सभापति हत्याउन काङ्ग्रेसमा अहिल्यैदेखि तिकडम !

सभापति हत्याउन काङ्ग्रेसमा अहिल्यैदेखि तिकडम !


विभिन्न गुटहरूबीच प्रतिष्पर्धा !

नेपाली काङ्ग्रेसमा महाधिवेशन आउन दुई वर्ष बाँकी रहँदै पार्टीको नेतृत्व हात पार्न अनेकौँ प्रपन्च सुरु भएको छ । आगामी महाधिवेशनमा देउवा आफू सभापतिको उम्मेदवार नबन्ने भएपछि उक्त पद हात पार्न काङ्ग्रेस नेताहरूबीच रोचक प्रतिष्पर्धा सुरु भएको हो ।

माओवादी र अन्य दलहरूसँग भएको पूर्व सहमतिअनुरूप शेरबहादुर देउवालाई प्रधानमन्त्री बन्न नदिने र, दिनैपर्ने भएमा पार्टी सभापति छोड्न बाध्य पार्ने रणनीति देउवाविरोधी खेमाले बनाएको छ । सहमतिअनुसार अबको एक वर्षपछि प्रचण्डले माधवकुमार नेपाललाई प्रधानमन्त्री पद हस्तान्तरण गर्नुपर्ने र, त्यसको एक वर्षपश्चात् २०८४ को निर्वाचनसम्म देउवाले प्रधानमन्त्री पद सम्हाल्नुपर्ने हुन्छ । तर, अहिलेको स्थिति हेर्दा प्रचण्ड आफै पूरा पाँच वर्ष प्रधानमन्त्री बनिरहन चाहनुहुने देखिएको छ भने शेरबहादुर देउवाचाहिँ अर्को वर्ष माधव नेपाललाई पन्छाएर आफै प्रधानमन्त्री बन्ने दाउ हेर्दै हुनुहुन्छ ।

देउवा प्रधानमन्त्री बन्ने सम्भावनाबाट कोही ज्यादा पिरोलिएका छन् भने ती काङ्ग्रेसकै प्रतिपक्षी नेताहरू हुन् । उनीहरूको विचारमा देउवा प्रधानमन्त्री बनेको अवस्थामा पार्टीको सभापति पनि देउवा या देउवाले इच्छाएकै ब्यक्ति बन्न सक्नेछन् । त्यस अवस्थामा आफ्नो राजनीतिक भविष्य थप पाँच वर्ष पछाडि धकेलिने चिन्ता प्रतिपक्षी काङ्ग्रेसनेताहरूमा रहेको छ ।

आगामी महाधिवेशनबाट पार्टी सभापति बन्ने योजनामा डा. शेखर कोइराला, डा. शशाङ्क कोइराला, पूर्णबहादुर खड्का, गगन थापा र प्रकाशमान सिंह रहेका छन् । शशाङ्क कोइरालालाई शेरबहादुर देउवाका वैकल्पिक उम्मेदवारको रूपमा लिइन्छ । देउवा खेमाबाट उपसभापति पूर्णबहादुर खड्कालाई अघि सारिने प्रबल सम्भावना छ । कदाचित डा. शेखर र गगन दुवैजना सभापति पदका प्रत्याशी बने भने त्यस अवस्थामा पूर्णबहादुर खड्काले सभापति पदमा बाजी मार्ने सम्भावना प्रबल छ । शशाङ्क कोइरालाचाहिँ देउवाका त्यस्ता वैकल्पिक उम्मेदवार हुन जसलाई सर्वसम्मत सभापति बन्ने स्थितिमा मात्र अगाडि सारिने बुझिन्छ । शशाङ्कलाई शेखर र गगनले अस्वीकार गरेको अवस्थामा पूर्णबहादुर खड्कालाई नै सभापतिको उम्मेदवार बनाइने सम्भावना छ । केही अगाडिसम्म गगनले पूर्णबहादुर खड्कालाई नै सभापति स्वीकार गर्ने झाँसा दिएका थिए । तर गगनको दाउ बुझेका खड्काले लिएको परीक्षामा गगन अनुत्तीर्ण भइसकेको बताइन्छ । त्यसैले गगन यतिबेला पुनः शेखरसँग मिल्न बाध्य भएका छन् ।

काङ्ग्रेसभित्र हिन्दुराष्ट्रको पक्षमा बलियो मत देखापरेको छ । कुल दुई हजारको सङ्ख्या रहेका महासमिति सदस्यहरूमध्ये एघार सय भन्दा बढीले हिन्दुराष्ट्रको पक्षमा दस्तखत गरेका छन् । यो मत सङ्गठित रहेमा कसलाई सभापति बनाउने भन्ने निर्णायक भूमिका यिनैको हुनेछ ।

यद्यपि गगनको दाउ आगामी महाधिवेशनबाट आफै सभापति बन्ने रहेको बुझिन्छ । अहिले शेखरलाई अघिसारेजस्तो नगरे कालान्तरमा देउवाले शेखरलाई समेत आफ्ना विरूद्ध प्रयोग/उपयोग गर्नसक्ने बुझाइ गगनको रहेको छ । तथापि, आगामी महाधिवेशनमा गगन आफै सभापति बन्न अग्रसर भएमा शेखरको साथ पूर्ण खड्कालाई नै मिल्ने सम्भावनालाई इन्कार गर्न सकिँदैन ।

कुनैबेला गगन थापाको सभापतिका उम्मेदवार कृष्णप्रसाद सिटौला अहिले देउवाको पक्षमा खुलेर जुटेका छन् । सिटौलाले पूर्णबहादुर खड्कालाई पूर्ण समर्थन दिनेमा शङ्का गरिँदैन र, अन्ततः प्रकाशमान पनि पूर्णकै पक्षमा उभिने अनुमान जानकारहरूले गरेका छन् । त्यस अवस्थामा प्रकाशमानको समर्थनमा महामन्त्री बनेका विश्वप्रकाश शर्माले अन्तिमसम्म गगनलाई नै बोक्नुहुनेछ या अर्कै निर्णयमा पुग्नुहुनेछ भन्ने यकिन भइसकेको छैन ।

काङ्ग्रेसभित्र हिन्दुराष्ट्रको पक्षमा बलियो मत देखापरेको छ । कुल दुई हजारको सङ्ख्या रहेका महासमिति सदस्यहरूमध्ये एघार सय भन्दा बढीले हिन्दुराष्ट्रको पक्षमा दस्तखत गरेका छन् । यो मत सङ्गठित रहेमा कसलाई सभापति बनाउने भन्ने निर्णायक भूमिका यिनैको हुनेछ । यो अभियानको नेतृत्व युवा नेता शङ्कर भण्डारीले लिनुभएको छ । शङ्कर आफैले सभापति बन्ने योजना बनाउनुभएको बुझिँदैन । तर अब सभापति बन्न चाहने नेताले शङ्कर भण्डारी र उहाँका समर्थकहरूलाई उपेक्षा गरेर अगाडि जान सम्भव देखिन्न । भण्डारीलाई महत्वपूर्ण जिम्मेवारीसहित समेट्न सक्ने नेताले मात्र हिन्दुराष्ट्र पक्षधर मत प्राप्त गर्नसक्ने अवस्था छ । अन्ततः शङ्कर भण्डारीहरूको समर्थन पनि पूर्ण खड्कालाई नै मिल्नसक्ने देखिन्छ । त्यस अवस्थामा शेखर र गगन एक भएपनि तिनले पार्टीको नेतृत्व हात पार्न मुस्किल पर्नेछ ।

उल्लिखित सबै अवस्थालाई बुझेर नै यतिबेला गगन र शेखरको छट्पटी बढेको बुझिन्छ । देउवाविरूद्ध यी दुई नेताले दर्शाएको अपरिपक्व ब्यबहारबाट अन्ततः देउवा खेमालाई नै लाभ मिल्ने सम्भावना छ ।