जलवायु परिवर्तनको असरबारे सचेतना जगाउने महिला टोली कालापत्थरतर्फ प्रस्थान

जलवायु परिवर्तनको असरबारे सचेतना जगाउने महिला टोली कालापत्थरतर्फ प्रस्थान


जलवायु परिवर्तनका कारण हिमाल पग्लिएको र यसले स्थानीय समुदायमा पारेको असरका विषयमा विश्व समुदायको ध्यानाकर्षण गराउने नेपाली महिलाको टोली कालापत्थरतर्फ प्रस्थान गरेको छ ।

जलवायु परिवर्तन तथा महिला सशक्तीकरणका क्षेत्रमा काम गर्दै आएको सामाजिक संस्था साथसाथैले अन्तर्राष्ट्रिय महिला दिवस २०२४ सगरमाथा क्षेत्रको कालापत्थरमा मनाउने भएको हो । विभिन्न क्षेत्रमा अग्रणी भूमिकाका रहेका २५ जना महिलाको टोली बिहीबार बिहान काठमाडौंबाट प्रस्थान गरेको छ ।

उनीहरुलाई युएन वुमका नेपाल प्रतिनिधि प्याट्रिसिया फर्नान्डेज-पचेकोले अन्तर्राष्ट्रिय त्रिभुवन विमानस्थलमा बिदाइ गर्नुभयो । जलवायु परिवर्तनले सगरमाथा क्षेत्रमा पारेको असर र हिमाली समुदायले सामना गर्नुपरेका चुनौतीका विषयमा राष्ट्रिय-अन्तर्राष्ट्रिय निकायको ध्यानाकर्षण गराउन समाजका विभिन्न क्षेत्रका प्रतिष्ठित महिलाको समूहले लुक्लाबाट कालापत्थरसम्म पदयात्रा गर्न लागेको हो ।

साथसाथैका अध्यक्ष प्रजिता कार्कीका अनुसार लुक्लाबाट कालापत्थरसम्म पदयात्रा गर्ने र विभिन्न स्थानमा स्थानीय तहका जनप्रतिनिधि र समुदायसँग जलवायु परिवर्तनले पारेको असरबारे अन्तरक्रिया गर्ने कार्यक्रम रहेको छ ।

‘हामीले विगत तीन वर्षदेखि अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा’ वुमन युनाइटेड फर क्लाइमेट जस्टिस’ (जलवायु न्यायका लागि महिला एकता) भन्ने नारासहित १८ हजार ५१९ फिट उचाइमा रहेको कालापत्थरमा पुगेर राष्ट्रिय/अन्तर्राष्ट्रिय निकायको ध्यानाकर्षण गराउँदै आएका छौँ । यसपटक पनि हामीले जलवायु परिवर्तनका कारण हिमाल पग्लिँदा हिमालको फेदमा बस्ने समुदायले भोग्नु परेका समस्या र समाधानका उपायहरुबारेमा पनि विज्ञ र सरोकारवाला निकायसँग अन्तरक्रिया गर्नेछौँ’, कार्कीको भनाइ छ ।

साथसाथैले विभिन्न क्षेत्रमा अग्रणी भूमिकामा रहेका २५ जना महिलालाई लिएर यही फागुन १७ गते काठमाडौंबाट लुक्लातर्फ प्रस्थान गर्ने, फागुन १९ गते स्याङ्बोचेमा ‘जलवायु न्यायका लागि सरकार र समुदायलाई जोड्न महिला सशक्तीकरण’ भन्ने नारासहित स्थानीय जनप्रतिनिधि र स्थानीय समुदायसँग अन्तरक्रिया कार्यक्रम गर्ने अध्यक्ष कार्कीले जानकारी गराउनुभएको छ ।

उहाँले भन्नुभयो, ‘स्याङबोचेमा कार्यक्रमपछि पदयात्रा गर्दै ८ मार्चमा कालापत्थरमा पुगेर राष्ट्रिय/अन्तर्राष्ट्रिय समुदायलाई हिमाल पग्लिँदा समुदायमा परेको असर, कृषि र पर्यटन क्षेत्रमा परेको मारलगायतका विषयमा ध्यानाकर्षण गराउने छौँ ।’

यसअघि संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले पनि सोलुखुम्बुको स्याङवोचेमा पुगेर हिमाल पग्लिरहेको विषयप्रति विश्व समुदायको ध्यानाकर्षण गराएका थिए । संयुक्त राष्ट्रसङ्घले ‘इन्भेस्ट इन वुमन : एक्सलेरेट प्रोग्रेस’ (गतिशील प्रगतिका लागि महिलामा लगानी) भन्ने मूल नाराका साथ अन्तर्राष्ट्रिय महिला दिवस २०२४ मनाइरहेको छ ।

photo: rss