देउवाका कारण वर्षमानलाई सकस : टऱ्यो मन्त्रिमण्डल पुनर्गठनको सम्भावना !

देउवाका कारण वर्षमानलाई सकस : टऱ्यो मन्त्रिमण्डल पुनर्गठनको सम्भावना !


श्रेष्ठले उठाएको कदमका कारण चौतर्फी समर्थन र प्रशंसा मिलेपछि प्रचण्ड केही मत्थर बन्नुभएको बुझिएको छ । होइन भने प्रचण्ड अरुण चौधरीलाई तत्काल थुनामूक्त गराएर गृहमन्त्री बदल्नेसम्मको सोच बनाउन पुग्नुभएको थियो ।

काङ्ग्रेस सभापति शेरबहादुर देउवाका कारण माओवादी नेता वर्षमान पुनलाई सकस परेको छ । चीनमा उपचार गराएर केही स्वस्थ भएपछि नेपाल फर्किएका वर्षमान पुनले मन्त्रिमण्डलमा घुस्न प्रधानमन्त्री प्रचण्डमाथि निरन्तर दबाब दिँदै आएका छन् ।

पुनले गृह या अर्थ मन्त्रालयको जिम्मेवारी आफूले पाउनुपर्ने माग प्रचण्डसमक्ष राख्दै आएका छन् । उनको मुख्य जोड काङ्ग्रेसलाई गृह दिएर माओवादीले अर्थ लिने र अर्थमन्त्रालयको कार्यभार लिएर आफू मन्त्रिमण्डलमा घुस्ने भन्ने हो । त्यसनिम्ति प्रधानमन्त्री प्रचण्डले शेरबहादुर देउवासँग कुराकानी पनि गर्नुभएको थियो ।

तर शेरबहादुर देउवा आफ्ना मन्त्रीहरू बदल्न तयार हुनुभएन । परराष्ट्र र अर्थमन्त्री बदल्न प्रचण्डले राख्नुभएको प्रस्तावमा पनि देउवा सहमत नहुनुभएको बताइन्छ । उपप्रधानमन्त्री रहनुभएका रक्षामन्त्री पूर्णबहादुर खड्कालाई गृहमन्त्री बनाउने, परराष्ट्रमन्त्री फेर्ने र परराष्ट्रमा डा. प्रकाशशरण महतलाई लैजान पनि देउवा मान्नुभएन ।

देउवानिकटको सूत्रले जनाएअनुसार उहाँ दुई वर्षसम्म आफ्ना कुनैपनि मन्त्रीहरू बदल्ने पक्षमा हुनुहुन्न । प्रचण्ड प्रधानमन्त्री रहँदासम्म हाल कायम मन्त्रीहरूलाई (विशेष कारण उत्पन्न भएको अवस्थामा बाहेक) यथावत राख्ने मानसिकतामा देउवा रहनुभएको छ । देउवाको यस्तो मानसिकताले गर्दा वर्षमानलाई सकस परिरहेको बुझिन्छ ।

ज्ञातब्य छ, वर्षमान पुन भाटभटेनी सुपर मार्केटका मीनबहादुर गुरुङको निकटतम मित्र मानिन्छन् र, ललिता निवास जमिन कब्जा प्रकरणमा गुरुङ पक्राउ परेपछि वर्षमान निकै चिन्तित बनेका थिए । भनिन्छ, निज गुरुङ गृहमन्त्रालयको जिम्मेवारीबाट नारायणकाजी श्रेष्ठलाई हटाएर वर्षमानलाई त्यहाँ फिट गराउन चाहन्छन् । तर देउवाको कारण मीनबहादुरको समेत सपना पूरा भइरहेको छैन । नारायणकाजी श्रेष्ठले बाँसबारी छाला जुत्ता कारखानाको नाममा रहेको सरकारी जमिन फिर्ता लिने क्रममा उक्त जग्गा कब्जा गर्ने चौधरी ग्रुपका अरुणकुमार चौधरीलाई पक्राउ गरी अनुसन्धानको थप कारवाही अगाडि बढाएपछि वर्षमान ‘ब्यापारिक क्षेत्रलाई भड्काएको’ भन्दै प्रचण्डमाथि गृहमन्त्री बदल्न दबाब दिँदै थिए । तर यो प्रकरणमा पनि पुन आफ्नो मिसनमा असफल भएका छन् । श्रेष्ठले उठाएको कदमका कारण चौतर्फी समर्थन र प्रशंसा मिलेपछि प्रचण्ड केही मत्थर बन्नुभएको बुझिएको छ । होइन भने प्रचण्ड अरुण चौधरीलाई तत्काल थुनामूक्त गराएर गृहमन्त्री बदल्नेसम्मको सोच बनाउन पुग्नुभएको थियो ।

यदि देउवा आफ्नो अडानमा कायम रही रहनुभयो भने तत्काल मन्त्रिमण्डलमा परिवर्तन नहुने निश्चित छ । माधव नेपालसमर्थक मन्त्रीहरू भने एक वर्षको कार्य मूल्याङ्कनका आधारमा रहन या जान सक्ने सम्भावना भएकोले सरकारमा सामान्य फेरबदल हुनसक्ने सम्भावनालाई इन्कार गर्न सकिँदैन । तर सरकारमा मेजर परिवर्तनको सम्भावना भने तत्कालका लागि टरेको छ ।