राष्ट्रियसभा सदस्य : सत्ता-गठबन्धनमा सिट बाँडफाँट टुंगियो

राष्ट्रियसभा सदस्य : सत्ता-गठबन्धनमा सिट बाँडफाँट टुंगियो


राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि सत्तारुढ गठबन्धनले सिट बाँडफाँट टुंग्याएका छन् । बालुवाटारमा आज बिहान बसेको सत्तारुढ गठबन्धनको बैठकले संयुक्तरूपमा उम्मेदवारी दिने निर्णय गरेको बैठकमा सहभागी नेपाली कांग्रेसका नेता रमेश लेखकले जानकारी दिए ।

नेता लेखकका अनुसार नेपाली कांग्रेसले १०, नेकपा (माओवादी केन्द्र) ले ६, नेकपा (एकीकृत समाजवादी) ले २ र जनता समाजवादी पार्टी नेपालले १ सिटमा उम्मेदवारी दिने सहमति भएको छ । एक सदस्य भने राष्ट्रपतिले मनोनयन गर्नेछन् । श्रोतका अनुसार राष्ट्रपतिबाट जनमोर्चाकी दुर्गा पौडेललाई मनोनयन गर्ने तयारी छ ।

आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि आज मतदाता नामावली प्रकाशन र भोलि उम्मेदवारको मनोनयन दर्ताको कार्यतालिका छ । मनोनयन दर्तापछि उम्मेदवारको विरोधमा उजुरी दिने कार्य पुस २४ गते हुनेछ भने मनोनयन पत्र र उजुरीउपर जाँचबुझ गरी अन्तिम नामावली पुस २६ गते प्रकाशित हुनेछ ।