रेडमिट कि यमराज ?

रेडमिट कि यमराज ?


रातो मासु (रेड मिट) स्वास्थ्यका लागि हानिकारक हुन्छ भन्ने आजका सचेत मानिसलाई राम्ररी थाहा छ । यसबारे मेडिकल डाक्टरहरूले बेलाबेलामा विभिन्न जानकारी सार्वजनिक गरिरहेका पनि छन् । तथापि, मासु भनेपछि भुतुक्कै हुनेहरूलाई यो जानकारी वा चेतावनीले पटक्कै छोएको पाइँदैन । यदि तपाईं पनि यही वर्गमा पर्नुहुन्छ भने ‘रेड मिट’ उपभोग गर्न चटक्कै छोडिदिनुस्, अन्यथा युवावस्थामै मृत्युको खतरा २० प्रतिशतले बढ्न सक्छ ।
हार्वर्ड विश्वविद्यालयका अनुसन्धानकर्ताहरूले हालै एक लाख २० हजारभन्दा बढी मानिसमाथि गरेको अध्ययनको नतिजाअनुसार जो व्यक्ति दैनिक रेड मिट सेवन गर्ने गर्छ उसको मृत्युको सम्भावना स्वाभाविक मृत्युभन्दा २० प्रतिशत चाँडो हुन पुग्दछ । रेड मिट सेवनले हृदयसम्बन्धी र क्यान्सर रोगको खतरालाई तीव्रता दिने विशेषज्ञहरूको दाबी छ । उनीहरूले यो सल्लाह पनि दिएका छन् कि रेड मिटको सट्टा माछा सेवन गरिएमा समयअघि नै मृत्युको खतरा कम हुनसक्छ ।

भावुक प्रेमी पनि थिए निक्सन
‘दिनरात प्रत्येक क्षण तिमीलाई देख्न चाहन्छु, तिमीसँग पलपल गुजार्न चाहन्छु । जाऔँ हामी आइतबार ‘लङ्ग ड्राइभ’मा र पहाडको काखमा बसौँ, … रोसनीमा किताब पढौँ…।’ यी पङ्क्ति पक्कै कुनै प्रेमीले आफ्नी प्रेमिकालाई लेखेको प्रेमपत्रबाट उद्धृत गरिएका हुन् भनी सहज अनुमान गर्न सकिन्छ । तर, इतिहासमा कुनै बेला ‘तिकडमवाज डिक’को विशेषण लागेर बद्नाम बन्न विवश पात्र जवानीमा भावुक कवि बनेर आफ्नी प्रेमिकालाई पत्र लेख्थे भन्ने खुलासाचाहिँ हालै मात्र भएको छ । हो, विश्वविख्यात ती ‘प्रेमी’ हुन्- अमेरिकाका एक राष्ट्रपति रिचर्ड निक्सन, जो लोकप्रियताका साथ सत्ताको शिखर चढे र बहुचर्चित ‘वाटरगेट’ काण्डबाट बद्नाम भएर पतन पनि हुन पुगे । राष्ट्रपति बन्नुभन्दा निकै अघि उनी पेट्रिसिया रेयान नामक युवतीको प्रेममा परेका थिए, जसलाई निक्सन अत्यन्त भावुक बनेर रुमानी प्रेमपत्र लेख्दथे । तिनै पेट्रिसिया पछि उनकी पत्नी बनिन् । कुनै नाटक थियटरमा एकसाथ ड्रामामा अभिनय गर्दा निक्सन र पेट्रिसियाबीच प्रेम अङ्कुराएको थियो । निक्सनले रेयानलाई लेखेका प्रेमपत्रहरू हालै अमेरिकास्थित रिचर्ड निक्सन प्रेसिडेन्सियल लाइबे्ररी तथा म्युजियममा प्रदर्शन गरिएको थियो ।

सिगरेट सुर्क्याउने फुच्चेको शोख
चौबीस करोड जनसङ्ख्या रहेको दक्षिणपूर्वी एसियाली देश इन्डोनेसिया यस्तो मुलुक हो जहाँ सिगरेट किन्न या धुमपान गर्न कुनै न्यूनतम उमेरको हदबन्दी लगाइएको छैन । यसैको प्रभावस्वरूप त्यहाँका नागरिकले खानेकुरापछि दोस्रो नम्बरमा सिगरेटकै लागि धन खर्च गर्ने गर्छन् । त्यसपछि मात्र आफ्नो कमाइको हिस्सा अन्य वस्तुमा लगानी हुन्छ उनीहरूको । यसरी सिगरेटपानलाई अत्यधिक महत्त्व दिएकै कारण त्यहाँ एक आठ वर्षीय बालकले रेकर्ड नै तोडिने गरी चुरोट पिउने गरेको तथ्य प्रकाशमा ल्याइएको छ । पेसाले ट्याक्सीचालक उमर नामक व्यक्तिको आठ वर्षीय पुत्र इल्लमले दिनमा कम्तीमा चालीस खिल्ली सिगरेट पिउने गरेका छन् । अझ सिगरेटपान गर्ने उसको चाहना र गति दिनानुदिन बढिरहेको छ । ऊ स्कुल पनि जाँदैन, केवल खेलेर र चुरोट पिएर नै दिन कटाउँछ । सिगरेट पिउन नदिए झ्यालको सिसा तोड्ने, सामानहरू फ्याँकिदिने या यस्तै केही उपद्रव गरेर उसले आफ्ना सबैलाई कायल पार्ने गरेको इन्डोनेसियाको सरकार समाचार एजेन्सी ‘अंकारा’ ले जनाएको छ ।

पेटभरि सेफि्टपिन
पाकिस्तानको लाहोरनिवासी १५ वर्षीया एक किशोरीको पेटमा सेफि्टपिनको सिङ्गै झुप्पा, केही किला, चुम्बकका टुक्रासहित फलामका आधा केजी सामग्री फेलापरेको छ । पेट दुखेर अस्पताल पुर्‍याइएकी फातिमा हिज्मा नामक ती किशोरीको पेटको अल्ट्रासाउण्ड गरेपछि स्थानीय गंगाराम अस्पतालका चिकित्सक आश्चर्यमा परे । हिज्माले त्यस्ता धातुका सामान कसरी निलिन् होला भन्ने जिज्ञासाले उनीहरू चकित बनेका थिए । तीन घन्टा लगाएर गरिएको पेटको सफल शल्यक्रियापछि हिज्मालाई सोबारे प्रश्न गर्दा उनले आफूले कहिले कसरी त्यस्ता खतरनाक वस्तुहरू कसरी पेटमा पुर्‍याएको हो आफंैलाई पत्तो नभएको जवाफ दिइन् । हिज्माको यस जवाफले सबैलाई थप आश्चर्यमा पारेको थियो ।