई सीमा सुरक्षा बल गौरमा झिकाइएको भए तापनि कुनै कारबाही नभएको स्थानीय बासिन्दाको भनाइ छ । सर्वसाधारण तथा प्रहरी जवानलाई बिनाकारण कुटपिट गरेको भन्दै स्थानीय बासिन्दाले सशस्त्र प्रहरी बेस क्याम्प औरैया घेराउ गर्दै कुटपिटमा संलग्नहरूलाई कारबाहीको माग राखेका छन् ।
यसरी रकम असुल्न नपाएको झोकमा सर्वसाधारण तथा जनपथ प्रहरीलाई कुटिरहेकै बेला मध्यक्षेत्रीय सशस्त्र प्रहरी बल मुख्यालय रुद्रवाहिनीका डीआईजी ऋषवदेव भट्टराई भने केही महिनादेखि बन्द रहेको मल तस्करीलाई पुन: चालू गराएका छन् । बारा, पर्सा रौतहट तथा सर्लाहीका सीमा नाका भई अवैध रूपमा भित्रिने मलखाद निर्वाध रूपमा मुलुकका विभिन्न जिल्ला लैजान तस्करीको समूहलाई छुट दिइएको समाचार स्रोतको दाबी छ । वीरगञ्जका राजकुमार गुप्ता, सर्लाहीका अन्तोष साह, लालबाबुलगायतका व्यक्तिहरू यतिखेर मलखाद तस्करीमा सक्रिय रहँदै आएका छन् । -एन. आचार्य

सरकारी डाक्टरको उदाहरणीय काम
सुनसरी । कोसी अञ्चल अस्पतालका वरिष्ठ फिजिसियन डा. श्यामकुमार रौनियारले स्वास्थ्यको पहुँच नपुगेको पूर्वी तराई र पहाडी जिल्लामा स्वास्थ्य सिविरमार्फत उपचार अभियान थालेका छन् । हरेक महिना ग्रामीण क्षेत्रमा हुने यो अभियान गत साता सुनसरीको बक्लौरीबाट थालनी भएको छ । चिकित्सकहरू पैसामुखी भएकाले गाउँका जनता साधारण उपचार सेवाबाटसमेत विमुख बन्नुपरेको गुनासो आइरहेको सन्दर्भकाबीच डा. रौनियारले बक्लौरीस्थित १३ बालबालिका स्मृति प्राथमिक विद्यालयमा आयोजना गरेको कार्यक्रममा विद्यार्थी र अभिभावकसमेत दुई सय ५० भन्दा बढीको उपचार गरी उदाहरणीय काम गरे । उनले आफ्नै खर्चमा औषधिसमेत नि:शुल्क वितरण गरे ।
चार वर्षअघि टेम्पो दुर्घटनामा मृत्यु भएका १३ बालबालिकाको स्मृतिमा स्थापना भएको सो स्कुलमा आयोजित कार्यक्रममा नोबेल कलेजका प्रशिक्षार्थी चिकित्सक तमाल चौधरी, अमित मिश्र र सन्तोष रौनियारले सहयोग गरेका थिए । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भीमबहादुर पौडेलको अध्यक्षतामा आयोजित कार्यक्रममा समाजसेवी गंगाप्रसाद गुरागार्इं, १३ बालबालिका स्मृति प्रतिष्ठानका अध्यक्ष सीताराम गुरागार्इं, पत्रकार शङ्कर खरेललगायतका वक्ताले मन्तव्य दिएका थिए ।

सांस्कृतिक सम्पदाहरूको जीर्णोद्धार गर्न सवा तीन करोड
ललितपुरको ऐतिहासिक तथा सांस्कृतिक महत्त्वका सम्पदाहरूको जीर्णोद्धार कार्य सुरु भएको छ । यस कार्यको शिलान्यास नेपालका निम्ति भारतीय राजदूत राकेश सुदले ललितपुरस्थित नापी चन्द्र महाविहारमा आयोजित कार्यक्रमकाबीच गर्नुभयो । ललितपुर जिल्ला र आसपासमा अवस्थित नापी चन्द्र महाविहार (ऐतिहासिक बुद्धस्थल) पुनर्स्थापना, शंखमूलमा समाधिस्थल निर्माण तथा पुनर्स्थापना, दौवहालद्वार सुधार तथा निर्माण, कृषक समाज गृहको पुनरि्नर्माण, इन्द्रायणी पार्कमा यात्रुदीर्घा पुनर्स्थापना, मच्छिन्द्रबहालमा बगैचा विस्तार, न:बहालमा पुष्पपात्रहरूको निर्माण, लोककीर्ति महाविहार (कुन्हु बही)को मर्मत तथा विस्तार र मच्छिन्द्रबहालमा पेटी तथा द्वारहरूको निर्माणार्थ भारत सरकारले तीन करोड २६ लाख सहयोग गर्ने भएको छ । यिनै कामको थालनी राजदूत सुदबाट गत साता भएको छ ।
सहरी विकास तथा भवन निर्माण विभागद्वारा स्थानीय उपभोक्ता समूहमार्फत ललितपुर विकास समाजको सल्लाह र समन्वयमा उक्त परियोजना कार्यान्वयन गरिने बताइएको सो कार्यक्रममा सहरी विकास तथा भवन निर्माण विभाग, काठमाडौंका प्रतिनिधिहरू, स्थानीय प्रशासन, सामुदायिक अगुवाहरू तथा ललितपुर विकास समाजका सदस्यहरू एवम् उक्त क्षेत्रका जनताको उल्लेख्य सहभागिता रहेको थियो । यसले नेपालका प्रचुर सम्पदाहरूको प्रवर्द्धन तथा संरक्षण गर्न भारतले दिएको महत्त्व झल्किनुका साथै दुई घनिष्ट छिमेकी मित्रहरूबीच सांस्कृतिक क्षेत्रमा विद्यमान दर्बिलो र निकट सम्बन्धलाई दर्शाएको उपस्थित एक संस्कृतिविद्को कथन थियो । स्मरण रहोस्, भारत-नेपाल आर्थिक सहयोग कार्यक्रमअन्तर्गत सञ्चालन हुने परियोजना नेपालका सबै जिल्लालाई समेट्ने गरी शिक्षा, स्वास्थ्य तथा पूर्वाधार विकासका लागि हालै कार्यान्वयनमा रहेका ठूला तथा साना ३७० भन्दा धेरै परियोजनाको लागत ५६ अर्बभन्दा बढी रहेको छ ।

साहित्यकार ‘नदी’ प्रशंसित
जनपुकार साप्ताहिकको २८औँ वारि्षकोत्सवको अवसरमा सो अखबारको नियमित प्रकाशनमा ­­पुर्‍याएको योगदानका लागि साहित्यकार अरुणबहादुर खत्री प्रशंसित भएका छन् । गत साता आयोजित एक कार्यक्रममा प्रमुख अतिथि नेपाली काङ्ग्रेसका उपसभापति रामचन्द्र पौडेलले खत्रीलाई प्रशंसापत्र प्रदान गर्दै साहित्यिक क्षेत्रमा निरन्तरताका लागि शुभकामना दिनुभयो ।
यसैबीच युगकवि सिद्धिचरण श्रेष्ठको ९९औँ जन्मजयन्तीको उपलक्ष्यमा सामाखुसी साहित्य समाजद्वारा आयोजित विविध द्वैमासिक साहित्यिक कार्यक्रमको उनान्चासौँ शृङ्खला सामाखुसीस्थित नवोदित कलेजमा गत शनिबार सम्पन्न भयो । कार्यक्रममा पुन्य घिमिरे, अच्युतप्रसाद पौडेल चिन्तन, अरुणबहादुर खत्री ‘नदी’, गोमादेवी कटुवाल ढुङ्गाना, गंगा, पौडेल, राजनविक्रम थापा, वासुदेव गुरागार्इं, लुमडी आचार्य, कृष्णदेव रिमाल, विजयध्वज थापा, बाबुराम पौडेल, हर्रि्रसाद पाण्डेय, ब्रह्मप्रिय प्रेमस्वरूप, गीता लामिछाने, वैरागी जेठा, गोपालकुमार मैनाली, देवकी केसी, सुनील स्पन्दन, हेम पौडेललगायत विभिन्न ३५ जना कवि एवम् कवयत्रीहरूले आ-आफ्ना रचना पढेर सुनाएका थिए । वरिष्ठ गजलकार ज्ञानुवाकर पौडेलको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रम समाजका अध्यक्ष भाग्यशाली अधिकारीको सभापतित्वमा सम्पन्न भएको थियो ।