बाबुरामले वचन पाए तर कोठाभित्र

बाबुरामले वचन पाए तर कोठाभित्र


मुलुकमा सहमतिको सरकार गठन हुनुपर्छ भन्ने आवाज उठाउँदै आएको माओवादी पार्टीको नेतृत्व आफ्नै दलभित्र सर्वसहमति बनाउन नसक्ने अवस्थामा पुगेको छ । पार्टीले बितेका एक वर्षभित्र केहीपटक बैठक बसी प्रचण्डलाई नै प्रधानमन्त्री बनाउने निर्णय त दोहोर्‍याइ-तेहेर्‍याइ गरेको छ । तर, राष्ट्रिय सहमति भन्नेबित्तिकै कसलाई प्रधानमन्त्री बनाउने भन्ने विषयमा सबै दलहरूको राय पनि उत्तिकै महत्वपूर्ण हुन्छ भन्ने यथार्थलाई माओवादीले बुझन खोजिरहेको छैन । र, प्रचण्डकै नेतृत्वमा सरकार बन्नुपर्छ भन्ने एकोहोरो रट लगाइरहेको छ । जब कि अन्य दलहरू माओवादी नेतृत्वमा सरकार गठन भए पनि प्रधानमन्त्रीचाहिँ डा. बाबुराम भट्टराई हुनुपर्छ भन्ने धारणा राख्छन् । माओवादीभित्र पनि कतिपय नेता तथा ‘सिनियर’ कार्यकर्ताहरू बाबुरामकै नेतृत्वमा सरकार बनोस् भन्ने चाहन्छन् । तर प्रचण्ड, मोहन वैद्य किरण र रामबहादुर थापा बादललगायतका नेताहरू कुनै पनि हालतमा सरकारको नेतृत्व बाबुरामको हातमा जानुहुँदैन भन्नेमा दृढ छन् । यसैबीच गत साताको मंगलबार डा. भट्टराई प्रचण्डको निवासस्थानमा गई भावी प्रधानमन्त्रीका बारेमा लामो छलफल गर्नुभएको जानकारी प्राप्त हुन आएको छ । भट्टराईले प्रधानमन्त्री बन्न प्रचण्डलाई शुभकामना दिँदै भन्नुभयो, ‘तपार्इं प्रधानमन्त्री बन्नुहोस् त्यसमा मेरो साथ, सहयोग र समर्थन रहन्छ, तर तपार्इं बन्न नसक्नुभएमा मेरा लागि तपाईंले समर्थन दिन नमिल्ने हो र -‘ डा. भट्टराईको कुराकानी सुनेपछि प्रचण्डले ‘म नभएको अवस्थामा हाम्रो पार्टीबाट तपाईं नै प्रधानमन्त्री बन्नुपर्छ, अरू को छ र -‘ भनी भट्टराईलाई सान्त्वना दिनुभयो । भट्टराईले कोठाभित्र भनिएका कुराको कुनै अर्थ नरहने जवाफ फर्काउनुभएपछि प्रचण्डले आफू सार्वजनिक रूपमै बाबुराम भट्टराई प्रधानमन्त्रीमा आफ्नो विकल्प भएको बताउने वचन
दिनुभएको थियो । तर, एक साता बितिसक्दा पनि प्रचण्डले आफ्नो पार्टीका तर्फबाट वैकल्पिक प्रधानमन्त्री भनी डा. भट्टराईको नाम कतै लिनुभएको छैन ।
माओवादीभित्र यतिबेला उपाध्यक्ष डा. बाबुराम भट्टराईको वर्चस्व बढेर गएको विश्वास गरिन्छ । संविधानसभाको म्याद थप्नुपर्छ भन्ने उहाँको वैचारिक लाइनले यसपटक माओवादीलाई समाप्त हुनबाट जोगाएको छ । राजाको शाही शासनका बेला संसद्वादी दलहरूसँग मिलेर राजतन्त्र खत्तम पार्ने भट्टराईको पुरानो लाइनअनुसार नै माओवादीको हैसियत यो अवस्थामा आइपुगेको हो । तर, मुलुकमा भएको राजनीतिक परिवर्तनको जस प्रचण्ड एक्लैले लिन खोज्दा पनि डा. भट्टराईले केही पनि बोल्नुभएको थिएन र छैन । डा. भट्टराईले नै देखाएको बाटोमा माओवादी हिँडिरहेको भए पनि उहाँ कहिल्यै सर्वोच्च नेता बन्न सक्नुभएको छैन । तर, यसपटक पार्टीभित्रको बलियो बहुमत उहाँलाई प्रधानमन्त्री बनाएर माओवादी नेतृत्वमा नयाँ संविधान जारी भएको हेर्ने पक्षमा उभिएको छ र डा. भट्टराईलाई त्यो हैसियतमा पुर्‍याउनका लागि अरू दलहरूले पनि साथ दिने आश्वासन नै दिइसकेका छन् । यतिबेला उहाँका लागि प्रधानमन्त्री बन्नबाट खतरा अरू कोहीबाट नभएर प्रचण्डबाट मात्रै रहेको छ । र, जालझेलपूर्ण तरिकाबाट डा. भट्टराईलाई प्रधानमन्त्री बन्नबाट रोकेर प्रचण्डले कृष्णबहादुर महरा वा नारायणकाजी श्रेष्ठलाई प्रधानमन्त्रीका लागि अघि सार्नुभयो भने पनि आश्चर्य हुनेछैन ।
पार्टीभित्र सङ्गठनमा होल्ड जमाउने नाममा कहिले किरण त कहिले डा. भट्टराईलाई एक-अर्कोमा उचाल्दै आएको प्रचण्डको युद्धकालीन रणनीति यसपटक असफल मात्र नभएर सम्पूर्ण रूपमा समाप्त नै भएको टिप्पणी कार्यकर्तापङ्क्तिमाझ छ । वैधानिक प्रक्रियाबाट जानुपर्ने भट्टराईको लाइन र उग्रक्रान्तिकारी छवि बचाएर पार्टीलाई सम्भावित युद्धको तयारीकै लागि लैजानुपर्ने किरणको लाइनको बीच्ामा बसेर खुट्टा हल्लाएका प्रचण्डका लागि अब माओवादीभित्र स्पेस बनाउन निकै गाह्रो देखिएको पार्टीका जुझारु नेताहरूको भनाइ छ ।
जेठ १४ पछि माओवादी अध्यक्ष प्रचण्डले सार्वजनिक रूपमा केही पनि बोल्न सक्नुभएको छैन । प्रधानसेनापति प्रकरणदेखि हरेक रणनीतिक मुद्दामा पछि फर्किंदै गएको माओवादी नेतृत्वका लागि अब अघि जाने वा पछि जाने कुनै पनि राजनीतिक मुद्दा छैन । तर, यतिबेला, वरिष्ठ उपाध्यक्ष किरणको बोलीमा नरमपन आउन थालेको छ भने उपाध्यक्ष भट्टराई भने उत्साहित हुनुहुन्छ । अध्यक्ष प्रचण्डको हैसियतलाई कमजोर पार्न माओवादीमा तेस्रो धारको दबाबमूलक समूहका रूपमा स्थापित हुँदै गरेका नेताहरू नेत्रविक्रम चन्द, वर्षमान पुन अनन्त, देवेन्द्र पौडेल, राम कार्की, खड्गबहादुर विश्वकर्मा, गंगा श्रेष्ठको समेत भट्टराईलाई समर्थन रहेको छ । विगतमा पनि प्रचण्डको विरोधमा पार्टी बचाउनका लागि चुनवाङ बैठकमा डा. भट्टराईलाई र गत वर्ष खरिपाटी भेलामा पार्टीलाई सक्रिय बनाउन मोहन वैद्य किरणलाई सहयोग गरेको यो समूहले पुनः प्रचण्डविरोधी डा. भट्टराईलाई नै समर्थन गर्न पुगेको छ । प्रचण्डको महत्वाकाङ्क्षालाई बुझेको यो धारले उहाँको विपक्षमा रहने वरिष्ठ नेताहरूलाई साथ दिँदै आएको छ । त्यसले पनि प्रचण्डका लागि माओवादीभित्र ठूलो सङ्कट उब्जाइदिएको छ ।

माधवको चाहना सुशील र केपीलाई सभासद
विद्यमान संविधानसभाका सबै सदस्यहरूको हैसियत मनोनीत सरहको हुन पुगेपछि केही जिम्मेवार नेताहरूलाई पनि संविधानसभामा पुर्‍याउन पहल सुरु भएको छ । पार्टीका जिम्मेवार नेताहरूलाई सभासद् बनाइँदा संविधान निर्माण कार्यले गति लिने विश्वासका साथ यसप्रकारको पहल भएको हो र यस कार्यमा प्रधानमन्त्री माधवकुमार नेपालले विशेष अग्रसरता लिनुभएको छ । प्राप्त जानकारीअनुसार प्रधानमन्त्री नेपालले नेपाली काङ्ग्रेसका कार्यवाहक सभापति सुशील कोइराला तथा एमालेका वरिष्ठ नेता केपी शर्मा ओली र भरतमोहन अधिकारीलाई संविधानसभा सदस्य बनाउन तत्परता लिँदै हुनुहुन्छ । सभापति कोइराला त्यसरी सभासद् बन्न अनिच्छुक रहनुभएको छ भने नेता केपी ओली पनि भरसक सभासद् नबनाइयोस् भन्ने सोचमा नै रहनुभएको छ । तर, प्रधानमन्त्री नेपाल भने उहाँहरूलाई जसरी भए पनि मनाउनुपर्छ भन्नेमा हुनुहुन्छ र, उहाँहरूको सभामा प्रवेश हुँदा सभाको गरिमा बढ्ने र संविधान निर्माण कार्यलाई गति मिल्नेमा प्रधानमन्त्री विश्वस्त हुनुहुन्छ । माधव नेपालले करिब एक महिनाअघि सम्पन्न एमाले स्थायी समितिको बैठकमा नै केपी ओली र भरतमोहनलाई सभासद् बनाउन प्रस्ताव गर्नुभएको थियो । तर, त्यसबेला गम्भीरताका साथ अघि बढाइएन । उहाँहरूको नियुक्तिको निम्ति छिट्टै नै औपचारिक प्रक्रिया सुरु हुने बताइएको छ । ओलीलाई संविधानसभामा पुर्‍याइने कुरा मात्रले पनि माओवादीमा अस्वाभाविक प्रतिक्रिया उत्पन्न भएको छ । कतै यही समीकरण कायम राख्दै माधव नेपालपछि ओलीलाई पो प्रधानमन्त्री बनाइने हो कि भनी माओवादी सशंकित भएको बुझिन्छ । त्यसैले माओवादी सञ्चारमाध्यमहरूले नियुक्ति प्रक्रिया सुरु नहुँदै ओलीको विरुद्ध ‘जेहाद’ छेडेका छन् । यता नेपाली काङ्ग्रेसका सभापति सुशील कोइराला भने आफू पार्टी सङ्गठनमा नै केन्द्रित रहन चाहनुहुन्छ, उहाँ तत्काल कुनै लाभको पदका निम्ति इच्छुक हुनुहुन्न । तर, काङ्ग्रेसभित्र तथा बाहिरबाट कोइरालामाथि दबाब हुने स्थिति भने बनिरहेको छ । यसरी प्रधानमन्त्री नेपालद्वारा सुशील कोइराला र केपी ओलीसमेतलाई संविधानसभामा लैजाने तत्परता लिइनुलाई राजनीतिक वृत्तमा अत्यन्त सकारात्मक मानिएको छ । तर, माओवादी पार्टी र एमाले अध्यक्ष खनाल भने नराम्रोसँग झस्किनुभएको बताइन्छ । संविधानसभा रहेकै कारण आफूलाई प्रधानमन्त्रीका उम्मेदवार ठान्नुहुने खनालले सुशील कोइराला र केपी ओलीको उपस्थितिलाई सकारात्मक रूपमा लिनुहुने विश्वास गरिएको छैन । उता स्वयम् ओलीले भने आफूलाई कुनै न कुनै रूपले फसाउन र तेजोबध गर्नकै लागि पो संविधानसभा सदस्य बनाउने कुरा उछालिएको हो कि भन्ने ठानिरहनुभएको बताइन्छ । जे होस्, कोइराला र ओलीको संविधानसभामा प्रवेश भएमा संविधानसभाको गरिमा बढ्ने र त्यसले संविधान निर्माण प्रक्रियालाई पनि सहज र सरल तुल्याउने विश्वास गर्न थालिएको छ । तर, यसका निम्ति औपचारिक प्रक्रिया कहिले सुरु होला, यो भने प्रतीक्षाकै विषय बनेको छ ।

काङ्ग्रेसभित्र माओवादीको लामो हात
-उचालिए देउवा)
नेपाली काङ्ग्रेसका नेता शेरबहादुर देउवा यतिबेला प्रधानमन्त्री बन्ने कसरतमा सबैभन्दा दौडधुप गर्नेमा पर्नुभएको छ । नेपाली राजनीतिमा बाह्य गतिविधिभन्दा भित्री चलखेलले नै निर्ण्ाायक प्रभाव पार्ने यथार्थलाई राम्ररी बुझनुभएका देउवा भित्री दाउपेचहरूमा सक्रिय रहन थाल्नुभएको छ । पहिले युरोपियन र अमेरिकनहरूको विश्वासप्राप्त भनी चिनिएका देउवाले पछिल्लो कालखण्डमा छिमेकी मित्रराष्ट्रहरूसँगको सम्बन्ध एवम् सम्पर्कमा निकै ‘सुधार’ ल्याउनुभएको छ । चीनलाई सन्तुलनमा राख्न एउटा र भारतलाई चक्मा दिन अर्को च्यानल प्रयोग गर्दै सबैको ‘साखुल्ने’ हुन गर्नुभएको प्रयासमा उहाँले धेरै हदसम्म सफलता प्राप्त गर्नुभएको छ । संविधानसभाको कार्यकाल बढाउन भित्रभित्रै सक्रिय रहेर देउवाले ‘क्रिश्चियन कम्युनिटी’ अर्थात् युरोपियनहरूलाई खुसी तुल्याउनुभयो भने त्यस निम्ति देखिनेगरी सक्रिय नभएर अरूहरूको विश्वास यथावत् राख्ने कोसिस पनि गर्नुभयो । माओवादीका बारेमा एक समय कठोर तर यथार्थपरक अभिव्यक्ति दिनुहुने देउवा पछिल्ला दिनहरूमा सुस्ताउनुभएको छ र उहाँ यसरी सुस्ताउनुको कारण पनि प्रधानमन्त्री बन्ने चक्कर नै भएको बुझिन्छ । प्राप्त जानकारीअनुसार देउवाले माओवादी अध्यक्ष प्रचण्डसँग गुप्त सम्पर्क बनाउनुभएको छ । बितेका डेढ महिनायता देउवा र प्रचण्डबीच पटकपटक भेटवार्ता भएको र उहाँहरूबीच सरकारको नेतृत्व कसले गर्ने भन्ने विषयमा ‘सहमति’ भएको छ । देउवा निकटको सूत्रले जनाएअनुसार प्रचण्ड र देउवाबीच पुलको काम एक ख्यातिप्राप्त व्यापारीले गरिरहेका छन् । दुई नेताबीचको सहमतिअनुसार संयुक्त राष्ट्रिय सरकारको नेतृत्व दुईमध्ये जसले गर्ने अवस्था आए पनि एक-अर्कालाई सहयोग गर्ने भएका छन् ।
प्रचण्डले सकेसम्म आफ्नै नेतृत्वमा सरकार गठन गर्ने, आफ्नो नेतृत्वमा हुन नसक्दा शेरबहादुर देउवाको नेतृत्वलाई समर्थन दिने वचन देउवालाई दिनुभएको छ । तर, प्रचण्डले यस्तै विश्वास रामचन्द्र पौडेल र झलनाथ खनाललाई पनि दिलाउनुभएको छ । पौडेल सैद्धान्तिक तथा वैचारिक रूपमा ज्यादा स्पष्ट एवम् संस्थापन पक्षका भएकोले देउवालाई नै लिएर काङ्ग्रेसभित्र खेल्ने योजना प्रचण्डले बनाउनुभएको बुझिएको छ । देउवासँगको पटकपटकको संवादपश्चात् प्रचण्ड उहाँप्रति प्रसन्न हुनुभएको बताइन्छ । देउवाले माओवादीको आलोचना गर्ने मात्रा ज्यादै घटाएकोले प्रचण्ड देउवासँग प्रसन्न हुनुभएको हो । यसअघि ०५७ देखि ०५८ सालको आरम्भसम्म पनि देउवा र माओवादीबीच सुमधुर सम्बन्ध थियो । ०५७ सालमा गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री रहनुहुँदा कोइरालालाई विस्थापित गरी देउवालाई प्रधानमन्त्री बनाउन माओवादीले ‘विशेष’ भूमिका निर्वाह गरेका थिए भने रोल्पाको होलेरीमा सेनाको घेरामा परेका माओवादी नेताहरूलाई बचाउन -०५८ असारमा) देउवाले धेरै ठूलो र मुख्य योगदान पुर्‍याउनुभएको थियो । तात्कालिक प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला सेनाले माओवादी नेताहरूलाई आफ्नो घेरामा पारेर राखेकोमा दङ्ग हुनुहुन्थ्यो, तर देउवाले राजा र सेनाका तात्कालिक हाकिमसँग कुरा मिलाएर होलेरीबाट सेना फिर्ता गराइसक्नुभएको थियो । यसरी कोइरालालाई बेवकुफ बनाउँदा उहाँले पदत्याग गर्नुहुनेछ र त्यसपछि आफू स्वतः प्रधानमन्त्री बन्न पाइने परिस्थिति आउनेछ भन्ने विश्लेषणका आधारमा देउवाले सेनालाई सुटुक्क फर्काउने वातावरण मिलाउनुभएको थियो । नभन्दै भनेजस्तै भयो, ०५८ को साउन ४ गते गिरिजाप्रसाद कोइरालाले होलेरी प्रकरणलाई लिएर उत्पन्न विवादका क्रममा राजासँग झोक्किएर राजीनामा दिनुभयो र त्यसपछि शेरबहादुर देउवा प्रधानमन्त्री बन्नुभएको थियो । देउवा प्रधानमन्त्री बन्नेबित्तिकै तीनमहिने युद्धविराम गरी माओवादी पहिलोपल्ट सरकारसँग औपचारिक वार्तामा आएको थियो । होलेरी काण्डमा बचाइदिएका हुनाले देउवामा माओवादी आफूप्रति सकारात्मक रहने आशा र विश्वास थियो । तीन महिनाको युद्धविराम भङ्ग गर्दै दाङको सैन्य ब्यारेकमा हमला गरेपछि भने देउवाको माओवादीप्रतिको मोह भङ्ग भएको थियो र सङ्कटकाल लगाइएको थियो । लोकतन्त्र स्थापनाको चार वर्षपछि पहिलोपटक देउवा र माओवादीबीच सम्बन्ध नयाँ ढङ्गबाट विकसित भएको छ । देउवाले प्रचण्डलाई सघाउने र प्रचण्डले देउवालाई सघाउने भनी समझदारी बनेयता देउवाले माओवादीको आलोचना गर्ने मात्रा घटाउनुभएको छ । माओवादीले देउवालाई ‘न्युट्रलाइज्ड’ गर्न सफलता प्राप्त गरेको ठानेको छ भने देउवाले पनि माओवादीलाई आफ्नो समर्थनमा ल्याउन सकेको ठान्नुभएको छ । दुईमध्ये कसले कसलाई उपयोग गर्न सक्ने हुन् यो भविष्यमा नै थाहा हुनेछ । तर, धेरैले देउवा नै माओवादीबाट प्रयोग हुनसक्ने सम्भावना देखेका छन् ।
अभिव्यक्ति स्पष्ट नभए पनि परिस्थिति आफ्नो पक्षमा बनाउन शेरबहादुर देउवा अत्यन्त माहिर र चतुर मानिनुहुन्छ । उहाँले प्रचण्ड मात्र होइन माधव नेपाल र केही मधेसी नेताहरूलाई पनि आफ्नो समर्थनमा पुर्‍याइसक्नुभएको छ । एमालेका प्रभावी नेता केपी शर्मा ओलीलाई भने देउवाले अहिलेसम्म ‘आफ्नो’ बनाउन सक्नुभएको छैन । ओली, झलनाथ र विजयकुमार गच्छदारलाई पनि आफ्नो समर्थनमा ल्याउने प्रयास गर्न भने देउवाले छोड्नुभएको छैन । तर, जो-जस आफ्नो नजिक तुल्याउन सफल भएको भए पनि काङ्ग्रेसभित्र भने उहाँको स्थिति अत्यन्त नाजुक रहेको छ । काङ्ग्रेस केन्द्रीय समितिका सतसट्ठीमध्ये सत्रजनाको मात्र समर्थन देउवालाई रहेको छ ।

नयाँ नेतृत्वको नयाँ पाइला
नेपाली काङ्ग्रेस नेतृत्वको सोचमा परिवर्तन आएकोमा राजधानीमा आयोजित एक कार्यक्रमका सहभागीहरूले मुक्तकण्ठले प्रशंसा गरे । काङ्ग्रेसका कार्यवाहक सभापति सुशील कोइरालाको अग्रसरतमा गत शनिबार उहाँकै निवासस्थानमा आयोजित विशेष छलफल कार्यक्रममा वक्ताहरूले काङ्ग्रेस पछिल्लो समयमा विचार र सिद्धान्तमा दृढ एवम् एकताबद्ध देखिएको भन्दै नेतृत्वको प्रशंसा गरेका हुन् । पार्टीलाई आवश्यक परामर्शका लागि आयोजित उक्त अन्तरक्रिया कार्यक्रममा कार्यवाहक सभापति सुशील कोइराला, संसदीय दलका नेता रामचन्द्र पौडेल, महामन्त्रीहरू कुलबहादुर गुरुङ र विमलेन्द्र निधि, सहमहामन्त्री एवम् प्रवक्ता अर्जुननरसिंह केसीलगायतका नेताहरू तथा विभिन्न पेसामा आबद्ध बुद्धिजीवी एवम् अन्य प्रबुद्ध व्यक्तिहरूको सहभागिता थियो । त्यस अवसरमा दर्जनभन्दा बढी व्यक्तिले आफ्नो धारणा राख्दै काङ्ग्रेसलाई आफ्नो अडानबाट विचलित नहुन सुझाव दिएका थिए । संसदीय लोकतान्त्रिक प्रणाली, मानव अधिकार, प्रेस स्वतन्त्रता र कब्जा सम्पत्ति फिर्ता, लडाकु व्यवस्थापन, वाईसीएलको अर्धसैनिक संरचना विघटनलगायतका विषयमा काङ्ग्रेस नेतृत्वले लिएको अडानको सहभागीहरूले सराहना गर्दै अब माओवादीसमक्ष लम्पसार नपर्न र नझुक्न सुझाव दिएका थिए ।
सहभागीहरूलाई सम्बोधन गर्दै कार्यवाहक सभापति सुशील कोइरालाले आफू काङ्ग्रेसलाई सामूहिक नेतृत्व प्रणालीबाट सञ्चालन गर्न प्रतिबद्ध रहेको बताउनुभयो । उहाँले पार्टी, लोकतन्त्र, लोकतन्त्रका आधारभूत मूल्,य मान्यता र आदर्श जोगाउन जस्तोसुकै जोखिम उठाउन पनि तयार रहने बचनबद्धता प्रकट गर्दै शान्ति स्थापना र लोकतान्त्रिक संविधान निर्माणको निम्ति प्रतिबद्ध रहने स्पष्ट गर्नुभयो । कोइरालाले बीपीको मार्गदर्शनअनुरूप पार्टीलाई अघि बढाइने र विगतमा भएका गल्तीलाई सच्याइने दृढता पनि प्रकट गर्नुभयो । सोही समारोहलाई सम्बोधन गर्दै संसदीय दलका नेता रामचन्द्र पौडेलले काङ्ग्रेस अब सुस्पष्ट दिशा र गतिका साथ अघि बढ्न प्रतिबद्ध रहेको बताउनुभयो । त्यसैगरी सहमहामन्त्री अर्जुननरसिंह केसीले सबै दलहरूलाई एउटै बास्केटमा राखेर बराबरीमा हेर्नु गलत हो भन्दै हतियारधारी र नागरिक पार्टीलाई उस्तै ठान्नु ठान्नेहरूकै कमजोरी हो भन्नुभयो ।
कार्यक्रममा डा. केदारनरसिंह केसी, प्रा. विभुति ढकाल, बेञ्जु शर्मा, कपिल श्रेष्ठ, पुरुषोत्तम दाहाल, देवप्रकाश त्रिपाठी, दीपक गिरी, तारानाथ दाहाल, उपेन्द्रकेशरी न्यौपाने, तीर्थ थापा आदिले आ-आफ्ना विचार व्यक्त गर्नुभएको थियो । सहभागीहरूले यसरी बुद्धिजीवी एवम् पेसागत समुदायका व्यक्तिहरूसँग परामर्श गर्नुलाई ‘नयाँ नेतृत्वको नयाँ पाइला’ भनी टिप्पणी गरेका छन् ।

यशुले सताएपछि जनता सडकमा
नगद र किताबहरू हातमा लिँदै गरिब र कमजोर मानसिकताका मानिससमक्ष पुग्दा यशु ख्रिष्टका समर्थकहरूले भन्ने गर्छन्, ‘प्रभु यशुले कसैलाई पनि दुःख दिनुहुन्न, सबैको कल्याण गर्नुहुन्छ र सबैलाई खुसी राख्नुहुन्छ ।’ तर, धर्म प्रचार गर्दा भन्ने गरिएको अवस्था राजधानीको जोरपाटीमा भने देखिएन । यशुका नाममा आफूहरूलाई सताइएको भन्दै स्थानीय बासिन्दा न्याय खोज्दै जिल्ला प्रशासन कार्यालयसम्म पुगेका छन् ।
प्राप्त जानकारीअनुसार मुलुकमा गणतन्त्र आएपछि जोरपाटी गाविस आसपासमा मात्रै करिब ४० वटा चर्च खुलेका छन्, कसैले आफ्नै भवन बनाएका छन् भने केहीचाहिँ भाडामै काम चलाइरहेका छन् । केही समयअघिदेखि एक कोरियन नागरिकले आफ्नै भवनमा सञ्चालन गर्दै आएको चर्चको विषयलाई लिएर अहिले जोरपाटीमा निकै अशान्ति छाएको मात्रै छैन प्रहरी यशुका भक्तहरूले प्रहरी नायव उपरीक्षकमाथि हातपात नै गरेका छन् । एक वर्षअघि होटेल इलु इन रेस्टुरेन्ट एन्ड बारका नामबाट जोरपाटी गाविसबाट स्वीकृति लिएर निर्माण गरिएको भवन चर्चका लागि हो भन्ने कुरा स्थानीयवासीलाई जानकारी थिएन । साढे दुई रोपनी जग्गामा बनेको उक्त भवनमा ठूलो चहलपहल हुन थालेपछि स्थानीयवासीले चासो राख्दा त्यहाँ प्र्रार्थना गर्न आउनेको भीडले गाउँको शान्तिमा खलल पुर्‍याएको भनी स्थानीय बासिन्दा विरोधमा उत्रिएका हुन् । तीन-चार हजारको सङ्ख्यामा मानिस जम्मा हुन थालेपछि स्थानीयवासीको ध्यान आकर्षित भएको थियो ।
स्थानीयवासीले होटल भनेर खोलिएको चर्च बन्द गर्न सम्बन्धित व्यक्तिहरूसँग अनुरोध गर्दा नमानेपछि जिल्ला प्रशासनमा उजुरी दिएका थिए । प्रहरीले यो विषयमा अनुसन्धान गर्दै जाँदा गैरकानुनी तवरले भवन निर्माण र स्थानीयवासीसँग बिनापरामर्श चर्चको सञ्चालन भएकोले चर्च बन्द गर्नुपर्ने निष्कर्ष निकाल्दै चर्चको गतिविधि सञ्चालन गर्न दिइएको छैन । गत आइबारदेखि चर्चलाई प्रहरीले घेरा हालेको छ । प्रहरीको घेराबीच नै चर्चका गतिविधि सञ्चालन गर्न थालेपछि गाउँले र चर्चसम्बद्ध व्यक्तिहरूबीच झडप हुँदा डीएसपी गोविन्द पराजुली घाइते भएका छन् । चर्चसम्बद्ध व्यक्तिहरूले डीएसपी पराजुलीको टाउकोमा प्रहार गरेका थिए । होटलको नाममा खोलिए पनि सम्पूर्ण आधारभूत संरचना भने चर्चकै रहेको छ । जिल्ला प्रशासन कार्यालयले चर्च हटाउने निर्णय गरे पनि अहिलेसम्म हटाइएको छैन । प्रहरीको कडा सुरक्षाबीच चर्चमा गरिने प्र्रार्थना भने रोकिएको छ ।

गरिब विमानस्थलले धनी बनायो मन्त्रीलाई
कुनै पनि विदेशी नागरिक नेपाल आउनेबित्तिकै विमानस्थलमा नै देश गरिब भएको महसुस गर्छन्, त्यस्तो महसुस गराउने काम विमानास्थल स्वयम्ले गर्ने गरेको तर त्यही ‘गरिब’ विमानास्थलले सत्तासीनहरूलाई भने रातारात करोडौंपति बनाइरहेको हुन्छ, जस्तो कि अहिले मन्त्री शरतसिंह भण्डारीलाई बनाइरहेको छ । प्राप्त जानकारीअनुसार, पर्यटनमन्त्री शरतसिंह भण्डारीको ठाडो आदेशमा विमानस्थलको अत्यन्त संवेदनशील क्षेत्रमा पसल खोल्न अनुमति दिइएको छ । विमानस्थलका चेकिङहरू पार गर्दै प्लेन चढ्नका लागि अन्तिम प्रतीक्षास्थलमा प्रवेश गर्ने ठाउँमै पसल राख्न अनुमति दिँदा भारी रकमको चलखेल भएको मात्र नभएर आफूनिकट एक महिला मित्रलाई सो ठाउँ उपलब्ध गराएर मन्त्री भण्डारीले अहिलेसम्म कुनै पनि मन्त्रीले गर्न नसकेको कार्य गरेका छन् । सो स्थानमा पसल राख्नका लागि बिनाटेण्डर तीन वर्षका निम्ति गरिएको सम्झौतामा सरकारलाई ८० लाख रुपैयाँ दिने उल्लेख गरिएको छ । जुन स्थानका लागि नियमानुसार जाने हो भने दुई करोडभन्दा बढी नै आउने विश्वास गरिन्छ । नयाँ स्थानका निम्ति मात्र नभएर प्रयोग भइरहेका पुराना पसलहरूको नवीकरणमा पनि मन्त्री भण्डारीले राम्रै रकम हात पारेका छन् । पैसाको चलखेल मात्र नभएर नियम पनि त्यत्तिकै मिचिएको छ । विमानस्थलको कम्पाउण्डभित्र सुरुमै राखिएका तीनवटा पसललाई बिनाटेण्डर निरन्तरता दिन लागिएको छ । सम्झौता सकिएपछि कुनै पनि पसललाई स्थान उपलब्ध गराउँदा टेन्डरमार्फ मात्रै गर्न मिल्ने व्यवस्था छ । बिनाटेण्डर नै नवीकरणमा जान लागेका ती पसलले मन्त्रीलाई राम्रै आर्थिक लाभ दिलाएको चर्चाले अहिले व्यापारिक वृत्तमा व्यापक स्थान पाएको छ ।
विमानस्थलमा धेरै समयअघिदेखि पसल सञ्चालन गर्दै आएको मित्र इन्टरनेसनलले विमानस्थलमा भएका नीति-नियमविरुद्धका कार्यलाई लिएर जानकारी माग्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयलाई पत्र पठाएपछि त्यसको जवाफमा बोलपत्रहरू यथास्थितिमा रहेको जानकारी गराइएको छ । पसल सञ्चालनका निम्ति विभिन्न समयमा बोलपत्र आह्वान गरिए पनि राजस्व रकम दाखिला गरी बोलपत्र बुझाउने अन्तिम समयमा अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको करिब एक वर्ष हुन लाग्दा पनि अहिलेसम्म कुनै जानकारी नभएको भन्दै मित्र इन्टरनेसनलले जानकारी मागेको बताइन्छ । यही जेठ ११ गते मागिएको जानकारीका सम्बन्धमा नागरिक उड्डयन कार्यालयले १२ गते नै पत्रमार्फ जवाफ दिँदै पसल सञ्चालकहरूले यस कार्यालयका विरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दाहरू दायर गरेकाले अदालतबाट बोलपत्रसम्बन्धी कारबाही अगाडि नबर्ढाई यथास्थितिमा राख्नु भन्ने आदेशबमोजिम बोलपत्रसम्बन्धी कार्यहरू यथास्थितिमा रहेको जानकारी दिइएको हो । तर, बोलपत्रसम्बन्धी कार्यहरू स्थगित गर्नुको अर्थ अहिले पसलहरूलाई जथाभावी ठेक्कामा दिनु भन्नेझैं ठानी कार्यहरू अघि बढाइएको छ । मित्र इन्टरनेसनलले चारवटा पसल कौलहरू प्रयोग गरेबापत ६ करोड तिर्दै आएबराबरको ठाउँमा अहिले त्यति नै ठाउँ प्रयोग गर्नेहरूबाट सरकारले एक करोड पनि प्राप्त गर्न सकेको छैन । यही जेठ ११ गते नेपाल नागरिक उड्डयन प्राधिकरण सञ्चालक समितिको बैठकले पसल सञ्चालनसँग सम्बद्ध अदालतमा विचाराधीन रहेका विवादमा विमानस्थल व्यवस्थापनले सम्बन्धित पक्षसँग वार्ता गरी विवाद समाधान गर्ने निर्णय गरे पनि सम्बद्ध पक्षलाई कुनै जानकारी नै नदिई धमाधम निर्णयहरू गरिएका छन् । यस प्रकारका निर्णयलाई लिएर सार्वजनिक लेखा समितिले छानबिन गर्ने तयारी गरिरहेको बुझिएको छ । मन्त्री भण्डारीले विमानस्थललाई जसरी कमाइको थलो बनाइरहेका छन्, त्यसबारेमा सम्बन्धित निकायले राम्ररी छानबिन गर्ने हो भने भण्डारी कारबाहीबाट बच्न नसक्ने अवस्थामा रहेको निकटवर्तीहरू बताउँछन् ।

हेलम्बु नगई किन फर्किए नेता ?
राणा प्रधानमन्त्री जुद्धशमशेर राणाले अत्यन्त मन पराएको ठाउँ हेलम्बुको शयर गर्ने प्रचण्डको इच्छा यसपटक पूरा भएन । मेलम्ची हुँदै आराम गर्न भनी हेलम्बु जान लाग्नुभएका प्रचण्ड एकरात मेलम्चीमा बिताएपछि सोमबार -जेठ २४ गते) अचानक राजधानी र्फकने हुनुभयो र त्यसरी अचानक र्फकनुको कारण बताइयो-प्रधानमन्त्रीको राजीनामा । प्रचण्डले सोमबार ‘प्रधानमन्त्रीले राजीनामा दिन लाग्नुभएको र दलहरूबीच सहमति हुनै लागेको’ भन्ने चर्चा व्यापक रूपमा चलाउनुभयो । सञ्चारमाध्यमहरूसँग यस्तै अभिव्यक्ति दिँदै उहाँ हेलम्बु नगई मेलम्चीबाट काठमाडौंतर्फ लाग्नुभएपछि काठमाडौंमा त्यसैअनुरूपको हल्ला पनि चल्यो । प्रचण्ड र्फकंदै हुनुहुन्छ र आजै सहमति हुँदै छ भनेर हल्ला चर्चा व्यापक भएपछि सञ्चारमाध्यम तथा पत्रकारहरूको सक्रियता पनि अचानक बढ्यो । तर, न प्रचण्ड राजधानी र्फकनुभयो न दलहरूबीच सहमति नै हुने स्थिति बन्यो । भएछ के भने आइतबार मेलम्ची प्रस्थान गर्नुअघि प्रचण्डसँग काङ्ग्रेसका शर्षि नेताहरू सुशील कोइराला र रामचन्द्र पौडेलको भेटवार्ता भएको थियो । उक्त वार्तालापपश्चात् माओवादीले ‘काङ्ग्रेस पुरानो अडान छाडेर प्रधानमन्त्रीलाई तत्काल राजीनामा गराउन राजी भएको’ भन्ने हल्ला चलाइदियो र त्यसको असर प्रधानमन्त्री नेपालमा पनि पर्‍यो । नेपालले गत आइतबार साँझ प्रचण्डलाई टेलिफोन गरी भन्नुभयो, ‘मलाई धेरै अप्ठ्यारो भइसक्यो, तपाईंहरूले कुरा छिटो टुङ्ग्याउनुपर्‍यो । मलाई अब पदमा बसिरहने इच्छा छैन, बजेट पनि पेस गरौँ कि नगरौँ भनेर म द्विविधामा छु । यस्तो बेलामा छिटो कुरा नटुङ्ग्याएर तपाईं के हेलम्बुतिर घुम्न जानुपरेको – र्फकनुहोस् ।’
यसरी माधव नेपालले भन्नुभएपछि प्रचण्डको ‘कमलो मन’ तुरुन्तै पग्लियो र उहाँले जवाफमा भन्नुभयो, ‘माधवजी आज तपाईं अत्यन्तै सकारात्मक देखिनुभयो, यस्तो हो भने त कुरा मिलिहाल्छ नि । लौ-लौ म भोलि -सोमबार) नै फर्किहाल्छु ।’
आइतबार साँझ प्रधानमत्रीसँग यसप्रकार टेलिफोन वार्ता भएपछि सोमबार प्रचण्ड मेलम्चीबाट र्फकनु त भयो तर र्फकंदार्फकंदै उहाँले थाहा पाउनुभयो- सहमति नभई माधव नेपालले राजीनामा दिनुहुने छैन भनेर । त्यसपछि प्रचण्ड सोमबार काठमाडौं नआई धुलिखेलकै एक रिसोर्टमा आराम गरेर बस्नुभयो । यो आरामीपश्चात् प्रचण्डको स्फूर्ति कुन रूपमा कसरी बढ्ने हो, त्यसको प्रतीक्षा भइरहेको छ ।

तिब्बतीमाथि ज्यादति भएको आरोप
गत साता दोलखाको लामाबगर नाकाबाट नेपाल प्रवेश गरेका दस तिब्बती नागरिकलाई नेपाल प्रहरीले अध्यागमन बिभागमा बुझाएको छ । चरिकोट सातदोबाटोबाट गत १९ गते एक बालक, सात पुरुष र तीन महिलालाई अवैध रुपमा नेपाल प्रवेश गरेको आरोपमा प्रहरीले नियन्त्रणमा लिएको थियो । यसरी नेपाल छिर्ने तिब्बतीलाई यसअघि प्रहरीले सीमाबाटै जबर्जस्ती तिब्बततिरै फर्काइदिने गरेको थियो । यसरी तिब्बती शरणार्थी पक्राउ परेको विषयमाथि नेपालस्थित चिनियाँ दूतावासले कूटनीतिक मर्यादाबाहिर गई व्यवहार गरेको आरोप पनि लगाइएको छ । चरिकोटमा तिब्बती पक्राउ परेको खबर तत्काल दूतावासले पाएको र दूतावासबाट सैनिक सहचरीलगायत केही डिप्लोम्याट्स् दोलखा पुगी त्यहीँबाट शरणार्थीहरुलाई तिब्बत फर्काउन प्रहरीलाई दबाब दिइएको लुम्बिनी फाउण्डेसनका अध्यक्ष सिर्द्धार्थ गौतमले दाबी गरे । यस्तो कार्य कूटनीतिक मर्यादाविपरीत हुने बताउँदै गौतमले भने- ‘दूतावासले नेपालको परराष्ट्र मन्त्रालयसँग अनुरोध गर्न सक्थ्यो, तर त्यो विधि नअपनाई सीधै प्रहरी-प्रशासनलाई दबाब दिने नाजायज कोसिस चिनियाँ डिप्लोम्याट्स्ले गरे ।’ आफ्नै मुलुकको प्रशासनबाट थोपरिएको ज्यादति थेग्न नसकी ज्यान नै जोखिममा पारेर नेपाल भित्रिएका शरणर्थीलाई मानवताको नाताले पनि दुर्व्यवहारको सिकार तुल्याउन नहुने तथा शरणार्थीसम्बन्धी अन्तर्राष्ट्रिय नियमअनुसार व्यवहार गर्नुपर्नेमा तिब्बतीका मामलामा त्यसो नभइरहेको भन्दै गौतमले असन्तुष्टि प्रकट गरे ।

सामुदायिक वन उपभोक्ता महासंघमा चुनावी रन्को
नेपालको जंगल नबचे भावी पिँढीले अकल्पनीय दुःख पाउने भएकाले जंगल फँडानी रोक्न राष्ट्रपति रामवरण यादवले सबै पक्षलाई आग्रह गर्नुभएको छ । हिजो मंगलबारदेखि राजधानीमा सुरु भएको सामुदायिक बन उपभोक्ता महासंघको चौथो महाधिवेशनको उद्घाटन समारोहमा प्रमुख अतिथिको आसनबाट सम्बोधन गर्दै राष्ट्रपति यादवले जलवायु परिवर्तनलाई ध्यानमा राख्दै वनजंगलको संरक्षणमा ध्यान नदिए समस्त प्राणीकै अस्तित्व खतरामा पर्ने तर्क गर्नुभयो ।
भोली बिहीबारसम्म जारी रहने महासंघको अधिवेशनले नयाँ कार्यसमिति चयन गर्ने भएकोले नेतृत्वका निम्ति तीव्र प्रतिष्पर्धा हुने देखिएको छ । देशभरबाट भेला भएका महाधिवेशन प्रतिनिधिहरुबीच प्रजातान्त्रिक खेमाका साझा व्यक्तित्व भोला भट्टराई लोकप्रिय रहेकाले उनी अध्यक्षका सर्वाधिक बलिया उम्मेद्वार बन्ने देखिएका छन् भने उनसँग प्रतिष्पर्धा गर्न गणेश कार्की र अप्सरा चापागाईं अघिसर्ने प्रवल सम्भावना छ । यसैगरी महासचिवमा सबै पक्षको समर्थन पाउने देखिएकोले भारती पाठकको विजय निर्वाचनअघि नै सुनिश्चित मानिएको छ ।

जडीबुटीबाटै एक करोड २२ लाख
इलामका जडीबुटी कृषकले यो वर्ष मात्रै एक करोड २२ लाख सात हजार एक सय ७ रुपैयाँ आम्दानी गरेका छन् । जिल्लाका पूर्वोत्तर १० गाविसका एक हजार तीन सय ७५ घरधुरीले विभिन्न १० प्रजातिका जडीबुटीबाट सो आम्दानी लिएको उच्च पहाडी जडीबुटी उत्पादक तथा संरक्षण संस्थाका कार्यक्रम विकास अधिकृत दीपक लुङ्गेलीले जानकारी दिए । कृषकले सात हजार सात सय सात रोपनीमा खेती गरेका थिए । ३२ हजार ६ सय ५९ केजी चिराइतो उत्पादन गरी कृषकले एक करोड तीन लाख ५१ हजार सात सय १७ रुपैयाँ आम्दानी गरेका छन् । यस्तै, ओके आलु ९७ हजार तीन सय दाना बिक्रीबाट चार लाख ८५ हजार ६ सय रुपैयाँ र लोक्ता १९ हजार दुई सय ३५ केजी बिक्रीबाट नौ लाख ५७ हजार ६ सय ९० रुपैयाँ आम्दानी भएको छ । सबैभन्दा बढी माइमझुवाका कृषकले मात्रै ३१ लाख १० हजार चार सय रुपैयाँ हात पारेका छन् । त्यहाँ चिराइतो २३ लाख ६ हजार दुई सय रुपैयाँको निकासी भएको छ ।
संस्थाको सहयोगमा माबु, माइमझुवा, माइपोखरी, गोर्खे, जोगमाई, प्याङ, पुवामझुवा, जमुना, सुलुबुङ र चमैता गाविसका कृषक व्यावसायिक जडीबुटी खेतीमा लागेका संस्थाका युवराज पीसीले बताएका छन् । त्यहाँका व्यावसायिक जडीबुटी किसानले चिराइतो, लोक्ता र ओके आलु, चमेली, सुगन्धवाल, बिख्मा, बूढोओखती, टिमुर, चिम्पिङलगायतका १० प्रजातिका जडीबुटी खेती गर्दै आएका छन् ।
उच्च पहाडी जडीबुटी उत्पादक तथा संरक्षण संस्थाको सहयोगमा इलाममा एक सय ५९ जना किसानले केही दिनअघि मात्रै व्यावसायिक जडीबुटी किसानको परिचयपत्र पाएका छन् । यसअघि संस्थाले ४९ जनालाई परिचयपत्र प्रदान गरेको थियो । व्यावसायिक रूपमा जडीबुटी खेतीमा लागेका किसानलाई आफूले उत्पादन गरेको जडीबुटी निर्वाध रूपमा बेच्न सजिलो होस् भनेर जिल्ला वन कार्यालयको सहकार्यमा परिचयपत्र उपलब्ध गराइएको संस्थाका कार्यक्रम संयोजक धनबहादुर खाम्दाकले बताए । परिचयपत्र पाएका किसानले जडीबुटी निकासी गर्दा राजस्वमा समेत वन कार्यालयले मिनाहा गर्ने गरेको छ ।
– फणीन्द्र संगम

धादिङ सामुदायिक वन उपभोक्ताको नयाँ समिति
सामुदायिक वन उपभोक्ता महासङ्घ मातहतको जिल्ला महासङ्घ धादिङको हालै ढोला गाविसमा सम्पन्न अधिवेशनले कविता इटनीको अध्यक्षतामा २३ सदस्यीय जिल्ला कार्यसमिति गठन गरेको छ । समितिको उपाध्यक्षमा सीता खतिवडा, महासचिवमा भक्तबहादुर सिंखडा र कोषाध्यक्षमा ऋषिनाथ त्रिपाठी चयन भएका छन् भने सदस्यहरूमा जीवन थापा, हरिनारायण श्रेष्ठ, धर्मकुमार लुइँटेल, सीता थापा, इन्द्र दाहाल, नवराज खतिवडा, स्मिता उपाध्याय, मेघराज पोखरेल, सरोज तामाङ, गीता तिमल्सिना, अप्सरा रिजाल, रमिला परियार, भगवती लम्साल, गोपाल अधिकारी, निर्मला शर्मा, गीता अर्याल, बोधकुमारी छतकुली र लालबहादुर विक रहेका छन् । अधिवेशनले काठमाडांैमा यसै साता सम्पन्न हुन लागेको केन्द्रीय अधिवेशनका लागि १० जनालाई महाधिवेशन प्रतिनिधि चयन गरेको छ । जसअनुसार कविता इटनी, सीता खतिवडा, सीता थापा, गीता तिमल्सिना, अप्सरा रिजाल, नारायण पोखरेल, भक्त सिंखडा, हरिनारायण श्रेष्ठ, इन्द्र दाहाल र ऋषिनाथ त्रिपाठी रहेका छन् ।

अमेरिकामा एकता महाधिवेशनको सशक्त तयारी
नेपाली काङ्ग्रेसको अमेरिकास्थित भ्रातृ सङ्गठन नेपाली जनसम्पर्क समिति, अमेरिका एकताको दोस्रो महाधिवेशनको तयारीमा जुटेको छ । हालै मिसिगन राज्यमा च्याप्टर उद्घाटनका लागि पुगेका विघटित समितिका पूर्वसभापति आनन्द विष्टले समितिका पदाधिकारीहरू एकताको सन्देशलाई स्थानीय तहसम्म पुर्‍याई सशक्त सङ्गठनको प्रयासलाई मूर्तरूप दिन स्थानीय अधिवेशनहरूमा जुटेको सन्देश दिए ।
मिसिगन राज्यमै पहिलोपटक जनसम्पर्क समितिको च्याप्टर गठन गर्न आयोजित स्थानीय अधिवेशनमा विष्ट प्रमुख अतिथि थिए । अर्जुन कार्कीको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा विष्टले नेपाली काङ्ग्रेसका सबै शुभेच्छुकलाई विगतका मतमतान्तर भुलेर एकताको अधिवेशन सम्पन्न गर्नका लागि क्रियाशील हुन आग्रह गरे । पार्टीको निर्देशन र एकताको महाधिवेशन सम्पन्न गर्न गठित केन्द्रीय तयारी समितिको निर्णयलाई कार्यान्वयन गर्दै अघि बढ्नुपर्ने धारणा व्यक्त गर्दै विष्टले भने, ‘सबै साथीको भावनाको सम्मान आगामी केन्द्रीय महाधिवेशनमा खोज्नुपर्छ । सानातिना आन्तरिक मतभेद र व्यक्तिगत महत्वाकाङ्क्षालाई विवादको विषय बनाउनुहुन्न ।’ अधिवेशन सम्पन्न गर्न खटिएका केन्द्रीय प्रतिनिधि पेमा निमा शर्ेपाका अनुसार अत्यन्तै उत्साहका साथ मिसिगन च्याप्टरले निरि्वरोध रूपमा नयाँ नेतृत्व तथा केन्द्रीय महाधिवेशनका लागि प्रतिनिधिहरूको चयनसमेत गरेको छ । धर्म भट्टराईको अध्यक्षतामा गठित ११ सदस्यीय मिसिगन च्याप्टरमा जगनलाल श्रेष्ठ उपाध्यक्ष, रामप्रसाद बस्याल महासचिव, नवराज पोखरेल सचिव र मधुकर रजौरे कोषाध्यक्ष रहेका छन् भने सदस्यहरूमा हरिश उपाध्याय, असिम शर्मा, प्रकाश भट्टराई, घनश्याम पाण्डे, हरिलाल शर्मा र तारालक्ष्मी श्रेष्ठ रहेका छन् ।
अधिवेशनले जनसम्पर्क समिति अमेरिकाको केन्द्रीय महाधिवेशनमा प्रतिनिधित्वका लागि विभिन्न ११ जनालाई महाधिवेशन प्रतिनिधि चयनसमेत गरेको छ । यसअघि टेक्सास च्याप्टरको अधिवेशन सम्पन्न भइसकेको छ भने आगामी जुन ६ तारिख आइतबार नर्थ क्यारोलाइना च्याप्टरको अधिवेशन हुँदै छ । त्यस्तै, यही जुन १३ तारिखमा कोलोराडो च्याप्टर र २० तारिखका दिन मेरिल्यान्ड च्याप्टरको स्थानीय अधिवेशन सम्पन्न हुन लागेको छ ।

धादिङमा सशस्त्रद्वारा स्वास्थ्य शिविर
सशस्त्र प्रहरी परिवार महिला सङ्घले धादिङको महादेवस्थान गाविसमा स्वास्थ्य शिविर सञ्चालन गरेको छ । मलेखुबाट १३ किलोमिटर दक्षिणमा पर्ने महादेवस्थानस्थित पीपलभञ्याङ माध्यमिक विद्यालयमा सञ्चालन गरिएको उक्त शिविरमा करिब सात सय ५० स्थानीयवासीको जनरल, हाडजोर्नी तथा नशासम्बन्धी, जनरल र्सजरी, आँखा, दाँतलगायत स्वास्थ्य परीक्षण गरिनुका साथै निःशुल्क औषधि वितरण गरिएको थियो । स्वास्थ्य शिविरमा सशस्त्र प्रहरी परिवार महिला सङ्घकी अध्यक्ष श्रीमती रत्ना बस्नेतलगायत उपाध्यक्षहरू श्रीमती मीना विष्ट र डा. श्रीमती अनारकली श्रेष्ठ तथा सङ्घका पदाधिकारीहरूको समेत सहभागिता रहेको एपीएफले जनाएको छ ।

नेपालीभाषी भनिएकोमा भर्त्सना
नयाँदिल्ली । आसाममा नेपाली नागरिकमाथि भएको आक्रमणलाई नेपाल सरकार परराष्ट्र मन्त्रालयले ‘नेपालीभाषी’माथिको आक्रमण बताएकोमा आपत्ति प्रकट गर्दै मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले तीव्र भर्त्सना गरेको छ । समाजका महासचिव कृष्ण केसीद्वारा हस्ताक्षरित वक्तव्यमा नागरिक सुरक्षाको जिम्मेवारीबाट सरकार टाढा हुन खोजेको आरोप लगाइएको छ । सरकारको यसप्रकारको रवैयाले प्रवासी नेपाली नागरिकलाई चिन्तित तुल्याएको पनि वक्तव्यमा उल्लेख गरिएको छ । यसअघि पनि कैयौँ घटनामा नेपाल सरकार मौन रहँदै आएको भन्दै वक्तव्यमा नेपालमा जुनसुकै सरकार आए पनि सर्वसाधारणको विषयमा लापरबाह देखिँदै आएको आक्षेप लगाइएको छ । गत मे १४ का दिन आसामको लाम्पिङ क्षेत्रमा सुरु भएको विवादले आसाम र मेघालय राज्यमा नेपाली नागरिकहरूमाथि व्यापक आक्रमण भएको थियो ।
उक्त घटनामा परी अत्यधिक नेपाली नागरिक बेघरबार भएका छन् भने कैयौँले ज्यान गुमाएका छन््् । सो विषयमाथि सरकारको ध्यानाकर्षण गराउँदै मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले नेपाली दूतावास दिल्लीमा एक ज्ञापनपत्र बुझाएको थियो भने नेपाल सरकार परराष्ट्र मन्त्रालयले ३१ मेका दिन उक्त विषयमाथि वक्तव्य जारी गरेको थियो । -धनवीर पुन

त्रिवेणी कम्प्लेक्समा क्षति नपुगेको दाबी
राजधानीको पुतलीसडकस्थित त्रिवेणी कम्प्लेक्समा गत साता शुक्रबार भएको आगलागीबाट सो बिल्डिङमा रहेको यूटीएल कार्यालयका तीन दर्जन कम्प्युटर, फरि्नचर तथा महत्वपूर्ण कागजपत्रलगायतका सामग्री नष्ट भएको बुझिएको छ । उक्त व्यापारिक भवनको छैटौँ तलामा विद्युत् र्सट भई भएको आगलागी नियन्त्रणमा महानगरका दमकल असफल भएपछि सशस्त्र प्रहरी बल बाघभैरव गुल्मबाट तत्काल सशस्त्र प्रहरीको टोली आगो नियन्त्रणमा खटिएको थियो । सो आगलागीबाट अन्य उल्लेख्य क्षति नपुगेको उक्त कम्प्लेक्ससम्बद्ध सूत्रले जनाएको छ । – वचनप्रताप सेन

शिक्षा पत्रकार समूहमा सिलवाल
शिक्षा पत्रकार समूहको गत सोमबार सम्पन्न विशेष साधारणसभाले प्रकाश सिलवालको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । समूहको उपाध्यक्षमा सुदर्शन सिग्देल, महासचिवमा पुरुषोत्तम सुवेदी, सचिवमा वासुदेव तिमल्सिना, कोषाध्यक्षमा दीपक दाहाल र सदस्यहरूमा शेषकान्त पण्डित, रोशना सुब्बा, निर्जला कक्षपति, उमेश पोखरेल, चन्द्र बानियाँ र प्रदीप न्यौपाने निर्वाचित भएका छन् ।

नेपाल भाषा परिषद् जीर्ण भवनबाट मुक्त
नेपाल भाषामा साहित्य प्रवर्द्धन गर्ने उद्देश्यले ६ दशकअघि स्थापना भएको नेपाल भाषा परिषद्ले नयाँ भवन पाएको छ । नरदेवीस्थित डेढ सय वर्ष पुरानो एक जीर्ण भवनमा रहँदै आएको नेपाल भाषा परिषद्ले भारत सरकारबाट प्राप्त ५२ लाख चार हजारको सहयोगमा भवन जीर्णोद्धार भएपछि नयाँ जीवन पाएको अनुभूति सरोकारवाला तथा स्थानीयवासीले गरेका छन् ।
साना विकास परियोजना कार्यक्रमअन्तर्गत भारत सरकारको सहयोगमा जीर्णोद्धार गरिएको भवनको गत शुक्रबार भारतीय राजदूत राकेश सुदले उद्घाटन गरे । काठमाडौं जिल्ला विकास समितिका प्रतिनिधि, स्थानीय प्रशासन, समुदायका अगुवा तथा ठूलो सङ्ख्यामा नरदेवी क्षेत्रका जनताको उपस्थिति रहेको उद्घाटन कार्यक्रममा राजदूत सुदले जीर्णोद्धारका क्रममा परम्परागत वास्तुकलाको मूल रूपलाई कायम गरिएबाट यसले महत्वपूर्ण सांस्कृतिक धरोहरलाई संरक्षण गर्न सहयोग पुग्ने मात्र नभई नेपालका प्रख्यात कविकेशरी चित्तधर हृदयका कृतिहरू सङ्ग्रहित गर्न तथा यसलाई एक शैक्षिक केन्द्रको रूपमा विकास गर्न स्थान उपलब्ध हुने विश्वास व्यक्त गरे । यो परियोजनाले नेपालका प्रचुर सम्पदाको संरक्षण तथा प्रवर्द्धन गर्न भारतले दर्शाएको अभिरुचि तथा महत्वलाई सङ्केत गर्नुका साथै संस्कृति र साहित्यको क्षेत्रमा दुई निकट तथा मित्रवत् छिमेकीबीच रहेको कसिलो सम्बन्धलाई प्रतिविम्बित गरेको विश्वास पनि गरिएको छ ।

चिनियाँ तस्कर प्रहरी नियन्त्रणमा
इलाका प्रहरी कार्यालय बाह्रबीसेको प्रहरी टोलीले गत शुक्रबार दिउँसो बा.१ज २२४३ नम्बरको बलेरो गाडीबाट २५ बोरा रुद्राक्ष, ११ किलो श्रीखण्ड र ३ वटा काठको बक्सामा क्युरियोको सामानसहित एक चिनियाँ नागरिक र गाडी चालकलाई नियन्त्रणमा लिएको छ । प्रहरीले चेकजाँचका क्रममा चीनको खासातर्फ उक्त सामान लग्दै गरेको अवस्थामा फेला पारेको थियो ।
यसैबीच वीरगञ्ज उपमहानगरपालिका- १४ स्थित सम्झना होटेलबाट भारतीय नागरिक अफजल हुसेनलगायत तीनजनालाई प्रहरीले पक्राउ गरेको छ । शङ्कास्पद अवस्थामा रहेका उनीहरूलाई जेठ २१ गते राति सवा ११ बजे यूपी ८६ एफ ०७८६ नम्बरको गाडीसहित प्रहरीले नियन्त्रणमा लिएको थियो ।
यसैगरी मुक्ति मोर्चाको व्यक्ति भएको धम्की दिँदै ४ थान पेस्तोल किन्नका लागि भनी पैसा असुल्ने धनकुटा जिल्ला हिले घर भई काठमाडौं महानगरपालिका- १ बस्ने ३५ वषर्ीय देवराज तामाङलाई प्रहरीले पक्राउ गरेको छ । तामाङले काठमाडौं महानगरपालिका-६ तिनचुली बस्ने ३७ वषर्ीया लक्कु शर्ेपालाई पटक-पटक फोन गरी धम्की दिएर पैसा मागेको अवस्थामा तीन थान मोबाइल र १० हजार रुपैयाँसहित प्रहरीले पक्राउ गरेको थियो ।