माओवादीभित्रको गाँठी कुरा

माओवादीभित्रको गाँठी कुरा


दशवर्षे सशस्त्र जनयुद्धकालमा पत्रिकामा प्रचण्ड भनेर आउने गरेको चित्रलाई हेरेर धेरैले भन्ने गरेका थिए– प्रचण्ड भनेको मान्छे नै छैन, काल्पनिक मात्रै हो । तर, ०६२÷६३ को आन्दोलनपश्चात् झुल्किएको पुष्पकमल दाहाल प्रचण्ड खुलामञ्चमा पहिलोचोटि गर्जिंदा उत्तरतर्फ राष्ट्रिय नाचघर, दक्षिणतर्फ सहिदगेट भद्रकाली, पूर्वमा बागबजार, घण्टाघर, कमलादीसम्म र पश्चिममा भोटाहिटीको भित्र असनको टोलमा समेत भरिभराउ नेपाली जनताले प्रचण्डलाई हेर्न नपाए पनि विभिन्न ठाउँमा जडान गरेको माइकबाट प्रचण्डको भाषण सुन्न एकचित्त थिए ।
त्यसरी झुल्किएका प्रचण्डले आफू, बाबुराम भट्टराई, रामबहादुर थापा बादल र मोहन वैद्य किरण चुनाव नलड्ने पनि भन्ने गरेका थिए । ०६२÷०६३ को आन्दोलनपश्चात् पुनस्र्थापित प्रतिनिधिसभाले राजालाई निलम्बित गर्नेजस्ता कार्य गर्दै अघि बढेपछि शान्तिवार्ता थालनी भएको माओवादी संविधानसभाको निर्वाचन हुँदै आजको दिनसम्म आइपुग्दा पनि शान्तिप्रक्रिया पूरा टुङ्गो लाग्न सकेको छैन । दुई वर्षमा संविधान बनाइसक्ने व्यवस्था संविधानमा भए पनि चार वर्ष पुग्न लाग्दासमेत संविधान बन्ने छाँटकाँट देखिँदैन ।
जब चुनाव नलड्ने भनेका प्रचण्ड चुनाव लडे तब उनी राजनीतिक रूपमा दुब्लाउने क्रम पनि सुरु भयो । त्यसरी दुब्लाउने क्रम सुरु हुँदा अब राष्ट्रपति छाडेर प्रधानमन्त्री खान तम्सिए अनि झन् दुब्लाए । संविधान संशोधन गरेर प्रधानमन्त्री बन्दा त प्रचण्ड आधी दुब्लाइसकेका थिए । सत्ता कब्जा गर्ने सोच राखेका नेताले सेनाको परमाधिपति सेनाधिपति राष्ट्रपति छाडेर प्रधानमन्त्री बन्दा नदुब्लाउने कुरै थिएन । त्यसपछिका दिनमा प्रधानसेनापति रुक्मांगद कटवाल हटाउने प्रयास असफल भएर प्रधानमन्त्रीबाट बाहिरिनुपरेका प्रचण्ड राजनीतिक रूपले झन्झन् दुब्ला हुँदै गए ।
माधव नेपाल प्रधानमन्त्री भएपश्चात् हरुवाहरू भन्दाभन्दा केही सीप नलाग्दा र तत्पश्चात् झलनाथ प्रधानमन्त्री हुँदा झन्झन् दुब्लाउँदै गए । उनले मोटाउने कोसिस नगरेका होइनन् तर राम्रो डाक्टर र सही औषधि पाएनन् । डाक्टरको खराब सल्लाह र खराब औषधिकै कारण प्रचण्ड दुब्लाउँदै गएको कुरामा शङ्का–उपशङ्का जे भए पनि सत्यतथ्य त्यही हो भन्ने धेरैको बुझाइ छ ।
त्यसरी प्रचण्ड दुब्लाउँदै गर्दा र झलनाथ खनालको सरकार ढलेर डा. बाबुराम भट्टराईको नेतृत्वको सरकार बन्नेबेलामा पनि प्रचण्डले असल डाक्टर र सही औषधि पाएनन् । आफ्नै पार्टीका शीर्षस्थ नेताहरूले पार्टी अध्यक्षसमेत रहेका प्रचण्डलाई प्रधानमन्त्री बन्न नदिने खेल खेल्न लागे । जुन कुरा डा. बाबुराम भट्टराईलगायत वैद्य पक्षको ललितपुर जाउलाखेल भेलाले स्पष्ट पारिसकेको छ ।
जब बाबुराम भट्टराई प्रधानमन्त्री भए, शपथग्रहण नगर्दै वैद्य पक्षले विरोध गर्न सुरु ग¥यो । आश्चर्य यो छ कि जसले प्रधानमन्त्री बनाउन बाहुबल प्रयोग ग¥यो उसैले बधाई पनि नदिईकन विरोध किन ग¥यो ? यदि वैद्य पक्षले पहिल्यैदेखि बाबुरामको विरोध नगरेको भए डा. बाबुरामको सरकार पहिल्यै ढलिसक्ने थियो । सायद मिली–मिली विरोध गरेको प्रचण्डले बुझेनन् । बाबुरामलाई विरोध गरेझैं गरेर बाबुरामको सरकारलाई बलियो पार्नु र प्रचण्डलाई दुब्लो र शक्तिहीन पार्नु नै वैद्य पक्षको लक्ष्य हो भन्ने नबुझेकै कारण यतिबेला प्रचण्ड हुनसम्म दुब्लाए ।
डा. बाबुराम भट्टराई नमोटाई प्रचण्ड दुब्लाउँदैनन् भन्ने भित्री गाँठी कुरा बुझेको वैद्य पक्षले यस्तो रणनीति ग¥यो कि बाबुरामलाई विरोध गरेको देखियोस् अनि प्रचण्ड बाबुरामको पक्षमा जान बाध्य होउन् र दुब्लाउँदै गएर उनी राजनीतिक रूपले थलै परून् । यस्तो रणनीतिमा लागेको वैद्य पक्षको राण्नीतिले सफलता प्राप्त गर्दा यतिबेला प्रचण्ड दुब्लाएर थलै पर्ने अवस्थामा पुगेका छन् । अब यतिबेला डा. भट्टराईलाई छोड्दा पनि र नछोड्दा पनि प्रचण्डले फेरि मोटा हुने औषधि फेला पर्न गाह्रो छ ।
डा. बाबुराम प्रधानमन्त्री हुनु नै प्रचण्डको दुर्दशा सुरु हुनुरहेछ भनेर बुझ्न अब कुनै गाह्रो भएन । बाबुराम भट्टराई प्रधानमन्त्री भएपछि प्रचण्ड यस्तरी दुब्लाए कि जोख्ने हो भने एक क्विन्टलबाट एक किलोमा झरिसकेको अनुमान हुन्छ । जोखनी बेला आउँदै छ । यतिबेला यस्तो अवस्था सिर्जना भएको छ कि आगामी जेठ १४ सम्ममा संविधान बनेमा सम्पूर्ण जस डा. भट्टराईले पाउने र संविधान नबने सम्पूर्ण अपजस प्रचण्डले पाउने अवस्था सिर्जना भएको छ । वैद्य पक्ष डा. बाबुराम भट्टराईलाई विस्थापित गरेर आफूलाई स्थापित गर्न चाहन्छ भनेर सोचे भने प्रचण्डको त्यो भन्दा महाभूल अरू केही हुने छैन ।
जबसम्म प्रचण्ड रोगाएर दुब्लाएर थला पर्दैनन् तबसम्म मोहन वैद्य पक्षले डा. बाबुरामको सरकार ढल्न दिँदैन । यतिबेला डा. बाबुराम भट्टराई सरकार यति बलियो भएको छ कि बाहिर जे–जस्ता विरोध देखिए पनि भित्री खेल अर्कै छ भनेर बुझ्नुपर्ने हुन्छ । यतिबेला आफूले गाली गरेको देखाए पनि बाबुराम सरकार ढल्छ कि भन्ने चिन्ता वैद्य पक्षलाई छ । प्रचण्डलाई बाबुराम सरकार नजोगाए उम्किने ठाउँ नै छैन । काङ्गे्रस, एमाले र मधेसी मोर्चालाई त्यही छ । यस्तो अवस्थामा कसरी ढल्छ बाबुराम सरकार ?
संविधान बने पनि र नबने पनि त्यति सहजै बाबुराम सरकार ढल्ने छैन । जबसम्म प्रचण्ड उठ्न नसक्ने गरी थला पर्दैनन् तबसम्म केही गरी बाबुराम सरकार ढल्दैन । बाबुराम सरकार ढाल्ने हैसियत राख्छ भने केवल २०४७ सालको संविधानले मात्रै राख्दछ । अरू इन्दे्रको बाउ चन्द्रे आए पनि डा. बाबुराम भट्टराईको नेतृत्वको सरकार ढाल्न सक्ने छैन । नत्रभने जुन दिन प्रचण्ड दुब्लाएर थला पर्छन् त्यसै दिन बाबुराम सरकार गल्र्याम्यै ढल्छ । प्रचण्डको रोग निको हुन र मुलुककै रोग निको हुन पनि यतिबेला २०४७ सालको संविधान पुनस्र्थापना हुन अत्यन्त जरुरी छ ।
– लालकृष्ण धमला

जेल जान लायक ज्ञानेन्द्र कि माधव ?
संविधानसभाको निर्वाचनमा दुई–दुई ठाउँका जनताबाट तिरस्कृत एमालेका वरिष्ठ नेता भनिने माधवकुमार नेपालले राजधानीको एक सार्वजनिक कार्यक्रममा पूर्वराजा ज्ञानेन्द्र शाहप्रति गरेको टिप्पणी र धम्कीले हिन्दू प्रजातान्त्रिक पार्टीलाई आक्रोशित तुल्याएको छ । माधव नेपालको सस्तो लोकप्रियता कमाउने पुरानो बानी र समय–समयमा जोकर बन्ने प्रवृत्ति सबैले बुझेकै हो । आमाको किरिया नगरी बिन्तिपत्र हालेर प्रधानमन्त्री बन्न जाँदा राजा ज्ञानेन्द्रले प्रधानमन्त्री नबनाएको आक्रोश पोख्दै उनले शनिबार राजधानीमा राजा ज्ञानेन्द्रले धर्मको नाममा चलखेल गरेकाले जेल हाल्ने भनी धम्की दिएको हाम्रो पार्टीको ठहर छ । पूर्वराजा संसारका हिन्दूहरूका सम्राट हुन् । उनी अहिले पनि सांस्कृतिक राजा छँदैछन् । उनलाई हिन्दू समुदायले पदच्यूत गरेका होइनन् । जनताका अभिमतले पनि हटाइएको होइन । सर्वसाधारण जनतासरह रहेर आफ्नो धार्मिक आस्था मान्दै मन्दिरमा पूजाआजा, दर्शन गर्दा फासिष्ट हिन्दूविरोधीहरूलाई इष्र्या हुन्छ भने यो खतर्नाक सङ्केत हो । कथित धर्मनिरपेक्ष राष्ट्र घोषणा हुनासाथ नागरिकले मन्दिरमा पूजाआजा, प्रार्थना गर्दासमेत धम्की दिइन्छ भने यस्ता राष्ट्रिय संस्कृतिविरोधी पूर्वाग्रहीहरूले बनाएको संविधान हिन्दू प्रजातान्त्रिक पार्टीले स्वीकार्न नसक्ने र हिन्दूविरोधी ज्यादती नरोके त्यसबाट उत्पन्न परिस्थिति सहज नहुने चेतावनी दिन चाहन्छौँ ।
– विष्णुकुमार प्रसाईं, अध्यक्ष, हिन्दू प्रजातान्त्रिक पार्टी नेपाल