नीति-निर्माताका कमजोरीले सबै व्यवसाय सङ्कटमा परे : व्यवसायी भण्डारी

नीति-निर्माताका कमजोरीले सबै व्यवसाय सङ्कटमा परे : व्यवसायी भण्डारी


  • सुरेन्द्र सुवेदी, काठमाडौं

२०१२ सालमा राजधानीको गोकर्णमा जन्मिनुभएका उद्धवप्रसाद भण्डारी एक सफल व्यवसायीको रूपमा चिनिनुहुन्छ । पुलचोक इन्जिनियरिङ कजेलबाट अध्ययन पूरा गर्नुभएका उहाँले २०३१ सालदेखि व्यवसाय सुरु गर्नुभएको हो । राजधानीको चक्रपथ निर्माणबाट व्यवसाय सुरु गर्दै त्यसपछि चिनिया लगानीको भक्तपुरको इँटा कारखाना बनाउनुभयो भने २०३८ मा स्वीस प्रोजेक्टको लामोसाँघु–जिरी राजमार्ग निर्माण गर्नुभयो ।

यस्तै, गार्मेण्टको बजार उच्च देखेर उहाँले २०४३ ताका राजधानीमै पाँच हजार मेसिन र १० हजार कामदार राखेर उद्योग चलाउनुभयो । गार्मेण्टबाट ठूलो रकम नेपाल भित्र्याउन सफल भण्डारीले २०५३ मा कन्टेक्ट प्रालि खोलेर ह्याभी इक्विप्मेट भाडामा लगाउन थाल्नुभयो । स्काइभेटर, डोजर, लोडरजस्ता विकास र निर्माणमा प्रयोग गरिने ठूला इक्विप्मेण्ट त्यो बेला देशमा सीमितमात्रामा थिए । यो कम्पनीलाई उहाँले कन्ट्रक्सनतर्फ मोड्नुभयो र पुल, ठूला भवन, सडकहरू निर्माण गर्न थाल्नुभयो । उहाँको यो कम्पनी देशकै नम्बरभित्र पर्न सफल भयो । यो कम्पनी सुपर ए ग्रेड (सुपर ए) मा पुग्यो । कम्पनीले वर्षमा लाखौंको कारोबार गर्न सफल भयो ।

अहिलो उहाँले यो कम्पनी साथीहरूलाई जिम्मा दिएर आफ्नो भागमा सेयरमात्र राख्नुभएको छ । उहाँ अहिले हेटौंडा र काभ्रेको पनौतीमा क्रसर उद्योग सञ्चालन गरिरहनु भएको छ । यी दुई क्रसरले वर्षमा लाखौँ रुपैयाँ कारोबार गर्दै आएका छन् ।

पछिल्लो समय आर्थिक मन्दीका कारण घर र ठूला भवन निर्माणमा कमी आएको उहाँको बुझाइ छ । आर्थिक मन्दीले निर्माण समाग्री खरिद गर्न नसक्दा नागरिकहरू भवनहरू बनाउन नसकिरहेको उहाँ बताउनुहुन्छ । ‘पैसा हुँदा घर बनाउने हो, मानिससँग पैसा नभएकोले गिटी, ढुंगाको माग नै छैन’- उहाँले भन्नुभयो । विगतको तुलनामा गिटी र ढुंगाहरूको माग आधा नै घटेको उहाँले घटना र विचारलाई बताउनुभयो ।

आर्थिक मन्दीसँगै सरकारको गलत नीतिले यो व्यवसाय सहज रूपमा चल्न सकेको छैन । स्थलगत अध्ययनविना कोठामा बसेर नीति र नियम बनाउने चलन रोक्न उहाँको सुझाव छ । सरकारको नीति परिवर्तन भइरहने कारण कुनै पनि व्यवसाय स्थायी हुन नसकेको उहाँको बुझाइ हो । अहिले कुनै पनि स्थायी क्रसर व्यवसायी नहुनु सरकारको गलत नीतिले नै हो । ‘क्रसरहरू कस्तो स्थानमा राख्ने ?’ यसको कुनै मापदण्ड बनाउन सरकारले सकेको छैन । केन्द्रमा बसेर हचुवाको भरमा नीति बनाउँने चलनले सधंै समस्या भइरहेको भण्डारीको भनाइ छ ।

व्यवसायीसित छलफल गरेर, नीति निर्माण गर्दा व्यवसायीलाई पनि सहभागी गराएर बनाउने हो भने दीगो रुपमा यो र यस्ता व्यवसाय चल्छन् । एक पटक नेपालबाट गिटी र ढुंगा भारत निकासी खुला हुँदा १ लाख जनाले रोजगार पाएको र १० हजार ट्रकहरूले काम पाएको स्मरण गर्दै त्यो बेला खाडीका देशमा यहाँको गिटी पुगेको उहाँ स्मरण गर्नुहुन्छ । ‘अहिले गिटी र ढुंगा निर्यात गर्न रोकिँदा देशमा भित्रने वैदेशिक मुद्रा ल्याउन सकिएन भने रोजगारी पनि भएन’, उहाँले भन्नुभयो, ‘नेपालमा ढुंगाको मौज्दात अधिक भएकोले यो कहिले पनि सकिन्न, सदुपयोग नभएको ढुंगा कुटेर विदेश निकासी गर्नु हो भने वर्षेनी खर्बाैं रकम नेपाल भित्र्याउन सकिन्छ, त्यसतर्फ नीति-निर्माताको ध्यान जानु आवश्यक छ ।’