कर्तव्य ज्यान मुद्दामा ७७ प्रतिशत उपलब्धि

कर्तव्य ज्यान मुद्दामा ७७ प्रतिशत उपलब्धि


  • सुरेन्द्र सुवेदी, काठमाडौं

सर्वश्वसहित जन्मकैद सजाय भएका धादिङको ज्वालामुखीका ७० वर्षीय सूर्यबहादुर दवाडी झरार रहेको २१ वर्षपछि गत माघ १ गते पक्राउ परे । उनलाई अंशसम्बन्धी झगडामा आफ्नै श्रीमती सानुमाया दवाडीको हत्या गरेको कर्तव्य ज्यानसम्बन्धी मुद्दामा २०६१ जेठ ५ गते जिल्ला अदालत धादिङले सर्वश्वसहित जन्मकैद फैसला गरेको थियो । यसैगरी, कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी बाँके नेपालगंजका ५५ वर्षीय मोहमद् हाफिम खाँ १४ वर्षपछि गत मंसिर २० गते पक्राउ परे । उनलाई २०६६ असार २२ गते जिल्ला अदालत बाँकेले १८ वर्ष कैद सजायको फैसला गरेको थियो ।

दवाडी र खाँ प्रतिनिधि पात्रमात्रै हुन् । उनीहरू जस्तै कर्तव्य ज्यान जस्तो जघन्य अपराधमा संलग्न तथा फरार व्यक्ति पक्राउ पर्ने क्रम जारी छ । नेपाल प्रहरीले अनुसन्धानलाई निरन्तरता दिने र खोजतलासलाई तीव्र पारेको कारण यस्ता अपराधी पक्राउ गरी कानूनी दायरामा ल्याउन सफल भएको देखिन्छ ।

चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा कर्तव्य ज्यान मुद्दामा संलग्न ५ सय २९ जनामध्ये ४ सय ६ जना पक्राउ परेका छन् । जसमध्ये पुरूष ३ सय ६० जना र महिला ४६ जना छन् । तीमध्ये ७ जना पुरूष र १ जना महिला विदेशी हुन् । पक्राउ परेकामध्ये काठमाडौं उपत्यका प्रहरी कार्यालय अन्तर्गत २२ जना, कोशी प्रदेशमा ८५ जना, मधेश प्रदेशमा ५८ जना, बागमती प्रदेशमा ३२ जना, गण्डकी प्रदेशमा ३२ जना, लुम्बिनी प्रदेशमा ७९ जना, कर्णाली प्रदेशमा ४९ जना र सुदूरपश्चिम प्रदेशमा ४९ जना रहेका छन् । तथ्याङ्क विश्लेषण गर्दा चालू आर्थिक वर्षमा ७७ प्रतिशत अभियुत्त प्रारम्भिक अनुसन्धानकै चरणमा पक्राउ गर्न सफल भएको देखिन्छ । अनुसन्धान निरन्तर चलिरहने भएको हुँदा अभियुक्त पक्राउ पर्ने संख्या बढ्दै जान्छ । आर्थिक वर्ष २०७९/०८० मा ७८ प्रतिशत, आर्थिक वर्ष २०७८/०७९ मा ७७ प्रतिशत, आर्थिक वर्ष २०७७/०७८ मा ७५ प्रतिशत, आर्थिक वर्ष २०७६/०७७ मा ८१ प्रतिशत र आर्थिक वर्ष २०७५/०७६ मा ८२ प्रतिशत अभियुक्तहरू पक्राउ गर्न सफल भएको थियो । पछिल्लो पाँच वर्षको तथ्याङ्क विश्लेषण गर्दा कर्तव्य ज्यान मुद्दामा औषत ७९ प्रतिशत अभियुक्तहरू पक्राउ परेका छन् ।

हरेक आर्थिक वर्षमा जघन्य अपराधको अनुसन्धानमा नेपाल प्रहरी सफल भएको देखिन्छ । यो सफलता प्राप्त हुनुमा प्रहरीको क्रियाशीलता नै प्रमुख कारण हो । नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) टेकबहादुर तामाङ भन्छन, ‘अनुसन्धान र खोजी कार्य निरन्तर रहने, चालु मुद्दाको अभियुक्त पक्राउ गर्न तथा अदालतको फैसला कार्यान्वयनका लागि प्रहरी कार्यालयहरूले कार्ययोजना नै बनाई कार्यान्वयन गर्ने हुँदा चालु मुद्दा र पुराना मुद्दाका फरार प्रतिवादीलाई समेत पक्राउ गर्न नेपाल प्रहरी सफल भएको छ ।’

खुला सीमाना र विश्वव्यापीकरणका कारण केही त्यस्ता व्यक्तिहरू फरार रहेको भएतापनि ईन्टरपोलको सहयोगमा समेत केही फरार प्रतिवादीहरूलाई पक्राउ गरी ल्याइएका छन् । ‘नेपाल प्रहरीको सूचना संयन्त्रको प्रयोग, प्रविधिको प्रयोग र योजनासहितको निरन्तरताको प्रयासका कारण कर्तव्य ज्यान लगायतका मुद्दाका प्रतिवादीहरू मध्ये ठूलो प्रतिशतलाई पक्राउ गर्न सफल भएको छ भने यो पक्राउ दरलाई अधिकतम बनाउन प्रहरी सदैव क्रियाशील छ ।’ एआइजी तामाङले घटना र विचारसित भने ।

अपराध अनुसन्धानलाई थप व्यावसायिक तथा विशिष्टिकृत गर्न नेपाल प्रहरी कार्ययोजना, २०८० ले विभिन्न व्यवस्था गरेको छ । प्रहरी महानिरीक्षक (आइजीपी) बसन्तबहादुर कुँवरले कार्ययोजना लागू गरेपछि अपराध अनुसन्धानको जनशक्ति व्यवस्थापन गर्न सहज भएको प्रहरी जनाउँछ । राष्ट्रिय अपराध सूचना संयन्त्र थप प्रभावकारी भएको छ । यस क्षेत्रको अनुभव आदान प्रदान तथा क्षमता अभिवृद्धिमा टेवा पुगेको छ । समग्रमा कर्तव्य ज्यान लगायत अन्य अपराधका घटनाहरू न्यूनिकरण तथा प्रभावकारी अनुसन्धान हुन सकेको छ । विधि विज्ञान प्रयोगशाला, पोलिग्राफ शाखा, डिजिटल फोरेन्सिक ल्याब, डाटा सेन्टर, सिसिटिभि, केनाइन आदिले प्रमाणमुखी अपराध अनुसन्धानमा सघाऊ पुगेको छ । विशिष्टिकृत अपराध अनुसन्धान ईकाइको क्षमता विकास र प्रदेशस्तरमा विस्तार भई अनुसन्धान क्षमता र दायरा फराकिलो भएको छ । जसले समग्र अनुसन्धान क्षेत्रमा सकारात्मक प्रभाव पारी जुनसुकै अपराध गरी देश वा विदेशमा फरार व्यक्ति कानूनको पञ्जाबाट उम्किन सकेका छैनन् ।

नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक (डिआइजी) भिमप्रसाद ढकाल भन्छन्- ‘अपराध व्यक्ति, परिवार, समाज तथा देशको विकासका लागि बाधक हुन्छ । त्यस्ता अपराधको सफल अनुसन्धान गर्न र अपराधीलाई कानूनी दायरामा ल्याउन नेपाल प्रहरी सक्रिय छ ।’

अपराध न्यूनिकरण गर्न प्रहरीका हरेक युनिटको कुशल परिचालन गरिएको र युनिटले चौबिसै घण्टा गस्ती, पेट्रोलिङ गर्नुको साथै आवश्यकता अनुसार सचेतना कार्यक्रम गरिरहेको छ । योजना र नीतिहरूको विश्लेषण र तर्जुमा गर्न राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरका अन्य निकायहरूसँग सहकार्य गरिएको छ । कुनै अपराधी नछुटोस् र कुनै निर्दोष व्यक्तिले सजाय नपाओस् भन्नेमा नेपाल प्रहरी सचेत भएर काम गरिरहेको छ ।

आपराधिक घटनाको सफल अनुसन्धान हुनु भनेको उचित, प्रभावकारी एवम् प्रमाणमुखी अनुसन्धान नै हो । यसलाई प्राथमिकतामा राखी न्याय सम्पादन गरेकै कारण सफलता मिलेको हो । यस कार्यलाई प्रविधिले निकै सघाएको छ । प्रमाण जुटाउन सहयोग गरेको छ ।