कस्तो भूमिका निर्वाह गर्दैछन् अदृश्य शक्तिको आडमा खुलेका नेपाली मिडिया ?!

कस्तो भूमिका निर्वाह गर्दैछन् अदृश्य शक्तिको आडमा खुलेका नेपाली मिडिया ?!


नेपालमा सरकार परिवर्तन गर्न विदेशीले नेपाली मिडियामा लगानी गर्छन् । उनीहरूकै मातहत रातारात कसलाई नेता बनाउने, को ब्यक्तिलाई मिडियाले हिरो बनाइदिने र कसको इजलासमा देशको कानुन नै उल्टाउन भूमिका खेल्ने जस्ता सम्पुर्ण कुरा विदेशी नियोग, गैरसरकारी संस्था र नेपाली मिडियाको संयुक्त सहकार्य रहेको यथार्थ कसैले नकार्न सक्दैन ।
✍ काशी पौडेल ‘आयुष’

सामान्यतया पत्रकारिता र समाचारपत्रको कुरा गर्नुपर्दा देशको वास्तविक अवस्था जनतालाई सूचित गराउँदै एकताको सुत्रमा बाँध्न सिकाउने माध्यम बन्नुपर्छ । देश र जनताको हितविपरीतको कार्य सरकार वा विपक्षको तर्फबाट हुन गएको खण्डमा प्रमुख प्रतिपक्षी भूमिका निर्वाह गर्नु नै, आम सञ्चारमाध्यमको धर्म हुन आउँछ । तर, नेपालको हकमा भने त्यसको ठिक विपरीत छ ।

नेपाली सञ्चारमाध्यम (रेडियो पत्रपत्रिका विद्युतीय सञ्चार सामाग्री) सत्यतथ्यमा आधारित सन्देश प्रवाह गर्ने, देश र जनताको हितमा भन्दा विदेशीको मिसनअनुसार चल्नुपर्छ भन्ने मान्यतामा देखिन्छन् । निष्पक्षीय समाचारपत्रिकाको कुरा गर्दा विश्वमा सबैभन्दा पहिला जर्मनीद्वारा सन् १५८० मा पत्रिकाको शुरूवात भएको पाइन्छ । यद्यपि त्यो हस्तलिखित थियो वा छापापत्रिका थियो- अन्योल छ । छापापत्रिकाको शुरूवात भने जर्मनीको स्टारवर्गमा जोहनन् कार्लोसले सन् १६०५ मा प्रकाशित गरेका थिए । सन् १६१८ मा डच भाषामा पत्रिका प्रकाशित भएपछि फ्रान्स, पोल्यान्ड, इटलीसहित इङ्ग्लैन्डमा पत्रिका प्रकाशित गर्ने लहर चलेको थियो । त्यहीँ बेलायतको साम्राज्यवाद फैलावटसँगै सञ्चार (रेडियो, पत्रपत्रिका) विश्वब्यापी विस्तारित रूप लिएको थियो ।

नेपाली भाषाको पत्रिका वि.सं. १८८६ मा मोतिराम भट्ट, रामकृष्ण बर्माले ‘गोर्खा भारत जीवन’ वनारसदेखि प्रकाशन गरेका थिए । नेपालभित्रै प्रकाशित पत्रिका भने सुधा-सागरलाई मानिन्छ, जुन पत्रिका वि.सं. १९५५ मा सम्पादक पं. नरदेव पाण्डेद्वारा प्रकाशित भएको थियो । देवशमशेरको सहयोगमा वि.सं. १९५८ बैशाख २४ देखि सारदा गौतम सम्पादक रहेर गोरखापत्रको प्रकाशन भएको हो । नेपालमा अङ्ग्रेजी पत्रिकाको प्रकाशन गोरखापत्र संस्थानले वि.सं. २०२२ मा राइजिङ नेपाल प्रकाशनमा ल्याएको थियो । मासिक पत्रिकाको कुरा गर्दा ‘सारदा’लाई लिने गरिन्छ । जुन फागुन १९९१ मा प्रकाशित भएको बताइन्छ । देश र जनताको दुःख-सुःखको आवाज बोल्नुपर्ने सञ्चारमाध्यमले बहुदलीय ब्यवस्थापछिका दिनमा पूरै इण्डो-पश्चिमा आवाजलाई मात्र प्रशय दिन थाले । यहाँ पत्रिकाको मुल मर्म र निहित धर्म के हो भन्ने सवाललाई गौण राखेर विदेशी मिसनको हितमा लगातार कलम चलाएर आवाज बुलन्द पारिँदै आएको छ ।

नागरिकमा देशप्रति घृणा फैलाउने द्वैध मिसनको खेती गरियो । यो मिसनको शुरूवात नेपालको प्रमुख निजी अखबार कान्तिपुरलाई नै उदाहरणका रूपमा प्रस्तुत गर्न सकिन्छ । जानिफकार तप्कामा चर्चा चलेअनुसार पञ्चायतकालमा भन्सारको हाकिम रहेका व्यक्तिले भ्रष्टाचार गरेर कमाएको अलल्य सम्पत्ति छानबिनमा पर्ने देखिएपछि उनका छोरा र एक काठतस्करीमा संलग्न व्यक्तिको संयुक्त लगानीमा कालो धन सेतो बनाउने मेसिनको रूपमा २०४९ साल फाल्गुन ७ गते सो पत्रिकाको शुरूवात गरिएको थियो । देखावटीमा नेपालीद्वारा नेपाल र नेपालीकै निम्ति कलम चलाउने भनिए पनि अदृश्य लगानी युरोपेली इसाई र खाडीको मुस्लिम धार्मिक अतिवादका मिसनको लगानीमा चलेको भन्ने दाग लाग्दै आएको पाइन्छ ।

नेपाली मिडियाले २०५० सालमा मदन भण्डारीको मृत्युपश्चात राजनीतिक उथलपुथलका निम्ति अहम् भूमिका खेलेका थिए । माओवादी द्वन्द्वका निम्ति इन्डो-पश्चिमा इसाई मिसनको हिफाजतका निम्ति पैसा लिएर माओवादी द्वन्द्वलाई भरमग्दुर मलजल गरेका थिए । राजदरबार हत्याकाण्डमा वास्तविक तथ्य ‘रअ’ र ‘सिआईए’ संलग्न घटनालाई बाबुराम भट्टराईको सुनियोजित लेखमार्फत राजा ज्ञानेन्द्रलाई आरोपित बनाउने अथवा दीपेन्द्र नै हत्यारा हो भन्ने प्रमाणित गर्न हदैसम्म गिरेको उदाहरण नेपाली जनमानसमा ताजै छ । यी यावत घटनाले र, मिडियामा डरलाग्दो अदृश्य लगानी र आम्दानी लेनदेनले पनि नेपाली मिडियामा विदेशी स्वार्थमा देशलाई विदेशी मिसनको क्रिडास्थल बनाउन मिडियाले खेलेको भूमिकालाई थप पुष्टि गर्छ ।

सामान्यतया एउटा छापापत्रिकाको खर्च नै कम्तिमा २५-३० रुपैयाँ पर्न आउँछ, तर आम नागरिकको हातमा १० रुपैयाँमै पुग्छ ! त्यो पनि घरमै ! त्यो कसरी ? सालाना करोडौँ घाटा सहेको देखाउने सञ्चारमालिक किन र कसको निम्ति यो गरिरहेका छन् ?! र, दिनहुुँ ब्यक्तिगत रूपमा धनाड्य बन्दै गएका छन् । सोचनीय विषय छ । एकातिर सरकारलाई कर तिर्नुपर्दा घाटा देखाउने अर्कोतर्फ खर्बौंका संरचना र कम्पनीमा लगानी गरिरहने ?यस्तो असम्भव खेल किन र कसको आडमा खेल्न माहिर छन् नेपाली मिडिया ??
आजभन्दा १५ वर्षअघि कान्तिपुर दैनिकबाट प्रकाशक ज्ञवालीले आफ्नो हिस्सा ७७ करोडमा नागरिक दैनिक प्रकाशनमा ल्याएका थिए । पत्रिका बेच्दा वार्षिक करोडौँ घाटामा गएको देखाउने कान्तिपुर दैनिकले अर्बौं आम्दानी कसरी गऱ्यो ?! सिरोहिया र ज्ञवालीले करोडौँ हिस्सा कुन आम्दानीको श्रोतले पाए ? यो खोजीको विषय हो । तर यिनिहरू यति शक्तिशाली छन् कि मिडिय र तिनका साझेदारले गरेको कर्तुत कसैले बाहिर ल्याउने हिम्मत नै गर्दैन । चाहे ती सिरोहिया, थापा, भट्टराई, ज्ञवाली, दीक्षित नै किन नहुन् ! यी विदेशी नियोग र दाताको काँधमा चढेर देशको कानुन र सरकार नै आफ्नो पक्षमा पार्ने खुबी राख्छन् ।

परिवारवाद र आफन्तवादको आत्मरतिको दलदलमा फसेको नेपाली मिडिया आर्थिक लाभको निम्ति देश र जनताको वास्तविक यथार्थलाई ओझेलमा पारेर विदेशी मिसनको निम्ति जुनसुकै हदसम्म गिर्न सक्छन् । विगत र वर्तमानका विभिन्न घटनाक्रमलाई हेर्दा ऐनाजस्तै छर्लङ्ग प्रतिबिम्ब देख्न सकिन्छ । धर्मनिरपेक्षताको जगमा गाउँ-गाउँमा विदेशीहरू छिरेर बाह्यधर्मको प्रचारप्रसार गर्दा आँखा चिम्लिन्छन् । बौद्ध, किराँत, बोन, हिन्दु, जैन जस्ता आस्थाका कुनै कार्यक्रम भए देशको सार्वभौमसत्ता, गणतन्त्रले ल्याएको आमूल परिवर्तन नै धरापमा परेको देख्छन् । यस्तो हुनुको एउटै मात्र कारण हो विदेशी दाता र ओपन सोसाइटी ! दाउद इब्राहिम जस्ताको लगानी भन्ने कुरा पनि पटक-पटक उठ्ने गरेको छ ।

राजनीतिक नेता–कार्यकर्ता, ब्यपारी र ठुला घरानाको वरिपरि घुमेर घटनाको रूप हेर्दै धम्क्याएर, लालच देखाएर बार्गेनिङ गर्ने र लेनदेनको हिसाब नमिल्दा धुइँपत्ताल लगाएर खेद्ने नेपाली मिडियाको प्रवृत्ति हो भन्दा फरक पर्दैन । हिजो राजाको शासनकालमा पनि राजदरबारभित्रका र राजपरिवारसँग जोडिएको घटनालाई जोडतोडले उचाल्ने मिडियाले लोकतन्त्रमा भने मिडिया अधिनायकवाद नै लाद्ने औकात राख्छन् । उदाहरणका निम्ति सिरोहियाका छोराले मादक पदार्थ सेवन गर्दै गाडी चलाउँदा भएको दुर्घटना-प्रकरणलाई लिन सकिन्छ । हिजो दरबारभित्रै छिरेर दरबारको कोठा-कोठीभित्रका घटना छाप्ने मिडिया यो घटनामा आफै नराम्रोसँग चुक्यो वा बोल्न खोज्ने पत्रकार र मिडिया सम्पादकलाई लेनदेनमा चुप बनाइयो ?! आजसम्म न प्रहरी न न्यायालय नै यो बारेमा बोल्नुपर्ने नैतिकता देखाउँछन्, न सरकारले नै ध्यान दिएको छ । यस्ता कयौँ घटना गर्भमै तुहाएर राफसाफ पारिन्छन् ।

प्रायः मिडियामा पत्रकारले पारिश्रमिक नपाएको, देशभक्त, सनातन संस्कृतिमा जोड दिएर पश्चिममा मिसनको बारेमा लेख्ने÷बोल्नेलाई पाखा लगाएको तथ्य बाहिरिन्छन् । त्यस्तैगरी राजनीतिक दलका कार्यकर्ताले मिडियालाई आफ्नो नेताको मुखपत्र बनाएको देख्न/सुन्न पाइन्छ । तर मिडियामालिक, तिनका परिवारका सदस्यले भने वार्षिक लाखौँ तलब बुझ्ने गर्छन् । यस्तो कालो कर्तुत र गलत धन्दाको बारेमा भने कुनै पनि मिडिया, दलका मुखपत्रले घटना सतहमा ल्याउनै चाहँदैनन् ।

नेपालमा खुलेका अनेकौँ चलेगुनेका पत्रपत्रिका (नाम उल्लेख गरिरहनु आवश्यक नपर्ला, सचेत नागरिक तप्का स्वयम् जानिफकार छन्) तथा अनलाइन पोर्टलहरूको पृष्ठभूमि र उद्देश्य नै विदेशी दाताको मिसनमा काम गर्ने र राजनीतिक दलको मुखपत्र बन्नु अनि देशमा अराजकता फैलाउनुका साथै नेपालवादप्रति घृणा जगाउने नै हो भन्न सकिन्छ । उदाहरणका निम्ति २०६३ सालमा मिडियामा आएको विदेशी संस्थाको पैसालाई नै लिन सकिन्छ । त्यतिबेला जर्ज सोरसको ओपन सोसाइटीले नेपाली १७ करोड ३० लाख रुपैयाँ प्रदान गरेको तथ्यांक छ । त्यस्तै गरेर युरोपेली युनियनभित्रका विभिन्न देशले विभिन्न ब्यक्ति र मिडियामा ६५ करोड दिएको उल्लेख गरेको छ । यही कालखण्डमा छ्याप्छ्याप्ती रेडियो स्टेशन खुलेका थिए । धर्मनिरपेक्ष र सङ्घीयता जनताको चाहनाविपरीत विदेशी नियोगबाट पैसा लिने केही ब्यक्ति र मिडियाको प्रभावको कारण संविधानमा घुसाउने खेल खेलिएको थियोे । यही समयमा तराईमा जातिय घृणावाद, इसाई र मुस्लिम धार्मिक कट्टरवादको बिजारोपण भएको थियो ।

अचम्मित पार्ने तथ्य के पनि हो भने नेपालमा सरकार परिवर्तन गर्न विदेशीले नेपाली मिडियामा लगानी गर्छन् । उनीहरूकै मातहत रातारात कसलाई नेता बनाउने, को ब्यक्तिलाई मिडियाले हिरो बनाइदिने र कसको इजलासमा देशको कानुन नै उल्टाउन भूमिका खेल्ने जस्ता सम्पुर्ण कुरा विदेशी नियोग, गैरसरकारी संस्था र नेपाली मिडियाको संयुक्त सहकार्य रहेको यथार्थ कसैले नकार्न सक्दैन । नेपाली राजनीतिमा रातारात उदाएको राजनैतिक पार्टी, नेता, लेखक र बुद्धिजीवीको मुलथलो नै नेपाली मिडिया हुनेगर्छ । विदेशीको छद्म भूमिकाले प्रभावित पार्छ । चाहे बहुदलीय ब्यवस्थापछि उदाएको कम्युनिस्ट, काङ्ग्रेसका प्रभावशाली नेता हुन् अथवा गणतन्त्रपछि बनाइएको लेखक, बुद्धिजीवी, नेता नै किन नहुन् ! यिनै मिडियाको भरपुर भूमिका रहन्छ । हिजो अस्ति उदाएको नयाँ पार्टीको कहीँकतै नदेखिएको नयाँ अनुहारका नेतालाई पर्दापछाडिबाट विदेशी नियोग र गैरसरकारी संस्थाद्वारा मिडियाको भूमिकाले सतहमा ल्याइएको कुरालाई जतिसुकै ढाकछोप गरे पनि छिपाउन सकिँदैन । जय मातृभूमि !