यसरी रचियो हत्या-षड्यन्त्र

यसरी रचियो हत्या-षड्यन्त्र


गत कात्तिक ११ गते देउसी-भैलो कार्यक्रम चल्दै गर्दा दिउँसो २ बजेतिर म.१प ३३१० नम्बरको मोटरसाइकलको बीचमा राखी ओमप्र्रकाश पौडेल र उसको साथी कृष्ण पौडेलले टंकप्रसाद पौडेललाई कैलालीबाट डोटीको गैरासम्म पुर्‍याई मदिरा सेवन गराए । त्यहाँबाट फेरि रातको नौ बजे उनीहरूले कैलालीको सहजपुर फर्काएर टेरिबजारस्थित महाकाली होटलमा लगी थप मदिरा पिलाए । त्यसपछि सोही होटलमा तास खेलेर चाड मनाउने इच्छा टंकले गरे तर ओम र कृष्णले उनलाई छोडेनन् । केही पर पुगेपछि ओमले टंकप्रसादलाई घर र्फकने मौका नदिई बाटैमा मार्ने योजनाबारे कृष्णसँग सल्लाह गर्‍यो । नजिकै कस्मेटिक पसल सञ्चालन गर्दै आएकी धनसरा साउदले पनि सो सुनिन् । यसपछि उनीहरूबाट उम्किन खोज्दाखोज्दै दुई सय मिटर पर लगेर ओम र कृष्णप्रसादले टंक पौडेललाई कुटपिट गरे । त्यहीँ हत्या गर्दा आफूहरूमाथि शङ्का हुनसक्ने भन्दै ओम र कृष्णप्रसादबीच त्यहाँ सल्लाह भएछ । त्यसअनुरूप पुन: घाइते टंकप्रसादलाई मोटरसाइकलमा राखेर उनीहरूले मारवट्टी बीपीनगर जाने चोकमा पुर्‍याए । त्यहाँ टंकमाथि हातपात गर्न ओमप्रकाशले अन्य स्थानीय युवाहरूको समेत साथ लिएको पीडित पक्षको भनाइ छ । यसरी कुटपिट गरी लासतुल्य भएपछि नाङ्गै बनाएर रातको १२ बजेतिर सहजपुरस्थित टंक पौडेलकै बारीमा लगेर उनीहरूले फाले र देउसी-भैलो चलिरहेको स्थानमा उनीहरू सरिक हुन पुगे ।
अपराधी चरित्रको ओमले त्यहाँ पनि बठ्याइँ गरेछ । आफैंले ‘लास’ बनाएर टंकलाई फालेको स्थानतर्फ औंल्याउँदै टंककै भाइ हीरालालसँग उसले भनेछ, ‘ए भाइ ! त्यहाँ केको हल्ला भइरहेछ हँ ? मानिसहरू झगडा गरेजस्तो छ, जाऔँ !’ यसो भन्दै टंकलाई फालेको ठाउँमा पुर्‍याएछ । आफ्ना दाइको त्यो अवस्था देखेपछि तत्काल उनले आफ्नै गाडीमा उर्ठाई अत्तरियाको सेवा नर्सिङहोम पुर्‍याए । ४१४ नम्बरको उक्त गाडी ओमको साथी कृष्णले ड्राइभ गरेको थियो, ओमचाहिँ मोटरसाइकलमा पछि लाग्यो । रोचक कुरा के छ भने त्यत्रो काण्ड रचेर पनि ओम र कृष्ण निकै साखुल्य बनेर घाइतेको उद्दार गर्ने तथा पीडित परिवारप्रति सहानुभूति देखाउने नाटक गरिरहेका थिए । ओमप्रकाशले मृतकका दाजु बालकृष्ण पौडेलसँग ‘लालबहादुर शाह, योगेन्द्र शाह, दीपक शाह, टोपबहादुर शाहले तपाईंको भाइलाई मारेर फालेछन्, हामीले अस्पताल ल्यायौँ’ भनी भनेको थियो जसलाई मृतक परिवारले पत्याएको थियो ।
धुकधुकी मात्र बाँकी रहेका घाइते टंकको उपचार आफूले गर्न नसक्ने सेवा नर्सिङहोमले बताएपछि उनलाई भारत लखनउको सामरा अस्पताल पुर्‍याइयो । आठ लाख खर्च भएपछि १४ दिनको बेहोसीपछि टंक होसमा आए । उनी होसमा आएपछि दिएको बयानपछि मात्र मूल अपराधी ओमप्रकाश र मतियार कृष्णप्रसाद पौडेल भएको रहस्य खुल्यो । सामरा अस्पतालको शय्यामै टंकको बयान भिडियो क्यामेरामा कैद गर्ने बुद्धि पुर्‍याए उनका परिवारजनले । बयान दिएपछि टंक धेरै बाँचेनन्, फगत अपराधी चिनाउन मात्र भगवान्ले उनको होस केही समयका लागि खुलाइदिएजस्तो भयो । उक्त बयानको टेप पीडित पक्षले प्रहरी र अदालतमा पनि प्रस्तुत गरेको छ ।
बिरामी अस्पतालमा बेहोस रहेको बेला अपराधी ओम र कृष्णले मृतक टंकका दाजुहरूसँग निकै हिमचिम राख्दै प्रहरीमा किटानी जाहेरी हाल्न उक्साएका थिए । ‘अपराधी यी हुन्’ भन्दै उनीहरूले माथि उल्लेखित युवाहरूको नाम टिपाए । अपराधी नै उद्धारकर्ता र सहयोगीको नाटक मञ्चनमा उत्रिएपछि किटानी जाहेरीमा वास्तविक अपराधीको नाम पर्ने सवाल नै रहेन । यसरी पीडित परिवार र प्रहरी प्रशासन नै गुमराहमा पर्‍यो । तर, अस्पतालमा टंकले दिएको बयानले हत्यारा को हो र किन हत्या गरियो भन्ने र्र्छलर्ङ्ग हुन पुग्यो । ज्रि्रका कैलालीले ओमप्रसाद र कृष्णलाई पक्रिएर थुनामा पठायो । तर, खतरनाक योजनालाई सजिलै साकार रूप दिनसक्ने अपराधीहरूले जेल पुगे पनि जाल रच्न छोडेनन् । अदालतलाई समेत गुमराह र प्रलोभनमा पार्ने काम र फलत: जिल्ला अदालत कैलालीको फैसलाको मिसिल मगाएर हेर्दैनहेरी दीपायल पुनरावेदन अदालतले उनीहरूलाई एक-एक लाख धरौटीमा थुनामुक्त गरिदियो । सरकारी वकिलले पीडित परिवारलाई समेत त्यसरी अपराधी मुक्त गरिएको जानकारी दिएन । अपराधी उम्किएको जानकारी झण्डै दुई सातापछि पाएका मृतकका दाजु बालकृष्णले फागुन २२ गते बकपत्र गर्दैगर्दा पीडा र आक्रोशमा ‘यो देशमा कानुन रहेन, यस्ता अपराधीलाई पुनरावेदन अदालतले त्यत्तिकै छुटकारा दियो, अब यसै त छोडिन्न, न्याय खोज्न सर्वोच्च अदालत गइन्छ’ भन्ने अभिव्यक्ति दिएका थिए । अब यहीँनेरबाट सुरु भयो परिवारजन तथा पीडित परिवारको सहयोगीहरूमाथि अपराधीहरूको कुदृष्टि । अपराधी पक्ष कुनै हालतमा पनि सर्वोच्चमा निवेदन पर्न नदिन सक्रिय रह्यो । यसको परिणामका रूपमा सर्वोच्चमा रिट हाल्न काठमाडौं आएका मृतकका दाजु बालकृष्ण र शुभचिन्तक टंक कोइरालाको अपहरण तथा साङ्घातिक आक्रमणको प्रयास राजधानीमै पटक-पटक भइसकेको छ । प्रहरीले विशेष सुरक्षा व्यवस्था गरिदिएर आफूहरूलाई सहयोग गरेको मृतक परिवारका सहयोगी कोइरालाले घटना र विचारसँग बताए । उनका अनुसार हत्यारा ओमप्रकाशको सहयोगी बनेर कैलालीकै कमल बोगटी भन्ने व्यक्ति आफ्ना केही सहयोगीको समूहसहित टंक कोइराला र बालकृष्णमाथि साङ्घातिक आक्रमण गर्न सक्रिय रहेको छ । यतिबेला आपराधिक समूहबाट बच्दै र्सतर्कताका साथ उनीहरू हत्याराहरूलाई सजाय दिलाउन कानुनी लडाइँमा सक्रिय रहेका छन् । कमल बोगटी र ओमप्रकाश पौडेलविरुद्ध अपहरण तथा ज्यान बन्धक बनाउन खोजेको भन्दै टंकप्रसाद कोइराला र बालकृष्ण पौडेलले हनुमानढोकामा उजुरी दिएका छन् ।
किन गरियो टंकको हत्या ?
विभिन्न युवतीलाई ललाइफकाई, झुक्याई, प्रलोभनमा पारी यौन प्यास मेट्ने र आफूले सम्पर्क राखेका युवतीसँगको यौन क्रियाकलापको भिडियो खिचेर ब्ल्याकमेलिङ गर्ने, ब्लुफिल्म बेचेर कमाइ गर्नसमेत पछि नपर्ने आचरण ओमप्रकाशको रहेको उसलाई नजिकबाट चिन्नेहरूको कथन छ । यसैक्रममा उसले केही महिनाअगाडि कैलालीमै एघार कक्षामा अध्ययनरत खैराना गाउँकी बोगटी थरकी युवतीसँग प्रेमको नाटक रचेर शारीरिक सम्पर्क गरी त्यसको भिडियोसमेत बनाएको थियो । ११ मिनेटको उक्त ब्लुफिल्म कैलाली तथा आसपासका क्षेत्रमा सार्वजनिक पनि भएको बताइन्छ । त्यो ओमप्रकाश स्वयम्ले बिक्री गरेका कारण सार्वजनिक भए पनि फिल्मको न्यून गुणस्तरका कारण खास चिनजानका व्यक्तिबाहेक अरूले पात्र चिन्न नसक्ने प्रकारको थियो । तर, जब उक्त फिल्मबारे आफ्नै मुखबाट ओमप्रकाशले टंक पौडेलललाई चुहायो, ऊ स्वयम् साथी टंकसँग त्रसित हुन पुग्यो । उसकाबारे बजारमा चर्चासमेत चल्न थाल्यो जो काम टंकले नै गरेको हुनुपर्छ भन्ने भ्रमले उसमा जरो गाड्यो । थप बद्नामीबाट बच्ने आशयले अन्तत: ऊ टंकको हत्या नै गर्ने निष्कर्षमा पुग्यो ।
के चाहन्छ पीडित परिवार ?
आफ्नो एक असल छोरो तथा भाइलाई २५ वर्षको जल्दोबल्दो र परिवारको निम्ति आडभरोसा हुने उमेरमा गुमाउनुपर्दाको पीडाबाट पौडेल परिवार मर्माहत छ । बितेको व्यक्ति फर्केर नआउने भए पनि अपराधीलाई उचित सजाय नदिलाए समाजमा विकृति बढ्ने, आपराधिक क्रियाकलापमा लागेकाहरूको मनोबल उकासिने र अन्यले पनि दु:ख पाउने भएकोले वास्तविक हत्यारालाई सजाय दिलाएरै छोड्ने ध्येय पीडित पक्षको रहेको छ । कैलाली जिल्ला प्रहरी र कैलाली जिल्ला अदालतले अपराधीलाई सजाय दिलाउने सवालमा सहयोगी भूमिका निर्वाह गरेका भए पनि पुनरावेदन अदालत दीपायलको फैसलाले पीडित परिवारलाई विक्षिप्त तुल्याएको छ । अपराधी पक्षको प्रभावमा परेको र अनुचित चलखेलका आधारमा दुई लाख धरौटीकै भरमा हत्याराहरूलाई थुनामुक्त गरिदिएको आरोप पुनरावेदन अदालतमाथि मृतकका आफन्तजनले लगाएका छन् । सर्वोच्च अदालतले न्याय दिलाउने आशा पनि उनीहरूले राखेका छन् ।
महिला अधिकारवादीको ध्यान पुगोस्
जुन युवतीमाथि शारीरिक शोषण गरी भिडियोसमेत खिचेर ओमप्रकाशले सार्वजनिक गरेको थियो, भिडियो सार्वजनिक भएपछि गाउँ-समाजले युवतीलाई ओमप्रकाशकै जिम्मा लगाएको छ । उसको घरमा भित्र्याइदिएको भए पनि ओमप्रकाशका अभिभावकले युवतीलाई बुहारी स्वीकार गरेका छैनन् । उनलाई यतिबेला ‘घरेलु नोकर्नी’को व्यवहार गरिएकोले महिला अधिकारवादीहरूको ध्यान पुग्नु जरुरी रहेको पीडित परिवारको सहयोगी भूमिका निर्वाह गरिरहेका टंकप्रसाद कोइरालाको कथन छ । स्मरण रहोस्, ओमप्रकाशद्वारा शोषित युवतीकै दाजु कमल बोगटी पीडित बहिनीको इज्जत र अधिकारका लागि लड्नुको साटो अपराधी ओमप्रकाशकै इसारामा पीडित पक्षलाई थप दु:ख दिन लागिपर्नुलाई दुखदार्श्चर्यका रूपमा लिइएको छ ।

प्रचण्डको अनौठो प्रस्ताव वैद्यद्वारा अस्वीकार
मोहन वैद्य किरणलाई फकाउन गरिएका सम्पूर्ण प्रयास असफल भएपछि पार्टी अध्यक्ष प्रचण्डको चिन्ता थपिएको छ । पार्टीलाई एकताबद्ध राख्न नसकिने ठानेपछि प्रचण्डले ‘एक पार्टी दुई नीति’को अवधारणा प्रस्तुत गर्नुभएकोमा वैद्यले त्यसलाई पनि सीधै अस्वीकार गरेकोले प्रचण्डमा चिन्ता थपिएको हो । वैद्य वा बाबुराम दुईमध्ये एक रोज्नैपर्ने अवस्थामा बाबुरामलाई रोज्न प्रचण्ड ‘बाध्य’ हुनुलाई वैद्य पक्षले अत्यन्त गम्भीरताका साथ लिएको छ । प्रचण्ड-बाबुरामको स्थिति बुझेपछि वैद्य समूह आफ्नै तयारीमा जुटेको छ । प्राप्त जानकारीअनुसार प्रचण्डले पार्टीको केन्द्रीय समिति एउटै राख्ने र मातहतका सबै समितिहरू दुवै पक्षले आ-आफ्नै निर्माण गरी आ-आफ्ना नीति र कार्यक्रमअनुरूप परिचालन गर्ने प्रस्ताव वैद्यसमक्ष राख्नुभएको थियो । प्रचण्डको यस्तो प्रस्तावमा वैद्यले सहमति जनाउनुभएन । बरु वैद्य पक्षले देशभरि नै समानान्तर समिति निर्माण गरिसकेको छ । पार्टीको मातहतका राज्य समिति, जिल्ला समिति र अन्य समितिको इञ्चार्ज नियुक्त गरी गोप्य रूपमा परिचालन गर्ने कार्य वैद्य खेमाले गरिसकेको छ । तर, अहिले इञ्चार्ज तथा समितिका सदस्यहरूको नाम भने सार्वजनिक गरिएको छैन । विधिवत् पार्टी विभाजन भएपछि मात्र इञ्चार्ज तथा अन्य सदस्यहरूको नाम सार्वजनिक गरिने बुझिएको छ । प्रचण्डले ‘एक पार्टी दुई नीति’को अवधारणा अघि सार्नुमा प्रचण्डको नितान्त निजी महत्त्वाकाङ्क्षा पूरा गर्ने अभिप्राय: रहेको निष्कर्ष वैद्य पक्षले निकालेको छ । एक पार्टी दुई नीतिको अवधारणाअनुरूप काम गर्न सकिएमा आगामी निर्वाचनमा आफू राष्ट्रपतिको उम्मेदवार बन्ने, चुनावी तालमेल मिलाई सबै निर्वाचन क्षेत्रमा संयुक्त उम्मेदवार खडा गरी ‘बहुमत’ हासिल गरेर फेरि पनि सत्तामा आफैं सर्वोसर्वा बन्ने योजनाअनुरूप प्रचण्डले त्यसप्रकारको अवधारणा ल्याउनुभएको वैद्य खेमाले ठानेको छ । प्रचण्डलाई र्सर्वेसर्वा बनाउन आफूहरू लागिनपर्ने अठोट उक्त समूहले गरेको छ । देशमा आमूल परिवर्तन गर्नुपर्ने मुख्य मुद्दालाई छोडेर कुनै हालतमा प्रचण्ड-बाबुरामको पछि लाग्न नसकिने र लाग्न नहुने निष्कर्षमा वैद्य पक्ष पुगिसकेको छ । बाबुराम भट्टराईले प्रधानमन्त्री पदबाट राजीनामा दिई नयाँ परिस्थिति निर्माण गरेमा या बाबुरामलाई पदमुक्त गर्न प्रचण्ड तयार भएको अवस्थामा मात्र वैद्य खेमाले आफ्नो पूर्वयोजनामा पुनरि्वचार गर्नसक्ने सम्भावना छ । तर, ठीक यतिबेला उल्लिखित दुवै सम्भावना देखिएको छैन । ‘प्रचण्ड बाबुराम राष्ट्रघाती भूमिकामा रहेको र उनीहरू कुनै पनि रूप, आवरण र शैलीमा क्रान्ति र आफूहरूविरुद्ध जाइलाग्न सक्ने’ अनुमानसमेत वैद्य पक्षले गरेको छ । त्यसैले उक्त समूहले आफ्नो गतिविधिहरू खुलाभन्दा बढी भूमिगत र अर्धभूमिगत रूपमा सञ्चालन गरिरहेको छ । सङ्गठनका इञ्चार्ज तथा पदाधिकारी र सदस्यहरूको नाम गोप्य राख्नुको कारण पनि प्रचण्ड-बाबुरामबाट हुनसक्ने सम्भावित आक्रमण भएको बताइएको छ । तर, राज्य समितिका इञ्चार्जहरूको नामावली भने अनौपचारिक तवरमा भए पनि सार्वजनिक गरिएको छ । वैद्य समूहले आफूहरू विचार र व्यवहारमा एकताबद्ध हुँदाहुँदै पनि भ्रम सिर्जना गर्ने उद्देश्यले एक दैनिक पत्रिकालाई उपयोग गरी समूहमा चिरा परेको भन्दै गोयवल्स शैलीमा प्रचारबाजी गरेको ठानेको छ । यस सम्बन्धमा वैद्यपक्षीय एक नेताको ध्यानाकर्षण गर्दा उनले भने, ‘पार्टी, क्रान्ति र आमूल परिवर्तनको पक्षमा हामीले निर्वाह गरेको भूमिकाबाट प्रचण्ड-बाबुरामहरू आतङ्कित भएका छन् । प्रचण्ड, बाबुराम र नारायणकाजीका तीन गुटहरू आ-आफ्नै ढङ्गले क्रियाशील रहेको वास्तविकतालाई छोपछाप गर्न उनीहरूले हाम्राविरुद्ध कृत्रिम प्रचारबाजी सुरु गरेका हुन् ।’ हुन पनि वैद्य खेमाभित्र वैचारिक र भावनात्मक एकता अहिलेसम्म बेजोड देखिएको छ । ०५२ सालमा युद्ध सुरु गर्नुअघिका सबैजसो नेता र अधिकांश कार्यकर्ता अहिले पनि वैद्यको समर्थनमा छन् । युद्ध सुरु भएपछि र युद्धको अन्त्य भइसकेपछि पार्टीमा आबद्ध भएकाहरूमध्ये धेरैको समर्थनचाहिँ प्रचण्डतिर देखिन्छ । त्यसैले कतिपयले माओवादी पार्टीको विवाद र धु्रवीकरणलाई ओरिजिनल माओवादी र नयाँ माओवादीबीचको अन्तरका रूपमा पनि व्याख्या-विश्लेषण गर्ने गरेका छन् । वैद्य खेमामा विचारप्रति प्रतिबद्ध, इमानदार क्रान्तिकारी देशभक्तहरू गोलबद्ध भएको र प्रचण्ड खेमामा अवसरवादीहरूको बोलवाला रहेको टिप्पणी पनि वाम राजनीतिक वृत्तमा भइरहेको छ ।

छत्रमानले अडान लिँदा प्रधानमन्त्रीलाई दु:ख
प्रधानसेनापति छत्रमानसिंह गुरुङले सेनाको व्यावसायिकताको पक्षमा दह्रिलो अडान लिनुभएपछि माओवादी अध्यक्ष प्रचण्ड र प्रधानमन्त्री बाबुराम भट्टराई ठूलो सकसमा पर्नुभएको छ । माओवादी लडाकुलाई सेनामा प्रवेश गराउन दुई महिनाअघि प्रधानमन्त्रीलाई गुप्त रूपमा सुझाव प्रतिवेदन बुझाउनुभएपछि विवादमा आउनुभएका सेनापति गुरुङले अहिले सेनाको व्यावसायिकताप्रति गम्भीर चिन्ता र चासो राख्न थाल्नुभएको छ । सेनापतिले विशेष समितिका बालानन्द शर्मासहित भई तयार गरेको कार्यविधिमा माओवादी लडाकुलाई सेनाको स्थापित मापदण्डअनुरूप व्यक्तिगत रूपमा भर्ना लिइने स्पष्ट उल्लेख छ । भर्ना प्रक्रियामा सेना, रक्षा मन्त्रालय र लोकसेवा आयोगको प्रतिनिधि तथा विशेष समितिबाट आमन्त्रित सदस्यका रूपमा कसैलाई संलग्न गराइने व्यहोरा कार्यविधिमा उल्लेख गरिनुलाई प्रधानमन्त्री बाबुराम भट्टराईले गम्भीरतापूर्वक लिनुभएको छ । सेनाको मापदण्डअनुसार व्यक्तिगत रूपमा भर्ना प्रक्रिया सुरु गरिएमा दुई हजार लडाकुले पनि सेनामा प्रवेश पाउन सक्ने ठानिँदैन । त्यसैले प्रचण्ड-बाबुरामले सेनामा भर्ना होइन समायोजन नै गरिनुपर्ने अडान राखेका छन् । यस सम्बन्धमा प्रधानमन्त्री भट्टराईले प्रधानसेनापति गुरुङलाई बोलाएर दुईपटक छलफल गरिसक्नुभएको, तर प्रधानमन्त्रीको आग्रहलाई सेनाको मापदण्डविपरीत भन्दै सेनापति गुरुङले अस्वीकार गर्नुभएको जानकारी प्राप्त भएको छ । त्यसरी सेनापतिले सेनाको व्यावसायिकताको पक्षमा अडान लिनुभएपछि प्रचण्ड-बाबुरामले भने त्यसको गलत अर्थ लगाउँदै- ‘ज्वाइँ दमन घलेको बढुवा नहुने भएपछि मापदण्डको कुरा ल्याएको’ भनी सेनापति गुरुङको अडानलाई होच्याउने प्रयास गरेको बताइएको छ । प्रधानमन्त्रीले जे भने पनि प्रधानसेनापति गुरुङ सेनाको व्यावसायिकताको पक्षमा दृढ हुनुहुन्छ, अब उहाँ माओवादी या अरू कुनै पनि वादीको सजिलोको लागि भन्दै राष्ट्रिय सेनालाई अप्ठ्यारोमा पार्ने मानसिकतामा देखिनुहुन्न । यसरी सेनापतिले दह्रो अडान लिइदिएपछि साढे ६ हजार लडाकुलाई राष्ट्रिय सेनामा सामूहिक प्रवेश गराएर ‘राजनीति’ गर्न चाहेका प्रचण्ड-बाबुराम सकसमा पर्नुभएको हो । सेनाको मापदण्डअनुरूप भर्ना हुँदा दुई हजार लडाकुले पनि प्रवेश नपाउने देखिएपछि प्रचण्ड-बाबुरामले सबै लडाकुलाई स्वेच्छिक अवकाश दिन अर्को प्याकेज दिने विकल्पबारे सोच्न थालेको बताइन्छ । सकेसम्म सामूहिक समायोजनमै जाने नसके सबै लडाकुलाई स्वेच्छिक अवकाशको मौका दिएर पार्टी काममा लगाउनेबारे उहाँहरूबीच छलफल चलिरहेको निकटवर्तीहरूले जनाएका छन् । प्रधानसेनापति छत्रमान गुरुङले राष्ट्रिय सेनाको व्यावसायिकताको पक्षमा अडान लिनुलाई देशभक्तहरूले सकारात्मक रूपमा लिएका छन् । कुनै बेला ‘माओवादीमैत्री सेनापति’को छवि बनाउनुभएका छत्रमानले अन्तिम अवस्थामा भए पनि सेनाको व्यावसायिकताको पक्षमा उभिनुलाई माओवादी नेतृत्वले चाहिँ आश्चर्यजनक र दु:खद् ठानेको छ ।

यस्तोसम्म हुन्छ उमावि परिषद्मा
उच्च माध्यमिक शिक्षा परिषद्मा व्यापक आर्थिक चलखेल सुरु भएको छ । आगामी वैशाख १६ गतेबाट सुरु हुने कक्षा १२ र कक्षा ११ का परीक्षा केन्द्र निर्धारण गर्न यस्तो चलखेल भएको हो । उपत्यकामा रहेका उमाविहरूको परीक्षा केन्द्र परीक्षा सञ्चालक समितिले तोक्नुपर्नेमा सदस्यसचिवको निर्देशनमा कामु परीक्षा नियन्त्रकले गोप्य स्थानमा बसी एकलौटी ढङ्गले अर्थसङ्कलनका लागि केन्द्र तोकिरहेका छन् ।
उच्च माध्यमिक शिक्षा परिषद्को नियमावलीअनुसार परीक्षा समितिको अध्यक्ष उपाध्यक्ष रहने व्यवस्था भए पनि उपाध्यक्ष हेमकुमार मिश्रलाई वाइपास गरेर सदस्यसविच भीमलाल गुरुङको प्रत्यक्ष निर्देशनमा कामु परीक्षा नियन्त्रक दुर्गा अर्यालले परीक्षा केन्द्र तोक्ने कार्य गरिरहेको खबर छ । स्रोतका अनुसार सदस्यसचिव गुरुङ र कामु परीक्षा नियन्त्रक अर्यालले ट्रिनिटी उमावि, भीएस निकेतन, जेभिएर
इन्टरनेसनल, एम्बिसन एकेडेमी, नोबेल एकेडेमी, एनसीसीएस उमावि, क्यास्पियन भ्याली, नासा उमावि, पिनाकल एकेडेमी र क्यारेबियन उमाविको परीक्षा केन्द्र सरकारी ?सामुदायिक उमावि तथा क्याम्पस) उच्च माध्यमिक विद्यालयमा राख्न मोलमोलाई गरिरहेका छन् । परीक्षा केन्द्रहरूबाट रकम असुल्ने मामिलाको योजनाकारसमेत सदस्यसचिव आफैं भएको स्रोतको दाबी छ ।
परीक्षा केन्द्र निर्धारणका विषयमा परीक्षा समितिका अध्यक्षलाई समेत गुमराहमा राख्ने कार्य भएकोमा कर्मचारी पनि आश्चर्यचकित परेका छन् । परीक्षाको विश्वसनियता तथा मर्यादा कायम गर्न पनि छिटोभन्दा छिटो कामुप्रथाको अन्त्य गर्नु जरुरी भइसकेको छ ।
सामान्यत: कामु ६ महिनाका लागि दिने चलन छ । तर, उच्च माध्यमिक शिक्षा परिषद्को परीक्षा नियन्त्रण कार्यालय लामो समयदेखि कामुकै भरमा चलिरहेको छ । विगत डेढ वर्षदेखि कामु परीक्षा नियन्त्रकको रूपमा दुर्गा अर्याल कार्यरत छन् । उनी उच्च माध्यमिक शिक्षा परिषद्का उपसचिव हुन् । कहीँ नभएको जात्रा हाँडी गाउँमा भनेजस्तै कहिलेसम्म कामुकै भरमा रहने हो परीक्षा नियन्त्रण कार्यालय ? उच्च माध्यमिक शिक्षा परिषद्को इतिहासमा अहिलेसम्मकै शैक्षिक योग्यता ड्रि्री नभएका कामु परीक्षा नियन्त्रकलाई टिकाइराख्नेमा प्रमुख भूमिका सदस्यसचिवले निर्वाह गरेका छन् । उनकै इसारामा आर्थिक चलखेल तथा बार्गेनिङ भइरहेको छ । परिषद्मा रहेका योग्य सहसचिवहरूलाई पाखा लगाई कामु परीक्षा नियन्त्रकलाई टिकाइराखेकोमा शिक्षा मन्त्रालयका कर्मचारीहरू नै आश्चर्यचकित छन् । परिषद्मा यस्तो चलखेल भइरहँदा पनि शिक्षामन्त्री बेखबर छन् । तर्सथ यथाशीघ्र यसको वैकल्पिक उपाय नअपनाउने हो भने परीक्षा मूल्याङ्कन पद्धति नै ध्वस्त हुने निश्चित छ ।
परीक्षा नियन्त्रक प्रश्नपत्र परिमार्जन समितिको अध्यक्ष हुने व्यवस्था परिषद्को नियमावलीमा छ । प्रश्नपत्र स्नातकोत्तर उपाधि हासिल गरेर अध्ययन-अध्यापन गरिरहेको गुरुहरूले तयार गर्छन् । त्यस प्रश्नपत्रको परिमार्जन सम्बन्धित विषयको विषयगत विज्ञबाट गर्ने व्यवस्था परिषद्को नियमावलीमा उल्लेख छ । तर, अहिले परिषद्को विडम्बना नै मान्नुपर्छ स्नातकोत्तर उपाधि हासिलसमेत नगरेका कामु परीक्षा नियन्त्रक दुर्गा अर्यालले प्रश्नपत्र परिमार्जन गर्छन् भन्दा अचम्म मान्नुपर्दैन । परिषद्मा अहिले यस्तै भइरहेको छ । परीक्षा नियन्त्रकजस्तो संवेदनशील तथा मर्यादित पदमा रहेका व्यक्तिको योग्यतालाई लिएर आमप्राचार्यबीच कानेखुसी चल्नुको साथै शैक्षिक योग्यतामाथि औंला ठड्याउन थालेका छन् । कहिलेसम्म कामु र शैक्षिक योग्यता स्नातकोत्तर हासिल नगरेको परीक्षा नियन्त्रकको भरमा उच्च माध्यमिक शिक्षा परिषद्को परीक्षा नियन्त्रण कार्यालय चल्छ ? यसतर्फ सम्बन्धित मन्त्रालयको ध्यान जानु जरुरी छ ।

अब शेखर पनि प्रधानमन्त्री !
सङ्क्रमणकालको मौका पारेर प्रधानमन्त्री बन्न दौडधुप गर्नेहरूको सूचीमा अर्को एउटा नाम पनि थपिएको छ- डा. शेखर कोइराला । माधव नेपाल, झलनाथ खनाल र बाबुराम भट्टराईले समेत प्रधानमन्त्री बन्ने अवसर पाएपछि डा. कोइरालामा पनि यही मौकामा प्रधानमन्त्री बन्ने इच्छा पलाएको हो । उहाँ प्रधानमन्त्री बनाइदिन हारगुहार गर्दै एघार दिनको नयाँदिल्ली बसाइपश्चात् गत साता मात्र काठमाडौं र्फकनुभएको छ । दिल्लीमा रहँदा डा. कोइरालाले आफ्नो सम्पर्कका नेता तथा उच्चपदस्थ कर्मचारीलाई भेट गरी आफूलाई प्रधानमन्त्री बनाइदिन आग्रह गर्नुभएको थियो । त्यसरी भेटेकामध्ये केहीले शेखर कोइरालालाई प्रधानमन्त्री बनाइदिने वचनसमेत दिएको बुझिएको छ । डा. कोइराला बाबुराम भट्टराईपछिको प्रधानमन्त्री बन्न लालयित रहनुभएको उहाँका निकटवर्तीहरूले जनाएका छन् । माओवादीसँग बाह्रबुँदे सम्झौता गर्नेदेखि गणतन्त्र घोषणा गराउनेसम्मका घटनाक्रममा झापाका कृष्ण सिटौला र डा. अमरेशकुमार सिंहसँगै डा. शेखर कोइराला पनि विशेष भूमिकामा रहनुभएको थियो । तर, शेखर कोइरालामा प्रधानमन्त्री बन्ने ख्वाब पलाएकोबारेमा सिटौला र सिंह दुवै अनभिज्ञ रहेको बुझिएको छ । बरु सिटौला स्वयम् नै प्रधानमन्त्री बन्ने चक्करमा रहेको बताइन्छ ।
बाबुराम भट्टराईपछिको प्रधानमन्त्री भट्टराईको बहिर्गमन कुन तरिकाले हुन्छ भन्ने कुराले निर्धारण गर्ने देखिन्छ । वर्तमान सरकारले लडाकु व्यवस्थापन गरी तत्कालै शान्तिप्रक्रिया पूरा गरेमा नेपाली काङ्ग्रेसका सभापति सुशील कोइराला सर्वपक्षीय सरकारको प्रधानमन्त्री बन्नुहुने सम्भावना प्रबल छ भने
अविश्वासको प्रस्ताव ल्याएर हटाउनुपरेको अवस्थामा नेपाली काङ्ग्रेस संसदीय दलको नेता रामचन्द्र पौडेल नै प्रधानमन्त्री बन्नुहुने निश्चितप्राय: छ । अब यी शेखर कोइरालाले चाहिँ कस्तो अवस्थामा प्रधानमन्त्री बन्न चाहनुभएको हो बुझन सकिएको छैन । प्रचण्ड र झलनाथ खनालको चल्यो भने शेरबहादुर देउवा प्रधानमन्त्री बन्ने सम्भावना छ । जेठ १४ भित्र संविधान बन्न सकेन र संविधानसभा पनि रहेन भने त्यतिबेला राष्ट्रपति डा. रामवरण यादव आफैंले कार्यकारी अधिकार लिने या दलहरूको सम्मतिका आधारमा कसैलाई प्रधानमन्त्री नियुक्त गरिने सम्भावना पनि त्यत्तिकै प्रबल देखिएको छ । त्यस्तो अवस्थामा एमालेका प्रभावशाली नेता केपी शर्मा ओलीदेखि राजपा अध्यक्ष सूर्यबहादुर थापासम्म जोकोही पनि प्रधानमन्त्री बन्न सक्ने कुरालाई अस्वीकार गर्न सकिन्न । तर, प्रचण्ड-बाबुरामहरू अहिले यति सचेत हुनुभएको छ कि आफ्नोअनुकूलको स्थिति निर्माण गर्न कुनै कसर बाँकी नराख्ने सोच उहाँहरूले बनाउनुभएको बताइन्छ । जेठ १४ पछि पनि सकेसम्म बाबुराम नेतृत्वकै सरकारलाई निरन्तरता दिने नभए आफूअनुकूलको कसैलाई प्रधानमन्त्री बनाएर अघि बढने सोचमा प्रचण्ड-बाबुराम रहनुभएको छ । माओवादीको प्राथमिकतामा पनि शेखर कोइराला पर्नुहुने कुनै सम्भावना देखिएको छैन । तर, कोइरालाले आफ्ना लागि लबिङ गर्न भने सुरु गरिसक्नुभएको छ ।

सीपीको भिडियो प्रचण्ड दरबारमा
अध्यक्ष प्रचण्डविरुद्ध निकै आक्रामक रूपमा प्रस्तुत हुँदै आएका माओवादी कन्द्रीय कमिटी सचिव सीपी गजुरेलले विभिन्न जिल्लामा दिएको अभिव्यक्तिको भिडियो लाजिम्पाटस्थित प्रचण्ड दरबारमा पुर्‍याइएको छ । स्रोतका अनुसार गजुरेलले सिन्धुली, कैलाली, पोखरा, कञ्चनपुरलगायतका जिल्लामा गरेको सम्बोधनको भिडियो रेकर्ड प्रचण्डकै निर्देशनअनुसार उनको निवासमा पुर्‍याइएको हो ।
वैद्य पक्षधर जिल्ला नेताहरूले गरेको कार्यक्रममा भाग लिने क्रममा नेता गजुरेलले अध्यक्ष प्रचण्ड र प्रधानमन्त्री बाबुराम भट्टराईविरुद्ध सम्बोधन गरेका थिए । उनले प्रचण्ड र बाबुरामले राष्ट्रहितविपरीत सन्धि सम्झौता गरेको, कुशासन बढाएको, महँगी बढाएको, सङ्घीयताबिनाको संविधान ल्याउने षड्यन्त्रमा सामेल भएकाले ती सबै शक्तिहरूबीच सडक, सदन र पार्टी सबै मोर्चाको प्रयोग गरेर आन्दोलनको तयारी गरेको बताएका थिए ।
उनले पार्टी विभाजन हुन मात्र बाँकी रहेको, प्रचण्ड गद्दार नेताको रूपमा चित्रित हुन थालेको, क्रान्तिलाई विसर्जनवादमा लगेकोलगायतका आरोप लगाएका थिए । स्रोतका अनुसार उक्त भिडियो रेकर्डमा बोलिएको कुरालाई केन्द्रीय कमिटी बैठकमा छलफल गरी गजुरेललाई कारबाही गर्ने तयारी भएको छ । प्रचण्डले बैद्य पक्षका अन्य नेताहरूले गरेको सम्बोधनलाई पनि रेकर्ड गराउँदै आएका छन् ।

छटपटिए मधेसी नेताहरू
मधेसकेन्द्रित दलका नेतालाई भ्रष्टाचारको अभियोगमा एक/एक गरी बद्नामी गराउन लागेको भन्दै सरकारबाट बाहिरनुपर्ने निष्कर्ष मोर्चाका नेताहरूले निकालेका छन् । उनीहरूले पछिल्लो समय सरकार बिनाकारण मधेसी मन्त्रीहरूप्रति खनिएको भन्दै उनीहरूले सरकारसँग रोष प्रकट गरेका छन् । प्रधानमन्त्री भट्टराईले निकै विवादित मन्त्रीहरूलाई साथमै राखी सामान्य घटनालाई आधार मानेर मधेसी मन्त्री मात्रै बर्खास्त गरेको उनीहरूको आरोप छ । सरकारले यो हप्ता मात्र श्रममन्त्री सरिता गिरी र कृषिमन्त्री नन्दनकुमार दत्तालाई बर्खास्त गरेको थियो ।
तराई-मधेस लोकतन्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले सरकारमा रहने या छाड्ने भन्ने विषयमा केही दिनमै मोर्चाको बैठक बसी निर्णय गर्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘पछिल्लो समय हामी सरकारसँग सन्तुष्ट छैनौँ, कुनै पनि बेला बाहिरिन सक्छौँ ।’ मधेसी मोर्चा सरकारबाट बाहिरिनेबित्तिकै भट्टराई नेतृत्वको सरकार ढल्छ । मोर्चाकै बलमा सरकारको नेतृत्व गरे पनि भट्टराईले मधेसीलाई पेल्न खोजेको मोर्चाका नेताहरूको आरोप छ ।
स्वास्थ्यमन्त्री राजेन्द्र महतोले पनि पछिल्लो समय सरकारको नेतृत्वले मधेसी मन्त्रीलाई पेल्न खोजेको आरोप लगाउँदै उनले भने, ‘सरकारले यसरी नै मधेसी मन्त्रीहरूलाई पेल्न खोजेमा मोर्चा सरकारबाट नबाहिरिए पनि हामी बाहिरिन्छौँ ।’ सरकारको नेतृत्वले केहीलाई काखा र केहीलाई पाखा गरेको छ । उनले भने, ‘यतिबेला सरकारको भविष्य हाम्रा हातमा छ, तर उसले हामीमाथि नै प्रहार गर्न खोजिरहेको छ ।’ फोरम लोकतान्त्रिकका अध्यक्ष एवम् गृहमन्त्री विजयकुमार गच्छदारले भने यस विषयमा केही नबताउने बताए । उनले भने, ‘हामीले सरकार छाड्ने या सरकारमा बस्ने भन्ने विषयमा सोचेका पनि छैनौँ र हतपत सरकार छाड्दैनौँ ।

सरकारले गर्‍यो मुख्य काम
महँगी नियन्त्रण गर्ने भन्दै चर्को भाषण गर्दै हिँडेको सरकारले एक महिना नपुग्दै पेटे्रलियम पदार्थमा दुईपटक मूल्य वृद्धि गरेर जनताका नयाँ कोसेली प्रस्तुत गरेका छन् । महँगी रोक्ने र सुशासन कायम गर्ने भन्दै हिँडेका प्रधानमन्त्री बाबुरामले सर्वसाधारण राहत दिनुको सट्टा उल्टै इन्धनमा मूल्य वृद्धि गरेर जनतालाई थप समस्यामा पारेका छन् ।
प्रधानमन्त्री भट्टराईकै निर्देशनअनुसार नेपाल आयल निगमले मंगलबारदेखि लागू हुने गरी पेट्रोल,
डिजेल र मट्टीतेलको भाउ प्रतिलिटर चार/चार रुपैयाँका दरले बढाएको हो । हवाई इन्धन र खाना पकाउने ग्यासबाहेक सबै पेट्रोलियम पदार्थको भाउ बढाइएको नेपाल आयल निगमका प्रवक्ता मुकुन्द ढुङ्गेलले अन्तर्राष्ट्रिय रूपमा इन्धनको मूल्य बढेकाले नेपालमा पनि बढाइएको बताए । मूल्यवृद्धि सँगै काठमाडौंमा पेट्रोलको मूल्य प्रतिलिटर १२० रुपैयाँ पुगेको छ भने, डिजेल र मट्टीतेल ८९ रुपैयाँ प्रतिलिटर पुगेको छ ।
सरकारले गत फागुन दोस्रो साता पेट्रोल तथा डिजेलमा चार रुपैयाँ मूल्यवृद्धि गरेको थियो । त्यसअघि गत फागुनमा ४ गते पनि इन्धनको मूल्यवृद्धि गरेको थियो । त्यतिबेला सरकारले खाना पकाउने ग्यासमा प्रतिसिसिलण्डर एक सय ७५ रुपैयाँ, पेट्रोलमा प्रतिलिटर १० रुपैयाँ तथा डिजेल र मट्टीतेलमा प्रतिलिटर नौ रुपैयाँको दरले मूल्यवृद्धि गरेको थियो । तर, विद्यार्थी सङ्गठनहरूको चर्काे विरोधका कारण माघ १२ गते प्रतिलिटर पेट्रोलमा तीन, डिजेल र मट्टीतेलमा चार तथा खाना पकाउने ग्यासमा प्रतिसिलिण्डर ८५ रुपैयाँले घटाइएको थियो ।
अहिले मूल्यवृद्धि हुँदा पनि निगमलाई मासिक एक अर्ब तीन करोड रुपैयाँ घाटा रहेको निगमको दाबी छ । यसैबीच पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरुद्ध राजधानीलगाययत राजधानीबाहिरका विभिन्न जिल्लामा विद्यार्थी सङ्गठनहरूले विरोध गरेका छन् । उनीहरूले मूल्यवृद्धि फिर्ता नलिए कडा आन्दोलनमा उत्रने चेतावनी दिएका छन् ।

सिटौलाहरूको गोप्य सहमति
संविधान निर्माण कसरी हुँदै छ र के-कस्ता कुराहरू अड्चनको रूपमा रहेका छन् भन्नेबारे संविधानसभाका सदस्यहरूलाई जानकारी नहुनु आश्चर्यजनक भए पनि स्वाभाविक मान्न थालिएको थियो, तर अब प्रमुख पार्टीका प्रमुख नेताहरूलाई समेत थाहा नदिईकन ‘संविधान बनाउने काम’ सुरु भएको छ । प्राप्त जानकारीअनुसार त्यसरी सुटुक्क संविधान निर्माण गर्ने काममा माओवादी अध्यक्ष प्रचण्ड र बाबुराम भट्टराई, नेपाली काङ्ग्रेसको महामन्त्रीसमेत रहेका झापाका कृष्ण सिटौला र एमालेका प्रदीप ज्ञवालीलगायतका व्यक्तिहरू संलग्न हुने गरेका छन् । उहाँहरूबीच पटकपटकको छलफलपश्चात् नेपाललाई जातीय पहिचानको आधारमा कम्तीमा ६ देखि बढीमा आठवटासम्म सङ्घीय राज्यहरू निर्धारण गर्ने सहमति बनेको छ । जसअनुसार लिम्बुवान र खुम्बुवानलाई एउटै राज्य बनाई लिम्बुवान-खुम्बुवान प्रदेश बनाइने र त्यसमा झापासमेत जोडिने, नेवा:-ताम्सालिङ प्रदेश बनाई त्यसमा दक्षिणतिरको निकासको लागि चितवन जोडिने, मगरात-तमुवान नामको राज्य सृष्टि गरी त्यसमा नवलपरासी जोडिने, कर्णाली प्रदेशमा कञ्चनपुर जोडिने सहमति भएको बुझिएको छ । तराईमा पूर्व र पश्चिम दुईवटा राज्यहरूको रचना गरिने बताइएको छ । यसरी माओवादीको इच्छाअनुरूप जातीय पहिचानसहितको राज्य निर्माण गर्न काङ्ग्रेसका सिटौलालगायतले गुप्त सहमति गरेको भए पनि नेपाली काङ्ग्रेस पार्टीले जातीय राज्यको अवधारणामा नजाने निर्णय गरिसकेको छ । त्यसैगरी नेकपा एमालेले पनि जातीय राज्यमा नजाने औपचारिक निर्णय लिइसकेको छ । पार्टीका आधिकारिक निर्णयका विपरीत सिटौलाहरू माओवादीसँग कसरी सहमति गर्न पुगेका हुन् आश्चर्यको विषय बनेको छ । प्रचण्ड, बाबुराम र सिटौलासहितको टोलीबीच संवैधानिक अदालत नबनाउने सहमति पनि भएको छ । उहाँहरूबीच सर्वोच्च अदालतमा एक संवैधानिक बेञ्च राख्ने सहमति बनेको बुझिएको छ । यसरी गुप्त रूपमा भएका निर्णयहरूलाई प्रचण्ड संयोजक रहनुभएको विवाद समाधान उपसमितिमा प्रस्तुत गरेर औपचारिकता दिइने बताइएको छ । तर, नेपाली काङ्ग्रेस र एमालेलगायतका दलहरूले यसप्रकार भएको निर्णयलाई कसरी मान्यता देलान्- प्रतीक्षाको विषय बनेको छ ।

राजधानीमा महायज्ञ
सनातन वैदिक धर्म जागरण र विश्व कल्याण स्वस्तिशान्तिको कामनासहित राजधानीमा श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञ हुने भएको छ । बहुचर्चित महाविद्वान् स्वामी चन्दे्रशजी महाराजको सत्सङ्कल्पमा आयोजित महायज्ञ चैत २३ देखि ३० सम्म बूढानीलकण्ठ आश्रम स्कुलको प्राङ्गणमा सञ्चालन हुनेछ । जहाँ भागवत भाष्कर युवा पण्डित कलमनयन गौतमलगायत विभिन्न सन्त महात्माहरूबाट प्रवचन, भजन, झाँकी प्रदर्शन, रात्रि जागरण आदि कार्य हुने आयोजकहरूले जनाएका छन् । कार्यक्रमअनुसार चैत २३ गते बिहीबार बिहान ८:०० बजे कलशयात्रा, ११:०० बजे उद्घाटन तथा पूर्वाङ्गका कार्यक्रम, २४ गतेदेखि ३० गतेसम्म कथावाचन, साधु महात्माहरूबाट प्रवचन, भजन, सम्मान, झाँकी, रात्रि जागरण आदि हुनेछ । ३० गते प्रवचन, हवन, भजन, लाखबत्ती बाल्ने, प्रसाद वितरण तथा यज्ञ समापन कार्यक्रम हुने बताइएको छ । महायज्ञलाई सफल तुल्याउन नेपाली काङ्ग्रेसका नेता एवम् सभासद् दीपकुमार उपाध्यायको अध्यक्षतामा भागवत मूल समारोह समिति बनाइएको छ । समितिको उपाध्यक्षमा हर्कबहादुर हमाल, कोषाध्यक्ष अर्थविद् एवम् सभासद् डा. तिलक रावल, सहकोषाध्यक्षमा उद्यमी एवम् सभासद् विमल केडिया तथा सदस्यसचिवमा विमल अर्याल रहनुभएको छ । त्यसैगरी नेपाली काङ्ग्रेसका नेता एवम् सभासद् नरहरि आचार्यको संयोजकत्वमा एक सल्लाहकार परिषद् पनि निर्माण गरिएको छ । परिषद्का सदस्यहरूमा सभासद् रवीन्द्र अधिकारी, युवराज कार्की र उद्यमी एवम् सभासद् विनोद चौधरीलगायतका महानुभावहरू रहेका छन् । यस किसिमको महायज्ञले मुलुकमा धर्म चेतनाको जागरण ल्याउने विश्वास आयोजकहरूले गरेका छन् ।
यस महायज्ञका क्रममा दाता तथा भक्तजनहरूबाट चढाइने भेटी तथा अन्य सहयोग बूढानीलकण्ठ आश्रम स्कुलको सञ्चालनमा प्रयोग गरिने सम्बद्ध पक्षले जनाएको छ ।

‘ब्लुफिल्म’को रहस्य उजागर भएपछि…
एउटा उरन्ठेउलो युवकले उन्मत्त जवानीको उचित व्यवस्थापन गर्नुको साटो त्यसलाई विकृत तुल्याएर अवैध कमाइको बाटो बनाउन खोज्दा उसको एक अभिन्न मित्रले ज्यान गुमाउनुपर्‍यो । तर, आफ्नो जघन्य अपराध ढाकछोप गर्न साथीको हत्या गर्न पछि नपर्ने अपराधी यतिबेला खुलेआम घुमिरहेको छ र उसैको कोपभाजनको सिकार बन्ने त्रासका कारण मृतकका परिवारजन एवम् शुभचिन्तकले समेत यतिबेला ज्यान जोगाउन लुकी-लुकी हिँड्नुपरेको छ । हो, गत कात्तिक ११ गते कैलालीमा घटेको एक जघन्य घटनाको पृष्ठभूमि जति रोमाञ्चक छ त्यत्तिकै कारुणिक र पीडादायी छ यसको परिणति ।
कैलाली सहजपुर- ८ का टंकप्रसाद पौडेल र वडा नं. ९ का ओमप्रकाश पौडेल एउटै कोठामा बस्थे । अत्तरियामा समेत सँगै घर भएका उनीहरू छिमेकी साथीभाइ थिए । कोठामा एक दिन टंक पौडेलले एउटा मेमोरी कार्ड देखे र त्यसबारे ओमप्रकाशसँग जिज्ञासा राखे । टंकको स्वाभाविक जिज्ञासाको जवाफ ओमप्रकाशले अत्यन्त अस्वाभाविक रूपमा दियो । उसको जवाफ थियो, ‘यस मेमोरी कार्डमा मेरो आफ्नै सेक्स भिडियो छ, …सँग मैले यौनसम्पर्क राखेको म आफैंले योजनापूर्वक खिचेको हुँ ।’ ओमको यो जवाफ सुनेपछि टंक आश्चर्यमा परे, र तत्कालै उनले यस्तो अनुचित काम गर्नुहुँदैनथ्यो भनी साथीलाई चेतावनीको शैलीमा सम्झाए । यसरी खराब काम नगरेको भए हुन्थ्यो भनी चेतावनीयुक्त सुझाव दिने कार्य नै भलाद्मी स्वभावका युवा टंक पौडेलका लागि प्राणघातक बन्यो । तत्काल त ओमप्रकाशले कुनै नराम्रा प्रतिक्रिया जनाएन, तर भित्रभित्रै भने उसलाई आफ्नो कुकृत्यको रहस्योद्घाटन गरेकोमा पश्चात्ताप भएछ र उक्त रहस्यको जानिफकार साथी टंक पौडेललाई भौतिक रूपमै समाप्त पार्ने निर्णय गर्न पुगेछ ।

झण्डै मन्त्री बनाइए पासवान !
गत हप्ता प्रधानमन्त्री डा. बाबुराम भट्टराईले श्रममन्त्री सरिता गिरीलाई पदमुक्त गरेपछि नयाँ श्रममन्त्रीका लागि सरकारसमर्थित साना दलहरूबीच हानथापको स्थिति देखापर्‍यो । साना दलका सबै नेता मन्त्री बन्ने मौका यही हो भन्ने सोचबाट प्रेरित भएकाले यस्तो स्थिति देखापर्नु अस्वाभाविक पनि थिएन । यो बुझेर प्रधानमन्त्री डा. भट्टराईले साना दलहरूलाई सल्लाह गरेर एकजनाको नाम दिन आग्रह गरेका थिए । जसअनुसार, दलीय संयन्त्रबाट तीनजना सभासद्को नाम चयन भएको थियो, जसमा दलित जनजाति पार्टीका सभासद् विश्वेन्द्र पासवान, नेपा राष्ट्रिय पार्टीका बुद्धरत्न मानन्धर र राष्ट्रिय जनमुक्ति पार्टीका मालवरसिंह थापाको नाम तय गरियो । उनीहरूको नाम आएपछि प्रधानमन्त्री भट्टराईले आवश्यक निकाय एवम् ‘शक्तिकेन्द्र’हरूसँग परामर्श गरी राय मागेका बालुवाटार सूत्रको कथन छ ।
स्रोतका अनुसार नक्कली भारुका कारोबारीका रूपमा समेत चर्चामा आएका विश्वेन्द्र पासवानलाई मन्त्री बनाउने कुरामा प्रधानमन्त्रीले राय मागेजति सबैले विमति जनाए । उनलाई मन्त्री बनाउने होइन बरु उनमाथिका आरोपमाथि छानबिन गरेर कारबाहीको प्रक्रिया अगाडि बढाउनुस् भन्ने सुझाव प्राप्त भयो । त्यस्तै, माओवादीभित्रका प्रोचाइनिज सभासद्हरूले ‘दलाई लामाको दलाल पासवानलाई मन्त्री बनाउन नहुने’ राय दिएका थिए । त्यसपछि भट्टराईले २ नं. मा नाम रहेका बुद्धरत्नलाई मन्त्री बनाउन खोजे । तर, पासवानले नै ‘मेरो कार्यकर्तासरहका सभासद्लाई कुनै पनि हालतमा मन्त्री नबनाउनुस्’ भनी दबाब दिएको बताइन्छ । फलस्वरूप पुराना कम्युनिस्ट नेतासमेत रहेका स्वच्छ छविका मालवरसिंह थापा श्रममन्त्री बनाइए ।
स्मरण रहोस्, संविधानसभाको निर्वाचनमा दलित जनजाति पार्टीका अध्यक्ष विश्वेन्द्र पासवानले आफूनिकट उम्मेदवारहरूलाई नक्कली भारु वितरण गरेको प्रमाणसहितको समाचार केही समयअघि विभिन्न समाचार माध्यमहरूद्वारा प्रकाशित/प्रसारित भएको थियो ।

बैठक भन्दै स्थगित गर्दै
अघिल्ला बैठकले गरेका निर्णयहरू कार्यान्वयनको प्रक्रियामा अघि नबढेसम्म पार्टीको कुनै पनि बैठकमा भाग नलिने अडान उपाध्यक्ष मोहन वैद्य पक्षधर नेताहरूले राखेपछि माओवादी केन्द्रीय समिति बैठक अनिश्चित बन्दै गएको छ । मंगलबार बिहान सात बजेका लागि बैठक बोलाइएको थियो । मंगलबारको केन्द्रीय समिति बैठकका लागि अध्यक्ष प्रचण्ड र उपाध्यक्ष वैद्य पक्षधर नेताहरू बिहान आ-आफ्नै समूहसँगको छलफलमा व्यस्त थिए । प्रचण्ड पक्षधर नेताहरू लाजिम्पाटमा र वैद्य पक्षधर नेताहरू नयाँबजारमा आन्तरिक छलफलका लागि बसेका थिए । स्रोतका अनुसार नयाँबजारमा बसेको वैद्य पक्षधर नेताहरूले यही अवस्थामा बोलाइएको केन्द्रीय कमिटी बैठकमा सहभागी नहुने निर्णय गरेपछि अध्यक्ष प्रचण्डले मंगलबारको बैठक स्थगित गरेका हुन् । पछिल्लोपटक सरकारविरुद्ध आक्रामक रूपमा अघि बढेका वैद्य पक्षधर नेताहरूले अहिले बस्न लागेको भनिएको केन्द्रीय सतितिको बैठकको कुनै औचित्य नभएको र आफूहरूसँग सल्लाह नै नगरी बोलाएको भन्दै बहिस्कार गरिने बताउँदै आएका छन् ।
गत सोमबार बस्ने भनिएको बैठक हिजो मंगलबार बिहान बोलाइएको थियो । तर, मंगलबार पनि वैद्य पक्षधर नेताहरू सहभागी नहुने जनाएपछि बैठक बुधबार बिहान सात बजेसम्मका लागि पुन: सारिएको छ । तर, बुधबार पनि बैठक बस्ने सम्भावना भने अत्यन्त न्यून छ । बैठकमा अध्यक्ष दाहालले समसामयिक विषय र पार्टी विवादबारे प्रतिवेदन पेस गर्ने कार्यक्रम थियो । उपाध्यक्ष वैद्यले प्रधानमन्त्री बाबुराम भट्टराईले राजीनामा दिएर राष्ट्रिय सहमतिको सरकार गठनका लागि मार्ग प्रशस्त गर्नेलगायतका अघिल्लो केन्द्रीय कमिटी बैठकमा निर्णय भएको र निर्णय कार्यान्वयन प्रक्रियमा नभएको भन्दै स्थापन पक्षको विरोध गरेका छन् ।
‘दुई महिना लगाएर गरेको अघिल्लो बैठकले गरेका निर्णयहरू कार्यान्वयन नगर्ने र फेरि बैठकको नाटक मञ्चन गरेर हामीलाई अलमल्याउन मात्र खोजेको हो,’ वैद्यनिकट सचिव सीपी गजुरेलले भन्नुभयो, ‘अघिल्लो बैठकले गरेका निर्णय कार्यान्वयन नभएसम्म बैठक बस्नुको कुनै औचित्य नै छैन, त्यसैले हामीले बैठक बहिस्कार गरेका हौँ ।’ ‘अघिल्लो बैठकले गरेकामध्ये कार्यान्वयन भइसक्नुपर्ने धेरै निर्णय अहिलेसम्म पनि जस्ताको तस्तै रहेकाले ती निर्णय कार्यान्वयनका लागि सङर््र्घषका कार्यक्रमसमेत घोषणा गरेका छौँ र त्यसलाई थप प्रभावकारी बनाएर अगाडि लैजान्छौँ,’ गजुरेलले भन्नुभयो ।
राष्ट्रिय सहमतिको सरकार गठनका लागि प्रधानमन्त्रीले राजीनामा दिएर मार्ग प्रशस्त गर्ने, सशस्त्र जिम्मेवारीसहित सम्मानजनक समायोजन, बेपत्ता छानबिन र सत्यनिरूपण आयोग गठन हुनुपर्ने, राष्ट्रिय स्वाधीनताका लागि असमान सन्धि, सम्झौता खारेज हुनुपर्नेलगायतका निर्णयहरू गरेको उहाँले बताउनुभयो ।

सगरमाथाको नाममा चन्दा
एमाओवादी अध्यक्ष प्रचण्डले पुत्र प्रकाशको सगरमाथ चढ्ने योजना सफल पार्न भन्दै उद्यमी तथा व्यापारीसँग आर्थिक सहयोग गरिदिन आग्रह गरेका छन् । उनले शान्ति र संविधान निर्माणमा दबाब दिने उद्देश्यले अगाडि बढाइएको उक्त योजनालाई सफल पार्नुपर्ने भन्दै व्यापारीहरूसँग आर्थिक सहयोग गर्न आग्रह गरेका हुन् । अध्यक्ष प्रचण्डको दबाबमा सरकारले प्रकाशको टोलीलाई दुई करोड दिने निर्णय गरेको थियो । तर, सरकारको उक्त निर्णयको चौतर्फी विरोधपछि उक्त रकम नलिने घोषणा गरेको थियो । प्रचण्डकै आग्रहअनुसार माओवादी समर्थक पर्यटन व्यवसायीहरू आर्थिक सहयोग सङ्कलन कार्यमा जुटेका छन् । उनीहरूले पर्यटन व्यवसायीको नाम तोकेर चन्दा उठाउन थालेका छन् । स्रोतका अनुसार पहिलो चरणमा चलेका व्यवसायीहरूसँग रकम लिने र त्यसपछि दोस्रो चरणमा अन्य व्यवसायीसँग चन्दा उठाउने तयारी गरेका छन् । ठमेलका एक पर्यटन व्यवसायीका अनुसार प्रचण्डनिकट माओवादीका केन्द्रीय नेताहरूले फोन गरेर नै चन्दा दिन भनेको बताए । ती नेताका अनुसार एकजना पर्यटन व्यवसायीबाट कम्तीमा दश हजार उठाउन उर्दी जारी गरिएको छ ।

वैदेशिक रोजगारमा चलखेल
घुस रकममा पनि लैङ्गिक विभेद
वैदेशिक रोजगार विभागको अनियमितता रोक्न प्रधानमन्त्रीकै तदारुकतामा महानिर्देशक नियुक्त गरेर पठाइएका पूर्णचन्द्र भट्टराईलाई चार महिनामै विभागीय सरुवा गरेपछि सरिता गिरीले मन्त्री पदबाट हात धुनुपरेको छ । तत्कालीन श्रममन्त्री गिरीद्वारा नियुक्त गरिएका महानिर्देशक मानबहादुर विश्वकर्माको स्थानमा नवनियुक्त मन्त्री एमएस थापा मगरले पुन: पुर्णचन्द्र भट्टराईलाई बहाली गराएका छन् भने दोहोर्‍याएर महानिर्देशकको जिम्मेवारी पाएका भट्टराईले विभागभित्रको अनियमितता र घुस लेनदेनलाई निर्मुल गर्ने आफ्नो प्रमुख एजेण्डा रहेको बताएका छन् । तर, महानिर्देशकको यो अठोट खोक्रो रहेको चर्चा विभागभित्रै चल्न थालेको छ ।
एक वर्षको अवधिमा विभागमा पाँच महानिर्देशक परिवर्तन भइसकेका छन् । मोहनकृष्ण सापकोटालाई हटाएर नरेन्द्रराज शर्मा, शर्मालाई हटाएर चन्द्रमान श्रेष्ठ, श्रेठलाई हटाएर पूर्णचन्द्र भट्टराई र भट्टराईलाई हटाएर विश्वकर्मा आए पनि पुन: भट्टराई नियुक्त भएपछि संख्या पाँच पुगेको हो । तर, महानिर्देशक जतिपटक परिवर्तन भएपनि दैनिक करोडौँको भ्रष्टाचार हुने कार्यालयका रूपमा कहलिएको वैदेशिक रोजगार विभागका कर्मचारीले घुस लिएर मानव तस्करीलाई वैधानिकता प्रदान भने गरिरहेकै छन् र मूलधारका राजनीतिक दलहरूले त्यसलाई सहयोग गरिरहेका बुझिन्छ ।
श्रमस्वीकृति ननिस्किएर थन्किएका ‘पिसी’ ?फोटो परिवर्तन) गरेका पासपोर्टहरूलाई विभागको सम्बन्धित फाँटका कर्मचारीहरूले बिदाका दिन पनि एजेन्ट र पियनका घरघरै गएर सही गर्ने गर्छन् । विभाग स्रोतको दाबीअनुसार अन्तिम स्वीकृति शाखाका नायव सुब्बा केशव भण्डारी पाँच बजेपछि एजेन्टका फोनमा सम्पर्क गर्न थाल्दछन् भने घुस रकम नपाए भोलिपल्ट एजेन्ट कामका लागि विभाग नगए पनि हुन्छ । एक म्यानपावर कम्पनीका एजेन्टले पनि यो कुरा सत्य रहेको बताए । अन्तिम स्वीकृतिमा सेटिङ गरेर श्रमस्वीकृति निकाल्दा रोजगारीमा जान चाहने पुरुषका लागि प्रतिव्यक्ति सात हजारदेखि माथि र प्रतिमहिला दश हजारदेखि माथि घुस असुल्ने गरिएको छ ।
कागजात नमिलेका भिसालाई नक्कली पूर्वस्वीकृति निकालेर फाइल बेच्ने व्यवसायीको पुरानै चलन मानिन्छ । नक्कली पूर्वस्वीकृतिमा म्यानपावरबाट जानेहरू विदेशमा अलपत्र पर्छन् भने व्यक्तिगत भिसा निकालेर यस्तो पूर्वस्वीकृतिमा जाँदा चर्को रकम घुसबापत तिर्नुपर्ने हुन्छ । यस्ता म्यानपावरलाई विभागले खारेजसमेत गर्न सक्छ । तर, घुसकै भरमा जानीजानी स्वीकृति दिइएको छ । नक्कली फाइलमा पूर्वस्वीकृतिअनुसार अन्तिम स्वीकृति मिल्दैन । फरक-फरक कम्पनीको भिसा एउटै पूर्वस्वीकृतिको फाइलमा हालेर स्वीकृत गर्ने गरिन्छ । यसरी जाँदा विमानस्थलमा समेत सेटिङ गर्नुपर्ने हुन्छ ।
अन्तिम स्वीकृति लिएर दैनिक एक हजारको हाराहारीमा नेपाली कामदार विदेशिने गरेका छन् । विभागको अन्तिम स्वीकृति शाखामा अधिकृतहरू प्रमिला आचार्य र तुलसा सेर्ढाईं खटिएका छन् भने उनीहरूलाई भण्डारीले साथ दिएको स्रोतको कथन छ । बताइएअनुसार सन्ना इन्टरनेसनल रिक्रुटिङ र्सर्भिसका तर्फबाट एजेन्ट सोम ढकालले व्यक्तिगत श्रमस्वीकृति निकाल्नुपर्ने पासपोर्टलाई नक्कली फाइलमा हाली धमाधम अन्तिम श्रमस्वीकृति निकालिरहेका छन् ।
व्यक्तिगत प्रयासमा वैदेशिक रोजगारीका लागि जाने नयाँको हकमा विभागले सम्बन्धित देशको दूतावास र चेम्बर प्रमाणित हुनुपर्ने नियम राखेको छ । यीमध्ये कुनै एउटा प्रमाणित हुँदासमेत श्रमस्वीकृति दिइँदैन, इन्टरनेटमा देखिएन भनेर फर्काइन्छ । र, एजेन्टले घुस लिएर गएपछि तुरुन्तै श्रमस्वीकृति निस्कन्छ । अर्कोतर्फ नेपाली दूतावासले कागजात प्रमाणित गरेर इन्टरनेटमा राख्न एक महिना लाग्छ भने दुई महिनामा भिसाको म्याद सकिन्छ । यसरी विभाग र दूतावासको मिलेमतोमा सर्वसाधारणलाई ठग्ने काम भएको एक एजेन्टले जनाए ।
भिसा मात्रै भएकालाई व्यक्तिगत शाखामा प्रतिपुरुष बीस हजार र महिलालाई ३५ हजार नघर्टाईकन घुस लिने चलन छ । यो नयाँ श्रमस्वीकृतिको घुसदर भएको दाबी गरिएको छ । दूतावास या चेम्बर प्रमाणितलाई सातदेखि दश हजारसम्म लिइन्छ । यसरी दैनिक व्यक्तिगत श्रमस्वीकृति निकालेर आठ सयदेखि एक हजार विदेश जाने गर्दछन् । अर्कोतर्फ दूतावास या चेम्बर प्रमाणित कागजात म्यानपावरबाट आउने हुँदा कर्मचारीले थाहा पाइहाल्छन् र जानी-जानी म्यानपावरबाट आएका व्यक्तिहरूलाई व्यवसायीबाट घुस लिएर विभागले व्यक्तिगत श्रमस्वीकृति दिने गरेको छ । म्यानपावरबाट आएको प्रमाणित भएपछि सम्बन्धित म्यानपावरलाई कारबाही गर्नुको सट्टा विभागले सीधै घुस लिएर श्रमस्वीकृति दिने गर्दछ ।
विभागको विमानस्थलस्थित ‘लेवर डेस्क’मा बसेर आएका गोपाल दाहाल अहिले व्यक्तिगत श्रमस्वीकृति शाखामा ?नयाँ)मा छन् । विमानस्थल हुँदा एजेन्टसँग मिलेर नक्कली स्टिकर लगाएका पासपोर्टलाई घुस लिँदै छाड्दै गर्ने दाहालले व्यक्तिगत शाखाका अन्य कर्मचारीले नआँटेको/नगरेको व्यक्तिगत श्रमस्वीकृतिको काम मनपरी घुस लिँदै गर्न थालेको स्रोतले उल्लेख गरेको छ । दाहाल विमानस्थल बस्दा एजेन्टमार्फत सेटिङ गरेर पठाएका एजेन्टका ढोकाढोकामा रकम असुल्न पुग्दथे भन्ने एक एजेन्टको कथन छ । बताइएअनुसार सापकोटा थर गरेका एक एजेन्टलेचाहिँ नक्कली स्टिकरको काम गर्ने गर्छन् । उनले गत माघ महिनामा मात्रै जेठी श्रीमतीलाई घर्रखर्चका लागि पाँच लाख दिएका थिए । दिनदिनै क्यासिनो नगइनहुने श्रीमतीको बानीका कारण उनले नक्कली कारोबार गर्नुपरेको थाहा हुन आएको छ । मानव तस्करी र नक्कली कारोबारकै आडमा उनले गाडीसमेत किन्न भ्याएका छन् । यस्तो अवस्थामा पुन: महानिर्देशकको जिम्मेवारी लिएर अवैध क्रियाकलाप निर्मुल गर्ने अठोट लिएर आएका भट्टराईले कस्तो कदम चाल्ने हुन्, प्रतीक्षाको विषय बनेको छ ।-रोजिना केसी

जागरण तथा शान्ति अभियानमा धनकुटा काङ्ग्रेस
धनकुटा/ शान्ति र संविधानका लागि नेपाली काङ्ग्रेस धनकुटाले गाउँँ जागरण अभियान सञ्चालन गरेको छ । नेपाली काङ्ग्रेस धनकुटाका सभापति मनोहरनारायण श्रेष्ठको सभापतित्वमा जिल्ला कार्य समितिका पदाधिकारी तथा सदस्यहरू, महासमिति सदस्य, सभासद्, भ्रातृ तथा शुभेच्छुक संस्थाका प्रमुखलगायतको बृहत् सहभागितामा बैठक गरी गाउँँ जागरण तथा शान्ति अभियान सुरु गरेको पार्टी प्रचार विभाग प्रमुख विजयसन्तोषी राईले जानकारी दिनुभयो ।
अभियानअन्तर्गत पूर्वप्रधानमन्त्री तथा वरिष्ठ नेता शेरबहादुर देउवा र चर्चित युवा नेता गगन थापाले धनकुटामा चैत २२ गते सम्बोधन गर्ने कार्यक्रम रहेको छ । सो कार्यक्रमलाई भव्य रूपमा सफल बनाउन विभिन्न समितिहरूसमेत गठन गरिएको छ ।
समितिमा सभासद् लीला सुब्बाको संयोजकत्वमा आर्थिक, लाखमान राईको संयोजकत्वमा सांस्कृतिक, विजयसन्तोषी राईको संयोजकत्वमा प्रचारप्रसार, नवीनकिशोर शाक्यको संयोजकत्वमा मञ्च व्यवस्थापन, अग्नि पौडेलको संयोजकत्वमा यातायत, सीता प्रधानको संयोजकत्वमा स्वागत, विष्णु पौडेलको संयोजकत्वमा आवास तथा भोजन व्यवस्थापन र रोशन श्रेष्ठको संयोजकत्वमा स्वयम्सेवक परिचालन समिति गठन गरिएको सभापति मनोहरनारायण श्रेष्ठले जानकारी दिनुभयो । यसैगरी गाउँ जागरण तथा शान्ति अभियानलाई सफल बनाउन धनकुटा नगरपालिका र जिल्लाका ३५ वटै गाविसमा जिल्ला सदस्यलाई जिम्मेवारी दिई परिचालन अभियान सञ्चालन गरिएका प्रचार विभाग प्रमुख विजयसन्तोषी राईले बताउनुभयो ।-शरु राई

क्लबको वारि्षकोत्सव शान्ति र संविधानका लागि
शान्ति र संविधानको सुनिश्चितताका लागि शीर्ष नेताहरूको घरघरमै गई साक्षात्कार र ज्ञापनपत्र बुझाएर निरन्तर दबाब दिँदै आएको रिपोर्टर्स क्लब नेपालले आगामी १७ गते आफ्नो स्थापना दिवसलाई ‘शान्ति र संविधान रिपोर्टर्स क्लबको अभियान’ भन्ने नाराका साथ मनाउँदै छ ।
यही चैत १७ र १८ गते दुई दिन मनाइने स्थापना दिवसको पहिलो दिन राजधानीको राष्ट्रिय सभागृहमा राष्ट्रपति डा. रामवरण यादव, उपराष्ट्रपति परमानन्द झा, प्रधानमन्त्री डा. बाबुराम भट्टराई, सभामुख सुवास नेम्वाङ, माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, काङ्ग्रेस सभापति सुशील कोइराला र एमाले अध्यक्ष झलनाथ खनालसहित उपप्रधानमन्त्री, मन्त्रीहरू, संविधानसभामा प्रतिनिधित्व गर्ने सबै दलका शीर्ष नेताहरू, नागरिक समाज, उद्योगी-व्यवसायी र बुद्धिजीवीहरूबीच बृहत् अन्तर्त्रिmयाको आयोजना गर्दै छ ।
जेठ १४ सम्ममा शान्तिप्रक्रिया निष्कर्षमा पुर्‍याउँदै संविधान जारी गर्न साझा रूपमा दबाब दिने उद्देश्यले क्लबले आफ्नो स्थापना दिवसलाई शान्ति र संविधानको सुनिश्चिततामा केन्द्रित गर्ने योजना बनाएको क्लबका अध्यक्ष ऋषि धमलाले जानकारी दिए ।
क्लबले चैत १८ गते भने राजधानीमै भारतीय प्रभावशाली शीर्ष नेताहरूलाई नेपाल निम्त्याएको छ । सो दिन भारतीय नेताहरूसँग नेपाल-भारत सम्बन्ध र नेपालको शान्ति संविधान निर्माण प्रक्रियाको विषयमा अन्तर्त्रिmया कार्यक्रमको समेत आयोजना गर्नेछ । विगतमा जस्तै यस वर्ष पनि रिपोर्टर्स क्लब नेपालले पत्रकारिता क्षेत्रमा उत्कृष्ट योगदान पुर्‍याएका पत्रकारहरूलाई स्वर्गीय गिरिजाप्रसाद कोइराला, तारणीदत्त कोइराला, कृष्णसेन इच्छुक, बाबु छिरिङ फोटो पत्रकारितालगायतका पुरस्कार प्रदान गर्ने अध्यक्ष धमलाले जानकारी दिए ।-बैकुण्ठ ढुंगाना

नवलपरासीमा दुई कार्यक्रम
नवलपरासी जमुनियाँ गाविसमा आयोजित एक कार्यक्रममा वक्ताहरूले सहकारी कार्यक्रमको माध्यमबाट समुन्नत समाजको निर्माण गर्न सकिने बताएका छन् । उनीहरूले सहकारीले उद्यमशीलताको विकास गर्दै नागरिकलाई स्वावलम्बी बनाउने हुँदा सहकारी शिक्षा र कार्यक्रलाई घरपरिवारबाटै सुरु गर्न सुझाव दिए ।
वाल्मीकि बचत तथा ऋण सहकारी संस्था लि. गोपीगञ्जको आयोजनामा अन्तर्राष्ट्रिय सहकारी वर्ष २०१२ को उपलक्ष्यमा सहकारी विकाससम्बन्धी अन्तरक्रिया कार्यक्रममा बोल्ने वक्ताहरूले यस्तो धारणा राखेका हुन् ।
संस्थाका अध्यक्ष गणेशप्रसाद पोखरेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जिल्ला सहकारी सङ्घका केन्द्रीय प्रतिनिधि वृहस्पति अधिकारी प्रमुख अतिथिका रूपमा निम्त्याइएका थिए भने चन्द्रज्योति बस्याल, लीला डुम्रे, नारायणप्रसाद अधिकारी, थुकरन मिश्रालगायतले मन्तव्य दिएका थिए ।
उता, रूपौलिया गाविसस्तरीय महिला सञ्जालले महिलाको पाठेघरसम्बन्धी एकदिवसीय जनचेतनामूलक तालिम रूपौलियामा सम्पन्न गरेको छ । महिला सञ्जालकी अध्यक्ष हरिकला गिरीको अध्यक्षता तथा उपस्वास्थ्यचौकी प्रमुख अशोककुमार पाण्डेयको प्रमुख आतिथ्यतामा सम्पन्न तालिममा एक सय १५ महिलाको सहभागिता रहेको सञ्चालिका इन्दिरा उपाध्यायले बताइन् ।

गाई काट्ने पक्राउ
पृथ्वी राजमार्गको धादिङ थाक्रे- ९ मा गत आइतबार काठमाडौंबाट चितवनतर्फ गइरहेको ना.३ख ३०५८ नम्बरको ट्रकले बा.४४प १७ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार दुई व्यक्तिको घटनास्थलमै मृत्यु भएको र मृतकहरूको परिचय खुल्न नसकेको प्रहरीले जनाएको छ । यसैगरी, ललितपुरको बाँडेगाउँ दमाईटारमा गाई काट्ने दुई व्यक्ति गाईको मासुसहित पक्राउ परेका छन् । सो अपराधमा पक्राउ पर्नेहरूमा संखुवासभा घर भई दमाईटार बस्ने ३६ वर्षीय क्षत्रे तामाङ र लेलेका ४६ वर्षीय लालबहादुर तामाङ रहेका छन् ।
यसैबीच ललितपुर उमनपा- ३ का ४५ वर्षीय दीपक पुजारी नाइकेलाई प्रहरीले लागूऔषध खैरो हेरोइनसहित पक्राउ गरेको छ । प्रहरीले गत सोमबार उनलाई मैतीदेवी सेतोपुलबाट लागूऔषध खैरो हेरोइन ४ ग्राम, नगद ४६ हजार रुपैयाँ, मोबाइल २ थान र लाइसेन्ससहित पक्राउ गरेको थियो ।

शुभशंकरलाई पितृशोक
एबीसी टेलिभिजनका समाचारप्रमुख शुभशंकर कँडेललाई पितृशोक परेको छ । टेलिभिजन एडिटर्स गिल्डका सदस्यसमेत रहेका कँडेल एवम् उनका परिवारजनमा परेको शोकप्रति टेलिभिजन एडिटर्स गिल्डले दु:ख र समवेदना प्रकट गर्दै शोकमा धर्ैयधारण गर्ने शक्ति मिलोस् भन्ने कामना गरेको छ । कँडेलका ८६ वर्षीय पिता पृथ्वीप्रसाद कँडेलको चैत ४ गते चितवनको भरतपुरस्थित निवासमा निधन भएको थियो ।

आईर्एमईमार्फत भारतबाट रेमिट्यान्स कारोबार सुरु
विश्वका विभिन्न मुलुकबाट रेमिट्यान्स साझेदारहरूमार्फत सहकार्य गरी रेमिट्यान्स सेवा प्रदान गर्दै आएको आईर्एमई र ग्लोबल बैंकले भारतबाट पनि रेमिट्यान्स कारोबारको औपचारिक थालनी गरेकोे छ । भारतको युनाइटेड बैंक र ग्लोबल बैंकबीच भएको सम्झौताअनुसार युनाइटेड बैंक अफ इन्डियाको धर्मतला शाखा कोलकाताबाट गत १० गते शुक्रबारदेखि भएको औपचारिक रेमिट्यान्स कारोबारको उद्घाटन कोलकाताका लागि नेपाली महावाणिज्यदूत चन्द्र घिमिरेले नेपालमा पैसा पठाएर गर्नुभयो । भारतबाट नेपालमा हुने रेमिट्यान्स कारोबारका लागि भारतको युनाइटेड बंैक अफ इन्डिया र नेपालको ग्लोबल बैंक लिमिटेडबीचको सम्झौताअनुसार अब युनाइटेड बैंक अफ इन्डियाका निश्चित शाखाहरूमार्फत पठाउने र नेपालमा ग्लोबल बैंक लिमिटेडका सबै शाखा साथै आईर्एमईका देशभर रहेका झण्डै १८ सय बढी शाखामार्फत भुक्तानी लिन सकिनेछ ।
विश्वका विभिन्न मुलुकबाट आफ्नो विश्वसनीय रेमिट्यान्स सेवा दिन सफल आईर्एमई र ग्लोबल बैंकको सहकार्यमा भएको भारतबाट रेमिट्यान्स कारोबारको थालनीले भारतमा रहेका लाखौँ नेपालीमा नेपालमा पैसा पठाउने वैध बंैकिङ च्यानलमा पहुँचको विस्तार हुनुका साथैै सुरक्षित रेमिट्यान्स सेवाको विस्तार भएको विश्वास ल्ािइएको छ ।

सरकार दुब्लाउँदै कर्मचारी मोटाउँदै
सरकारले आर्थिक स्थिति बलियो बनाउनका लागि अर्थ मन्त्रालयमातहतका कार्यालयहरूलाई कडा निर्देशन दिएर लक्ष्यअनुसार राजस्व वृद्धि गर्न आदेश दिए पनि कार्यालयका कर्मचारीका कारण सफल हुनसकेको छैन ।
सरकारको राजस्व बलियो बनाउनुको साटो तस्करहरूसँगको साँठगाँठको कारण राजस्व अनुसन्धान, भन्सार, राजस्व कार्यालयका कर्मचारी आफू बलियो बन्दै गएका छन् । राजस्व बढाउनका लागि सशस्त्र प्रहरी र राजस्व अनुसन्धान कार्यालयलाई अर्थ मन्त्रालयले पावर दिए पनि दुरुपयोग गर्दै आफू मोटाउने कार्य कर्मचारीहरूले गर्दै आएका छन् ।
र्सलाही जिल्लाबाट जगत श्रेष्ठ, अशोकले वैलवास, सोनवर्षा र ब्रह्मपुरीबाट भन्सार, राजस्व अनुसन्धानका कर्मचारीको मिलोमतो र चोरबाटोबाट अवैध रूपमा सामान भित्र्याएर राजमार्गमा पर्ने सशस्त्र, जनपथ र कर्मचारीलाई मिलाएर एउटै प्रज्ञापनपत्रबाट पटक-पटक सामान काठमाडौं पुर्‍याउने गर्दै आएको स्रोतले जनाएको छ । त्यसैगरी र्सलाही जिल्लाको सदरमुकाम मलंगवाबाट मिथुन चौधरी नामक व्यवसायीले भन्सारका कर्मचारीलाई मिलाएर र चोरबाटोबाट बागमतीस्थित पूर्वपश्चिम राजमार्ग हुँदै अवैध रूपमा सामान लैजाँदै आएका छन् । जनकपुरका दामोदर क्षेत्री, जलान अग्रवालले भारतको जयनगरदेखि जनकपुरसम्म अवैध रूपमा समान ल्याई काठमाडौं पुर्‍याउँदै आएका छन् । रौतहट जिल्लाको सदरमुकाम गौरका सर्वसाधारण सुतेपछि त्यहाँस्थित भन्सार जाग्ने गर्छ र शम्भु साह तथा कौशल साहको सामान कर्मचारीको मिलोमतोमा उनीहरूकै सहयोगमा गोदामसम्म पुर्‍याउने गरिन्छ । महोत्तरी जिल्लाका राजकुमार गुप्ता र रजनिश नाम गरेका व्यापारी यसै धन्दामा सक्रिय छन् भने बङ्कुलबाट सुनिल जयसवाल र धर्मनाथ साह यस्तै कार्यका लागि अब्बल छन् । उनीहरूले भन्सार छली भित्र्याउने गरेका मालसामानहरूमा विशेषत: काजु किसमिस, दाल, कपडा र स्टिल रहेको स्रोतले जनाएको छ ।
मध्यमाञ्चल प्रहरी कार्यालयले यस्ता कार्यलाई निरुत्साहित गर्नका लागि होइन कि बरु बढावा दिनका लागि ठाउँठाउँमा केही घुमुवा र जनपथ प्रहरी नै खटाएको पाइन्छ । तस्करबाट भएको कालो धन्दाको कारबाही होइन सुरक्षाका लागि क्षेत्रीय कार्यालयबाटै विश्वासिलो र भरपर्दो व्यक्ति खटाइएको छ । जसमध्ये महोत्तरी जिल्लाका लागि प्रहरीका घुमुवा प्रहरी नायव निरीक्षक जहावरप्रसाद यादव र मकवानपुर जिल्लाको रातोमाटे गणका घुमुवा मोहन यादव रहेका छन् भने बारा जिल्ला पथलैयास्थित प्रहरी कार्यालयका प्रहरी नायव निरीक्षक देवलाल यादव रहेको स्रोतले जनाएको छ ।
पूर्वपश्चिम महेन्द्र र उत्तर दक्षिणको त्रिभुवन राजमार्गको सङ्गमस्थल पथलैयाजस्तो सानो गाउँमा चेकजाँचका लागि ६ वटा स्थान रहेका छन् ।
सशस्त्र प्रहरी रुद्रवाहिनीअन्तर्गत दुई, जनपथ प्रहरीअन्तर्गत दुई, जिल्ला विकास समितिअन्तर्गत दुई र राजस्व अनुसन्धानअन्तर्गत एक स्थानमा जाँच हुने गरेको पाइन्छ । तर पनि विरलै सामान पक्राउ पर्ने गरेको छ । पक्राउ परेका सामानहरू पनि कारबाही हत्तपत्त भएको पाइँदैन, किनभने चाहे सशस्त्र होस् वा जनपथ प्रहरी, चाहे राजस्व कार्यालय सबैका तस्करहरूसँग साँठगाँठ रहेको छ । त्यसैले उनीहरू देशको राजस्व होइन आफ्नो खाजस्व इमानदारितापूर्वक लिइरहेका हुन्छन् । र, प्रहरी र कर्मचारीले आ-आफ्ना तस्करहरूलाई सहजै छोडिदिन्छन्, जसलाई तस्करको भाषामा लाइन क्लियर भनिन्छ ।-वसन्त खतिवडा

प्रगतिवादी कविताबारे विमर्श
समाज परिवर्तनका लागि प्रगतिवादी कविले आगोको झिल्को बनेर उज्यालो र्छनुपर्नेमा राजधानीमा आयोजित एक कार्यक्रमका वक्ताले जोड दिएका छन् । राष्ट्रिय जनसांस्कृतिक महासङ्घको रजत वर्ष महोत्सवको अवसरमा आयोजित ‘नेपाली प्रगतिवादी कविताका समसामयिक प्रवृत्ति’ विषयक विचार गोष्ठीमा सहभागी सर्जक-स्रष्टाले समाज परिवर्तनका लागि कवि स्रष्टाको सक्रियता आवश्यक रहेकोमा जोड दिए ।
महासङ्घको सातवटा घटकमध्येको एक जनसाहित्यिक मञ्च नेपालले आयोजना गरेको कार्यक्रममा मञ्चका अध्यक्ष डा. जीवेन्द्रदेव गिरीले यो वर्षभरि नै विविध साहित्यिक-सांस्कृतिक कार्यक्रम सञ्चालन गरिने जानकारी दिए । मञ्चले फागुन ६ गते इटहरीबाट साहित्यिक अभियान थालेको हो । रजत वर्ष कार्यक्रम आगामी पुस १९ गते समापन हुनेछ । महासङ्घका अध्यक्ष विजय सुब्बाले जुनसुकै जाति समुदायका स्रष्टा भए पनि उनीहरू इमानदार जात भएको उल्लेख गरे ।
कार्यक्रममा समकालीन नेपाली प्रगतिवादी कविताका प्रवृत्ति विषयमा सहप्राध्यापक हेमनाथ पौडेलले एक कार्यपत्र प्रस्तुत गरेका थिए । उनले ०४६ यताको समकालीन धाराभित्रका प्रगतिवादी कवितामा पाइने प्रवृत्तिहरू, यसका चरण र प्रगतिवादी कविहरूको योगदानबारे उल्लेख गरेका छन् । कार्यपत्रमाथि टिप्पणी गर्दै सहप्राध्यापक फणीन्द्र निरौलाले प्रस्तुत कार्यपत्रले प्रगतिवादी कविताबारे अध्ययन गर्न चाहनेका लागि महत्त्वपूर्ण रूपरेखा कोर्ने काम गरेको भन्दै प्रशंसा व्यक्त गरे । सभासद्समेत रहेका कवि गोपाल ठाकुरले नेपाली भाषाइतर अन्य भाषाका प्रगतिवादी कविबारे कार्यपत्रमा उल्लेख नभएको भन्दै आपत्ति प्रकट गरेका थिए । मैथिली, भोजपुरीलगायतका मातृभाषामा पहिलेदेखि नै प्रगतिवादी धारका कविता लेखिँदै आएकाले तिनलाई बेवास्ता गर्न नहुने उनको तर्क थियो । कार्यक्रममा उपस्थित कविहरू शीतबिन्दु, मोदनाथ प्रश्रति, पूर्णविराम, डम्बर पहाडी, बूँद राना, अनिल पौडेेल, देवी नेपाल, गायत्री विष्टलगायतले प्रगतिवादी चेतनाका कविता वाचन गरेका थिए ।-फणीन्द्र संगम

विश्व कविता दिवसमा काव्य वाचन
काठमाडौं/ काव्यलाई मानव समाजको आरम्भ-आराधनाकालदेखिकै वाणी मानिँदै आएको छ । मान्छेले आफ्नो अन्तरहृदयको ध्वनि अर्थात् भावना व्यक्त गर्ने चलन भाषाको स्वतन्त्र संरचना नबन्दैदेखि गर्दै आएको थियो र त्यो काव्यमय हुन्थ्यो भन्ने विश्वास छ । यसैले मान्छेको सुरु र अन्तिम वाणी पनि कवितालाई नै मानिएको देखिन्छ । मानव समाजको यही आरम्भ-आरम्भिक वाणी, कविता दिवसको उपलक्ष्यमा नेपाली राष्ट्रिय प्रज्ञा प्रतिष्ठानद्वारा आयोजित काज्य वाचन समारोहमा कविहरूले आ-आफ्ना कविता वाचन गरे ।
प्रा.डा. दुर्गाप्रसाद भण्डारीको सभापतित्वमा एवम् प्रतिष्ठानका कुलपति वैरागी काइँलाको प्रमुख आतिथ्यमा भएको उक्त काव्य दिवसमा दुबसु क्षेत्री, महेश पौडेल, राजेन्द्र शलभ, रामेश्वर राउत मातृदास, नवराज लम्लास, देवी नेपाल, रमेशरञ्जन झा, धु्रव मधिकर्मी, हरि अधिकारी, राधेश्याम लेकाली, मोहन दुवाल, कृष्ण धरावासी, अविनाश श्रेष्ठ, मणिराज सिंह, शैलेन्द्र सिंखडा, रावत, विक्रम सुब्बा, भूपाल राई, जेएन पाण्डे हिमाली, विजयी बजिमय, प्रमोद स्नेही, कमला रिसाल, शान्तिप्रसाद बस्याललगायतका कविले आ-आफ्ना सिर्जना वाचन गरेका थिए । नेराप्रप्रका प्रवचनकक्षमा सम्पन्न उक्त काव्य समारोहलाई काव्य-विभाग प्रमुख प्राज्ञ डा. बेन्जु शर्माले स्वागत मतव्य दिनुभएको थियो । धन्यवाद ज्ञापन गर्दै प्राज्ञ विष्णु प्रभातले कविहरूले काव्य साधनको माध्यमबाट नेपाल र नेपालीको पहिचान विश्व जनसमुदायसम्म पुर्‍याउन लाग्नुपर्ने विचार राख्नुभएको थियो ।