प्रतिनिधिसभामा अध्यादेश र बाधा अड्काउ फुकाऊ आदेश पेस

प्रतिनिधिसभामा अध्यादेश र बाधा अड्काउ फुकाऊ आदेश पेस


प्रतिनिधिसभाको आजको बैठकमा आर्थिक अध्यादेश र बाधा अड्काउफुकाऊ आदेश पेस भएको छ ।

बैठकमा अर्थमन्त्री डा. प्रकाशशरण महतले ‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेश, २०८०’ पेस गरे । उक्त अध्यादेशमा सरकारका नीति तथा कार्यक्रम र बजेटमाथिको पूर्व छलफलका लागि समयावधि अगाडि सार्नेलगायत व्यवस्था समावेश छन् ।

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरूङले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ को दफा ४२ बमोजिम ती आयोगको अवधि थप्नेसम्बन्धी बाधा अड्काउ फुकाउ आदेश पेस गरे ।

यसअघि प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले हिउँदे अधिवेशन, संसदीय गतिविधि एवं कामकारबाही थप प्रभावकारी र उन्नत बन्ने विश्वास व्यक्त गरेका छन् ।

प्रतिनिधिसभाको तेस्रो अधिवेशनको पहिलो बैठकमा सोमबार मन्तव्य दिँदै सभामुख घिमिरेले कानुन निर्माणसँगै जनसरोकारका विषय सम्बोधन र सरकारलाई निर्देश गर्ने क्रममा गत अधिवेशनमा संसदीय विनियमावली जारी भइ कानुन निर्माणका गृहकार्य भएकाले यो अधिवेशनले महत्वपूर्ण विधेयकहरु पारित गर्ने विश्वास व्यक्त गरे ।

सभामुखले राष्ट्रका साझा चासोका विषयमा राजनीतिक दलबीच एकता आवश्यक भएकामा जोड दिँदै विधिको शासन, पारदर्शीता र जवाफदेहीता अपनाउँदै संसद् गतिविधि र अभ्यासलाई परिणामुखी एवं उन्नत बनाउन आग्रह गरे । यस अघिवेशनदेखि कार्यतालिका लागु गरी नयाँ अभ्यास सुरु गरिएको उनले बैठकलाई जानकारी गराए ।

प्रतिनिधिसभाको अर्को बैठक यही माघ २४ गते बुधबार बिहान ११ बजे बस्नेछ ।