दुई वर्षभित्र डेढ करोडको बैठक

दुई वर्षभित्र डेढ करोडको बैठक


शान्ति र संविधान निर्माणकार्य निष्कर्षमा पुर्‍याउन सहमति जुटाउने भन्दै तीन दलका शीर्ष नेताहरूको बैठक खर्च मात्र एक करोड पचास लाखभन्दा बढी देखिएको छ । अर्थ मन्त्रालयका अनुसार दलहरूबीच वार्ताका लागि भन्दै विभिन्न समयमा निकासा गरिएको रकम एकमुष्ट हिसाब गर्दा यति धेरै देखिएको हो । स्रोतका अनुसार अर्थले उक्त रकम विविध शीर्षकअन्तर्गत निकासा गरिसकेको छ भने केही निकासाका प्रक्रियामा रहेका छन् ।
अर्थ मन्त्रालयका एक वरिष्ठ अधिकारीका अनुसार यो रकम गत ०६७ जेठ १४ यता विभिन्न होटल तथा रिसोर्टमा बसेको बैठकखर्च मात्र हो । शान्ति तथा पुनर्निर्माण मन्त्रालय, प्रधानमन्त्री कार्यालय तथा निवासमा बसेका दलहरूको बैठकमा सामान्य खर्च भएको देखिए पनि महँगा होटल तथा रिसोर्टमा बैठक गर्न पुगेपछि कम्तीमा पनि एक लाखभन्दा बढी बिल एउटै बैठकको आउने गरेको छ । ती अधिकारीले भने, ‘त्यसैले बैठकको नाममा मात्र राज्यकोषबाट यति धेरै रकम खर्च भएको हो ।’ तथापि दलहरूबीच अझै सहमति हुन सकेको छैन । उनीहरूबीचको विवाद ज्युँकात्युँ छ । अर्थ मन्त्रालयले बैठकका नाममा खर्च भएअनुसार माग भएको रकम तुरुन्त निकासा गर्ने गरेको छ ।
संविधान निर्माणकार्यलाई निष्कर्षमा पुर्‍याउने र विवादित विषय टुङ्ग्याउने भन्दै दलका शीर्ष नेताहरूले पछिल्लोपटक गत ३ वैशाखमा हात्तीवन रिसोर्टमा दुई दिनसम्ममा गोप्य बैठक गरे । दुईदिने गोप्य सो बैठक पनि अघिल्ला बैठकहरूजस्तै बन्यो र कुनै सहमति नगरी नेताहरू सिंहदरबार फर्के ।
रिसोर्टले नेताहरूसँग होटलमा भएको बिल पनि सिंहदरबारमै पठाएका छन् । माओवादी, काङ्ग्रेस, एमाले र मधेसी मोर्चामा आबद्ध दलका शीर्ष नेताहरू सम्मिलित उक्त बैठकमा तीन लाख ७८ हजार खर्च भएको बिल रिसोर्टले केही दिनअघि मात्र शान्ति मन्त्रालयको नाममा सिंहदरबार पठाएको होटलका प्रबन्ध–निर्देशक शैलेन्द्र बस्नेतले बताए ।
मन्त्रालयका एक अधिकारीका अनुसार दलहरूबीच अहिलेसम्मकै सबैभन्दा बढी महँगो बैठक हो हात्तीवन रिसोर्टको । ती अधिकारीका अनुसार शीर्ष नेताहरू दुई दिनसम्म होटलमै बसेर बैठक गरेकाले महँगो पर्न गएको हो । त्यस्तै, गत २५ माघमा गोकर्ण फरेस्ट रिसोर्टमा बसेको तीन दलको बैठक पनि महँगोमध्येको एक रहेको मन्त्रालयका अधिकारीको भनाइ छ । ती अधिकारीका अनुसार गोकर्ण रिसोर्टले त्यहाँ एक दिन बसेका सहभागी नेताहरूले दुई लाख ४७ हजारको खानपिन गरेको बिल शान्ति मन्त्रालयलाई पठाएको थियो । मन्त्रालयले उक्त रकम भुक्तानी गरिसकेको छ ।
दलहरूबीच देखिएको गतिरोध अन्त्यका लागि भन्दै शान्ति मन्त्रालयले बालुवाटार र सिंहदरबारमा बस्दै आएको तीन दलको शीर्ष बैठक प्रधानमन्त्रीको निर्देशनअनुसार गत २५ माघमा गोकर्ण फरेस्ट रिसोर्टमा आयोजना गरेको थियो । शान्ति तथा पुनर्निर्माण मन्त्रालय लेखा शाखाका एक अधिकारीका अनुसार गोकर्ण रिसोर्टमा मात्र होइन, गत कात्तिकमा बूढानीलकण्ठस्थित पार्क भिलेज रिसोर्टमा बसेको तीन दलको शीर्ष बैठकमा पनि दुई लाख ३६ हजार खर्च भएको थियो । मन्त्रालय स्रोतका अनुसार सो बैठकमा सहभागी नेता, बैठक सहयोगी तथा सुरक्षाकर्मीहरूले गरेको नास्ता तथा खानाको रकम मात्र हो यो ।
हात्तीवन रिसोर्ट र गोकर्ण रिसोर्ट एक उदारण मात्र हुन् । यो दुई वर्षको अवधिमा शान्ति र संविधान निर्माण तथा राष्ट्रिय सहमतिको सरकार निर्माणका लागि सहमति जुटाउन भन्दै उपत्यकाका अधिकांश होटलमा दुई दल, तीन दल, चार दल तथा संयुक्त बैठकहरू बसेका छन् । शान्ति मन्त्रालयले उपलब्ध गराएको विवरणअनुसार दलहरू बैठक तथा छलफलका लागि भन्दै गोदावरी रिसोर्ट, पार्क भिलेज रिसोर्ट, सोल्टी, याक एण्ड यती, साङ्ग्रिला, र्‍याडिसन, होटल हिमालयनलगायत अधिकांश होटलमा पुगेका छन् ।
शान्ति मन्त्रालयको एक अधिकारीका अनुसार होटलमा हुने बैठकमा अधिकांश केन्द्रीय नेताहरू सहभागी हुने गरेकोले बढी खर्चिलो हुने गरेको हो । त्यही बैठक शान्ति मन्त्रालयमा गर्दा १५ देखि २५ हजार खर्चले पुर्‍याउन सकिन्छ । तर, होटलमा बसेको बैठकमा कम्तीमा पनि एक लाख खर्च हुन्छ । मन्त्रालयका प्रवक्ता भरतप्रसाद पौडेलका अनुसार होटलमा भएको बैठकमा सबैभन्दा बढी खाना र नास्तामा खर्च हुन्छ । ‘शीर्ष नेताहरू सहभागी हुँदा सेक्युरिटी तथा अन्य मानिस बढी हुने र उनीहरूलाई पनि खाना तथा नास्ता गराउनुपर्ने भएकाले धेरै खर्च हुनु स्वाभाविकै हो,’ प्रवक्ता पौडेलको भनाइ थियो । फेरि होटलमा भएका बैठकमा नेताहरूले महँगो परिकारका विदेशी खानाहरू मगाउने भएकोले पनि धेरै बिल उठ्ने गर्छ । होटल स्रोतका अनुसार बैठकमा सहभागी केही नेताहरू दारुको समेत माग गर्छन् । त्यसले पनि खर्च बढी हुन्छ ।
शान्ति मन्त्रालयका प्रवक्ता भरतप्रसाद पौडेल होटलमा हुने बैठकमा धेरै खर्च हुनु स्वाभाविकै रहेको बताउँछन् । ‘यही मन्त्रालयमै आयोजना गरिएको बैठकमा त २०÷२५ हजार खर्च हुन्छ,’ प्रवक्ता पौडेलले भने, ‘होटलमै बैठक आयोजना गर्दा खर्च निकै हुन्छ ।’ ‘बैठकमा भएको खर्चअनुसार हामी अर्थसँग पैसा माग्छौँ,’ प्रवक्ता पौडेलले भने, ‘अर्थले समयमै बजेट निकासा नगरेकोले केही होटलमा अझै पैसा तिर्न सकिएको छैन ।’
‘राजनीतिक दलहरूको बाहिर कतै बैठक आयोजना गर्दा यसअघि गृह मन्त्रालयले त्यसको व्यवस्थापन गर्ने गरेको थियो,’ प्रवक्ता पौडेलले भने, ‘यो वर्षचाहिँ शान्ति मन्त्रालयले बैठकको व्यवस्थापन गर्दै आएको छ । पौडेलका अनुसार मन्त्रालयले संविधानसभामा प्रतिनिधित्व गर्ने दलहरूबीचको वार्ताका लागि मन्त्रालयले बजेट छुट्याएको छैन । कतै बाहिर बैठक भयो भने अर्थ मन्त्रालयसँग बजेट माग्नुपर्छ ।
काङ्ग्रेस नेता कृष्ण सिटौला महँगो होटलमा बैठक बसेकाले बिल पनि धेरै आएको हुन सक्ने बताउँछन् । ‘अन्य स्थानमा भन्दा बढी सुविधा हुने र बैठकका लागि कोठाहरू पनि पर्याप्त भएकाले शीर्ष बैठकका लागि होटल नै रोज्नुपरेको हो,’ सिटौलाले भने, ‘बैठक बसेपछि भोक लाग्छ, खाना खानैपर्‍यो, फेरि बैठकमा सहभागी हुनेहरूले मात्र खाएर भएन, सेक्युरिटीहरू पनि गएका हुन्छन्, उनीहरूले पनि खाँदा बढी महँगो पर्न जान्छ ।’

मदिरा सेवनपछि प्रचण्डका कुरै बेग्लै
बाबुराम प्रधानमन्त्री भएपछि बालुवाटारमा प्राय: मदिरामस्ती चलिरहने गरेको छ । त्यस्तै नयाँ वर्षको उपलक्ष्य भन्दै गत साता बालुवाटारमा कक्टेल पार्टीको आयोजना गरिएको थियो । पार्टीमा अध्यक्ष प्रचण्ड, प्रधानमन्त्री भट्टराई तथा उनीहरूनिकट नेता तथा केही बुद्धिजीवीहरूको सहभागिता थियो । मदिराले लठ्ठिएका प्रचण्डले पार्टी नेतृत्व सरकारमा रहँदा
पनि केही गरेन भन्नेहरू प्रसस्तै रहेका र उनीहरूले नै पार्टी नेताहरूको आलोचना गरेको प्रसङ्ग कोट्याउँदै पार्टीले निकै ठूलो प्रगति गरेको दाबी गरेका थिए । प्रचण्डको भनाइ थियो– साथीहरूले भनेकोजस्तो स्थिति छैन, माओवादीको क्रान्तिले निकै ठूलो परिवर्तन गरेको छ । तपाईंले अरू केही नदेखे पनि पार्टीको नेतृत्वमा सरकार बनेको छ, यो नै माओवादीका लागि सबैभन्दा ठूलो प्रगति हो । यदि माओवादीले साँच्चिकै प्रगति नगरेको भए बाबुराम भट्टराईको नेतृत्वमा सरकार बन्न सक्थ्यो ? अनि तपार्इंहरू बालुवाटारमा बसेर यसरी रक्सी खान सक्नुहुन्थ्यो ?
प्रचण्डले अरूको विकास हुन नसके पनि माओवादी नेताहरूको राम्रो प्रगति भएको तर्क गरेका थिए । उनको भनाइ थियो– पार्टीमा कुनै एकजनाले मात्र होइन सबै नेताहरूले राम्रै मोज गरेका छन्, यो नै विकास र प्रगति हो । मुलुकमा सबैले जनताकै नाम भजाएर आफ्नो मोज गरिरहेको पनि प्रचण्डको भनाइ थियो । कक्टेल भोजमा सहभागी प्रधानमन्त्री भट्टराईका एक स्वकीय सहसचिवले प्रचण्डको भनाइ उद्धृत गर्दै भने, ‘अरूले वर्षौंसम्म यही नेपाली जनताको नाममा मोज गरे, तर हामीले जनतालाई पनि मोज गर्न छुट दिएका छौँ ।’ आफ्ना पार्टी नेताहरूको इच्छा पूरा गर्न आफूले कुनै कसर बाँकी नराखेको पनि प्रचण्डको भनाइ थियो । उनले भने, ‘अरू केही नभए पनि यी यसरी रमाइलो त गर्नुभएको छ नि होइन ।’ प्रचण्डले माओवादी क्रान्तिले सबैतिर चेतनाको लहर ल्याएको उल्लेख गर्दै कहिलेकाहीँ त्यसैले आफूलाई अप्ठ्यारो पारेको पनि बताएका थिए । पार्टीमा सहभागी नेता देवेन्द्र पौडेलले भने, सही समयमा सही निर्णय गर्न नसक्दा समस्या देखिएको र यसलाई माओवादीले नै समाधान गर्न सक्ने बताएका थिए ।

एके– ४७ को खोजी
शान्तिप्रक्रियामा आएपछि आफ्ना वास्तविक लडाकुलाई वाईसीएलको आवरणमा लुकाउने माओवादी अध्यक्ष प्रचण्डले त्यसबेला लुकाएको ब्प्(द्धठ (एके–४७) हतियारको खोजी सुरु भएको छ । प्रचण्डले तीन सय पचास थानभन्दा बढी एके– ४७ हतियार लुकाएको भन्दै वैद्य पक्ष उक्त हतियारको खोजीमा जुटेको छ । युरोपका इसाई मुलुकबाट विशेष सहयोगको रूपमा माओवादीले प्राप्त गरेको ठानिएका ती घातक हतियार प्रचण्डले पाँच वर्षअघि नै लुकाएको र त्यसको विवरण पार्टीमा अहिलेसम्म उपलब्ध नगराइएको वैद्य खेमाका एक नेताले
जनाएका छन् । उक्त हतियार प्राप्त गर्न पार्टीका केही नेताहरूले विशेष अग्रसरता लिएको बुझिएको छ । पार्टीका लडाकुलाई आत्मसमर्पण गराइसकेपछि पनि प्रचण्डले ती हतियारचाहिँ किन सुरक्षित राख्न चाहेका हुन्– वैद्य खेमाले पनि बुझ्न सकेको छैन । स्मरणीय छ, माओवादीको वैद्य समूहले प्रचण्डसँग पार्टीमा जम्मा भएको अर्बौं रुपैयाँको हिसाब गत वर्षदेखि नै माग्दै आएको छ भने यसपटकदेखि प्रचण्डले लुकाएका हतियारको खोजी पनि थालेको छ । अन्य हतियारभन्दा पनि एके–४७ बारे उनीहरूले बढी चासो राखेका छन् ।
शान्तिप्रक्रियामा आएपछि आफ्ना वास्तविक लडाकुलाई वाईसीएलको आवरणमा लुकाउने माओवादी अध्यक्ष प्रचण्डले त्यसबेला लुकाएको ब्प्(द्धठ (एके–४७) हतियारको खोजी सुरु भएको छ । प्रचण्डले तीन सय पचास थानभन्दा बढी एके– ४७ हतियार लुकाएको भन्दै वैद्य पक्ष उक्त हतियारको खोजीमा जुटेको छ । युरोपका इसाई मुलुकबाट विशेष सहयोगको रूपमा माओवादीले प्राप्त गरेको ठानिएका ती घातक हतियार प्रचण्डले पाँच वर्षअघि नै लुकाएको र त्यसको विवरण पार्टीमा अहिलेसम्म उपलब्ध नगराइएको वैद्य खेमाका एक नेताले जनाएका छन् । उक्त हतियार प्राप्त गर्न पार्टीका केही नेताहरूले विशेष अग्रसरता लिएको बुझिएको छ । पार्टीका लडाकुलाई आत्मसमर्पण गराइसकेपछि पनि प्रचण्डले ती हतियारचाहिँ किन सुरक्षित राख्न चाहेका हुन्– वैद्य खेमाले पनि बुझ्न सकेको छैन । स्मरणीय छ, माओवादीको वैद्य समूहले प्रचण्डसँग पार्टीमा जम्मा भएको अर्बौं रुपैयाँको हिसाब गत वर्षदेखि नै माग्दै आएको छ भने यसपटकदेखि प्रचण्डले लुकाएका हतियारको खोजी पनि थालेको छ । अन्य हतियारभन्दा पनि एके–४७ बारे उनीहरूले बढी चासो राखेका छन् ।

सेनामा चलखेल गर्दै प्रधानमन्त्री
प्रधानसेनापति छत्रमानसिंह गुरुङसँग उच्चस्तरीय सहमति बनेपछि प्रधानमन्त्री बाबुराम भट्टराईले सेनाको पुनर्संरचनाको नाममा चलखेल गर्न लाग्नुभएको जानकारी प्राप्त भएको छ । जेठ २ गतेदेखि अवकाश पाउन लागेका मेजर जनरल दमन घलेलाई लेफ्टिनेन्ट जनरल बनाउने वचन प्रधानमन्त्री भट्टराईले दिएपछि सेनापति गुरुङ प्रचण्ड–बाबुरामलाई सघाउन तयार हुनुभएको र यो सुवर्ण मौकालाई उपयोग गर्ने योजना प्रधानमन्त्री भट्टराईले बनाउनुभएको बुझिएको छ । सेनापति गुरुङका बहिनीज्वाइँ दमन घलेलाई लेफ्टिनेन्ट जनरल बनाउन उक्त पद सिर्जना गर्नुपर्ने हुन्छ । पद सिर्जना गर्न विशेष समितिमा लगेको प्रस्ताव त्यहाँबाट अनुमोदन नभएपछि प्रधानमन्त्रीले उपप्रधानमन्त्रीसमेत रहेका रक्षामन्त्री विजयकुमार गच्छदारलाई दरबन्दी थपसहितको प्रस्ताव मन्त्रिमण्डलमा पेस गर्न निर्देशन दिनुभएको छ । तर, रक्षामन्त्री गच्छदारले परम्सेनाधिपति राष्ट्रपति र अन्य प्रमख दलहरुसँगसमेत छलफल गरेर मात्र यस विषयमा निर्णय लिन उपयुक्त हुने भनी अडान लिइरहेको बताइन्छ । गच्छदारलाई मोटो रकम उपलब्ध गराएर भए पनि लेफ्टिनेन्ट जनरल पद थप गर्ने योजनामा प्रचण्ड–बाबुराम रहेको बुझिएको छ । दमन घलेलाई लेफ्टिनेन्ट जनरल बनाउने सफलता मिलेमा त्यसबाट सेनामा ठूलो विभाजन ल्याएर अर्को कुलबहादुर काण्ड दोहोर्‍याई सत्ता–कब्जासम्म जानसक्ने विश्वास माओवादी नेतृत्वले लिएको देखिन्छ ।

बाबुरामसँग सजग रहन सुझाव
एमाओवादी अध्यक्ष प्रचण्डले उपाध्यक्ष मोहन वैद्यसँग भन्दा बाबुराम भट्टराईसँग सजग रहन आफूनिकट पार्टीका नेताहरूलाई सुझाव दिएका छन् । गत साता आफ्नै निवासमा आफुनिकट दर्जनभन्दा बढी केन्द्रीय नेता तथा विभिन्न शिविरका लडाकु कमान्डरलाई बोलाई प्रचण्डले यस्तो सुझाव दिएको छलफलमा सहभागी एक नेताले बताए । ती नेताका अनुसार प्रचण्डको भनाइ थियो, ‘बाबुराम भट्टराई कसरी प्रधानमन्त्री बन्नुभएको छ, त्यो हामी सबैलाई जानकारी भएकै विषय हो, उहाँ कहाँबाट परिचालित भएको मानिस हो, त्यो पनि राम्रो जानकारी छ, त्यसैले तपाईंहरू वैद्यसँग होइन भट्टराईसँग सतर्क रहेर अगाडि बढ्नुस् ।’
उनले उपाध्यक्ष वैद्यले पार्टी फुटाउन नसक्ने दाबी पनि गरे । प्रचण्डको भनाइ उद्धृ्रत गर्दै ती नेताले भने, ‘वैद्यलाई अरूले भन्दा मैले राम्रोसँग चिनेको छु, उहाँको क्षमता, प्रस्तुति, हैसियत, कमी–कमजोरी मलाई सबै राम्रो जानकारी छ, त्यसैले तपाईंहरू ढुक्क हुनुस्, उहाँ पार्टी फुटाएर जान सक्नुहुन्न र यदि गइहाल्नुभएछ भने नेपालको मात्र नभएर इतिहासकै चामत्कारिक घटना हुनेछ ।’ आफ्नो भनाइ नसक्दै उनले थपे, ‘तर म त्यस्तो स्थिति आउन दिने छैन ।’
‘बरु बाबुरामले पार्टी फुटाउन सक्ने आशङ्का गरेका थिए प्रचण्डले । बाबुरामजी कसैले केही भन्दा फुरुक्क भएर उचालिनुहुन्छ, त्यस्तो व्यक्तिको चाहिँ भर गर्नुहुँदैन र उनका बारेमा सधैँ ख्याल गरिरहनुपर्छ,’ प्रचण्डको भनाइ थियो । छलफलमा प्रचण्डले आफूसँग अझै बहुमत रहेको दाबीसमेत गरेका थिए । पार्टीमा वैद्य कमरेड दोस्रो पोजिसनमा हुनुहुन्छ, यो हामी सबैले मान्नुपर्ने कुरा हो,’ प्रचण्डको भनाइ थियो, ‘बाबुरामको पार्टीमा १० प्रतिशत पनि सहभागिता छैन, त्यसैले हामीले बाबुरामलाई भन्दा पनि वैद्यलाई साथ लिने अभियानमा लाग्नुपर्छ । वैद्य पक्षधर भनिएका केही नेताहरूले वैद्य र मेरो सम्बन्धबारे जानकारी नपाएर मेरो आलोचना गरेका हुन्,’ प्रचण्डको भनाइ थियो, ‘तिनीहरूले मेरो र वैद्यको सम्बन्धबारे जुन दिन जानकारी पाउँछन्, त्यसै दिन मेरो शरणमा आउँछन्, तपाईंहरू हेरिराख्नुस् ।’
आफूले बाध्यतावश बाबुरामलाई साथ दिए पनि उनीसँग निकै सजग रहेर अगाडि बढेकोसमेत प्रचण्डले त्यस अवसरमा जानकारी गराएका थिए । बाबुरामसँग पार्टीको भन्दा पनि गैरपार्टीका नेता तथा केही विदेशी मित्रहरूसँग राम्रो सम्बन्ध रहेको प्रचण्डको स्वीकारोक्ति थियो ।

लडाकुजति ‘स्वयम्सेवक’ बन्ने
एकीकृत नेकपा माओवादीका उपध्यक्ष मोहन वैद्य समूह संस्थापन पक्षको सशक्त प्रतिकार गर्ने निष्कर्षमा पुगेको छ । विगतका आन्दोलनको समीक्षा गर्दै राजधानीमा उपलब्ध आफूनिकट केन्द्रीय नेताहरूको बैठकमा उनीहरूले यस्तो निर्णय गरेका हुन् । पार्टी एकताका लागि अध्यक्ष जिम्मेवार भएर लाग्नुपर्नेमा उल्टै गाली–गलौजमा उत्रिएकोले अब पार्टी नेतृत्वविरुद्ध प्रतिकार गर्नुको कुनै विकल्प नरहेको निष्कर्ष निकालिएको एक नेताले बताए ।
‘राजधानी तथा राजधानीबाहिर आफ्नो विचार समूहका नेता तथा कार्यकर्तालाई प्रचण्ड–बाबुराम समूहबाट आक्रमण भइरहेकोले पनि उनीहरूविरुद्ध प्रतिकारमा उत्रनुको कुनै विकल्प नभएको वैद्यनिकट केन्द्रीय नेता कुमार दाहालले बताए । उनले भने, ‘पार्टी नेतृत्वले वर्गीय पक्षधरता गुमाइसकेका छन् त्यसैले उनीहरूबाट आक्रमण भए प्रतिकार गर्ने निर्णय गरिएको छ ।’
बैठकमा जनमुक्ति सेनालाई नेपाली सेनाको जिम्मा लगाएर प्रचण्ड र बाबुरामले नेपाली क्रान्तिमा मात्र नभई विश्व क्रान्तिकै लागि ठूलो गद्दारी गरेको बैठकको ठम्याइ छ । जनसेनाको अपमानपूर्वक विघटन गरिएकोले त्यसको जनस्तरसम्म गएर भण्डाफोर गर्ने निर्णय बैठकले गरेको छ । वैद्यनिकट नेता सीपी गजुरेलले साथीहरूबीच आन्दोलनको समीक्षात्मक कार्यक्रम भएको बताए । उनले भने, ‘हामी कसरी अगाडि बढ्ने भन्ने विषयमा आन्तरिक छलफल गरिरहेका छौँ, केही दिनमै केही कार्यक्रम सार्वजनिक गर्छौं ।’
यसैबीच वैद्य पक्षले अयोग्य, अवकाशप्राप्त र पूर्वलडाकूलाई सङ्गठित गरी जनस्वयम्सेवक परिचालन ब्युरोलाई पुनर्गठन गरेको छ । वाईसीएलको विकल्पको रूपमा करिब डेढ वर्Èअघि माओवादीले स्थायी समिति सदस्य नेत्रविक्रम चन्द विप्लवको नेतृत्वमा गठन गरेको जनस्वयम्सेवक परिचालन ब्युरो गठन गरेको थियो । तर, आन्तरिक विवादका कारण ब्युरो सक्रिय हुन सकेको थिएन । वाईसीएलमा रहेका वैद्यपक्षीय सदस्य, अवकाशप्राप्त लडाकु र अनमिनको प्रमाणीकरणमा नपरेका अयोग्य लडाकुलाई ब्युरोमा आबद्ध गराइने वैद्यनिकट नेता हितमान शाक्यले बताए । पछिलो समय वैद्य पक्ष सबै क्षेत्रमा समानान्तर सङ्गठन बनाउँदै गाउँ कमिटीसम्म पुगेको छ । जनस्वयम्सेवक सङ्घमा लडाकुहरूकै बाहुल्य रहने बुझिएको छ ।

सर्वसम्मत भइन् विद्या
नेकपा एमालेको भगिनी सङ्गठन अखिल नेपाल महिला सङ्घको पोखरामा सम्पन्न छैटौँ अधिवेशनले ख्यातिप्राप्त एमाले नेतृ विद्या भण्डारीलाई पुन: अध्यक्ष चयन गरेको छ । अध्यक्ष पदमा भण्डारीको चयनले एमालेमा एकताको दर्बिलो सन्देश दिएको बताइएको छ । भण्डारीको विरुद्ध एमाले सभासद् उर्मिला अर्यालले उम्मेदवारी दिने प्रयास गरे पनि उनको प्रतिनिधित्वले नै वैधता प्राप्त गर्न नसकेपछि सभाकक्षबाट अर्यालले बाहिरिनुपरेको थियो । एमाले नेता अमृत बोहराकी पत्नी अष्टलक्ष्मी शाक्यले पनि आफू अध्यक्ष बन्ने चाहना राख्नुभएको थियो, तर अधिवेशनका अधिकांश सहभागी नेतृ भण्डारीकै पक्षमा रहेको देखिएपछि शाक्यले उम्मेदवारी दिने हिम्मत गर्नुभएन । अधिवेशनको उद्घाटन एमाले अध्यक्ष झलनाथ खनालले एक भव्य समारोहबीच गर्नुभएको थियो । उद्घाटन समारोहमा नेताहरू माधव नेपाल, केपी शर्मा ओली, वामदेव गौतम, ईश्वर पोखरेललगायतले सम्बोधन गर्नुभएको थियो । बन्द सत्रमा प्रतिनिधिसम्बन्धी विषयलाई लिएर केही विवाद उत्पन्न भएको थियो । बन्द सत्रमा नेतृ भण्डारीले आफ्नो मन्तव्य राख्दै गर्नुहुँदा उर्मिला अर्यालले अवरोध पुर्‍याउने कोसिस गरेको र त्यसबेला सहभागीले अर्याललाई बलजफ्ती सभाकक्षबाट बाहिर निकालेका थिए । पहिले एमालेभित्र ओली खेमामा रहेकी उर्मिला अर्याल झलनाथ खनाल प्रधानमन्त्री भएका बेला क्याम्प परिवर्तन गरी खनालको मन्त्रिमण्डलमा सदस्य बन्न पुगेकी थिइन् ।

सम्पादकहरूको दुईदिने कार्यशाला
पश्चिमाञ्चलबाट प्रकाशित हुँदै आएका पत्रिकाका सम्पादकहरूका लागि विशेष प्रशिक्षण कार्यक्रम गत साता सम्पन्न भयो । नेपाली छापामाध्यम राष्ट्रिय सञ्जालको आयोजनामा गत बिहीबार पोखरामा सुरु भएको दुईदिने कार्यशालामा पश्चिमाञ्चलका सोह्रमध्ये पन्ध्र जिल्लाबाट प्रकाशित पत्रिकाका अठासी सम्पादकले भाग लिएका थिए । बीपी कोइराला फाउण्डेसन भारतीय राजदूतावासको विशेष सहयोगमा आयोजित उक्त कार्यशालाको उद्घाटन सञ्चार राज्यमात्री सुरिताकुमारी साहले गर्नूभएको भएको थियो । समारोहमा सम्बोधन गर्दै राज्यमन्त्री साहले पत्रकारहरूद्वारा सञ्चालित सञ्चारमाध्यमहरूको स्तरोन्नतिका लागि आफू जस्तोसुकै सहयोग गर्न पनि तयार रहेको प्रतिबद्धता व्यक्त गर्नुभएको थियो । ‘पत्रकारद्वारा सञ्चालित पत्रिकाहरूको स्तरोन्नति’ विषयक कार्यशालामा विशेष अतिथिका रूपमा उपस्थित भारतीय राजदूतावासका डेपुटी चिफ अफ मिसान जयदीप मजुमदारले सम्पादकहरू यसप्रकारको कार्यशालामा भाग लिन आएकोमा प्रसन्नता प्रकट गर्दै उहाँले दुई मुलुकबीचको सम्बन्धलाई थप सुदृढ तुल्याउन सञ्चारमाध्यमहरूको महत्वपूर्ण भूमिका हुने विचार प्रकट गर्नुभएको थियो । कार्यक्रममा नेकपा एमालेका युवा नेता एवम् सभासद् रवीन्द्र अधिकारी र नेपाली काङ्गे्रस कास्कीका सभापति यज्ञबहादुर थापाले पनि आ–आफ्नो विचार प्रकट गर्नुभएको थियो । कार्यशालामा वरिष्ठ पत्रकारद्वय शरच्चन्द्र वस्ती र धु्रवहरि अधिकारीले पत्रिकाको भाषा, प्रस्तुति, सामग्री छनोट र सम्पादकीय भूमिकालगायतका विषयमा प्रशिक्षण दिनुभएको थियो । कार्यक्रममा सङ्गठनका वरिष्ठ उपाध्यक्ष शम्भु श्रेष्ठ, पश्चिमाञ्चल संयोजक राजबहादुर गुरुङ, सहभागी सम्पादक माया अधिकारी, क्रान्तिकारी पत्रकार महासङ्घका कोषाध्यक्ष खिलाबहादुर झण्डारी, जनादेशका सम्पादक मनऋषि धिताललगायतले आफ्नो विचार प्रस्तुत गर्नुभएको थियो । सङ्गठनका अध्यक्ष देवप्रकाश त्रिपाठीको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रमको सञ्चालन महासचिव किशोर श्रेष्ठ र सचिवालय सदस्य विष्णु रिजालले गर्नुभएको थियो ।

आयरल्याण्डवासी नेपाली नेपालमा लगानी गर्न तत्पर
लगानीको उचित वातावरण बने आफूहरु नेपालमा लगानी गर्न तयार रहेको आयरल्याण्डमा रहेका नेपालीले बताएका छन् । नववर्ष २०६९ को अवसरमा एनआरएन आयरल्याण्डले डब्लिनस्थित र्‍याडिसन ब्लु रोयल होटलमा आयोजना गरेको बृहत् सांस्कृतिक तथा शुभकामना आदान–प्रदान कार्यक्रममा उनीहरुले उक्त प्रतिबद्धता जनाएका हुन् ।
सो अवसरमा प्रमुख अतिथिका रुपमा उपस्थित गैरआवासीय नेपाली सङ्घका प्रमुख संरक्षक देवमान हिराचनले संसारभर छरिएर रहेका नेपालीको कमाइको सदुपयोग गर्न सके नेपाल र नेपालीको विकासमा उल्लेखनीय टेवा पुग्ने बताउनुभयो । सुरक्षित लगानी तथा उपयुक्त कार्यक्रमको पहिचान गर्दै ‘म र मेरो’ होइन ‘हामी र हाम्रो’ भन्ने भावना लिएर काम गर्न सकेमा जस्तोसुकै कठिन काम पनि सहज रुपमा सम्पन्न गर्न सकिने उहाँले बताउनुभयो । त्यसका लागि एनआरएनले अझै सशक्त भूमिका खेल्नुपर्ने उहाँले औंल्याउनुभयो । कार्यक्रमको सभापतित्व गर्दै एनआरएन आयरल्याण्डका अध्यक्ष गणेश प्रसार्इंले एनआरएन आयरल्याण्ड विगतमा भएका कमी–कमजोरीलाई सच्याउँदै आयरल्याण्डमा रहेका नेपालीको भावना समेट्दै अघि बढ्ने विश्वास दिलाउनुभयो । कार्यक्रममा सहभागीलाई एनआरएन आयरल्याण्डका आईसीसी मेम्वर मनकुमार धमलाले धन्यवाद ज्ञापन गर्नुभएको थियो ।
सोही कार्यक्रममा गत जनवरीमा दिवंगत भएका आयरल्याण्डनिवासी कृष्ण थापाको सम्झनामा मौनधारण गरिएको थियो भने करिब चार सय नेपाली तथा विदेशी उपस्थित रहेका त्यस कार्यक्रममा प्रसिद्ध हास्यकलाकार जोडी दीपकराज गिरी, दीपाश्री निरौला तथा स्थानीय कलाकारहरुले कला प्रस्तुत गरेर मनोरञ्जन दिएका थिए ।

सिटिजन्स बैंक छैटौँ वर्षमा
३३ वटा शाखामार्फत चौधै अञ्चलमा सेवा विस्तार गरेको सिटिजन्स बैंक इन्टरनेसनल लि. छैटौँ वर्षमा प्रवेश गरेको छ । यस अवसरमा आयोजित कार्यक्रममा बैंकले तरलताको अभावका कारण चालू आर्थिक वर्षमा खुद नाफा १० करोड मात्र भएको जानकारी गरायो ।
निक्षेप तथा कर्जाका साथै भिसा एटीएम, रेमिट्यान्स, ड्राफ्ट, लकर, सन्ध्याकालीन काउन्टर, ३६५ दिने बैंकिङ, फोन÷मोबाइल बिल भुक्तानीजस्ता सेवा दिइरहेको बैंकले साना व्यवसायीलाई लक्षित गरेर सुरु गरेको ‘सिटिजन्स फास्ट ट्र्याक योजना’अन्तर्गत हालसम्म एक सय ४७ जनालाई चार करोड ७५ लाख रुपैयाँ कर्जा प्रवाह गरिसकेको छ भने संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत रक्तदान, आँखादान, मिर्गाैला दान, विद्यार्थीलाई छात्रवृत्ति, कम्प्युटर प्रदान गर्दै आएको छ ।

पाँचताराको वार्षिकोत्सवमा शाह सम्मानित
पाँचतारा बचत तथा ऋण सहकारी संस्था लि.ले आफ्नो चौथो वार्षिकोत्सवको अवसरमा सहकारी आन्दोलनको क्षेत्रमा अग्रणी भूमिका निर्वाह गरेका व्यक्तिमध्येबाट विनोदकुमार शाहलाई अभिनन्दन गरेको छ । कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय सहकारी सङ्घका पूर्वअध्यक्ष तथा पूर्वगृहराज्यमन्त्री दीपकप्रकाश बास्कोटाले १० हजार एक सय ५१ नगद र ताम्रपत्रसहित ‘पाँचतारा राष्ट्रिय सहकारी व्यक्तित्व–०६९’ बाट नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी सङ्घको पूर्वसञ्चालक तथा जिल्ला बचत तथा ऋण सहकारी सङ्घ बाँकेका अध्यक्ष शाहलाई सम्मानित गर्नुभयो । पाँचताराले आफ्नो स्थापनाकालदेखि नै सहकारी क्षेत्रको विकासमा महत्वपूर्ण योगदान पुर्‍याउने व्यक्ति छानेर सम्मान गर्दै आएको छ । गत १ गते आयोजना गरिएको उक्त सम्मान कार्यक्रममा प्रमुख अतिथि बास्कोटाले भारत, पाकिस्तान, बंगलादेश, फिलिपिन्सलगायतका देशमा राजनीतिक हस्तक्षेपका कारण सहकारीमा नकारात्मक असर परेको उदाहरण पेस गर्दै नेपालमा पनि राजनीतिक हस्तक्षेपले यहाँको सहकारी आन्दोलनलाई तहसनहस पार्नसक्नेतर्फ सचेत गराउनुभयो ।
नेपालको सहकारी आन्दोलनका अग्रज व्यक्तित्व कैलाशभक्त प्रधानाङ्गले पनि राजनीतिक हस्तक्षेपबाट मुक्त रहे मात्रै सहकारी आन्दोलन सफल हुन सक्छ भन्नुभयो । कार्यक्रममा विशिष्ट अतिथिका रूपमा निम्त्याइएका घनश्याम खतिवडाले काठमाडौंमा स्थापित भएर पनि छोटो समयमै पाँचतारा सहकारीले अलग पहिचान बनाउन सफल भएको उल्लेख गर्नुभयो भने नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी सङ्घका महासचिव डीबी बस्नेतले यसरी सम्मान गर्ने परम्पराले सहकारीमा लाग्नेहरूलाई हौसला मिल्ने धारणा राख्नुभयो ।
सम्मानित व्यक्तित्व विनोद शाहले आफूलाई सम्मान गरेकोमा कृतज्ञता व्यक्त गर्नुभयो भने सम्मान कार्यक्रमका सभापति तथा संस्थाका अध्यक्ष भोला नाथ पाठकले सहकारी क्षेत्रका अग्रजहरूलाई सम्मान गर्न पाउँदा पाँचतारालाई गर्वानुभूति भएको बताउनुभयो । संस्थाका उपाध्यक्ष किरणप्रसाद श्रेष्ठले स्वागत मन्तव्य दिनुभएको सो कार्यक्रममा विभिन्न शैक्षिक संस्थाका छात्रछात्रा एवम् समाजका विभिन्न व्यक्ति–व्यक्तित्वहरूलाई पुरस्कृत गरिएको थियो ।
कामनपा– ३५ को सिनामंगल टाउन प्लानिङमा रहेको पाँचतारा सहकारीको पुँजी एक करोड रहेको छ भने संस्थामा १४ सय सेयरसदस्य आबद्ध छन् ।
– नविन उपे्रती

धमला सम्मानित
पत्रकारिताको माध्यमबाट सकारात्मक सोच र चिन्तनका साथ राष्ट्रिय सहमतिका लागि सबै राजनीतिक शक्तिलाई एकै ठाउँमा राखेर विचार–मन्थन गरेको, शान्ति र संविधान निर्माणका लागि दलहरुबीच सहमतिको पहल गरेको तथा रेडियो, टेलिभिजन, पत्रपत्रिका र अनलाइन पत्रिकामा अथक काम गरेको भन्दै शान्ति र विकासका लागि नागरिक आवाज नामक संस्थाले पत्रकार तथा रिपोर्टर्स क्लब नेपालका अध्यक्ष ऋषि धमलाको सम्मान गरेको छ । धमलालाई सम्मान गर्दै सूचना तथा सञ्चारमन्त्री राजकिशोर यादवले धमलाले सञ्चार जगत्मा कसैले गर्न नसक्ने काम गरेको बताए भने अभिनन्दित धमलाले अबका ४० दिनमा सङ्घीयतासहित लोकतान्त्रिक संविधानका लागि मिडियाको सशक्त खबरदारी आवश्यक रहेको बताए । ‘संविधान निर्माणमा सञ्चारमाध्यमको भूमिका’ विषयक गोष्ठीमा संस्थाका अध्यक्ष रामचन्द्र पोखरेल, संघीय सद्भावना पार्टीका प्रवक्ता देवेन्द्र यादवले पनि आ–आफ्ना धारणा व्यक्त गरेका थिए ।

छिमेकीले रच्यो इतिहास
भारत अब ‘विश्वशक्ति’को पङ्क्तिमा
पाँच हजार किलोमिटरभन्दा बढी दूरी प्रहार गर्ने क्षमता भएको परमाणु क्षमतायुक्त मिसाइलको निर्माण एवम् सफल परीक्षण गरेर छिमेकी मित्रराष्ट्र भारतले आफूलाई विश्वका शक्तिशाली राष्ट्रको कोटिमा उभ्याएको छ । गत ७ गते बिहीबार (१९ अप्रिल, २०१२) भारतले १७ मिटर लम्बाइ, दुई मिटर चौडाइ र ५० टन तौल भएको अग्नि– ५ नामक अन्तरमहाद्विपीय ब्यालेस्टिक मिसाइलको सफल परीक्षण गरेको थियो । अग्नि– ५ को सफल परीक्षणमा आठ सय वैज्ञानिक एवम् सहायता कर्मचारीहरू संलग्न रहेको भारत सरकारलाई उद्धृत गर्दै विभिन्न एजेन्सीले जनाएका छन् । अहिलेसम्म अमेरिका, चीन, रुस, फ्रान्सजस्ता मुलुकसँग मात्र रहेको शक्तिशाली मिसाइल टेक्नोलोजी आफ्नै बुताबाट निर्माण गरी मिसाइल प्रौद्योगिकीको विकासमा तीव्र रूपमा अगाडि बढेको छिमेकी भारतले इतिहास मात्र रचेको नभई अग्नि– ५ बाट सुसज्जित हुँदै उसले आफू कुनै पनि क्षेत्रमा पछि नरहेको भन्ने प्रमाणका साथ विश्वमञ्चमा कोहीभन्दा कम नरहेको सन्देशसमेत दिएको छ ।
अग्नि– ५ को सफल परीक्षणले विश्वव्यापी रूपमा प्रतिक्रियाहरू पैदा गरेका छन् । अमेरिकाले भारतको अप्रसार रेकर्ड सानदार रहेको जनाउँदै प्रत्येक परमाणुसम्पन्न राष्ट्रले यसको प्रयोगमा संयम अपनाउन आग्रह गरेको छ भने पछिल्लो चरणमा शाक्तिराष्ट्रका रूपमा तीव्र गतिमा उदाइरहेको चीनचाहिँ क्षेत्रीय तथा वैश्विक दबदबामा असर पर्ने भयबाट ग्रसित देखिएको विश्लेषकहरूको कथन छ ।
उल्लेखित प्रतिक्रियाको जवाफमा भारतले शालीनतापूर्वक भनेको छ, ‘हामी कसैप्रति कहिल्यै परमाणु शक्तिको दुरूपयोग गर्दैनौँ तर हामीप्रति खराब दृष्टि दिनेले चाहिँ अब लाखपटक सोचोस् ।’ उसको यस अभिव्यक्तिले पनि स्पष्ट पारेको छ कि अग्नि– ५ को निर्माण त्यस्ता देशलाई जवाफ हो जो आफ्नो शक्तिको प्रयोग गरी विश्वलाई नै निशाना बनाउन उद्यत् छ ।
एक टनभन्दा बढ्ता परमाणु सामग्री बोकेर एक महाद्वीपबाट अर्को महाद्वीपसम्म प्रहार गर्न सक्ने यस अन्तरमहाद्विपीय ब्यालेस्टिक मिसाइलले चीन तथा युरोपका अधिकांश भागसम्म निशाना लगाउन सक्छ । यसलाई विश्वसमुदायले अत्यन्त ठूलो रक्षा–क्षमताका रूपमा हेरेको छ । हुन पनि अग्नि– ५ को सफल परीक्षण एकीकृत मिसाइल विकास कार्यक्रममा भारतको लामो छलाङ सावित भएको छ । हालसम्म केवल अमेरिका, रुस, फ्रान्स र चीनसँग मात्र आईसीबीएमलाई प्रक्षेपित गर्ने क्षमता छ । भारतसँग अग्नि शृङ्खलामा सात सय किलोमिटर मारक क्षमता भएको अग्नि– १, दुई हजार किलोमिटर क्षमता भएको अग्नि–२, दुई हजार पाँच सयदेखि तीन हजार पाँच सयभन्दा ज्यादा प्रहार गर्ने क्षमता भएको अग्नि– ३ र अग्नि– ४ मिसाइल यसअघि नै थियो ।
आफूलाई ‘बाँच र बचाउ’को सिद्धान्त प्रतिपादित भएको भूमिका रूपमा गर्व गर्ने भारतले अग्नि– ५ को सफलतालाई कुनै अर्को राष्ट्रको सैन्यशक्तिलाई जवाफ या चुनौतीको रूपमा भन्दा पनि आत्मशक्तिको द्योतकका रूपमा लिएको छ जो अत्यन्त प्र्रशंसनीय छ ।
समृद्ध तथा शक्तिशाली छिमेकी कुनै पनि व्यक्ति, परिवार वा राष्ट्रका लागि आडभरोसा बन्न सक्छ । नेपालको समृद्धि र विकासका लागि बहुआयामिक रूपमा सघाउँदै आएको छिमेकी मित्रराष्ट्र भारतले पनि आफूलाई अमेरिका, चीन, फ्रान्स, रुस र बेलायतजस्तै विश्वशक्तिको लहरमा उभ्याएर यस्तै आशा जगाइदिएको छ ।
भारतीय उपमहाद्वीपका लागि अग्नि– ५ प्रक्षेप्यास्त्र शान्तिको अस्त्र बनोस्, विश्वमा स्थायी शान्ति बनाउनका लागि उपयोगी हतियार सावित बनोस् भन्ने कामना भारतका शुभचिन्तकहरूले गरेका छन् ।

प्रचण्ड र बाबुरामलाई काङ्ग्रेस पस्न सुझाव †
माओवादीको विचार–सिद्धान्तबाट विचलित भएकाले प्रचण्ड र बाबुरामलाई एकीकृत नेकपा (माओवादी)मा बस्ने अधिकार नभएको सो पार्टीका सचिव सीपी गजुरेलले चेतावनी दिएका छन् ।
भक्तपुरमा आयोजित एक कार्यक्रमबीच माओवादी असन्तुष्ट पक्षका नेता गजुरेलले क्यान्टोनमेन्टमा भएको भ्रष्टाचार सार्वजनिक हुने डरले अध्यक्ष प्रचण्ड र उपाध्याक्ष भट्टराईले जनमुक्ति सेनालाई घेराबन्दी पारी नेपाली सेनामा आत्मसमर्पण गराएको आरोप लगाउँदै प्रचण्ड र भट्टराईलार्ई नेपाली काङ्ग्रेस वा एमालेमा प्रवेश गर्न सुझाव दिए । सेना समायोजनको नाममा अर्बौं रकमको आर्थिक घोटाला भएको दाबी गर्दै उनले सो घोटलामा प्रमुख दलहरूबीच ब्ल्याकमेलिङ भएको र घोटालाको छानबिन गर्न कसैले आवाज नउठाएको गुनासोसमेत गरे । अब जनसंविधान बन्ने सम्भावना अन्त्य भएको चर्चा गर्दै उनले संविधान निर्माणका विषयमा प्रमुख चार दलबीच बन्द कोठाभित्र लेनदेन भइरहेको बताए । जेठ १४ पछि नेपाल युद्धमा फस्छ भनेर जनतामा भ्रम फैलाउँदै जनविरोधी संविधान जारी गर्ने प्रपञ्चमा केही दल लागिपरेका आरोप लगाउँदै सचिव गजुरेलले जनविरोधी संविधान जारी गरिए आफूहरू सशक्त आन्दोलनमा जाने र हतियारसमेत उठाउन पछि नपर्ने उद्घोष गरे ।

तीन दलले दादागिरी देखाए : सद्भावना
केही ठूला पार्टीहरूले सद्भावना पार्टीलाई क्षेत्रीय तथा विखण्डकारी शक्ति भनेर अनर्गल प्रचारबाजी गरे पनि सद्भावना पार्टी सम्पूर्ण देशको पार्टी रहेको दाबी सो दलका अध्यक्ष राजेन्द्र महतोले गरेका छन् । गत साता राजधानीमा आयोजित कार्यकर्ता भेटघाट तथा जिल्ला तयारी समिति गठन कार्यक्रमलाई सम्बोधन गर्दै स्वास्थ्यमन्त्रीसमेत रहेका महतोले शोषण र विभेदमा परेकाहरूको अधिकारका लागि सङ्घर्ष गर्दै आएको सद्भावना पार्टीले शोषकहरूको चङ्गुलबाट जनतालाई मुक्त गराइछाड्ने उद्घोष गरे । एनेकपा माओवादी, नेकपा एमाले र नेपाली काङ्ग्रेसले ‘ठूला दल’को नाममा देशमा दादागिरी देखाएको आरोप पनि अध्यक्ष महतोले लगाए । सोही कार्यक्रममा बोल्दै सद्भावनाका सहअध्यक्ष लक्ष्मणलाल कर्णले ठूला पार्टीले सद्भावना पार्टीलाई विगतमा बद्नाम गराउन खोजेको भन्दै सद्भावना पार्टीले सहकार्य तथा सद्भावको राजनीतिबाट मुलुकमा एकता कायम गर्न पहल गरेको बताए । ७५ वटै जिल्लामा सद्भावना पार्टीलाई विस्तार गरिने जानकारी पनि उनले दिए । उपाध्यक्ष नरसिंह चौधरी, महासचिव मनीषकुमार सुमनसमेतले मन्तव्य दिएको सोहीे कार्यक्रमबीच दिनेश शाहीको संयोजकत्वमा ३७ सदस्यीय काठमाडौं जिल्ला तयारी समिति गठन गरिएको थियो ।
यसैबीच तनहुँको दमौलीमा सद्भावना पार्टीको अञ्चल भेला सम्पन्न भएको सो पार्टीले जनाएको छ ।

नेपाल–भारत सहकार्यमा जैविक प्रविधि केन्द्रको स्थापना कार्यमा तीव्रता
सेन्टर फर मलेक्युलर डायनामिक्स नेपाल (सीएमडीएन), बीपी कोइराला नेपाल–भारत प्रतिष्ठान र नेपाल सरकार विज्ञान तथा प्रविधि मन्त्रालयको सहकार्यमा भारतीय राजदूतावासले काठमाडौंमा प्राकृतिक उत्पादनसम्बन्धी तीनदिवसीय उच्चस्तरीय सम्मेलनको आयोजना गर्‍यो । दुवै देशमा उपलब्ध साधन तथा विज्ञहरूको सदुपयोग गरी जैविक प्रविधिको सहयोगमा नेपालका प्राकृतिक उत्पादनहरूको व्यापारीकरण गर्ने उद्देश्यले गत ६, ७ र ८ गते (१८–२० अप्रिल, २०१२) होटल याक एण्ड यतीमा सम्पन्न भएको सम्मेलनमा नेपालका लागि भारतका राजदूत जयन्त प्रसादको विशेष आतिथ्यता रहेको थियो । नेपाल र भारतका वैज्ञानिक, विज्ञ, उद्यमी तथा सरकारी प्रतिनिधिहरूको सहभागिता रहेको सम्मेलनको उद्घाटन विज्ञान तथा प्रविधिमन्त्री कल्पना धमलाबाट र वन तथा भूसंरक्षण मन्त्रालयका सचिव नवीनकुमार घिमिरेद्वारा अध्यक्षता गरिएको थियो । सम्मेलन आयोजक समितिका संयोजक डा. समीरमणि दीक्षित, केन्द्रका अन्तर्राष्ट्रिय निर्देशक दिवेश कर्माचार्य, नाष्टका उपकुलपति डा. सुरेन्द्र काफ्ले, काठमाडौं विश्वविद्यालयका उपकुलपति डा. सुरेशराज शर्मा, एफएनसीसीआईका अध्यक्ष सुरज वैद्य र लगानी बोर्डका कार्यकारी अध्यक्ष राधेश पन्त वक्ताका रूपमा सहभागी थिए ।
विज्ञान तथा प्रविधिको क्षेत्रमा थप गतिविधिहरू सञ्चालन गरी मन्त्रालय सुधार गर्नुपर्ने मन्त्री धमलाको अभिव्यक्ति थियो भने भारतीय वैज्ञानिक तथा उद्यमीहरूसँग सहकार्य गरी प्राकृतिक उत्पादन तथा वनस्पतिहरूको उत्खनन गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । यसैगरी राजदूत जयन्त प्रसादले भारतमा जैविक प्रविधिको महत्वाकाङ्क्षी विकास योजनामा जैविक प्रविधि विभागको भूमिकाको सराहना गर्नुका साथै भारत र नेपालबीच जैविक प्रविधिको विकाससहित दुईपक्षीय विकास साझेदारीका उपायबारे भारत सरकारको चासो बाँड्नुभयो ।
भारत र नेपालका वक्ताहरूले आ–आफ्नो देशमा प्राकृतिक उत्पादनको क्षेत्रमा भएका विविध प्रगतिबारे छलफल र अनुभव आदानप्रदान गरे । नेपाली प्राज्ञिक वर्ग र उद्योगपतिहरूले नेपालमा उपलब्ध प्रचुर प्राकृतिक उत्पादन स्रोत र सम्भावनालाई व्यापारिक प्रवद्र्धन गर्न एक सुव्यवस्थित संयन्त्रको आवश्यकता रहेको कुरामा जोड दिए । जैविक प्रविधि विभागका निर्देशक डा. मोहम्मद अस्लामले नेपालले स्थापना गर्ने प्रस्तावित राष्ट्रिय जैविक प्रविधि केन्द्रसँग मिलेर काम गर्ने सम्भावनाबारे धारणा प्रस्तुत गर्नुभयो भने जैविक प्रविधिका लागि क्षेत्रीय केन्द्रका निर्देशक डा. डी. सालुङ्केले आफ्नो संस्थाको काम गर्ने तरिका जानकारी गराउँदै प्राकृतिक उत्पादनलाई प्रवद्र्धन गर्न नेपाललगायत क्षेत्रीय जैविक प्रविधि केन्द्रहरूसँग समन्वय गर्न तथा नेपालमा अन्य अनुसन्धानात्मक कार्य कसरी गर्न सकिन्छ भन्नेबारेमा व्याख्या गर्नुभयो । डाबर इन्डियाका उपाध्यक्ष डा. कटियारले नेपालमा लगानी वृद्धिको सम्भावना तथा नेपालका प्राज्ञिक र अनुसन्धान संस्थाहरूसँगको सहकारिताबारे जोड दिनुभयो ।

भारत–नेपाल जैविक प्रविधि सहयोगका लागि रणनीतिक योजना–०१२
१. पारस्परिक हितका परियोजनाहरूका लागि भारत र नेपालबीच सहकारिता गर्न उपयुक्त संयन्त्रको पहिचान ।
२. जडीबुटी र त्यसबाट उत्पादित वस्तुहरूको पहिचान गरिएका उपचारात्मक क्षेत्रहरूका लागि एक सक्षम तथा आधुनिक छानबिन संयन्त्रको विकास ।
३. प्राकृतिक उत्पादनका पारस्परिक प्राथमिकीकरणका क्षेत्रहरूमा संयुक्त अनुसन्धान तथा विकासको कार्यान्वयन ।
४. दुई संस्थानहरूबीच एक संयुक्त वैज्ञानिक सल्लाहकार समितिको गठन गरी भारत सरकार, जैविक प्रविधि विभागको सहकारितामा नेपालमा राष्ट्रिय जैविक प्रविधि
(निर्माणाधीन) केन्द्रको स्थापनाका लागि कदम अगाडि बढाउने ।
५. दुई देशहरूबीच प्राकृतिक उत्पादनका अनुसन्धानमा क्षमता अभिवृद्धि तथा तालिमको सुरुवात गर्ने ।

तराई सडक परियोजनासम्बन्धी बैठक सम्पन्न
तराई सडक परियोजनासम्बन्धी उच्चस्तरीय बैठक गत साता काठमाडौंमा सम्पन्न भएको छ । परियोजना सञ्चालक समितिको चौथो बैठकमा भाग लिन भारत सरकार विदेश मामला मन्त्रालयका सहसचिव (उत्तर) अखिलेश मिश्राको नेतृत्वमा विदेश मामला मन्त्रालयअन्तर्गत उत्तर र अर्थ विभाग तथा सडक, यातायात, राजमार्ग मन्त्रालयका वरिष्ठ अधिकारीहरू सम्मिलित उच्च तहको टोली काठमाडौं आएको थियो । भ्रमण टोलीले भौतिक योजना तथा निर्माण मन्त्रालयका सहसचिव रमेशराज विष्टद्वारा नेतृत्व गरिएको सडक विभागका महानिर्देशक, सहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक तथा नेपाल सरकारका अन्य वरिष्ठ अधिकारीहरू सम्मिलित नेपाली पक्षसँग विस्तृत छलफल गरेको बुझिएको छ ।
उक्त बैठककै एक अंशका रूपमा दुवै पक्ष सम्मिलित एक संयुक्त अध्ययन टोलीले भारत सरकारको सहयोगमा निर्माण भइरहेको सडकको स्थलगत निरीक्षणका लागि गत ५ गते मंगलबार वीरगञ्जको भ्रमणसमेत गरेको थियो । सो अवसरमा परियोजना कन्सल्ट्यान्ट राइट्सले टोलीलाई सङ्क्षिप्त जानकारी गराएको थियो भने अध्ययन टोलीले सडक निर्माणमा भइरहेका कामप्रति सन्तोष व्यक्त गर्दै परियोजना समयमै सम्पन्न गर्न निर्माण कार्यलाई दु्रत रूपमा अघि वढाउन ठेकेदारलाई निर्देशन दिएको बताइएको छ । त्यसको भोलिपल्ट परियोजना सञ्चालक समितिको बैठक काठमाडौंमा सम्पन्न भयो । बैठकअघि भ्रमण टोलीले माननीय भौतिक योजना तथा निर्माणमन्त्री हृदयेश त्रिपाठी तथा मन्त्रालयका सचिव तुलसीप्रसाद सिटौलालाई भेटी परियोजनामा भएको प्रगतिबारे जानकारी गरायो । यसपश्चात् बसेको परियोजना सञ्चालक समितिको बैठकमा तराई सडक परियोजनाको कार्यान्वयनबारे विस्तृत छलफल भएको थियो । परियोजना कार्यान्वयनसम्बन्धी विविध महत्वपूर्ण छलफल भएको बैठकका एक सहभागीले जानकारी दिए । बताइएअनुसार तराई सडक परियोजनाअन्तर्गत दोस्रो चरणको निर्माणकार्यबारे पनि छलफल भयो जसका लागि सडकहरूको सूची तयार भइरहेको छ । बैठकमा दुवैपक्षीय सरकारी अधिकारीहरूका अतिरिक्त राइट्सका प्रतिनिधि तथा सडक निर्माणमा संलग्न सम्पूर्ण ठेकेदारहरूको पनि सहभागिता रहेको थियो । ध्यान दिनुपर्ने धेरै विषयहरूलाई बैठकमा सम्बोधन गरिएको दाबी पनि गरिएको छ ।
स्मरण रहोस्, नेपालको तराई क्षेत्रमा एक हजार चार सय किलोमिटर सडक निर्माणका लागि भारत सरकारले सहयोग गर्दै छ । दुई चरणमा कार्यान्वयन गरिने परियोजनाको पहिलो चरणअन्तर्गत नेपालको तराईमा कुल ६ सय पाँच किलोमिटर लम्बाइका १९ वटा शाखा÷हुलाकी सडकहरू निर्माण गरिँदै छ । ११ अर्बको लगानीमा निर्माणाधीन यी सडकबाट करिब ८८ लाख स्थानीय जनतालाई वस्तु तथा सेवाको शुलभ ओसारपसारमा सुविधा पुग्ने विश्वास गरिएको छ भने मुलुकको आर्थिक विकासमा यसले तीव्रता ल्याउनेछ । पहिलो चरणपछि दोस्रो चरणको काममा करिब नौ सय किलोमिटर सडक विस्तार गरिने योजना छ ।

कर्मचारी युनियनमा मण्डले प्रवृत्ति †
काङ्ग्रेसको शुभेच्छुक संस्थाको रुपमा रहेको नेपाल निजामती कर्मचारी युनियनका अध्यक्ष सुबोधकुमार देवकोटाको अप्रजातान्त्रिक चरित्र र भ्रष्ट प्रवृत्तिका कारण कर्मचारी युनियन विभाजित भएको घोषणा प्रजातन्त्रवादी कर्मचारीहरुको अर्को समूहले गरेको छ । शोभाकर रेग्मीको अध्यक्षतामा नेपाल निजामती कर्मचारी सङ्घ गठन गरी ट्रेड युनियनमा दर्ताका लागि हस्ताक्षर अभियान सञ्चालन गरिरहेको सो पक्षको दाबी छ ।
हस्ताक्षर अभियानमा लोकतन्त्रपक्षधर आमकर्मचारीको संलग्नता देखेपछि देवकोटा आत्तिएका र विभिन्न कार्यालयमा पुगी कार्यालय प्रमुखहरुलाई ‘हस्ताक्षर नगर्नुस्, नत्र औंला काट्छु’ भनी धम्क्याउने गरेका आरोपसमेत लगाइएको छ । नापीका फुयाँल थरका एक भ्रष्ट कर्मचारीमार्फत युनियन छाडेर गएकालाई फेसबुकबाट ‘कर्मचारीहरु युनियनमै रहेको’ अनर्गल प्रचार गर्न लगाउने र आफ्नो विरोध गर्ने पत्रकारलाई गजेन्द्र बुढाथोकीको हालत बनाइदिन्छु भन्दै मण्डले प्रवृत्ति देखाएर हिँडेकोसमेत कर्मचारीहरुले आरोप लगाएका छन् ।

सिवाकोटीको बाँच्ने आशा पलायो
ढाड दुख्ने समान्य रोगबाट पीडित भएका प्रेमप्रसाद सिवाकोटी अहिले जीवन मृत्युसँग लडिरहेका छन् । सामान्य घरपरिवारका सिवाकोटी ६ वर्षअघि यो रोगवाट पीडित बनेका थिए । धरानको घोपा अस्पतालमा निरन्तर उपचार गराए पनि अहिलेसम्म उनको स्वास्थ्यमा सुधार आउन सकेको छैन । सोही रोगका कारणले अहिले सिवाकोटी सामान्य हिँडडुल गर्न पनि असक्षम भएका छन् । वर्तमान अवस्थामा ह्विलचियर र परिवारजनको साहारमा दिन काटिरहेका सिवकोटीलाई इजरायलमा रहेका नेपाली समुदायले सहयोग गर्ने प्रतिबद्धता जनाएपछि आशाका किरणहरू देखिएका छन् ।
झापा सुरुङ्गानिवासी सिवाकोटी हाड र छाला जोडने तरल पदार्थको कारणले गर्दा पीडित बनेका हुन् । घोपाका डाक्टरका अनुसार उनको शरीरभरि यो समास्या देखिएकोले कमजोर आर्थिक अवस्थाका कारणले तरल पदार्थ राख्न नसकिने उनका छोरा नवीन सिवाकोटीले घटना र विचारलाई बताए । आर्थिक अवस्था कमजोर भएकै कारणले घोपा अस्पतालबाहेक अन्य ठाउँमा उपचार गराउन असमर्थ सिवाकोटीले आर्थिक सहयोग पाएमा राजधानीमा गएर उपचार गराउने इच्छा प्रकट गरेका छन् । राजधानीमा उनको उपचार सम्भव भएको र सहयोगी हात बढेको खण्डमा उनी स्वस्थ हुने देखिएको छ ।
यसै कुरालाई मध्यनजर गर्दै इजरायलमा रहेका नेपाली समुदायले उनलाई आर्थिक सहयोग गर्ने बताएका छन् । जसका लागि तुलसी सिवाकोटीको संयोजकत्वमा आर्थिक सङ्कलन गरिन थालिएको छ । उनका सहयोगहीरूमा सन्तोष सिवाकोटी, प्रमोद लम्साल र रेनु राई रहेका छन् । उनीहरूले इजरायल तथा प्रवासमा रहेका नेपालीसँग आर्थिक रकम सङ्कलन गरेर निकट भविष्यमै सक्दो सहयोग गर्ने बताएका छन् । आर्थिक अवस्था निकै दयनीय रहेका प्रेमप्रसाद सिवाकोटी आर्थिक सहयोग पाउने भएपछि अहिले निकै उत्साहित भएका छन् । उनको जीवनमा नौलो आशा पलाएर आएको छ ।