आजको पञ्चाङ्ग एवम् राशिफल (५ फागुन २०८० शनिबार, १७ फरवरी २०२४)

आजको पञ्चाङ्ग एवम् राशिफल (५ फागुन २०८० शनिबार, १७ फरवरी २०२४)


✍ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य

आजको पञ्चाङ्ग

श्रीशाके १९४५ ने.सं. ११४४ शिशिर ऋतु पिङ्गल नामसंवत्सर वि.सं. २०८० फाल्गुण ५ गते इ.सं. २०२४ फरवरी १७ तारिख शनिबार माघ शुक्ल पक्षको अष्टमी तिथि कृतिका नक्षत्र ऐन्द्र योग बालब करण आनन्दादिमा ध्वज योग चन्द्रमा वृष राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ६ः४२ मा र सूर्यास्त साँझ १७ः५५ बजेमा हुनेछ । अष्टमी व्रत, गोरखकाली पूजा, भीष्माष्टमी ।

आजको राशिफल

मेष – दिन खास उत्साहजनक नरहला । स्वास्थ्यमा केही समस्या निम्तिनाले दैनन्दिन व्यवहार एवम् सामाजिक प्रभाव कमजोर बन्ने सम्भावना छ । मातृत्रस्वास्थ्यप्रति पनि चिन्ता बढ्न सक्छ । धनमाल हराउने, चोरी वा ठगीमा परिने योग छ । विशेष अवसर प्राप्त भए पनि खुट्टा तान्नेहरूले दुःख दिने देखिन्छ । तथापि, बौद्धिकता र रचनात्मकता बढ्नेछ । यात्रागत कार्यमा सफलता प्राप्त हुनेछ ।

वृष – आम्दानी भन्दा बढी खर्च गर्नुपर्ने समय छ । लामो समयदेखि गरिएको लगानी र श्रमबाट कममात्र प्रतिफल पाइएला । परिवारका सदस्य अर्थात् दाजुभाइ–दिदिबहिनीमा केही असमझदारी बढ्ने सम्भावना रहेकोले विशेष सावधानीका साथ व्यवहार गर्नु हितकर होला । खराब आचरण भएकाहरूसँग नजिकिनुपर्ने सम्भावना छ । यसका बाबजुद ठूला वा अग्रज ब्यक्ति–व्यक्तित्वबाट मानसम्मान प्राप्त हुने योग छ । परिवारिक सुख बढ्नेछ ।

मिथुन – परिवारजनमा असमझदारी र मित्रजनसँग वैरभाव बढ्ने सम्भावना भएपनि शत्रुपक्षलाई परास्त गर्न सकिने समय छ । ब्यापारबाट फाइदा नै हुने दिन रहेको छ । आर्थिक समस्या समाधान हुनेछ । विगतका कमजोरी सच्याउने मौका मिल्ला । विशिष्ट व्यक्तिको सहयोगले विशेष अवसर जुर्नेछ । आनन्द वृद्धि हुनेछ ।

कर्कट – मुद्दामामिला वा कामका विविध झमेलाहरूबाट मुक्ति मिल्ने समय छ । विभिन्न अवसरले पछ्याउनेछन् । आजको दिन यात्रा तथा सवारीसाधनको उपयोग गर्दा विशेष सावधानी अपनाउनु हितकर हुनेछ । अध्ययन तथा अध्यापनको दृष्टिले समय राम्रो छैन । आर्थिक अभावले सताउन सक्छ, सचेत रहनुहोला । परिश्रमका बाबजुद काम नबन्ने डरले सताउन सक्छ ।

सिंह – कर्मबल बढ्नेछ । प्रतिष्ठित व्यक्तित्वसँग मित्रता बढ्ने समय भएपनि घरजग्गा वा स्थायी सम्पत्तिमा विवाद आउन सक्छ । स्वास्थ्यमा पनि समस्या आउने सम्भावना छ । जिम्मेवारीका काम समयमा सम्पादन नहुन सक्छ । सोचेको काम समयमा नबन्नाले असन्तुष्टि रहला । व्यस्तता बढ्नेछ ।

कन्या – पराक्रम वृद्धि हुनेछ । लामो समयदेखि रोकिएका काम सम्पादन गर्न सकिने दिन छ । तथापि, तपाईंका कमजोरीप्रति आफन्तजनले टिप्पणी वा गुनासो गर्लान् । आवश्यक ध्यान दिन नसके हातबाट अवसर गुम्न सक्छ, ध्यान दिएर काम गर्नु हितकर होला । घर खर्च बढ्नुका साथै व्यापारमा मन्दी आउने योग छ, सचेत रहनुहोला ।

तुला – दौडधुप बढेपनि धनलाभ हुनसक्ने समय छ । आफ्नो वर्गको नेतृत्व गर्दै प्रतिष्ठित काम सम्पादन गर्ने अवसर जुट्ला । कीर्तिमानी काम सम्पादन गर्न सकिनेछ । प्रयत्न गर्दा अप्ठ्यारा काम सजिलै सम्पादन हुनेछन् । नयाँ योजनामा हुनुहुन्छ भने हात हाल्ने समय आएको छ । बोली र व्यक्तित्वको प्रभाव रहला । मिठो भोजन प्राप्त हुनेछ । रसरागमा आकर्षण बढ्नेछ ।

वृश्चिक – अनुकूलता वृद्धि हुनेछ । सामाजिक प्रतिष्ठा वृद्धिको समय छ । शत्रु परास्त हुनेछन् भने प्रेम र मित्रताको बन्धन कसिनेछ । उच्च महत्वाकांक्षाका कारण सोचेको काम पूर्ण रुपमा सम्पादन हुनेछन् । आजको दिन खर्च लागे पनि चिताएको काम बन्ने योग छ । आज साथीभाइहरुबाट पनि लाभ उठाउन सकिएला । मिठो भोजन प्राप्त होला । स्वास्थ्यमा सुधार आउनेछ ।

धनु – साहस बढ्नेछ । आजको दिन मिश्रित फलदायी रहला । राजनीतिक पहुँच बढ्नेछ तर स्थायी सम्पत्तिको विषयमा केही विवाद निस्कन सक्छ, सावधान रहनुहोला । खर्च बढ्ने योग छ । विपरीतलिंगी वा हितैषी मित्रहरूले साथ दिनेछन् । अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्न रहला । रसरागमा आकर्षण बढ्नेछ ।

मकर – आफ्नै कमजोरीले हातमा आएको अवसर गुम्न सक्छ । खराब व्यक्तिको संगतले मान–सम्मानमा चोट पुग्ने सम्भावना छ । आज विशेष पदमा बसेका वा राजनीतिक व्यक्तित्वबाट धोका हुन सक्छ, सचेत रहनुहोला । स्वास्थ्यका लागि खानपानमा सजक रहनु उचित होला । विभिन्न अवसर प्राप्त भए पनि अरूको मुख ताक्ने बानीले काममा धोका हुन सक्छ, ध्यान राख्नुहोस् ।

कुम्भ – समय शुभदायी छ । व्यवसाय र उद्योगधन्दामा राम्रो फाइदा मिल्ला । पढाइ, लेखन, संगीत र कलामा रुचि बढ्नुका साथै प्रतिभाको उचित कदर हुने योग छ । कृषि व्यवसाय तथा पशुधनबाट विशेष फाइदा हुने समय छ । सरल जीवनशैलीले धेरैको मन लोभ्याउन सक्छ । मिठो भोजन प्राप्त होला । मित्रजनको साथ मिल्नेछ ।

मीन – पराक्रम वृद्धि हुनेछ । साथीभाइ र बन्धुबान्धवको सहयोग जुट्नाले अप्ठ्यारा काम पनि सहजै सम्पादन हुने समय छ । विपरीतलिंगीहरूको माध्यमबाट बढी लाभ होला । प्रेम र मित्रताको बन्धन कसिने योग छ । दाम्पत्य सम्बन्ध पनि सुमधुर रहला । रोकिएका काम अघि बढ्न सक्छन् । भूमिसम्बन्धी व्यवसायबाट राम्रै लाभ मिल्ने सम्भावना छ । भय र भ्रम हट्नेछ ।