नेपालीहरुको रोजाइमा अष्ट्रेलिया छैठौँ देश, अष्ट्रेलिया नै किन ?

नेपालीहरुको रोजाइमा अष्ट्रेलिया छैठौँ देश, अष्ट्रेलिया नै किन ?


✍ राजन घिमिरे , सिड्नी (अष्ट्रेलिया)

पछिल्लो समय अष्ट्रेलिया नेपाली विद्यार्थीहरूका लागि मात्र नभएर अन्य क्षेत्रका प्रतिष्ठित व्यक्ति व्यक्तिहरुका लागि समेत आकर्षक गन्तव्य मुलुक बनिरहेको छ । नेपालमै राम्रैसँग जमेका र विभिन्न पेशा र ब्यापार ब्यवसासमा स्थापित भइसकेकाहरू पनि स्थायी बसोबास गर्ने भन्दै अष्ट्रेलिया प्रवेश गर्ने नेपालीहरूको संख्या बढ्न थालेको छ ।

गत साता मात्र नेपालको अध्यागमन विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार सन् २०२३ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट स्थायी बसोबास गर्ने गरी ७० हजार नौ सय १५ नेपाली बिदेशिएका छन्, जसमध्ये ३६ हजार ६ सय ६३ पुरुष र ३४ हजार दुई सय ५१ महिला स्थायी बसोबासका लागि गएको विभागले जनाएको छ । खाडी मुलुकबाहेक युरोप, अमेरिका, अस्ट्रेलियालगायतका देश जाने नेपालीको मूल उद्देश्य नै स्थायी बसोवासका लागि हुने गरेको पाइएको छ ।

विभागका अनुसार डाइभर्सिटी भिसा (डिभी) परेर, ग्रिनकार्ड लिएर र स्थायी आवासको अनुमति (पिआर) लिएर नेपालीहरु बाहिरिने गरेका छन् । सन् २०२३ मा विदेश जाने नेपाली नागरिकको प्रमुख गन्तव्य संयुक्त अरब इमिरेट्स (युएई) बनेको छ । यो अवधिमा दुई लाख ७१ हजार ८८ जना नेपाली युएई गएका छन् । दोस्रो गन्तव्य मुलुक भारत र तेस्रोमा कतार परेको छ । छैठौं नम्बरमा अष्ट्रेलिया रहेको छ । एक लाख पाँच हजार तीन सय ४३ जना अस्ट्रेलिया गएको विभागको तथ्यांकले देखाएको छ । विभागले तयार पारेको सर्वेक्षणले अध्ययनका लागि अस्ट्रेलिया जाने नेपालीहरू उतै बस्ने गरेको देखाएको छ ।

शान्ति सुरक्षा बलियो तथा भरपर्दो, कमाइ राम्रो र नेपालीहरूलाई सुहाउँदो हावापानी हुनु पनि नेपालीहरूका लागि अष्ट्रेलिया रोजाइको स्थान हुन पुगेको जानकारहरू बताउँछन् । नेपालीहरू अष्ट्रेलियामा शान र मानका साथ विविध ब्यापार र पेशामा आवद्धता जनाउने क्रम बढेसँगै यहाँ स्थायी रूपमा बस्न चाहनेहरूको संख्या बढ्न थाल्नुलाई कारण मानिएको छ । अहिले अष्ट्रेलियामा नेपालीहरू अरूको कामसँगै आफ्नै ब्यापार ब्यवसायमा जमिरहेका छन् । हाल अष्ट्रेलियामा नेपालीहरूले कन्सल्टेन्सी, रेस्टोरेन्ट, घर जग्गा किनबेच, नर्सिङ, कलेज सञ्चालन लगायतका विविध क्षेत्र र विधामा सफलता हात पारिरहेका छन् ।